मधुरो कि चहकिलो ?

‘झिल्को’ हेर्नु अभिभावकलाई फलदायी हुन सक्छ । फकाउने, फुल्याउने नाममा कतै हामीले बालबालिकालाई डिजिटल लतको दलदलमा फसाइरहेका त छैनौं ?

वैशाख २७, २०८२

समर्पण श्री

Dull or bright?

काठमाडौँ — नेपालमा बालबालिकामाथि कति फिल्म बने ? उनीहरूको मनोविज्ञान चियाउने सामर्थ्य कति निर्देशकले राखे ? गम्भीर भई सोच्ने हो भने ती अत्यन्त नगण्य मात्रामा छन् । एकाध निर्देशकले मात्रै बालबालिकाका विषयवस्तुमाथि कथा उधिन्ने प्रयत्न गरेका छन् ।

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’, मनोज पण्डित निर्देशित ‘छाया’ वा प्रशान्त तामाङ निर्देशित ‘सारङ्ग’ ! यतिबेला यिनै फिल्महरूको सूचीमा ‘झिल्को’ ले नयाँ स्थान ओगटेको छ । 

सती प्रथामाथि ‘झोला’ फिल्म निर्देशन गरेका यादव भट्टराईले दोस्रो फिल्म ‘भोर’ बनाए । तैपनि ‘झोला’ कै धङधङीले उनलाई एक दशक पछ्याइरह्यो । आजभन्दा १० वर्षअगाडि रिलिज भएको फिल्मले त्यतिबेला निकै राम्रो समीक्षा पनि प्राप्त गर्‍यो । इतिहासका विषयमा फिल्म बनाउनु असाध्यै चुनौतीपूर्ण हुन्छ । त्यसबेलाको समय, पात्रहरूको लवज, स्थानलाई चित्रण गर्नु चानचुने कुरा होइन ।

निर्देशक भट्टराईले निर्देशकीय कौशलतालाई भरपूर प्रयोग गरेर बनाएका थिए त्यो फिल्म । ‘भोर’ ले भने ‘झोला’ को निर्देशबाट दर्शकको अपेक्षा पूरा गरेन । दाइजो प्रथामाथि बनाएको यो फिल्मको कथामाथि नै धेरै असहमति जन्मिए । अब भने ‘झोला’ को भारी बिसाएर उनी ‘झिल्को’ बाल्न कस्सिएका छन् । गत सातादेखि हलहरूमा ‘झिल्को’ त बल्यो तर कस्तो ? मधुरो बल्यो कि चहकिलो ? यसमाथि विमर्श गरौं ।

Dull or bright?

भर्चुअल दुनियाँको कुलतबाट बाहिरिनै मानिसका निम्ति ठूलो चुनौती छ । झन् भर्खरै हुर्किरहेका बालबालिकाका निम्ति यो कति हानिकारक छ ? निर्देशकले समसामयिक सन्दर्भलाई पक्डेर यो विषय भन्न खोजेका छन् । यो एउटा यथार्थवादी फिल्म हो । 

यति व्यापक रूपमा सल्किरहेको यो डढेलोबारे सोच्नु नै निर्देशकको बलियो पक्ष हो । तर, विषय भन्नका लागि निर्देशकले जुन कथाको डोरो समातेका छन्, त्यो नै कमजोर छ । कमजोर पटकथामा उभिएका पात्रहरूसँग दर्शकहरूले भावनात्मक साक्षात्कार गर्नै पाउँदैनन् । उनीहरूको मनोदशालाई अनुभूत गर्नै पाउँदैनन् । पात्रका हाँसो, रोदन वा आक्रोशले कुनै प्रभाव पार्नै सक्दैनन् । फिल्म अवधिभर पात्रका मुड र प्रस्तुतिहरू केवल नाटकीय लाग्न सक्छन् । 

एक वाक्यमा भन्दा ‘झिल्को’ को कथा मोबाइल एडिक्सनले एउटा परिवारमा निम्त्याएको संकट हो । के फिल्म हेरुन्जेल मोबाइल एडिक्सनले त्यो संकट निम्त्याएको भान हुन्छ ? फिल्म मुख्य कथावस्तुबाटै बहकिएको छ । कथाले कुनै गति समात्दैन । आ–आफ्ना समस्यामा पात्रहरू रुमल्लिएका छन् । जब फिल्ममा कथाभन्दा सन्देश हाबी हुन्छ, कला पक्ष नै ओझेलमा पर्छ । ‘झिल्को’ को हकमा पनि त्यस्तै हुन्छ । फिल्ममा मोबाइल–मुद्दाका नाममा सन्देश मात्रै थुपार्न खोजिएको छ । यो सिलसिला सुरुदेखि अन्त्यसम्मै चल्छ । 

कथा एउटा मिडिया हाउस सञ्चालकको परिवारको वरिपरि केन्द्रित छ । चेतन (विशाल पोखरेल), आरती (वर्षा सिवाकोटी) की एक छोरी छिन् आस्था (आयुषी ढकाल) । चेतन आफ्नो मिडियामा भाइरल कन्टेन्टको खोजी गरिरहन्छन् । गृहिणी आरतीको अधिकांश समय टिकटकमै विलिन छ । छोरी आयुषीलाई खाना खुवाउँदा, ओछ्यानमा पल्टँदा होस् वा स्कुल जाँदा मोबाइल नै चाहिन्छ ।

Dull or bright?

परिवार नै भर्चुअल दुनियाँको लतमा रुमल्लिएको कुरा सुरुवाती दृश्यहरूमा प्रस्ट्याउन खोजिएको छ । तर, परिवारमा डढेलो लाग्नुको कारण मोबाइल एडिक्सन हो भन्ने विषय कतै स्थापित हुँदैन । बरु पात्रहरूका अन्य समस्या हाबी हुँदै जान्छन् ।

तिनै समस्याले पारिवारिक विखण्डन र दुर्घटनाहरू निम्त्याउँछन् । कथाकी मुख्य पात्र आस्थालाई डिजिटल अटिजम हुन्छ । तर, उनको मनोविज्ञानलाई मोबाइलभन्दा अरू नै कुराले पनि असर पारेको देखिन्छ । फिल्मको मुख्य प्लट एकातिर राखेर सहायक प्लटहरूमा रुमल्लिँदा कथा एकत्रित हुन पाउँदैन ।

फिल्ममा मिडिया हाउसले लेखेको एउटा समाचारको सन्दर्भ छ । आमाको हत्या गर्ने किशोर सजाय काटिरहेका छन्‌ । कानुनी प्रक्रियामा गइसकेको कुरालाई निर्देशकले मिडिया ट्रायलका रूपमा प्रस्तुत गर्न खोजेका छन्‌ । यो कुरा प्रस्टसँग आउँदैन । 

फिल्ममा पात्रहरूको मनोविज्ञान, उद्देश्य नै प्रस्ट देखिन्न । कथामा श्रीमान् र श्रीमतीबीचको दूरी कसरी भयो भन्ने विषयलाई दृश्यले बलियो गरी स्थापित नै गरेका छैनन् । न छोरीसँगको भावनात्मक सम्बन्ध नै स्थापित छ । फिल्मको क्लाइमेक्स र अन्त्य पनि विश्वसनीय छैन । पात्रहरू ठूला समस्या र मनस्थितिबाट गुज्रिएका छन् । ठूलो भुमरीमा फसिरहेको पात्रले त्यहाँबाट निस्कन गर्ने संघर्ष कथामा रोचक हुन्छ । तर, यहाँ समस्याबाट निस्कन गरेको संघर्ष नै गायब छ । त्यसकारण पात्रहरूमा आउने रूपान्तरण अनुभूत गर्न पाइन्न । प्रश्न आउँछ, ‘के समस्याको हल त्यति सजिलै हुन्छ ?’

यद्यपि फिल्ममा कलाकारहरूले गरेको अभिनय भने स्वाभाविक छ । रंगकर्मबाट थुप्रै शिल्पी जन्माइसकेका रंगकर्मी सुनील पोखरेलले फिल्ममा जबर्जस्त काम गरेका छन् । फिल्ममा आस्था पात्रको मनोदशाले दर्शकलाई बाँध्न सक्छ । आयुषी ढकालले यो फिल्ममार्फत आफ्नो अभिनय कौशललाई प्रमाणित गरेकी छन् ।

पात्रको चरित्र र मनस्थितिसँग उनी यसरी भिजेकी छन् कि त्यो पात्रको पीडासँग दर्शकले साक्षात्कारचाहिँ गर्छ । अभिनेता विशाल पोखरेल र वर्षा शिवाकोटीको अभिनय भने औसत लाग्छ । कुनै–कुनै दृश्यहरू यस्ता छन् कि उनीहरूको अभिनय त्यहाँ स्वाभाविकभन्दा पर लाग्छ । 

यद्यपि, फिल्म हेरेर फर्किंदै गर्दा दर्शकले आफैंले आफैंलाई फर्किएर हेर्ने प्रयत्न भने गर्नेछन् । डिजिटल फड्कोसँगै मानिसको व्यवहारमा आइरहेको परिवर्तन अनुभूत गर्नेछन् । अझ अभिभावकहरूका लागि त यो फिल्म हेर्नु फलदायी हुन सक्छ ।

नजानिँदो ढंगबाट बालबालिकालाई फकाउने, फुल्याउने नाममा कतै हामीले डिजिटल लतको दलदलमा त पुर्‍याइरहेका छैनौं ? फिल्मले कथा भन्न समसामयिक घटना र तथ्यहरूको सहारा लिन्छ । त्यसकारण यो कथा कहीँ न कहीँ हामीनजिक छ । 

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully