'आफ्नो विज्ञापन गर्नु आफैं होर्डिङ बोर्डमा टाँसिनुजस्तो’

चैत्र ९, २०८१

कान्तिपुर संवाददाता

'Advertising yourself is like sticking to a billboard'

काठमाडौँ — लेखक, समालोचक कृष्ण बरालको नयाँ निबन्धसंग्रह ‘नातिपुस्ताको खेल’ पाठकमाझ आएको छ । यसअघि उनका कथा, उपन्यास र निबन्धलगायतका आधा दर्जन किताब प्रकाशित भइसकेका छन् । उनको ‘समय हराएको बेला’ उपन्यासले २०६५ सालको पद्मश्री साहित्य सम्मान प्राप्त गरेको थियो ।

बरालसँग किताब–वार्ता :

तपाईंको पछिल्लो किताब ‘नातिपुस्ताको खेल’ नातिपुस्ताले किन पढ्ने ? 

यो आफैंले आफ्नो विज्ञापन गर्नुपर्ने विषयजस्तो भयो । आफैं गएर होर्डिङ बोर्डमा टाँगिनुपरेको जस्तो, अलिक गाह्रो–गाह्रो, अप्ठ्यारो भएजस्तो । तैपनि सुन्नुहोस्, जीवनमा ठूलाठूला कुराहरू मात्र लेखिँदैनन्, झिनामसिना कुराहरू पनि लेखिन्छन् । ‘नातिपुस्ताको खेल’ मा मैले जीवनका झिनामसिना कुराहरू लेखेको छु, जुन मैले विगतमा यथार्थ भोगें ।

आफ्नो विगतलाई उधिनेर नढाँटीकन लेख्ने इमानदारिता छ यसमा । आफूले भोगेका घिनलाग्दा, लाजसरम लाग्दा, पछुतो लाग्दा र रमाइला, प्राप्ति, अप्राप्ति, अभाव, पूर्णता र उछृङ्खल क्षणलाई नढाँटेरै निबन्धमा छर्लङ्ग पस्किएको छु । मैले मेरा दौंतर, छिमल तथा लेखन क्षेत्रका अग्रजबारे पनि लेखेको छु । त्यसैले यो नातिपुस्ताले मात्रै होइन, सबै पुस्ताले पढे हुन्छ ।

निबन्धबाटै लेखन सुरु गर्नुभएको तपाईं बीचमा आख्यानमा अलमलिनुभयो, फेरि निबन्धमै फर्कनुभयो । निबन्धमा यो कस्तो मोह ? 

साहित्यमा जानु र फर्कनु भन्ने हुँदैन । म कविता सुन्न मन पराउँछु, कथा र उपन्यास पढ्न, लेख्न भने निबन्ध । साहित्यका कुनै विधा ठूला र कुनै साना हुन्छन् जस्तो लाग्दैन । उपन्यास लेखिसकेर निबन्ध लेख्दा मलाई फर्किएको लागेकै छैन । अब कवितासंग्रहको तयारीमा छु । निबन्धमा आफ्ना अनुभूति जस्ताको त्यस्तै लेख्ने फराकिलो फाँट भेट्टाएको छु । 

तपाईं लीला लेखनको समालोचना गर्नुहुन्छ । लीला समालोचना कसरी प्रचलित समालोचनाभन्दा भिन्न छ ? कुनै कृति जलाउनु वा च्यात्नु कसरी समालोचना हुन्छ ?

लीला समालोचना अप्रचलित हो लाग्दैन । समालोचनाका परिभाषा फेरिँदै आएका छन्, फेरिँदै जानेछन् । लेखनमा प्रयोगबारे चर्चा हुनु जरुरी छ । विश्व साहित्य उत्तर–आधुनिकताको उमेरमा पुगेका बेला नेपाली साहित्यलाई पनि मापन गरौं लाग्दो नै रहेछ । हामी आधुनिकतामा कहाँसम्म पुग्यौं, छाम्ने रहर जाग्दोरहेछ । यसरी रहर गर्दा विचारहरू, विश्वासहरू र मान्यताहरूको विखण्डन गरेर टुक्रा–टुक्रा बनाएर पूर्णता हेर्ने सूत्र बनाउने प्रयास हुँदोरहेछ ।

हामीले सुरुमै लेखन प्रविधिको लीलालेखन प्रविधि समायौं । लीला समालोचनालाई यसरी हेर्दा पनि भयो । हेर्नुहोस्, पहिला त २०५४, ०५५ सालतिर इन्द्रबहादुर राईले ‘अर्थहरूको पछिल्तिर’ नामक कृतिमा भागवतको प्रह्लाद, बालकृष्ण समको ‘प्रह्लाद’ नामक कृतिको प्रह्लाद र जगदीशशमशेर राणाको ‘नरसिंह अवतार’ को प्रह्लादलाई तुलनात्मक चर्चा गर्दै वैरागी काइँलाको ‘सावतको बैला उत्सव’ कविताको मिथकीय अध्ययन गर्दै लीलादृष्टिबाट अनौठो तर चाखलाग्दो समालोचकीय प्रस्तुति दिनुभएको छ । 

कृति जलाउनु वा च्यात्नुका कुरा पाठकदीर्घाबाट कुनै कृति चित्त नबुझाई अथवा त्यो कृतिका विचारहरूसँग असहमति जनाई सार्वजनिक रूपमा कृति जलाउनु या च्यात्नु भनेको आलोचनात्मक समालोचना भयो भनेर भनेको हुँ । ‘लीला, वार्ता र शरणार्थी’ मा कृष्ण धरावासीको ‘शरणार्थी’ उपन्यास भुटानी शरणार्थीले जलाइहाल्नुपर्ने कृति हो भनी विचार पोख्ने लेखकको पनि विचारले ठाउँ पाएको छ । त्यसकारण आलोचनात्मक अथवा विद्रोही चेतलाई पनि समालोचना मान्न सकिन्छ ।

‘नातिपुस्ताको खेल’ मा जीवन बाँच्ने खेल हो भन्नुहुन्छ ? यो दर्शनलाई लेखनमा कसरी कथ्नु हुन्छ ?

वाद, सिद्धान्त वा दर्शनपट्टि म जान खोजेको हुँदै होइन, यतापट्टि जाँदा कुनै दिन नाघ्न नसकिने भित्तोमा पुगिन्छ र अभर परिन्छ । जे–जसरी भोगिन्छ जीवन, त्यसजसरी नै लेखिन्छ साहित्य पनि । सुने, देखे, भोगेकै अनुभूति हो साहित्यमा लेखिने । साहित्यिक यात्रामा कुनै नितान्त नवसत्यको अन्वेषणमा निस्कनु छैन, प्राप्तिलाई भेट्नु छैन । बाँचुञ्जेल हो कथा कथ्ने, मरेपछि त अरूहरूले नै के–के भनी कथ्ने छन् । मृत्यु पारिपट्टिको कुरा थाहा लाग्ने कुरै भएन । त्यसैले जीवन हुँदै खेलौं बाँच्ने खेल ।

तपाईंको भाषा क्लिस्ट भयो भन्छन् । शब्द विग्रह गरेर अर्थै नलाग्ने वाक्य निर्माण भएको छ, शब्दलाई भाँचभुँच पारेर आफ्नोपनको नाम दिइएको आरोप छ । के तपाईं उभिने मैदान भाषा–भञ्जन नै हो ?

अनुभूतिमा आएका कुरालाई जस्ताको तस्तै दुरुस्त लेखेर सम्प्रेषण गर्न खोज्दा भाषाले मात्रै नपुग्दो रहेछ । लेखनमा चित्रात्मक भएर प्रस्तुत हुँदा केही शब्द भाँच्नु वा निर्माण गर्नुपर्दो रहेछ । वाक्य खँदिलो बनाउन खोज्दा पनि कति वाक्यलाई बङ्ग्याउनुपर्दो रहेछ । हामी बोल्दा कति क्रिया गर्छौं, हात हल्लाउँछौं, निधार खुम्चाउँछौं, आँखा झिम्काउँछौं, मुन्टो हल्लाउँछौं र एउटा वाक्य बोली पठाउँछौं ।

त्यो राम्ररी सम्प्रेषण भएको ठान्छौं । तर, त्यही कुरा लेखी पठाउँदा ती क्रियाहरू कसरी दर्शाउने ? जस्तो कि ‘अघि कति खेर घाम लागिरहेको आँगनमा लाटा बसेर हाँसिरहेको रहेछ’ भन्ने वाक्यलाई हामीले ‘आँगनको घाममा लाटा’ लेख्यौं । बोलेको जस्तै लेख्न खोज्दा पनि वाक्य भाँचिँदो रहेछ । एक वाक्य पढी सिध्याएपछि अर्को वाक्य नपढी अर्थ नखुल्ने । यसरी हामीले भाषा प्रयोग गरेपछि भाषा बिगारेको भनेर आरोपहरूचाहिँ आए । तर, हामीलाई उभ्याउने यही मैदान मात्रै हो भन्नेचाहिँ ठानेनौं ।

कान्तिपुर

Link copied successfully