राष्ट्रिय नाट्य विद्यालय केवल अभिनय सिक्ने थलो होइन, भिन्न तरिकाले जीवन बाँच्न सिकाउने धाम पनि हो । नाट्य–गुरु सुनील पोखरेल र अनुप बरालका लागि त्यो विद्यालय कलाको विशाल पवित्र मन्दिर हो, जहाँ उनीहरू हरदिन आफैंलाई भत्काएर नयाँ स्वरूपमा निर्माण गर्थे ।
राष्ट्रिय नाट्य विद्यालय (नेसनल स्कुल अफ ड्रामा अर्थात् एनएसडी– सन् १९५९), नयाँदिल्लीमा घाम डुब्दै गरेका सुनौला साँझहरू, झमझम वर्षाका धुम्म र शिशिरका चिसा दिनहरूको सम्झना अझै आलै छ त्यहाँका पास–आउट, सुनील पोखरेल र अनुप बरालसँग । यी दुवै एनएसडीका ‘पास–आउट’ विद्यार्थी हुन्, जो फ्रेबुअरीको पारिलो दिन यही विद्यालयको अभिमञ्चमा बसेर अनमोल अतीत सम्झनामा मग्न–मग्न छन् ।
सुनील–अनुप नयाँदिल्ली पुगेका थिए– एनएसडीले आयोजना गरेको २५ औं भारत रंग महोत्सव– २०२५ मा नाटक ‘गच्छामि’ (आरोहण गुरुकुल– निर्देशक सुनील पोखरेल) र ‘कथा कस्तूरी’ (एक्टर्स स्टुडियो– निर्देशक दिया मास्के) को मञ्चनमा सहभागी हुन ।
एनएसडीमा चहलपहल विशेष छ । चारैतिर झिलिमिली छ– महोत्सव बोर्ड, रूखमा बेरिएका बत्तीले । महोत्सवको माहोल दर्शनीय छ । मञ्च, भवन, करिडोर, लवीमा टाँसिएका छन्– दर्जनौं रंगकर्मी र नाटकका जीवन्त तस्बिर । लाग्छ, यो कुनै भव्य आर्ट ग्यालरी हो । तर होइन, यो त नाट्यकर्मीहरूको महाकुम्भ हो, जहाँ सुनील–अनुपका आँखाका नानीमा एनएसडीका ती पुराना दिनहरू तैरिरहेका छन् ।
यी दुई नाट्यशिल्पीका विचारमा आफ्नो उमेर र समयको सबैभन्दा सुन्दर र आदर्शोन्मुख दैनिकी थियो– एनएसडी अध्ययन । ती सुनौला अतीत–कथासँग जोडिएका सब–प्लट सम्झनाहरू केही धमिला भए होलान् तर मुख्य–कथा तिनका स्मृतिको कोषखानामा अद्यापि धपक्क बलिरहेकै छ ।
एनएसडी पढ्दाका ऋतुहरू अझै उनीहरूको मानसपटलमा ताजै छन् । ताता दिनमा पसिना चुहाउँदै गरिएका रिहर्सल, चिसा दिनमा कम्बलभित्र गुँडुल्किएर संवाद कण्ठ गर्ने अभ्यास, वर्षात्मा चिया पिउँदै मित्रहरूसँग गरिएका गम्भीर बहस— ती सबै अनुभवले उनीहरूलाई केवल कलाकार बनाएन, त्यस स्कुलमा सिकेका पाठहरूले जीवनको कोर्स नै बदलिदिए । दुवैको एनएसडी अनुभवको निचोड उही छ– ‘हाम्रो कार्यशैली र जीवन दृष्टिलाई यहाँ सिकेकै ज्ञानले अद्यापि प्रभावित पारिरहेको छ ।’
एनएसडी समयका पुराना गल्लीतिर बरालिएका छन्– ख्यातनाम दुई नाट्यकर्मी । आउनुस्, उनीहरूको श्यामश्वेत समय चियाइहेरौं– २०८१ सालको आँखीझ्यालबाट ।
एनएसडीमा पहिलो पाइला राखेको दिन मनमस्तिष्कमा पलाएको उत्साह, कौतूहल र अपरिभाषित डरको कथा यी दुवै कलाकारले बिर्सेका छैनन् । जीवनभर अभिनयको सपना दखेर त्यो पवित्र रंगमञ्चमा पहिलो पाइला टेक्दै गर्दा तिनका मनमा अनगिन्ती सवाल खेलिरहेका थिए– जस्तो कि, यहाँको प्रशिक्षण कस्तो होला ? म यहाँ फिट हुन सक्छु कि सक्दिनँ ? तर, उतिबेला यी दुईलाई थाहै थिएन— एनएसडी अभिनय सिक्ने थलो मात्रै होइन, जीवन भिन्न तरिकाले बाँच्ने कला सिक्ने धाम पनि थियो ।
अनुप बराल स्मृति–मठमा पसिरहेका थिए । र, फेरि एक युवा विद्यार्थी बनेका थिए त्यस दिन । उनले आफू पढेका कक्षा–कोठा घुमाएका थिए । एनएसडीमा ध्यानस्थ भई नाटक साधना गरेका मञ्चहरू देखाएका थिए । त्यो रूख, पुराना बेन्चमा छुटेका स्मृति साझा गरेका थिए उनले, जहाँ अल्झिएको थियो– उनको जवानी, उत्साह र जीवनकै स्वर्णिम समय । स्मृतिलाई जीवन्त तुल्याउँदै उनले भने, ‘यो कक्षामा म नाटक पढ्थें, यो मञ्चमा अभ्यास गर्थें, उदास दिनमा यही रूखमुनि बसेर पोखरा सम्झिन्थें ।’
सन् १९९२–१९९५ को एनएसडी ब्याच हुन्– अनुप बराल, जसलाई सुरुवाती दिन एकदमै अजिब–अजिब लाग्थ्यो । नयाँ ठाउँ, नयाँ साथीहरू, नयाँ अनुशासन— सबै केही फास्ट–फरवार्डमा चलेजस्तो अनुभव–अनुभूतिमा बाँचिरहेका हुन्थे उनी । एनएसडी कक्षाका अनौठा एक्सरसाइज, शरीर–मन तोड्ने अभ्यासहरू र सिनियरहरूले लिने र्यागिङ सेसन ! तर पनि, त्यो ठाउँ सिर्जनात्मकताको विशाल मन्दिर लाग्थ्यो अनुपलाई, जहाँ उनी हरेक दिन आफैंलाई भत्काएर नयाँ रूपमा निर्माण गर्थे ।
एनएसडी सेरोफेरोको वातावरण पनि कला र संस्कृतिसँगै सास फेरिरहेको थियो । छुट्टीका दिनमा ललितकला अकादमी, त्रिवेणी कला संग्रहालय र आर्ट हेरिटेज ग्यालरीहरूतिर बरालिन्थे बराल, जो बिस्तारै तिनका प्रिय लोकेसन बन्दै थिए । घन्टौं हराउँथे उनी ती आर्ट ग्यालरीहरूमा, जहाँ चित्रहरूको मौनताभित्रका कथा खोज्थे । कहिलेकाहीं चित्रहरूको गहिराइमा हराउँदा समय बितेको पत्तै हुन्नथ्यो ।
सायद ती मौनताभित्र लुकेका असंख्य भावनाले उनको अभिनय–चेतलाई झन् संवेदनशील बनायो । अनुपका लागि शनिबार र आइतबार केवल छुट्टीका दिन थिएनन्— ती दिनमा उनी आत्मखोजको यात्रा गर्थे । कहिले प्रगति मैदान पुग्थे, जहाँ संसारैभरका उत्कृष्ट फिल्म हेर्न पाइन्थ्यो । अनि कहिले पुराना ऐतिहासिक स्थल, दिल्लीका पुराना किल्ला र मिनारहरूतिर भौंतारिन्थे ।
फेब्रुअरीको एक पुरानो, चिसो दिन अनुपको स्मृति–कोषमा अझै टाँस्सिएको छ । एक फिल्म फेस्टिभलमा प्रख्यात लेखक निर्मल बर्मासँग आकस्मिक भेट भयो । उनको छेवै बसेर ‘थ्री म्यागी’ (१९५४) फिल्म हेरे अनुपले । बर्माको सरल व्यक्तित्व र गहिरो दृष्टिकोणले अनुपलाई जीवनैभरका लागि प्रेरित गर्यो । ‘त्यो क्षण मेरो जीवनको एक अविस्मरणीय स्मृति बन्यो,’ एनएसडीको झकिझकाउ रंगीन रंग महोत्सवको चहलपहलबीच अतीत–सम्झना गरिरहेका थिए अनुप ।
एनएसडी अनुपका लागि– एक जीवन्त संसार ! त्यो जादूमयी संसारका हरेक गल्ली, हरेक कुना सिर्जनात्मक ऊर्जाले भरिएको लाग्छ अनुपलाई । साँझ–साँझ बत्तीको मधुरो झिलिमिलीमा साथीहरूसँग हुने कला, जीवन र भविष्यका गहिरा छलफल सम्झना गर्छन् उनी, जुन विमर्शले आफ्नो सोच फराकिलो बनायो भन्छन् । लाइब्रेरी उनलाई मन्दिरजस्तै पवित्र लाग्थ्यो । पुस्तकालयका धूलो टाँस्सिएका पुराना स्क्रिप्टहरू, नाटकसम्बन्धी ग्रन्थहरू पल्टाउँदा उनले केवल नाट्यशास्त्रको ज्ञान लिएनन्, जीवन बुझ्ने नयाँ दृष्टिकोण पनि फेला पारे ।
अनुपका स्मृति–रिलमा एनएसडीका सबैभन्दा अविस्मरणीय क्षण ओहोरदोहोर गर्छन्, ‘इब्राहिम अल्काजी सरको निर्देशनमा भएका भव्य प्रोडक्सनहरू हेर्दा म मन्त्रमुग्ध भएको थिएँ ।’ ‘यार्मा’, ‘थ्री सिस्टर्स’ र ‘द हाउस अफ बर्नाड अल्बा’ नाटकहरूको विशाल सेट, पात्रहरूको सूक्ष्म मनोदशा र स्टेजमा देखिने भव्य संरचनाले उनी भावविभोर हुन्थे । उनलाई लागिरहन्छ, अल्काजी सरको निर्देशनमा उनले जीवनकै बृहत् ज्ञान पाए— रंगमञ्च अभिनयको माध्यम मात्रै होइन, यो त जीवनकै पुनःसिर्जना हो ।
सन् १९९३ मा अनुपले पिना बाउस्चको ‘ब्याम्बु ब्लुज’ प्रोडक्सन हेर्ने अवसर प्राप्त गरे । त्यो थियो, उनको जीवनकै अर्को अविस्मरणीय क्षणमध्ये एक । त्यो नाटकले सिकायो– शरीर, गति र मौनताका माध्यमबाट कथन गर्ने कला कसरी अद्भुत अभिव्यक्त हुन सक्छ ? त्यो दृश्यात्मक सौन्दर्यले उनको आत्मालाई गहिरो रूपमा छोयो । भन्छन्, ‘मभित्रको कलाकार त्यो रात पुनः जन्मिएको थियो ।’ कति धेरै नाटक ? कति धेरै रूप ? कति धेरै शैली ? ती सबैको अनुभव विस्तार गर्न नियमित अभ्यासले नाटकको विराट् संसारलाई नजिकबाटै बुझ्ने ढोका खोलिदियो उनमा ।
एनएसडीमा अनुपका धेरै साथी बने— नवाजुद्दिन सिद्दिकी, राजपाल यादव, चित्तरञ्जन त्रिपाठी (जो अहिले एनएसडीका निर्देशक छन्) । अदिल हुसेन, कुमुद मिश्र, आशुतोष राना र यशपाल शर्माजस्ता सिनियरको अभिनय देखेर उनी बारम्बार चकित हुन्थे । उनीहरूको समर्पण र मिहिनेत देखेपछि अभिनयप्रतिको मोह अनुपमा झन् गहिरो भयो । त्यति बेलासम्म भारत खुल्ला मार्केटमा छिरिसकेको थिएन, ती साथीहरू उनलाई नेपालबाट फर्कंदा जिन्स पेन्ट, निकर या स्पोर्ट्स–सु ल्याइदिन भन्थे । त्यसबेला भारतमा भन्दा नेपालमा गतिला समान पाइन्थे ।
नाटक शिक्षकहरू अनामिका हक्सर, रोबिन दास, अनुराधा कपुरहरूले भनेका–सिकाएका अनगिन्ती पाठ आज पनि आफूसँगै यात्रा गरिरहेको अनुभूति छ अनुपलाई । एक दिन नसिरुद्दिन शाह आए प्रशिक्षण दिन । तीन सिजनमा ४५ दिनको क्लास लिए बरालले शाहसँग । अभिनयप्रति नसिरुद्दिनको गहिरो समझ र अनुभवबाट अनुपले बुझे— अभिनय सीप मात्रै होइन, यो त जीवनलाई महसुस गर्ने तरिका हो ।
रतन थियामको निर्देशनमा ‘थम्बल्नु’ प्रोजेक्टमा काम गर्ने मौका पाउनुलाई अनुप ‘सौभाग्य’ ठान्छन् । ‘लोकसंस्कृति र आधुनिक नाट्यशैलीको संयोजन कसरी सम्भव छ भन्ने ज्ञान मैले त्यहीँ पाएँ,’ रंगीन एनएसडी प्राङ्गणबाट नाटक–घरतिर हेर्दै अनुपले भने । अभिनयका लागि अनुपसँग स्तानिस्लाभ्स्कि, माइजनर, माइकल चेखभका दीक्षा मात्रै थिएनन्, सँगै थिए– ग्रेटोवोस्कियन र सुजुकी मेथड शैलीका कार्यशालाहरू, जसले उनलाई शरीर र आत्माबीचको सम्बन्ध बुझ्न सिकायो । शारीरिक अनुशासन र मानसिक सजगता कसरी अभिनयमा मिसिन्छ ? अनुपले त्यहीं सिके ।
‘जुन सहरमा सांस्कृतिक विमर्श हुँदैन, त्यसको आत्मा हुँदैन’ सोच्ने एनएसडीबाट दीक्षित अनुप बराल अहिले संस्कृतिको सहर पोखरामा नाटकको नयाँ धून भर्दै छन्– नयाँ नाट्य थिएटर ‘हंशध्वनि’ बाट ।
...
एनएसडी फन्को मारिरहेका सुनील पोखरेल विद्यार्थीकालीन दिनहरूको यादले निथ्रुक्कै भिजेका छन् मानौं, उनी त्यही समयको युवा विद्यार्थी हुन्, जसको आँखामा थियो– नाटकको प्यास । उनी एनएसडीको सन् १९८४–१९८७ ब्याच थिए । विद्यालय प्राङ्गणमा पुराना नाटकका श्यामश्वेत पोस्टर टाँसिएका थिए, जहाँ ओम पुरी, नसिरुद्दिन शाह, इरफान खानको लस्करमा सुनीलको पनि श्यामश्वेत फोटो थियो ।
सुनीलले विद्यालयको आँगनमा उभिएको बूढो रूखलाई निकैबेर नियाले । उनलाई लाग्छ, त्यो रूखले नाट्य विद्यालयमा भएका धेरैखाले परिवर्तन देखेको छ । एक दिन इरफानले सुनीललाई भनेका थिए– हेर सुनील, हामी बूढो भएर यहाँ लौरो टेक्दै आउँदा पनि यो रूखले हामीलाई यसैगरी हेरिरहनेछ । पहिलो वर्षका विद्यार्थी सुनील तेस्रो वर्षका विद्यार्थीसँग नाटक खेल्थे, उनले ‘वेस्ट अल राउन्डर’ को अर्वाड पनि पाएका थिए ।
नाट्य विद्यालयको बहुमुख हलसँग सुनीलको गाढा सम्बन्ध छ । त्यो हल पुगेर उनी केहीछिन घोरिए । भने, ‘मलाई रंगमञ्चमा लाग्न प्रेरित गर्ने यो हललाई म मनैदेखि नमन गर्छु ।’ त्यो नाट्य विद्यालयको पुरानो हल हो, जहाँ ओम पुरी, नसिरुद्दिन शाहहरू नाटक गर्थे । सुनील कैयौं रात त्यही हलमा सुते । त्यो हलमा पछि सुनील र साथीहरूले ‘एसेन्ट अफ फुजियामा’ नाटक मञ्चनसमेत गरे ।
एनएसडीको रंगमञ्चमा सुनीलसँगै थिए– ऊबेलाका केही मित्रमण्डली अर्थात् ब्याचमेट, जो आफू पढ्दाका दिनहरूको यादमा मग्न–मग्न थिए । सुन्दर, रमाइला, दिक्कलाग्दा किस्साहरू सम्झिरहेका थिए । सुनीलका ब्याचमेट, कश्मीरका भवानी बसिरी असिर भेटिए, जो यसअघि सन् २०१२ मा नेपाल आएका थिए– गुरुकुलको नाटक महोत्सवमा ।
सुनीलले अर्का ब्याचमेट रंगकर्मी भारती शर्मा पनि भेटे एनएसडीमा, जो दिल्लीमै बस्छिन् । सँगै पढेका मित्र अशोक लोखण्डे (जो बम्बईमा बस्छन्, सिरियल–फिल्म खेल्छन्) लाई पनि भेटे । ‘सुनील दिल्ली आउँदै छन्’ सुनेपछि अशोक सुटिङ छोडेरै आए, मित्र भेट्न । आफूसँगै पढेकी, बम्बई बस्ने मिता वशिष्ठ (जो नाटक निर्देशन गर्छिन्, खेल्छिन्, डकुमेन्ट्री, फिल्म, सिरियल बनाउँछिन्) लाई पनि एनएसडीमै भेटे सुनीलले । ‘एनएसडी पढ्दा हामी सबै साथी तीन वर्ष सँगै बस्यौं, होस्टलमा । कहिलेकाहीं हाम्रो झगडा पनि पर्थ्यो । तैपनि मलाई साथीहरू ‘यो शान्त मानिस हो’ भन्थे,’ सुनीलले साथीहरू सम्झे, ‘त्यो ३ वर्ष एकै परिवारजस्तो भएर पढ्यौं । तिनीहरूको माया लाग्छ ।’
उतिखेर सुनीलका ब्याचमेटहरू ‘नाटक नै गर्छौं’ भनेर पढ्थे । सायद यतिखेर भने एनएसडीका विद्यार्थी बम्बई जाने, सिरियल–फिल्म खेल्ने मायावी सपनामा दिल्ली पुग्छन् । सुनीलका मित्रमण्डलीमा इरफान आफ्नो सपनामा ‘क्लियर’ थिए । सुनीलसँग उनी भनिरहन्थे– म बम्बई नै जान्छु । सुनीलको सम्झनामा उनका मित्र अशोक पनि बम्बई गएर फिल्म खेल्ने सपना देख्थे । दुई साथीहरू बम्बई पुगे, अरू सबैले नाटकमै जिन्दगी खोजे ।
सुनीलको ब्याचमा कस्तो निश्छल प्रेम थियो भने ६ महिनापछि छुट्टिँदै छन् भने ६ महिनाअघि नै रुवाबासी सुरु हुन्थ्यो । पढाइ सिद्धिएर नेपाल फिरेको अर्को वर्षको दीक्षान्त समारोहमा सुनील फेरि एनएसडी पुगे । त्यो बेला साथीहरू भेट भए, एकअर्कालाई अँगालोमा बेरे र भक्कानिएर रोए । अनि किताब उपहार दिए । सुनीलका मित्र इरफान र उनकी श्रीमती सुतापा नेपाल आएका थिए, गुरुकुलको नाटक महोत्सवमा भाग लिन । उनीहरू पोखरा घुम्न गएका थिए ।
सुनील पुगेका थिए– बम्बईको एक टेलिभिजन कार्यक्रममा । टेलिभिजनमा उनले प्रिय साथीहरू इरफान र अशोकसँग बसेर एनएसडीका पुराना स्मृति सुनाएका थिए । र, इरफानकै घरमा एक साता बसेका थिए, विद्यार्थीकालीन सम्झनामा मग्न भएर ।
एकै कक्षा पढेका सुनीलका ६ जना साथीहरू यो संसारबाट कहिल्यै नफर्किने गरी बिदा भइसके । बाँचेका साथीहरूले यसपालि एनएसडीको रंगमञ्चमा बसेर सल्लाह गरेका छन्– जति बाँचेका छौं, मे महिनामा कश्मीर वा नेपालमा भेटौं । कश्मीरमा भेट भए मित्रहरूलाई बसिरले होस्ट गर्नेछन्, नेपालमा भेट भए सुनील–निशा शर्माले । एनएसडीको अभिमञ्चमा साँझ बत्तीहरूले घेरिएर पुराना दिनको यादपछि सबै साथीहरूलाई बूढो हुँदै गएको एउटै अनुभव/अनुभूतिले गाँज्यो । एकले अर्कालाई हेर्दै सुनीलका ब्याचमेटहरूले प्रश्न गरे– ६ जना त गए साथी हो, अब कसको पालो होला ?
सुनीललाई लाग्छ, यो उमेरमा आएपछि बितिगएका दिनहरूको याद अचाक्ली आउँदो रहेछ । त्यो मित्रता, झगडा, उट्पट्याङका सम्झना झन् महत्त्वका लाग्दा रहेछन् । दिल्लीका गल्लीहरूमा छुटेको आफ्नै छायाको स्मृतिदंशले पछ्याइरहेको छ– सुनीललाई आजकल ।
...
भारत रंग महोत्सव– २०२५ मा भ्यालेन्टाइन–डेकै भोलिपल्ट राष्ट्रिय नाट्य विद्यालय (एनएसडी) को अभिमञ्चमा मञ्चन भएको बुद्धको जीवनीमा आधारित नेपाली नाटक ‘गच्छामि’ ले प्रेम र जीवनमाथि गम्भीर विमर्श गरेको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र आरोहणको संयुक्त प्रस्तुतिमा निर्माण भएको ‘गच्छामि’ भन्छ– हामीले प्रेमको वास्तविक प्रकृति बुझ्नुपर्छ । हाम्रो प्रेम अरूमाथि हक जमाउने स्वार्थमा आधारित भयो भने हामीले उनीहरूलाई सुख–शान्ति दिन सक्दैनौं, यसको विपरीत उनीहरूलाई हाम्रो प्रेम जालोजस्तै बेरिएको लाग्नेछ । यस्तो प्रेम जेलबाहेक के हुन सक्छ ?
‘गच्छामि’ की यशोधरा आभारी छिन्– भूमिप्रति, ऋणी छिन्– जलप्रति, कृतज्ञ छिन्– वायुप्रति, धन्य छिन्– अग्निप्रति । यशोधराको अनुहार शान्त छ । मुखाकृति दीप्त छ । छातीमा हात राखेर शान्त स्वरमा तल–माथि, अगाडि–पछाडि हेर्दै उनी बुद्धलाई प्रश्न गरिरहन्छिन् ।
अभिमञ्चको प्रेक्षालयमा जीवन र जगत्माथि यशोधराका असरल्ल प्रश्नहरू छरिएका छन् । उनी बुद्धलाई सोध्छिन्, ‘हे बुद्ध, परमसत्य त जल, थल, अग्नि, वायु र आकाश, सबैतिर एउटै छ । कुटी, राजमहल र घरभित्र छ । गाउँमा छ, सहरमा छ । हिमालमा छ, पहाडमा छ, मैदानमा छ । किन रोज्यौ गृहत्याग र जंगलको बास ?’ मञ्चको मधुरो प्रकाशमा आँखा चिम्लिएकी यशोधराको एकालाप गुन्जिन्छ– ‘चरम जैविक पीडा, अलौकिक आत्मिक ज्ञान र परम स्वर्गिक आनन्द मिश्रित अनुभूति त मातृत्व हो । नारी जीवन जत्तिको ठूलो तपस्या अरू के नै होला ! बुद्ध मौन भएका थिए, मेरा प्रश्न र संशय सुनेर ।’
‘गच्छामि’ भन्छ– प्रवर्जित हुनेहरूले दुईटा अति त्याग्नुपर्छ– पञ्चकाममा आशक्त भइरहनु र शरीरलाई अति कष्ट दिई हठचर्या गर्नु । दुवै अति छोडी मध्यममार्ग अर्थात् बीचको बाटोबाट हिँड्नुपर्छ । संसार दुःखैदुःखले व्याप्त छ । दुःखको कारण छ, दुःखको अन्त्य पनि हुन सक्छ र दुःखको निवारण गर्ने सही मार्ग पनि छ ।
सुनील पोखरेलले निर्देशन गरेको, सीके लालले लेखेको नाटक ‘गच्छामि’ ले जीवनको अनित्यतामाथि विमर्श गर्छ । नाटकको निचोड छ– कुनै कुरा यसकारण नमान कि परम्परादेखि मानिसले यस्तै मान्दै आएका छन् । कुनै कुरा यसकारण नमान कि वर्तमानमा पनि सबै मानिस यस्तै मान्छन् । कुनै शास्त्रमा यस्तै लेखिएको छ, हाम्रो गुरुले यही भनेका छन् आदि आधारमा कुनै कुरा नमान । जुन सत्य तिम्रो बुद्धिले स्वीकार गर्छ, जुन तिमीलाई सर्वथा तिमीलाई सत्य लाग्छ, त्यसैलाई विश्वास गर, त्यसैअनुसार आचरण गर ।
...
२८ जनवरीदेखि १६ फेब्रुअरीसम्म एनएसडीमा चलेको भारत रंग महोत्सव– २०२५ मा ‘गच्छामि’ अघि दिया मास्केले निर्देशन गरेको, नयनराज पाण्डेले लेखेको नाटक ‘कथा कस्तूरी’ १३ फेब्रुअरीमा मञ्चन भएको थियो । पाण्डेको कथा ‘सर्पदंश’ को नाट्य रूपान्तर हो उक्त नाटक, जसले तराईको सपेरा जातिको जीवन–भोगाइको कथा भन्छ । नाटकले नेपालको पश्चिम तराईका सपेरा जातिको जनजीवनका जटिलताको आख्यान सुनाउँदै सपेरामाथि राजनीतिज्ञले गरेको फोहोरी राजनीतिको पनि फेहरिस्त प्रस्तुत गर्छ । राजनीतिले धमिल्याएको समाजको चित्रण दियाले बडो संवेदनशीलताका साथ गरेकी छन् ।
एनएसडीको भारत रंग महोत्सवमा भारतका विभिन्न स्थान, अन्य देशहरूबाट आएका दर्जनौं नाटक मञ्चन भएका थिए । ‘गच्छामि’ र ‘कथा कस्तूरी’ दिल्ली पुग्नुअघि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंमा भएको ६ दिने नेपाल–भारत रंग महोत्सवमा पनि मञ्चन भएको थियो । राष्ट्रिय नाट्य विद्यालयको सहकार्य रहेको महोत्सव राष्ट्रिय नाचघर जमलमा भएको थियो । यसरी भारतसँगै काठमाडौं पनि नाटक महोत्सवको रंगले रंगिएको थियो । ‘नेपाल–भारतबीच वर्षौंदेखि कायम रहेको सांस्कृतिक सम्बन्धलाई महोत्सवले झनै जीवन्त तुल्याएको छ,’ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले महोत्सवबारे भनेकी थिइन् ।
...
आफू पढेकै नाट्यशालामा ‘गच्छामि’ र ‘कथा कस्तूरी’ मञ्चनपछि सुनील–अनुप नोस्टाल्जियाको तलाउमा पौडिनु जायजै थियो । असलमा एनएसडी यी दुवै नाट्यकर्मीको आत्माको एक अभिन्न अंश थियो । त्यो थियो सुनील–अनुपको जीवनको महत्त्वपूर्ण अध्याय, जहाँ तिनले आफैँलाई नयाँ तरिकाले चिन्ने अवसर पाए ।
