दक्षिण सुडानका ७ साँझहरू

बख्तरबन्द गाडीभित्र १० किलोको बुलेट प्रुफ ज्याकेटले म थिचिएको थिएँ । सोचें, गाडी एक जेल हो ।

फाल्गुन १७, २०८१

विमल खतिवडा

7 Evenings of South Sudan

दक्षिण सुडानमा लामखुट्टे धेरै लाग्छ, त्यसैले मलेरियाको जोखिम छ । र, सुडान जानुअघि हामीले एल्लो फिबर र हेपाटाइटिस–बीको खोप लगायौं । अनि खोप लगाएकै दिन हैजाको झोल औषधि र एक–एक साता अन्तर पारेर मलेरियाको तीन ट्याब्लेट औषधि पनि खायौं । 

खोप लगाइएको पहेँलो कार्ड नबोके दक्षिण सुडानमा प्रवेश निषेध छ । त्यसैले दक्षिण सुडानको राजधानी जुबा उड्दा हाम्रो एक हातमा थियो– पहेँलो कार्ड र अर्को हातमा पासपोर्ट । 

सुडान उड्नुअघि नेपाली सेनाको शान्ति कार्य निर्देशनालयले हामीलाई प्रस्ट पारेको थियो– त्यो देश कस्तो हो ? त्यहाँ के गर्नुहुन्छ, के हुँदैन ? उसले भनेको थियो– अनुमति नलिई फोटो, भिडियो नखिच्नु, लुकेर खिचेको पाइए मोबाइल फोन, क्यामरा कब्जामा लिनेछन् । खासमा यो पुरानो समस्या रहेछ, जस्तो सेनाका जवानका मोबाइल खोसिएछ । यस्तो किन हुन्छ ? दक्षिण सुडानमा शान्ति सैनिक भएर काम गरिसकेका प्रमुख सेनानी रामप्रसाद लामिछाने भन्छन्, ‘फोटो–भिडियो खिच्दा त्यहाँको समुदायले आफूलाई हेपेको महसुस गर्छन् र तिनीहरू यस्तो रुचाउँदैनन् ।’ 

भारतको नयाँदिल्ली, इथियोपियाको एडिस अबाबा बोल अन्तर्राष्ट्रिय विमानस्थल हुँदै इथोपियन एयरलाइन्सबाट हामी जुबा विमानस्थल पुग्यौं । जहाजबाट ओर्लंदा तातो रापले स्वागत गर्‍यो । लाग्यो, हामी तातो तावामाथि उभिएका छौं । घाम थियो– पसिनै छुटाउने, तापक्रम ३४ डिग्री सेल्सियसभन्दा माथि । 

विमानस्थलमा हामीलाई पर्खिएको थियो– यूएन लेखेका गाडीका लस्करले । यात्रामा थिए– नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी हरिबहादुर विश्वकर्मा, शान्ति कार्य निर्देशनालयका प्रमुख सेनानी रामप्रसाद लामिछाने, परराष्ट्र मन्त्रालयका नायब सुब्बा टंकबहादुर राई, रक्षा मन्त्रालयका नायब सुब्बा रामप्रसाद नेपाल, पत्रकार छायाचन्द्र भण्डारी, सेनाकै प्राविधिक सुबेदार अनिल अधिकारी, जमदार रमेशकुमार बस्नेतहरू । पछि कंगो हुँदै प्राविधिक सेनानी (मेजर) किशोर दुलाल जुबा पुगेको टिममा मिसिए । 

...

दक्षिण सुडान कस्तो देश हो ? घुम्नुअघि त्यो बुझ्नु जरुरी थियो । यो एक अफ्रिकी भूपरिवेष्टित मुलुक हो, क्षेत्रफलको हिसाबले नेपालभन्दा पाँच गुणा ठूलो । जुबा–नेपालबीचको समय ३ घण्टा ४५ मिनेट फरक छ, जहाँ १० राज्य छन् । र, क्रिश्चियन धर्मको बाहुल्यता छ । सन् २०११ मा सुडानबाट दक्षिण सुडान बन्नुको मुख्य कारण धर्म थियो । किनभने सुडानमा मुस्लिम र दक्षिण सुडानमा क्रिश्चियन धर्मको बाहुल्यता छ ।

त्यसमा डिन्का जातिको बाहुल्य छ, जसको ३५ प्रतिशत उपस्थिति छ । न्युर जाति १५ र अन्य विभिन्न जाति ५० प्रतिशत छन् र अनुमानित जनसंख्या १ करोड २० लाख छ । प्रतिव्यक्ति आय ३४० अमेरिकी डलर छ । ब्रिटिस साम्राज्यबाट सन् १९५५ मा सुडानले स्वतन्त्रता प्राप्त गर्‍यो । त्यसलगत्तै सुडान र दक्षिण सुडान आन्तरिक द्वन्द्वमा फसे र सन् २०११ मा दक्षिण सुडानले स्वतन्त्रता प्राप्त गर्‍यो अनि छुट्टै देश बन्यो । 

आन्तरिक राजनीतिक किचलो, जातीय समूहका सशस्त्र गतिविधि मात्रै होइन, दक्षिण सुडानमा राज्य संयन्त्रको पकड पनि कमजोर छ । नयाँ मुलुक घोषणासँगै सन् २०११, जुलाई ८ देखि यहाँ शान्ति र स्थायित्व कायम गर्न, अशान्त परिस्थिति काबुमा ल्याउन संयुक्त राष्ट्रसंघ (यूएन) प्रयासरत छ । 

राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचार समर्थित जातीय समूहहरू क्रमशः डिन्का र न्युरबीचको द्वन्द्वले देशको अवस्था दयनीय छ । दुई जातीय समूहका सशस्त्र गतिविधि नियन्त्रण यहाँको मुख्य चुनौती हो । राष्ट्रपति र उपराष्ट्रपतिबीचको टकरावले राज्यका संयन्त्र पनि विभाजित छन् । त्यसबाट सिर्जित अशान्त परिस्थिति नियन्त्रणमा ल्याउन, देशभित्र शान्ति र स्थायित्व कायम गर्न राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) स्थापना भएको हो । अनमिसअन्तर्गत राष्ट्रसंघ शान्ति स्थापनाका लागि सक्रिय छ । 

नेपाली शान्ति सैनिकका रूपमा यहाँ आइपुग्नेहरूको मुख्य जिम्मेवारी हुन्छ– स्थानीयको सुरक्षा गर्नु, सौहार्दपूर्ण वातावरणको सिर्जना गर्नु, अन्तर्राष्ट्रिय कानुन– मानवअधिकारको रक्षा गर्नु, विस्तृत शान्ति सम्झौता कार्यान्वयन गर्नु । 

हाल अनमिस मिसनमा २० भन्दा बढी मुलुकका सैनिक, प्रहरी र गैरसैनिक गरी १८ हजार १ सय ३४ जना कार्यरत छन्, जसमा नेपाल शान्ति सेनामा सुरक्षाकर्मी पठाउने देशमा तेस्रो स्थानमा छ । एक नम्बरमा रुवान्डा र दोस्रोमा भारत छन् । अहिले नेपाल आर्मी, सशस्त्र र नेपाल प्रहरी गरी १९ सय ६६ जना अनमिसमा कार्यरत छन् । नेपाली सेनाको तीनवटा युनिट अनमिसमा तैनाथ छ, जसमा दुईवटा युनिट जुबा र अर्को रुम्बेकमा छ । यूएन हाउसमा सधैं जेनेरेटरको मात्र भर छ । यूएनका गाडी राति ८ देखि बिहान ६ बजेसम्म सडकमा चलाउन पाइँदैन । 

...

हामी विमानस्थलबाट केही परको यूएन हाउसतिर लाग्यौं । विमानस्थल छाडेर भित्री बस्ती लाग्दा कच्ची सडक भेटिन्छ, जहाँ सवारीसाधन हिँड्दा बेस्सरी धूलो उड्छ । स्थानीय सडकमा हिँडिरहेका बेला गाडीको गति बढाउन पाइँदैन । यदि धूलो उडे स्थानीयले गाडी नियन्त्रणमा पनि लिन सक्छन् । 

जुबा क्षेत्रमा कतै पक्की, कतै झुप्रा घरहरू छन् । हेर्दा लाग्छ, त्यो नेपालको कुनै विकट बस्ती हो । भित्री बस्ती पसेसँगै सडकको दायाँ–बायाँ झुप्रा घर बढी देखिन्छ । सडकमा बिनाहेल्मेट सर्वसाधारण मोटरसाइकलमा ओहोरदोहोर गरिरहेका दृश्य सामान्य लाग्छ । एउटा मोटरसाइकलमा तीन जनासम्म गुडिरहेका हुन्छन् । दक्षिण सुडानमा प्रायः अग्ला कदका महिला र पुरुष मात्रै देखिन्छन् । यी र यस्तै दृश्य नियाल्दै हाम्रो गाडी यूएन हाउसको गेटमा पुग्यो । 

मौसम निकै तातो थियो । ‘हावा–पानी मिल्दैन’ भन्दै सँगै गएका महासेनानी हरिबहादुर विश्वकर्माले सबैलाई प्रशस्त पानी पिउन सुझाव दिइरहेका थिए । अनमिसका फोर्स कमान्डर लेफ्टिनेन्ट जनरल मोहन सुव्रमनियनले नेपाली शान्ति सैनिकले मिसनमा गरेको कामको खुलेरै प्रशंसा गरेका थिए । चीन, बंगलादेशबाट प्रतिनिधित्व गर्दै विभिन्न क्षेत्रको कमान्ड सम्हालिरहेका उच्च तहका आर्मी अधिकारीले पनि नेपाली शान्ति सैनिकको खुलेरै प्रशंसा गरिरहेका थिए । 

तर, हामीले निर्बाध सडकमा हिँड्न पाएनौं । सेना पनि बिनापोसाक, बिनासवारीसाधन र हतियार पैदलै बाहिर निस्कन पाउँदैन । यूएन हाउस बाहिर अन्य समुदायका मानिस पैदल हिँडेको कतै देखिएन । दक्षिण सुडानका ट्राफिक प्रहरी भने ठाउँ–ठाउँमा भेटिन्थे । पोसाकमा ठाँटिएका ट्राफिक प्रहरीको खुट्टामा भने प्रायः चप्पल हुन्थ्यो । 

उक्त देशका आर्मीको गाडी सडकमा देखापरे अन्य देशका सुरक्षाकर्मीका सवारीसाधनले साइड छाडिदिन्छन् । तर, ट्राफिक नियम पालना भएको चाहिँ देखिएन । सडकमा आफूखुसी सवारीसाधन गुडेका थिए । जुबा क्षेत्रमा भने स्थानीयको बाक्लो भीड देखिन्थ्यो । केही दिनको जुबा बसाइपछि हाम्रो यात्रा ३ सय ५० किलोमिटर दूरीको रुम्बेकतिर सोझियो । त्यहाँ पुग्न जहाज चढ्नुपर्थ्यो ।

7 Evenings of South Sudan

नेपालजस्तो यता सडक यातायात सहज थिएन । त्यसपछि हामी यूएनको १५ जना क्षमताको जहाज चढेर एक घण्टामा रुम्बेक पुग्यौं । जहाजबाट नियाल्दा तल–तल समथर भूभाग देखिन्थ्यो । एउटा मात्रै लामो सडक खनेको देखिन्थ्यो । अनकन्टार ठाउँहरूमा घर देखिन्थ्यो, तर सडक देखिँदैनथ्यो । 

जमिनमा अन्नबाली, सागसब्जी, फलफूल देखिएन । अन्नबाली उब्जाए राम्रो फल्ने, तर लुटिने डरले तिनीहरू त्यसमा ध्यान दिँदैनन् । रुम्बेक विमानस्थलमा चार्टर जहाज बेलाबेला पुग्छ, जहाँ कच्ची विमानस्थल थियो । त्यहाँको तापक्रम पारो चढेर ३८ डिग्री सेल्सियस पुगेको थियो । 

रुम्बेकमा पनि अन्य मुलुकका आर्मीसँगै नेपाली सेनाको गण थियो, जहाँ रातो माटो देखिन्थ्यो । श्रीनाथ गण प्रवेश गर्दा नेपालको कुनै भेगमा पुगेझैं अनुभूति भयो । गेटबाट छिर्नसाथ हुर्किएका वर–पीपलको हरियाली देखियो । त्यो जोर वर–पीपल सन् २०१४ मा रणसिंह दल गणले नेपालबाटै ल्याएर रोपेको थियो । त्यसैको एकछेउमा काजु र अर्को छेउमा लटरम्म आँप फलेको थियो । श्रीनाथ गणकै एक अधिकृतले काजुको बोट देखाउँदै भनेका थिए, ‘सुडानीहरू काजु खाँदा हेपिएको महसुस गर्दा रैछन् ।’ 

अर्को कुनामा सरिफा पाक्नै लागेको थियो । ‘सर यहाँ रोपे के फल्दैन र ?,’ एक सैनिक अधिकृत गणभित्र रोपेका तरकारीका बोट देखाउँदै भन्दै थिए, ‘मलजल पुगे नफल्ने केही रैनछ, सुडानीहरू चोरी हुने डरले अन्नबाली लगाउन डराउँदा रैछन्, हामीले गणभित्र घिरौंला, तितेकरेला, हरिया मकै, टमाटर नै फलाएका छौं ।’ यहीबीच शान्ति सैनिकका रूपमा काम गरिरहेका महिला शान्ति सैनिकसँग पनि गफिने मौका मिल्यो । 

एक शान्ति सैनिक भन्दै थिइन्, ‘शान्ति मिसनमा आएर यति लाख, उति लाख कमाएर नेपाल फर्किएँ भन्ने धेरै हुन्छन्, तर कसरी काम गर्‍यौं, देशको अवस्था कस्तो रैछ, काम गर्न कत्तिको गाह्रो हुँदोरैछ भन्ने कसैले सोध्दैन ।’ ती शान्ति सैनिकले थपिन्, ‘पैसा कमाउन त्यत्ति सजिलो छैन, यो ठाउँमा कुन बेला के हुने हो, पत्तो हुँदैन, खटाई नेपालको भन्दा कडा छ ।’ 

अपराह्नको चार बज्दै थियो, घामको ताप घटेकै थिएन । केही सैनिक शान्ति–गस्ती हिँड्ने तयारीमा थिए । यहीबीच शान्ति सैनिकसँगै बख्तरबन्द गाडीमा हेल्मेट, बुलेट प्रुफ ज्याकेट लगाएर पेट्रोल गस्तीमा निस्कने चर्चा चल्यो । बुलेट प्रुफ ज्याकेटको तौल हुँदोरैछ– करिब १० केजी । त्यही ज्याकेट लगाएर बख्तरबन्द गाडीभित्र पस्यौं । गाडीमा बसेर दोहोरो भिडन्त भए कसरी जोगाउन सकिन्छ ? शान्ति सैनिकहरूले ‘ब्रिफ’ गर्दै गस्ती अघि बढाए । 

पसिनाले शरीर निथ्रुक्कै भिजिसकेको थियो । बुलेट प्रुफ ज्याकेटले शरीरलाई अचेटिरहेको थियो । गाडी त सानोतिनो जेलझैं लाग्यो । भित्रबाट बाहिरतिर चियाउँदा देखिन्थ्यो– बालबालिकाहरू फुटबल खेलिरहेका र चोकचोकमा भेला भएर गफ गरिरहेका मानिसहरू । बख्तरबन्द गाडी गस्तीमा निस्कँदा स्थानीयहरू बेलाबेला हामीतिर नजर लगाउँथे । करिब एक घण्टा रुम्बेक बजारमा फन्को मारेपछि हामी गणमै प्रवेश गर्‍यौं । यो ठाउँमा पक्की सडक देखिएन । पक्की घर पनि खासै देखिएनन् । बख्तरबन्द गाडीबाट निस्कँदा लाग्यो– देश छाडी यति टाढासम्म आएर शान्ति सैनिकका रूपमा काम गर्न साँच्चै नै गाह्रो रहेछ । 

...

फेरि हाम्रो यात्रा जुबातिरै सोझियो । साता दिनको दक्षिण सुडान यात्रा–समय सकिँदै थियो । जुबा फिरेपछि एक सैनिक अधिकारीले दक्षिण सुडानका केही रोचक कुरा सुनाए । जस्तो यहाँ जसको धेरै गाई हुन्छ, ती धनी कहलिन्छन् । एउटै गाईको मूल्य एक सयभन्दा बढी अमेरिकी डलर पर्नेरैछ । गाई मासु र दूधका लागि प्रयोग हुन्छ । त्यसैले दक्षिण सुडानमा बथानका–बथान गाई पाल्नेहरू धेरै रहेछन् । 

‘यता विवाहमा केटाले केटीलाई दाइजोका रूपमा गाई दिने चलन छ,’ एक वर्षसम्म मिसनमा खटिएका सैनिक अधिकृतले भने, ‘गाई धेरै हुनेहरू कत्तिले त प्रतिष्ठाका लागि तीनवटासम्म विवाह गर्दा रैछन् ।’ गाई चोरीका घटना पनि घटिरहँदो रहेछ । ‘गाई चोरी प्रमुख समस्या हो,’ ती सैनिकले भने, ‘गाई चोरहरू मान्छे मार्न पनि पछि पर्दैनन्, यस्तोमा मिसनमा रहेका शान्ति सैनिकको उपस्थिति अनिवार्य जस्तै हुन्छ ।’ 

बेलाबेला विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) अन्तर्गत विभिन्न ठाउँमा स्थानीयलाई खाद्यान्न वितरण गरिन्छ । तर, खाद्यान्न लिएर जाँदा अज्ञात समूहको आक्रमणमा परिने खतरा पनि रहन्छ । त्यही खतरा मोलेर नेपाली शान्ति सैनिकले सम्बन्धित ठाउँमा खाद्यान्न बोकेका सवारीसाधन पुर्‍याउँछन् । कत्ति ठाउँमा त अज्ञात हतियारधारीको आक्रमणमा समेत शान्ति सैनिक पर्दारहेछन् । 

नेपाल फिर्ने अघिल्लो दिन दक्षिण सुडानमा व्यवसायको सिलसिलामा बसोबास गरिरहेका रामप्रसाद उपाध्यायले नेपालीको जमघट गराए । त्यसपछि विश्वकै सबैभन्दा लामो नाइल नदी किनार पुग्यौं, जहाँ नदीबीच एउटा क्रुज आधा डुबेको अवस्थामा देखिन्थ्यो । पहिलो पटक सेनाको क्याम्पबाहिर नदी किनार पुगेर फोटो खिच्न पाइयो, थियो– विदेशीहरूको चहलपहल । त्यो गर्मीमा आँपको छहारीमा सुस्ताउँदा आनन्द–अनुभूति भयो । 

अब देश फर्किने समय आइपुग्यो । जुबाबाट उडेको सवा घण्टामा इथियोपियाको एडिस अबाबा बोल अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टा रोकियौं । १४ महिनाको शान्ति मिसन सकुशल सकेर नेपाल फिरिरहेका एक सैनिक अधिकृत भन्दै थिए– ‘यो मेरो दोस्रो मिसन थियो, तर अरू देश हेर्दा हाम्रो देश स्वर्गै रहेछ । हाम्रो देश त कत्ति राम्रो–राम्रो, चाहे पर्यटकीय ठाउँका लागि होस्, वा हावापानीकै लागि । खानेकुराको स्वाद पनि हाम्रै देशको मिठो ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully