अरून्धतीका ‘स्मल थिंग्स’

राजनीतिक लेखक अरुन्धती रोयको ‘गेज’ बुझ्न उनलाई सर्वाधिक चर्चामा ल्याएको उपन्यास ‘दी गड अफ स्मल थिंग्स’ नबुझी सुखै छैन । छापिएको २८ वर्षपछि फर्केर हेर्दा उपन्यासमा कुन त्यस्तो महक रहेछ, जसले अहिले पनि उसैगरी पाठकलाई खिचिरहन्छ ?

जेष्ठ ३, २०८२

विष्णु सापकोटा

Arundhati's 'Small Things'

मैले खासमा अंग्रेजीमा ‘गेज’ को भाव दिने नेपाली शब्द खोजेको थिएँ, शीर्षकका लागि । यसको पृष्ठभूमि के थियो भने बेलायतबाट दिइने २०२४ को प्रतिष्ठित पेन पिन्टर साहित्यिक पुरस्कार लेखक अरुन्धती रोयले प्राप्त गरेकी थिइन् । र, म ब्रिटिस लाइब्रेरीमा गत अक्टोबरमा उनले पुरस्कार ग्रहण गर्दाको ‘अक्सेप्टेन्स स्पिच’ पढ्दै थिएँ ।

पेन पछाडिको पिन्टर नाम नोबेल विजेता ब्रिटिस लेखक ह्यारोल्ड पिन्टरको हो, जसको नाटक ‘होमकमिङ’ मलाई पढेको धेरै वर्षसम्म पनि घरिघरि छुन, हल्लाउन आइराख्नेमध्येको कृति हो ।

उनकै सम्मानमा स्थापित यो पुरस्कार हरेक वर्ष पिन्टरले आफ्नो नोबेल वक्तव्यमा व्यक्त गरेजस्तो त्यस्तो विशिष्ट लेखकलाई दिइन्छ, जसले हामी बाँचिरहेको संसारलाई एउटा अटल ‘गेज’ ले नझुकी, नडराई निहारिरहेको छ । 

‘सत्य’ लाई भने पनि भयो या चिजको गहिराइलाई या उचाइलाई या सतहीपनालाई नै, अरुन्धतीले जसरी त्यसलाई गएका २८ वर्षदेखि निहारिरहेकी छन्, उनको ‘इन्टेलेक्चुअल स्ट्राटोस्फिअर’ बाट निस्कने झिल्काहरू परख गरिराखेका अवसरमा म भारत आफ्नो छिमेकी देश भएको सोचेर रमाउँछु । हाम्रा एक अर्ब ४६ करोड दक्षिणी छिमेकीमध्ये मलाई सबैभन्दा बढी उनी मन पर्छिन् । त्यसपछि मात्रै त्यताका गायक र कलाकार अनि अरू लेखकको पालो आउँछ ।

आजको आलेखको मानसिक खाका त्यही बेला बनेको थियो । यो पुरस्कारको व्याख्या नपढ्दै पनि मलाई कसैले ‘तिमीलाई अरुन्धती किन मन पर्छिन्, एउटा शब्दमा भन’ भनेर सोध्थ्यो भने मैले भन्ने उत्तर त्यही नै हुन्थ्यो– उनले संसारलाई गर्ने ‘गेज’ !

अहिले लेख्न बस्दा ‘गेज’ का लागि भनेजस्तो शब्द नेपालीमा सोच्न नसकेकाले मैले उनको सुन्दर र शक्तिशाली उपन्यास ‘दी गड अफ स्मल थिंग्स’ का दुई शब्द सापट लिएर शीर्षकमा राखेको हुँ, ‘स्मल थिंग्स’ । त्यसको कारण तपाईंले लेख पढ्दै जाँदा थाहा पाइहाल्नुहुन्छ ।

उनलाई ‘स्मल थिंग्सकी देवी’ पनि भन्न सकिन्थ्यो, तर म आधुनिक ज्ञान परम्परामा स्थापित भएबाहेकका मान्यता बोक्ने शब्द प्रयोग गर्न सहज ठान्दिनँ । त्यसैले कोही मानिस मर्दा मैले उसको ‘आत्माले शान्ति पाओस्’ भनेको तपाईं सुन्नुहुन्न । यदि आत्मा हुन्छ र कसैको कामनाले कसैले शान्ति पाइराखेको छ भने त्यसमा मलाई समस्या भने छैन । 

छापिएको र आफूले पढेको २८ वर्षपछि फर्केर हेर्दा त्यहाँ कुन महक रहेछ, जसले अहिले पनि त्यसरी नै खिचिहाल्छ भनेर केही प्रसंग मिसाएर सुरु त गर्नेछु । तर, यस आलेखको केन्द्रमा ‘दी गड अफ स्मल थिंग्स’ मात्रै नभई अरुन्धती नै हुनेछिन्, जसले मात्रागत रूपमा जोख्दा उपन्यासभन्दा अरू चिज बढी लेखेकी छन् । प्रख्यात लेखक त अरू पनि छन् भारतीय मूलकै– जस्तो सलमान रुस्दी, अमिताभ घोसदेखि पंकज मिश्रजस्ता ।

Arundhati's 'Small Things'

उनीहरूका कृतिका आफ्नै मानक छन् र उनीहरू पनि विश्व घटनामा बोल्छन्/लेख्छन् । समकालीन भारतीय समाजको अन्तरविरोध के हो भन्नेदेखि संसारका अरू विसंगतिप्रति टिप्पणी गर्ने स्थापित बौद्धिक अरू पनि छन् । यसरी तुलना गर्दा अरूलाई असम्मान गरेको त होइन, तर यस आलेखमा मैले हेर्न खोजेको के हो भने– आखिर अरुन्धतीको हेराइमा त्यस्तो के छ, जसले गर्दा तिनै मुद्दामा अरूले भन्दा उनले लेख्ने–बोल्ने सन्दर्भले धेरैको ध्यान आकर्षित गर्छ ? वा उनका दृष्टिकोणसँग असहमत हुनेहरूको पारा चढाउँछ ? 

यो प्रश्नको उत्तरमाथि विमर्श गर्न मेरो ‘थिसिस’ के छ भने उपन्यासकार अरुन्धती र राजनीतिक लेखक अरुन्धतीको ‘गेज’ एउटै हो । त्यो ‘आर्ट’ उही हो । उनको ‘गेज’ को ‘इन्टेलेक्चुएल स्ट्राटोस्फिअर’ दुवै विधामा उही हो ।

सहज उदाहरणका लागि बीपी कोइरालाको साहित्यिक लेखनमा उनको राजनीतिक दृष्टिकोण मिसिएको छैन भनिन्छ नि (यद्यपि यसमा मेरो सहमति छैन), मेरो तर्क के छ भने अरुन्धतीको गैरआख्यान उनको आख्यानिक ‘गेज’ कै ‘एक्स्टेन्सन’ हो । त्यही आख्यानिक ‘गेज’ का कारण उनी तीन दशकदेखि अकन्टक राजनीतिक मुद्दामा समेत बोलिराखेकी छन्, लेखिराखेकी छन्, छाइरहेकी छन् । 

त्यो भनेको के हो भन्ने लेख्नेहरू स्वयम्लाई थाहा छैन होला, तर पनि नेपाल संवैधानिक रूपमै एक ‘समाजवाद उन्मुख’ देश हो । वाम र राममा उनीहरूले फरक नदेख्लान् त के भो, तैपनि नेपाल एक वामपन्थी बहुल देश हो । त्यसैले होला, मेरो आकलनमा नेपाली वाम वृत्तमा अरुन्धतीलाई ‘आफ्नै’ ठान्नेको संख्या धेरै छ । तर, त्यहींनेर एउटा अनौठो बौद्धिक उल्झन पनि छ । त्यो वृत्तले ‘दी गड अफ स्मल थिंग्स’ बाहेककी अरुन्धतीलाई आफ्नो ठान्छ भन्ने मेरो बुझाइ छ ।

किनकि ‘समाजवादी’ साहित्यका दीक्षितहरूले एउटा ‘वर्क अफ आर्ट’ का रूपमा यस उपन्यासले पाठकलाई लैजाने यात्रामा स्वच्छन्दतापूर्वक, ननिसासिइकन सयर गर्न सक्दैनन् । तर, यसमा उनीहरूको दोष छैन । यदि तपाईं वामपन्थ वा कुनै अरू पन्थमा वर्षौंसम्म बिनाप्रश्न आस्थावान हुनुहुन्छ भने तपाईंको दिमाग ‘कोग्निटिभ’ रूपमा त्यसरी नै ‘वायर’ भइसकेको हुन्छ । तपाईंका मस्तिष्कका ‘न्युरोन’ हरू त्यसरी नै सेट हुन्छन्, जसलाई नहल्लाइकन यो उपन्यासको ‘एस्थेटिक’ स्वच्छन्दता त्यति परख गर्न सकिने जस्तो मलाई लाग्दैन । 

अरुन्धतीको उपन्यासले कल्पना गरेको पाठक खुला मनको हो जस्तो लाग्छ, जसले बेलाबेला आफैंमाथि व्यंग्य गरिराखेको हुन्छ, ‘आफ्ना’ भनिएकालाई समेत उडाइरहेको हुन्छ र पात्रका मनका पत्रपत्र उप्किरहँदा अहिलेसम्म आफैंलाई थाहा नभएका आफ्नै मनका ‘सिक्रेट’ हरूसँग साक्षात्कार हुन तयार भएको हुन्छ ।

तर, सामाजिक न्याय, पुँजीवादका विसंगति र आफ्नो आवाज आफैं सुनाउन नसक्नेहरूका लागि अरुन्धती जसरी बोल्छिन् र लेख्छिन्, त्यसको आधारमा वामवृत्तले उनलाई आफ्ना मुद्दामा सहानुभूति राख्ने लेखक भन्ने ठान्छ । यहाँनेर रमाइलो के छ भने कतिपय वामपन्थीहरू सायद बुझ्दैनन्– अरुन्धतीले उनीहरूलाई बेलाबेलामा कसरी उडाइरहेकी हुन्छिन् ? आखिर यो जीवनमा हामीले जे चाह्यो त्यही बुझ्ने छुट पाई नै राखेका छौं । 

Arundhati's 'Small Things'

नेपालका लोकतान्त्रिक विद्वान्हरूले त उनीप्रति कस्तो दृष्टिकोण बनाउने भनेर सायद धेरै सोच्ने दुःखै गर्दैनन् । तर, उनको जस्तो अन्तर्राष्ट्रिय बौद्धिक ‘ब्रान्ड’ बनेको छ, त्यसकारण उनलाई सोझै ‘डिस्मिस’ गर्न पनि सक्दैनन् होला । व्यक्तिगत रूपमा मैले यस्तो वृत्तका धेरै मानिससँग प्रत्यक्ष संगत त गरेको छैन । ‘ल भन्नुस्, अब राजनीति कता जाला ?’ भन्ने खालका विषयमा मात्रै रस बसेकाहरूसँग म सकेसम्म संगत गर्दिनँ ।

तैपनि मान्छेहरूका रुचिको अवलोकन गर्न किन रोचक लाग्छ भने यसले हाम्रो समाजमा कस्ता विमर्शप्रति रुझान छन् ? ती कुन गहिराइमा पस्छन् ? वा सतहमा फट्फटाउँछन् ? त्यो मात्रै होइन, हाम्रो राजनीतिक–बौद्धिक ‘छ्यासमिसपना’ लाई बुझ्न पनि सहायक हुन्छ । 

‘दी गड अफ स्मल थिंग्स’ पहिलो पटक पढ्दा म २५ वर्षको थिएँ । त्यसपछि त्यसभन्दा बढी समय बाँचिसक्दा संसारै कति बदलिएको छ, आफू बदलिएको त झन् कसरी हिसाब राख्नु ! लेख्न बस्नुअघि, तीन दशककी अरुन्धतीलाई यसरी हेर्छु भनेर मनमनै जुन खाका बनाउँदै थिएँ, त्यसक्रममा यी तीनै दशकमा मेरो आफ्नै फेरिएका बौद्धिक रुझान र सौन्दर्यशास्त्रीय दृष्टिकोणबारे आफैंसँग धेरै पटक मनोवाद भए । तत्क्षणमा वशीभूत पारेको कुनै विचार छ भने त्यसप्रतिको दृष्टिकोण पनि कालक्रममा यताउता हुँदै जाने नै रहेछ ।

यसबीच कति अरू कृतिहरू पढियो होला । पहिले ‘खास जान्नुपर्ने यो रहेछ’ भन्ने ठानेका कतिपय विषय अहिले ठीकैठीकैका मात्र लागेका होलान् । तर, आफैंलाई अनौठो केमा लाग्यो भने समय–यात्राको लामो पृष्ठभूमिमा अहिले फेरि तिनै पाना पल्टाएर पढ्दा मलाई अरुन्धतीको ‘दी गड अफ स्मल थिंग्स’ पहिलेभन्दा बढी मोहक लाग्यो । हुन त त्यसपछि राजनीतिक–सामाजिक विषयमा उनले जति पनि लेखेकी छन्, मैले सकेसम्म नछुटाई जस्तै पढेको छु । 

उनको दोस्रो उपन्यास ‘मिनिस्ट्री अफ अट्मस्ट ह्याप्पीनेस’ छापिएको केही सातामा ‘कोसेली’ का यिनै पृष्ठमा टिप्पणी पनि लेखेको थिएँ । र, यत्तिका वर्षपछि गहिरिएर फर्केर हेर्दाको मेरो निष्कर्ष के रह्यो भने तीन दशकदेखि यसरी अकण्टक रूपमा संवेदनशील मुद्दाहरूमा बोलिरहन, लेखिरहन र छाइरहन जुन ‘गेज’ को उपहार उनीसँग छ, विषयलाई निहार्ने ‘हुनर’ उनको पहिलो उपन्यासमै प्रस्टसँग प्रस्फुटित भएको रहेछ । 

त्यसैले उनलाई राजनीतिक रूपमा मन पराउने, तर गैरआख्यानिक रुझानको मनोभावका सज्जनहरूमाथि मेरो सुझाव छ : उपन्यासबाट अलग गरेर उनका दृष्टिकोणको महक अनुभूति गर्न सकिँदैन । अरुन्धतीको उपन्यासको अन्तरनिहित सौन्दर्य के हो भने उनी कुनै एक ‘साधारण’ मानिसको ‘साधारण’ क्षणभित्र लुकेका कैयौं असाधारण क्षणहरू देख्न सक्छिन् ।

Arundhati's 'Small Things'

आम मानिसले गर्ने एउटा सामान्य अनुभूतिभित्र उनी सम्भावित अनगिन्ती अनुभूतिका पत्र खोल्छिन् । साधारणतया धेरै मानिसको जीवन त एउटा ‘अटोपाइलट’ मै चलेको हुन्छ । दैनन्दिन गर्ने अधिकतम कार्य उसले प्रायः नसोची नै गरिराखेको हुन्छ । उसले कुनै विषयमा सोच्यो भने पनि प्रायः हरेक दिन उस्तै–उस्तै कोणका उनै सोचाइ नै दोहोर्‍याइरहेको हुन्छ । 

अरुन्धती ती ‘सामान्य’ घटनाभित्र लुकेका असामान्य अर्थभित्र छिर्न अडिएर सोच्ने ‘डेअर’ गर्छिन् । त्यहाँभित्र छिर्दा आफ्नै वा अरूका कति जायज र कति ‘नाजायज’ सत्य उत्खनन होलान् भनेर उनी डराउँदिनन् । त्यसैले राजनीतिक संसारमा उनको ‘गेज’ जसरी चल्छ, त्यसको स्रोत उनको साहित्यमा छ ।

जस्तो, एउटा सार्वजनिक शौचालयको युरिनलमा ४–५ जना मानिसले एकैचोटि पिसाब फेरेको घटना त अति सामान्य हुनुपर्ने हो नि, होइन ? तर, अरुन्धतीले पाइन् भने, त्यही ‘सानो’ घटनालाई वर्णन गर्दा यस्तो लयात्मक गद्यमा आफ्ना अन्तरदृष्टि फैलाउँछिन् कि पढ्ने पाठक उनको कलासँग हायलकायल हुन्छ ।

पिसाब गर्दा यी फरक मानिसले के सोचिराखेका होलान् ? वरिपरि सँगसँगै आफूसँग लय मिलाएर पिसाब बगाइराखेको कोही अपरिचितबारे उसले को सोचेको होला ? उनको जस्तो महक त के होला, तर मैले नेपालीमा उनको शैलीबारे बताउन आफ्नै कल्पनामा कुनै एक ‘अडोलोसेन्ट’ युवाले पिसाब फेर्दाको वर्णन बनाएँ भने सायद यस्तो सुनिन्थ्यो– 

‘मानिसले पिसाब फेर्दा के फेर्छन् होला ? पिसाब फेर्ने होलान् कि गर्ने होलान् ? गर्नु र फेर्नु भनेको उस्तै होला कि अलग ? यदि अलग हो भने उसले अहिले पिसाब गरेको होला कि फेरेको ? के पिसाब फेर्नुअघि ऊ जस्तो थियो, अहिले पनि त्यस्तै होला त ? त्यस्तै छ भने उसले के नै फेर्‍यो त ? के सबै फेरिने कुरा यस्तै हुन् ? ओली फेरिएर देउवा, देउवा फेरिएर ओली, यी सबै फेराइ उस्तै हुन् ?

यो युरिनलमा अहिलेसम्म कतिजनाले पिसाब फेरे होलान् ? के ती सबैले उसले सोचेजस्तै सोचेका थिए होला यस्तो बेला ? ठीक त्यहीबेला उसले अर्को जे कुरा सोच्यो, त्यो उसलाई अ–नैतिक जस्तो लाग्यो । साँच्चै ‘अ’ थपेपछि सबै नैतिक चिज अनैतिक हुने हुन् ? त्यसोभए सबै ‘अ’ सधैं अनैतिक कसरी हुन्छन् ? त्यसोभए अनैतिक हुने भनेको मान्छे नभएर शब्द मात्र हो त ?’ 

अनि कुनै सघन घटना र त्यसलाई बुनेको समय वर्णन गर्नुपर्दा उपलब्ध भाषाले पुगेन भने उनी आफ्नै भाषा तत्क्षण सिर्जना गर्छिन् । आफ्नो कथा लेख्न जहाँ आवश्यक भयो त्यहीं–त्यहीं अंग्रेजीभित्र आफ्नै छुट्टै अंग्रेजीको सिर्जना गरेकी छन् ।

साधारणतया अलग लेखिने शब्द जोडेर होस् कि जोडिएर लेख्नेलाई अलग्याएर, सम्बन्धित क्षणको सघनतालाई ओल्टाइपल्टाइ गर्दा चलेका शब्दले उनको भाव उतार्न अपर्याप्त भएको बुझिन्छ । गैरआख्यानमा पनि उनले जब कुनै बुँदालाई घनिभूत बनाएर प्रस्तुत गर्छिन्, यही प्रयोग त्यहाँ पनि ठ्याक्कै देखिन्छ । त्यसपछि त के चाहियो– विषय गैरआख्यानको छ, तर पढ्दा त्यो आख्यान झैं बगेको हुन्छ ।

Arundhati's 'Small Things'

‘दी गड अफ स्मल थिंग्स’ का जुम्ल्याह दाइ–बैनी राहेल र एस्था ३१ वर्षका हुँदा उनीहरूको पुनर्मिलनबाट सुरु हुने कथा सोझै उनीहरूको बाल्यकालका चोटपटक र सौन्दर्यतिर जाँदै/फर्कंदै गर्छ । अम्मुको दलित वेलुथासँगको ‘नाजायज’ सम्बन्ध होस् कि राहेल र एस्था स्वयम् नै अन्त्यमा शारीरिक मिलनमा एकाकार भएको, उपन्यासभर पात्रहरूले ‘राख्न नहुने’ सम्बन्ध राखेका छन्, सोच्न निषेध गरिएका विषयमा घोत्लिएका छन् । तर, मेरो मूल्यांकनमा ‘दी गड अफ स्मल थिंग्स’ भित्र जे–जे घटना घट्छन् ती घटना स्वयम्भन्दा घटनालाई अर्थ्याउने लेखकीय कोण, ‘विट’, व्यंग्य र समग्र न्यारेटिभ बढी गहिरा छन् । प्रत्येक प्रमुख पात्रमार्फत लेखक आफ्ना अन्तरदृष्टिको वर्षा गराउँछिन् ।

अनि कसको पो जीवनमा ठूलो ‘प्लट’ नै कहाँ हुन्छ र ? मान्छे बाँच्ने त पलपलका साना–साना घटनामा न हो– चाहे तपाईं सांसारिक हिसाबमा कुनै ठूलो व्यक्ति कहलिनुभएको होस् वा सानो ! ती साना–साना घटनाले कसरी समग्रमा व्यक्तिलाई बनाउँदै–भत्काउँदै लगेका हुन्छन्, जसको अभिलेख राख्न व्यक्ति स्वयम्लाई सम्भव हुँदैन । ठीक त्यही अर्थमा त्यही हरेक ‘सानो’ लाई नै ‘दी गड’ भन्ने अर्थमा उपन्यासको शीर्षक राखिएको होला ।

अनि, उपन्यासमा घट्ने घटनाप्रति आफ्नो ‘गेज’ बर्साउँदा, त्यहाँ पात्र आमा हुन् कि दाइ, काका हुन् कि ‘कजन’, उनी कसैलाई पनि बाँकी राख्दिनन् । ‘यी मेरी आमा हुन्, त्यसकारण यिनलाई यसरी हेर्नुपर्छ’ भन्ने छँदै छैन । ‘फलाना मेरा बुबा वा कोही हुन्, त्यसैले उनी असल मानिस हुन्’ भन्ने आग्रह राख्ने समाजमा उनका लेखकीय वर्णन कतिपयलाई अपाच्य लाग्नु उपन्यासको सानदार पक्ष हो । 

जसरी उनको उपन्यासमा एकैचोटि बौद्धिक तीक्ष्णता, व्यंग्य, हास्य र यो सबैलाई जोड्ने कविता जस्तो मिठास पाइन्छ, उनका गैरआख्यानहरूमा यिनै तत्त्वहरू गहकिला तर्कसँग जोडिएर आएका हुन्छन् । उनले लेखेको पढ्दा होस् कि बोलेको सुन्दा, उनले गरेका तर्कसँग सधैं सबै सहमत हुने भन्ने नहोला । सहमत नहुँदा–नहुँदै पनि धेरैलाई सायद लाग्दो हो– हो त, यसरी त मैले सोचेकै थिइनँ । कतिपयलाई लाग्दो हो– हो त, यसलाई यसरी पनि त बुझ्न सकिन्थ्यो । 

त्यसरी सबैले सोच्दैनन् । धेरैजसो लेख्ने–बोल्नेले गर्ने भनेको अखबारमा आएका समाचारलाई आफ्नो सनातनी विचारधारात्मक झुकाव अनुसार ‘रिसाइकल’ गरेर पस्किने मात्रै हो । अनि त्यसो गर्नेहरूको ध्यान ‘धेरैले मन पराउने खालको लेखौं बोलौं’ भन्ने हुन्छ होला । तर, अरुन्धतीका राजनीतिक दृष्टिमा घटना उही हुन्छ र त्यही घटनामा अरूले नदेखेको उनले देखेको जस्तो लाग्छ किनकि उनी घटनाभित्र छिर्न डर मान्दिनन् । अलोकप्रिय भइएला कि भन्ने वास्ता गर्दिनन् ।

सत्ताको शिखरमा बसेको व्यक्ति देख्नेबित्तिकै उसको शक्तिको ओज देखेर नतमस्तक हुनेहरू धेरै हुन्छन् । कसैले कुनै राजकीय पद पायो भने उसले त ठूलै उपलब्धि हासिल गर्‍यो भन्ने ठान्ने धेरै हुन्छन् । तर, अरुन्धतीको ‘गेज’ ले कुनै सत्तासीन कार्यकारीको नैतिक खोक्रोपन टाढैबाट देख्न सक्छ । सत्तामा रमेकाहरूले आफूलाई विशेष ठानिरहेका बेला अरुन्धती उनीहरूलाई सम्झाइदिन्छिन् कि ती ठूला ठानिएका मानिसहरू वास्तवमा कति साना छन् ! 

अरुन्धतीको निसानामा राज्यका क्रूरता, पुँजीवादका अन्तरनिहित विसंगति र असमानता, सामाजिक अन्याय र स्वतन्त्रताका सात–आठ दशकसम्म पनि विद्यमान भारतीय समाजका संरचनात्मक विभेद रहने गरेका छन्, जसलाई चुनावदेखि चुनावसम्मको प्राविधिक लोकतन्त्रले सम्बोधन गर्न नसकेकामा उनको कटाक्ष छ । उनको केन्द्रमा जहिले पनि आम मान्छे नै हुन्छन्, अल्पसंख्यक नै हुन्छन्, गरिब बनाइएकाहरू हुन्छन्, बहिष्करणमा पारिएकाहरू नै हुन्छन् ।

जात व्यवस्थाका नाममा इतिहासदेखि अन्यायमा पारिएका दलितहरूको पक्षमा पैरवी गर्दा उनले ‘महात्मा’ गान्धीको ‘महात्मापन’ लाई पनि कठोर निसानामा पारेकी छन् । डा. बीआर अम्बेडकरको १९३६ को प्रस्तुत हुन नपाएको प्रस्तुति ‘अनाइलेसन अफ कास्ट’ को नयाँ प्रिन्ट संस्करणमा उनले लेखेको ‘द डक्टर एन्ड द सेन्ट’ शीर्षकको परिचयमा र त्यस सेरोफेरोमा अन्य अवसरमा बोल्दा गान्धीको ‘महात्मापन’ माथि जस्तो व्यंग्य छ, त्यसले धेरैलाई स्तब्ध पारेको थियो । 

साधारणतया प्रश्नभन्दा माथि राखिने गान्धी जातव्यवस्था सम्बन्धी उनको दृष्टिकोणमा कसरी एक हिन्दु यथास्थितिवादी भन्दा फरक थिएनन् भनेर एक दशकअघि उनले गरेको आलोचना अहिले पनि चर्चा भइराख्ने विषय बनेको छ । फाटफुट आलोचना त पहिले पनि हुन्थ्यो, तर एक्ली उनले गान्धीको त्यो पक्षको इतिहासलाई पुनर्लेखन नै गरिदिएकी छन् । 

इतिहासका सबै पुनर्लेखन सुन्दर हुन्छन् भन्ने हुँदैन । कतिपय त झन् पछाडि फर्कने चेष्टाका पनि हुन्छन् । तर, इतिहासमा महापुरुष कहलिएकाहरूलाई वर्तमानको प्रगतिशील आँखाले हेर्न मज्जाले पाइन्छ । बौद्धिक र लेखक हुनुका पछाडि जीवनको एक थप सौन्दर्य के हो भने आफूलाई लागेको दृष्टिकोण प्रस्टसँग राख्दा समाजका कुन शक्तिशालीहरू रिसाउलान् भनेर सोच्नुपर्दैन, आफूलाई भोट दिएर जिताइदिनेहरू घट्लान् कि भनेर चिन्ता गर्नुपर्दैन र ‘लोकप्रियता’ र ‘फेम’ को खोक्रोपन प्रति त्यहाँ भ्रम हुँदैन ।

शक्तिशालीहरू त त्यसै शक्तिमा छन् । लेखक र बौद्धिकका रूपमा आफूसँग जे–जति ‘एजेन्सी’ बनेको हुन्छ, त्यसको उपयोग उत्पीडनमा परेका समुदायका लागि प्रयोग नगर्ने हो भने आफ्नो ‘फेम’ को के अर्थ ? 

अरुन्धतीको सदाबहार कटाक्षमा पर्ने संसार कस्तो छ भने अर्थतन्त्रको आधुनिक मापन हुन सुरु भएपछि संसार प्रत्येक वर्ष अघिल्लो वर्षभन्दा धनी मात्रै भएको छ । देशहरूका अर्थतन्त्रका आकार प्रत्येक अघिल्लो वर्षभन्दा बढेका बढ्यै छन् । राज्यहरूका ‘कुल गार्हस्थ उत्पादन’ साधारणतया सधैं बढेको बढ्यै हुन्छन् । देश–देशका सम्बन्ध अर्थतन्त्रका आकारबाटै निर्धारित भएका छन् ।

कुन देशको मानिस कुन देशमा जान पाउँछ ? त्यो देश कति धनी छ भन्नेबाट निर्धारित भएको छ । यसलाई यसरी पनि भन्न सकिन्छ, मानौं मानिस पृथ्वीमा रहनुको उद्देश्य पुँजी सिर्जनाका लागि निरन्तर दौडन मात्र हो, पुँजी बढाउन हो । तर, धनी देशहरूको कथा सुन्दा ती देश त हरेक वर्ष झन् धनी नै भएका छन् र त्यहाँ मध्यमस्तरको जागिर खाने युवाले समेत जिन्दगीभर आफू बस्ने बास जोड्न सक्दैनन् । चाहे त्यो टोकियोको कथा होस् वा सोलको वा अमेरिकाको कुनै सहरको कि क्यानडाको ! 

चीन, कोरिया, जापानका सहरतिर बस्नेले विवाह गर्ने, बच्चा जन्माउने जस्ता काममा धेरै सोच्दै सोच्दैनन् । यसो गर्नु महत्त्वपूर्ण हो भनेको होइन, तर उनीहरूले त्यसो किन गर्दैनन् भने त्यसो गर्दा उनीहरू ‘करिअर’ मा पछि पर्छन् । धनी देशहरूमा त यो पनि बहस सुरु भएको छ, चार–चार वर्ष लगाएर ‘अन्डरग्य्राजुएट’ पढ्दा जति पैसा र समय खर्च हुन्छ, के त्यो आर्थिक रूपमा हेर्दा उपयुक्त काम हो ? हाइस्कुलपछि सोझै काम थाल्यो भने पो फाइदा हुने जस्तो देखिन्छ त !

अर्थात्, ज्ञानका लागि ज्ञान भन्ने त प्राचीन जस्तो हुँदै छ, त्यसलाई मापन गर्ने भनेको त्यसले के–कति आर्थिक लाभ दिन्छ भनेर हुँदै छ । मानिस हुनुको अर्थ अर्थसँग मात्रै जोडिएको छ । मानिसले काम गर्दा महँगो पर्ने भो भनेर उनीहरूलाई पनि विस्थापित गर्न ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ को प्रयोग बढाइँदै छ । र, यो सबै समृद्धिकै लागि, मानवीयताकै लागि हुँदै छ, गरिँदै छ– संसार समृद्ध भइराख्ने तर प्रत्येक मानिसको जीवन झन् कम स्वच्छन्द हुँदै जाने ! अनि देशहरू झन् धनी हुने, तर नागरिकको दौड झन् दुरुह हुँदै जाने ! 

पौराणिक कथामा विश्वास गर्नेको अर्कै कुरा, नत्र भने लेखिएको इतिहासमा यो संसारमा अन्याय–असमानता नभएको कहिल्यै छैन । इतिहास यदि प्रमाण हो भने सम्भाव्यताको हिसाबले भविष्यमा पनि यो फरक हुने देखिँदैन । तर, के पनि साँचो हो भने इतिहासका प्रायः सबै कालखण्डमा जे भइरहेको छ, त्यसलाई बदल्नुपर्छ भनेर लाग्नेहरू पनि छन् । तिनीहरूले जति बदल्न सकेका छन्, त्यो थोरै छ । तर, बदल्ने कोसिस नै नगर्नेहरूभन्दा त्यसका लागि प्रयास गर्नेहरू अभिनन्दनीय हुन् । त्यसैले मलाई अरुन्धती अभिनन्दनीय लाग्छिन् । 

उनी ‘स्मल थिंग्स’ मा जुन अर्थ देख्छिन्, ती अर्थपूर्ण लाग्छन् । कसैको पनि जीवनमा ‘प्लट’ भनेको अमूर्त खाका मात्रै हो, जसलाई भर्ने–महसुस गर्ने साना घटनामार्फत नै हो भन्ने लाग्छ मलाई । र, ‘दी गड अफ स्मल थिंग्स’ को ‘गेज’ सौन्दर्यशास्त्रीय अर्थमा साँच्चै ‘ठूलो’ लाग्छ । 

विष्णु

Link copied successfully