गाउँ मरे को जान्छ मलामी ? गाउँ सकिए को नाच्छ झ्याउरे ? जन्ती र मलामी नभएको गाउँ कसरी ‘गाउँ’ हुन्छ ? किताबले देश डुल्दै यथार्थको पदयात्रा गराउँछ ।
कवि प्रेमप्रकाशको नयाँ कविता संग्रह– ‘रगतको तर्पण’ माथि लेखिएको संस्मरणबाट थाहा हुन्छ– कविको यो प्रथम किताब होइन । मगर खाम भाषाका उनका कविता र केही गजल संग्रह प्रकाशित भइसकेका छन् । रोल्पाको उवाका कविले सिंगै रातो र तातो रोल्पा बोकेर ल्याएका छन् कवितामा ।
संग्रहको शीर्षक ‘रगतको तर्पण’ भए पनि रगत मात्र छैन कवितामा । यसभित्रका कवितालाई बाँडिएको छ तीन भागमा– माटोमाथि केही अधिकार, जीवनसँग जहिल्यै पनि, र भावहरूको भव्य भग्नावशेष । माटोमाथि पोखिएको छ– आमाहरूको श्रम । अझै फर्किएका छैनन् घर छोडेका तिनका लोग्ने र छोराहरू । त्यसैले आमाको सत्ता छ र आमाले चलाइरहेका छन् संसार ।
आदिवासी चेतनाको मुहान छ कवितामा, आदिम अन्नको बीउ र हजारौं वर्षका संघर्ष । आदिवासीलाई राज्यले अनदेखा गर्दा आदिवासी स्वयं लजाएका छन् । रगतको विषद राजधानी छ । रगत कटकटाएर बसेको छ रगतको राजधानी, जलेको खरानी छातीमा राखेर थबाङ पर्खिबसेको छ छोडेर जानेहरूलाई । उल्टो यात्रामा छ समय । कवितामा आशा पनि छ र चिन्ता पनि । कतै सपनाको टाइटानिक डुब्ने पो हो कि ? प्रश्न छ– रगत किन कालो धब्बा भएको छ ? पहाड चिसो छ तर त्यसभित्र जिउँदै छ तातोपन । सपना अपूरो छ र विमानस्थलमा घुइँचो । मानौं कि लिलाममा छन् माल । निराशाबीच छ– भूमे पूजा र छिट्टीझ्यामको जिउँदो संस्कृति अनि मगर संस्कृतिका असंख्य बिम्ब ।
विचारको मूल फुटाउँदै बग्छन् कविता तर प्रकट हुन्छन् कलाको सुन्दर कलेवरमा । सुललित बिम्बले कला भर्ने काम गरिएको छ । विविध आयाममा समेटिएका छन् समग्र नेपाल, अनि नेपालीका संघर्ष, आन्दोलन, परिवर्तनको चाह, त्यसपछिको वैचारिक स्खलन, आन्दोलनको गलत बाटोप्रति चिन्ता । विद्रोहको आगोले निर्माण गर्ने हो समाज । वर्गसंघर्षको इतिहास हो समाज । मार्क्सले समाज रूपान्तरणको द्वन्द्वात्मक व्याख्या गरेका छन् ।
नेपाली समाज अनेक द्वन्द्व र संघर्षबाट आइपुगेको हो यहाँ । लिच्छवि, मल्ल, राणा र शाह शासनमा जनता र शासकबीच अनेक द्वन्द्व भए, ०७ साल, ३६ साल, ४६ साल, ५२ साल र ६२, ६३ साल । यही संघर्षको नतिजास्वरूप देशमा गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीकरण जगमगाइरहेको छ । सत्ताको दमन र विभेदको चरम अवस्थामा थियो जब विसं १९१० को मुलुकी ऐनबाट समाजलाई विभाजित गरियो । त्यसको जगलाई ‘जनयुद्ध’ ले हल्लाइदिएको बारे कवि श्यामल लगायत धेरै जना स्वीकार गर्छन् संग्रहको भूमिकामा ।
जगजाहेर छ, ‘जनयुद्ध’ भित्र विभेद र दमनविरुद्ध लडेका इमानदार लडाकु थिए, छन् । हामी क्युवामा लडेका चे ग्वेभाराको उदाहरण दिन्छौं, कविता लेख्छौं, टिसर्ट लगाउँछौं । अनि, देख्दैनौं हाम्रै देशका चे ग्वेभारा । थबाङमा छन् हात गुमाएका कमरेड स्याउला, जीउमा गोली बोकेका इन्द्रबहादुर बुढा सर । पीडा नभएका, दमन नभोगेका मानिस छैनन् रोल्पामा । हामी राजधानीमा बसेर ठूला कुरा त गर्छौं तर थबाङको बलिदानलाई अनुभूत गर्न सक्दैनौं ।
विभेद र अन्यायविरुद्धको लडाइँ प्रचण्डका लागि, बाबुराम र मोहन वैद्यका लागि थिएन । आम जनताका लागि सपनाको तापले लडिएको थियो ‘जनयुद्ध’ । आशा बाँकी छ र कविता आएका छन् । भूपी शेरचनले नउठाएका, नदेखेका, वैरागी काइँलाले नलेखेका कुरा अहिलेको पुस्ताले लेखिरहेको छ । प्रेमप्रकाश रोल्पाका कुरा, मगर समुदायको कुरा लिएर आएका छन् । कवि आहुतिलाई सम्झन्छु । उनी भन्छन्, आफ्नो कुरा आफैंले लेख्ने हो, आफ्नो कोणबाट, भोगाइबाट लेख्ने हो, अरूले लेख्दैन । प्रेमप्रकाशले त्यही गरिरहेछन् ।
बदलिएको छ रोल्पा अनि थबाङ । बाटो पुगेको छ, बस चल्छ, सिमेन्टका घर बनेका छन् । बदलिन पाउनुपर्छ थबाङ । यो सामाजिक नियम हो । निरन्तर परिवर्तन भइरहन्छन् मूल्य, मान्यता र सामाजिक संरचना । कहिले यो सरल रेखामा हुन्छ त कहिले अलि व्यग्र । चरम पुँजीवाद र भूमण्डलीकरणको युगमा त्यसको बहावले समाजका हरेक अवयवलाई छुन्छ । तर, परिवर्तन निराशा होइन, आशा जगाउने गरी बदलिनुपर्छ ।
झन्डाको यात्रा गर्दै सुन्नु छ विजयको फैसला । अहिले निराश छन् थबाङका मानिस । राज्यबाट अझै उपेक्षित छन् । वैदेशिक रोजगारीका लागि खाडी, अरब र कोरिया पुगेका छन् । समग्र देश नै हतारै हतारमा जस्तो । आँखामा आँसु भरेर, थर्थराउँदा खुट्टाहरू उचालेर, यसरी कहाँ जान खोजिरहेछ देश ? गाउँ मर्यो भने को जान्छ मलामी ? गाउँ सकियो भने को नाच्छ झ्याउरे ? जन्ती र मलामी नभएको गाउँ कसरी गाउँ हुन सक्छ ? यसरी कविता देश र गाउँ डुल्दै पाठकलाई यथार्थको पदयात्रा गराउँछन् ।
दोस्रो खण्ड छ– जीवनसँग जहिल्यै पनि अनि छ कविता ‘रगतको तर्पण’ । रगत अर्थात् इतिहास निर्माता । मानव समाजको निर्माता । रगत नभएको भए पृथ्वी रहन्थ्यो वा रहन्नथ्यो भन्ने चिन्तन । उद्विकासको कालक्रम अनि क्रमभंगता । सपनाको बेर्ना छन्, संवेदनाका कारखाना छन् । निष्पट्ट रातमा बलिरहेछ सपनाको ल्यामपोस्ट ।
दर्शनलाई दराजमा नबस, कागजमा नसुत भन्ने आग्रह छ । जीवनको बिहान छ, नानीहरू ब्युँझिएका छन्, सपनाको धारो छ । आधा बाटोमा बिसाउन मिल्दैन जीवनको भारीलाई । अनि छ, तेस्रो खण्ड– भावहरूको भव्य भग्नावशेष । मनले लेखिएका कविता । प्रेम र बिछोडका कविता । छुटेका र सम्झनाका कविता । कविको अनुराग पोखिन्छ मुटुको अभ्यन्तरबाट ।
बुनोट मखमली छ, मन छुने । मरुभूमिको प्रेम छ अनि छापामारको प्रेम । गहिराइमा छन् कवि, भुवाझैं उडेका छन्, डुबेका छन् स्मृतिको सागरमा । प्रेम अनन्त छ, त्यो अनन्तमा कवि विचरण गरिरहन्छन् । भाव छ, भव्य छ र कतै भग्नावशेष । यसरी प्रस्तुत छ कविताका बहुआयाम रगतको तर्पणभित्र ।
मार्क्सको दारी गन्न उद्यत हुँदै केही लेखक/कवि पढेको ढाँचा गरिरहेछन् कम्युनिस्ट मेनुफेस्टो उल्टो समातेर । अचम्म लाग्छ, हामीले बुझ्ने समाज के हो ? हामीले लेख्ने साहित्य, कविता के हो ? जुन लाइन पाब्लो नेरुदाले लिए, ल्याङस्टन ह्युजेज, बर्तोल्त ब्रेख्तले लिए, त्यही लाइन हो कविताको ।
बर्तोल्त ब्रेख्त जो १८९८ मा जन्मिए जर्मनीमा र १९०० पछि सक्रिए देखिए । जनरल र टैंकको कविता, जनताको रोटी, आगामी पिँढीका लागि आदि उत्कृष्ट कविता छन् उनका । भारतमा छन् अवतारसिंह पास, धुमिल, सर्वेश्वर दयाल सक्सेना र मंगलेस डबराल । नेपालमा गोपालप्रसाद रिमाल, भूपी शेरचन र पारिजात जुन बाटोमा हिँडे, त्यही बाटो हिँडिरहेछ कविता । विमल निभा, मीनबहादुर विष्ट, कृष्णसेन इच्छुक अनि पूर्णविराम, जसलाई पपुलिस्ट दुनियाँले बिर्सन पनि सक्छ, तिनकै बाटो छ उज्यालो ।
यथार्थभन्दा टाढा, हावाको जग हाल्दैन कविताले कल्पनामा । कविताको आफ्नै लय विधान, स्वप्न विधान, विचार, बिम्ब र प्रतीक हुन्छ । ती सबै मिलाएर कविता सिर्जना हुन्छ । लामो छ कविताको यात्रा । कवि श्यामलले भन्नु भएझैं यसलाई प्रस्थानबिन्दु मानेर कविताको साधना गर्नुभयो भने निश्चय नै तपार्इंले नेपाली कविता विधामा गर्व गर्न लायक स्थान बनाउनु हुनेछ । जब रोल्पा कविता लेख्न थाल्छ, त्यहाँ ग्रामीण नेपालको काव्यमय तस्बिर उपस्थित हुन्छ नै ।
