भूमिहीन महिलाका पक्षमा

जीवनैभर माटोमै पसिना बगाउने महिला नै भूमि–स्वामित्वबाट वञ्चित छन् 

फाल्गुन २४, २०८१

सुष्मा न्यौपाने

In favor of landless women

नन्दकला कामीको सिङ्गो जीवन–यात्रा पढे थाहा हुन्छ– त्यो कुनै तारेभीरको यात्राभन्दा कम कष्टदायी छैन र मान्छे नै संसारकै सबैभन्दा शक्तिशाली प्राणी हो, जसले सहन नसक्ने चिजै केही छैन । ‘जिन्दगीभरि मिहिनेत र परिश्रम गरिरहें, तर सुख थाहा पाइनँ ।

आनन्दसँग निदाउन र सुरक्षित अनुभूति पाइएन । किन यस्तो नियति भोग्नुपर्‍यो ? धेरै विचार गरें, मसँग भूमि नभएर यस्तो भएको रहेछ,’ यो व्यथा हो, वीरेन्द्रनगर सुर्खेतकी नन्दकला कामीको ।

नन्दकला १२ वर्ष छँदा आमा बितिन्, जेठी दिदीको विवाह भइसकेको थियो । बुबाले जिम्मेवारी पूरा गरेनन् । नन्दकलाले अरूको घरमा काम गरेर ४ भाइबहिनी पालिन् । उनीहरूको जमिन थिएन । ती हुन्– जन्मजात भूमिहीन । खेतीपाती हुनेहरू देखेर उनलाई लोभ लाग्थ्यो, ‘हाम्रो जमिन भएको भए खेती गरेर खान त पाइन्थ्यो, नभएरै दुःख पाइयो ।’

१७ वर्षकी हुँदा उनको विवाह भयो । सम्बन्धहरू पनि आफ्नो हैसियत र अवस्थाअनुसार नै गाँसिने रहेछन् । दुःखीको सम्बन्ध दुःखीसँगै जोडियो । श्रीमान् पनि भूमिहीन । दैलेखको विकट गाउँतिर अर्कैको जग्गामा बसेका उनीहरू पछि कामको खोजीमा सुर्खेत झरे । श्रीमान्–श्रीमती नै ज्यालामजदुरी गरेर गुजारा टारिरहेका थिए । दिनभरि भारी बोक्दा साँझ १० रुपैयाँ कमाउँथे । सहरदेखि केही टाढाको खोल्सीछेउ एउटा सानो झुप्रो थियो । छोरा जन्मियो, जो १८ महिनाको हुँदा अर्को सन्तान पेटमा आयो । उता कामको खोजीमा हिँडेका श्रीमान् उतै कतै बेपत्ता भए ।

नन्दकलालाई पहाडले थिचेजस्तो भयो । रोइन्, कराइन्, चारैतिर भौंतारिँदै श्रीमान् खोजिन् तर भेटिनन् । काखमा दूधे–बालक, कोखमा अर्को सन्तान । न बासकै ठेगान । भारी विपत्तिमा परिन् उनी । भारी बोक्न सक्ने शारीरिक अवस्था पनि थिएन । अर्की छोरी जन्मिई । सुत्केरी–दिनहरू कष्ठसँग बिते, धेरै दिन भोकै कटे । नन्दकला शारीरिक–मानसिक रूपमा विछिप्त हुँदै गइन् । काम गर्न नसक्दा छोराले नालीमा फालिएको खाना टिपेर आफू खाँदै, बहिनीलाई पनि खुवाउँदै गरेको दृश्यले उनको मुटुमा अझै तीर हान्छ । 

निकै खोजीपछि अर्काको घरमा भाँडा माझ्ने र सरसफाइ गर्ने काम भेटिन् । खान–बाँच्नै मुस्किल भएपछि बच्चालाई पढाउन सक्ने कुरै भएन । ७ वर्षकै उमेरमा छोरा पनि बेपत्ता भयो, खोज्दा भेटिएन, नन्दकलाको होस उड्यो । नन्दकलाको हातमा ६ महिनापछि एउटा मोटो खाम आइपुग्यो ।

छोराले पत्रसहित १८ हजार पठाएछ । ऊ भारत गएछ । होटलमा भाँडा धुने काम पाएछ, मासिक ३ हजारमा । र, तलब आएपछि आमालाई पठाएछ । ४ वर्षपछि छोरा फर्कियो र त्यसपछि आउजाउ गर्न थाल्यो । आमा, छोराले दुःख गरेर अलिअलि बचत गरे । 

खाई–नखाई जोगाएको पैसाले वीरेन्द्रनगरको खारखोलीमा इँट्टा लगाएर घर बनाए, तर जग्गाको लालपुर्जा नभएकाले सधैं उठीबासको डर थियो । कोरोनाको हल्ला सुरु भएकै समय उनीहरू बसोबास गरेको जग्गा ‘सरकारी भएकाले’ छाड्न भनियो, अब कहाँ जाने ? थाहा थिएन । 

सरकारले ताकेता गरेपछि छिमेकीहरूले घर भत्काएर अन्यत्रै सरे । नन्दकला र अरू ४ परिवार कतै गएनन् । जाने ठाउँ भए पो ? सरकारले डोजर लगाएर पक्की घर भत्काइदियो । छोराले भाँडा माझेको पैसा र नन्दकलाको रातदिनको मिहिनेतले बनाएको घर भत्काइदिँदा उनलाई सम्हालिनै गाह्रो भयो । 

घर भत्काएपछि पनि त्यहीं बसिरहँदा उनीमाथि गालीगलौज बर्सिरह्यो । उनी अझै त्यही भत्किएको घर मर्मत गरेर बसेकी छन् । उनलाई संसारको सबैभन्दा प्यारो केही चिज छ भने त्यो घर र घर भएको जमिन लाग्छ रे ! उनको रगत–पसिनाको थोपाले त्यो मसानघाट जस्तो खोल्सो बस्ती बन्यो ।

भन्छिन्, ‘कोही जन्मिँदै ठूला महलमा जन्मे । हाम्रो जन्म गरिब र भूमिहीनको कोखमा भयो । जमिन भएको भए यसरी बेवारिसे बन्नु पर्दैनथ्यो । बसेको घर भत्काउन कोही आउन सक्दैनथे । अझै पनि यो जमिनको लालपुर्जा पाउँछु कि भनेर आयोगमा निवेदन हालेको छु । यहाँ दिन नमिले पनि अन्त दिन्छन् रे भन्ने सुनेको छु । जहाँ भए पनि आफ्नो नाममा जग्गा भएको दिन संसारकै धनी मान्छे म हुन्छु ।’ 

भूमिहीनकै परिवारमा जन्मिएर जिन्दगीभरि ‘भूमिहीन’ उपनाम पाएर बाँचेकी नवलपुर सेतापानीकी ७४ वर्षीया कुमारी विकले २०८० सालमा मात्रै भूमि आयोगबाट लालपुर्जा पाइन् । लालपुर्जासँगै बासको सुरक्षा भएकामा उनी निकै खुसी थिइन् । अब खेतीमाथि आफ्नै नियन्त्रण हुने भएको थियो । भूमिहीन भएकाले जंगलछेउ बस्दा सबैले ‘जंगलका मान्छे’ भन्ने जुन उपनाम दिएका थिए, अब त्यो अपमानित उपनामबाट मुक्ति पाउने आशा राखेकी छन् ।

यी कथा–व्यथा प्रतिनिधिमूलक हुन् । देशभरका करिब १५ लाख भूमिहीन परिवारका अनेकन कथा–व्यथा छन् । सुरक्षित आवास र खेतीयोग्य जमिनको ठूलो आशा र सपना छ । भूमि जीवन, जीविका स्रोत, आत्मसम्मान र पहिचान हो ।

महिलाको स्वामित्व र पहुँचमा भूस्वामित्व हुनु सदियौंदेखिको दासत्व र दोस्रो दर्जाको नागरिकबाट मुक्ति अनि स्वतन्त्रताका सुरुवात हो । महिलाको भूमि अधिकारको सवाल उनीहरूको पहिचान र शक्ति निर्माणको अभियान पनि हो । यसैले त विगत २० वर्षदेखि महिलाहरू पनि संगठित रूपमा भूमि अधिकार, बास सुरक्षा र जीविका सहजताका लागि भूस्वामित्वको लडाइँ र संघर्षमा छन् । 

जीवनैभर माटोमा परिश्रम गर्ने महिला किसानहरू नै जमिनको स्वामित्वबाट वञ्चित छन् । जसको माटो र उत्पादनसँग अटुट सम्बन्ध छ, जसले कृषि कर्ममा सबैभन्दा धेरै योगदान गरिरहेका छन्, जो कृषिमा पूर्णतः निर्भर छन्, आज उनीहरू नै भूस्वामित्वबाट टाढा पारिइनु अत्यन्तै अन्यायपूर्ण छ । 

भूमिमा स्वामित्व, पहुँच र निर्णायक अधिकार नहुँदा महिलाको सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक र राजनीतिक अवस्थासमेत उल्लेख्य मात्रामा सुधार हुन सकिरहेको छैन । जनसंख्याको आधा हिस्साभन्दा बढी ओगट्ने महिलाको मानव अधिकारको सुरक्षा, संवैधानिक व्यवस्थाको कार्यान्वयनका लागि भूस्वामित्व वृद्धि गर्नु अपरिहार्य छ । यसले महिलाको समग्र विकास, आत्मसम्मान, स्वाभिमान र स्वतन्त्रताको प्रत्याभूति गराउन, समाजमा समभावको विकास गराउन र पारिवारिक तथा लैंगिक हिंसा र विभेद कम गर्न पनि मद्दत गर्छ । 

चुनौतीहरूका बाबजुद पछिल्ला वर्षहरूमा भूमिमा महिलाको स्वामित्व भने बढ्दै गएको छ । तथ्याङ्कमा हेर्ने हो भने जनगणना २०७८ ले नेपालको कुल घरपरिवारमध्ये २३.८ प्रतिशत घरपरिवारमा कम्तीमा पनि एक महिला सदस्यको भूमिमा स्वामित्व रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । जबकि २०५८ मा ११.७ र २०६८ मा १९.७१ प्रतिशत महिलाको स्वामित्वमा भूमि थियो । 

पछिल्लो समय पुरुष तथा युवा बिदेसिने क्रमसँगै महिलाको जिम्मेवारी र भूमिका झन् बढ्दै गएको छ । महिलाहरूले घरपरिवार, समाज, खेतीपाती, बालबच्चा सबै धानिरहेका छन् । सकेसम्म जमिन बाँझो हुनबाट बचाइरहेका छन् । महिलाको नाममा सम्पत्ति हुनुले उनीहरूलाई उद्यम गर्ने आँट दिन्छ ।

आर्थिक स्रोतमा बाबु, दाजुभाइ र श्रीमान्मा रहेको परनिर्भरता घटाउँछ र महिलाको सशक्तीकरण बढाउँछ । यसले गरिबी घटाउन मद्दत पुग्छ र सन्तानको शिक्षा, परिवारको स्वास्थ्यमा समेत गुणात्मक सुधार ल्याउन सहयोग पुग्छ । महत्त्वपूर्ण विषय, जमिनको जथाभावी बेचबिखन र खण्डीकरणलाई पनि नियन्त्रण गर्छ । 

जीवनभरि जमिन नै नभएका भूमिहीन महिला किसानको सवाल भने जटिल छ । उनीहरूका पुस्तौंपुस्ताले जमिनको लालपुर्जा देख्नै नपाई परलोक हुनुपरेको छ । विभेदकारी सरकारी नीतिका कारण १५ लाख बढी परिवार भूमिहीन छन् । देशको विद्यमान कानुनले सबै नागरिक बराबरी भन्छ, तर यहाँ हुने र नहुनेबीचको खाडल ठूलो छ । यो खाडल पुर्न, भूमिहीन श्रमिक महिला किसानलाई न्याय गर्न, उनीहरूको आत्मसम्मान बढाउन पनि भूमिमा महिला पहुँच वृद्धि गराउनैपर्छ ।

सुष्मा सुष्मा न्यौपाने भूमि अधिकार अभियन्ता हुन् ।

Link copied successfully