‘बसाइँ’ मा लीलबहादुर सरले असमेली नेपाली समाज र जीवनको जुन चित्रण गर्नुभयो, त्यसले नै मलाई ‘शरणार्थी’ लेख्न प्रेरणा दियो । सरसँग स्वीकृति लिएरै मैले ‘शरणार्थी’ मा ‘क्षेत्री सर’ पात्रका रूपमा उहाँलाई प्रस्तुत गरें । लीलबहादुर नभेटिएका भए सायद ‘शरणार्थी’ लेखिने थिएन ।
नाका आँखा आँगनको छेउको तुलसाको मोठमा पर्यो । भित्र पसेर गाग्रीमा पानी लिएर बाहिर निस्की र तुलसाको मोठमा पानी खन्याउँदै गनगनाई– ‘भोलिदेखि त्यसै सुकेर मर्छ्यौ होला तिमी पनि ! को आएर चढाउला जल तिमीलाई ! फेरि कहिले जल चढाउन पाउँला नारान तिम्रो बुट्टामा !’ भित्र खोपीमा परेवा मसिनो स्वरले कराएको सुनियो ।
मैना फेरि भित्र पसी । भित्र अँध्यारोमा छामछाम–छुमछुम गर्दै मटिया खोज्न थाली । मटियाभित्र सकिन लागेको एक मुठी कनिका लिएर परेवाको गुँड नजिकै गई । चारो तिनका गुँडमा हालिदिँदै भनी– ‘भोलिदेखि कसले हालिदेला नि तिमीहरूलाई चारो !’ ...मैनालाई गोरुको सम्झना भयो । ऊ कटेरातिर गई । उसलाई देखेर गोरुहरू ऊतिर हेर्दै फुँ फुँ गर्न थाले ।
नजिकै राखेको पराल हालेर मैना दुवैलाई मुसार्न थाली । ...भन्न थाली, ‘आजबाट तिमीहरूका नयाँ मालिक आउँछन् । तिमीहरूलाई मीठो घाँस, कुँडो दिन्छन् । कसैलाई नहान्नू । सोझो भएर काम गर्नू । नभा कुटाइ खानेछौ ।’ उनका आँखाबाट आँसुको झरी परिरहेको थियो (‘बसाइँ’ उपन्यासबाट) ।
‘बसाइँ’ उपन्यास पढ्दा हरेकपल्ट मैले रोइरहेको ठाउँ यहीँ हो । किताबभित्र त्यस्ता अनगन्ती ठाउँ छन् रुने, तर यो पानामा आइपुगेपछि आँखाका डिलमा अडिएका आँसुका थोपा तुप्लुक्क झरिहाल्छन् पुस्तकका पानामा । धेरैपल्ट मैले सोचें, ‘किन रोएको हुँला म यहाँ आइपुगेपछि ?’ जब म आफ्नै जीवनको कथा लेख्न थालें ‘आधाबाटो’ किताबमा, सुरुमै लेखियो हामी ‘बसाइँ’
हिँड्दाको क्षणको वर्णन यसरी–
‘दुई जना भरिया इलामसम्मका लागि खोजियो र ज्यालाका लागि उनीहरूलाई पनि मकै नै दिइयो । बाटा खर्चका लागि ५० रुपैयाँको कालो दाल बेचियो । बाँकी रहेको अन्न ढुकुटीमै छोडियो । गोठमा भएको एउटा भैंसीको पाडो, दूध दिने गाई, गोरु र खोरका खसी, बाख्रा सबै फुकाएर बारीतिर लगाइयो । घरका सबै झ्यालढोकाहरू खुला गरियो । नगद पचास रुपैयाँ, दुई वटा भरियाले ढाकरमा बोक्न सक्ने भाँडाकुँडा, लुगाफाटा र बाटाभरिका लागि चाहिने सातुसामल बोकेर २०२४ साल पुस ९ गतेका दिन हामी बसाइँ हिँड्यौं (‘आधाबाटो’ किताबबाट) ।
आज सोच्छु– हरेक बसाइँ हिँड्नेको बसाइँ शैली यस्तै थियो होला । मान्छे किन बसाइँ हिँड्छ ? यसका लामा–लामा विभिन्न प्रकारका व्याख्या र विश्लेषणहरू होलान् तर बसाइँ हिँड्नेहरूको एउटै भनाइ हुन्छ, ‘गरिखाने जग्गाजमिन छैन, भए पनि खानपुग्दो अन्नबाली उब्जिँदैन, धनीमानी साहुकारको हेपाइ खप्न सकिएन ।’
थोरै उत्तरमा सबैखाले सामाजिक, आर्थिक, राजनीतिक र पारिवारिक मनोविज्ञान छताछुल्ल भएको हुन्छ तर यो बसाइँ हिँड्ने परम्पराको निरन्तरतालाई रोक्नेबारे कहिलेदेखि के काम भए होलान् त ? यसरी हेर्न थालेमा हाम्रो हेराइ फेरि पनि देउरालीको ढुंगोजस्तो भएर पाती थापिरहेको भेटिन्छ । नहुनेका घरमा जे हुन्छ, त्यसलाई पनि त्यत्तिकै छोडेर थोरै मात्र लिएर हिँड्दाको पीडा कुनै काव्य वा कृतिमा जस्तै लेखनशिल्प भएको कलमवीरले पनि उतार्न सक्दैन । अझ कहाँ हिँडिएको हो र यो परिवारको गह्रौं डोको कता बिसाउने भन्ने टुंगो नभएको यात्रामाथि देख्नेले लेख्ने कथा कस्तो भएको होला त आजसम्म नेपाली साहित्यमा ?
म जन्मिनुभन्दा तीन वर्ष पहिले (२०१४ सालमा) छापिइसकेको उपन्यास ‘बसाइँ’ मैले पहिलोपल्ट कक्षा आठको विद्यार्थी हुँदा पढेको थिएँ र सस्वर वाचन गर्दैगर्दा आमाबुबाले पनि पहिलोपल्ट सुन्नुभएको थियो । यो पूरै किताब सुनिसकेर पनि बुबाले केही भन्नुभएन तर आमाले निकैपल्ट मलाई पढ्न लगाइरहनुभयो र हरेकपल्ट माथिको अन्तिम पृष्ठमा रोइरहनुभयो । मेरी आमा रोएका तिनै पृष्ठहरू नै हुन् हरेक बसाइँ हिँड्नेहरूलाई बिदा गर्दा हल्लिने हातहरूको शिथिल गति र तिनका आँखाबाट झरिरहने आँसुहरू पनि ।
उहिले कुनै बेला खुब चर्चित थियो यो गीत–
बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ
लाखौंका लागि उजाड छ यो देश,
मुट्ठीभरलाई त स्वर्ग छ
आज पनि बसाइँ हिँड्नेहरूको लर्को उत्तिकै लामो छ । किन लामो छ ? यसको चर्चा अन्तै गरौंला ।
आज यो लेख लेखिरहँदा म सम्झिरहेको छु, नेपाल प्रज्ञा प्रतिष्ठान र सासंक प्रतिष्ठान धुलाबारीको आयोजनामा गरिएको विसं २०५३ सालको ‘बृहत् कथा संगोष्ठी’, जसमा देशभित्र र बाहिरका सयौं साहित्यकारको उपस्थिति थियो । त्यहीँ दोस्रोपल्ट मैले मलाई अत्यन्तै मनपर्ने पुस्तक ‘बसाइँ’ का लेखक लीलबहादुर क्षेत्रीलाई आयोजककै हैसियतले स्वागत गर्न पाएको थिएँ ।
त्यो कार्यक्रममा उहाँको उपस्थिति विशेष आकर्षणको केन्द्र बनेको थियो । सरल स्वभावका, ठेट नेपाली शैलीको पहिरन भएका, बोलिरहन मन पराउने, बोलीमा असमीया भाषाका शब्दहरू बीचमा मिसाउने र सबैले अत्यन्त आदर गरिने मानिसका रूपमा देख्न पाएको थिएँ । बौद्धिकताका हाडे ओखर इन्द्रबहादुर राईभन्दा लीलबहादुर क्षेत्रीका वरिपरिको भीड विशेष देखिन्थ्यो ।
पहिलोपल्ट २०५२ सालमा तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति मदनमणि दीक्षितको नेतृत्वमा पूर्वोत्तर भारतको साहित्यिक यात्रामा मैले उहाँलाई भेटें गुवाहटी सहरमा अवस्थित नेपाली मन्दिरमा, जहाँ हाम्रो स्वागतका लागि सयौं नेपालीको उपस्थिति थियो । त्यो अभ्यर्थना समितिको अध्यक्ष उहाँ नै हुनुहुन्थ्यो ।
उहाँले नै हामी सबैको विस्तृत परिचय गराउनुभएको थियो । यात्रामा थियौं– मदनमणि दीक्षित, रीता दीक्षित, जगतबहादुर श्रेष्ठ, अविनाश श्रेष्ठ, भागिरथी श्रेष्ठ, रमा शर्मा पनि । अन्तिम समयमा कृष्णभूषण बल जान सक्नुभएको थिएन । पहिलो दिनको औपचारिक कार्यक्रम सकिएपछि उहाँले आफ्नो घरमा बडो न्यानो स्वागत गर्नुभएको थियो ।
त्यो यात्रामा उमेरले म सबैभन्दा कान्छो थिएँ । त्यो नै मेरो त्यसबेलासम्मको सबैभन्दा धेरै दिनको र टाढाको यात्रा थियो । लीलबहादुर सरसँग भेट भएपछि उहाँसँग मेरा अनेक जिज्ञासा र प्रश्न थिए । मेरा जति प्रश्न थिए, ती सबै असमेली नेपालीहरूको जीवनसँग सम्बन्धित थिए र ती हरेक प्रश्नलाई उहाँले अत्यन्त मिहिन पाराले बताउनुभएको थियो । सायद मेरा तिनै प्रश्नले नै उहाँको ध्यान मतिर विशेष किसिमले तानियो होला र मैले सोधेभन्दा पनि धेरै कुरा सम्झीसम्झी बताइरहनुभयो । उहाँले देखे–भोगेको असमेली नेपाली समाज र जीवनको जुन चित्रण गर्नुभयो, त्यसले मलाई मेरो पहिलो उपन्यास ‘शरणार्थी’ लेख्न प्रेरणा मिल्यो ।
त्यहाँबाट फर्किएपछि मैले उपन्यास लेखनको यात्रा सुरु गरें । ‘शरणार्थी’ लेखनको पाँचवर्षे यात्रामा पटक–पटक लीलबहादुर सरसँग भेट भइरह्यो । ती भेटहरूमा मैले थप जिज्ञासा राखिरहें । स्वीकृति लिएर नै मैले उपन्यासभित्र ‘क्षेत्री सर’ पात्रका रूपमा उहाँलाई प्रस्तुत गरेको थिएँ । मैले त्यो यात्रामा सहभागी हुन र लीलबहादुर सरसँग भेट्न नपाएको भए मेरो उपन्यास लेखनको यात्रा सायद सुरु नै हुने थिएन र भए पनि निकै ढिलो हुने थियो, ‘शरणार्थी’ त लेखिने नै थिएन । त्यसैले उहाँसँगको त्यो भेटलाई म मेरो साहित्यिक लेखन यात्राको एक महत्त्वपूर्ण घुम्ती मान्छु ।
लीलबहादुर क्षेत्री सरल भाषामा जटिल विचार लेख्ने लेखक हुनुहुन्थ्यो । उहाँको लेखनमा आउने मनोविज्ञानको तहलाई बुझ्न ‘अतृप्त’ उपन्यास पढ्नुपर्छ । समाजमा गाडिएर रहेको पुरातन चिन्तन, अभाव, गरिबी र शोषित मनोविज्ञानलाई बाहिरबाट मानिसको मनभित्र पुर्याउन सक्ने लेखकको दोस्रो उपन्यास मानिसको मनभित्र गाडिएर रहेको असन्तुष्टि र अप्राप्यताको खोजलाई बाहिर निकाल्न सक्षम छ । सबै ‘बसाइँ’ का पाठकहरूले मलाई लाग्दैन ‘अतृप्त’ उपन्यास पढेका होऊन् । तर, धेरैले ‘ब्रह्मपुत्रको छेउछाउ’ पढेको हुनुपर्छ । ‘बसाइँ’ र ‘ब्रह्मपुत्रको छेउछाउ’ पूरक उपन्यासजस्ता लाग्छन् । नेपालबाट हिँडेको परिवार असम पुगेपछि कस्तो संघर्षमा पुग्यो होला भन्ने कौतुहल बोकेका पाठकलाई ‘ब्रह्मपुत्रको छेउछाउ’ ले तिर्खा मेटिदिन्छ तर ‘बसाइँ’ का पात्रको निरन्तरताचाहिँ त्यस उपन्यासमा लेखकले दिन चाहेको देखिँदैन ।
चौथो उपन्यास ‘प्रतिध्वनिहरू विस्मृतिका’ उहाँको जीवनीपरक उपन्यास हो, जसमा लेखक आफ्ना पिताजीबाट उनको पारिवारिक र असमको सामाजिक, शैक्षिक, जातीय आस्तित्विक इतिहास बताउँछन् ।
पहाडको दुःखले विरक्त भएको एउटा युवकलाई पल्टनमा भर्ती हालिदिन भनी झुक्याएर असमको अनकन्टार गाउँमा पुर्याई, बिनापारिश्रमिक वर्षौं वर्षसम्म दासजस्तो काममा खटाई शोषण गर्ने आफ्नै नेपाली दाजुभाइहरूको प्रवृत्तिको नांगो चित्रणबाट सुरु भएको यस कथाले मुग्लान पस्ने अनेकौं नेपालीले पाएका दुःखहरूको प्रतिनिधित्व गरेको छ । संघर्ष र अठोटका साथ लाग्नेहरूका जीवनको सफलता र असफलताको मिथक पनि हो यो उपन्यास ।
उहाँले एउटा बन्द खाममा त्यस उपन्यासको पाण्डुलिपि–भूमिका लेख्नका लागि मलाई पठाउनुभएको थियो । त्यो खामभित्र ‘नयाँ उपन्यास ‘प्रतिध्वनिहरू– विस्मृतिका’ को पाण्डुलिपिभित्र चेपिएको एउटा चिठी थियो क्षेत्री सरको हस्ताक्षरमा । उभिएका थिए ती अक्षरहरू यसो भन्दै– ‘साथमा गाभेको पाण्डुलिपि भनौं प्रुफकपी ‘प्रतिध्वनिहरू– विस्मृतिका’ उपन्यास भनेरै लेखियो । टेकाएको छ मेरा पिताज्यूको जीवनीमाथि । ...आखिर उपन्यास हो ।’
त्यो चिठी पाउनुअघि फोनमा उहाँले भन्नुभएको थियो– तपाईंको आधाबाटो पढेपछि मैले पनि मेरो पिताजीको जीवनमा आधारित उपन्यास लेखेको छु । मेरो इच्छा छ, यसको भूमिका तपाईंले लेखिदिनुहोस् । लीलबहादुर क्षेत्रीको पुस्तकमा मेरो नाम जोडिनु मेरा लागि त्योभन्दा ठूलो पुरस्कार के हुन सक्थ्यो र ? अनि मैले उहाँले चाहेकै समयभित्र ‘इतिहास जस्तो पनि, उपन्यास जस्तो पनि’ शीर्षकमा एउटा लेख लेखेर पठाएँ, जसलाई उहाँले सोही पुस्तकको अग्रभागमा प्रकाशन गर्नुभयो ।
‘शरणार्थी’ उपन्यास पढिसकेपछि उहाँले आफू पात्र हुनुलाई स्वीकार गर्दै यस्तो लेख्नुभएको छ, ‘शरणार्थीभित्र विभिन्न उपन्यास तथा कथाका पात्र–पात्रीहरू जुरुक्क उभिएर अघि बढ्ने क्रममा ‘ब्रह्मपुत्रको छेउछाउ’ को गुमाने पनि पछि परेको छैन । ऊ एक दिन अघि बढ्दै नीलाचल पर्वतमा कामख्या मन्दिरछेउ आफ्ना अभिभावक काकती बाबुसित भेट गर्न पुग्छ । त्यतैबाट ऊ लाग्छ बी बरुवा रोड आफ्ना लेखकको घरतिर । विरक्तिएको गुमाने लेखकसितै प्रश्न राख्छ, किन ‘बसाइँ’ को धने बस्नेतलाई बसाइँ सर्न लगाइयो ? उसलाई देशभित्रै संघर्ष गर्न किन लगाइएन भनेर ।’
विचरा क्षेत्री सर यसको के उत्तर दिऊन् ? केवल मनमनै भन्छन्– ‘हेर गुमाने ! यथार्थमा आज पनि नेपालीभित्र यो बसाइँको परम्परा कहाँ टुंगिएको छ र ? हिजोआज देशका राम्रा चिकित्सक, प्राविधिक, अधिवक्ता, शिक्षाविद् र त्यस्तै बुद्धिबलमा भर पर्नेहरू अमेरिका र ब्रिटेनतिर धाउँदै छन् भने पाखुरीको भरमा गरिखान सक्नेहरू आफ्नो भिटा बेचेर भए पनि अरबी देशका तेलकुपमा पौडन बल गर्दै छन् । कति मेघालयको खेलेरियाहाट कोइलाखानीमा पनि गएर पुरिँदै छन् । यसरी देशको श्रमशक्ति र बौद्धिक सम्पदा बाहिरिँदै छन् भने देश विकासका निम्ति को संघर्ष गर्छ ?’
भूगोल र देशको सिमानाले टाढा भए पनि उहाँसँग मेरो संवाद निरन्तर हुन्थ्यो । कुनै नयाँ पुस्तक छापिनेबित्तिकै झापा आउने कसै न कसैको हातबाट मेरोमा आइपुग्थ्यो र फर्किने बेलामा मैले पनि यताका राम्रा पुस्तकहरूको पोको पठाउने गर्थें । यता हुने विशेष कार्यक्रमहरूमा सकेसम्म उहाँको उपस्थिति हामीलाई ऊर्जा बन्थ्यो । उहाँ आफ्नै कामले नेपाल आएका बेला पनि काँकडभिट्टा आइपुगेपछि फोन आउँथ्यो र हामी साथीहरू हतारहतार जुट्थ्यौं ।
लीलबहादुर सर र मलाई पटक–पटक भेट गराउनमा ‘बीपी कोइराला भारत–नेपाल फाउन्डेसन’ ले पनि ठूलो सहयोग गरेको छ । २०५५ सालमा पहिलोपल्ट भारतको सिलिगुडीमा भएको पहिलो सम्मेलनदेखि हरेक २ वर्षमा हुने गरेका सम्मेलनहरू क्रमशः धनगढी, बनारस र काठमाडौंमा हामी लगातार भेट भइरह्यौं ।
२०६१ सालमा काठमाडौंमा भएको समारोहमा त भारतबाट सहभागी हुने लेखकहरूलाई झापाबाट लिएर आउने जिम्मा मलाई नै थियो । त्यसपल्ट लीलबहादुर सर नआउने हुनुभएको थियो । मैले नै धेरै कर गरेर बोलाएको थिएँ । त्यो कुरा केही महिनाअघि गुवाहटी पुगेको साहित्यिक टोलीहरूसँगको संवादमा उहाँले भन्नुभएको लीला अनमोलले पोस्ट गरेको भिडियोमा सुनेको थिएँ । त्यो भिडियो सुन्दा सबैभन्दा धेरै खुसी लागेको कुराचाहिँ ९३ वर्षको उमेरमा पनि उहाँको स्मरण शक्ति ताजै थियो ।
उहाँले सबैभन्दा धेरै मान्ने मान्छे हुनुहुन्थ्यो– इन्द्रबहादुर राई । राईको लीला चिन्तनबाट धेरै नै प्रभावित हुनुहुन्थ्यो ।
आफ्नो लेखनमा लीला शैलीको प्रयोग नगरेको भए पनि दर्शनको व्याख्या गर्न मन पराउनुहुन्थ्यो । २०५९ सालमा हामीले झापामा आयोजना गरेको लीलालेखनको पच्चीसवर्षे समारोहमा उहाँको उपस्थिति विशेष रहेको थियो । झापामा बास बस्नुपर्दा केहीपल्ट उहाँलाई आफ्नो घरमा राख्न पाउँदा अत्यन्त हर्षित हुन्थ्यौं ।
अकस्मात् १३ मार्च २०२५ को दिन ९३ वर्षको उमेरमा उहाँले आफ्नो जीर्ण शरीरलाई अग्निदान गर्नुभएको खबर सुनें । मनमा नरमाइलो लाग्यो तर केहीबेरमै प्राकृतिक सत्यलाई स्वीकार गरें ।
लीलबहादुर सर अब सभौतिक हामीसँग हुनुहुन्न तर यस्ता पुस्तकहरू नेपाली भाषा, साहित्य र जातिलाई छोडेर जानुभएको छ, जसका कारण हामी उहाँलाई चाहेर पनि भुल्न सक्दैनौं । नेपाली साहित्यमा आकारले धेरै साना र विषयले धेरै लामा दुई अमर कृति छन्, जसले नेपाली जातिको बेरोजगारी र बसाइँ हिँड्ने अवस्था जीवित रहिरहेसम्म पढिरहिनेछ । ती हुन्– ‘मुनामदन’ र ‘बसाइँ’ ।
अन्त्यमा मलाई यो भन्न मन लाग्छ– लीलबहादुर सर नेपाली भाषाका भारतीय साहित्यकारमध्ये सबैभन्दा भाग्यमानी लेखक हुनुभयो, जसले भारतीय अकादमी पुरस्कार मात्रै होइन, भारत सरकारले दिने सर्वोच्च सम्मान ‘पद्मश्री’ समेत प्राप्त गर्न सक्नुभयो । मलाई लाग्छ, उहाँलाई त्यो सम्मान प्राप्त गर्न असमको राजनीतिले ठूलो मद्दत गर्यो ।
नेपाली भाषालाई मान्यता दिलाउन दार्जिलिङमा जति आन्दोलन भयो, त्यति असममा भएन । दार्जिलिङको भाषा आन्दोलन कालान्तरमा गोर्खाल्यान्डको मागमा पुगेपछि दिल्लीले दार्जिलिङलाई हेर्ने नजर नै अर्कै हुन पुग्यो । त्यही हेराइले दार्जिलिङ मात्रै होइन, भारतभरि र नेपालमा समेत अत्यन्त सम्मानित विशिष्ट लेखक तथा चिन्तक इन्द्रबहादुर राई भारतीय अकादमी पुरस्कार प्राप्त गर्ने पहिलो साहित्यकार भएरै पनि केही समयपछि भारतीय प्रधानमन्त्री मोरारजी देसाईले ‘भारतमा नेपाली भाषा विदेशी भाषा हो’ भनेपछि राईले साहित्य अकादमी पुरस्कार राशिसहित फिर्ता गर्नुभयो । त्यसै कारण राई भारत सरकारले गर्ने अन्य सम्मानबाट समेत बाहिर पर्नुभएको हुनुपर्छ भन्ने मलाई लाग्छ ।
असमेली नेपालीले भोगेको जातीय पीडा फेरि अर्कै खालको छ, जुन कुरा मैले ‘शरणार्थी’ उपन्यासमा लेखेको छु । त्यही पीडाभित्र जुधेर, मिलेर, नेपाली जाति र भाषाका लागि लीलबहादुर सरले गरेको साहित्यिक यात्राको मूल्यांकन गर्दा मैले माथि भनेको कुरा शतप्रतिशत मिलिहाल्ला पनि म भन्न सक्दिनँ । नेपाली जातिले देशभित्र र विदेशमा भोगेका पीडाको कथा जुन उहाँले लेख्नुभयो, तिनै अमर कृतिहरू नै हुन् उहाँलाई अमर बनाउने पनि । त्यही अमरत्वको कामनासहित करिब तीस वर्षसम्मको उहाँसँगको मेरो साहित्यिक संगत यहीं आएपछि पूरा भएको छ ।
