नारायण वाग्ले रैथाने गाईको खोजीमा छन्, तर असली रैथाने नश्लको गाई भेटेनन् । गाउँमा जर्सी, होलिस्टिनको जगजगी छ । रैथानेका नाममा केबल ठिमाहा भेटिन्छ ।
हाम्रो गाडी कुछप तेरङ्गा गुम्बातिर लम्किइरहेको थियो । गुम्बा जोमसोमबाट आधा घण्टाको दूरीमा पर्छ भन्ने खबर पायौं । गुम्बा स्याङ, पुथाङ, जोमसोम, ढुम्बा ताल र नीलगिरि हिमाल हेर्ने गज्जबको भ्यु प्वाइन्ट हो भन्ने जानकारी पाएपछि त्यहाँ जाने योजना बनेको थियो ।
ठिनीबाट ढुम्बा तालतिर मोडिँदा फुस्रो डाँडामा चार/पाँचवटा गाई चरेको देखेपछि सहयात्री केशव दाहालले भने, ‘नारायण वाग्लेले धुइँपताल खोजेको रैथाने गाई त यहाँ रहेछ ।’
म अचम्भित भएँ । के कुरा हो यो ? लेखक नारायण वाग्लेले खोजेको रैथाने गाई ?
फलामे गेटबाट गाडी भित्र छिर्छ । कुछप तेरङ्गा गुम्बा निर्माणाधीन रहेछ । थुम्कोको भ्यु प्वाइन्ट भने सुनेजस्तै सानदार रहेछ– स्याङ, पुथाङ, जोमसोम, ढुम्बा ताल र नीलगिरिको दृश्य अद्भुत देखिने । कालीगण्डकी उपत्यकाका गाउँहरू विश्राम गरिरहेका र एयरपोर्टको धावन मार्ग कालीगण्डकी किनारमा सुतेजस्तो भान हुने । थुम्कोमा हावाको बोलवाला छ, रंगीविरंगी दर्ज्यु फरफराइरहेको छ ।
जहाज पन्ध्र–पन्ध्र मिनेटमा जोमसोम एयरपोर्टमा ओर्लिरहेको छ, उडिरहेको छ । कारण १२ बजेपछि हावाले जहाज चल्दैन । ल्यान्ड गर्दा कालीगण्डकीको सांघुरो खोंचमा जहाज वेगले मोडिन्छ । केही सेकेन्ड तलमाथि परे....! सिरिङ्ग हुन्छु । टेक–अफमा भने गुम्बाको थुम्कोभन्दा तलबाट उड्दो रहेछ, अचम्मै !
सहयात्री छन्– केशव दाहाल, मुमाराम खनाल, प्रशान्त सिंह र डम्बर खतिवडा । केशव दाहाल आख्यानकार तथा स्तम्भकार हुन् । मुमाराम खनाल राजनीतिक विश्लेषक र पूर्वमाओवादी । प्रशान्त सिंह डब्लूडब्लूएफ नेपालका पूर्वनिर्देशक र वित्तीय विश्लेषक ।
डम्बर खतिवडा राजनीतिक विश्लेषक र स्तम्भकार । सबैलाई जोड्ने साझा सेतु– नागरिक प्रथम अभियान । यात्रादौरान धेरथोर नागरिक प्रथम अभियानबारे थाहा पाउँछु । सहयात्रीहरू नीलगिरिलाई पृष्ठभमिमा राखेर फोटो खिच्छन् । सिंगल, डबल, त्रिपल फोटो खिच्ने–खिचाउने क्रम अविराम चल्छ । हामी कैसाङ क्याप जाने धमिलो गोरेटो र पृष्ठभूमिको नीलगिरि आउने गरी ग्रुप सेल्फि लिन्छौं ।
हुरुरु बतास कालीगण्डकी खोंचबाट चलिरहेको छ । हावाको दिशातिर आमुख हुँदा त्यसको बहावले केही सुनिँदैन, सुन्न कोल्टे फर्कनुपर्छ । हामी गाडीमा फर्किन्छौं, अघिकै स्थानमा गाई अझै चरिरहेको छ, काँडेदार झार तालाङ्गा खाइरहेको छ । खुल्दुली रोक्न सक्दिनँ । दाहालतिर आमुख भएर मुख फोर्छु, ‘नारायण वाग्लेको गाईको कुरा गर्दै हुनुहुन्थ्यो । मैले कुरो बुझिनँ । अभिधामा कुरा भन्नुस् न !’
मुस्कुराउँदै दाहाल भन्छन्, ‘म गत फागुन १५ देखि १७ गतेसम्म नारायण वाग्लेको वसन्त उत्सवमा सहभागी हुन तनहुँ फार्म पुगेको थिएँ । त्यहाँ प्रांगारिक खेती प्रणालीको कखरा सिक्ने अवसर पाएँ । रैथाने बिउँ–ब्याडको ज्ञान प्रविधि र रैनाथे नश्लको पशुको महत्त्व थाहा पाएँ । रुखसँग वात मारें । माटोले सास फेर्छ भन्ने थाहा पाएँ । तर, आधुनिक खेती प्रणालीको कारण माटोले सास फेर्न पाएको छैन । कीटनाशक र रसायनिक मलको बढ्दो प्रयोगले माटो मर्दै छ । गाईको गोबर, गहुँत, खुर, सिङ कृषि उत्पादन वृद्धिका लागि खास महत्त्वको रहेछ ।’
वसन्त उत्सवले उनलाई एकखाले अभियन्ता बनाएको बुझ्न सकिन्थ्यो ।
दाहाल भन्दै जान्छन्, ‘प्रांगारिक खेती प्रणालीका निम्ति वाग्ले रैथाने गाईको खोजीमा रहेछन् । असली रैथाने नश्लको गाई भेटिइरहेको छैन । कसरी पाउन् ? जर्सी, होलिस्टिनजस्ता उन्नत नश्लको जगजगी छ । दुग्ध व्यवसाय प्रवर्द्धनका निम्ति सरकारले उन्नत नश्लका गाईलाई प्राथमिकता दिएको छ । रैथानेको नाममा ठिमाहा गाई भेटिन्छ ।
रैथाने बिउ र पशुहरू विस्थापित भइसकेका छन् । सानोतिनो महाभारत नै भएको रहेछ, गाई खोजीको ।’ यसो भन्दै गर्दा अचम्मसँग उनको अनुहारमा गहिरो उदासी पोतियो । मानौं उनी भनिरहेका छन्– कठै बिचरा नारायण वाग्ले ! गाडी ठिनी कटेर जोमसोमतिर बढ्दै थियो र पुथाङको सैनिक ब्यारेक दृश्यमा सर्दै गइरहेको थियो ।
मैले भने, ‘त्यो यहाँको रैथाने गाई हो– लुलु भन्छन् । मुस्ताङ, मनाङ, डोल्पा लगायतका मध्य तथा पश्चिमका हिमाली जिल्लाहरूमा पाइन्छ । २८०० मिटरभन्दा माथि । हिमालको कठोर मौसममा बाँच्न अभ्यस्त छन्, लुलु गाई । वाग्लेलाई मुस्ताङ बोलाउनुपर्यो । कहाँ तनहुँमा रैथाने गाई खोजिरहेको ?’
मेरो दिमागमा बिजुलीजस्तो केही चम्कियो र उत्सुकतापूर्वक भने, ‘नारायण वाग्लेको गाई शीर्षक राखेर निबन्ध लेखे कस्तो होला ? अलिकति यथार्थ अलिकति स्वैरकल्पना मिसाएर ? यस पटक खतिवडा बोले, ‘राम्रो होला रोशनजी । लेखक भएकाले तपाईं शीर्षक चाहिँ झट्टै सोचिहाल्नु हुँदोरहेछ । शीर्षक उपयुक्त छ, लेख्नुस् ।’ खनाल पनि मतिर फर्किएर मुस्कुराएपछि शीर्षक सर्वसम्मतले अनुमोदन भएको ठानें ।
छिनभरमै १२ बजे सरर हावा चल्ने जोमसोम आइपुग्छ । जोमसोमको एक्याप सूचना केन्द्रमा मित्र शेरजंग गुरुङ भेटिए । उनी एक्यापको पुराना कर्मचारी भएकाले हामी एक अर्कासँग परिचित छौं । लुब्रा (लुप्रा) जाने बाटोको अवस्थाबारे जानकारी लिई गाडी हुइँकिन्छ ।
मुस्ताङको लोमान्थाङ गाउँपालिका-२ नयाँ साम्जोङ बस्तीमा पालिएका स्थानीय लुलु जातका गाई। तस्बिर : घनश्याम खड्का/कान्तिपुर
कालोपत्रे बाटो पाएर कालीगण्डकीको तीरैतीर गाडी फिलिली कुदेको छ । प्रशान्त सर सचेत भई ड्राइभ गरिरहेका छन्, साथै मनयोग लगाएर हाम्रो कुराकानी पनि सुनिरहेका छन् । म विगतमा डब्लूडब्लूएफ नेपालमा काम गर्ने भएकाले उनी मेरा सिनियर हुन्, तर यस यात्रामा सहयात्री । लुब्राको बोन गुम्बा हेर्ने र बोन धर्मबारे जान्ने दाहालको योजनाअनुसार गाडी पाण्डाखोलाबाट मोडिन्छ । मुस्ताङको एउटा मात्रै बोन गुम्बा भनिएको लुब्राबाट हामी लोभिएका थियौं ।
बौद्धभन्दा प्राचीन धर्म मानिन्छ बोन– प्रिबुद्धिस्ट । बीस, पच्चीस मिनेटको कच्ची बाटोमा गुडेपछि लुब्रा आइपुग्छ । सानो झुरुप्प बसेको बस्ती । चल्तीको पदमार्गभन्दा भित्र । अचम्मको आध्यात्मिक अनुभूति हुने स्थान । घरधुरी जम्मा १४ ।
सोध्दै सिधै गुम्बा पुग्यौं । तर, अफसोच गुम्बा बन्द रहेछ । लामा भेटिएनन् । स्थानीय बासिन्दाबाट केही जानकारी पाइन्छ कि भन्ने आशामा एउटा रेस्टुराँमा छिर्यौं । दुई विदेशी पर्यटक चिया पिइरहेका थिए– मुक्तिनाथबाट आएका ।
त्यसको अर्थ, मुक्तिनाथबाट लुब्रा जोड्ने पदमार्ग रहेछ । हामीले तोरा (डाले चुक) को जुस अर्डर गर्यौं । कोक, फेन्टाभन्दा तोरा धेरै बेस, पृथक् स्वादको । स्थानीय अर्थतन्त्रमा पनि सघाउ पुग्ने । रेस्टुरेन्टकी बहिनीलाई धेरै थाहा रहेनछ । यति मात्र भनिन्– मुस्ताङ जिल्लाकै एउटा मात्र बोन गुम्बा हो र बोन्पोले मानेलाई बुद्धमार्गीले भन्दा विपरीत दिशाबाट घुम्छ । मैले सोधें, ‘अनि स्थानीय भइकन, किन तपाईंसँग यति थोरै जानकारी ?’ उनले भनिन्, ‘यस गाउँमा म बुहारी भएर आएको धेरै भएको छैन ।’
चार्ल्स राम्बल भन्ने मानवशास्त्रीले बोन धर्मबारे यही गाउँमा अध्ययन गरेको थाहा छ । विगतमा एक्यापका कर्मचारी हुँदा, राम्बलबारे सुनेको थिएँ । तिब्बतमा इतिहासमा बोन र बौद्धमार्गीबीच भयानक युद्ध चलेको थियो । तिब्बती राजा बौद्धमार्गी भए बोन्पो लखेटिन्थे, बोन्पो भए बौद्धमार्गीहरू ।
प्रतापी राजा विशेष रुचाइन्थ्यो । मैले सुनेको, बौद्धधर्मी राजाबाट लखेटिएको तिबेतन लामा टासी ग्यालसेनले बाह्रौं शताब्दीमा डोल्पा हुँदै यस ठाउँमा आई गुम्बा बनाए । बोन धर्मको बीउ जोगाउन सायद यस्तो अनकन्टार ठाउँ रोजे । यहाँ पनि गोठमा तीन/चार वटा गाई देखें । दिमागमा अकस्मात् रैथाने गाई खोजिरहेका लेखक नारायण वाग्लेको दृश्य आयो । मैले स्वयम्लाई झट्कार्दै स्थानीय बासिन्दालाई सोधे– लुलु गाई हो ? जवाफ पाएँ, ‘हो ।’
गाडीनेर आइपुग्यौं । पाण्डा खोला किनारमा गाडी पार्किङ गरिएको थियो । गाडीसहित खोलापारिको बञ्जर भित्ता र त्यहाँ देखिने प्राचीन गुफाको दृश्य आउने गरी फोटो लियौं । पाण्डा खोला छाडी गाडी अगाडि बढ्यो । आजै लोमान्थाङ पुग्नु छ । ठाउँठाउँमा ओर्लंदै, चिसो बतास खाँदै, फोटो खिच्नु र खिचाउनु छ । गाडी वा चिया विश्राममा मुस्ताङको संस्कृति र आर्थिक सामाजिक पाटोमा आफूले भेटेका धारणाहरू साटासाट गर्नुर् छ ।
कागबेनी देखियो । मलाई भने लुलु गाईले लखेटिरह्यो । सानो काठीको लुलु गाई हिमाली क्षेत्रकै निम्ति बनेको छ । हरेक पटक लुलु लेख्दा मन निचोरिन्छ । खानलाई पर्याप्त घाँस छैन, काँडेदार झारको पात खोस्रिरहेको भेटिन्छ । चरनको सर्वथा अभाव छ । हदै भए जौको पराल । भएको काँडे झारमा पनि तीव्र प्रतिस्पर्धा छ, भेडा र च्याङ्ग्रासँग ।
कागबेनी बजारको रातो गुम्बा देखिन्छ । गाडी कागबेनी भेट्टाउन कुदिरहेको छ । साथै उत्तिकै तीव्र गतिमा कल्पना पनि कुदिरहेको छ । कल्पनामा देख्छु– यात्राबाट फर्केर तनहुँको फार्ममा दाहालले वाग्लेलाई भेट्ने छन् । वाग्लेले खोजेको रैथाने गाई मुस्ताङमा भेटिएको बारे बेलिबिस्तार लगाउने छन् । दाहालले भन्नेछन्– कहाँ तपाईं तनहुँमा रैथाने गाई खोज्दै हुनुहुन्छ ? रैथाने गाई खोज्न त मुस्ताङ जानुपर्छ ।
भन्न छुटाउने छैनन्, ‘मुस्ताङमा चरनको अभावमा बाँचिरहेको लुलु तनहुँमा प्रशस्त घाँस खान पाएर अत्यन्त खुसी हुनेछ । तपाईंलाई धर्म लाग्छ ।’ तर, भन्ने छैनन्, ‘मुस्ताङको कडा मौसममा अभ्यस्त लुलुले तनहुँको गर्मी कसरी सहला ?’ सबै कुरा सुनिसकेपछि वाग्लेको आँखा चम्किनेछ । र, चिरपरिचित धोद्रो स्वरमा पत्नीलाई भन्नेछन्, ‘यहाँ रैथाने गाई पाउन साह्रै कठिन भयो । म भोलि नै मुस्ताङ उक्लन्छु, बरु मेरो रुकस्याक पो कहाँ छ ?’
