आकाश भैरवको १२ वर्षे जात्रामा देवगणको नृत्य चलिरहँदा कौसी, झ्याल वा छतमा बसेर नृत्य हेर्न माइकिङ गरेरै निषेध गरिन्छ, किन ?
भनिन्छ– सिद्धिप्राप्त तान्त्रिक, योगी–जोगीहरू आँखाले हेरेरै आकाशमा उडिरहेका पशुपन्छी खसाल्थे, तन्त्र साधनामार्फत् हावामा उड्थे, बाघको रूप घारण गर्थे, बगिरहेको खोला रोक्थे । कुनै बेला नेपालमण्डलका तान्त्रिकहरू चमत्कारी काम गर्थे ।
शान्तिकराचार्य, जामनः गुभाःजुले देवतालाई वशमा पारेका जनश्रुतिहरू छन् । पाटनका ‘गयो बाजे’ ले लाखे (राक्षस) लाई नियन्त्रणमा लिए र एकै रातमा पिम्बहालमा पोखरी खन्न लगाए । तान्त्रिकको चमत्कारबारे अझै बुढापाकाहरू बाबु–बाजेले सुनाएका ‘सत्य घटना’ भनेरै नाति–नातिनीलाई सुनाउँछन् ।
अझै नेपालमण्डलमा तन्त्रविद्या जान्नेहरू थुप्रै छन् । हस्तलिखित ग्रन्थहरू भन्छन्– तन्त्रभूमि नेपालमण्डलमा कुनै बेला तन्त्र, मन्त्र, यन्त्र र साधनाको बलमा अहिले असम्भव ठानिएका घटनाहरू घट्थे । यस्ता आश्चर्यचकित पार्ने घटनाको झिल्को अझै देख्न पाइन्छ देवी नाचहरूमा ।
अहिले काठमाडौं हलचोकमा आकाश भैरवको १२ वर्षे जात्रा चलिरहेको छ, जुन वैशाख महिनाभरि चल्छ । जात्रामा हलचोक गण अर्थात् चण्डी, कुमारी, हलचोक आकाश भैरव, गंगा, महादेव, पार्वती, आकाश देवी, बाराही, महाकाली र दक्षिणकालीको नृत्य गराइन्छ ।
अझै पनि आकाश देवीसँग कसैको दृष्टि जुधे अनर्थ हुने विश्वास गरिन्छ । जात्रा अवधिभर देवगणको नगरपरिक्रमा गराउँदा होस् वा डबलीमा नृत्य गराउँदा कौसी, झ्याल, छतमा बसेर नृत्य हेर्न निषेध छ । निषेधबारे बस्तीमा सबैलाई सूचित गराइन्छ– माइकिङ गरेरै । तर, निषेध किन ?
‘आकाश देवी भुइँमा होइन आकाशतिरै फर्किएर नृत्य गर्छिन् । तन्त्रसाधना गरी पोसाक, मुकुट र गरगहना लगाएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ र कौसी, झ्याल, बार्दली, छतमा बस्दा देवगणसँग दृष्टि जुध्ने सम्भावना हुन्छ । दृष्टि जुधिहाले साधारण व्यक्तिले शक्ति थाम्न सक्दैन,’ संस्कृतिविद् चुन्डा वज्राचार्य भन्छिन्, ‘तन्त्रसाधनामा विश्वास गर्ने नेवार समुदायमा ‘हावा दाःइ’ भनेर अहिले पनि मध्यदिउँदो कौसीमा उत्तानो परेर सुत्न र मध्यराति हिँडडुल गर्न नहुने विश्वास छ ।’
हलचोक आकाश भैरव नाचका गुरु नरबहादुर पुतुवारको अनुभव बेग्लै छ । गुरुले बुवाको मृत्युपछि १४ वर्षको छँदा जात्रामा भाग लिएका थिए । भन्छन्, ‘२०१० सालको १२ वर्षे जात्राका बेला न्ह्योखा टोलको डबलीमा नृत्य भइरहेको थियो । अचानक आकाशमा उडिरहेको भँगेरा खस्यो । केही समयको अन्तरालमा अर्को भँगेरा खस्यो । हल्लिखल्ली मच्चियो, त्यतिबेला आकाश देवीको नृत्य भइरहेको थियो । भीड बढ्न थाल्यो, सबै जना डराए । भन्न थाले– देवतासँग आँखा जुधेर अनर्थ भयो ।’
अझै नृत्य हेर्न आउनेहरू आँखा जुध्ला भनेर डर मान्छन् । बुवाआमा छोराछोरीलाई ‘देवताको शक्ति’ बारे सचेत गराउँछन् । काष्ठमण्डपस्थित मरू डबलीमा नृत्य आयोजना हुनुअघि डबली वरिपरिका घरहरूको छत, कौसी, बार्दली भरिभराउ थियो । नृत्यका लागि काठमाडौंको ताम्सिपाखा टोलस्थित गुठी घरबाट हलचोक गण डबलीमा पुगेपछि सबै जना तल ओर्लिएका थिए । पूजा गर्ने र सगुन दिनेको भीड लागेको थियो । त्यसपछि नाच सुरु भएको थियो । अझै मान्छेहरूमा देवताप्रतिको विश्वास र सम्मान उत्तिकै छ ।
आकाश देवीलाई विशेषगरी ‘हावा दाःगु’ (वायु विकार पन्छाउने) देवताका रूपमा पुजिन्छ । नेपाल भाषामा खासगरी हात, खुट्टा, घाँटी, ढाड, कुम अचानक हलचलै नहुने गरी दुख्नु, अप्ठ्यारो महसुस हुनुलाई ‘हावा दाःगु’ भनिन्छ । वायु विकार पन्छाउन काठमाडौं उपत्यका मात्रै होइन, अन्यत्र जिल्लाबाट पनि भाकल–पूजा गर्न आउनेहरू छन् ।
नेपालमण्डलमा भद्रकाली खड्गसिद्धि नाच, पचली भैरव, नरदेवी, दी प्याँख (देवी नाच), कीर्तिपुरको बाघ भैरव, भक्तपुरको नवदुर्गा, बोडेको नीलबाराही, ललितपुरको थेच्वको नवदुर्गा, हरिसिद्धि भवानी देवी, खोकनाको रुद्रायणी नाचकै १२ वर्षे जात्रा मनाइन्छ ।
ललितपुर थेच्वको १२ वर्षे जात्रा अवधिभर बस्तीमा बिहे, भोजभतेर, व्रतबन्ध गर्न निषेध छ । खोकनामा निश्चित समयका लागि लुगा धुन, छालाका सामान लगाउन, कुखुराको मासु–अन्डा, पूजामा रातो टीका, मनोरञ्जनात्मक कार्य गर्न पूर्णरूपमा प्रतिबन्ध हुन्छ । हलचोक आकाश भैरवको १२ वर्षे जात्रामा यस्तो अनौठो व्यवस्था छ– नाचमा पुतुवार समुदायबाहेक अन्यलाई बन्देज छ र विवाहित पुरुषलाई ‘देवगण’ बन्न निषेध छ ।
प्रायः देवीनाचमा मुख्य देवता ‘मूः द्यः’ हुन्छ । हलचोक आकाश भैरवको १२ वर्षे जात्रामा भने झ्याली बाजा, खिं बाजा, चिलाग र खड्गमध्ये एउटालाई मुख्य देवता मान्ने गरिन्छ । मुख्य देवता चुन्ने तरिका पनि अनौठो छ । वैशाख १ गते पुतुवार समुदायका गुठियारहरू बिहान सबेरै नागार्जुनको छहारे र आकाश देवी स्थानमा पुग्छन् र झ्याली, खिं, चिराग र खड्ग स्थापना गरी तान्त्रिक विधिपूर्वक पूजा गर्छन् ।
त्यसपछि दिव्य शक्तिको माध्यमबाट खिं, झ्याली बज्ने, खड्ग ढल्ने वा चिराग निभ्नेमध्ये एउटा घटना घट्ने गुठियारमाझ गहिरो विश्वास छ । संकेतस्वरूप जे घटना घट्छ, त्यसैमा दिव्य शक्ति प्रवेश गरेको मानिन्छ । यसपटक चिराग निभेकाले त्यसमा शक्ति प्रवेश गरेको गुठियारको विश्वास छ । यो दृश्य लुकेर हेरेका गुठियारले दिव्य शक्ति प्रवेश गरेपछि कपडाले छोपी देवता घरमा ल्याएका थिए ।
नाचका गुरु आइतमान पुतुवारका अनुसार, नाचमा विवाहितभन्दा अविवाहित पुरुषको शरीरमा चाँडै देवता चढ्ने विश्वास छ । जात्रामा सिंघिनी र व्याघिनी देवताको नृत्य गराउँदा गाउने गीत लोप भइसकेकाले धेरै वर्षदेखि रोकिएको नृत्य अझै सुचारु हुन नसकेको उनको बताए । नाच पुतुवार समुदायले चलाउँछन् । यो नाच शाहकालीन राजा पृथ्वीनारायण शाहसँग पनि जोडिएको छ ।
गोरखाका राजा शाहलाई कीर्तिपुरका सिपाहीले युद्धमा काट्नै लाग्दा एक जना खड्गीले ‘राजाको हत्या सिपाहीले गर्नु धर्मविपरीत’ भनी रोकेको र पुतुवारले उनलाई डोलामा बोकेर थानकोटको इन्द्रदह पुर्याएको विश्वास गरिन्छ ।
ने.स ८८९ को सो युद्धमा कीर्तिपुरका सेनाले गोरखाका प्रधानसेनापति कालु पाण्डे र पृथ्वीनारायण शाहका भाइ सुरप्रतापको दुवै आँखा फुटाइदिएका थिए । यत्रो भीषण युद्धबाट बचाएर थानकोट पुर्याइदिएका कारण पुतुवार समुदायले चलाउँदै आएको हलचोक आकाश भैरव गण नृत्यमा हुने खर्च कुनै समय राजदरबारबाट व्यहोर्ने गरिन्थ्यो भनिन्छ ।
हलचोक आकाश भैरव समाजका अध्यक्ष शेरबहादुर पुतुवार भन्छन्, ‘१९९० सालको हलचोक भैरवको देवता घरमा आगलागी हुँदा ऐतिहासिक दस्ताबेज जलेर नष्ट भयो । अहिले अध्ययन गरी दस्ताबेज तयार पार्ने योजनामा छौं ।’
वैशाख १ देखि हलचोकमा गुरुजु पल्टनको उपस्थितिमा राष्ट्रप्रमुखले विधिपूर्वक पूजा गरेपछि जात्रा सुरु भएको थियो । काठमाडौंका केलटोल, मरु, असन, दमाई टोल, वतु चिकंअत, न्यतपाःच्व, पहिको त्वाः,
ब्रह्मटोल, खुसिबु, सोहखुट्टे, न्योखा गरेर विभिन्न डबलीमा नाच नचाइने चलन छ । हलचोक आकाश भैरव प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा निकालिन्छ । आकाश भैरव, चण्डी र कुमारीको मात्र नृत्य प्रदर्शन गरिन्छ ।
हलचोक आकाश भैरवलाई स्थानीय भाषामा सवःद्य तथा सवःभकु भन्ने गरिन्छ । आकाश भैरवको जात्रा आजभन्दा १०३८ वर्ष पहिले नेपाल सम्वत १०७ मा काठमाडौंका राजा गुणकामदेवले चलाएको विश्वास छ ।
जात्राको नेतृत्व हलचोक आकाश भैरव गुठी र हलचोक आकाश भैरव समाजले गरेको छ । जात्रा सकेपछि पोसाक, मुकुट, गरगहनालगायत सरसामान काठमाडौंको मंक्सी गाः नामक खोलामा आएको बाढीमा मध्यराति पूजा गरेर बगाइन्छ । हलचोक भैरवको १२ वर्षे जात्राका प्रचारप्रसार संयोजक नृपेन्द्रलाल श्रेष्ठ भन्छन्, ‘खोलामा बाढी नआएसम्म द्यः (देवता) लाई घरमा राख्ने चलन छ ।’
