जीवन–यात्रा, किताब–जात्रा

समाज रूपान्तरण र विचार निर्माणका लागि चाहिन्छ– साहित्य महोत्सव । मान्छे–उन्नतिको आधारस्तम्भ नै भाषा र ज्ञान हो, संसारैभर स्वागतयोग्य छन्– ज्ञान महोत्सवहरू । 

वैशाख १३, २०८२

दीपक सापकोटा

Life-journey, book-journey

यतिखेर काठमाडौंको मल्लकालीन दरबार क्षेत्र वसन्तपुर–प्रांगणमा उभिएर जीवित देवीको गृहतर्फ हेरिरहेका छन् ऋषिराम । ‘किताब–जात्रा’ को सातौं संस्करणको सपना टाँगिएको छ, उनको आँखाका बार्दलीमा ।

मिठो वास्ना मधुपवनमा आज आइरहेछ

यौटा थुंगा वनतिर कतै मुस्कुराइरहेछ

 – (वैशाख/कविवर माधव घिमिरे)

‘वैशाख’ को ‘मधु–पवन’ को मन्द–नसा सहरमा चढिसकेको छ । अनि सहर, मानौं उत्सवको मनसुन खोज्दै छ । र, उपत्यका जात्राहरूमा रम्न चाहन्छ । सांस्कृतिक जात्राहरूको आफ्नै महत्त्व छ, समकालीन समाजमा मनाइने उत्सवको पनि । साहित्यिक जात्राको रथ अघि बढाउन अहोरात्र खटिएका छन् यसका आयोजक– ऋषिराम अधिकारी । 

यतिखेर काठमाडौंको मल्लकालीन दरबार क्षेत्र वसन्तपुर–प्रांगणमा उभिएर जीवित देवीको गृहतर्फ हेरिरहेका छन् ऋषिराम । ‘किताब–जात्रा’ को सातौं संस्करणको सपना टाँगिएको छ, उनको आँखाका बार्दलीमा । नेपालमा पहिलोपल्ट २००४ सालमा ‘नेपाली साहित्य सम्मेलन’ भएको थियो । काठमाडौंको साहित्य–धाम सरस्वती सदनमा सम्पन्न उक्त साहित्य–उत्सवमा हृदयचन्द्रसिंह प्रधान, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण समहरू सक्रिय थिए । चार सहिदलाई फाँसी दिइएको त्रासको बादल सहरबाट हटिसकेको थिएन । त्यो ‘त्रासदी’ मा सर्वथा नवीन घटना थियो– साहित्य सम्मेलन । त्यसपछि महानन्द सापकोटाको सक्रियतामा इलामको करफोक माध्यमिक विद्यालय प्रांगणमा २००९ साल–छेक पहिलो राष्ट्रिय कवि गोष्ठी तथा बौद्धिक सम्मेलन भएको थियो । 

नेपालको वाङ्मयमा महत्त्वाकांक्षी साहित्यिक महोत्सवको बृहत् तरंग भने सन् २०११ मा आयो । झम्सिखेलस्थित ज्ञान मण्डलामा पहिलो पटक आयोजित बृहत् एवं भव्य उक्त ‘नेपाल लिटरेचर फेस्टिभल’ १२ औं संस्करणसम्म आइपुग्दा नेपालमा साहित्यिक महोत्सवको क्यानभास निकै फराकिलो भएको छ । त्यस महोत्सव पछि ‘जनकपुर लिटरेचर फेस्टिभल’, ‘कुडा कर्नालीका’, ‘नेपाली साहित्य महोत्सव’, ‘टीकापुर साहित्य महोत्सव’, ‘इलाम साहित्य महोत्सव’, ‘कला–साहित्य उत्सव’, ‘काठमाडौं उत्सव’, ‘कलिङ्ग साहित्य महोत्सव’, ‘बीपी साहित्य महोत्सव’, ‘रोल्पा सिर्जना महोत्सव’, ‘ह्वाइटहाउस लिटरेचर फेस्टिभल’ जस्ता साहित्य र साहित्यकारको उत्सव मनाइने थुप्रै आयोजना जिल्लाहरूमा बर्सेनि हुने गरेका छन् । त्यति मात्रै होइन, विभिन्न नगरपालिकाले पनि यस्ता महोत्सवका लागि बजेट नै विनियोजन गर्न थालेका छन् ।

मेचीदेखि महाकालीसम्मै अनवरत दर्जनौं साहित्यिक महोत्सव चलिरहेको देख्दा असाध्यै खुसी लाग्छ, ‘नेपाल लिटरेचर फेस्टिभल’ का निर्देशक अजित बराललाई । ‘यस्ता महोत्सवले नेपालको साहित्यिक, सांस्कृतिक, बौद्धिक विमर्शको परम्परालाई सम्पन्न मात्र बनाउँदैन, सार्वजनिक बहसको दायरा पनि फराकिलो बनाएर उन्नत लोकतन्त्रको विकासमा महत्त्वपूर्ण भूमिका खेल्छन्,’ अजित भन्छन्, ‘त्यसैले यस्ता महोत्सव जति धेरै भए उति राम्रो ।’

महोत्सवहरूमा एक–दुईलाई छाडेर अधिकांशतः उही अनुहार र उस्तै खालका विषय दोहोरिएका हुन्छन् । अनि ‘किताब–जात्रा’ मा चाहिँ कस्तो नवीनता पाइएला त ? ऋषिराम भन्छन्, ‘हामीले नवीनतालाई यथाशक्य प्राथमिकता दिएका छौं । पहिलो संस्करणमा हामीले पठन संस्कृतिबारे छलफल गर्‍यौं । समयक्रममा हाम्रो लक्ष्य वयस्क होइन, बालबालिका हुन् भन्ने पनि बुझ्यौं । यसपालि चिल्ड्रेन्स कर्नर त्यसैले थपिएको हो ।’

अजित बरालको विचारमा विषयगत नवीनता र सान्दर्भिकता नल्याई कुनै पनि महोत्सवले आफ्नो प्रभाव छाड्न सक्दैन, औचित्य पुष्टि गर्न सक्दैन । ‘त्यसैले सबै साहित्यिक महोत्सवका आयोजकको प्रयास विषयगत नवीनता ल्याउनेमा हुनुपर्छ,’ अजित भन्छन् । 

ऋषिराम सोच्छन्– कलाकार होस् या व्यापारी, नेता होस् या सरकारी संयन्त्रका मानिस सबैले पढ्नु जरुरी छ । रुसमा सन् ८० को दशकसम्म बस, ट्राम, मेट्रो र पार्कहरूमा समेत मानिस आफ्नो रुचिअनुसारका पुस्तक पढिरहेका उल्लेख्य संख्या भेटिन्थे । त्यो सरकारको आदेशमा भएको होइन, समाजमा सयौं वर्षको पठन–अभ्यासले फैलिएको संस्कार हो ।Life-journey, book-journey

‘लेखकले साधनाका साथ अनेक रिसर्च गरेर, वर्षौं खर्च गरेर किताब लेखेका हुन्छन् । त्यसको आस्वाद लिन पाठकले धेरै दिन खर्च गर्नुपर्दैन र पैसा पनि पाँच सयदेखि हजार खर्च गरे पुग्छ । त्यति पैसामा अमूल्य ज्ञान, मनोरञ्जन र विचारोत्तेजक कुरा हासिल गर्न सकिन्छ भनेर शिक्षक र अभिभावकले बुझाइदिनु आवश्यक छ,’ ऋषिराम भन्छन्, ‘साहित्य वा दर्शन वा इतिहास– त्यो अध्ययनले जीवनलाई नौलो ढंगले नियाल्ने सीप प्रदान गर्छ ।’

जात्रा–सपना पूरा गर्न ६ महिनादेखि दिन–रात एक गरिरहेका छन्– ऋषिराम । उनी हरेक दिन सहरमा हिँडिरहेका छन्, यहाँका किंवदन्ती र कथाहरूमा पसिरहेका छन् । उनीसँगै हिँडिरहेको छ– बेचैनी, बेफुर्सदी र जिज्ञासा । फेस्टिभल साकार पार्न भेन्यु, स्पोन्सर, विज्ञापन खोज्ने भीमकाय जिम्मेवारीले बेरेको छ । त्यो तनाव झेल्न कुनै पनि आयोजकलाई सानो शक्ति पर्याप्त हुँदैन । फेस्टिभलको ‘तनाव’ र ‘तनावहरू’ मा घेरिएर फरक सेसन, प्रस्तुति र विषय पनि सोच्नु–खोज्नु छँदै छ । 

फेस्टिभलको पूर्वसन्ध्यामा कत्ति तनाव हुन्छ ? फेस्टिभल सकिएपछिको एक साँझ पोखरामा अजित बरालले आफ्नै अन्दाजमा भनेका थिए, ‘तनाव त भनेर साध्ये छैन । तपाईंले कसैको कुभलो चिताउने हो भने, उसले साहित्य महोत्सव गरिदियोस् भनिदिए हुन्छ । प्रत्येक वर्ष महोत्सवका बेला म ५–६ केजी त्यसै छरितो हुन्छु !’

‘तनावहरू’ माझ अहिले ऋषिराम वसन्तपुर आइपुग्नुको कारण हो– ‘किताब–जात्रा’ का पात्रहरूको खोजी । बुट्टे झ्यालमा बसेर सहर र मान्छेहरू नियालिरहेकी कुमारीको जीवन र संसार उनी सुनाउन चाहन्छन् । र, ‘किताब–जात्रा’ मा उल्लासको इन्द्रधनुष झुल्किएको हेर्न चाहन्छन् उनी– त्यहाँ रंगीविरंगी मुखुण्डो लगाएर लाखे नाचिरहेका होऊन्, सप्तरंगी प्रकाशको रंगीन प्रेक्षालयमा सारंगीको र्‍याइँर्‍याइँ र गिटारको स्ट्रमिङ सुनियोस् । जेनजी आफ्ना सपना–विपना, सुख–दुःख ‘सेयर’ गरिरहेका होऊन् । त्यहाँ सुनिऊन्– सुदूर गाउँबाट सहर आइपुगेका ‘फेरी’ लाउने जोगीका ‘आकाशै बाँधु–पातालै बाँधु’ मन्त्र–गायन । कुनै फेदाङ्बा मुन्धुम–श्लोकमा कथा वाचन गरिरहेका होऊन् । कोही झिझिया गाइरहेको होस् । कर्णालीका लोककथा–लोकनृत्यमा मस्त कलाकार आफ्नो आलाप सुनाइरहेका होऊन् । काठमाडौंको फल्चा वा डबलीमा बाघचाल खेलिबस्ने, कानमा फूल सिउरिएका बुढा मानिस यो प्राचीन सहरजत्तिकै प्राचीन कथा सुनाइरहेका होऊन् । 

हाकुपटासीमा सजिएकी, सिउँदोमा लामो धर्को सिन्दुर हालेकी, पातला ओठमा रातो लाली पोतेकी, कपालको गुजुल्टोमा गुनकेशरी सिउरिएकी इतुम्बहालकी गीतकी नेवाः युवती ‘राजमती’ को कथा सुनाइदेओस् कोही–कथावाचकले । भक्तपुरतिरका खर्पन बोक्ने कुनै वृद्ध ८ दशक पुरानो भक्तपुर सहरको किंवदन्तीजस्ता मान्छे र मिथहरूमा आइरहने ख्याकहरूका आख्यान–लोकमा पसिरहेका होऊन् । र, ती सबै सुनेर/देखेर कथाहरूको नसामा हराइरहेका होऊन् मदहोस दर्शक । 

महामञ्जुश्रीको खड्गको डोब लिएर बाँचिरहेको काष्ठमण्डप विशेष र विशिष्ट छ । यहाँ आइपुग्दा ऋषिरामका आँखामा खुसी, दुःख, हाँसो र सपना एकै ठाउँमा मिसिएको देखिन्छ । नेपाल–मण्डलको पुराना गल्ली र मन्दिरहरूमा बजिरहेका घन्टतिर उनी हेर्छन् । चोकैपिच्छे देवताहरूको बास भएको यस सहरका नानीहरू पनि सुरमा रुन्छन्, वर्षा पनि तालमा बर्सिन्छ, उनलाई यस्तै लाग्छ । मन्दिरहरूछेउ साँझदेखि गुन्जिने तबला–हार्मोनियम र भजन सुन्न, लाग्छ यहाँ देवी–देउता स्वयं परिभ्रमण गर्छन् । जुनै बेला संगीतको तालमा मग्नमस्त हुन्छ– सहरको पुरानो नेवार बस्ती । इन्द्रचोक आइपुगेपछि ऋषिरामले सोधे– यत्तिको संगीत कसले ल्याएर भरिदियो यो सहरको आत्मामा ? 

सर्लाहीको लालबन्दीमा जन्मिएका ऋषिराम इन्द्रचोकतिर हिँड्दाहिँड्दै फ्ल्यासब्याकमा जान्छन्, जसले आफूअघि उभिएको जिन्दगीलाई किताब र अक्षरको प्रेममा डुबाए । तराईको रङ देखेका उनी काठमाडौं सहरको संस्कृति पढिरहेका छन् । काठमाडौं पिंगलाथानबाट लालबन्दी बसाइँ सरेका थिए पिता प्रेमप्रसाद । बुबा र आमाको उमेरमा ५० वर्षको फरक थियो । ८९ वर्षमा बुबा बित्दा ऋषिराम १४ वर्षका थिए । जिन्दगीमा बुबासँग धेरै समय बिताउने सपना अधुरै/अपूरै रह्यो । त्यो अपूरो इच्छामाथि उनले कविता पनि लेखेका छन्– 

...त्यतिबेला ‘बा’ थिए/दिने कुनै उपहार थिएनन् 

अहिले उपहार थुप्रै छन्/लिइदिने ‘बा’ भएनन्...

‘बा’ छैनन्, तर उनले वाचन गर्ने रामायणका किताब छन् । बुवाले बिहान–बेलुका पाठ गर्ने ‘रामायण’, ‘महाभारत’ का ‘फिक्सनल क्यारेक्टर’ ऋषिरामलाई चमत्कारी लाग्थ्यो । लालबन्दीकै कुरा हो– राजमार्गसँगै जोडिएको थियो एउटा दोकान, जहाँ साहित्यिक किताब पाइन्थ्यो तर ठूला सहरमा पाइने किताब सजिलै पाइँदैनथे । ‘किताब पाउँदाभन्दा नपाउँदा छटपटी हुन्थ्यो,’ सम्झिन्छन् उनी, ‘त्यो सिकाइको एउटा कालखण्ड, अहिले सम्झिँदा लाग्छ, त्यसैले भविष्यको नक्सा कोरेको थियो ।’

Life-journey, book-journey

‘रामायण’ पढिरहेका ऋषिरामका पिताले राम–कथा भन्दाभन्दै अन्तिम सास फेरे । बा बितेपछि ऋषिले देखे– आमाको संघर्ष । बा बित्दा आमा ३९ वर्षकी थिइन् । उनको आँसु सम्झेर ऋषिराम अझै खिन्न हुन्छन् । काठमाडौंबाट बिरक्तिएर लालबन्दी पुगेका प्रेमप्रसाद ‘प्यारो’ कान्छा छोरालाई सधैं भन्ने गर्थे– बाबु, सब कुरा गर्, तर काठमाडौं भन्ने ठाउँमा कहिल्यै नजा । तर, बा बितेकै वर्ष (२०६६ साल) खल्तीमा केही पैसा बोकेर ऋषिराम भूपी शेरचनको ‘चिसो एस्ट्रे’ मा आइपुगे । 

पहिलो पटक काठमाडौं पसेका उनले कलेज खोजेनन्, पुस्तकालय खोजे । त्यहाँ किताबका पन्नामा ‘जीवन’ खोजिहेरे– सरुभक्तको ‘पागल बस्ती’ र चे ग्वेभाराको जीवनीमा । उनलाई त्यसपछि लाग्यो, ‘सहरमा पैसा छ र किताब पनि । गाउँमा पैसा भएरै पनि किताब किन्न पाइन्थेन ।’

काठमाडौंमा उनले पैसा लिएर ट्युसन पढाउन थाले, आफू भने छात्रवृत्तिमा पढे । ११ पढ्दै गर्दा एघारकै विद्यार्थीलाई ट्युसन पढाउँथे । विद्यार्थीले सोधेको प्रश्न नबुझे भोलिपल्ट कलेजमा शिक्षकसँग सोधेर पछि ट्युसन पढ्नेलाई बताउँथे । म्यानेजमेन्ट पढेका उनी एकाउन्ट र म्याथम्यक्टिस् पढाउँथे । प्लस–टुपछि सोचे– सीए पढ्नुपर्छ । सहरमा सीएमाथि कडा टिप्पणी सुनिन्थ्यो– सीए पढेका भए क्राइस्ट पनि फेल हुन्थे । उनी ‘जिसस’ बन्न तयार भए र नयाँदिल्ली गए । उत्साह, कौतूहलता मिसिएका उनले दिल्ली चहारे । त्यो थियो, जीवन भिन्न तरिकाले बाँच्ने–यात्रा । 

अजिब ठाउँ, अजिबका साथीहरू ! जिन्दगीको रिल छिटोछिटो घुमिरहेको अनुभूतिले घेर्थ्यो । दिल्लीका पुराना किल्लातिर बरालिएका, किताब महोत्सवहरूमा पुगेका दिनहरू अहिले अविस्मरणीय स्मृति बनेका छन् । सिए क्लास, सहरको बेग्लै लय र जीवन्त संसार ! त्यो रचनात्मक समयले ऋषिरामलाई सिर्जनात्मक बनायो । लाइब्रेरी धाउनु, किताबमा घोत्लिनु दैनिकी बन्यो । सहरी भागदौडबिच केही कथाहरू लेख्न थाले । 

नाट्यकर्ममा लिन दिदी सरस्वती अधिकारी नेपालमै थिइन्, स्कुल पढाउँथिन् । आएजत्ति तलब दिल्ली पढिरहेका भाइलाई पठाउँथिन् । कलेजमा खर्च बढ्न थाल्यो । ‘आफ्नै खर्चमा पढ्नुपर्छ’ सोच्ने ऋषिराम अब हरियाणाजस्ता ठूला सहरका रेस्टुरेन्टहरूमा कोरस सिंगरको अवतारमा झुल्किए । कोरस गाउँदा पाँच सय पारिश्रमिक पाइन्थ्यो । जीवनमा साहित्य पस्यो, गीत पस्यो, किताब पस्यो । कल्पना र यर्थाथबीच ‘जीवन’ खोजी भयो । सीएको दोस्रो लेभलपछि ऋषिरामले पढाइ ड्रप गरे । ती ड्रपआउटलाई साहित्य–संसारै फराकिलो लाग्न थाल्यो । र, किताबको अनलाइन व्यापारको ‘आइडिया’ मस्तिष्कमा पस्यो । ‘घरघरमा किताब पुर्‍याउने काम गरौं न’ सोचेर ‘ड्रपआउट ब्वाय’ ऋषिराम नयाँदिल्लीबाट नेपाल फिरे, चार बोरा किताबसँगै ।

‘किताबको अनलाइन व्यापार चल्छ कि चल्दैन ?’ को द्विविधै–द्विविधामा सन् २०१७ मा सुरु गरिएको व्यवसायले राम्रो ‘रेस्पोन्स’ पाएपछि उनको आत्मविश्वासले चुली छोयो । अर्डरअनुसार घर–घरमा किताब पुग्न थाल्यो । नेपाल मात्रै होइन, विदेशमा पनि किताब पुर्‍याउन थालियो । दिनमै आठ–नौ सय किताबको अर्डर आउन थालेपछि ऋषिरामले आनन्दको लामो सास फेरे । तर, झ्वाट्टै कोभिड सुरु भयो । अनि तनावी ट्विस्ट आयो कहानीमा । तर, तनावबीच पनि कर्ममा निरन्तर रहे ऋषिराम र ब्रदर्स ! त्यसअघि पनि नेपालमा थिए, अनलाइन किताबको व्यापार–स्टेसन । अहिले नेपालमा अनलाइन किताब व्यापार गर्नेमा ‘थुप्रै डटकम’, ‘रत्न पुस्तक’, ‘बुक्स मण्डला’ पनि छ । यसलाई मनासिब मान्छन् ऋषिराम । भन्छन्, ‘कम्पिटिसन भएपछि ग्राहकले सेवा–सुविधा राम्रो पाउँछन् ।’ 

‘किताब यात्रा डट कम’ मै रमाइरहेका ऋषिरामले ‘किताब–जात्रा’ को भारी किन बोक्नुपर्‍यो ? किताबमै भविष्य खोजिरहेका उनलाई ‘नेपाल लिटरेचर फेस्टिभल’ को भव्यताले पनि हौस्यायो । ‘नेपाल लिटरेचर फेस्टिभल’ काठमाडौंबाट पोखरा सरेपछि उनको हौसला झन् बुलन्द भयो । मादक हावा चल्ने वसन्तपुरतिर कुनै बेला टहलिँदा उनले बोध गरे– यो सहरमा यति धेरै सांस्कृतिक जात्राहरू भइरहन्छन्, किताबको जात्रा किन नगर्ने ? ‘आइडिया’ फुर्नेबित्तिकै मन हलुंगो भएको थियो उनको । 

सहरका पुस्तकालयमा ढुसीले ओइलाएका किताबबीच हराइरहेका मानिसहरू ‘किताब–जात्रा’ मा आउन थाले । ऋषिराम भन्छन्, ‘नेपाल लिटरेचर फेस्टिभल, जनकपुर लिटरेचर फेस्टिभलजस्ता थुप्रै साहित्यिक महोत्सवसँगै किताब–जात्रा पनि सहरको समकालीन किताब–संस्कृति चिहाउने आँखीझ्याल हो ।’ 

Life-journey, book-journey

यस्ता महोत्सवहरूले निश्चय पनि समाजमा अर्थपूर्ण प्रभाव पारिरहेको हुन्छ । सबै महोत्सवका आफ्नै आकर्षक तरिका छन् आयोजना गर्ने । हरेक वर्ष आयोजकले महोत्सवलाई उत्कृष्ट र स्मरणीय बनाउन अर्थपूर्ण डिजाइन गरेको प्रस्ट देखिन्छ । ‘किताब–जात्रा’ को पनि बेग्लै डिजाइन छ । यसले साहित्यसँगै थिएटर, संगीत, संस्कृति, इन्टरप्रेनरसिप र क्यालिग्राफीलाई पनि जोडेको छ । नेपालका साहित्य महोत्सवहरूको कन्टेन्ट र तिनले समाजमा पारेका प्रभावबारे कवि विप्लव प्रतीक भन्छन्, ‘म महोत्सवका निम्ति जनकपुर, सुर्खेत र टीकापुरजस्ता जति पनि ठाउँमा पुगेको छु, सबैभन्दा उल्लेखनीय त्यहाँ मैले ९० प्रतिशत युवाको उपस्थिति देखेको छु । यो विशिष्ट उपलब्धि हो आयोजकको । उपस्थित अधिकांशमा पढ्ने बानी संस्कारकै रूपमा विकसित भएको मेरो विश्वास छ । श्रेय आयोजकहरूलाई नै ।’

‘ऋषिराम ड्रिम’ किताब–जात्रा २०७५ सालदेखि सुरु भएको हो । यो यात्रा काठमाडौंमा मात्रै सीमित छैन । उनी ‘किताब–जात्रा’ लिएर नयाँदिल्ली पुगेका छन्, सन् २०२४ सम्म चार संस्करण त्यहाँ सम्पन्न भइसक्यो । सन् २०२३ मा बेलायतमा पनि । त्यहाँ फेस्टिभल गरिरहँदा ऋषिरामलाई लाग्यो– नेपाली जहाँ भए पनि नेपाली भाषा, कला र साहित्यसँग निकट हुन चाहँदारहेछन् । देश–विदेश गरी अहिलेसम्म किताब–जात्राको १२ वटा संस्करण सिद्धियो । 

त्यति मात्रै होइन, अहिले त मुलुक नै महोत्सवले रंगीन भएको छ । साहित्यसम्बन्धी एउटै दिव्य महोत्सव भए पुग्ने होइन र ? ऋषिराम भन्छन्, ‘नेपाल लिटरेचर फेस्टिभल पोखरा पुग्यो, काठमाडौं रित्तो भयो । र, हामीले पुरक–काम गर्‍यौं । त्यो फेस्टिभलबाटै सिकेर अझै राम्रो काम गर्न सकिएला भनेर सुरु गरेका थियौं– किताब–जात्रा । जनकपुर, टीकापुर, इलाम, सुर्खेत वा देशैभरि महोत्सव हुनु सुखद् हो । किन ठावैपिच्छे हुन नपाउनु ? ती ठाउँमा लेखक/कवि र चिन्तकको भेला, बहसले मानिसलाई अर्थपूर्ण प्रभाव पार्छ, त्यो स्तुत्य काम होइन र ?’ देशैभरि साहित्य महोत्सवको लहरले के सन्देश दिन्छ ? ऋषिराम द्विविधामा छैनन् । भन्छन्, ‘जति फेस्टिभल भयो, उति राम्रो र त्यसले समाजलाई कालान्तरमा दिने प्रभावको जति गुण गाए पनि कम हुनेछ ।’ तर, स्थायित्व ? ‘त्यसको पीर पनि नलिऊँ होला । जतिसुकै पहाड उचाल्ने काम भए पनि केही आयोजकले यसलाई निरन्तरता दिनेछन् । किनभने ती भिजन लिएर आएका छन् । सकेसम्म सबैले निरन्तरता पाउने छन्,’ ऋषिराम भन्छन्, ‘फेस्टिभललाई स्थानीय र राष्ट्रिय कर्पोरेट हाउसहरूले प्राथमिकताका साथ आर्थिक सहयोग गरेर प्रश्रय दिनु आवश्यक छ । ताकि साहित्यका माध्यमबाट समाज रूपान्तरण गर्ने पुण्यकर्ममा साझेदार बनेकोमा कर्पोरेट हाउसहरूले गर्व गर्न सकून् ।’ 

मान्छे आफ्नो जिज्ञासु स्वभाव प्रयोग गरेर वस्तु, अवस्थितिलाई बोध गर्छ र बौद्धिकता तिखार्न ज्ञान महोत्सवमा सहभागी हुन्छ । ऊ संसारको अर्कै गोलार्द्धका मानिसलाई समेत विचार र भावनाले गोलबद्ध गर्न सक्छ । उसको आफ्नै भाषा, धर्म, सिमाना र राष्ट्र छ । उसले आफ्नो उन्नतिको आधार–स्तम्भ नै भाषा र ज्ञानलाई बनायो । अतः संसारैभरि स्वागतयोग्य छन्– ज्ञान महोत्सवहरू ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully