धपेडीको संसारलाई केही दिनका लागि विच्छेद गर्दै हिमाली भूगोलसँग जोडिन मन लाग्यो । र, हामी लाग्यौं कञ्चनजंघा पदयात्रामा । पूर्वी नेपालको दुर्गम भागमा तय गरिने यो यात्रा जति रोमाञ्चक छ, यति नै कठिन पनि ।
कञ्चनजंघा (८,५८६ मि.) विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल हो । सडक र हवाई मार्गले जोडिएको ताप्लेजुङबाट यो यात्रा सुरू हुन्छ । चिरूवा र लेलेपको बाटो हुँदै नदीनाला र जंगल पछ्याउँदै कञ्चनजंघा संरक्षण क्षेत्रको सेखामुथ पुगेपछि सडकमार्ग सकिन्छ र यहीँबाट सुरू हुन्छ, वास्तविक यात्रा ।
यो यात्रा सेखाथमु, अम्जिलोसा, ग्याब्ला, घुन्सा, खाम्बाचेन, लोनाक हुँदै पाङ्गपेमामा रहेको उत्तर आधार शिविर (५,१४३ मि.) पुगिन्छ । हावामा फरफराइरहेका ध्वजा र कलात्मक तिब्बती शैलीका घर भएको घुन्सा रमणीय गाउँ हो । यहाँबाट खाम्बाचेनको बाटो झन्झन् भिरालो हुँदै जान्छ, सँगै चिसो पनि थपिन्छ । खाम्बाचेनबाट देखिने कुम्भकर्ण (७,७१० मि.) हिमालले यात्रालाई मनमोहक बनाउँछ ।
लोनाक हुँदै पाङ्गपेमा बेसक्याम्पबाट मनमोहक हिमाली दृश्य त देखिन्छ न स्थानीयको न्यानो आतिथ्यले आँत शीतल बनाइदिन्छ । पाङ्गपेमाबाट घुन्सा फर्केपछि दक्षिणतर्फ सेलेले पास गर्नु पदयात्राको मुख्य आकर्षण र चुनौतीमध्ये एक हो । ४,२०० मिटरभन्दा माथि चल्ने हावा र हुस्सुसँगै पर्ने हिउँले यात्रा कष्टकर बन्छ । तर सफा दिनमा मकालु र सगरमाथासहित हिमशृंखला देख्दा मन आनन्दित बन्छ ।
सेलेले पास गरेपछि दक्षिणी भागमा रहेको चेराम हुँदै ओक्ताङ आधार शिविर पुगिन्छ । यताबाट पृथक् हिमनदी, ताल, घना जंगललगायत मनोरम दृश्य देखिन्छ । त्यसैले कञ्चनजंघा यात्रा गर्दा पूरा सर्किट नै तय गरिएन भने पदयात्रा अपूरो हुन्छ । १६ देखि १७ दिनसम्मको यो यात्रामा धेरै ठाउँमा मोबाइल नेटवर्कमा समस्या आइरहन्छ । ठाउँठाउँमा पहिरोको जोखिख पनि उत्तिकै हुन्छ । त्यसैले स्थानीयको माग छ– सरकारले पहिरो गएका बाटो समयमै मर्मत गरिदिनुपर्छ । पयर्टन विस्तारका लागि योजना बन्नुपर्छ ।
