ईश्वर पोखरेलले भोगेको समाज एक प्रतिनिधि नेपाली समाज हो, जहाा गरिबी, दुःख र पीडा साझा थियो, त्यो अझै सकिएको छैन । आमाले भोगेका दुःखपूर्ण दिनको सम्झनाले लेखकलाई हरपल पछ्याइरहेको छ ।
कोहीलाई भावुक बनाउँछ ‘आमा’ शब्दले । अझ जब दिवंगत आमाका सम्झनाहरू स्मरण हुन्छन्, तब मानिस ‘नोस्टाल्जिक‘ हुन्छ र विगतको स्मृतिमा डुब्छ । २५ वर्षअघि संसार छाडेर गएकी आफ्नी आमाबारे ईश्वर पोखरेलले ‘आमा, सपना र ताराहरू‘ मार्फत तिनै पुराना दिनलाई ताजा बनाएका छन् ।
घरपरिवार, पढाइ–लेखाइ, आफ्नो व्यक्तिगत भविष्य जस्ता विषयलाई तिलाञ्जली दिएर निरंकुश पञ्चायती राज्य व्यवस्थाविरुद्ध लडेर त्यसलाई बदल्न हिँडेका एक जना राजनीतिकर्मीका मनमा रहेको आमाको स्थान र भावना पढ्दा भावुक नबनिरहन सकिँदैन ।
व्यवस्था परिवर्तन भयो, समय क्रममा ईश्वर पोखरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार, सांसद, मन्त्री, उपप्रधानमन्त्री भए र अहिले नेकपा (एमाले) को दोस्रो नेताका रूपमा शीर्ष नेतृत्वमा छन् । बाहिरबाट हेर्दा दैनिक व्यवहारमा समेत राजनीतिक पक्ष हाबी हुने उनको व्यक्तित्वको अन्तर्य कसरी बनेको रहेछ ? संघर्षको कुन धरातलबाट उठेका रहेछन् ? त्यो बयान यस पुस्तकमा मिहिन रूपमा गरिएको छ ।
‘आमा, सपना र ताराहरू’ मा ठूला कुरा छैनन्, स–साना व्यावहारिक विषयहरू छन्, जसबाट तपाईं–हामी धेरैको जीवन गुज्रिन्छ । चार छोरी र चार छोरालाई छाडेर पिताजी अल्पायुमै बिदा भएपछि आमा रामकुमारीले भोगेको बैधव्यका प्रभाव लेखकका मानसपटलमा अद्यावधि ताजा छन् । ओखलढुंगा माम्खाका गाउँको रूपनालु पाखोबाट सहज जीविका र भविष्यका लागि दाजुहरू तराई झरेपछि र दिदीहरूको बिहा भएपछि आमासँग एक्लै बस्दाका दिनहरूलाई लेखकले विशेष सम्झेका छन् ।
८ वर्षमा पिताजी गुमाएका लेखकले ४६ वर्षको उमेरसम्म आमासँग लगभग १० वर्ष बिताउन पाएको समयका केस्रा यसरी केलाएका छन्, जसले प्रत्येक पाठकलाई ‘मेरो पनि’ भन्ने अवस्थामा पुर्याउँछ । पति र सन्तान वियोगका कहालीपूर्ण दिनहरूमा आमाको मनस्थिति र अवस्था के थियो भनेर लेखकले कतिपय त्यसबेलाका सम्झना र कतिपय अहिलेका विश्लेषणका आधारमा उल्लेख गरेका छन् ।
पुस्तकमा आमाका वरिपरि भएर त्यसबेलाका घटनाक्रम र विषय आएका छन् । कुनै पनि सम्झना वा घटना निरपेक्ष हुँदैनन् र वरिपरिको वातावरणको उल्लेख नगरी तिनको विशिष्टता स्थापित गर्न पनि सकिन्न । त्यही भएर लेखकले ओखलढुंगादेखि जनकपुर, झापा हुँदै काठमाडौंसम्मको परिवेशलाई चित्रण गर्दै त्यसको केन्द्रबिन्दुमा आमालाई राखेका छन् ।
भोजपुर गोगनेको न्यौपाने परिवारमा जन्मेर ओखलढुंगाको माम्खाका पोखरेलसँग ११ वर्ष नपुग्दै बिहा गरेर १२ सन्तानलाई जन्म दिएकी आमाका दुःख, पीडा र संघर्षका कथाहरू नै यस पुस्तकका मूल विषयवस्तु हुन् । स्वाभाविक रूपमा त्यससँगै लेखकको याात्रका बान्कीहरू बीच–बीचमा पढ्न पाइन्छ ।
ईश्वर पोखरेलले भोगेको समाज एक प्रतिनिधि नेपाली समाज हो, जहाँ गरिबी, दुःख र पीडा साझा थियो र अहिले पनि सकिएको छैन । त्यतिबेलाका दुःखपूर्ण दिनहरूको सम्झनाले लेखकलाई हरपल पछ्याइरहेको देखिन्छ । आफ्नो पारिवारिक अवस्थाबारे लेखकले वर्णन गरेका छन्, ‘२०१९ सालतिर हुनुपर्छ, पिताजी दिवंगत भइसक्नुभएको थियो । हामी अनिकालको मारमा थियौं । रुपैयाँ–पैसा त थिएन नै, घरमा भएको अन्नपात सकिनै लागेको थियो । आमाले एक जना गाउँकै दाइको साथ लाएर बेसाहा खोज्न मलाई रुम्जाटार पठाउनुभयो । हामी रुम्जाटारका रत्न साहुकहाँ पुगेर बास बस्यौं’ (पृष्ठ ३७) ।
घरबाट सिधै नदेखिने र डाँडातिर गएर हेर्नुपर्ने रुम्जाटारको वर्णन गर्दा त्यहाँका ऐतिहासिक पात्रहरूको सान्दर्भिक चर्चा गरेका छन् । पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका सहयात्रीहरू त्रिलोचन पाध्या पोखरेल, हरिनन्दन पाध्या, यदुनन्दन पाध्या, झागल गुरुङदेखि सन्त ज्ञानदिल दास, गायिका मेलवादेवीलाई पनि पुस्तकमा स्थान दिएर लेखकले रुम्जाटारको महत्त्व दर्शाएका छन् ।
काठमाडौंबाट बीएड सकेर जनकपुर फर्किएको छोराले अब जागिर खाला र आफ्ना सुखका दिन फर्किएलान् भन्ने आमाको अपेक्षा अन्यथा थिएन । तर, यता अन्यथा भइसकेको थियो– व्यक्तिगत ‘करिअर’ मा होइन, परिवर्तनका लागि जीवन समर्पित गर्ने दृढताका साथ स्विट्जरल्यान्डमा पाएको छात्रवृत्ति पनि त्यागेर आफ्ना मित्र रत्नकुमार बान्तवासँगै लेखक फर्केका थिए ।
‘भन् त बाबु, तँलाई के भयो, कहाँ जाँदैछस् ?’ भन्ने आमाको प्रश्नको उत्तर दिन नसक्ने अवस्थामा रहेका ईश्वर पोखरेल दाजुको घरबाट आमासँग बिदा भएर जानुपर्दाको पीडादायी क्षणलाई यसरी सम्झन्छन्, ‘आमाको त्यो आग्रह वा जिज्ञासाको सही जवाफ दिने साहस ममा थिएन । मैले आमातिर पनि नहेरी झारा टार्ने हिसाबले कहीँ होइन, स्कुलमा सँगै पढ्दाको साथीले बोलाएकाले जान लागेको, आइहाल्छु क्या भनें ।
मैले मेरा हात च्याप्प समाइरहेका आमाका हात एक किसिमले झड्कारेर छुटाउनुपरेको थियो । म फटाफट निस्किएर घरपारिको बाटोमा पुगिसकेको थिएँ । घरतिर फर्केर हेर्न पनि सकिरहेको थिइनँ’ (पृष्ठ ६५) । यसरी भूमिगत भएपछि बीच–बीचमा प्रतिकूलताका बीचमा अनुकूलता खोजेर आमालाई भेट्दाका भावुक क्षणलाई जतनसाथ सँगालेर राखेका लेखकले भावुकताका साथ पुस्तकमा पस्केका छन् ।
२५ शीर्षकमा समेटिएका आमाका सम्झनामा ईश्वर पोखरेल एउटा छोराका रूपमा यसरी प्रस्तुत भएका छन्, उनमा आमाप्रतिको दायित्व निर्वाह गर्न नसकेकामा पछुतो पनि देखिन्छ । पिताको निधनपछि माया गरेर हुर्काएको कान्छो छोराले आफूले सोच्दै नसोचेको काम गरेको र अझ बुहारी पनि फुली नलगाउने (नेवार) ल्याएकामा आमामा कुनै आपत्ति नहुनुबाट छोराप्रतिको अपार माया झल्किन्छ ।
अन्तरजातीय बिहा गरेको जानकारी गराउँदा आमा भन्छिन्, ‘तेरो कुरो सुनेर खुसी लाग्यो बाबु । तेरो जीवन अलपत्र होला भन्ने डर थियो । तैंले हेरेर, मन पराएर बिहे गरिछस्, खुसी छु’ (पृष्ठ १०५) । भूमिगतकालमा लेखकको आमासँग तीन पटक भेट भएछ । वर्षौं नभेट्दा पनि, के गर्दै छ भन्ने थाहा नहुँदा पनि, आफ्नो छोरा सकुशल रहेकामा खुसी थिइन् । पूजापाठ, जपतप आदिमा जीवन बिताएकी आमालाई आफ्ना छोराप्रति कति विश्वास भन्ने कुरा बुहारीको प्रसंगले पनि बताउँछ ।
पुस्तकमा भाषा माझिएको छ, सरल र सरस छ । घटनाक्रमहरू पढ्दा आफैं छेउमै भए जस्तो, सँगसँगै हिँडे जस्तो र आफैंलाई परेको दुःखजस्तो अनुभूति हुन्छ । राजनीतिको रुखो क्षेत्रबाट साहित्यको मिठासपूर्ण क्षेत्रमा अवतरित हुँदा ईश्वर पोखरेलले वास्तवमा आफूलाई नलुकाई व्यक्त गरेका छन् ।
हामी दिवंगत व्यक्तिहरूका स्मृति दिवस मनाउँछौं । त्यसमा स्वदेशी मात्र होइन, विदेशीलाई पनि नछुटाई सम्झन्छौं । हिन्दु संस्कारमा आफ्ना बुबा–आमाको श्राद्ध गर्ने चलन छ । त्यो भनेको वास्तवमा आफ्ना जन्मदातालाई सम्झिने, श्रद्धा व्यक्त गर्ने र नतमस्तक हुने अभ्यास हो । कम्युनिस्ट राजनीतिमा आफ्नो जीवन समर्पित गरेका ईश्वर पोखरेलले कर्मकाण्ड नगरे पनि आफ्नी आमाप्रतिका असीम भावना र सम्झनालाई १ सय ४० पृष्ठ लामो पुस्तकमा संगृहीत गरेर साँचो श्रद्धा प्रकट गरेका छन् । आमाबारे वास्तवमा हजार जिब्रा भएको शेषनागले वर्णन गर्दा पनि अपुगै हुन्छ । त्यही भएर लेखकले आमालाई सपना र ताराहरूसँगै राखेका छन्–
आमाको काखमा बस्ने हुँदा
मैले ताराहरू देखें–
आकाशमा टिमटिमाइरहेका ताराहरू ।
आमाको काखबाट झरेर
टुकुटुकु हिँड्न थालेपछि–
अनगिन्ती ताराहरू गन्न सिकें ।।
थाकेको छैन
ताराहरू गन्ने मेरो अभियानमा
अझै जारी छ आमाको सम्झनामा ।।।
