सिनियरले जुनियरलाई र्यागिङमा के–के गर्छन् ? तीमाथि चिसो पानी खन्याउँछन्, अश्लील गाली बर्साउँछन्...! अपमानको छुरा प्रहारले रगतपक्ष बनाइएका विद्यार्थीको आत्मविश्वास कस्तो हुन्छ ?
म अपरिचित र नौला देखिने विद्यार्थीको झुण्डतिर हेर्दै आफ्नो हिँडाइको रफ्तार बढाइरहेकी थिएँ । सडकको दुवै किनारमा लस्करै उभिएका रूखका पात र मसिना हाँगा बिहानको बतासमा बयली खेलिरहेका थिए ।
सडक तल्लोपट्टिको गेस्ट हाउस र माथ्लोपट्टिको मन्दिर परिसरमा फुलेको फूलबाट आएको मन्द सुवास अनि मन्दिरमा बजेको घण्टीको आवाजले आनन्दानुभूति भइरहेको थियो ।
बाटोमा भेटिएका परिचित, सेतो कोट र घाँटीमा स्टेथेस्कोप झुन्ड्याएर हतार–हतार गन्तव्यतिर दौडिरहेका अनुहारहरूसँग मिठो मुस्कान साट्दै अघि बढ्दा लागिरहेथ्यो, म जीवनकै एक अनुपम क्षणको भोक्ता हुँ । अघिसम्मको खाली–खाली सडक दस मिनेटमै भीडभाडयुक्त भइसकेको थियो । विभिन्न लेभलका विभिन्न फ्याकल्टीका विद्यार्थी, कर्मचारी, वाकमा निस्किएका पैदलयात्रीको बाक्लो उपस्थिति थियो सडकमा । यो व्यस्त सडकमा म अनौठो दृश्यको साक्षी भएँ ।
हस्पिटल एरिया छेउछाउ पुगेपछि मेरो ध्यान तिनीहरूमा पर्यो । ती स्वचालित रोबटझैं एकअर्काको अनुहार नहेरी, वरपर केही पनि नहेरी भुइँतिर आँखा जोतेर हिँडिरहेका थिए । बिल्कुल अनौठो ढंगले समूह–समूहमा नछुट्टीकन हिँडेका विद्यार्थीहरूको त्यो दृश्य दिनैभरि मेरो मस्तिष्कमा रिलझैं घुमिरह्यो । साँझ बजार जाँदै गर्दा फेरि तिनैमा आँखा पर्यो । ती कलेज सकेर होस्टलतर्फ फर्किंदै थिए, त्यसरी नै झुन्डमा । र, ती थिए– त्यसैगरी भुइँतर्फ आँखा जोतेर हिँडिरहेका, निरीहजस्ता मलिन अनुहार भएका विद्यार्थी ।
खोजीपस्दा थाहा पाएँ, ती त भर्खरै एमबीबीएस भर्ना भएका विद्यार्थी रहेछन् । यसरी नै प्रत्येक वर्ष करिब एकदेखि दुई महिनासम्म यही हुलियामा, यसरी नै भुइँतिर आँखा जोतेर मलिन अनुहारमा होस्टल गेटबाट निस्कँदै गरेका, कलेजबाट फर्किंदै गरेका, बजारतर्फ जाँदै गरेका देखिन्छन् कलिला केटाकेटी । ती प्रथम वर्षका विद्यार्थी भएकाले सिनियर विद्यार्थीले र्यागिङ गरेर तिनको यो हुलिया भएको हो । सिनियरले तिनलाई ग्रुपमा मात्रै हिँड्नुपर्ने र भुइँतिर हेरेर मात्रै हिँड्नुपर्ने उर्दी जारी गरेका रहेछन् । र्यागिङ अवधिभर त्यो कायम रहँदो रहेछ । बीपी कोइराला विज्ञान प्रतिष्ठानको परिसरमा टहल्दै गर्दा यस्तो दृश्य तपाईंहरू पनि देख्न सक्नुहुनेछ ।
होस्टल, क्वाटरका भवन, गेस्ट हाउस, मन्दिर हुँदै हिँडिरहेका हुन्छ र्यागिङमा परेका विद्यार्थीको हूल । मैले देख्दा छात्रहरू सबैको कपाल मुन्डन गरिएको थियो । तिनले पूरा बाहुला भएको सेतो सर्ट, कालो पाइन्ट र कालो जुत्ता लगाएका थिए । छात्राहरू सबैले कुर्था सुरुवाल लगाएका थिए र एक चुल्ठो बाटेका थिए । बीपी कोइराला विज्ञान प्रतिष्ठानमा अनिवार्य पोसाकको प्रचलन छैन ।
चिकित्साशास्त्र अध्ययन त्यसै पनि कठिन मानिन्छ । नवप्रवेशी विद्यार्थीलाई एकातिर पढाइको चाप, अर्कोतिर घरको न्यास्रो ! नयाँ ठाउँले जन्माएको डर त छँदै छ, फेरि र्यागिङ पनि थपिँदा यो सबै प्रेसर कसरी धान्न सक्लान् ती कलिला मस्तिष्कले ? अहिलेका प्रायः केटाकेटीको समय आमालाई मिठो घुर्की लगाउँदै, बुबाबाट हर माग पूरा गराउँदै बितेको हुन्छ । लाडप्यारमा हुर्किएका यिनलाई र्यागिङको नाममा यसरी निरीह अवस्थामा देख्नुपर्दा मभित्रको मातृवात्सल्य अनायसै आँखाबाट पोखिन थाल्छन् । अनि प्रश्नको बाढी पस्छ मस्तिष्कमा– किन, कसरी यस्तो निकृष्ट संस्कृतिको गुलाम भएका छन् समाजको प्रतिष्ठित पेसाका निम्ति आफूलाई सक्षम बनाउन तपस्यामा जुटेका विद्यार्थी ? किन कलिला जुनियर भाइबहिनीको कलेजको सुरुवाती दिनलाई सुखद् र अविस्मरणीय बनाउन छोडेर होस्टललाई यातना गृह बनाउन उद्दत छन् सिनियरहरू ? के अहिलेको पुस्ताले आफूभन्दा सानालाई प्रेम र करुणा गर्नुपर्छ भनेर बिर्सिएकै हुन् ? जब तिनलाई देख्छु, मस्तिष्कमा जिज्ञासाको अजंग वृक्ष खडा हुन्छ । तिनकै होस्टलछेउ उभिएका युकालिप्टसको रूखजस्तै ।
यिनको मात्रै कलेजको सुरुवातका दिन यति दुःखद् किन भएको ? दिनको पहिलो प्रहर कति प्रेमिल हुन्छ ! प्रेमका सुरुवाती दिन कति स्वर्णिम, कति प्रिय लाग्छन् ! मानव जीवन बचाउँछु भन्ने अठोट लिएर उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीको सुरुवाती दिनचाहिँ कति खराब ?
र्यागिङका नाममा के–के गरिन्छ ? नवप्रवेशी विद्यार्थीमाथि चिसो पानी खन्याइन्छ, एउटा मात्रै खुट्टाले घण्टौं उभिन लगाइन्छ, अश्लील गाली बर्साइन्छ, अपमान गरिन्छ, रात–विरात जुनसुकै बेला सिनियरकामा हाजिर हुनुपर्छ र तिनले भनेबमोजिम अस्वाभाविक र अप्ठ्यारा काम गर्नुपर्छ । यसरी लगातार आत्मसम्मानमा अपमानको छुरा प्रहार गरेर रगतपक्ष बनाइएका विद्यार्थीको आत्मविश्वास कस्तो हुन्छ ? प्रत्येक साल आफ्नो वरपर हिँडिरहेका मुडुला टाउकाहरूको झुन्डले मभित्र पीडा, असन्तुष्टि र आक्रोशको भुमरी लिएर आउँछ । लाग्छ, तिनको हृदयमा पनि यस्तै भुमरी आउँदो हो र भत्काउँदो हो बल्ल उभ्याएको आत्मविश्वासको मसिनो ढिस्को ।
नेपालमा सन् १९७८ देखि एमबीबीएस अध्ययन सुरु गरिएको हो । पुनर्जीवन दिने पेसासँग गाँसिएको हुनाले चिकित्साशास्त्र संकायको विद्यार्थी अत्यन्त अनुशासित र गम्भीर हुन्थे । त्यसै पनि पूर्वीय संस्कृतिमा ठूलाले सानालाई प्रेम, स्नेह र गाइडेन्स गर्नुपर्छ भन्ने मान्यता छ । टिचिङ हस्पिटलमा एमबीबीएस भर्ना भएका विद्यार्थीले आफ्ना जुनियरलाई केवल स्नेह देखाउँथे, गाइडेन्स प्रदान गर्थे अनि पढाइमा आएको गाह्रा, अप्ठ्यारो फुकाउन मद्दत गर्थे । र्यागिङ गरेर नवआगन्तुक विद्यार्थीलाई आतंकित पार्ने चलन हुँदैनथ्यो त्यस बेला ।
नेपालमा सन् १९९३ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनापश्चात एमबीबीएस पढाइ सञ्चालन भयो । त्यसपछि क्रमशः काठमाडौं विश्वविद्यालय, पाटन हस्पिटल र विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेज खुलेसँगै र्यागिङको प्रचलन सुरु भएको पाइन्छ । पछिल्ला केही वर्षयता र्यागिङका कारण विद्यार्थी डिप्रेसनमा जाने र आत्महत्यासम्म गर्ने गरेको बाहिरिएपछि र्यागिङविरुद्ध कानुन पनि बनाइएको छ । तर, र्यागिङ गर्ने शृंखलामा अझै कमी आएको छैन । जुनियर विद्यार्थीलाई कलेजको वातावरणमा घुलमिल गराउने बहानामा र आफ्नो आधिपत्य तिनमा जमाउने नाममा र्यागिङ हुने गर्छ ।
र्यागिङको प्रचलन छिमेकी मुलुक भारतमा झन् अत्याधिक छ । ‘टाइम्स अफ इन्डिया’ ले लेखेअुनसार र्यागिङका कारण गत ५ वर्षमा १ सय २२ विद्यार्थीले आत्महत्या गरेको र १ हजार २ सय ७० विद्यार्थीले पढाइ छोडेको पाइएको छ । फेडेरेसन अफ रेसिडेन्ट डक्टर्स एसोसिएसनका अध्यक्ष डा. अभिरल माथुर भन्छन्, ‘यो तथ्यांकले मेडिकल विद्यार्थीले भोगेको चरम पीडालाई उजागर गर्छ ।’
अनुसन्धनकर्ता सुदिप्त घोष भन्छन्, ‘र्यागिङको सुरुवात ७ अथवा ८ शताब्दी बीसीदेखि नै भएको हो । त्यस बेला ग्रिसमा कुनै खेलकुद समूहमा भर्ना भएको नवप्रवेशीलाई र्याग गर्ने गरिन्थ्यो । त्यसको प्रमुख कारण त्यस नवप्रवेशीलाई टिमसँग घुलमिल गराउनुहुन्थ्यो ।’ घोषको विचारमा र्यागिङ गर्ने प्रचलन व्यापक हुनुमा र त्यसमा क्रूरता थपिनुमा प्रथम विश्वयुद्धको विशेष भूमिका छ । प्रथम विश्व युद्धताका अधिकांश विश्वविद्यालयका विद्यार्थी युद्धमा भर्ना गरिन्थे । युद्ध कौशलता र युद्धको रणनीति सिकाउन तीप्रति क्रूर हुनुपर्छ भन्ने अवधारणा विकास भयो । फलस्वरूप, सियिनरहरू जुनियरप्रति अत्यन्त क्रूर हुन्थे ताकि ती मानसिक रूपमा बलियो बन्न र जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गर्न पनि सक्षम हुन् । युद्ध समाप्तिपछि पनि सिनियर विद्यार्थीले नयाँ भर्ना भएका विद्यार्थीप्रति कठोर हुने, तिनलाई र्यागिङ गर्ने चलन भने कलेज संस्कृतिको निरन्तरताका रूपमा रह्यो आजसम्म पनि । र्यागिङ पछाडि लुकेको मनोविज्ञान अध्ययन गरेका प्रा. मोहन राव भन्छन्, ‘आफू आफ्ना सिनियरबाट प्रताडित हुँदा आत्मसम्मानमा लागेको चोटलाई मल्हम लाउने कार्यजस्तै हो र्यागिङ । त्यसैले र्यागिङ गर्न ती उद्यत हुने गर्छन् ।’
वास्तवमा र्यागिङका नाममा विद्यार्थीलाई यातनाको अटुट शृंखलाको हिस्सा मात्रै बनाइएको छैन, तिनलाई अन्याय सहन र गुलामी गर्ने तालिम पनि दिइएको छ, स्वार्थी हुन सिकाइएको छ । किनकि यातना सहेबापत् तिनले सियिनरबाट पढाइको गाइडेन्स प्राप्त गर्नेछन्, भविष्यमा सहयोग प्राप्त गर्नेछन् । मेडिकलका विद्यार्थीले त झन् स्वार्थ र लेनदेनको हिसाब किताबबाट आफूलाई पर राखेर निःस्वार्थ र सेवा–भाव सिक्नुपर्ने हो । तिनलाई कुनै पनि प्रकारको स्वार्थको बाछिटाले नभिजाउनुपर्ने हो । तर, ठिक
विपरीत र्यागिङका नाममा तिनले कुसंस्कार सिकिरहेका छन् अनि स्वार्थ र लेनदेनलाई आत्मसाथ गरिरहेका छन् ।
पवित्र उद्देश्यले कर्म क्षेत्रमा प्रवेश गर्नुपर्ने विद्यार्थी यस्ता कुसंस्कारमा डुबेको देखेर सलमान रुस्दी शरमले शिर निहुर्याउँदा हुन् । विश्वविद्यालयका दिनको पश्चातापपूर्ण स्मरण गर्दै ‘अ १९९६ कमेन्समेन्ट स्पिच’ मा रुस्दीले लेखेका छन् । जस्तो १९६८ मा उनी विश्वविद्यालयबाट चरम अन्यायमा पारिएका थिए । उनीमाथि मिथ्या आरोप लगाइएको थियो र विश्वविद्यालय उत्तीर्ण भएको प्रमाण–पत्र प्राप्त गर्न उनलाई भीसीको पाउ समाएर माफी माग्न लगाइएको थियो । दीक्षान्त समारोहमा उनले त्यो प्रमाण–पत्र आफ्नो मिहिनेतले हासिल गरेका थिए तर पनि विश्वविद्यालयको ज्यादतीविरुद्ध आवाज उठाउन आफू त्यस समय असमर्थ भएका थिए, जसको पश्चत्ताप उनलाई जीवनपर्यन्त छ । उनी भन्छन्, ‘हामी जीवनको हरेक मोडमा स्वघोषित ईश्वरहरूसँग जम्काभेट भइरहन्छौं । ती स्वघोषित ईश्वर हामीलाई विभिन्न प्रलोभन दिएर तीनका सामु घुँडा टेकाउन तत्पर हुन्छन् सदा–सर्वदा । तिनले अन्यायलाई आफ्नो व्यवसाय बनाएका छन् । हाम्रो स्वार्थ, कायरता, अरूको दुःखमा रमाउने बानीचाहिँ ती स्वघोषित देउताहरूको व्यवसाय फस्टाउनेअनुकूल वातावरण । त्यसैले त अन्यायको व्यवसाय गर्न पल्किएका स्वघोषित देवताहरू हाम्रो अधिकार, विचार, स्वतन्त्रता र जीवनलाई नै आफ्नो मुठ्ठीमा कसेर अनेक बहानामा हामीलाई खोक्रो पार्दै छन् दिनप्रतिदिन । हामी विवेकशून्य हुँदै गइरहेका छौं । हामी गुलाम बन्दै छौं आफ्नै स्वार्थको, र्यागिङ त एउटा माध्यम मात्रै हो ।’
हालै नेपालका २४ मेडिकल कलेजमा झन्डै २१ सय विद्यार्थी भर्ना भएका छन् । के अब र्यागिङ–सिलसिला रोकिएला ?
