करिब दुई दशकदेखि समालोचना, निबन्ध र समीक्षा विधामा कलम चलाइरहेका गुरुङ सुशान्त पहिचान पक्षधर लेखकका रूपमा परिचित छन् । आलोचनात्मक चेत, सबल विश्वदृष्टि र स्वादिलो भाषाशैलीका कारण पाठकमाझ रुचाइएका गुरुङको पछिल्लो पुस्तक ‘इतर समीक्षा’ ले उनलाई प्रखर समीक्षकका रूपमा थप स्थापित गराएको छ ।
सिनेमा, साहित्यदेखि वैचारिक गैरआख्यानबारे तीक्ष्ण विश्लेषण–मूल्यांकन प्रस्तुत गर्ने गुरुङसँग ‘इतर समीक्षा’ को सेरोफेरोमा दीपक सापकोटाको समीक्षा–संवाद :
तपाईंको सद्यः प्रकाशित किताब ‘इतर समीक्षा’ मा पाठकका लागि के सौगात लिएर आउनुभएको छ ?
मैले जीवनमा कमाएको थोरै सम्पत्ति भनेको पाठक नै हो । पाठकसँग एकमुष्ट विमर्श गर्ने र मेरो समीक्षा लेखनको मोटामाटी यात्रा दर्शाउने मौका मैले ‘इतर समीक्षा’ मा पाएको छु ।
एक थरी पाठक–मत भन्छ, ‘नेपाली समीक्षा मरिसक्यो, सद्गत गर्न मात्रै बाँकी छ ।’ एकछिनका लागि यसलाई अतिरञ्जित अभिव्यक्ति मात्रै मान्ने हो भने पनि समीक्षाले विश्वसनीयता गुमाएको चाहिँ सत्य हो भन्न त सकिएला नि ?
मलाई लाग्छ, समीक्षालाई मृत घोषणा गर्नुचाहिँ अराजनीतिक ‘राजनीति’ हो । यस्तो अभिव्यक्तिले सिर्जनालाई दैवी प्रतिभाको फल देखाउने आदर्शवादी फुइँको बुई चढाएर आत्माश्लाघाको भीरतिर धकेल्न सक्छ र आलोचनाबाट अलगथलग राखिदिन्छ । यस्तो परिवेशले सिर्जनाको सामाजिक दायित्व ध्वस्त पार्दै लैजान प्रेरित गर्छ र व्यक्तिकेन्द्री अलमल र क्षणिकताभित्रबाटै नाम र दाम कमाउने लालसा सर्जकमा पलाउन सक्छ । र, अन्त्यमा— साहित्य सिर्जना शब्दखेलको रत्यात्मक आनन्दजस्तो बनिदिन्छ ।
बरु, समीक्षा कमजोर भएको टिप्पणी गर्नु यथार्थ नजिक ठहर्छ । समीक्षा पनि कविताजस्तै बोध, अभ्यास र अध्ययनको त्रिवेणीमा घोटिएर निखारिने विधा हो । समीक्षक स्वाभाविक रूपमा बढी जिम्मेवार र समीक्षा धेरै विश्वसनीय हुनैपर्छ । समीक्षाले विश्वसनीयता गुमाउँदै जानु र दिशाभ्रमको ज्वरोले थलिनुचाहिँ सिंगो वाङ्मयकै लागि भयानक त्रासदी हो ।
तपाईंले ‘इतर समीक्षा’ मा भन्नुभएको छ, ‘समीक्षाले त समग्र भाषा–साहित्यलाई मार्गदर्शन गर्न सक्नुपर्थ्यो । तर, समीक्षकहरू ठेकेदारजस्ता बनिदिएका र समीक्षाचाहिँ विधाभन्दा बढी ‘भूमिगत धन्दा’ झैँ भएको बजार–हल्लाले दुःखी तुल्याउँछ ।’ बजार–हल्ला मात्रै हो भने त किन दुःखी हुनु ? कि यो ‘बजार–सत्य’ हो ?
यो पूरापूर बजार हल्ला मात्रै होइन, न त समस्त सत्य हो । यी दुईको बीचमा आंशिक यथार्थको गोहो देख्छु । निष्ठापूर्वक समीक्षा लेख्ने साथीहरू छन् भन्ने कुराले मलाई जति आनन्द दिन्छ, समीक्षाको बहानामा गुप्त सम्बन्धका रहस्यमय हिसाबकिताब मिलाउन अनावश्यक शब्द–मर्चा हालेको हरक मेरो नाकसम्म आइपुग्दा भने मर्माहत हुन्छु ।
यदि समीक्षकको ‘नैतिक’ धरातलमा धाँजा फाटेको छ भने रातारात नक्कली नाम कमाउन लालायित ‘सर्जक’ अँध्यारोमा सुटुक्क आफ्नो लालचको लगानी चुहाउँछ । लाग्छ— जब धाँजा र लालच दुवै बढ्दै जान्छ, एउटा समयबिन्दुमा धेरैलाई बगाउने गरी पहिरो चल्छ । हाम्रो साहित्यको जमिन बलियो बनाउन सर्जक र समीक्षक दुवै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ भन्ने बोधकै कारण त्यस्ता केही नमीठो प्रसंगले म कहिलेकाहीं दुःखी हुन्छु ।
समीक्षा उति पढिने जिनिस होइन । अझ केसम्म भनिन्छ भने समीक्षाको जम्माजम्मी दुई जना पाठक हुन्छन् । समीक्षक एक जना र जसको किताबमाथि लेखिएको हो, ऊ एक जना । यो सर्क्याजम (व्यङ्ग्योक्ति) मात्रै त होइन होला । समीक्षाको पाठक सङ्ख्या किन यति सानो भएको हो ?
ठ्याक्कै यस्तै त नहोला । तर, पाठक कम हुनु अस्वाभाविक भने लाग्दैन । असल समीक्षा भनेको पाठको मूल्यांकन मात्रै होइन, सिर्जनाले उठान गरेको विषयमाथि विमर्श चलाउनु पनि हो । यसो हेर्दा देखिन्छ, हाम्रो समाजमा विमर्शभित्र सहभागी भएर अरूको मन्तव्यमाथि मनन गर्ने भन्दा आफ्नो सनकमा एक घैंटो भाषण पोखेर बाटो तताउने जमातकै बहुमत छ । त्यसैको प्रतिविम्बन हो कि यो ? ∕, लाग्छ— समीक्षालाई सीमान्तमा सारेको साहित्यको शिर सग्लो सप्रिँदैन ।
कुनै किताबको समीक्षा लेखनका लागि तपाईंलाई उत्प्रेरित गर्ने तत्त्व के–के हुन् ? लेखकको प्रसिद्धि वा टेक्स्टको शक्ति ? अथवा, तपाईंले निजी मानदण्ड बनाउनुभएको छ ?
किताबको भेलबाढी आउँदा सबै किताब पढ्न सम्भव नहुने हुनाले लेखकका पूर्वप्रकाशित सामग्रीको प्रभावले धेरथोर काम गर्न सक्ला । कहिलेकाहीँ प्रसिद्ध लेखकसँग धेरै अपेक्षा राखेर निराश हुने सम्भावना पनि उत्तिकै रहन्छ । तर, जब किताब पढ्न बसिन्छ, तब लेखकभन्दा पाठ नै मुख्य हुन्छ । समीक्षा लेख्दा किताबका मुख्य तीन तत्त्वले मलाई उत्प्रेरित गर्छन् : विषयवस्तु, विश्वदृष्टि र प्रस्तुति । यसबाहेक अरू साहित्यिक गुणवत्ताका पक्ष त छँदै छन् ।
विश्वविद्यालयीय समीक्षाको हालत के छ भने ऊ अहिले पनि भानुभक्तको ‘बधूशिक्षा’ मा प्रगतिशील तत्त्वहरूको खोजीमा लीन छ । कवि श्रवण मुकारुङको ‘म्याडम गीता’ लाई (उदाहरणका लागि) उसले किन समालोचनाको लायक नठानेको होला ?
विश्वविद्यालयले प्रश्न गर्न सिकाउनुपर्ने भए पनि त्यहाँ ‘मेथडोलोजी’ को नाममा कर्मकाण्ड गर्नुलाई नै प्राज्ञिकता मानिने अभ्यास भएकाले समीक्षा लेखन पनि ‘बिरालो बाँधेर श्राद्ध थाल्ने’ उखानको निर्वहन देखिन्छ । खासमा, समीक्षा त निकै जिम्मेवार दायित्वसहित लेखिनुपर्ने भएकाले यसको अगुवाइ विश्वविद्यालयले गर्नुपर्ने हो । तर, हाम्रा विश्वविद्यालयीय समीक्षाले प्रदर्शन गरेको शुष्कताले यस विधाप्रति नै वितृष्णाको जालो फैलाएको छ । विश्वविद्यालयीय समीक्षाले आफ्नो ढर्रा परिवर्तन गरेर सिर्जनात्मक नबनाएसम्म यो जालो फाट्दैन ।
पहिचान पक्षधर लेखकका रूपमा परिचित हुनुहुन्छ । पहिचानवादी आन्दोलनका स्रष्टा र उनीहरूको लेखनलाई निकटबाट नियालिरहनुभएको छ । हाम्रो पहिचान वाङ्मय कत्रो छ, कस्तो छ ? यसले निर्माण गरेको सौन्दर्यशास्त्र कत्तिको गहकिलो छ ?
पहिचानसम्बन्धी विचार प्रभावी पनि रहँदै आएको छ । पहिचानविरुद्ध प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरू पनि सक्दो लागिपरेका छन् । र, ती शक्तिले पहिचानको मूल मर्म बङ्ग्याएर नेपाली वैचारिकीलाई भ्रष्टीकरण गर्न मलजल गरिरहेका छन् । कतिपय मार्क्सवादी भनिनेहरूसमेत पहिचानको राजनीतिलाई ‘परिचयको राजनीति’ नाम दिएर यो जात्यन्धतामा फस्ने भविष्यवाणी गर्दै असली पहिचान पक्षधरलाई हाउगुजी देखाउनमा दत्तचित्त छन् ।
मार्क्सवादको साह्रै शास्त्रीय घेरामा दौडिरहने, तर नेपाली समाजको वर्ग–निर्माणको ऐतिहासिकतालाई नबुझ्ने या बुझ पचाउने यस्ता विडम्बनापूर्ण प्रयत्नले पनि हाम्रो वैचारिकी निर्माणको यात्रामा अर्को काँडे–तगारो तेर्स्याइदिएको छ । अर्को डरलाग्दो कुरा– कतिपय पहिचान पक्षधरले पहिचान–आन्दोलनको अन्तर्य बुझाउँदै अधिकार स्थापित गर्नुको साटो अल्प–अध्ययन र अहंकारकै बलमा अमुक व्यक्ति या समुदायलक्षित गालीगलौज गर्नमा समय र ऊर्जा खर्च गरिदिनाले पहिचानको मुद्दालाई भ्रमित बनाउँदै ‘जातिवाद’ को भीरतिर धकेल्न बल गरेको दृश्य देखिरहेका हुन्छौं ।
जबकि, पहिचान आन्दोलनको मर्म बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभाषिक दर्शनअनुरूप समानता र सहअस्तित्वको क्यानभासमा नेपाली समाजलाई इन्द्रेणीमय बनाउनु हो । पहिचान आन्दोलनका कतिपय अभियन्ता नै नश्लवादी चिन्तनको धारमा पाइन चढाइरहेको दृश्य दुःखद लाग्छ ।
ठ्याक्कै यही परिदृश्यको प्रतिविम्ब हाम्रो साहित्यमा देख्न सक्छौं ।
मार्क्सवादी सौन्दर्यशास्त्रीहरूको समीक्षा पढ्नुभएकै होला । दुई बित्ता लामो अनुच्छेद, जार्गनहरूको बर्खे भेल, अरट्ठो र नीरस भाषा उनीहरूका विशेषता किन बनेका होलान् ?
हो, यो अर्को समस्या छ । वैचारिक दृष्टिले मार्क्सवादी सौन्दर्यशास्त्र आफैंमा सुन्दर कुरा भए पनि यस कित्ताको समीक्षाले भाषाशैलीमा जुन जडता अपनाएको छ, त्यसले सुक्खा र रुखो बनाउँदै लगेको छ । साथै, नेपालको सन्दर्भमा आदिवासी सौन्दर्यशास्त्र र दलित सौन्दर्यशास्त्रसँग सहकार्य गर्ने आँट नबोक्नु मार्क्सवादी सौन्दर्यशास्त्रीहरूको ठूलो समस्या हो । अतः यसखाले समीक्षा लेखन निर्जन टापुजस्तो लाग्छ, पाठकलाई ।
समीक्षा र समीक्षकको ‘पोलिटिक्स’ हुन्छ कि हुँदैन ?
जसरी सिर्जनाले प्रत्यक्ष–परोक्ष या जानी–नजानी ‘पोलिटिक्स’ गरेको हुन्छ, त्यसरी नै समीक्षाको पनि ‘पोलिटिक्स’ हुन्छ । म त हुनुपर्छ भन्ने मान्यता राख्छु । सर्जकले अर्को पटक योभन्दा राम्रो सिर्जना गर्न सकोस् भन्ने शुभेच्छा राखेर समीक्षा लेख्नु पनि ‘पोलिटिक्स’ नै हो ।
तपाईंका अक्सर समीक्षा–लेख आफैंमा राम्रा निबन्ध लाग्छन् । यस हिसाबले तपाईंका लागि समीक्षा सिर्जना हुनुपर्छ । तर, कतिपय साहित्यकार समीक्षा सिर्जना होइन भन्ने गर्छन् । यसबारे तपाईंको दृष्टिकोण प्रस्ट्याउनुस् न !
समीक्षा सिर्जना होइन भन्ने वाक्य नै आफैंमा सिर्जना हो । किनकि, कसै न कसैले यो वाक्य आफ्नै बलबुत्तामा तुनेर–बुनेर सिर्जना गर्यो । तर, यस वाक्यको आशयप्रति म ठाडो विमति राख्छु । असली समीक्षाले पाठकलाई मौलिक सिर्जनात्मक स्वादसहित विमर्शको आह्वान गर्न सक्नुपर्छ । विचार र कलाको बहसमा पाठकलाई आमन्त्रण गर्न प्राविधिक भाषाबाट सम्भव छैन ।
समीक्षाको भाषा, ढर्रा र ढाँचा किन पुरातन लाग्छ ? यसले ताजा र नयाँ भाषा, ढर्रा र ढाँचा आविष्कार गर्न ढिलो भइसकेन र ?
हो, समीक्षा विमर्शको गहन विधा भएकाले विचार, भाषा र ढाँचामा नयाँ आविष्कार गर्नुपर्थ्यो भन्ने मतमा म शतप्रतिशत सहमत छु । यी कुरा पन्छाउने हो भने समीक्षक केवल अक्षरको दलाली गरिरहेको हुन्छजस्तो लाग्छ ।
समीक्षालाई समृद्ध बनाउन अध्ययनको दायरा फराकिलो बनाउँदै नयाँ मान्छे र पुस्तकसँग संगत बढाउनुपर्ला । यात्रा–भ्रमण गर्ने हाम्रो जाँगर बढाउनु पर्ला । यीबिना त हाम्रो समीक्षाचेतको क्षितिज कसरी फराकिलो होला र ? फरक समाज, संस्कृति, इतिहासपरक पुस्तक र गम्भीर व्यक्तिहरूको संसर्गमा पुगेर तुलनात्मक अध्ययन नगरेसम्म हाम्रो समीक्षा ‘क्लिसे’ नै हुनेछ ।
खँदिलो र गतिलो फिल्म समीक्षाको दुर्भिक्ष नै छ भन्दा पनि हुन्छ । जबकि, अन्तर्राष्ट्रिय रूपमै धाप मारिएका नेपाली फिल्म धमाधम आइरहेका छन् । तर, असल फिल्मलाई न्याय गर्ने खालका समीक्षा आउनै सकेका छैनन् । किन यस्तो भएको होला ?
पछिल्लो समय नेपाली सिनेमामा निकै राम्रा काम भएका छन् । खासगरी, आदिवासी सौन्दर्य र विश्वास पद्धतिलाई सिनेमाले चिन्नुजस्तो सुन्दर र सुखद पक्षबारे हाम्रोमा न गतिलो बहस भएको छ, न त राज्यले चाल पाएको छ । यस्सो हेर्दा, हामी पुरानो धङधङीबाट अझै उत्रिनै सकेका छैनौं । सबभन्दा डरलाग्दो कुरा, प्रायः सिनेकर्मीले सिनेमालाई मनोरञ्जनको साधन र बजारको ‘वस्तु’ का रूपमा मात्रै हेरे भने अर्को लाजमर्दो कुरा, सिनेसमीक्षकले सिनेमाको कथावस्तु मिलाएर भट्याउन सकेकैमा आफ्नो सफलता सम्झे ।
यी दुवै कुरा आत्मघाती लाग्छ । हुनु के पर्थ्यो भने गम्भीर सिनेमाले उजागर गरेको विषयमाथि समीक्षकले वैचारिक बहसको आह्वान गर्नुपर्थ्यो । किनकि, हाम्रोजस्तो लिखित इतिहास र औपचारिक अध्ययनको परम्परा कम भएको मुलुकमा शिक्षाको गतिलो माध्यम सिनेमा हुन सक्थ्यो । अक्षर नचिन्ने हाम्रा आमा–हजुरआमाहरूले समेत सिनेमाबाट नयाँ–नयाँ दृश्य र दीक्षा ग्रहण गर्ने अवसर पाउँथे । तर, हामीकहाँ सिनेमा–साक्षरताको कमी सिनेकर्मीदेखि समीक्षकसम्मै व्याप्त छ ।
‘थिएटर रिभ्यु’ र ‘पेन्टिङ रिभ्यु’ का दीनहीनता कहिल्यै नसकिएझैं लाग्छ । यस क्षेत्रको गरिबी कसरी निवारण हुँदो हो ?
थिएटर र पेन्टिङको ‘रिभ्यु’ का लागि पहिले ‘भ्यु’ प्रस्ट भएको ‘रिभ्युअर’ चाहिन्छ । हामीकहाँ ‘भ्यु’ मात्रै होइन, भेउ नै नपाएकाहरू धेरै छौं । यी विधाले प्रतिबद्धता र कटिबद्धतासहित धैर्यशील अनि अध्ययनशील समीक्षकको माग गर्छन् । बुझेर लोकलाई बुझाउने ल्याकत राखेर मात्रै यस क्षेत्रको गरिबी निवारण हुन्छ । यसका लागि नीतिगत रूपमा प्रस्टतासहित राज्यले लगानी गर्नुपर्ने हुन्छ । तर, राज्य हुँदाखाँदाको आकर्षक डाँडामाथि ‘भ्युटावर’ नामको नक्कलीे ‘पेन्टिङ’ गर्नमै व्यस्त छ अनि कसरी यताको समीक्षा समृद्ध हुनु ?
तपाईंका समीक्षा पढ्दा के देखिन्छ भने तपाईं अरू विधामा जति कठोरतापूर्वक प्रस्तुत हुनुहुन्छ, कवितामा त्यसरी प्रस्तुत हुनुहुन्न । कविता साँच्चै गतिलो भएर हो वा कविहरूको बाक्लो संगतले हो ? कि पूर्वकवि हुनुको हैसियतले हो ?
कविता आफैंमा शब्दहरूको अन्तराल या शब्दहरूभन्दा पर पनि अर्थ खोजिने विधा हो । मैले कविताको आलोचना गर्दा पनि कविताकै शैली पछ्याउने कोसिस गरें । ∕, मैले लेखेका कविता–समीक्षालाई बिस्तारै पढ्नुभयो भने प्रशस्त आलोचना भेट्नुहुन्छ । तर, त्यसमा कठोर शब्दचयन नगरेको भने साँचो हो । साहित्यप्रेमीले प्रेम गर्ने भनेकै काव्यिकतालाई हो भन्ने मेरो ठहर छ । किनकि, हरेक भाषाको शौर्य र सौन्दर्य नापिने विधा नै कविता हो । यसैले म कवितालाई प्रेम गर्छु ।
नेपाली साहित्यमा धेरै लेखिएको र राम्रो काम भएको विधा पनि कविता हो भन्ने लाग्छ । राम्रा भनिएका कविका पनि एकाध कविता मात्रै लामो समय बाँच्ने हुन् । त्यसैले नेपाली साहित्यमा दीर्घायु बोकेका कविता छन् । अर्को महत्त्वपूर्ण कुरा, हामीले हाम्रै देशका भाषाहरूबारे खासै चासो नराखेर मात्रै हो, नत्र नेपालका मातृभाषामा सयौं अमर कविता हुन सक्छन् ।
केही लेखकप्रति तपाईंको अतिशय मोह छ भन्ने गरिन्छ । जस्तो कि— कुमार नगरकोटी, नारायण ढकाल, खगेन्द्र संग्रौला । स्पष्टीकरणमा के भन्नुहुन्छ ? ‘कन्फेसन’ कै तहमा पुग्नुभए पनि हुन्छ ?
उहाँहरूसँग मेरो भेटघाट भइरहने र मैले पनि उहाँहरूलाई अभिभावकसरह सम्मान गर्ने भएर यसो भनियो कि जस्तो लाग्छ । नत्र ‘संक्रमणमा नगरकोटी’ लेख्ने पनि गुरुङ सुशान्त हो भन्ने हेक्का राखिन्थ्यो होला । उहाँहरूलाई सम्मान र आलोचना दुवै गर्छु । खासमा, म राम्रा लेखकप्रतिको सम्मान गर्दो रहेछु । विचार र शिल्पमा विशिष्ट काम गर्नेहरूलाई सम्मान र प्रशंसा गर्दा नयाँ लेखकहरूलाई गहन काम गर्ने उत्प्रेरणा मिल्न सक्छ । समग्रमा, त्यसले सिंगो वाङ्मयलाई लाभ हुन्छजस्तो लाग्छ ।
मलाई थाहा छ, अतिशय मोह त गोविन्द वर्तमानप्रति राख्छु । वर्तमानको नाम पटकपटक लिन्छु र साथीहरूलाई पढ्न सिफारिस गरिरहन्छु । तर, उनको नाम लिएर मलाई कसैले केही भनेको छैन । किनकि, उनीसँग मेरो बाक्लो संगत थिएन । मेरो अहिलेसम्म देखभेटै नभएका डोरबहादुर विष्ट, जोसेफ डाल्टन हुकर, टोनी हागन, अरुन्धती रोय र सुदर्शनराज तिवारीका ‘टेक्स्ट’ लाई खुलेर प्रशंसा गरी लेखेको छु । तर, उहाँहरूप्रति अतिशय मोह गुरुङले देखायो भनिएन नि ।
संगत त, मेरो कवि विनोदविक्रम केसी, विमला तुम्खेवा, शकुन्तला जोशी, छम गुरुङहरूसँग बढी छ । तर, मैले उहाँहरूका मौलिक किताबबारे आजसम्म लेख्न नभ्याएको पनि त तथ्य साक्षी छ । मेरा हितैषीहरूको किताबको विमोचनदेखि भूमिका लेखनमा समेत खरो आलोचना गरेको छु । र, मित्रहरूकै किताबमाथि मस्त आलोचना गरी समीक्षा लेखेको प्रमाण त यही ‘इतर समीक्षा’ नै भइहाल्यो । यसैले मेरो लेखनमा आधारित भएर गरिएको होइन होला, यो टिप्पणी ।
समीक्षा लेखेबापत आफूले आर्जन गरेको दुस्मनीमाथि केही बताउनुहोस् न !
पहिलो दुस्मनी नलेखेरै सुरु हुन्छ । ‘हाम्रो किताबको किन नलेखेको ? के अपुग भयो मेरो रचनामा ?’ यस्ता प्रश्न गर्छन् । अरू नै सन्दर्भमा फ्याट्ट भेट भएका बेला एउटा कमजोर पुस्तकको चिरफार गरेर बस्ने फुर्सद र प्रसंग पनि मिल्दैन । कतिपयले चिल्लो घस्ने, कतिले मेरा साथीहरूको माध्यमबाट अनुरोध गर्ने र कतिले पत्रम्–पुष्पम्को प्रस्ताव पनि पठाउँछन् । यस्ता प्रलोभन–प्रस्तावलाई त म ठाडै बेवास्ता र इन्कार गर्छु । पुस्तक मन परे सात समुद्रपारिका लेखकदेखि कहिल्यै बोलचाल, भेटघाट नभएका स्रष्टाका सिर्जनाको समीक्षा पनि लेख्छु । खासमा यस्तै रचनामाथि लेख्न मज्जा आउँछ ।
नढाँटी भन्छु– विचार र शैली नमिले पनि म कसैसँग व्यक्तिगत दुस्मनी पालेर–हुर्काएर राख्ने स्वभावको मनुवा होइन । तर, कसैले मलाई नलेखकै भरमा या आलोचनात्मक समीक्षा लेखेकै भरमा दुस्मनी साँचेर राखेका छन् भने त्यो मेरा लागि सम्पत्ति हो । तर, मन परेका पुस्तकदेखि सिनेमाको म खुलेरै प्रशंसा गर्छु । आलोचना पनि योग्य टेक्स्टको मात्रै गर्छु । अर्को कुरा– समीक्षा मेरो जागिर या ठेक्का होइन । मेरा आफ्नै हजार लन्ठाहरू छन् ।
मन परेका सबै किताबबारे लेख्ने समय पनि नहुन सक्छ । त्यस्तै एक उदाहरण हो, श्याम साहकृत ‘अब्बा’ । कहिले त मन लागेको किताब पढ्ने मेसोसमेत मिल्दैन । मित्र बसन्त बस्नेतको पछिल्लो उपन्यास ‘सिमसारा’ को विमोचनमै गएँ । तर, अरू–अरू कामले पढ्न भ्याएको छैन । बसन्तजीलाई भनें पनि । साथीले ‘बिस्तारै पढ्दा हुन्छ’ भनेर माफी दिएका छन् ।
