सत्यभामाको जिउँदो सत्य

नेपाली भाषामा पहिलो कविता–संग्रह ‘मभित्रको यज्ञशाला’ प्रकाशनको व्यग्र प्रतीक्षामा छिन्– सत्यभामा माथेमा । ‘केटी–स्त्री–नारीले पढ्नु हुँदैन’ भन्ने प्रचलनबीच उच्च शिक्षा हासिल गर्ने विद्रोही महिला थिइन् उनी ।

चैत्र ९, २०८१

राजेन्द्र महर्जन

The living truth of Satyabhama

सार्वजनिक वृत्तमा प्रथम महिला न्यायाधीशका रूपमा परिचित छिन्– सत्यभामा माथेमा । उनको साहित्यिक–सांस्कृतिक व्यक्तित्वसँग भने धेरै नेपाली पाठकको साक्षात्कार भएको छैन । ६–७ दशकसम्म नेपालभाषामा लेखन कर्म गर्दा पनि साहित्यिक–सांस्कृतिक आदान–प्रदानको अभावले उनको सिर्जना त्यत्ति धेरै उजागर भएको देखिँदैन ।

नेपाली भाषामा केही फुटकर कविता, आफूले बाँचेको नौ दशक लामो जीवनका एकाध संस्मरण तथा केही सामयिक वैचारिक टिप्पणीको प्रकाशनका आधारमा हेर्दा अपरिचयको अवस्था बन्नु अनौठो होइन । उनी नेपालभाषामा गद्य कविता सिर्जना गर्ने प्रथम आधुनिक कविमध्ये एक हुन् । उनका रचनामा ‘ककःचा’ (तीते करेला) कविता–संग्रहसँगै ‘इलं फ्वाःगु जीवन’ (समयले घचेटेको जीवन) नाट्य शैलीमा लेखिएको नौलो खालमा उपन्यास प्रकाशित छन् । 

यही पुस महिनामा नौ दशक पार गरेकी सत्यभामा नेपाली भाषामा आफ्नो पहिलो कविता–संग्रह ‘मभित्रको यज्ञशाला’ को प्रकाशनको व्यग्र प्रतीक्षामा छिन् । ‘मभित्रको यज्ञशाला’ सत्यभामाको मात्रै होइन, आम महिलासँगै हामी सबैको यज्ञशाला हो । यसमा हामीले भोग्दै आएको सामाजिक जीवन र लड्दै आएको समयका उतार–चढाव पोखिएको छ । 

सत्यभामाले महिलालाई पढ्नै नदिने सनातनी चलनबीच पनि जिद्दी केटी हुँदै पढिन्, परिवारलाई थाहै नदिई । ‘केटी–स्त्री–नारीले पढ्न हुँदैन, तिनीहरू बिग्रिन्छन्’ भन्ने सामाजिक प्रचलनबीच पनि उच्च शिक्षा हासिल गर्ने विद्रोही महिला भइन् । अंशका लागि आफ्नी आमाको लडाइँ लड्दै न्यायाधीशसम्म बनेकी सत्यभामाले कवितामार्फत जे–जसरी आफूलाई पोखिन्, त्यसले कसैलाई न्यानो दिन सक्छ, कसैलाई पोल्न पनि सक्छ । 

नेपालभाषामा लेख्ने पहिलो आधुनिक कवयित्री सत्यभामा मूल रूपमा नेपालभाषाकी कवि र साहित्यकार हुन्, अहिले आफ्नै अनुवाद र पुनःसिर्जनामार्फत् नेपाली भाषाको साहित्यिक वृत्तमा उपस्थित छन् । ‘ककःचा’ मा संग्रहित कविताबाट मात्रै होइन, नेपालभाषाका आधुनिक कविहरूका पहिलो कविता संग्रह : ‘गाजलं दाःगु चा’ का कविताले पनि सत्यभामाको कवि व्यक्तित्वलाई उजिल्याउँछन् । 

अनेक खालका उत्पीडनको प्रतिरोधमा लेखिएको ‘ककःचा’ पुस्तकमा सत्यमोहन जोशी लेख्छन्, ‘सत्यभामा माथेमाको कलमबाट प्रकाशित ‘ककःचा’ कविता संग्रह पढ्दै जाँदा लेखकले समय–समयमा पोखेका मनको भाव (इमोसन्स), त्यसभित्र प्रकट भएको कल्पनाशीलता बागमती–विष्णुमतीको कलकल संगीत (म्युजिक) जस्तै बगिरहेको पाएँ । त्यसको प्रमाण हो– लेखकको कला (द पोइट्स आर्ट) टाँसिएको यो पंक्ति :

‘मेरो जन्मसिद्ध अधिकार/मेरो कलम/अनन्तसम्म बगिरहन्छ/यही बाटो हो/मेरो स्वाभिमानको भरोसा ।’ 

साहित्यको छुट्टै विधा सिर्जना 

सत्यभामाले नेपालभाषाको लेखनमा एउटा नयाँ प्रयोग पनि गरेकी छन्, ‘बाखं–प्याखं’ (कथा–नाटक) को सिर्जनामार्फत् । ‘इलं फ्वाःगु जीवन’ (समयले घचेटेको जीवन) खासमा नाटकको शैलीमा लेखिएको नौलो खालमा उपन्यास हो, जुन लेख्नचाहिँ नेपाली भाषामा लेखिएको थियो, पहिलो प्रकाशन भने नेपालभाषामा भएको रहेछ, साहित्यकार भूषणप्रसाद श्रेष्ठको अनुवादमार्फत । अलिकति कथाजस्तो, अलिकति उपन्यासजस्तो, अलिकति नाटकजस्तो ‘इलं फ्वाःगु जीवन’ बारे पद्मरत्न तुलाधरको मन्तव्य छ, ‘धेरै वर्षपछि उनले साहित्यको छुट्टै विधा सिर्जना गर्दै यो पुस्तक प्रकाशित गरिन् । यो पुस्तक साहित्यको भण्डारमा एउटा वजनदार परिपूरकका रूपमा समावेश हुने कुरामा म विश्वस्त छु । समाजमा फैलिएका विकृति, विसंगति, भ्रष्टाचार, दुराचार, अत्याचार आदिका विरुद्ध सशक्त रूपमा विद्रोह र विरोधको संघर्षपूर्ण जीवन बिताएका र बाँचिरहेका दुई अत्यन्त सबल र सशक्त महिला पात्रहरूद्वारा समाजको क्रूर र कठोर यथार्थको प्रभावशाली चित्रण यो पुस्तकको उल्लेखनीय पक्ष हो ।’ 

हामी आशा गर्न सक्छौं, ‘इलं फ्वाःगु जीवन’ को सक्कली रूप नेपाली भाषामा अवश्य प्रकाशित हुने नै छ । त्यस्तै, उनका निबन्ध, संस्मरण र वैचारिक लेख पनि संकलित रूपमा पाठकको संसारमा आउने विश्वास लिन सकिन्छ । यी रचनाहरूको प्रकाशनले प्रथम महिला न्यायाधीशले जीवनको उत्तरार्द्धमा देखाएको सामाजिक सरोकार बुझ्न सघाउनेछ भने अन्य व्यक्तिहरूबीच वृद्धावस्थामा पनि लेखन वा अन्य क्षेत्रमा सक्रिय हस्तक्षेपको प्रकाश छर्न सहयोग गर्न सक्छ ।

प्रतिरोधको परम्पराबीच लेखाइ

नेपालभाषा र नेपाली भाषामा सिर्जना गर्ने सत्यभामा माथेमाका रचनामा पारिजातलगायत नेपाली भाषाका आधुनिक कविहरूको प्रभाव त छ नै, नेपालभाषाको साहित्यिक परम्पराको मिठास पनि पाइन्छ । नेपाली भाषामा आदिकविहरूको उदय हुनुभन्दा सयौं वर्षअघि नै नेपालभाषामा रचिएका गीत (म्ये) र गीतिकथा (बाखं म्ये) को प्रभावबाट नेपाली भाषाका एकसे एक कविसमेत प्रभावित थिए भने सत्यभामा अछुतो हुने कुरै भएन । 

नेपालभाषाका अनेक अनाम रैती रचनाकारद्वारा रचिएका गीतिकथाहरूमा तत्कालीन सामन्ती समाजका अन्तरद्वन्द्व मात्रै होइनन्, विरोध र प्रतिरोधको भाव पनि कम छैन । यसका ज्वलन्त उदाहरण दरबारभित्र र बाहिर महिलाहरूबाट रचना भएका गीतमा देख्न पाइन्छन् । अध्येता डा. जनकलाल वैद्यले नेपाल सम्वत् ८००–८८८ भित्रका मल्लकालका रानीमध्ये बुद्धिलक्ष्मीले आफ्ना श्रीमान् राजा रणजीत मल्ल (नेसं. ८४२–८९०) को शासनकालमा ख्वपः (भक्तपुर) दरबारको जटिल र गम्भीर परिस्थिति उजागर गर्दै गरुडको सवार गर्ने राजाबाट उत्तराधिकारको विवादमा विवेक नपुर्‍याइएकाले देश, दरबार र प्रजाका लागि खतरा हुने संकेतसमेत गीतमा पोखिएको छ । 

यस्ता विरोध र प्रतिरोधको परम्पराबीच हुर्केकी सत्यभामा माथेमा पारिवारिक विरासत सहिद धर्मभक्त माथेमासँग जोडिएको छ भने सांस्कृतिक सम्बन्ध नेपालभाषा र नेवाः समुदायको मानवअधिकारको आन्दोलनसँग गाँसिएको छ । नेपाली भाषाका साहित्य र साहित्यकारसँग पनि परिचित सत्यभामाको लेखन विद्यालयको कालखण्डबाटै सुरु भएको देखिन्छ । आफ्ना शिक्षक प्रेमबहादुर कसाले घडीबारे कविता लेख्न लगाएपछि लेखनमा प्रोत्साहित भएकी सत्यभामाले नेपालभाषामा आधुनिक कवितासँगै कथा र उपन्यास लेखेकी छन् । 

१७ वर्षकी हुँदा उनको पहिलो कविता ‘च्वमियात’ (लेखकलाई) प्रकाशित भएको थियो, जुन करिब सात दशकअघि नेसं. १०७७ मा ‘थौंकन्हे’ ६/१) नामक नेपालभाषाको पत्रिकामा छापिएको थियो । त्यसपछि निरन्तर रूपमा कम मात्रै कविता लेखे पनि उनी मूलतः नेपालभाषाका कविकै रूपमा स्थापित भइन्, कमै मात्रै महिला लेखक भएको नेपालभाषाको साहित्यिक धरातलमा । त्यसैले, नेसं. १०९२ मा नेपाल भाषा परिषद्द्वारा प्रकाशित कविता संग्रह ‘पद्य पुचः’ मा ‘अल्बम’ कवितासँगै उनको परिचय यसरी दिइएको छ, ‘उनका कविता नेपालभाषाका पत्रपत्रिकामा बरोबर प्रकाशित भएका छन् । आजभोलि उनी पहिलो महिला न्यायाधीशका रूपमा क्रियाशील छन् । 

स्वीकार्य छैन पराधीनता

१९९७ सालमा नेपाल प्रजा परिषद्को पर्चाकाण्डका कारण धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याइएपछि माथेमा परिवार कालिम्पोङ र कलकत्ताजस्ता भारतका सहरमा प्रवासनमा गएको थियो । सोही परिवारमा हुर्केकी चेली सत्यभामाका लागि पनि नेपाली भाषा लामो समयसम्म परिवारको भाषा नै रह्यो, किनभने माथेमा परिवारमा बेसी मात्रामा नेपाली भाषा प्रचलित थियो । मामाघर बसाइमा मात्रै मातृभाषा सिकेकी सत्यभामाका लागि पनि २०२२ सालको नेपालभाषा आन्दोलन साहित्यिक लेखनको नयाँ घुम्तीको रूपमा उदय भयो । नेपाली राज्यको एक भाषा, एक भेषको नीतिविरुद्ध भएको सांस्कृतिक आन्दोलनका क्रममा नेपाल भाषामा उनका कविताहरू धेरै मात्रामा प्रकाशित भए । 

६ दशकअघि ‘गाजलं दाःगु चा’ कविता संग्रहमार्फत नेपालभाषामा आधुनिक कविताको थालनी भएको थियो, जसमा एक अग्रणी कविको रूपमा सत्यभामाको पनि नाम आउँछ । उनको तत्कालीन लेखन शैली र वैचारिक प्रवृत्तिबारे टिप्पणी गर्ने क्रममा समाचोलक पुष्प चित्रकार लेख्छन्, ‘कवयित्रीलाई कसैको पनि पराधीनता स्वीकार्य छैन । पुरुष होस् या महिला, मानिसको नाताले जुनसुकै लिंगको व्यक्तिको व्यक्तित्व उत्थानका लागि स्वतन्त्रता आवश्यक छ, हक जरुरी छ, यो उनको आवाज हो । यो कविताले लेउ लागेको समाजले महिलाहरूलाई बाँधेर उनीहरूका हक–अधिकार कुल्चँदै आएको यथार्थलाई मन छुने गरी उजागर गर्छ ।’

काव्यप्रति नै प्रतिबद्ध भएर नियमित रूपमा लेख्ने बानी नभएकाले हुन सक्छ, समालोचक मल्ल के सुन्दरले सत्यभामालाई नेपालभाषाको आधुनिक कविता विधाको क्षेत्रमा हराएका कविको संज्ञा दिएका थिए । उनका कविताहरू नेपालभाषाका विभिन्न पत्रिका र किताबमा छरिएर रहेका छन् । नेपालभाषामा लेखिएका कविताहरूको पहिलो संग्रह सम्पादन र प्रकाशनका लागि साहित्यकार एवं आफ्ना शिक्षक प्रेमबहादुर कसालाई दिइएको बेला हराएको रहेछ । प्रकाशनका लागि दिइएको कविता संग्रह हराउनु र नयाँ कविता संग्रह प्रकाशन भइनसक्नुको सन्ध्याकालमा उनी कविता फाँटबाट लुप्त भएको देखिनु अनौठो होइन । 

सत्यमोहन जोशीले ‘तिमी त हाँस बिग्रेजस्तै बिग्र्यौ’ भनी कटु टिप्पणी गर्दा सत्यभामाले पटक–पटक सकारेकी थिइन्, ‘म साहित्यकार भन्न लायक छैन, साहित्यकारको जस्तो स्तरयुक्त लेखनको स्वभाव नै नभएको मान्छे म । मलाई साहित्य मन पर्छ, खास गरी गद्य कविता र मुक्तक । कुनै विषयले मनमा छोयो, मनको भाव पोख्नलायक देखियो जुनसुकै कागजमा कोर्ने हिस्सी नभएको बानी छ मसँग । यही भाव पोख्दैमा म कहाँको साहित्यकार भन्ठान्न मिल्छ र ?’

शोषणविरुद्ध कलमयुद्ध

यसरी नै मनमौजी लेखन र छरपस्ट रचनाकै सेरोफेरोमा उनको सिर्जनाको संसार चलिरहेको छ । नेपालभाषा र नेपाली भाषाका कविताहरूको अध्ययनपछि मलाई लागेको छ, सत्यभामाको पछिल्लो प्रवृत्तिमा प्रतिरोधको भाव बलियो भएको छ । यस अर्थमा उनी प्रतिरोधी कवि हुन्, जसले सनातनदेखि वर्तमानसम्म चलिआएका बेथिति र उत्पीडनविरुद्ध विरोधका शब्द कोरेकी छन् । कवि प्रतिसरा सायमि लेख्छिन्, ‘टुकुचामा फ्याँकिएका स्त्री–पुरुषका अवाञ्छित निरपराध बच्चाको पक्षमा, शोषणविरुद्ध कलम युद्ध छेड्ने साहस बोक्दै, घुमाउरो रेशमी जालीमा अबोध जीवको झुत्रो लासको कङ्काल सिंगार्न नचाहने कानुन व्यवसायी कवि हुन्– सत्यभामा माथेमा ! यिनै अटल पहिचान भएकी सचेत व्यक्तित्व क्रियाशील छिन्– जालझेलको राजनीतिदेखि दिक्दार भएर, चोइटिँदै गरेको देशको सिमाना, दयनीय मानवीय सम्बन्धमा आएको दरारले क्षतविक्षत र आहत हृदयले लामो सुस्केरामा सुसाउँदै पग्लँदै गरेकी हिम–चट्टानसरिका स्रष्टाका रूपमा !’ 

जीवनमा नौ दशक टेकिसक्दा पनि राजनीतिक विकृति र अदालती बेथितिविरुद्ध आफ्नी मित्र सुकन्या वाइबासँगै सडक र लेखनमा समेत सक्रिय हुन गाह्रो नमान्ने सत्यभामाले जेजस्तो जिन्दगी बाँचिन्, त्यसलाई शब्दमा उतार्ने कोसिस गरेको देखिन्छ । प्रेमबहादुर कसाले १९९७ सालको विद्रोहको आगोलाई सांस्कृतिक राजनीतिमार्फत विस्तार गर्न भारतमा सिर्जना गरेको ‘च्वसापासा’ मा मातृभाषाका अगुवाहरूमा पुरुषहरू मात्रै होइनन्, महिलाहरू पनि क्रियाशील छन् । सत्यमोहन जोशीको भनाइमा, नानीहीरा कंसाकार र पद्मावती कंसाकारजस्ता अग्रणी महिला सहभागी भएको समूहमा सशक्त र अग्रणी भूमिका खेलेकी स्त्री हुन्, सत्यभामा माथेमा । 

कहिले शिक्षक, कहिले न्यायाधीश, कहिले अख्तियार दुरुपयोग निवारण आयोगका सहसचिव त कहिले च्वसापासाका कोषाध्यक्ष, कहिले नेवाः दे दबूका उपाध्यक्ष र नेपाल सम्वत् न्हूदँ राष्ट्रिय समारोह समिति नायःको रूपमा क्रियाशील भएकी सत्यभामाको अझै संघर्ष जारी छ, न्याय र सत्यका लागि । 

राजेन्द्र राजनीतिक विश्लेषक महर्जन लेखक र सम्पादक हुन् । उनका ‘चे ग्वेभारा’, ‘समाजवादको सपना’सँगै ‘सिलु म्ये र सामाजिक प्रतिरोध’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully