‘निबन्ध कफी गफ पनि हो, ज्यादा मदिरा गफ’

निबन्धमा विषय र विचारको सन्तुलन आवश्यक हुन्छ जस्तो लाग्छ । निबन्धको निजस्वभित्र कुनै अमूर्त विषयमाथिको माथापच्ची या बुद्धि विलासभन्दा ज्यादा सामयिक विषयमाथि लेखकको स्पष्ट दृष्टिकोण आउनुपर्छ ।

वैशाख ६, २०८२

दीपक सापकोटा

”Essay is also coffee gossip, more alcohol gossip”

भुइँमान्छेका दुःख, सन्ताप र पीडा हुन्– कुमारी लामाका कन्टेन्ट । निबन्धकार, समालोचक, विश्वविद्यालयकी अध्यापक लामाको नयाँ निबन्ध–किताब ‘दर्ज्यु संलाप’ प्रकाशित छ ।

यसअघिको उनको किताब ‘उज्यालो अन्धकार’ पाठकमाझ प्रशंसित थियो । नेपाली निबन्ध–पथबारे कुमारी लामासँग दीपक सापकोटाको संवाद : 

‘दर्ज्यु संलाप’ मा तपाईंले महिला र सीमान्तकृत समुदायको विषयमाथि विमर्श चलाउनुभएको छ र एक ‘तामाङ’ भएर ‘आफ्नै’ संस्कृतिमाथि घोत्लिनुभएको छ । तपाईंजस्तै हाम्रा निबन्धहरूले सीमान्तहरूको प्रतिरोधी कथा लेखेका छन् ? हामीलाई निबन्धमा के चाहिन्छ ?

पहिलो कुरा त कुनै पनि लेखकले छनोट गर्ने विषय, लिने पक्षधरता या अपनाउने प्रस्तुतिगत शैली आदिका निम्ति ऊ स्वतन्त्र हुन्छ । त्यसैले निबन्ध या अन्य कुनै विधामा लेखकहरूले आ–आफ्नै तरिकाले विषयवस्तुको उठान गर्छन् । रह्यो कुरा सीमान्तहरूको प्रतिरोधी कथा, निश्चय नै लेखिएका छन् । प्रतिरोधका अनेक स्वर नेपाली निबन्धमा आएका छन् ।

आज पनि मेरो मस्तिष्कमा कृष्ण धरावासीका निबन्धहरू घुमिरहन्छन् । उनका कतिपय निबन्धमा भुइँमान्छेहरूले लिएका अन्तिम निर्णय बडा गजबका लाग्छन् । त्यस्तै रेशम विरहीका निबन्धहरूमा पनि त्यस्तो पाइन्छ । उनको 'स्विपर मालती’ प्रतिरोधी चेतना भएको सीमान्त पात्रको कथा हो । नारायण ढकालका निबन्धहरूमा चित्रित हुने प्रतिरोधपूर्ण समयको कथा या मोमिलाका निबन्धले पक्डने स्वचिन्तन केन्द्रित प्रतिरोधी चेतनाको उचाइ गजबका हुन्छन् । 

निबन्धमा विषय र विचारको सन्तुलन आवश्यक हुन्छ जस्तो लाग्छ । निबन्धको निजस्वभित्र कुनै अमूर्त विषयमाथिको माथापच्ची या बुद्धि विलासभन्दा ज्यादा सामयिक विषयमाथि लेखकको स्पष्ट दृष्टिकोण आउनुपर्छ । हाम्रा वरिपरि लेख्न बाँकी अनेक विषय र पात्र छन्, जसलाई आजका निबन्धकारहरूले पक्डने कोसिसमा छन् ।

खासमा आज हामी अवसर र चुनौतीका पहाड अघिल्तिर छौं । हर जीवन अप्रत्याशित जटिलताले जेलिने क्रममा छन् । यसैमाझ फेरि सबैको आफ्नै प्रकारका प्रयत्नहरू छन्, ती जटिलतासँग जुध्ने या प्रतिवाद गर्ने । त्यसैले जताततै छन् प्रतिरोधी पात्र र उनीहरूका खास कथाहरू । मेरो विचारमा निबन्धले त्यस्ता संघर्षमय जीवन गाथाहरू समेट्नुपर्छ । 

लेखनमा विविधता आएकै छ भन्छन् समीक्षक, तर युवाहरूको ठूलो जुलुस संक्रमणमा छ । त्यहाँ छ– अवसर, तनाव र प्रतिस्पर्धा । यी तीनथोकबीच च्यापिएका युवाको लेखन, विचार र सपना कस्ता छन् ?

हर युगका युवाहरू बिलकुल भिन्न परिस्थितिजन्य भासमा पर्छन् । तथापि ती भासहरू पार गरी निस्कने र समाजलाई सही मार्गमा अघि बढाउने पनि उनीहरू नै हुन् । आजका युवाहरू पुँजीवादी बजार व्यवस्था र अत्यन्त द्रुत गतिमा अघि बढिरहेको प्राविधिक विकासको मारमा छन् । अति महत्त्वाकांक्षा र ठूला सपना बोकी हिँड्छन् ।

सपना बोक्नु असल कुरा हो, तर सँगालेका महत्त्वाकांक्षाहरू यति ठूलो पनि नहोस् कि गन्तव्य पुग्नुअघि नै जीवन तमाम होस् । उजागर भइरहेका छन्, ठूला सपनासहित सुनिश्चित भविष्यका लागि अवैध मार्ग छिचोल्ने प्रयासमा हिँडिरहेका युवाहरूको दर्दनाक कथा । यस्ता पीडादायी कथाहरू साहित्य–लेखनमा त खजानासरह होलान् तर भोग्नेको जीवन भने अरूका लागि कल्पनाइतर क्षेत्र हुन्छन् । आजकल म सोचमग्न हुन्छु– द्रव्यकेन्द्रित मानसिकता र उपभोक्तावादी समयले समाजलाई कहाँ पुर्‍याउला !

”Essay is also coffee gossip, more alcohol gossip”

निबन्धकारहरू निबन्ध लेखिरहेकै छन्, पाठकहरू पढिरहेकै छन् । यस्तोमा निबन्ध–विषयमा बहस–विमर्श किन गर्नुपर्ला र ?

बहस र विमर्शबिनाको समाज त यथास्थितिउन्मुख भएन र ? लेखकले त किमार्थ चाहँदैन एक निश्चित बिन्दुमा जमिबस्ने समय । एक निश्चित विचारको हालीमुहाली । या प्रतिगमनका पक्षपोषक मौनता । त्यसैले वाचालपन, बहाव, नवविचारको आगमन र स्वागतका निम्ति हरेक क्षेत्रको विमर्श जरुरी छ । त्यसभित्र साहित्य या निबन्ध पनि पर्ने नै भयो । 

पारिजातले नामकरण गरिदिनुभएको'अस्मिता’ पत्रिकाको नवप्रवेशांकको सम्पादक भएर काम गर्नुभयो, निबन्ध लेख्नुहुन्छ, प्राध्यापन गर्नुहुन्छ । पत्रिकाको सम्पादक हुनु वा प्राध्यापन गर्नु सहज कि निबन्ध लेख्नु ? 

स्वाभाविक रूपमा प्रत्येक कामसँग जोडिएका सजिला र अप्ठ्यारा पक्षहरू हुन्छन् । साथमा हरेक जिम्मेवारी चुनौतीपूर्ण पनि हुन्छ । सम्पादन, लेखन र प्राध्यापन तीनै क्षेत्र फरक तर उत्तिकै चुनौतीसहितका छन् । मलाई भने आफूले रोजेको क्षेत्रमा आइपर्ने चुनौतीहरूको सामना गर्दै अघि बढ्न आनन्द लाग्छ । मैले गर्ने कामहरू सबै अक्षरसँगको सहकार्य र ज्ञान उत्पादनसँग सरोकार राख्छन् । अक्षर र विचारको सामर्थ्यसँगको संगत हुने भएकाले मैले यी जिम्मेवारीलाई अप्ठ्यारोभन्दा अवसरका रूपमा ग्रहण गरेकी छु । 

आजकलका लेखक–पाठक निबन्धमाथि बहस–विमर्शमा सामेल छन् । तर, एउटा प्रश्नमाथि चिन्ता गरिएको देखिएको छैन– हाम्रा अहिलेका निबन्ध चिन्तन हुन् कि गन्थन ? 

हाम्रा विचारलाई तिखार्न चिन्तन र गन्थन दुवैको जरुरत पर्छ । यदि हामीले निबन्धलाई विचार अभिव्यक्तिको एक सशक्त माध्यम मान्छौं भने त झन् यी दुवै आवश्यक छन् । समस्या कहाँनिरबाट सुरु भयो होला भने, हामीले चिन्तनलाई गम्भीर विचार या उच्चकोटीको बौद्धिक कार्यको तहमा राख्यौं तर गन्थनलाई कमसल या अनावश्यक गफका रूपमा मात्र बुझ्यौं ।

अझ कतिपय अवस्थामा त यसलाई 'थाङ्ने गफ’ भन्दै वर्जित नै गरेको पाइन्छ । तर, बुझ्नुपर्ने कुरा के भने, हर एक मानिसभित्र गुनासा र पीडाले भरिएका उकुसमुकुसहरू हुन्छन् । त्यसको सहज निकासका निम्ति गन्थन गर्न आवश्यक छ । खासमा मान्छेकै कथा लेख्ने लेखकजनले त गन्थन र मन्थन दुवै लेखनमा समेट्न सक्नुपर्छ कि ! के, कति र कसरी लेखनमा ल्याउने भन्ने कुरा भने लेखकको क्षमता र सिर्जनात्मकतामा भर पर्ला !

'चिन्तन’ ले 'गहिराइ’ को माग गर्छ र जीवनबोधी हुन्छ, गन्थन’ ले 'सतही विषय’ । यी दुई शब्दको अर्थभेद गरी भन्नुस्– अब कस्तो निबन्ध लेखिनु उचित हो ? 

यी दुवैको उचित मात्रा भएको निबन्ध राम्रो हुन्छ । विचारको भारीले दपेटेर पाठक बिच्किने वातावरण तयार गर्नु कति उचित होला ? फेरि विचारको फेरो नै नसमाई केवल पीर–व्यथा मात्रै पोखेर हत्तुहैरान पार्नु पनि जायज हुन्न । खासमा कुनै पनि शब्दको अर्थलाई बटारबुटुर पारेर उसको हुर्मत लिने काम पनि बौद्धिकजनबाटै हुन्छ । शब्दको खेती गर्ने हामी लेखकहरूले कुनै पनि शब्दको एउटै अर्थतिर मात्र अलमलिन आवश्यक नै छैन । 'गन्थन’ भन्ने शब्दको अन्य अर्थतिर पनि हाम्रा आँखा जानुपर्छ । 

निबन्ध विधा लोकप्रिय त छ तर सैद्धान्तिक, गाम्भीर्य र प्रायोगिक अर्थमा कस्तो छ ?

यो अत्यन्त गम्भीर प्रश्न हो । यसको प्राज्ञिक विश्लेषणले निकै समयको माग गर्छ । किनकि निबन्धका सिद्धान्त पनि हुन्छन् अनि निबन्धलाई विश्लेषण गर्ने अनेक सिद्धान्त त छँदैछन् । व्यावहारिक र साहित्यिक आँखाबाट हेर्दा सिर्जना पहिलो सर्त हो । त्यसपछि आउँछ, त्यसको सैद्धान्तिक या वैचारिक विश्लेषण आदि ।

”Essay is also coffee gossip, more alcohol gossip”

प्रायोगिक पक्षमाथि पनि अनेक दाबी, तर्क–वितर्क छन् नै । निबन्धको मात्र नभई साहित्यका सबै विधामाथिको उपादेयता र व्यावहारिक प्रयोजनमाथि प्रश्न उठ्ने गरेको छ । तथापि प्रश्नकर्ताहरूले छुटाएको पाटो भनेको सिर्जनामार्फत हुने ज्ञान उत्पादन र त्यसले समाज परिवर्तनमा पुर्‍याउने दीर्घकालीन असर या योगदान हो । यस विषयमा निकै छलफल जरुरी छ ।

निबन्धका पितामह लक्ष्मीप्रसाद देवकोटाले भने– निबन्ध टेबिल गफ हो, चस्मादार अध्यापकको व्याख्यान होइन । कसैले भनेका छन्– निबन्ध एक प्रकारको कुरा गराइ हो । देवकोटा–बाजेले भनेझैं के 'निबन्ध टेबिल गफ’ हो ? तपाईंको विचारमा चाहिँ निबन्ध के रैछ ?

मेरो विचारमा निबन्ध टेबिल गफ मात्र होइन, यो त कफी गफ पनि हो, मदिरा गफ अझ ज्यादा होला । किनकि मदिराले दिने रमरममाझैं विचारको ट्रिप दिनु निबन्धको विशेषताको एक हिस्सा हो । शंकर लामिछानेले भनेझैं लेखन यात्रामा साथ दिने एक 'अस्पष्ट अनुहार’ सँगको आँखा जुधाई’ हुन सक्छ एक यायावरको फुक्काफाल मनफुकाई ! या स्मृति–कुनोबाट फुत्त ओर्लिने अनुस्मृतीय बहाव पनि । त्यसैले निबन्धको न एउटै लय छ न एउटै भाषा । उसको रङ, रूप, चाल, डाल अनेक छन् । बहुलरंग या सप्तरंगीपना निबन्धको खास सौन्दर्य हो । 

अब गद्य–गन्थन, नियात्रा, संस्मरण, किताब–समीक्षा सबै निबन्ध भएका छन् । निबन्ध कोटीमा के–के विषय अट्नुपर्छ ?

भएभरका लेखनीहरू निबन्धभित्र हुली नै सकिएको छ । त्यसैले निबन्धकै हाँगाबिँगा भन्दै आजसम्म जे जति प्रकारका लेखनहरू समेटिए या ठेलठाल पारी घुसाइए, अब त त्यसमा निबन्धको अंशचाहिँ कति छन् (या छैनन्) भनी गम्भीर बहस चलाउने पो बेला भइसक्यो । यसका निम्ति प्राज्ञिक या सैद्धान्तिक बहसको पाटो एकातिर छ भने सिर्जनात्मक विशेषता र गुणवत्तको कसीमा राखी गरिने विश्लेषण पनि हुन सक्छ । 

”Essay is also coffee gossip, more alcohol gossip”

आजकलका लेखक साहित्यमाथि गम्भीर भएर 'त्यो बचाउनुपर्छ’ भन्छन् कि 'साहित्यलाई बेच्नुपर्छ’ भन्छन् ?

साहित्यलाई त लेखकले भन्दा पाठकले पो बचाउने होइन र ? लेखकले लेखिसकेपछि पाठकको जिम्मा भो । भलै प्रत्येक लेखक आफूले लेख्ने विषयप्रति भने निकै संवेदनशील हुन जरुरी छ । लेखक स्वयंले आफ्नो लेखनको अमरत्वको कामना गर्नु या तत्काल परिणाम खोज्नु उत्ति मनासिब नहोला । लेखकमा आफ्नो लेखनबारे उत्ताउलोपनाभन्दा गाम्भीर्य र धीरता ज्यादा खुल्छ । रह्यो कुरा साहित्यलाई बेच्ने सन्दर्भ– कतिपय कुरा हाम्रो वशभन्दा टाढा पुगिसक्यो ।

हामी बजारको यस्तो गोलभुमरीमा परिसक्यौं कि, अब हामीले नचाहे पनि साहित्यसँग बजार, मूल्य, उपभोक्ता (पाठक), किनबेच सबै जोडिइसकेका छन् । यो आफैंमा खपत गरिने एक वस्तुसरह भइसकेको छ । तथापि बजारमा स्वास्थ्यलाई हानि गर्ने चुरोटका खिल्लीहरू बिक्री हुनुभन्दा पुस्तक बिक्री भएको राम्रो ।

यसले खपतकर्ताको ज्यान जोखिममा पर्दैन (हुन त रातो पुस्तक राख्दा ज्यान जाने समय पनि थियो) बरु लिन सके केही ज्ञान, प्रेरणा या हुटहुटीहरू प्राप्त गर्दा हुन् । फेरि पनि चिन्तनीय विषय छ, पुस्तक बिक्रीबाट त्यसका शिल्पीहरूचाहिँ के–कति लाभान्वित छन् ?

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully