भुइँमान्छे बिर्सिएका कम्युनिस्ट 

इतिहास साक्षी राखेर ‘भुइँमान्छे’ ले देखाएको ऐनामा आफ्नो अनुहार हेर्न नेताहरूलाई सुझाव दिएकी छन्, लेखक बिन्दा पाण्डेले 

जेष्ठ ३, २०८२

अस्मिता विष्ट

Forgotten communists

वीरबहादुर भन्छन्, ‘अकबरे खुर्सानी पचाउन सक्नेहरू नै श्रमजीवी वर्गका पक्का मानिस हुन् । किनकि श्रमजीवी वर्गको मुख्य मसला भनेको खुर्सानी हो । त्यसैले श्रमजीवी मानिसहरू भन्ने गर्छन्– ‘पिरो नखानेले मिठो खाँदैन ।’ 

तिनै श्रमजीवीले हुर्काएको नेपालका कम्युनिस्ट नेताको डाइनिङ टेबलमा आजकल कतिवटा व्यञ्जन सजिएका हुन्छन् ? व्यञ्जन स्वाद मान्दै खाँदा आफूलाई डोर्‍याएर अहिलेको स्थानसम्म पुर्‍याउने श्रमजीवीको पेटबारे सोच्छन् कि सोच्दैनन् नेताहरू ?

उबेला कम्युनिस्ट पार्टीका निम्ति भुइँमान्छे कसरी आधा पेट खाएर बाँच्थे ? पार्टीका निम्ति कसरी आफ्नो सम्पूर्ण ऊर्जा सिनित्त पारेर खन्याउँथे र आफू रित्तिएकोमा गर्व गर्थे ? यस्तै मर्मस्पर्शी प्रसंगहरूको सँगालो हो– बिन्दा पाण्डेको पुस्तक– ‘भुइँमान्छे’ ।

तर, ती श्रमजीवी कहाँ छन् ? के चाहन्छन् ? तिनले देखेको सपना पूरा गर्न कहाँ चुक्यो पार्टी ? सिङ्गो पार्टी बचाउने ती जनता अहिले पार्टीका गणनामा किन पर्न छाडेका छन् ? यस्ता प्रश्न आइरहन्छन् उनको मस्तिष्कमा, जब नियाल्न थाल्छिन् उनी– पार्टीभित्र मौलाउँदै गरेको बेथिति, पार्टीमा ढल भएर पसेका व्यक्ति, वर्ग र समुदायसमेत ।

उनी हाकाहाकी भन्छिन्– ‘जसले लाख दिन्छ, करोडको अपेक्षा राखेको हुन्छ । जसले करोड दिन्छ, उसले अर्ब फिर्ता गर्ने सोच राखेकै हुन्छ । तर, ती पैसा जम्मा गरेर रुपैयाँमा सहयोग गर्ने श्रमिक वर्गले नागरिकले सम्मानपूर्वक श्रम गरी खान पाउने, हरेक सन्तानले असल शिक्षा र बिरामी हुँदा सहज उपचार एवं मुलुकमा सुशासन होस् भन्ने अपेक्षा मात्र थिए ।’ 

उनलाई लाग्छ, कम्युनिस्ट पार्टी अब भुइँमान्छेको भावना नबुझ्ने भएको छ । आफ्नो स्वार्थमा जरजर भइसकेको पार्टी सोच्न असमर्थ छ– उसले जनताको अपेक्षा कति पूरा गर्न सक्यो ? कति प्रयत्न गर्‍यो उसले जनताको मसिना र निःस्वार्थ अपेक्षा पूरा गर्न ? मुलुकको कम्युनिस्ट आन्दोलनको मूल धार र वैकल्पिक राजनीतिक शक्तिका रूपमा कम्युनिस्ट पार्टीले चलाएको अभियानमा आधारभूत तहमा रहेर काम गर्ने श्रमजीवी वर्ग, स्थानीय कार्यकर्ता र 

बिनापर्वाह आफ्नो ज्यानको समेत जोखिम मोलेर पार्टीका नेता तथा कार्यकर्तालाई आश्रय प्रदान गर्ने सर्वसाधारण जनता (भुइँमान्छे) को योगदान कति रह्यो ? यस्ता जिज्ञासालाई शान्त पार्न सघाउँछ पुस्तक– ‘भुइँमान्छे’ ले । पाण्डेले ऐतिहासिक साक्षको आधारमा भुइँमान्छेले कम्युनिस्ट पार्टीलाई गरेको योगदान प्रस्तुत गरेकी छन् । 

कम्युनिस्ट पार्टीको निर्माण, परिवर्तन ल्याउन खेलेको भूमिका, विभिन्न कम्युनिस्ट नेताहरूको जीवनीबारेका पुस्तक बजारमा धेरै छन् । तर, पार्टी निर्माणमा सशक्त योगदान दिएका, रुखको जराझैं भएर पार्टीलाई पानी अनि पोषण प्रदान गर्ने, पार्टीलाई अड्याउन र आफ्नो आकांक्षातिर उन्मुख भइरहन आड दिने भुइँमान्छे ती पुस्तकमा नअटाएको महसुस गरेर पाण्डेले तिनलाई ससम्मान समर्पित गरेकी छन्, यो संग्रह । 

पुस्तकमा पाण्डेले विल्कुल दुई अलग शैली अपनाएकी छन् । पार्टी गठनको फेहरिस्त प्रस्तुत गर्दा प्रयोग भएको भाषा औपचारिक स्ट्यान्डर्ड नेपाली भाषाको मानकमा खरो उत्रिने खालको छ । ‘भुइँमान्छे’ जसका लागि समर्पित छ, तिनले बुझ्न कठिन हुन खालको छ । तर, पुस्तकमा प्रस्तुत गरिएको स्रोत व्यक्तिका अभिव्यक्ति भने सरल र रोचक छन् । पुस्तकमा केही घटना र व्यक्तिप्रति प्रस्तुत गरेको धारणामा भने लेखकको पूर्वाग्रह झल्केको भान हुन्छ । यस्ता ठाउँमा लेखकको तटस्थ उपस्थितिको अपेक्षा राखेका पाठक केही निराश हुन सक्छन् । 

२०६६ जेठ ११ गते माधवकुमार नेपाल प्रधानमन्त्री बनेको प्रसंग सम्झिँदै पाण्डे लेख्छिन्, ‘सामान्यतः संसदीय व्यवस्थामा दलको नेताले सरकारको नेतृत्व गर्ने परम्परा हुन्छ । तर, त्यो परम्परा तोड्दै पार्टी अध्यक्ष र संसदीय दलका नेता झलनाथ खनाललाई बाहिर राखेर संविधानसभाको निर्वाचनमा दुई ठाउँबाट पराजित हुँदा नैतिकताका आधारमा पार्टी महासचिवबाट राजीनामा दिएका नेपाल सरकारको नेतृत्व गर्न पुगे । परिणामतः प्रधानमन्त्री भएको वर्ष दिन भई आफ्नै दलसमेतका असहयोगका कारण उनले प्रधानमन्त्री पदबाट २०६७ असार १७ गते राजीनामा दिनुपर्‍यो ।’ 

पुस्तकमा विभिन्न पृष्ठमा पाण्डेले माधवकुमार नेपालप्रति तीव्र असन्तुष्टि अभिव्यक्त मात्र गरेकी छैनन्, आलोचनासमेत गरेकी छन् । नेपाल कम्युनिस्ट पार्टी फुट्नुका विभिन्न कारणको विश्लेषण गर्नुभन्दा पनि नेता विशेषप्रति औंला तेर्स्याउनु लेखक आफ्नो लेखकीय धर्मबाट विमुख हुनु हो भन्ने महसुस गर्ने ठाउँ पनि छ ।

फुकोले भनेका छन्, ‘इतिहास सत्यतर्फको क्रमिक प्रगति होइन, बरु यो सत्ताको क्रमिक फेरबदलहरूको शृङ्खला हो ।’ त्यसैले इतिहास लेखनीमा सत्तामा रहेको मानिसप्रतिको झुकाव नजानिँदो तवरमा आएकै हुन्छ भन्छन् फुको ।

यो पुस्तकमा पनि पछिल्लो समय पार्टी र सरकारको सत्ता सम्हालेपछि केपी ओलीलाई एउटा हिरोइक फिगरका रूपमा चित्रण गरिएको छ । सजग पाठकले लेखकको यो दृष्टिकोणप्रति विमति जनाउनेछन् वा सहमतिको मोहर लगाइदिनेछन् ? यो समयले बताउने नै छ । 

स्टेफिन ग्रिनब्लाटको विचारमा इतिहास पनि साहित्य जस्तै ‘कल्चरल टेक्स्ट’ हो । सत्ता, सत्ताबाट निर्मित डिस्कोर्स र चिन्तन शैलीबाट इतिहास अक्सर प्रभावित हुन्छ । तर, यो पनि उति नै सत्य हो कि समाजबाट निर्मित डिस्कार्स र चिन्तन शैलीले पनि इतिहास लेखनमा प्रभाव पारेको हुन्छ । यसै भनाइको प्रतिबिम्ब देख्न सकिन्छ ‘भुइँमान्छे’ मा ।

यसमा प्रस्तुत अधिकांश तथ्यांक आम मानिसको अनुभूति र तिनका विचारमा आधारित छन् । र, त्यसमा अटेका छन्– पार्टीका निम्ति ज्यान उत्सर्ग गर्ने सहिद, सर्वस्व गुमाउने नेता, परिवार छाडेर पार्टी डोर्‍याउने व्यक्तित्व र पार्टीको नेता–कार्यकर्ताका निमित्त ढाल बनेर उभिने भुइँमान्छेहरू– मधेशी, जनजाति, दलित र महिला ।

परम्परागत इतिहास लेखनशैलीको मानकलाई भत्काउँदै यस पुस्तकमा पाण्डेले स्टिफिन ग्रिन वाल्टद्वारा प्रवर्द्धित ‘नयाँ ऐतिहासिकतावाद’को शैली प्रयोग गरेकी छन् । पुस्तकमा उनले जीवन, समाज र आम मानिसको दृष्टिकोण, भोगाइसमेत समावेश गरेकी छन् । जसले गर्दा पुस्तकसँग आम मानिसले अपनत्व महसुस गर्नेछन् । 

सातु मात्रै खाएर एक हप्तासम्म गाउँमा चलाएको क्रान्ति होस् वा गुप्तचरसँग वारेन्टेड नेता–कार्यकर्ताको सूची खोसेर पार्टीमा बुझाउने, खोसिएका हतियार लुकाउने, गिरफ्तार नेता–कार्यकर्ता पुलिसको हातबाट खोस्ने, ‘जेलब्रेक’ गर्नेहरूको अनुभव । यी प्रसंगले पुस्तक रोचक बनाएको छ ।

पुस्तक पढ्दा भुइँमान्छेप्रति मात्र होइन, नेता–कार्यकर्ताप्रति पनि अगाध स्नेहभाव जागृत हुन्छ । ०६२/०६३ पछिको पुस्ताले यो पुस्तक पढ्ने हो भने आफूले उपभोग गर्दै आएका गणतान्त्रिक नेपाल निर्माणका लागि नेताहरूले गरेको संघर्ष र बलिदानबारे अवगत हुने थिए । अनि सत्ताको उन्मादमा लट्ठिएर विगत बिर्सिएजस्तो गर्ने नेताहरूले पनि यो पुस्तक पढे हुने ।

तिनले थाहा पाए हुने– तिनलाई काँध हाल्ने, पार्टीलाई हुर्कन आफ्ना छहारी प्रदान गर्ने तिनका हितैषी ती भुइँमान्छेको चित्त दुखाइ, चिहाउन सके हुने । र, नेतालाई लुकाएको अभियोगमा आफ्नो जग्गा जमिन्दारबाट खोसिएर हरुवा बस्न बाध्य पारिएका नारायण थारूको व्यथा तिनले बुझे हुने, जसले जग्गा अझै आफ्नो नाममा ल्याउन सकेका छैनन् । 

भुइँमान्छेकै दुःख र योगदानले मुलुकमा लोकतन्त्र आयो । तर, जनताको जीवनमा अपेक्षित परिवर्तन आएको छैन । बाँडिएका सपना र गरिबको जीवनमा खुसी ल्याउने समाजवाद आउन अझै बाँकी छ भन्ने लाग्छ, ती तमाम भुइँमान्छेलाई । 

पुस्तकमा राणाशासनविरुद्ध संगठित आवाजको पहल गर्ने पहिलो व्यक्ति बलदेव शाहीदेखि नेपाली जनमुक्ति आन्दोलनका प्रथम सहिद लखन थापा, तत्कालीन राणा शासक चन्द्रशमशेर र समाज सुधारका निम्ति दबाब दिने योगमायासम्मलाई समेटिएको छ । कम्युनिस्ट आन्दोलनको बिजारोपण भारतमा अध्ययन गर्न गएका युवाको मस्तिष्कमा कसरी भयो र त्यसले कम्युनिस्ट पार्टीको घना वृक्षको रूपधारण कसरी गर्‍यो भन्नेसम्मको विस्तृत विवरण समेटिएको छ पुस्तकमा । 

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य र नारायण विलास जोशीसमेतले २००६ सालमा स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी कसरी बारम्बार सरकारको प्रतिबन्ध, दमन, आन्तरिक कलह, नेताको व्यक्तिगत स्वार्थ र दम्भसमेतको मारमा बारम्बार टुक्रियो ।

तर, फेरि पनि खरानीबाट बिउँझिएको फिनिक्सझैं आफ्नो कर्ममा जुटिरह्यो भन्ने विवरणलाई अत्यन्त सटीक र बोधगम्य ढंगले पुस्तकमा पस्किएको छ । चित्र, सन्दर्भसूची, इन्डनोट आदि सामग्रीले पुस्तकको विश्वसनीयतामा ढुक्क बनाएको छ । तर, अत्यधिक डेटा र मितिको उल्लेख, एकै प्रकारको अनुभवको सँगालोले पुस्तकको साइज मात्र बढाएको छैन, धेरै ठाउँमा पाठकले रुचि गुमाउने भय पनि उत्तिकै छ । 

इतिहास साक्षी राखेर भुइँमान्छेले देखाएको ऐनामा अनुहार हेर्न नेताहरूलाई सुझाउने साहस देखाएकी छन् पाण्डेले । उनले सक्दो तटस्थ रहने प्रयास गरेकी छन्, जुन विवेकी लेखकको धर्म पनि हो । उनले भुइँमान्छेप्रति देखाएको कदर र सम्मान प्रशंसायोग्य छ । 

अस्मिता

Link copied successfully