‘फोमो’ बाँचिरहेका मानिस

आत्म–छवि अर्थात् सेल्फ–इमेज सुन्दर बनाउन आफूसँग भएका चिजलाई प्रेम गर्नु आवश्यक छ

चैत्र १६, २०८१

प्रविना पौडेल

A man living 'Fomo'

मानौं तपाईं ओछ्यानमा पल्टेर मोबाइल फोन स्क्रोल गर्दै हुनुहुन्छ । स्क्रोल गरेपिच्छै फिडमा साथीहरू कन्सर्टमा गएको स्टोरी, पोस्ट, रिल धमाधम आइरहेको छ । र, क्याप्सनमा लेखिएको छ– ‘फेभरेट सङ’, ‘बेस्ट नाइट एभर’, ‘वान्स इन अ लाइफटाइम एक्पेरिएन्स’ ।

त्यो देखेर तपाईंलाई ‘मचाहिँ किन गइनँ वा जान पाइनँ ?’ भन्ने पछुतो भइरहेको छ । तपाईं सोचिरहनुभएको छ– त्यो महँगो टिकट किनेको भए हुने वा समय मिलाएर गएको भए पनि हुने...। 

यस्तो महसुस तपाईंलाई कहिल्यै भएको छ कि छैन ? तर, मैले साथीहरूबाट यस्तै अनुभव सुन्ने गरेको छु । हालैको एक शनिबार भक्तपुर सल्लाघारीमा सुशान्त केसीको कन्सर्ट थियो । कन्सर्टमा नगएकाले एक साथीलाई यस्तै महसुस भएको रहेछ । मैले कन्सर्टमा गएको भिडियो इन्स्टाग्राममा राखेकी थिएँ । उनले तुरुन्तै मेसेज गरेर ‘के भयो, कस्तो भयो ?’ सोधिन्, सबै डिटेल मागिन् । 

कन्सर्टप्रति त्यति धेरै मोह छैन र यस्तो महसुस भएको छैन भने अर्को एउटा घटना सम्झाउँछु । तपाईंलाई अफिसमा काम गर्न अल्छी लागिरहेको छ । देश दुनियाँमा के भइरहेको छ, अपडेट चाहिएर फोन खोल्नुभयो । सुरुमै तपाईंको फोनमा साथीहरू ट्रेक गएको फोटो इन्स्टाग्राममा आयो । झट्ट सम्झनुहुन्छ, म यो वर्ष कतै घुम्न गएको छैन । अब दिमागभरि ‘अरू साथीहरू कहाँ–कहाँ गए ?’ सबै रिल बनेर घुम्छ । ‘पहाडको हावै बेग्लै छ’ क्याप्सन लेखिएको त्यो फोटो आफ्नो नभएकोमा तपाईंलाई एकाएक पछुतो हुन्छ । अचानक तपाईं आफ्नो जीवनका निर्णयबारे सोच्न थाल्नुहुन्छ, ‘ह्या, किन म मात्रै जिम्मेवार भइदिनुपर्ने ? अफिसमा बसेर काम गर्नुपरेको छ ।’ अनि यो केवल ट्रेक जाने कुरा होइन । तपाईंलाई लाग्छ– सबै रमाइलो गरिहेका छन्, म मात्रै छुटिरहेको छु । 

यस्तो महसुस भएको छ कि छैन ? 

ल मानौँ, तपाईं अफिसमा फोन नै प्रयोग गर्नुहुन्न, त्यसैले यस्तो पनि तपाईंलाई महसुस भएको छैन । तर, तपाईं कुनै न कुनै ग्याजेट त पक्कै प्रयोग गर्नुहुन्छ ।

बजारमा नयाँ फोनको चर्चा चलिरहेको छ– कस्तो कुल फिचर, क्यामेरा कस्तो राम्रो ! यत्तिकैमा तपाईंको साथीले त्यही कुल फिचर भएको फोन किनें भन्दै तपाईंलाई देखायो/देखाई । यसपछि तपाईंलाई तपाईंको फोन पुरानो लाग्न थाल्छ । सबैभन्दा पुरानो भर्सन र सबैभन्दा नराम्रो फोटो आफ्नै फोनबाट मात्र आउँछ भन्ने महसुस हुन थाल्छ । 

अब मेरै कुरा गरौं, अलिअघि प्राइम भिडियोमा ‘पञ्चायत’ सिरिज सार्वजनिक भएको थियो । सोसियल मिडियादेखि अन्यत्र सबैतिर यसको चर्चा छँदै थियो । जहाँ पनि गीत त्यसकै बज्ने, साथीहरूबीच त्यसकै गसिप हुने, मिम त्यसकै आइरहेको हुन्थ्यो । अत्ति भयो, साथीहरूको गफमा घुलमिल हुनै नपाएपछि, एकै रातमा मैले सिरिजको सबै एपिसोड हेरें । निद्रा बिग्रियो नै, बिहानको कलेज पनि छुट्यो । 

यत्तिको उदाहरण दिदाँ के विषयमा कुरा गरेको थाहा पाउनुभयो होला नि ? आज हामी एउटा डरको विषयमा कुरा गर्न लागेका छौं । ‘कतै छुटें कि ?’ भन्ने डर अर्थात् फियर अफ मिसिङ आउट, फोमो । 

फोमो भनेको ‘अरू व्यक्तिहरूले तपाईंभन्दा बढी रमाइलो गरिरहेका छन्, राम्रो जीवन जिउँदै छन् या राम्रो अनुभव गर्दै छन्’ भन्ने सोच र महसुस हो । यसले गहिरो ईर्ष्याको भावना जन्माउँछ र तपाईंको आत्म–सम्मानमा गम्भीर असर पुर्‍याउन सक्छ ।

माथिका उदाहरणबाहेकका पनि थुप्रै घटना हुन सक्छन्, जसमा तपाईंले अरूले गरेको वा अरूलाई देखेकै कारण आफूले त्यो काम नगरेकामा पछुतो लाग्छ । यसैलाई फोमो भनिन्छ । 

तपाईं कुनै रमाइलो क्षण छुटाइरहनुभएको छ कि भन्ने डर (फोमो) हाम्रो जेनेरेसनको मात्र होइन । यो अवधारणा धेरै पुरानो हो । तर, यसबारे वैज्ञानिक रूपमा अध्ययन भने धेरै पहिले भएको थिएन । सन् १९९६ मा मार्केटिङ विज्ञ डा. डान हर्मनले पहिलो पटक ‘फियर अफ मिसिङ आउट’ भन्ने शब्द प्रयोग गरे । त्यसपछि मात्रै यो विषयमा अनुसन्धानहरू हुन थाले ।

सामाजिक सञ्जालको विकाससँगै फोमो झन् बढ्न थालेको छ । सामाजिक सञ्जालले फोमो फैलाउने विभिन्न तरिकाहरू छन् । पहिलो, सामाजिक सञ्जाल तपाईंलाई अरूको जीवनको केही झल्को देखाउने माध्यम बन्छ । तपाईं आफ्नो सामान्य दिनचर्या अरूको आकर्षक र रमाइलो क्षणहरूसँग तुलना गर्नुहुन्छ । यसले गर्दा तपाईंलाई आफ्नो जीवन अरूको तुलनामा कम रोचक लाग्न सक्छ ।

दोस्रो, सामाजिक सञ्जाल ‘शो–अफ’ गर्ने ठाउँजस्तो भइरहेको छ । यहाँ मानिसले आफ्नो सबैभन्दा राम्रो पलहरू मात्रै देखाउँछन् । तपाईं अरूको दुःखका पलहरू देख्न पाउनुहुन्न, जसले गर्दा तपाईंलाई लाग्न सक्छ कि अरू सबै जना तपाईं जत्तिकै संघर्षरत छैनन् । यसले तपाईंलाई जीवनमा केही कमी भएको जस्तो लाग्न सक्छ ।

कर्नेल विश्वविद्यालयको एससी जोनसन कलेज अफ बिजनेसले सन् २०२४ मा फोमो बढाउने कारणबारे अध्ययन गरेको छ । अध्ययनअनुसार फोमो मुख्य रूपमा 

आफ्ना महत्त्वपूर्ण साथीहरूसँगको सम्बन्ध छुट्ने डरबाट उत्पन्न हुन्छ, न कि कुनै कार्यक्रम छुटेकै कारण । विशेषगरी सामाजिक चिन्ता, सोसियल एन्जाइटी भएका व्यक्तिहरूमा फोमो झन् बढी हुने पाइएको छ ।

उक्त अध्ययनमा ५ हजारभन्दा बढी सहभागी थिए, जसमा सातवटा विभिन्न प्रकारका अध्ययन गरिएको थियो । तिनमा मानिसले वास्तविक, सम्झना भएका र कल्पना गरिएका घटनाहरूमा कसरी प्रतिक्रिया जनाउँछन् भन्ने हेरियो । अध्ययनले के देखायो भने, यदि कोही आफ्ना साथी सहभागी भएका कुनै कार्यक्रममा जान पाइएन भने उनीहरूलाई फोमो धेरै हुने सम्भावना रहन्छ । तर, यदि कुनै कार्यक्रममा साथीहरू नै छैनन् वा सामाजिक सम्बन्ध बनाउने अवसर कम छ भने फोमो कम महसुस हुन्छ । अझ रोचक विषय के छ भने दुःखद् घटनाहरू जस्तै, कसैलाई गाह्रो समयमा साथ दिन नपाउनुजस्ता कुराले पनि फोमो अनुभव हुन सक्छ ।

अध्ययनअनुसार फोमोले मानिसको जीवनप्रति सन्तुष्टिमा असर पार्न सक्छ । कुनै अवसर छुट्ने डर भएकाहरूमा आफ्ना आवश्यकता पूरा नभइरहेको अनुभूति हुन्छ । यसरी समग्र रूपमा जीवनप्रति सन्तुष्टि पनि कम हुने देखिएको छ ।

धेरै अध्ययनका अनुसार, फोमो सामाजिक सञ्जालको बढी प्रयोगसँग पनि गहिरो रूपमा जोडिएको छ । फोमो भएका व्यक्तिहरूमा सामाजिक सञ्जालमा बढी सक्रिय हुनुपर्ने महसुस हुने र त्यसको प्रयोग झन् बढ्दै जाने प्रवृत्ति देखिन्छ । यसरी फोमो र सामाजिक सञ्जालको लतबीच नकारात्मक चक्र बन्न सक्छ, जसले व्यक्तिको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ ।

फोमो सामान्य मानव मनोवैज्ञानिक अवस्था रहेको बताउँछिन् साइकोलोजिस्ट हसना श्रेष्ठ । हामीमध्ये धेरैले यस्तो अनुभव गर्ने उनको भनाइ छ । त्यस्तै फोमो हुनुमा दुईवटा प्रमुख कारण रहेको बताउँछन्, जेस्टाल्ट थेरापिस्ट र साइकोलोजिस्ट आशिष काफ्ले– पहिलो सामाजिक सम्बन्ध र दोस्रो सामाजिक तुलना ।

उनका अनुसार मानिसलाई सामाजिक सम्बन्धमा रहिरहन मन लाग्छ । त्यो एक प्रकारको चाह हुन्छ, जुनसँगै सम्बन्ध छुट्छ कि भन्ने एउटा डर पनि जोडिन्छ । भन्छन्, ‘मेरा सामाजिक सम्बन्धहरू मबाट टाढा जाँदै छ, म समूहबाट टाढिँदै छु भन्ने डर नै एक प्रकारको ‘फियर अफ मिसिङ आउट’ हो । सामाजिक सम्बन्ध छ भने स्वतः आउने कुरा हो फोमो ।’ 

त्यस्तै, सामाजिक तुलनाले फोमो बढाउने काफ्लेको तर्क छ । ‘फोमो त्यति बेला हुन्छ, जब अरूले हामीभन्दा बाहेक केही गरिरहेका छन् र हामीले भन्दा राम्रो गरिरहेका छन् भन्ने सोच्छौँ, जुन सही नहुन पनि सक्छ । यस्तो तुलनाले हामी अरूभन्दा कम छौं, मैले केही गर्न सकिन कि भन्ने महसुस हुन्छ,’ काफ्ले भन्छन्, ‘यस्तो महसुस भएपछि हाम्रो सेल्फस्टिम पनि कम हुन्छ । यसले फोमो बढाउँछ । यसैले गर्दा एन्जाइटीसमेत गराउँछ ।’ 

उस्तै तर्क छ श्रेष्ठको । ‘फोमोको मुख्य जड नै सामूहिक अपनत्वको आवश्यकता हो । साथीहरूको समूह, समाज वा परिवारका सदस्यहरूसँग अपनत्व खोजिन्छ । यो एक बलियो भावनात्मक चाहना हो । त्यसले कसैलाई समूह हिस्सा हुने प्रेरणा दिन्छ, जुन उसले प्रशंसायोग्य वा लाभदायक ठान्छ,’ श्रेष्ठ भन्छिन्, ‘यो किशोर/किशोरीहरूमा बढी देखिन्छ । विकासको यो चरणमा उनीहरूलाई अपनत्व र पहिचानको बढी जरुरत हुन्छ । यदि उनीहरूमा यसको कमी भए सामाजिक हिनता, एक्लोपन, आफूप्रति र अरूप्रति आक्रोश उत्पन्न हुन सक्छ । यसले फोमो बढाउँछ ।’ 

फोमोको असर

फोमो स्वाभाविक मनोवैज्ञानिक प्रवृत्ति हो । तर, कतिपटक यो दोहोरिन्छ, डरको इन्टेन्सिटी कस्तो छ भन्नेले हाम्रो मानसिक स्वास्थ्यमा यसको असर कत्तिको पर्छ भन्ने निर्धारण गर्ने विज्ञ बताउँछन् । 

यदि कसैलाई जीवनका हरेक पक्षमा यस प्रकारको अनुभव हुन्छ भने, यसले भावनात्मक रूपमा, आत्म–छविमा, व्यक्तिगत र सामाजिक सम्बन्धमा गम्भीर असर पार्न सक्छ ।

जब कोही व्यक्ति लगातार ‘केही छुट्यो’ भन्ने विषयमा मात्रै केन्द्रित हुन्छ, वास्तवमा ऊ आफूसँग भएको कुराहरू छुटाउन थाल्ने श्रेष्ठ बताउँछिन् । भन्छिन्, ‘किशोर/किशोरीहरूमा यस्तो अझ बढी हुन्छ । अरूलाई नक्कल गर्न खोज्दा उनीहरू आफूसँग भएका कुराहरूको वा आफूले गरेका कुराहरूको मूल्य नै बुझ्न सक्दैनन् । यसले उनीहरूको पहिचानमा असर पार्छ, जसले गर्दा उनीहरू आफैंबारे अन्योलमा पर्न सक्छन् । उनीहरू इच्छा, आवश्यकता र आकांक्षाहरू आफ्नै हुन् वा केवल अरूले गरेको देखेर चाहिएको हो बुझ्न सक्दैनन् । यसले उनीहरूको सम्बन्धहरूमा पनि गहिरो असर पार्न सक्छ ।’

त्यस्तै काफ्ले पनि बेलामौकामा हुने यस्तो अनुभूति सामान्य भएको बताउँछन् । यस्तो अनुभूति लामो समय हुँदा भने एन्जाइटी वा अन्य समस्या हुने उनी बताउँछन् । 

आफूसँग आउने क्लाइन्टहको अनुभव सुनाउँदै काफ्ले भन्छन्, ‘मसँग आउनु हुने क्लाइन्टहरूमा यस्तो अनुभव सेल्फस्टिममा कमी भएको समयमा धेरै देखेको छु । ओहो मैले केही गर्न सकिनँ, जीवनमा म पछि परेँ भन्ने कुरा महसुस हुँदा फोमो धेरै महसुस हुन्छ । आफूले जति नै राम्रो गरेको वा प्रगति गरेको भए पनि त्यस्तो देखिन्छ ।’ 

‘फियर अफ मिसिङ आउट’ को असरले अरूलाई फलो गर्न खोजिन्छ । अरूको राम्रो भएको देखेर त्यसलाई फलो गर्न खोज्दा 

आफ्नो मौलिकता, क्षमता, खुबी र पहिचानसम्म गुमाउने सम्भावना बढ्ने उनी बताउँछन् । अन्ततः अरूको ‘फलो’ गर्दा आफूलाई भने दीर्घकालीन असर पुग्छ र दीर्घकालीन रूपमा आफ्ना निर्णयहरूमा यसले असर गर्छ । 

फोमो कसरी कम गर्ने ?

हरेक व्यक्तिको क्षमता, जीवनको भोगाइ, वातावरण फरक हुन्छ । त्यही कुरा कोही व्यक्तिले आत्मसाथ गर्न सक्दा यस्तो डर कम हुने साइकोलोजिस्टहरू बताउँछन् । अन्य व्यक्तिहरूसँग तुलना गरेर आफ्नो व्यक्तित्व वृद्धिमा प्रयोग गर्ने हो भने यो तुलना पनि स्वस्थ बन्छ तर तुलना गरेर आफूलाई कमजोर मात्र सोच्ने हो भने त्यो अस्वस्थ्य भएको बताउँछन्, काफ्ले । भन्छन्, ‘हामीले इन्फर्मेसनलाई म्यानेज गर्न सक्नुपर्छ । कहिले डिजिटल डिटक्स गर्न जरुरी छ । सबैभन्दा महत्त्वपूर्ण भनेको आफ्नो धरातल स्वीकार गर्न सक्नु हो ।’ 

त्यस्तै, श्रेष्ठ भन्छिन्, ‘हामीले आत्म–छवि अर्थात् सेल्फ इमेज राम्रो बनाउन, आत्मविश्वास बढाउन र आफूसँग भएका चिजलाई महत्त्वपूर्ण ठान्न आवश्यक छ । आफूजस्तो छु, त्यस्तै रूपमा स्वीकार्न सक्नुपर्छ ।’ 

प्रविना प्रविना कान्तिपुरकी मल्टीिमिडिया रिपाेर्टर हुन् । उनी युवा पुस्ता, प्रविधी र मनाेस्वास्थ्यका बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully