बुई चढ्दै भुइँ-कथा 

वैशाख २७, २०८२

रीना मोक्तान

Bui climbing floor-story

काठमाडौँ — लोकल इज ग्लोकल’ । पछिल्लो केही वर्षयता प्रदर्शनमा आएका नेपाली फिल्मको ट्रेन्ड हेर्ने हो भने, अंग्रेजी भाषाको यो पंक्ति पुरानो लाग्दैन । केही समयदेखि नेपाली फिल्मकर्मीको आँखा स्थानीय कथामा पर्न थालेका छन् । फलस्वरूप नेपाली फिल्मको पहिचान बलिउडको हुबहु नक्कल गरिएका फिल्मभित्र खुम्चिएन ।

मौलिक कथामाथिको उत्खनन र कथावाचनमा समाउन खोजिएको नौलो अभ्यासले नेपाली फिल्मको छुट्टै परिचय, स्वाद अनि रङ कोरिँदै छ । दर्शकले पनि रैथाने कथालाई मन पराइदिएका छन्– ‘पूर्णबहादुरको सारङ्गी’ को बक्स–अफिस रेकर्ड उदाहरण हो । यी फिल्म हेर्दा लाग्छ, नेपाली माटो अहिले मौलिक फिल्म निर्माणका लागि मलिलो बनेको छ, उर्वर भइदिएको छ । 

२०८१ लाई नै फर्केर हेरौं । वैशाख महिनामै ‘बोक्सीको घर’ जस्तो फिल्म प्रदर्शनमा आयो, जहाँ बोक्सीजस्तो कुप्रथा समेटिएको थियो । यसअघि नभनिएको ‘भर्जिन’ कथामा निर्माण टिमले फिल्म बनायो, दर्शकले उत्तिकै रुचाइदिए । ‘हिरोइनको अनुहारले फिल्म चल्दैन’ भन्नेहरूका लागि केकी अधिकारी बलियो जवाफ बनिदिइन्, महिला कलाकार केन्द्रमा रहेको फिल्म बक्स अफिसको करोड क्लबमा प्रवेश गर्‍यो ।

‘बोक्सीको घर’ मात्रै होइन, वैशाखमै प्रदर्शनमा आएको ‘मनसरा’ ले पनि दुई फरक समुदायमा लिम्बूको पालम मिसाउँदै एकल आमा र निःसन्तान दम्पतीको कथा भन्यो । यी त भए गत वैशाखका ताजा नतिजा ।

यही वैशाखमै समेत ‘खेल’ जस्तो इन्डी फिल्म, ‘भुठान’, ‘झिल्को’, ‘जार’ र ‘ऊनको स्वीटर’ ले अर्ग्यानिक कथा समेट्यो । २/४ गाना, भरमग्दुर एक्सन दृश्य र हिरो/हिरोइनको प्रेमबाहेक नेपाली समाज, भूगोल र समुदायका कथा टिप्न सकिन्छ भन्ने सचेतना फिल्मकर्मीबीच मौलाएकै कारण ‘घरज्वाइँ’, ‘आँखा’, ‘कर्साङ’, ‘खुस्मा’, ‘अञ्जिला’, ‘दुःखी आत्मा’, ‘बेहुली फ्रम मेघौली’ हरू बने ।

२०८१ मै ‘शाम्बाला’, ‘गाउँ आएको बाटो’, ‘राजागंज’ जस्ता ‘आर्टहाउस’ फिल्मले विश्व बजारमा बलियो उपस्थिति जनायो । बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवको मुख्य प्रतिस्पर्धामा छनोट हुने ‘शाम्बाला’, भेनिसमा प्रिमियर भएको ‘राजागंज’ र टोरोन्टो/बुसान पुगेको ‘गाउँ आएको बाटो’ का कथा मौलिक थिए ।

Bui climbing floor-story

हाम्रै माटोको सुगन्ध, नेपाली समाज र भुइँ मान्छेलाई कथाको मुख्य केन्द्रमा राखिएका यी फिल्म विश्वबजारका प्लेटफर्ममा पुग्नुको एउटा प्रमुख कारण हो– कथाभित्रको ‘लोकल कन्टेन्ट’, जसले यी कथालाई ‘ग्लोकल’ बनाइदियो । 

‘नुमाफुङ’ जस्तो फिल्म निर्देशन गरिसकेका निर्देशक नवीन सुब्बाले करिब २ दशकपछि निर्देशन गरेको फिल्म ‘गाउँ आएको बाटो’ गत जेठमा प्रदर्शनमा आयो । फिल्ममार्फत बुवा–छोराको सम्बन्धसँगै गाउँमा विकासका नाममा भित्रिएको विकृति र विसंगतिमाथि प्रश्न उठाइएको थियो । साथै विकासको अवधारणा र उपलब्धिबीच हराउँदै गएको रैथाने स्वाद, संस्कृति र मूल्यमान्यता त्यसमा समेटिएको थियो । कोक र स्प्राइटले रैथाने रक्सी/छ्याङलाई विस्थापित गरेको नेपाली समाजको कथा त ‘ग्लोबल’ विषय भइहाल्यो ।

विश्वको कुनै गाउँमा यसरी नै रैथाने मूल्यमान्यता र सीपलाई विस्थापित गरिएको होला ? अथवा यसरी विकासका नाममा त्यहाँका अर्ग्यानिक सीप हराए होलान् ? महिलाहरूले आफ्नो अस्तित्वका लागि लडेको लडाइँ देखाउने ‘शाम्बाला’को कथा त ती तमाम महिलाका कथा भइहाले, जो निरन्तर समाजका पर्खालहरू पन्छाउँदै आफूलाई खोज्ने यात्रामा छन् ।

शक्तिमा भएकाहरूले शक्तिहीनहरूलाई कसरी दबाउँछन् भन्ने ‘राजागंज’ को मधेशी पात्रको दुःखमा आवाजविहीन र दबिएकाले आफूलाई अन्तरनिहित गर्न पाउने भए । आर्टहाउसका फिल्मले त नेपाली कथा टिप्ने काम गरिरहेकै थिए– ‘हल्कारा’, ‘रातो सुटकेस’ आदि । 

तर, व्यावसायिक फिल्मकर्मीले पनि बलिउडको नक्कल त्यागेर मौलिक कथाहरू खोज्नु यो समयको सबैभन्दा ठूलो उपलब्धि हो । छायांकनरत फिल्म होस् या प्रदर्शन तय भएका फिल्मलाई नै हेर्ने हो भने पनि ती फिल्मले नेपाली समाजकै कथा समाएका छन् । गत जेठकै प्रदर्शन नियालौं । त्यतिबेला ‘पुजार सार्की’ जस्तो फिल्म पनि आयो, जहाँ दलितका मुद्दा उठाइएका थिए ।

यसअघि फिल्ममा सानो भूमिकामै सीमित गराइएका थिए दलित चरित्र । फिल्मको कथा नै नमानिने सर्वहारा वर्गको पीडा र उत्पीडनमाथि ‘पुजार सार्की’ बनाउनु फिल्मकर्मीले ताजा कथा खोजिरहेछन् भन्ने हो । यद्यपि यो फिल्म बनाइरहँदा निर्माण टिमले दलित समुदायबाट प्रश्नहरू झेल्नुपर्‍यो । त्यसबारे पछि कुरा गरौंला, तर अहिलेलाई जेठमै प्रदर्शनमा आएको ‘घर ज्वाईं’ को विषयवस्तु नियालौं । यो फिल्म पनि ताजा कथाकै कारण चर्चामा रह्यो । दसैंमा त ‘१२ गाउँ’ र ‘छक्का पञ्जा’ ले तहल्कै मच्चायो ।

‘पूर्णबहादुरको सारङ्गी’ ले सबैभन्दा बढी कमाउने फिल्म इतिहास नै रच्यो । यो फिल्मले पनि भुइँ वर्गका बुवा–छोराको कथा बोकेको थियो । विपन्न वर्गका बुवाले छोराका लागि कस्तोसम्मको संघर्ष गर्छ ? नेपाली समाजको पिँधमा राखिएको समुदायको कथा उठाइएको फिल्मले बक्स अफिसको रेकर्ड तोडेसँगै अहिले अधिकांश फिल्मकर्मीमा मौलिक कथाको गहिरो छाप परेको छ । निर्माण घोषणा भएका फिल्मको कथासारहरूमै पनि यसको छाया भेटिन्छ । 

आर्टहाउस फिल्मले रैथाने कथा समाइरहँदा व्यावसायिक फिल्मकर्मीमा पनि त्यो सचेतना फैलिएको हो भन्ने लाग्छ, निर्देशक सुजित बिडारीलाई । ‘रैथाने स्वाद खोज्नुपर्छ भन्ने मान्यता कसले स्थापित गरिदियो ? भन्ने कुरा हो । फेस्टिभल फिल्मले गाइड गरेकाले कमर्सियल फिल्मले यस्तो थालनी गर्‍यो भन्न नमिल्ला ।

फेस्टिभल गएका फिल्म कमर्सियल हुँदैन भन्ने धारणा छ, हामीकहाँ । तर, मलाई लाग्छ रैथाने कथा भन्नुपर्छ भन्ने कुरा स्थापित गर्न आर्टहाउस/फेस्टिभल पुगेका फिल्मले भूमिका खेल्यो,’ बिडारीले भन्छन् । बिडारीको कुरामा सहमत हुँदै निर्देशक रजिला श्रेष्ठ थप्छिन्, ‘फेस्टिभल पुग्ने फिल्म र खुलेका फिल्म विद्यालय, विश्व फिल्ममाथिको पकडले नै यो सचेतना हामीकहाँ आइपुगेको हो ।’ 

गत वर्ष प्रदर्शनमा आएका ‘कर्साङ’ होस् या ‘मिसिङ : केटी हराएको सूचना’, हरर विधाको ‘मम्मी’ या जीवनीमा आधारित ‘अञ्जिला’, यी व्यावसायिक फिल्मले रैथाने स्वाद पस्कियो । ‘ऐना झ्यालको पुतली’ निर्देशक सुजित बिडारी स्थानीय विषयमा फिल्महरू बन्दै आए पनि व्यावसायिक फिल्महरूले पनि यही बाटो समाएपछि रैथाने कथामाथिको फिल्मको संख्या ह्वात्तै बढेको सुनाउँछन् । ‘स्थानीय कथामा फिल्महरू त बनिरहेकै थिए । मज्जाको कुरा त कमर्सियल भनिने फिल्महरूमै पनि स्थानीय कथा समेटिएको छ,’ उनले भने ।

युवा फिल्मकर्मी रजिला श्रेष्ठ बलिउडको नक्कलमा फिल्म निर्माण गरिने प्रक्रियामै परिवर्तन आएको बताउँछिन् । फिल्मकर्मीले आफ्ना कथामा विश्वास गर्न थालेसँगै मौलिक कथाको लहर सुरु भएको रजिलाको धारणा छ । ‘कपी गर्दै फिल्म बनायो भन्ने हाम्रो जुन गुनासो थियो, अहिले त्यो एकदमै परिवर्तन भएको छ । हामीले अहिले हाम्रो कथामा विश्वास गर्न थालेका छौं,’ उनले भनिन्, ‘कमर्सियल फिल्ममेकर्सले पनि विश्वास गरिदिन थालेका छन् ।’ 

Bui climbing floor-story

रैथाने स्वाद झ्याप्प पक्रनुको खास कारण, बजार पनि हो । ‘लुट’ यता हेर्ने हो भने स्थानीय कथामा बनेका फिल्मलाई दर्शकले पनि स्वीकारिदिए । संकटकाल घोषणा हुने बेला प्रदर्शनमा आएको ‘लुट’ ले नेपाली फिल्म क्षेत्रमा नयाँ धार सुरु गरिदियो ।

पहिलो पटक नेपाली दर्शकले बलिउडका कपीभन्दा निकै पृथक् कथा पायो । जहाँ, चरित्रहरू सामान्य देखिन्थ्यो, विषयवस्तु उस्तै अर्गानिक ! ‘लुट’ पछि रामबाबु गुरुङको ‘कब्बडी’, ‘जात्रा’ र ‘छक्का पञ्जा’ का शृंखलाहरूले दर्शकको उत्तिकै साथ पाए । ‘ती फिल्म चल्दा लोकल कन्टेन्ट चल्छ भन्ने पनि भयो । त्यसैले निर्मातामा जोखिम मोल्ने हिम्मत दियो,’ बिडारी सुनाउँछन् ।

नेपाली फिल्म क्षेत्रमा ‘लुट’ ले ल्याएको परिवर्तन यति सशक्त भयो कि अहिले फिल्म क्षेत्रको प्रगतिको समय गणना गर्न ‘लुटअघि’ र ‘लुटपछि’ भनि छुट्याइने गरिन्छ । ‘लुट’ अघिको एउटा समय त नेपाली फिल्मको गुणस्तर न्यूनस्तरमै घटिसकेको थियो । तर, अहिले जसरी फरक धारका कथा, मौलिक विषय समाइने प्रणाली सुरु भयो– यो सब लुटपछिका उपलब्धि हुन् ।

‘आफ्नो जराको कथा भन्नु, संस्कृति समेट्नु नै राम्रो पक्ष हो । कला भनेकै जरा पहिचान गर्नु हो,’ निर्देशक बिडारीले भने । मौलिक कथामाथि फिल्म बने पनि कथा भन्ने शिल्पमा अझै निखारिनुपर्ने निर्देशक बिडारीको सुझाव छ । ‘हाम्रै कथाहरू भन्नुपर्छ भन्ने सवालमा फिल्मकर्मी सचेत भइसकेको देख्छु । तर, कथा भन्ने तरिका भनेको शिल्प हो । त्यो शिल्प चाहिँ अझै खारिनुपर्छ जस्तो लाग्छ,’ सुजित सुनाउँछन्, ‘कन्टेन्ट रोज्ने कुरामा हामी सचेत भए पनि शिल्पमा चुकिरहेका छौं ।’ 

दर्शकले मौलिक कथा रुचाइदिए पनि ती कथा भन्ने शैलीमा अझै समस्या देख्छिन्, निर्देशक शान्ता निपाली । ‘आर्टहाउस फिल्मलाई हेरेर कमर्सियलले पनि मौलिक कथा त समायो । मौलिक कथा समाउने ट्रेन्ड त सुरु नै भएको छ । तर, त्यसलाई कति गहिरिएर भनिएको छ भन्नेमा दुविधा छ,’ शान्ताले भनिन् ।

शान्ता व्यावसायिक फिल्म मौलिक कथामाथिको संवेदनशीलतामाथि इमानदार नबनिदिएको धारणा राख्छिन् । ‘पैसा कमाउने उद्देश्यले नै उहाँहरूले मौलिक कथा, सेटिङमा फिल्म बनाइरहनुभएको छ,’ उनले भनिन्, ‘तर साँच्ची नै उनीहरू फिल्मको विषयवस्तु प्रति संवेदनशील छन् त ?’ 

महिलाका विषयमाथि फिल्म बनाइनु, महिला मुद्दामाथि फिल्मले भाष्य सिर्जना गर्नु हो, समाजमा बहस चलाउनु पनि हो । तर, फिल्मले यस्तो मुद्दा उठाउँदा संवेदनशीलता पक्रनुपर्ने धारणा राख्छिन् उनी । ‘पुजार सार्की’ दलितमाथि बनेको फिल्म हो, तर यो फिल्ममा गलत भाष्य सिर्जना गरिएको भन्दै पछिल्लो समय आवाजहरू उठे ।

Bui climbing floor-story

जस्तै, यो फिल्मलाई कथित उच्च वर्गका निर्देशकदेखि लेखकले ‘दलितको कथा’ लेख्यो । दलित विषयमाथि कमै फिल्म बन्छन्, यस्तो समुदायको कथा फिल्ममा उठाउनु सकारात्मक हो । तर, वर्षौंदेखि समाजमा दबिएकाहरूको आवाजलाई फिल्ममार्फत देखाइरहँदा सतही प्रस्तुत गर्दा, त्यस विषयवस्तु

माथि फिल्म बनाउनेमाथि नै प्रश्न उठ्यो । ‘कथित उच्च जात’ ले भनेको दलितको कथामा उनीहरूका पीर र मर्का उस्तै गरी देखाउन नसक्दा धेरैले प्रश्न गरे– के तिमी दलितको कथा भन्नयोग्य वाचक हौ ? तर, दलितको संवदेनशील मुद्दा उठाइरहँदा ‘पुजार सार्की’ होस् या ‘पूर्णबहादुरको सारङ्गी’ यस किसिमको संवेदनशीलता कमै भेटियो । गम्भीर मुद्दामा संवेदनशील नभइदिएपछि कथाको मूल मर्म हराउने नै भयो । त्यसैले पनि फिल्मकर्मी जिम्मेवार हुँदै यस किसिमको कथा भन्नुपर्ने निर्देशक नेपालीको सुझाव छ । निर्देशक बिडारी थप्छन्, ‘आफूले नसुनेका कथा सुन्न, नयाँ समाजबारे थाहा गर्न दर्शक तयार देखिन्छन् ।’ 

यो वर्ष ‘खेल’ जस्तो ‘इन्डिपेन्डेन्ट’ फिल्मको प्रदर्शनसँगै नयाँ वर्ष ०८२ को सुरुवात भयो । गत वर्षमै फर्कने हो भने पनि थुप्रै ‘इन्डिपेन्डेन्ट’ फिल्मले मौलिक विषयवस्तुमा कथा बुनेको भेटियो । जोन योञ्जनको निर्देशनमा बनेको ‘आँखा’ ले त नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड नै उचाल्यो । कम बजेटमा बनेको यो फिल्मले बक्स अफिसमा थोरै सोमा चित्त बुझाउनुपरे पनि, कथा वाचनमा ‘आँखा’ खुम्चिएको थिएन ।

फिल्मले सुकुम्बासी चरित्रहरू देखाउँदै भुइँमान्छेको सामान्यभन्दा सामान्य लाग्ने जीवनशैली, उनीहरूका दुःखका आयाम र जीवनका सौन्दर्यलाई पस्केको थियो । ‘सानो संसार’ मै पनि मध्यमवर्गीय परिवारको जीवन, पितृसतात्मक समाजमा महिलालाई हेर्ने दृष्टिकोणदेखि बिहे, परिवार र सम्पत्तिमाथि मिहिन तत्त्व पक्रँदै बक्स अफिसको ठूलो संसारमा सोका लागि संघर्ष गर्‍यो । 

Bui climbing floor-story

‘आर्टहाउस’, ‘व्यावसायिक’ देखि ‘इन्डिपेन्डेन्ट’ फिल्मले स्थानीय कथाका फिल्म बनाए पनि नेपाली फिल्म क्षेत्र उकास्ने ‘कलेक्टिभ फाइट’ (सामूहिक उद्देश्य) अहिलेको युवा फिल्मकर्मीमा नभएको बताउँछन्, फिल्मकर्मी पुकारमणि राई ।

‘लुटअघिको पुस्ताले नेपाली फिल्मलाई राम्रो अवस्थामा पुर्‍याउन सकेको थिएन । लुटपछि अर्को पुस्ता आए । अहिले निश्चल बस्नेत, दीपेन्द्र के. खनाल, रामबाबु गुरुङ, प्रचण्डमान श्रेष्ठहरूको दबदबा छ । नेपाली फिल्म यता लैजानुपर्छ भन्ने भिजन उहाँहरूमा थियो,’ पुकार सुनाउँछन्, ‘हामीले हाम्रो कथा सुनाउनुपर्छ भन्ने फ्रेम उहाँहरूमा थियो । तर, हाम्रो पुस्तामा त्यस किसिमको सामूहिक उद्देश्य छैन ।’ पुकार नयाँ 

पुस्ताले समाएको यही ट्रेन्ड नयाँ पुस्ताका लागि चुनौती रहेको बताउँछन् । ‘नयाँ पुस्तालाई संकट छ– हामीभन्दा अगाडिको पुस्ताले राम्रो गरिदियो अब हामीले के गर्ने ?’ उनी भन्छन्, ‘बक्स अफिस हेर्दा बजारलाई पनि उहाँहरूले फराकिलो बनाइदिनु भएको छ । हाम्रा लागि राम्रो प्लेटफर्म त छ तर, सिर्जनात्मक रूपले उनीहरूसँगै प्रतिस्पर्धा गर्नुपर्ने चुनौती पनि छ ।’

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully