ऐतिहासिक ऐनामा अब्बल

प्रेमसम्बन्धमा मितेरी साइनो घुसेपछिका घटनाले कसरी सामाजिक–सांस्कृतिक–वैधानिक संकट ल्याइदियो भन्ने जीवन्त कथा हो– ‘जार’ 

वैशाख २७, २०८२

गुरुङ सुशान्त

Abel in the historical mirror

पछिल्लो पटक ‘जार’ फिल्मको ट्रेलर युट्युबमा आएपछि इन्द्रबहादुर राई फेरि सम्झनामा आए । बिनाबाध्यता मैले पटकपटक पढेका नेपाली कथामध्ये एक हो, ‘जार : भएकै एउटा कथा’ । इन्द्रबहादुर राईको बौद्धिक लेखनले खिचेर ‘इन्द्र सम्पूर्ण’ का पाँचवटै ग्रन्थ किनेको थिएँ, करिब दुई दशकअघि ।

उनका केही कथा पाठ्यक्रममा भएकाले पनि दोहोर्‍याएर पढियो । तर, ‘जार : भएकै एउटा कथा’ सम्झिरहने विभिन्न कारण र प्रसंग छन् । कहिले कथाबाट प्रसंग सम्झिन्छु, कहिले प्रसंगबाट कथा ।

पहिलो पटक यो कथा पढ्दा मैले मेरै गाउँ सम्झेको थिएँ । म सानै छँदा टोलछिमेकमा कहिलेकाहीँ आफन्त–आफन्तबीच नै खुकुरी ताकातक हुन्थ्यो । अनि, आमाहरू भन्थे— ‘आफ्नै परिवारको मान्छे पनि किन जार–जारझैं काटाकाट गर्न खोजेको हो ?’ त्यतिबेलै आमालाई जारबारे सोधेको थिएँ । उत्तर पाएँ– ‘अर्काकी स्वास्नी ल्याउनेलाई पहिलेको लोग्नेले जार भन्छ । उहिले–उहिले जार काट्दा खतबात लाग्थेन रे !’

पछि थाहा पाएँ, मेरो गाउँमा मात्रै होइन, टोलछिमेकमै पनि जार–जार त दर्जनौँ रहेछन् । अनि, मलाई चासो भयो— ती आपस्तमा कस्ता व्यवहार गर्छन् ? कतिपय त अर्मपर्म–चाडबाडमा आलोपालो घरैमा खानपिन गर्दा रहेछन् । सबै सामान्य देखेँ । लाग्थ्यो, जार काट्ने त्यो ‘उहिले–उहिलेचाहिँ’ कहिले रहेछ ?

२०७१ को मध्यतिर दोस्रो पटक त्यो कथा सम्झेको थिएँ, मण्डला थिएटरमा ‘जार : भएकै एउटा कथा’ नाटक प्रदर्शन हुँदा । क्षणिक चर्चाको लोभमा ‘जार–जार’ भेला पारेर अन्टसन्ट प्रश्नोत्तर गरिएको दृश्यसामग्री युट्युबमा बिनासम्पादन आउन थालेपछि पनि उक्त कथा सम्झने उपक्रम चल्यो । अर्को पटक सोही कथा सम्झिने प्रसंग आयो, २०७४ मा ।

मेरो आफन्त पर्ने तामाङ युवकले आफ्नै समुदायकी एक बच्चीकी आमा भगायो । घटनाबारे छलफलका लागि सूर्यविनायक चौकीमा लागेको रमितेको भीड दुई भागमा विभक्त भयो । एक, युवतीको लोग्नेको पक्षमा, अर्को प्रेमीको । चौकीभित्रै दोहोरो हानाहानसहित दुई दिनको रस्साकसीले ठूलै झडपको आह्वान गरेको आभास हुन्थ्यो । लोग्नेका पक्षधरहरू १०–१५ लाख रुपैयाँ जारीखत नबुझी नमान्ने अडानमा देखिए । चौकीका प्रहरी अधिकारी दिक्क मान्दै बोले, ‘छिटो टुंग्याउनुस् । जारी तिर्ने रकममा सहमति गर्नुस् र मिलापत्र गरेर जानुस् ।’

ती प्रहरी अधिकारीलाई सोधेँ, ‘सर, जारीखत तिर्ने व्यवस्था अहिलेको कानुनमा छ ?’ तिनले जवाफ फर्काए, ‘कतिपय अवस्थामा कानुनमा नभए पनि सांस्कृतिक मान्यता मान्नुपर्छ । हामीले आँखा चिम्लिदिनुपर्छ ।’ प्रहरीकै सामु यस्तो पनि भनिँदै थियो, ‘जारलाई त काट्न पनि मिल्छ ।’ अन्त्यमा, मागभन्दा रकम घटाएर जारीखत लेनदेनपछि कुरा मिल्यो । यस घटनामा पनि मैले उही कथा सम्झिएँ । उपेन्द्र सुब्बा निर्देशित ‘जारी’ फिल्म हेर्दा पनि त्यो कथा फेरि सम्झिएँ । सायद राम्रो रचनाको प्रभाव बारबार सम्झनामा आउनु पनि हो ।

Abel in the historical mirror

कमसल साहित्यमाथि अब्बल सिनेमा बनेको र अब्बल कृतिको सरदर सिनेमा बनेका उदाहरण प्रशस्तै छन् । तर, इन्द्रबहादुर राईको भव्य कथामाथि निर्देशक फुर्वाछिरिङ लामाले कलात्मक न्याय गरेकाले ‘जार’ नेपाली सिने–इतिहासमा अब्बलताको अर्को मोड बनेको छ । यस फिल्मले नेपाली समाजको पुरानो कालखण्डलाई यति मिहिन ढंगले देखाएको छ कि जारको अर्थ, संस्कृति र इतिहास थाहै नपाएको नयाँ पुस्ता पनि सुसूचित हुन सक्छ ।

विवाह भन्ने संस्थाले मान्यता पाउन्जेल फरक–फरक स्वरूपमा जारका कथा आउँछन् । तर, राणाकालमा जारलाई काट्न पाउने कानुनी प्रावधान थियो भन्ने इतिहास पढ्दा आजको समयबिन्दुमा आश्चर्य लाग्छ । जंगबहादुरको मुलुकी ऐन आफैंमा जातव्यवस्थामा आधारित भएकाले उही ‘अपराध’ मा पनि जातअनुसार फरक–फरक दण्डको व्यवस्था थियो । १९१० को मुलुकी ऐनको ठूलो हिस्सा छुवाछूत र यौनसंहिताका लागि छुट्याइएको थियो ।  

त्यस ऐनले दलित, जनजाति र महिलाका लागि अन्यायका अनेक तला थपिदिएका कारण आज पनि नेपाली समाजमा उनीहरूको आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत दोस्रो दर्जामा खुम्चिएको छ, जबकि आदिवासी जनजातिको सांस्कृतिक अभ्यासलाई हेयभाव नराखिएको भए नेपाली समाजको अनुहार असलमै सुन्दर हुन्थ्यो । संस्कृति र इतिहासलाई हेर्ने दृष्टिकोण र विश्लेषण गर्ने विचारधारा फरक हुन सक्छन् ।

एक कोणबाट वैधानिक लागेको कुरा अर्को कोणबाट चरम अन्यायका रूपमा खडा हुन सक्छ । ‘जार’ फिल्मको सुरुआतमा न्यारेटरले बोलेका यी पदावलीले दर्शकको मस्तिष्कमा अर्थका अनेक तरेली लहराउन थाल्छन्– ‘कहिलेकाहीँ रीतिथिति र आदत भन्ने कुराहरू सहज बहानाका भरमा पनि टार्न सकिनेजस्तो देखिन्छ । जबकि, ती सब अनुचित र अयोग्य पनि हुन्छन् । कहिलेकाहीँ, बारम्बार होइन तर कहिलेकाहीँ– सन्की र उग्रपन्थीहरू सही देखिन्छन् । कहिलेकाहीँ सबै जना गलत हुन्छन् ।’

संस्कृति, कानुन र प्रेमको तीन चुलामा रापिएको पात्रको मनोविज्ञान, उसको कठोर संघर्ष र त्यागको कथा हो– ‘जार’ । तर, यो एक घले गुरुङ पात्रको कथा मात्रै होइन । ऊसँग जोडिएका परिवार, समुदाय र सिंगो समाजको प्रतिनिधि व्यथा पनि हो । उहिले–उहिले गोर्खा राज्यको विस्तारदेखि नै गुरुङ र मगर समुदायले पल्टनमा ‘बहादुरी’ देखाएका कारण उनीहरूलाई आज पनि ‘सम्मानपूर्वक’ बेग्लै पल्टन व्यवस्था गरिएको छ ।

उबेला पनि गुरुङहरूका लागि ‘कालीबहादुर’ पल्टन रहेको प्रसंग सिनेमामा उल्लिखित छ । जारलाई ठाडै काट्न पाइन्छ भन्ने हुकुममा अलि फरक पार्ने जंगबहादुरको मृत्यु भएको १३ वर्षपछि एक गुरुङ परिवार पश्चिमबाट पूर्व बसाइँ सरेदेखि नै सिनेमाले आफ्नो कथाको लय पक्रिन्छ । उनीहरू पूर्व सर्नुको कारण जेठो छोरो रुद्रमान इलाममा कालीबहादुर पल्टनको लप्टन थियो भने बसाइँ आएको गाउँमा चिनजानका मगर परिवार पहिलेदेखि नै थियो । कथा यी दुई परिवारमा केन्द्रित देखिए पनि यी परिवार प्रतिनिधि मात्रै हुन् ।

Abel in the historical mirror

यी परिवारका माध्यमबाट सिनेमामा गुरुङ–मगरका सांस्कृतिक झलकहरू देखाइएका छन्, यद्यपि सिनेमाको उद्देश्य संस्कृतिका पाटा उजागर गर्नु मात्रै देखिँदैन । यस सिनेमाले कम बोले पनि इतिहास बताउने ध्येय राखेको देखिन्छ । लामो दृश्यांकनसहित परिवेश चित्रणपछि गुरुङ पात्रले आफ्नो अतीत बताउँछ– ‘म उसबेला २८ वर्षको पट्ठो जवान थिएँ । हाम्रो गुरुङ लो सापरीका बेला थियो । हामीहरू यहाँबाट जंगबहादुरको अधीनमा भारत गयौं । विद्रोहीहरूबाट लखनउ उद्धार गरेर आयौं ।’ सँगै अर्को गम्भीर विचार आउँछ– ‘अब भविष्यमा पनि यस्तो लडाइँ र युद्ध हाम्रा गोर्खालीहरूले अर्काका निम्ति कति लडिदिनुपर्ने हो कुन्नि ∕ हाम्रो त लुटिल्यायौं, भुटिखायौं पाराको जिन्दगी पो भयो ।’ 

भूपू पल्टनेबीचको पहिलो संवाद नै लडाइँमा केन्द्रित हुनुले पनि सिनेमाले इतिहासको त्यो पल्लो कुनामा दर्शकलाई तान्न खोजेको देखिन्छ, जहाँ वीरताको खोक्रो प्रशंसाका खातिर पनि लड्न विवश थियौं । लाग्छ, सिनेमाका कुनै पनि दृश्य या संवाद निरर्थक छैनन् ।

गुरुङ–मगर परिवारबीच के नाता–सम्बन्ध गाँस्ने भन्ने सन्दर्भमा भनिएको छ– ‘यो जेठाजु–बुहारीको साइनो साह्रै नराम्रो । पछ्यौरी–फेरले छोइभेटे सुनपानी खाँदाखाँदा हुन्छ ।’ ‘उता हाम्रो पश्चिममा माछापुच्छ्रे छ नि, उसको दुई चुचुराहरूलाई जेठाजु–बुहारी भन्छन् ।’ गुरुङ परिवारले वैवाहिक/मावली साइनो गाँस्न खोजेको देखिन्छ भने मगर परिवारले मितेरी साइनोतिर जोड दिएको संकेत मिल्छ । यही साइनोको चेपुवामा परेको पात्रको मनोवैज्ञानिक जटिलताले सिनेमाको कथामा द्वन्द्वविधानलाई सघनतातिर उकालेको छ । सिनेमामा यी दुई परिवारबीचको 

सद्भाव, आत्मीयतादेखि सम्बन्धमा आएको उतारचढावलाई निकै कलात्मक ढंगमा देखाइएको छ । लप्टन रुद्रमान र ठूलीबीचको प्रेम सम्बन्धमा मितेरी साइनो घुसेपछिका घटनाले कसरी सामाजिक–सांस्कृतिक–वैधानिक संकट ल्याइदियो अनि हर्षजित र रुद्रमानबीचको लडाइँका साथै प्रतिष्ठा र तिरस्कारका पहाडहरूबीच कसरी टकराव भयो भन्ने जीवन–मृत्युको जीवन्त कथा हो– ‘जार’ । पुरुषप्रधान समाजमा आदर्श, प्रतिष्ठा र प्रेमका नाममा हुने द्वन्द्वबाट पिल्सिनेमा प्राय: महिला नै हुने यथार्थलाई यस सिनेमाले पनि पुनर्पुष्टि गरेको छ । 

नेपाली समाजमा लोपोन्मुख मितेरी–साइनो संस्कृतिलाई मसिनोसँग पर्दामा उतारिएकाले ‘जार’ को सांस्कृतिक महत्त्व उँचो रहेको छ । संस्कृतिविद्हरूको निष्कर्ष छ– मितेरी साइनो यस्तो ऊर्जाशील सम्बन्ध हो, जहाँ दुई फरक व्यक्ति, भूगोल, पृष्ठभूमि, परिवार र समाज नै जोडिन्छन् । र, परस्परमा प्रेम पोख्छन् । यस्तो मूल्यवान संस्कृति हाम्रो समाजमा लगभग एकादेशको कथाजस्तै भइसक्यो । मैती र देवीबीचको मितेरी सम्बन्धलाई औपचारिकता दिँदा दुवै जनालाई घुँडा मारेर बस्न लगाइन्छ र कम्पनी रुपैयाँ र पछ्यौरा चिनोका रूपमा साटासाट गर्न लगाइन्छ ।

यस्ता दुर्लभ दृश्यले सिनेमालाई पनि जीवन्त सम्पदासरह तुल्याएको छ । परस्परमा नाम काढ्न नमिल्ने मितिनीद्वय सांस्कृतिक सम्बन्धको रसायनले एक जीउ हुन्छन् । र, त्यस सम्बन्धले दुई परिवार एकै हुन्छन् । उनीहरूबीच मरापरौमा जुठो लाग्छ भने बिहेवारीमा बन्देज । मितेरीमा बिहेवारी गरे त्यस्तालाई हाडफोरा मानेर सन्तानबाट ‘बाहेक’ गरी डाँडा कटाइने प्रसंगले नेपाली समाजमा हिजो अभ्यासमा रहेका सांस्कृतिक कर्मले फरक परिवारहरूलाई कसरी जोड्थ्यो र प्रेम जोडीहरूलाई अन्जानैमा कसरी फुटाउँथ्यो भन्ने मार्मिक उदाहरण पेस गरेको छ ।

सिनेमामा मोजिङ्ना–खिवाङ्ना मान्ने याकथुम्बा, महेश्वर मान्ने तामाङ, पारुहाङ मान्ने जिमिदार किराँत रहेको प्रसंगले सांस्कृतिक विविधतायुक्त समाजको परिचय दिन्छ । यति मात्रै होइन, नेपाली समाजमा शासकहरूले नक्कली वंशावली लेखाएर होस् या उर्दी जारी गरेर होस्– जात व्यवस्था नमान्ने आदिवासी जनजातिभित्र पनि अनेक ‘जात’ खडा गरिदिएर ‘फुटाऊ अनि शासन गर’ को नीति अवलम्बन गरेको तथ्य–इतिहासलाई बल पुग्ने एक प्रसंग पनि फिल्ममा छ ।

Abel in the historical mirror

एउटा दृश्यमा ‘चार जात, सोह्रै जात दुवै थरीका गुरुङहरू, सातै थरीका मगरहरू, बाह्र तामाङ, अठारै जात र अन्य मतवाली सबै’ भेला भएर रुद्रमानलाई जार कबोल गराउँछन् । यस दृश्यले जात व्यवस्था छिरिसकेको पुरानो जनजातीय समाजको वस्तु यथार्थ प्रस्तुत गर्छ, जो अचेल बौद्धिक बहसको विषय भइसकेको छ । सबभन्दा महत्त्वपूर्ण कुरा आदिवासीको आफ्नै प्रथाजन्य कानुन र न्यायिक अभ्यास हुँदाहुँदै राज्यले जातीय सोपान क्रममा आधारित दण्डविधान थोपरिँदा आदिवासीपनको घाँटी निमोठिएको सत्यलाई पनि यस दृश्यले इंगित गरेको छ । 

‘जार’ विषयका दृष्टिले मात्रै महत्त्वपूर्ण छैन, प्रस्तुतिका दृष्टिले पनि उत्तिकै श्रेष्ठ बनेको छ । यस सिनेमाले कथा बताउनका लागि संवादभन्दा दृश्यलाई बढी प्राथमिकता दिएकाले पनि सिनेमा बलियो दृश्य–भाषा हो भन्ने थप प्रमाणित भएको छ । यसो भनौं– दृश्य, ध्वनि र हाउभाउले बुझाउन सकिन्छ भने संवादहरू सहायक मात्रै हुँदा रहेछन् । यस सिनेमाको सबैभन्दा बलियो पक्षमध्ये एक हो– संगीत । झुमा लिम्बू र उनको समूहले संगीतमा जुन स्तरको मिहिनेत गरेका छन्, त्यो नेपाली संगीत र नेपाली सिनेमाका लागि प्रशंसनीय मात्रै होइन, अनुकरणीय पनि छ ।

कतिपय दृश्यमा यस्तो लाग्छ– सिनेमाको चालक सिटमा संगीत छ र संगीतको केन्द्रमा रैथानेपन छ । कथा अघि बढ्दै जाँदा संगीतले दर्शकलाई यति मुग्ध बनाउँदै लैजान्छ, मानौं, हामी सहरको कोलाहलपूर्ण यन्त्रणाबाट मुक्त भई केहीबेर अक्षत जंगलबीचको झरनाछेउ चराचुरुंगीका मोहक गानको स्पर्शमा छौं । यसको एउटै कारण हो, संगीतका लागि रैथाने बाजाहरूको प्रयोग गर्नु । संगीतलाई बलियो बनाउने अर्को महत्त्वपूर्ण पाटो हो, शब्दमा काव्यिकता । भूपाल राई, स्वप्निल स्मृति र हर्क साउदजस्ता शब्दशिल्पी अनि झुमा लिम्बू र गंगा थापाजस्ता संगीत–साधकहरूको सहकार्यबाट यस सिनेमामा संगीतले ज्यान र जीवन दुवै पाएको छ ।

इतिहासका पुराना पातो पल्टाउने यस्ता सिनेमाले सिनेमाटोग्राफीमा निकै जोखिमपूर्ण परिश्रम गर्नुपर्ने हुन्छ । ऐतिहासिक विषयबारे सिनेमा बनाउँदा रङको सीमिततामा खेल्नुपर्ने बाध्यता त छँदै छ, कुन रङले कथाको समय र परिवेशलाई न्याय गर्छ भन्नेबारे अध्ययन गर्नुका साथै फ्रेमिङमा आउने दृश्यमा के–के वस्तु अटाउनेभन्दा पनि के–के नअटाउने भन्नेमा बढी मिहिनेत गर्नुपर्छ, जुन आजको बदलिँदो प्रविधि–प्रसारको समयमा चुनौतीपूर्ण छ । यस कोणबाट मूल्यांकन गर्दा, यस सिनेमामा एकाध अपवादबाहेक खरो उत्रिएका छन्, सिनेमाटोग्राफर सरवानन इलावार्सु ।

प्राय: दृश्यहरू आफैंमा सुन्दर चित्रकला र मीठो काव्यहरफजस्ता भएकाले दर्शकहरू प्रकट परिवेशबाट अप्रकटित अर्थका तहसम्म पुग्न सक्छन् । थोरैमा धेरै भन्न सक्नु नै सिनेमाको काव्यिक तागत हो भन्ने सुझलाई सूत्र बनाएका छन्, निर्देशक फुर्वाछिरिङ लामाले । रङ संयोजनदेखि ध्वनि संयोजनसम्ममा निकै कुशलतापूर्वक मिहिनेत पोखिएको कुरा सहजै अनुभूत हुन्छ । लाग्छ– जुन रङ रोजेर सिनेमाले मीठोसँग खेलाएको छ, त्यसले कथालाई झनै यथार्थिक बनाएको छ ।

मुख्य कलाकारका रूपमा रहेका सौगात मल्लले आफ्नो अभिनय–यात्रामा अर्को एक कोसेढुंगाका रूपमा ‘जार’ लाई दर्ज गरेका छन् । उनले आफ्नो पात्रतामाथि न्याय गर्न पोखेको परिश्रममा कुनै कन्जुस्याइँ गरेका छैनन् । रंगमञ्चमा खारिएका कलाकारले सिनेमालाई पनि उचाइमा पुर्‍याउन सक्छन् भन्ने बलियो दृष्टान्त सौगात मल्लले यस फिल्मबाट समेत साबित गरेका छन् ।

गीताञ्जली थापाको अभिनय यस सिनेमाको अर्को बलियो खम्बा हो, जसले ‘जार’ लाई ‘जार’ बनाएको छ । उनले नेपाली सिनेमामा निरन्तर अभिनय गर्ने जाँगर देखाइन् भने नेपाली दर्शकका लागि सुखद उपलब्धि हुनेछ । अनुपविक्रम शाही आफ्नो पात्रतामा ठीकठाक छन् । अनुपको आजसम्मकै अभिनय करियरमा यस सिनेमाले उनलाई भिन्न तर बलशाली परिचय दिनेछ । बाघको दृश्यका लागि काम गर्ने ‘भीएफएक्स आर्टिस्ट’ हरूको काम तारिफयोग्य छ ।

यति गम्भीर र सार्थक सिनेमा बन्नु नेपाली सिनेजगत्कै लागि गर्वको विषय हो । गर्विलो कामका निम्ति ‘जार’ सिनेमाको पूरै ‘टिम’ लाई प्रशंसा गर्नु भनेको असल काम गर्न चाहने नवप्रवेशीलाई समेत प्रोत्साहित गर्नु हो ।

पहिले–पहिले इन्द्रबहादुर राईकृत कथालाई सम्झिरहन्थें मात्रै, ‘जार’ फिल्म हेरेपछि भने कथालाई फरक–फरक कोणबाट अझ धेरै बुझ्ने मौका पाएँ । साथै, संस्कृति र इतिहासका अन्य आयामबारे थप अध्ययन गर्ने हुटहुटी पनि बढ्यो । यस सामर्थ्यलाई अब्बल सिनेमाको गुण भन्नु श्रेयस्कर होला ।

गुरुङ

Link copied successfully