पहाड लेख्छन्, पहाड बाँच्छन्

भारतको उत्तरपूर्वी पहाडी समाजको दुःख–सुख र संघर्ष कहने छुदेन काविमोको जीवन–कथा पनि पहाडजस्तै छ– उकाली, ओराली र घुम्तीहरूले भरिएको । कठोर पहाडको छातीबाट नदी बगेजस्तै बगेको छ– उनको लेखन र जिन्दगी ।

चैत्र २३, २०८१

दीपक सापकोटा

Mountains write, mountains live

‘प्रत्येक ठाउँका प्रत्येक मान्छे’ सँग सपनाहरू हुन्छन् र सपनासम्म पुग्ने केही संघर्ष पनि । संघर्ष कसैको थोरै सहज हुन्छ, केहीलाई सपनाले जीवनैभर दुःख दिइरहन्छ । मान्छेको दुःख, खुसी वा उत्सव भनेकै आफ्नै सपनासम्मको संघर्ष–यात्रा हो । र, मान्छे त्यही दूरी पार गर्न आफ्नो उमेर गनिहिँड्छ ।

मस्तिष्कमा लेखनका कच्चापदार्थ बोकी कालेबुङबाट काठमाडौं आइपुगेका आख्यानकार छुदेन काविमो पनि सपना र संघर्षबीच कतै च्यापिएको उमेर गन्ती गरिरहेका छन् । भन्छन्, ‘संघर्षदेखि सपनाबीचको दूरीमा हिँडिरहनुपर्ने यात्राको अर्को नाम नै जीवन हो ।’ 

असलमा जीवन साधारण स्मृति र कथा–शृङ्खलामा चलिरहन्छ । स्मृति–ट्याङ्कामा पट्टिएका कथा–शृङ्खलाहरूमा बग्दै–बग्दै छुदेन यो काठमाडौं सहर पसेका छन्, जो अहिले पाटनका पुरातात्त्विक चोक, डबली, गल्ली, बहालतिर ‘पद सर्फिङ’ मा निस्किएका छन् । सँगै हिँडिरहेका छन्– आख्यानकार कुमार नगरकोटी, कवि विमला तुम्खेवा । ‘पद सर्फिङ’ नगरकोटी–क्वइनिङ हो, जो हाम्रो ‘गाइड’ भएका छन् र सहर–ज्ञाताझैं पाटनका किस्सा–कहानी–मिथक सुनाइरहेका छन् । नगरकोटी भनिरहेका छन्, ‘सत्रौं शताब्दीदेखिका कला र सांस्कृतिक सम्पदाले पाटन झिलमिलाएको छ र त्यो देखेर मान्छे तिलमिलाएका छन् ।’ मल्लकालीन दरबार र जयस्थिति मल्लले निर्माण गरेको कृष्ण मन्दिरअघि उभिएर छुदेन चियाको बोटसँग जीवन साटिरहेका डुअर्स चिया बगानका मजदुर याद गरिरहेका छन् ।

छुदेनको नयाँ उपन्यास ‘उरमाल’ ले डुअर्सका तिनै चिया मजदुरका सुस्केरा र सपनाहरूको यात्रा गराउँछ, चिया कमानमा आँसु पिएर सपनासम्म पुग्न संघर्ष गरिरहेका र उमेर गनिरहेका सोमारी, बुधुवा, ऐतमारीहरूको जीवन–कथा भन्छ ।

यसअघि छुदेनको उपन्यास थियो– फातसुङ । त्यो थियो– माटोको कथा । पश्चिम बंगालको उत्तरी भागमा भएको गोर्खाल्यान्ड आन्दोलनमाथि लेखिएको उपन्यासले एक अज्ञात कथाकार र उनको साथी रिपदेनको मित्रताको आख्यान वाचन गर्छ । 

छुदेनले ‘हरियो चियाको गाछमुनि अँध्यारो जीवन बाँच्नुपरे नि उज्यालो सपना देख्न कहिल्यै नछाड्ने’ डुअर्सका चिया टिपिरहेका मजदुरलाई समर्पित गरेका छन्– ‘उरमाल’ । छुदेनको विचारमा ‘नयाँ कुरा लेख्नु, नयाँ विषय सिक्नु पनि हो ।’ त्यसैले यो उपन्यासमा उनी नयाँ भूगोल र नयाँ कन्टेन्टमा प्रवेश गरेका छन्, ‘त्यस्तो रहर लागिरहन्छ, नयाँ ठाउँसँग जोडिन, इतिहासको काखमा उभिन र कल्पनाको उडान भर्न पाउँदा त्यो ठाउँप्रति प्रेम पनि उम्रेर आउने रहेछ ।’

चियाको पहाड दार्जिलिङमाथि चिन्तनरत छन् छुदेन । जहाँ पहिचानको संकट हट्नेछ, आदिवासीको अस्तित्व हराउने छैन र चिया श्रमिकले हाजिराका लागि लडिरहनु पर्दैन– हरेक दार्जिलिङवासीझैं छुदेनको पनि सपनाको दार्जिलिङ यस्तै–यस्तै छ । ‘तपाईं कस्तो सरकारको पक्षमा हुनुहुन्छ ?’ यो प्रश्नमा आख्यानकार गाब्रिएल गार्सिया मार्खेजले भनेका थिए, ‘त्यो सरकार, जसले गरिब जनतालाई खुसी राख्नेछ, कल्पना गरेर हेर्नुहोस् ।’ छुदेनको विचारमा दार्जिलिङले देखिरहेको अलग राज्यको सपना पनि मार्खेजको कल्पनाजस्तै हो । 

‘पहिचानको संकट भोगिरहेका भारतीय नेपालीलाई भाषा आन्दोलनले भाषाप्रति सजग मात्रै गराएन, पहिचानको लडाइँमा पनि ठूलै टेवा दिलायो,’ छुदेन भन्छन्, ‘यो भाषाले संवैधानिक मान्यता पाउनु नेपाली पहिचानको हिसाबले महत्त्वपूर्ण माइलखुट्टी थियो । तर, भाषा मान्यतापछि त्यसलाई जसरी कार्यान्वयनमा ल्याइनुपर्ने हो, त्यो आजसम्म भएन ।’

दार्जिलिङको भाषा–आन्दोलन पढिरहेका छन्– आख्यानकार नारायण ढकाल । चैतको एक बिहान मूलपानी निवासमा भेटिएका उनले ‘फातसुङ’ र ‘उरमाल’ को पठन–अनुभूति यसरी सुनाएका थिए, ‘रूपनारायण सिंहको ‘भ्रमर’, इन्द्रबहादुर राईको ‘आज रमिता छ’ र पिटर जे. कार्थकको ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ पढेर जति अभिभूत भएको थिएँ, छुदेन काविमोको ‘फातसुङ’ पढेर त्यही उचाइमा रमाएको पाठक हुँ म । र, ‘उरमाल’ पढेपछि पनि म उत्तिकै आनन्दित भएको छु ।’ 

दार्जिलिङकी लेखक शैलिका क्षेत्रीको विचारमा ‘उरमाल’ ले डुअर्सको चिया बगानका जटिलता मात्रै प्रतिबिम्बित गर्दैन, किनारमै सीमित सीमान्तकृतको आवाज पनि बोल्छ । ‘यो किताब सावधानीपूर्वक टिपिएका चियाका पात र कामदारहरूको दबिएका सपनाको प्रतीक हो । काविमो चियापत्तीका कामदारको संघर्षलाई मानवीय बनाउँछन् । तिनका कथालाई दृश्यात्मक र आवाजलाई श्रव्य बनाउँछन्’, शैलिका भन्छिन्, ‘काविमोका किताबहरू दार्जिलिङको अशान्त इतिहासका प्रमाण हुन्, जहाँ आन्दोलन र अशान्तिबाट गुज्रिरहेका मानिसको अनुहार देखिन्छ ।’

Mountains write, mountains liveतस्बिरहरु : दीपक केसी/कान्तिपुर

‘उरमाल’ लेख्दा छुदेन डुअर्सका चिया कमान चहार्दै हिँडे । किताब लेखिसक्दा उनलाई लाग्यो– डुअर्स अब भूगोलमा मात्रै छैन, उनको कल्पना र किताबमा छ, मन–मस्तिष्कमा पनि छ । त्यसैले, अचेल कुनै आदिवासी टाउकोमा दाउरा बोकेर हिँडिरहेको भेट्दा उनीभित्र अनायसै ‘आफ्नोपन’ झल्केर आउँछ, घरकै मान्छे भेटेको अनुभूतिले बाँधिरहन्छ । ‘उरमाल’ का सोमारी, बुधुवाहरूले आफ्ना दुःखका आदिम कथा सुनाएजस्तो लागिरहन्छ । 

छुदेनको विचार–बुझाइमा ‘उपन्यास लेखन पहाडी खोलामा बग्ने पानीजस्तै हो, जसले आफ्नो बाटो आफैं बनाउँदै हिँड्छ ।’ चिया उमार्नेहरूको यो कथा ती आदिवासीको जीवन–व्यथा हो, जुन पहाडी खोलाजस्तै कञ्चन छ ।

मान्छेको जीवन पनि त खोलाको त्यो पानीजस्तै हो, आकारविहीन । त्यसलाई आकार दिन्छ– अनुभूति, अनुभव, भोगाइ र संघर्षले । छुदेन काविमो पढेपछिको कलिलो साँझ मैले सोचिबसें, एक लेखकको शैली र संवेदना अनुभवबाटै निर्माण हुन्छ । उनलाई आवाजविहीन, श्रमजीवी र आदिवासीको कथा भन्न मन पर्छ । किनभने उनी पनि एक आवाजविहीन, श्रमजीवी र आदिवासी हुन् । 

...

छुदेनको एउटा ‘मेमोयर’ छापिएको थियो– अन्नपूर्ण पोस्ट ‘फुर्सद’ मा । सम्भवतः नेपाली अखबारमा त्यो उनको पहिलो निबन्ध थियो– ‘पुस्तकालय जलेको साँझ’ । जहाँ उनले दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलनको आगो सल्केपछि त्यो कसरी आफ्नो गाउँ मलबुङसम्म आइपुग्यो र दुई घण्टा दूरीको निम्बोङ गाउँको छुदेनकी आमाको प्रिय पुस्तकालय खरानी बनायो भन्ने कथा लेखेका छन् ।

बालापनका सुदूर दिनतिर पसिहेर्दा छुदेन देख्छन्– गाउँका मान्छे हारालुछ गरेर एउटै उपन्यास पढिरहेको दृश्य ! उपन्यास पढ्नेमध्ये एक थिइन् उनकी आमा । गाउँमाथिको किताबले भरिभराउ पुस्तकालय उनकी आमाको प्रिय मुकाम थियो । पुस्तकालयमा उनले ‘किताबको मुहान’ भेटेकी थिइन् । 

गोर्खाल्यान्ड आन्दोलनमा त्यो पुस्तकालयमा आगो झोसियो । हजारौं किताब जले, लाइब्रेरी जलेपछि एउटा घरको सानो कोठामा पुस्तकालय सीमित भयो । त्यो ग्रामीण पुस्तकालयबाट आपा उनलाई प्रकाश कोविदका उपन्यास ल्याइदिन्थे । त्यहीँ उनले मेक्सिम गोर्की, शिवकुमार राई, रूपनारायण सिन्हा, सुवास घिसिङ, प्रकाश कोविद र राजनारायण प्रधानहरूलाई पढे । उनलाई लागिरहन्छ– रूपनारायण, राजनारायणको किताबले नै मलाई शैली बनाउन सिकायो र कोविदले कल्पना गर्न । कोविद–आख्यानकी नायिका अहिले पनि भेटुँ–भेटुँ लाग्छ उनलाई ।

‘पुस्तकालय जलेको साँझ’ पढेपछि नै हो, मैले छुदेन पछ्याएको । त्यसपछि नामै छोपे पनि म ‘छुदेन–सिग्नेचर’ चिन्न सक्ने भएको छु । 

...

‘आमालाई प्रेम–उपन्यास मन पर्थ्यो, प्रकाश कोविद पढ्थिन्, पढ्दापढ्दै आमा प्रेममा परिन्,’ आमाको प्रेम–महात्म्य वाचन गर्छन् छुदेन । त्यो पुरानो प्रेम–कथा सुन्न उनको गाउँ कालेबुङको मलबुङ परिभ्रमण गरौं । छुदेन जन्मिनुअघि नै उनको परिवारमा महाभारत मच्चिइसकेको थियो । किनभने उनकी आमा भक्ति क्षेत्रिनी थिइन् र उनले गोरू खाने लेप्चा केटा निमा छिरिङसँग बिहे गरेकी थिइन् । 

उतिबेला आमा १५ वर्ष पनि पुगेकी थिइनन्, जतिबेला उनले छुदेनका आपासँग प्रेम विवाह गरिन्– सन् १९८८ मा । त्यो यस्तो समय थियो, अन्तरजातीय प्रेम जटिल विषय थियो र समाजले स्विकार्दैनथ्यो । बिहेपछि आमा–आपालाई छुट्याउन हजार प्रयास गरियो । क्षेत्री केटा तयार पारेर जोडी छुट्याउन तिनलाई लखेटियो, दर्जनौं पञ्चायत बसियो । तर, छुदेनका आपा–आमा छुट्टिएनन् । 

छुदेन सोचिबस्छन्, उनकी आमाले नजान्दा नजान्दै पनि अन्तरजातीय विवाह गरेर विद्रोह बोलेकी थिइन् । माइतीले घोषणा गरेको थियो, ‘मर्‍यो अब यो हाम्रा लागि ।’ माइली छोरी पनि लेप्चा केटासँगै भागेपछि मत्थर बनेकी छुदेनकी हजुरआमाले लामो सुस्केरा तानिन्, ‘जे हुनु भइगो । अब कान्छी नि घर आए रोक्नु मिल्दैन होला ।’

छुदेनका आपाले बल्ल आँट देखाए । उनी ससुराली जाने भए । बारीको अदुवा खने र भारी बोकेर ओदलाबारी हिँडे । अदुवा बेचेको पैसाले ससुराली जान सौदापात गरे । घिसखोलाको शिरमा दिउँसैदेखि पानी परिरहेको थियो । खोला बढेर तर्नै नसक्ने भइसकेको रहेछ । तैपनि उनी घर फर्किनु थियो । आपासँगै बजार आएका पाँच जनाले एकैचोटि हात बाँधेर खोला तर्ने आँट गरे । छुदेनका आपा दिउँसोको सामान डोकोमा हालेर थाप्लोमा नाम्लो बाँधे र हातेमालो गर्दै खोला तर्न निस्किए । पानी घाँटी–घाँटी आइपुग्दा आपाको खुट्टा चिप्लियो, थाप्लोको नाम्लो फुत्कियो । दिनभरिको सौदा घिसखोलाले यसरी बगाएर लगिदियो, जसरी भोकाएको चिल चल्ला टिपेपछि रफ्तारले भाग्छ । त्यसपछि आँसुसरी भएर आपा बगरमा निस्किए, घर जान मन लागेन । त्यो रात बगरतिरै सुते, बेलुकी खोलाले बगाएको सामान बिहान के पाइन्थ्यो ? 

भोलिपल्ट आधा दिनमा उनी रित्तो हात घर फर्किए । हैरान भएका उनले पैसा सापटी लिए र थोरै सामान किनेर डरसरी पहिलोचोटि ससुराली पुगे । घरको सिकुवामा बिसाएका आपा–आमालाई छुदेनकी हजुरआमाले वास्तै गरिनन् । तर, डेढ सालको नानी छुदेनलाई कसले रोक्ने ? उनी आमाको हातबाट फुत्किए र बज्यैको काखमा बसे । छुदेनकी आमा अहिले पनि भन्छिन्, ‘बज्यैले वर्षौंदेखि पालेको रिस र ईख तेरो एकै अँगालोले मारिदिएको हो ।’ 

...

छुदेनको गाउँ कालेबुङको सुदूर कुनाको मलबुङबाट त्योबेला गाडी भेट्ने सडक पुग्नै राँको बालेर बिहान तीन बजे हिँड्नुपर्थ्यो र जोरलाइन पुग्नुपर्थ्यो । गाउँमा एउटा प्राइमरी स्कुलबाहेक केही थिएन– दोस्रो दलपचन्द प्राथमिक पाठशाला । स्कुलमा शकुन्तला गुरुमा र टीकाराम सर बस्थे, जो पति–पत्नी थिए, जसको स्केच छुदेनले ‘फातसुङ’ मा गरेका छन् । छुदेन कक्षामा जहिल्यै प्रथम हुन्थे । ‘म आज जहाँ छु, त्यो गुरुमाको प्रेमको कारणले छु । त्यो बेला मिसलाई मैले नभेटेको हुँदो हुँ त जीवनमा धेरै कुरा मिस गर्ने थिएँ’, छुदेन भन्छन् । 

सरले छुदेनलाई फुटबलप्रति रुचि जगाइदिए । फुटबल खेल्दाखेल्दै गाउँमा नयाँ खेला थपियो– डण्डा घुमाउने । अहिले उनले बुझे, गाउँमा (राष्ट्रिय स्वयंसेवक) आरएसएसको अभियान सुरु भएको रहेछ । त्यसपछि नयाँ हल्ला सुनिन थाल्यो– शकुन्तला गुरुमा इसाई भजन सिकाउँछिन् । ‘छुदेन’ हरूलाई त ‘ईश्वर स्वर्गमा छ’ भन्ने भजन ठिकै लाग्थ्यो, तर ‘आरएसएस’ हरूलाई त्यो ठिक लागेनछ । गाउँमा अचानक आरएसएसको नयाँ स्कुल जन्मियो– शिशु शिक्षा केन्द्र । ‘छुदेन’ हरू त्यो स्कुल पनि गइदिनुपर्ने भयो । उनीहरू बिहान आरएसएसको शिशु शिक्षा केन्द्र जान्थे र भारत–पाकिस्तान जोड्ने सपना देख्थे । दिउँसो सरकारी प्राथमिक पाठशाला पुग्थे र गुरुमासँग स्वरमा स्वर मिलाउँथे– ईश्वर स्वर्गमा छ । तैपनि विद्यार्थीहरूलाई ढुक्कै थियो । 

तर, गाउँमा अशान्ति सुरु भइसकेको थियो । हिन्दु र इसाई धर्मको लडाइँ सुरु भइसकेको थियो । गुरुमालाई धर्म प्रचारको अभियोग लगाउन थालिएको थियो । तर छुदेनलाई लाग्छ, गुरुमालाई धर्मको खासै सरोकार थिएन किनकि उनको कोठामा जिसससँगै बुद्धको फोटो पनि थियो । तर, धर्मबाट छिरेको राजनीतिले गाउँमा बिस्तारै दंगा सुरु भयो । त्यहीबेला दुई घरले इसाई धर्म ग्रहण गरेको हल्ला फैलियो । ‘आरएसएस’ ले गाउँलेहरू उकासेर तीन दिनसम्म घेराउ गरे, ‘फर्किएर हिन्दुमै आउनुपर्छ ।’ तर, घेराउ गरेर आस्था के बदलिन्थ्यो ? इसाई बनेकाहरू हिन्दुमा फेरिएनन् । बरु सर र गुरुमाले गाउँ छोड्नुपर्‍यो ।

त्यसैले छुदेनले बाल्यकालमा ‘गर्व से कहो हम हिन्दु है,’ भन्ने पर्चा घर–घरमा टाँसेर हिँडेका थिए । कलेज पुगेपछि बल्ल उनलाई बोध भयो– म हिन्दु होइन रैछु, लेप्चाहरूको त आफ्नै अलग संस्कार र संस्कृति छ, अलग सृष्टिको कथा छ, अलग आस्था, विश्वास र परम्परा छ । उनको बालापन त्यही जात र धर्मको चक्रव्यूह वरिपरि घुमेरै बित्यो । 

मलबुङमा आज पनि पक्की सडक र हाईस्कुल छैन । गाउँका नयाँ पुस्ता स्कुल धाउँदा धाउँदै हैरान भएर ड्रपआउट हुन बाध्य छन् । छुदेन भन्छन्, ‘स्कुल खोल्न नसकिएला, तर गाउँमा एउटा लाइब्रेरी खोल्ने मेरो सपना छ । आफ्नै दुःख देखेर मलाई दुःख लागिरहन्छ ।’

...

सन् १९८९ मा छुदेन जन्मिँदा दार्जिलिङमा पहिलो चरणको गोर्खाल्यान्ड आन्दोलन सकिइसकेको थियो । उनको बाल्यकाल आन्दोलन–कथा सुन्दै बितेको हो । 

त्यो ९० को दशकमा गाउँमा टीभी आइपुगेकै थिएन, थोरै मान्छेको घरमा रेडियो हुन्थ्यो । उनको घरमा पनि एउटा निकै पुरानो रेडियो थियो । पछि–पछि यस्तो बानी बसिसकेको थियो, रेडियो नसुनी निद्रै पर्दैनथ्यो । उनको सिरानीमा कुनै न कुनै उपन्यास हुन्थ्यो, बाख्रा चराउन जाँदा झोलामा किताब हुन्थ्यो । 

९ कक्षा पढ्दा पहिलोचोटि सँगै पढ्ने केटीको प्रेममा परे उनी । त्यो प्रेमभन्दा धेरै आकर्षण थियो । आकर्षणले कायल उनी दिनदिनै प्रेम–पत्र लेख्थे– दुई वर्ष चिठी लेखालेख चल्यो । स्कुलभरि प्रेमपत्रको चर्चा हुन्थ्यो, केटीहरू भेला भएर उनले लेखेका चिठी पढ्थे । तर, केटी छेउ पर्दा उनी नर्भस हुन्थे, हातखुट्टा गल्थ्यो, आँखा तिरिमिरी हुन्थ्यो, स्वर घाँटीमै अड्किन्थ्यो । दुई वर्षमा सैकडौं चिठी लेखे, तर दुईचोटि पनि ऊसँग आँखा जुधाएर बोल्न सकेनन् । के चिठीले मात्रै जिन्दगी चल्छ ? केटीले यस्तै सोची र ती छुट्टिए ।

प्रेम होस् वा जीवन, बुझेपछि मात्रै गाह्रो लाग्छ । ‘प्रेम पीपलको पात हो– रूखमा रहोस्, शीतल तापिन्छ, भुइँमा खसोस्, मन परेको डायरीमा च्यापेर जिन्दगीभर हिँडिन्छ,’ उनी भन्छन्, ‘कुनै कुनै पीपलको पात डायरीमै च्यापेर राख्ने किसिमको हुन्छ, कुनै–कुनै डायरी आफैंले मात्र हेर्ने किसिमको, जसलाई देखाउन मिल्दैन ।’

...

सिक्किम–दार्जिलिङका आदिम जनजाति समुदायका लेप्चाहरूको लोककथादेखि गीतसम्ममा कञ्चनजंघा र टिस्टा उभिएको छ । लेप्चाहरू स्वर्ग–नर्कमा विश्वास गर्दैनन् । मरेर गएको आत्मा टिस्टामार्फत कञ्चनजंघाकै कोखमा पुग्छ भनी विश्वास गर्ने लेप्चाको आफ्नै पर्व छ– नामसुङ । नयाँ वर्षको त्यो उत्सव चिसो महिनामा हुन्छ । घर पूजापछि कोदोको जाँडको ढुंग्रोसँगै अँगेना वरिपरि बसेर गफ गर्न पाइने त्यो ‘नामसुङ’ को परम्परा छुदेनलाई निकै रमाइलो लाग्छ । 

छुदेन सानो छँदा ‘नामसुङ’ मा पालैपिलो गाउँभरिकालाई घर बोलाइन्थ्यो र कोदोको जाँड, मासु–भात खुवाइन्थ्यो । ठूलाहरू कुखुराको मासु र अदुवा मिसाएर पकाइएको ‘छो’ सँग कोदोको ढुंग्रो तान्न व्यस्त हुन्थे । केटाकेटीहरू अँगेनावरिपरि बसेर गाउँखाने कथा सुन्थे–सुनाउँथे । छुदेन सोच्छन्, ‘मभित्रको कथा–प्रेम त्यही कथाबाट झ्याङ्गिएको हो कि ?’

गाई–बाख्रा हेरेरै, खेतबारी जोतेरै, घाँस–दाउरा गरेरै गाउँका हजारौं मान्छेझैं छुदेनका आपाको जीवन पनि बित्यो । उनकी आमा त्यसैमा हैंसे थप्थिन् । एउटा जमाना थियो, आपा गाउँबाट अदुवा–खुर्सानी उठाउँथे, त्यो लिएर ओदलाबारी झर्थे । र, आमा घरमा बनाएको जाँड बेच्थिन् । संसार ठिकठाकै चलिरहेका बेला आपा लामो समय थला परे– रातैभरि निद्रा पर्दैनथ्यो, हात–खुट्टा चिसो भएर आउँथ्यो, जहिल्यै झोक्राइरहन्थे ।

अस्पताल नभएको गाउँमा कोही बिमार भए उपचार गर्न आइपुग्ने धामीझाँक्री नै हुन् । घरमा झाँक्री आइपुगे । ती रहेछन्– भुटानी शरणार्थी, नेपालको बेलडाँगी शरणार्थी क्याम्पमा हैजा फैलिएपछि तर्सेर छुदेनको गाउँ आइपुगेका । उनी फलामको काम गर्थे, फाकफुक गर्थे । झाँक्रीले भनेपछि छुदेनले थाहा पाए– आपाको सातो मरिसकेकी बोज्यूले लिएर गएकी छन्, उनलाई अब बाँच्न गाह्रै छ । झाँक्री राति बाह्र–एक बजेसम्मै चिन्ता बसिरहन्थे, ढ्याङ्ग्रो ठोक्थे, हत्केलामा परेवा राख्थे र भन्थे– यो परेवा मर्नु जरुरी छ, नत्र बिमारीलाई नै लिएर जान्छ । 

छुदेनलाई आपाको रोगभन्दा धेरै डर त्यो झाँक्री र जोखानाको थियो । तर, झन्डै तीन वर्ष झोक्राएपछि आपा ठिक भए । उनी पछिसम्म सुनाइरहन्थे– त्यो झाँक्रीलाई अमेरिकाले लिएर गएछ, तर मलाईचाहिँ झाँक्रीले होइन लुङसेलको माताले ठिक पारेकी हुन् । 

...

छुदेनका बाजे औंठाछाप थिए तर साहसी, जो मान्छे थर्काउँदै हिँड्थे । अक्षर देखेपछि काँप्ने ती वृद्ध मानिस जीवनका कथा रमाइलोसँग सुनाउँथे । बाजेका कथाका नायक उनी आफैं हुन्थे । नेपाली फिल्मका हिरोले झैं उनी गलत नियतका मान्छेहरू पिट्दै हिँड्थे । बाख्रा जंगलमै छाडेर छुदेन दिनैभर बाजेका कथा सुनिबस्थे । ‘मैले उरमालमा डुअर्सको कथा यसकारण पनि लेखेको हुँ कि त्यो ठाउँको हाँसीमाराको कथा बाजे जहिल्यै सुनाउँथे, ओदलाबारीको कथा सधैं भनिरहन्थे । मभित्रको अलिअलि कथा प्रेम बाजेकै कथाले पनि उमारेको हो,’ छुदेन भन्छन् । 

माध्यमिक तह पास गर्ने गाउँकै पहिलो हुन्– छुदेन । उनको गाउँबाट बरबोट हाईस्कुल पुग्न तीन घण्टा हिँड्नुपर्थ्यो । त्यो दूरी उनले पाँच वर्षसम्म लगातार हिँडिरहे– बिहान तीन घण्टा, बेलुकी तीन घण्टा । बिहान पाँचै बजे तरुल झोलामा हालेर उनी स्कुल हिँड्थे । त्यो उकाली–ओरालीमा उनी सुन्दर भविष्य कल्पिन्थे । त्यसबेला दार्जिलिङ पहाडमा शिक्षकले ३४ सय मासिक वेतन पाउँथे, छुदेनको सपना थियो– शिक्षक बन्ने । शिक्षक भएर आपाको ऋण तिरेको कल्पिन्थे अनि थोत्रो भइसकेको घरको च्यादर मनमनै फेर्थे । त्यही साना–साना सपना नै थिए, जसले उनलाई दैनिक ६ घण्टा हिँड्दा पनि रमाइलो अनुभूति दिइरहन्थ्यो । उनलाई लाग्छ, कल्पना गर्ने बानीले सायद फिक्सन लेख्न सघायो । 

सानो छँदा छुदेन साह्रै एकलकाँटे थिए । खुब किताब पढ्थे, डायरी लेख्थे । तर, ‘लेखक बन्छु’ कहिल्यै सोचेनन् । उनलाई लाग्थ्यो, ‘लेखक साह्रै उदास प्राणी हो ।’ उनीसँगै हुर्किरहेको थियो– केही बेचैनी । त्यो कस्तो बेचैनी भने अस्ताउन लागेको हरेक घाम हेर्दा थाहै नपाई भावुक भइदिन्थे । ‘त्यो रोग मसँग अझै छ । अस्ताउँदो घामसँग मलाई कुन्नी कस्तो प्रेम छ, थाहा छैन ! डुब्न लागेको घाम हेरेर म किन उदास र बेचैन भइरहन्छु ? जवाफ छैन’, छुदेन भन्छन्, ‘त्यो बेचैनी, उदासी अब जीवनको एउटा पाटोजस्तो लाग्न थालेको छ ।’ 

प्राइमरी स्कुल पढ्दा घाम डुबिरहेको दिनको एक भयानक घटना याद गर्छन् छुदेन । खेतको झिक्रा डढाउँदै खेलिरहेका थिए उनी भाइ–बहिनीसँग । त्यहीबेला अचानक बहिनी चिच्याउन थालिन् । उनले देखे– बहिनीको जामामा आगो सल्किएछ । वरिपरि कोही थिएनन् । ठूला दाजु उनै थिए, तर बहिनीको जामा सल्किएपछि झन् आत्तिएका उनी कराउँदै भाग्न थालेछन् । बहिनीको पूरै लुगा जल्न थाल्दा भाइले बरु आँट देखाए– स्याउला र मुङ्ग्रोले हिर्काउँदै आगो निभाए । छुदेन चिच्याएको सुनेर आपा दगुर्दै खेतबाट आइपुगे । त्यतिञ्जेल बहिनीको ढाड र फिलाको कपडासँगै शरीरका केही भाग जलिसकेको थियो ।

बहिनीलाई कालेबुङ अस्पताल लगियो– बोराको ‘स्ट्रेचर’ मा बोकेर । तीन घण्टा हिँडेपछि सडक निस्कियो । ‘त्यसपछि हाम्रो संसार अझै अँध्यारो बन्यो । महिनौंसम्म बहिनीले जीवनसँग संघर्ष गरिरही । अन्त्यमा त्यसको साहसले जित्यो र निको भएर आई,’ छुदेनका आँखामा ती धमिला दिन नाचिरहे, जहाँ बहिनीको असिम प्रेम थियो, ‘कहिलेकाहीं अहिले पनि विरक्त लागेर आउँछ । हरेक ढल्दै गरेको घाममा यत्तिकै दुःखी भइदिन्छु, एक किसिमको उदासी छाउँछ । त्यो उदासी र विरक्तिको जरा त्यही घटना हो कि ?’ 

बहिनीको जामा जलेको घटनापछि घरको सबै बदलियो । छुदेन एकोहोरो हुँदै गए । कहिलेकहीं यी लेखक भीडबीच पनि एक्लै आफ्नै दुनियाँमा गुमनाम भइरहेका हुन्छन्, कथाका पात्रसँग मग्नमस्त गफ गरिरहेका हुन्छन् । 

...

गफगाफमा छुदेन लजालु लाग्छन् । कलेजको सुरुवाती दिनसम्म पनि उस्तै लजालु थिए । ती दिनहरूमा उनी गजल लेख्थे– दिनमै सातवटासम्म गजल फुरिदिन्थ्यो । यस्तो पनि हुन्छ र ? तर, त्यही भइदिन्थ्यो र फेरि लेखेका सबै गजल आफैंलाई खतरा लागिदिन्थ्यो । आजकालचाहिँ गजल फुरेका कथा लुकाउँदै हिँड्छन् । ‘त्यही भएर दार्जिलिङ–कालेबुङका गजल लेख्ने साथीहरू कहिलेकाहीं मलाई घण्टौं गाली हान्दा रहेछन् । आख्यानमा गएर गजललाई हेप्यो भन्दा रहेछन् । खासमा त्यस्तो होइन, मलाई त्यो गजल लेखनीको समय सम्झिँदै साह्रै लाज लाग्छ,’ छुदेन भन्छन् । 

जेहोस्, अखबारमा उनी छापिन थालिसकेका थिए । स्टेजमा काँप्दै–काँप्दै पुगे पनि उनीभित्र ‘ठूलै गजलकार हुँ’ को भ्रम च्यात्तिएको थिएन । त्यही भ्रमबीच पहिलो कथा लेखे– प्रेमको । कालेबुङ र काठमाडौंका लेखक–गायिकाको कथा, जुन उनको स्कुलका अंग्रेजी सरले पढेछन्, घायल भएछन् । एसेम्बलीमै सरले त्यो कथा पढेर सुनाए र घोषणा गरे, ‘यत्तिको मिठो कथा मैले पढेकै थिइनँ ।’ हो, त्यही दिन छुदेनभित्रको गजलकारलाई कथाकारले ‘ओभरटेक’ गरिदियो । दर्जनौं गजल लेख्दा नउम्रिएको आत्मविश्वास एउटै कथाले जगाइदियो । र, त्यही दिन उनको बाटो मोडियो । 

कालेबुङ कलेज पुग्दा उनी थोरबहुत चिनिएका कथाकार भइसकेका थिए । तर, कलेज पढ्नु सहज थिएन । उनी कसैको घरमा काम गर्दै पढ्न चाहन्थे । त्यस्तो घर पनि उनले पाइरहेका थिएनन्, आपा र उनी घर खोज्दै बोङबस्तीतिर दुई दिनसम्म भौंतारिइरहे । र, कल्याण आश्रममा बस्ने अवसर पाए । 

आश्रम थियो– राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) कै नजिकको एक शाखा, जो भारतीय जनता पार्टीकै एक अंग थियो । त्यसले आदिवासी विद्यार्थीका निम्ति काम गर्थ्यो । अब उनी कल्याण आश्रममा बसेर त्यहाँका साना कक्षाका नानीलाई ट्युसन पढाउँदै कलेज जान पाउने भए । सानो छँदाको ‘गर्व से कहो हम हिन्दु है’ नारा बल्ल काममा आयो ।

‘आरएसएस’ हरू ‘छुदेन’ हरूलाई हिन्दु राष्ट्रको सपना देखाउँथे, तर त्यतिञ्जेल उनीभित्रको ‘लिबरल’ लेखक सायद बढ्न थालिसकेको थियो । आरएसएसका शाखा प्रमुख बंगाली थिए, जो अखण्ड भारतको कुरा गर्थे । पाकिस्तान, भारत, बंगलादेश सबै जोडेर एक देश भएको कल्पना गर्थे । पुरानो म्याप देखाउँदै भन्थे, ‘१९४७ सम्म यो भारतमै थियो, फेरि एक दिन एक हुन सक्छ ।’ 

शाखा प्रमुखसँगै उनको कुरा बाझिन थाल्यो । छुदेन प्रश्न गर्थे, ‘देश भनेको भूगोल मात्रै हो र ? बलजफ्ती थोपर्न मिल्ने मानचित्र मात्रै हो ? देश भनेको त हरेक नागरिकको छातीभित्रको इमोसन पनि होइन र ?’

अहिले छुदेन सोचिबस्छन्, कल्याण आश्रम नपुगेको भए कलेज–सपना अधुरै रहने थियो । तर, उनी ‘आरएसएस’ को बाटो हिँडिरहन सकेनन् । उनलाई लाग्यो, कुनै पनि कट्टरपनबीच एक लेखक हुर्कन सक्दैन । ‘म सोच्थें जात होस् वा धर्म, जाति वा समुदाय, लेखकमा सबैसँगको प्रेम धेरथोर हुनु जरुरी छ । जुन दिन त्यो प्रेम उदारताको सट्टा कट्टरतामा परिणत हुन्छ, लेखक त्यहीं मर्छ ।’

उनलाई आफूभित्रको लेखक मार्नु थिएन । 

...

‘सपना देखेर बनिने थोक होइन लेखक’ सोच्छन् छुदेन, ‘संघर्ष, अभाव र असुविधाले नै मलाई लेखक बनायो कि ? बोलेर भन्न नसकेका कुरा सायद अक्षरमार्फत देखाउन खोज्दाखोज्दै म लेखक बनेँ कि ?’

छुदेनको जिन्दगी र अनुभव बोल्छ, ‘मजस्तै अभाव–असुविधामा बाँचेकाहरू धेरै छन्, तीसँग आफ्नो ‘भाषा र साहित्य’ छैन, मैले तिनको कथा भन्न सकेँ भने धेरै खुसी मिल्नेछ ।’ कुनै सिद्धहस्त मूर्तिकारले ढुंगामा छिनु चलाएर ईश्वर कुँदैझैं छुदेन कलम–छिनुबाट दुःख कुँदिरहेका छन् । 

‘उरमाल’ त्यही खुसीका निम्ति लेखिएको आख्यान हो । तर, उनलाई चिया कमानका मजदुरमाथि गैरआख्यान लेख्नु छैन । ‘कारण स्पष्ट छ–गैरआख्यानले तपाईंको संसार बताउन सक्ला, तर आख्यानले तपाईं बाँचेको संसार कस्तो हुनुपर्ने हो ? त्यो भन्ने आँट गर्छ’, छुदेन भन्छन्, ‘त्यसैले आख्यानमा रम्नुको मज्जा बेहद सुन्दर हुन्छ । लेख्दा मात्रै होइन पढ्दा पनि दिमागमा अलग संसार बन्छ र आख्यानले धेरै संसार निर्माण गर्छ ।’ आफ्नो कन्टेन्टमाथि उनी ‘क्लियर’ छन्– आख्यानमा माटो, पसिना र रगतको सुगन्ध दह्रिलोसँग आउनुपर्छ । 

छुदेन क्षेत्रीय मुद्दाहरूमाथि लेख्न रुचाउँछन्, जस्तो ‘फातसुङ’ र ‘उरमाल’ । क्षेत्रीय मुद्दालाई कसरी ‘युनिभर्सल’ बनाउने ? त्यसमा ‘फोकस’ हुन्छन् । भन्छन्, ‘हामी विषयमाथि साँघुरिएर सोचिरहेका हुन्छौं कि ?’ 

समकालीन नेपाली साहित्यका मुद्दामा उनी सचेत छन्, तर ‘हाम्रो पर्यासाहित्य ‘रूख रोप्नुपर्छ’ जस्ता प्राथमिक विषयमै अल्झेकामा दुःखी छन् । उनको बोध छ,‘नेपाली साहित्यमा नदी, खोला–नाला, रूख–जंगल, पशुपक्षीमाथि केन्द्रित बलियो आख्यान आउन अझै बाँकी छ ।’ 

संसार नियमहरूले बाँधिएको छ । एक सुन्दर नियम हो– झुसिलकीराबाट पुतली बन्नुबीचको संघर्ष । ‘जसरी एक झुसिलकीराले घाँस चपाउन पाइरह्यो भने सुन्दर पुतली बन्न सक्छ, उसरी नै लेख्ने–पढ्ने अवसर पाए सामान्य मान्छेको जीवन पनि कायापलट हुन सक्छ,’ छुदेन ज्ञानी सुनिन्छन्, ‘म भाग्य–चमत्कारमा विश्वास गर्दिनँ, तर मान्छेको जीवनमा केहीले चमत्कार गर्न सक्छ भने त्यो शिक्षाले मात्रै सक्छ ।’

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully