अनुभूतिलाई सिलसिलेवार ढंगले कल्पनासँग मिसाएर पस्कने प्रयत्नको लामो ताँतीमा उभिन आइपुगेको छ– प्याउली
लेख्ने त भोगाइ नै हो, चाहे त्यो आफ्नो होस् वा अरू कसैको । तर, अनुभूतिको सपाट अभिव्यक्तिले मात्रै लेखन पूर्ण हुँदैन । त्यसका लागि व्यवस्थित तरिकाले भन्ने सीप र अनुभूतिलाई एउटा निष्कर्षतर्फ डोर्याउने कल्पनाशीलता चाहिन्छ । अनुभूतिलाई व्यवस्थित ढंगले केही कल्पनासहित प्रस्तुत गर्ने प्रयत्नको लामो ताँतीमा उभिन आइपुगेकी छन्– लेखक बालिका बान्तावा, नयाँ उपन्यास ‘प्याउली’ लिएर ।
विषयवस्तु नितान्त नवीन नभए पनि विषयलाई हेर्ने दृष्टिकोण नयाँ छ, त्यही नै यो उपन्यासको शक्ति हो । मूल पात्र लादिप्माको जीवनमा जोडिएका दुई पुरुष, तीसँगको सम्बन्ध र सम्बन्धको समापनपछिका परिणतिहरू नै कथाको मुख्य विषयवस्तु हो । सामान्यतः नेपाली उपन्यासमा यस्तै हुन्छ । प्रेम र धोकाका रामकहानी निकै लेखिएका छन् । तर, यो कहानीहरूको लस्करमा फरक बनेकी छन् बालिका बान्तावा ।
उपन्यासकी मूल पात्र लादिप्माको जीवनमा दुईवटा पुरुष आउँछन्, प्रशान्त र उप्मिहाङ । प्रशान्त पहिलो प्रेम हो र पहिलो धोका पनि । किशोरी बैंसमा सुरु गरेको वैवाहिक सम्बन्ध लादिप्मा हङकङ पुगेसँगै नागबेली बाटो हिँड्न थाल्छ । प्रशान्तसँगको प्रेममा पूर्णविराम लागेपछि उनको जीवनमा अर्को पात्र आइपुग्छ, उप्मिहाङ । परपीडक स्वभावको उप्मिहाङसँगको सम्बन्ध अघि बढ्न नसक्ने भएपछि लादिप्माले त्यसमा पनि पूर्णविराम लगाउने निधो गर्छिन् । त्यहींबाटै उपन्यास सुरु हुन्छ । तर, सम्बन्धहरूको अन्त्य हुँदैमा जिन्दगी सकिँदैन । त्यही नसकिने कथाको वृत्तान्त नै यस उपन्यासको शक्ति हो ।
बालिकाले उपन्यासको मूल पात्रलाई सम्बन्धहरूको दुर्दान्तले शोकाकुल दुःखी महिलामा सीमित गराएकी छैनन् । त्यसको उल्टो लादिप्मा आफ्नै खुट्टामा उभिएकी आत्मनिर्भर सशक्त महिला हो । अधिकांश साहित्यमा सम्बन्धका दुर्दान्तबाट पीडित दुःखी महिलाको विरही कथा लेखिन्छ । तर, ‘प्याउली’ मा लेखकले लादिप्माको चरित्रमार्फत आफ्नो जीवन कसरी बाँच्ने भन्ने स्वनिर्णय गर्ने अधिकार महिलासँगै हुन्छ भन्ने देखाएकी छन् । साथै निःसर्त त्यस्तो जीवन बाँच्न सक्ने हैसियतमा महिलाहरू पुग्न उसको आर्थिक आत्मनिर्भरता पहिलो सर्त हो भन्ने पुष्टि गर्न खोजेकी छन् । आखिर आख्यानको दायित्व वर्तमानको भोगाइ व्यक्त गर्नु मात्र होइन, बरु लेखकले आफ्नो परिकल्पनाको भविष्य पनि वर्णन गर्नु हो । ‘प्याउली’ की नायिका लादिप्मामार्फत महिलाहरूले नियतिलाई चुपचाप स्विकार्नुको साटो आफ्नोतर्फबाट प्रतिरोध गर्नुपर्छ भन्ने सन्देश दिएकी छन् । त्यो प्रतिरोध बदला नभई स्वतन्त्र जीवनको अभ्यास हो । यस अर्थमा ‘प्याउली’ नारीवादी उपन्यास हो । यसो भन्नासाथ कस्तो नारीवादी भन्ने प्रश्न त स्वतः आउँछ ।
लादिप्मालाई जसरी लेखकले एक आत्मनिर्भर र स्वतन्त्र महिलाको रूपमा उभ्याएकी छन्, त्यही प्रयत्नमै उनको नारीवाद उजागर हुन्छ । नेपाली नारीवादी आन्दोलनमा लामो समयसम्म वर्चस्वमा रहिआएको उदारवादी नारीवाद नै बालिका बान्तावाले अंगिकार गरेको नारीवादी दृष्टिकोण हो । महिला र पुरुषबीच फरक व्यवहार गर्ने सामाजिक संरचनाको विरोध गर्दै महिलाका निम्ति शैक्षिक अवसर, नागरिक अधिकार, प्रजनन अधिकार आदिको पक्षपोषण गरे पनि उदारवादी नारीवादले समाजको वर्गीय र जातीय उत्पीडन संरचनालाई बेवास्ता गर्छ, जसले गर्दा यो केवल मध्यमवर्गीय महिलाहरूको मुद्दामा सीमित हुन्छ ।
सेरा तामाङको भाषामा उदार नारीवादको नेपाली अभ्यास विकासे नारीवादमा सीमित भएको छ, जुन महिलाहरूको विकास, उत्थान र सशक्तीकरणमा सीमित छ, जसले वर्गीय, जातीय, जातगत, यौनिकता लगायतका महिलालाई उत्पीडनमा पार्ने सामाजिक उचनीचमय तहगत संरचनालाई ध्यान दिँदैन (‘नेपालमा विकासे नारीवाद’, नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन) ।
बालिकाले पनि एक महिलाले आत्मनिर्भर भएर आफूले चाहेजस्तो जिन्दगी बिताउन गरेको संघर्षको कथा वर्णन गरेकी छन्, जुन आफैंमा प्रशसंनीय छ । तर, उनले कल्पना गरेको संसारमा केवल एउटी महिला छ । उसलाई दमित र उत्पीडित हुन बाध्य पार्ने सामाजिक–सांस्कृतिक–आर्थिक संरचना भने ओझेलमा परेको छ । त्यसैले सिंगो उपन्यास एउटा महिलाको व्यक्तिगत संघर्षको कथामा सीमित भएको छ । वैयक्तिक संघर्ष आफैंमा त्याज्य होइन । तर, एउटा मानिसको वैयक्तिक संघर्षले नै सोचेजस्तो समाज त निर्माण हुन सक्दैन । ‘प्याउली’ की लादिप्माले एक चरणको संघर्ष गरेर आफूले सोचेजस्तो स्वतन्त्र जीवन निर्माण गरें भन्ठाने पनि आफूलाई दोस्रो दर्जाको मानिस बनाइरहने सामाजिक संरचनाको चार पर्खालभित्र बन्दी भइरहने जोखिम त रहन्छ नै । अर्कोतर्फ, लादिप्माजस्तै अरू महिलाहरू यही सामाजिक–आर्थिक संरचनामा उनीजस्तै सफल नहुने जोखिम पनि उत्तिकै रहन्छ किनभने त्यो संघर्षका लागि उनले जे–जस्तो सहज भूमि पाएकी छन् त्यो सबैका लागि सम्भव छैन । महिलाहरू आत्मनिर्भर भएपछि स्वतन्त्रताको पहिलो यात्रा सुरु हुन्छ । त्यसमा त शंकै छैन । तर, हरेक महिला यही सामाजिक–आर्थिक संरचनामा आत्मनिर्भर भइरहन सम्भव छ त ? यत्ति एउटा प्रश्नले हामीलाई नारीवादको उदारवादी मान्यताबाट अगाडि बढ्न उत्साहित गर्छ, जुन पाटोमा लेखकको ध्यान गएको छैन ।
उपन्यासको अर्को सबल पक्ष चाहिँ लादिप्माको चरित्र निर्माण हो । प्रशान्त निरौला, उप्मिहाङजस्ता पात्रहरूको उपस्थिति र तिनीहरूसँग लादिप्माले गरेको प्रतिरोधमै यो उपन्यासको सिर्जना भएको छ । उपन्यासमा लादिप्मालाई एक कवि, प्रतिभाशाली किशोरी, स्वाभिमानी महिला र प्रेमिल व्यक्तिका रूपमा चित्रित गरिएको छ, जसको पृष्ठभूमिमा स्कुले जीवनमा कविता लेख्नु, नृत्यगायन लगायत भलिबल प्रतियोगितामा भाग लिनु, कैशोर्यप्रेमलाई आँखा चिम्लेर आत्मासात् गर्नु, सुत्केरी भएको चार–पाँच महिनामै दूधे बालिका छोडेर गार्मेन्ट कारखानामा काम गर्न जानु र अन्ततः परदेशिएको घटनाहरूको वर्णन छ ।
जीवन भोगाइका यी शृंखलाहरूले कोमल हृदयकी लादिप्मा उमेरसँगै वैचारिक रूपमा पनि परिपक्व हुँदै गएकी देखिन्छे । सुरुवाती दिनहरूमा नियतिमाथि विश्वास राख्ने लादिप्मा पछिल्ला दिनहरूमा नियति बदल्न सकिन्छ भन्ने आत्मविश्वासमा पुगेकी छे । एउटा पात्रको जीवनमा हुने यत्तिको रूपान्तरणको कथा र त्यो रूपान्तरणका मोडहरूको सुन्दर वर्णनले चरित्र स्थापित भएको छ । कथा भन्ने क्रममा ल्याइएको परिवेश, घटना र संवादले उपन्यास विश्वसनीय बन्दै जान्छ । यसले पाठकलाई आफ्नो तरिकाले कल्पना गर्दै पढ्ने सुविधा उपलब्ध गराउँछ । यो उपन्यासको अर्को सबल पक्ष हो ।
सरल, सरस भाषाशैलीमा लेखिएको यस उपन्यासका अरू केही सीमा पनि छन् । उपन्यास पढ्दै जाँदा उप्मिहाङ र लादिप्माबीच हुने ‘भर्चुअल’ सन्देशका लम्बेतान प्रसङ्गहरूले पाठकलाई दिक्क लगाउने सम्भावना प्रशस्त छ । उपन्यासको सूत्रधार र पात्रको भाषामा समानता छ, जसले सबै पात्रको आवाज उस्तै–उस्तै सुनिन्छ । दृश्यमार्फत देखाउन सकिने कतिपय प्रसङ्ग पनि वर्णन गर्दा त्यसको कल्पना गर्ने सुविधाबाट पाठक वञ्चित हुन पुग्छन् ।
यी सीमाका बाबजुद पात्र चयन, सहपात्रहरूको आगमन, घटनाक्रम र अनपेक्षित उत्कर्षले ‘प्याउली’ लाई पठनीय बनाएको छ । महिला सशक्तीकरणको वर्तमान बुझाइ बुझ्न पनि यो उपन्यास पढ्नुपर्छ । अझ भनौं, अभिभावकले स्कुल वा भर्खरै कलेज पढ्न सुरु गरेका छोरीलाई महिला सशक्तीकरणबारे बुझ्न, बुझाउन यस उपन्यास पढ्न प्रेरित गर्नुपर्छ ।
