हातैमा भएको मोबाइल, ल्यापटप वा कम्प्युटरमा उत्तिखेरै पुग्ने गरी ‘इमेल’ लेख्न छाडेर अब पत्र कसले पठाउने ? अब ‘पोस्टल इन्क्वायरी एन्ड ट्र्याकिङ सर्भिस’ प्रणाली लागू भएको छ, जसकारण हुलाक सेवामा पहिल्यै पोस्टेज शुल्क तिर्नुपर्छ र टिकट टाँस्ने प्रचलन छैन ।
काठमाडौँ — तपाईंले कसैलाई चिट्ठी पठाउनुभएको छ ? छ भने पत्र–खाममा हालेर प्रापकको ठेगाना लेखेपछि पत्र मञ्जुषामा खसाल्नुअघि हुलाक टिकट किनेर त्यसलाई थुकले भिजाई टाँस्नु पनि अवश्य भएकै होला ।
जीवनमा यो सम्झना छैन भने तपाईंले कि कहिल्यै हुलाक सेवा विभागको सेवा लिनुभएको छैन कि तपाईं बिजुली–पत्रको जमाना आइसकेपछि हुर्केको ‘जेन जी’ पुस्ताको प्रतिनिधि हुनुहुन्छ । यी दुवै होइन र तपाईंले पत्र पनि पठाउनुभएको छ, तर टिकट चाहिँ टाँस्नु नै भएन भने एउटा कुरा पक्का छ, तपाईंको पत्र कहिल्यै ठेगानामा पुगेन र त्यो पुग्ने पनि छैन । किनभने, टिकट नटाँसिएको पत्रलाई हुलाक सेवाले गन्तव्यमा पुर्याउने काम नै गर्दैन ।
यस्तोमा, ‘ट्रक ड्राइभर’ फिल्ममा करिश्मा मानन्धर ‘चिट्ठी आएन...मेरो मायालुको मलाई चिट्ठी आएन’ भन्दै रोएको कारुणिक दृश्य पत्र कुरेर बसेको अधीर प्रापकको जीवनमा पनि घटित हुन पुग्न सक्छ । नजाने, कति पटक पत्र बीचमै हराएर यस्तो भएको पनि होला धेरै मानिसको जीवनमा । यस्तो सम्झना तपाईंसँग पनि छ वा हुलाकीको आसमा प्रेमिकाको पत्र कुरेर बसेका सिनेमाका दृश्यले तपाईंलाई त्यसै ‘नोस्टाल्जिक’ बनाउँछ भने तपाईंको स्मृतिको कुनै पत्रमा हुलाक टिकटका अनेक रंग, बान्की र प्रयोगका क्षणहरू पनि थपक्क बसेकै हुनुपर्छ ।
किनभने, तपाईं निश्चय पनि इन्टरनेट नजन्मिँदै हुर्केको पुस्तालाई प्रतिनिधित्व गर्नुहुन्छ । धेरै पत्र पठाएको सम्झना भए पनि अब त त्यो कुनै सुदूर अतित भइसकेको छ । पाउनेको हातैमा रहेको मोबाइल, ल्यापटप वा कम्प्युटरमा उत्तिखेरै पुग्ने गरी ‘इमेल’ लेख्न छाडेर अब पत्र कसले पठाउने ? टिकट किन टाँसिराख्ने ? त्यसमाथि, अचेल त पत्रै पठाउनुपरे पनि ‘पोस्टल इन्क्वायरी एन्ड ट्र्याकिङ सर्भिस’ (पिट) प्रणाली लागू भएका कारण हुलाक सेवामा पहिल्यै पोस्टेज शुल्क तिर्नुपर्ने भएपछि हुलाक टिकट राख्ने प्रचलन छैन ।
यसले गर्दा नागरिकता लिन वा सरकारी कामकाजका निवेदनमा आइपर्दा हुलाक टिकट टाँस्नुपर्ने आवश्यकताबाहेक अरू अवसरमा यो सानो कागजको टुक्राको सम्पर्कमा आइराख्ने अवस्था निम्तिँदैन । यसरी, प्रविधिको विकासका कारण मानिसहरूले भुल्दै गएको टिकट सम्झाउनै हुनुपर्छ, गएको हप्ता हुलाक सेवा विभागले टिकटहरूको प्रदर्शनी गर्यो । बबरमहलस्थित विभागको कार्यालयमा संकलकहरूका दुर्लभ टिकट पनि राखिएका थिए ।
पुराना–नयाँ विविध बान्की र रंगहरूको प्रदर्शनी हेरेपछि लाग्यो, केबल हुलाकी प्रयोजनका लागि चाहिने सानो कागजको टुक्रा मात्रै होइन टिकट, यो इतिहासको प्रमाणिक एउटा ‘दसी प्रमाण’ पनि हो र हो कलादेखि जैविक विविधतालाई जोगाउने एउटा प्रयास पनि ।
दुर्लभ र पुराना टिकट संकलन गर्नु मानिसहरूको वैयक्तिक सोख पनि हो । र, यस्ता सोख भएका मानिसहरू संलग्न एउटा अन्तर्राष्ट्रिय संस्था नै छ, ‘वर्ल्ड फिलाटेलिक सोसाइटी’ जसले हुलाक टिकटहरूको संकलन, अध्ययन र प्रदर्शन गर्ने काम गर्छ । फ्रान्सेली शब्द फिलाटेली दुई अलग शब्द ‘फिलोस’ र ‘अटेलिया’ मिलेर बनेको छ । फिलोसको अर्थ हुन्छ– प्रेम र अटेलियाको अर्थ हुन्छ– करबाट मुक्त ।
कुनै समय चिट्ठी–पत्र पठाउँदा प्रापकले चर्को शुल्क तिर्नुपर्थ्यो । पैसा तिर्नुपर्ने झन्झटले प्रापकहरू अधिकांश पत्र बुझ्न अस्वीकार गर्थे । यसले गर्दा हुलाक सेवा एक घाटा र अत्यासयुक्त काम हुन पुगेको थियो । त्यसलाई अन्त्य गर्न बेलायतका एक प्रबुद्ध व्यक्ति सर रोवल्यान्ड हिलले एउटा क्रान्तिकारी विचार ल्याए ।
त्यो के भने, टिकट टाँसेर पत्रको अग्रिम भुक्तानी गर्ने । यसो गर्दा प्रापकले पत्र सित्तैमा पाउँथ्यो भने पठाइएका हरेक पत्रको रकम असुली भइसकेको हुनाले हुलाक सेवा घाटामा जाने प्रश्नै आउँदैनथ्यो । हिलको सुझाव अनुसारै बेलायतको हुलाक सेवा विभागले सन् १८४० मा विश्वकै पहिलो हुलाक टिकट ‘पेनी ब्ल्याक’ प्रकाशित गर्यो । महारानी भिक्टोरियाको तस्बिरसहितको यो टिकटले एक पेनीमा आधा आउन्ससम्मको पत्र देशभरि पठाउन सकिन्थ्यो । यसले बेलायतको हुलाक सेवामा क्रान्ति ल्यायो, जसलाई विश्वभरका अरू देशले पनि अनुसरण गरे ।
त्यसको ठीक ४१ वर्षपछि सन् १८८१ अर्थात् १९३५ मा राणा प्रधानमन्त्री रणोद्विप सिंहको पालामा नेपालमा हुलाक घरको स्थापना भयो । अनि त्यसको तीन वर्षपछि वि.सं. १९३८ मा नेपाली हुलाक टिकटको पहिलो प्रकाशन गर्यो । एक आनाको मूल्य रहेको उक्त टिकटमा खुकुरी क्रस र श्रीपेच अंकित छ । विश्व हुलाक संघ स्थापनाको ५ वर्षपछि नै नेपालमा टिकट प्रकाशन हुनुमा जंगबहादुरको बेलायत यात्रा, उनले त्यहाँ देखेको बलियो हुलाक प्रणाली र फर्किंदा नेपालमा ल्याएको गिद्दे प्रेसको ठूलो भूमिका थियो ।
त्यसयता नेपालले १४ सय ६८ थरीको हुलाक टिकट प्रकाशन गरिसकेको छ । हुलाक सेवा विभागसँग यीमध्ये अधिकांश टिकटहरू छन् । तर, नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदारप्रसाद प्रधानसँग हालसम्मका सबै टिकटहरूको संकलन छ । कक्षा ३ मा पढ्दादेखि टिकट संकलनको सोख पालेका प्रधान अहिले ७७ वर्षका भए र हुलाक सेवा विभागको निमन्त्रणामा गत साता उनले आफ्ना केही दुर्लभ टिकटलाई प्रदर्शनीमा राखे । त्यहाँ राखिएकोमध्ये २०१५ सालमा प्रकाशित नेपालको नक्साले विभागकी महानिर्देशक मनमाया पंगेनीको ध्यान तान्यो ।
‘हेर्नुस् त, चुच्चे नक्सा यतिबेलै छापिइसकेको रहेछ,’ प्रधानको प्रदर्शनीमा राखिएको टिकटतिर आँखा टिकाउँदै उनले संकेत गरिन्, ‘यो त मलाई पनि थाहा थिएन ।’ आम जानकारीमा नआएका यस्ता अरू पनि धेरै ऐतिहासिक तथ्य प्रदर्शनीमा राखिएका हुलाक टिकटले दिइरहेका थिए ।
नेपालमा मात्रै नभएर हुलाक टिकट आउनुअघि पत्राचार केवल धनी वर्गका लागि मात्र सीमित थियो । टिकटले यो सेवा सर्वसाधारणका लागि सुलभ बनायो । परिवारहरू जोडिन थाले, व्यापार विस्तार भयो र यसले साक्षरतामा वृद्धि पनि भयो ।
हुलाक टिकटहरूले महादेशहरूबीच भरपर्दो सञ्चार सुनिश्चित गरेर व्यापार, कूटनीति र उपनिवेश प्रशासनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे । यसले राष्ट्रहरूलाई जोडेर विश्वव्यापीकरणलाई तीव्र बनायो । नेपाल र भारतबीच वि.सं.१९९३ पछि नेपाली र भारतीय टिकट प्रयोग गरेर आपसमा पत्र पठाउन सक्ने गरी सम्झौता भयो, जसले दुई देशका बासिन्दाबीच खबर लेनदेनमा ठूलो सहजता ल्यायो ।
वि.सं. २०१३, असोज २६ मा नेपाल विश्व हुलाक संघको सदस्य भयो । यसले विश्वभरि नै पत्राचार गर्न नेपालीलाई सजिलो बनायो । हुलाक सेवालाई भरपर्दो बनाउन वि.सं. २०१९ मा हुलाक ऐन र वि.सं. २०२० मा हुलाक नियमावली तयार भयो । त्यसको ८ वर्षपछि २०२८ मा हुलाक सेवा विभागको स्थापना भयो । हुलाक सेवा विभागकी महानिर्देशक पंगेनी १४६ वर्षको हुलाक टिकटको इतिहासले नेपाललाई विश्व मानचित्रमा अलग्गै पहिचान दिएको जिकिर गर्छिन् ।
यो सानो कागजको टुक्राले कूटनीतिक खबरदेखि दुई प्रेमीहरूलाई हामी एकअर्कालाई सम्झिरहेका छौं है भन्ने जानकारी दिनका लागि अद्भुत सजिलो संयन्त्र खडा गरिदियो । पुराना सिनेमाहरूमा अक्सर पत्र कुरिरहेका अधीर प्रेमी वा आफन्तको दृश्यले दर्शकलाई अझै पनि भावुक बनाउने गर्छ ।
सुरुमा शासक र प्रशासकहरूको नाममा टिकट काटिन थाले पनि समयक्रममा विविध वस्तु, घटना र महत्त्वपूर्ण सामाजिक कामलाई सम्झाउन पनि हुलाक टिकट छापिन थाल्यो । समयक्रममा नेपाली टिकटहरूले पनि श्रीपेच र क्रस खुकुरीको विरासतलाई त्याग्दै सगरमाथा, बुद्ध र सहिद, लोपोन्मुख वनस्पति र राष्ट्रिय सम्पदाहरूलाई छाप्न थाल्यो । अस्ति भर्खरै हुलाक सेवा विभागले कपिलवस्तुमा उत्खनन गर्दा भेटिएको दुर्लभ बुद्धकालीन सिक्काको सम्झनामा ‘पञ्चमार्क मुद्रा’ को टिकट छाप्यो, जो नेपालको सबैभन्दा कान्छो टिकट हो ।
कुनै समय कलाकार केके कर्माचार्य हुलाक टिकट डिजाइन गर्थे विभागका लागि । उनको अवकाश भएपछि पन्ध्र वर्षदेखि यो काम सम्हालिरहेकी छन् विभागकी कला अधिकृत पूर्णकला लिम्बू । यो अवधिमा उनले ३ सय ७२ टिकटहरूको डिजाइन गरेकी छन् । नेपाल शिक्षा परिषद्को हीरक जयन्तीका अवसरमा निकालिएको परिषद्को लोगो अंकित टिकट उनको पहिलो डिजाइन थियो ।
‘केही सहिद र दुर्लभ वनस्पतिका टिकटहरू अब आउने तयारीमा छन्, यी मेरा पछिल्ला डिजाइन हुन्,’ ललितकला पढेकी र ताप्लेजुङको फुङलिङमा जन्मेहुर्केकी पूर्णकला भन्छिन्, ‘व्यक्ति, संस्कृति, वनस्पति र अरू यस्तै महत्त्वका कुराहरूलाई हामी टिकटमा छाप्ने काम गर्छौं ।’
संविधानले हुलाक सेवालाई संघको एकल अधिकारमा सूचीकृत गरेपछि यसको संरचना परिवर्तन हुँदा ३ हजार हुलाकीले जागिर गुमाए । इन्टरनेटको बढ्दो प्रयोगले हुलाक टिकटको प्रचलनमा पनि कमी ल्यायो । समयक्रममा असान्दर्भिक झैं हुँदै जान लागेको हुलाक सेवालाई अब प्रविधिमैत्री बनाएर झनै सान्दर्भिक कसरी बनाउन सकिएला ? यसबारे महानिर्देशक पूर्णकला पंगेनी अचेल सोचिबस्छिन् । मानिसहरूलाई हुलाक टिकटबारे सम्झना होस् भनेर उनले गएको साता प्रदर्शनी गरेपछि टिकट संकलकहरूले आफ्ना संकलन देखाउने मौका पाए । त्यहाँ हेर्न जानेहरूले पुराना कुरा थाहा पाए । विभागसँग अहिले झन्डै ३० करोड मूल्यका हुलाक टिकट मौज्दात छन् ।
पिट प्रणालीमा गए पनि टिकट टाँस्नुपर्ने व्यवस्था लागू गरेर यी मौज्दात सम्पदाबाट रकम आर्जन गर्न सकिन्छ है भनेर उनी सरकारी संयन्त्रमा प्रस्ताव अघि बढाउने क्रममा छिन् । अचेल पनि सरकारी कामकाजमा १० रुपैयाँका टिकट धेरै प्रयोगमा आइरहेका छन् । विभागले पाँच वर्षअघि छापेको ५ सयको टिकट पनि छ । त्यसलाई अदालती शुल्कका सट्टा टिकट प्रयोग गर्न लगाएर प्रचलनमा ल्याउने प्रयत्नमा विभाग छ ।
