नेवाः महाभोजको सुस्वाद

भोज नेवाःको रगतमै छ । यद्यपि भोज चलाउन सक्ने हैसियत, वातावरण र परिस्थिति गुम्दै गइरहेको छ । अचेल नेवाःले चलाउने भोजमा केवल ‘भोज’ छ, ‘नेवाः’ छैन ।

फाल्गुन १०, २०८१

सुरेश किरण

Neva: The deliciousness of the feast

यो फागुन यसै पनि भोजकै चटारो लागिरहने महिना हो । त्यसमाथि बाह्रै महिना भोजले निथ्रुक्कै भिजिरहने नेवार समुदायका लागि फागुनमा भ्याइनभ्याई हुन्छ । खाना परिकारका लागि नेवाः उसै पनि प्रसिद्ध छ । त्यसमाथि भोज एउटा यस्तो आयोजन हो, जहाँ केवल खाने काम सम्पन्न भइरहेको हुन्छ । त्यसैले नेवाः भोजबारे जानिफकार गैरनेवाःहरू भन्ने गर्छन्– यदि भोज नेवाः परिकारकै हो भने ज्यान जाये छोड्नु हुन्न । भोज खुवाउने भनेपछि नेवाः समुदाय पनि ज्यानै दिएर लागेका हुन्छन् । 

भोज भन्नेबित्तिकै अक्सर सोच्ने गरिन्छ, विवाह वा व्रतबन्धको भोज । तर, नेवा: समुदाय विवाह र व्रतबन्धमा मात्रै भोज खाँदैनन् । भोज खान नेवा: समुदायसँग सयौं बहाना छन् । कुनै भोज व्यक्तिको संस्कारसँग सम्बन्धित छ, कुनै ऋतु अनुसार मनाइने चाडपर्वसँग, कुनै देवीदेवताको पूजासँग भने कुनै जातीय गुठीसँग वा कुनै चाहिँ संगीतसँग र कुनै अन्य रचनात्मक कार्यसँग ।

संस्कारकै कुरा गरौं न– बच्चा जन्मिएको हुँदैन, गर्भ रहेकै बेलादेखि त्यो गर्भे बच्चाको नाममा भोज सुरु भइसक्छ । जस्तो : गर्भावस्थामै धौबजी (दहीच्युरा) खुवाउने, सिचुपालु खुवाउने, सिन्ह: (टीका) पठाउने, घ्य:बजी (घिउ च्युरा) खुवाउने जस्ता व्यवहार गरी भोज खुवाइन्छ । बच्चा जन्मिसकेपछि मचाबू ब्यंके कु छ्वयेगु, मचाबू स्व: वनेगु, प्यूचां न्ह्याक: वनेगु, औंचाबिया: वयेगु, ला नक: वनेगु आदि इत्यादि नामका कर्म सम्पन्न गर्दै भोज खुवाइन्छ ।

त्यसपछि न्वारान, अन्नप्रासन, व्रतबन्ध वा प्रव्रज्यासंवर, इहि, बाह्रा:, विवाह, जंको, मृत्यु र मृत्युपछि पनि विभिन्न संस्कारका नाममा भोज आयोजना हुन्छ (फणीन्द्ररत्न वज्राचार्य, नेवा: नसा नख:, १११३) । यी संस्कारका भोजहरू पनि एक दिन मात्रै हुँदैन । जस्तो : छोरीको इहि हुँदा दुई दिन भोज चल्छ । र, विवाह हुँदा सुपारी पठाएदेखि नै भोज सुरु हुन्छ– जस्तो पाहां ल्या: (पाहुना संख्या गणना) गर्दा भोज, राँगा हेर्न जाँदा भोज, मुख्य भोज, पछि कोठा भोज, अन्माउनुअघि दुलहीलाई थाय्भजु भोज, ह्वंके (स्वयम्बर) पछि दुलहा–दुलही दुवैलाई सब्जंब्व भोज, विवाहपछि दुलहा भित्र्याउने भोज, दुलहाका तर्फबाट वंजला भोज, अन्त्यमा भोजमा सहयोग गर्नेहरूका लागि भिंबेली भोज ।

मानिस मर्दा चार दिनमा गरिने भोज, सात दिनमा गरिने भोज, १२ दिनमा गरिने भोज, १३ दिनमा गरिने भोज, त्यसपछि ४५ दिन, ६ महिना, वर्ष दिन, दुई वर्षमा गरिने भोज । एउटै अवसरमा पनि धेरै दिन भोज हुन्छ । र, अनौठो के भने यी भोज आयोजना गर्ने चलन थरपिच्छे फरक हुन सक्छ । अर्थात् महर्जन, तुलाधर, शाक्य, मानन्धर, खड्गी आदि फरक–फरक थरको भोज फरक–फरकै हुन्छ । कतिपय सन्दर्भमा थर एउटै भए पनि स्थान फरक भएमा एउटै थरको पनि भोज फरक हुने गर्छ । कीर्तिपुरको महर्जन र भक्तपुरको महर्जनले खुवाउने भोज फरक हुन्छ । 

यी विभिन्न अवसरमा खाइने भोजका परिकार पनि फरक–फरक नै हुन्छन् । कुनै भोजमा चार वटा मात्रै परिकार राखिन्छ भने कुनैमा पाँच, छ, आठ, १२, २४ हुँदै ८४ परिकारसम्म राखेर भोज खुवाउने विभिन्न अवसर नेवा: समाजमा प्रचलित छ । कुन भोजमा कति परिकार राख्ने भन्ने पनि छुट्टै विधान छ । सुखद भोजमा कति परिकार, दु:खद भोजमा कति परिकार ? भोजमा खाइने परिकारको प्रकार र संख्याले त्यो कस्तो खाले भोज हो भन्ने जनाउ दिन्छ । 

भोजमा विभिन्न परिकारका खाना त छँदै छ, साथै पेय पदार्थका रूपमा जाँड र रक्सीको पनि प्रयोग हुन्छ । विभिन्न प्रकारका भोजमा फरक परिकार प्रयोग गरिएजस्तै जाँड पनि भिन्नै प्रकारको राखिन्छ । नेवा: समुदायले कम्तीमा पनि १२ प्रकारका जाँड प्रयोग गर्ने चलन छ । जस्तो: ह्याउँथ्वँ (थ्वँ अर्थात जाँड), भौथ्वँ, मूतिथ्वँ, कताथ्वँ, ब्योयाथ्वँ, अजिथ्वँ, त्यपथ्वँ, जूतिथ्वँ, प्या:थ्वँ, भ्यावरथ्वँ, ब:ताथ्वँ, भुतिक्वयं थ्वँ (ज्यापु पञ्च, भाबो, ने.सं. ११२१) । 

नेवा: समाजले आफ्नो भोज, पूजाआजा र विभिन्न संस्कारमा विभिन्न रोटी (मरी) हरूको प्रयोग गर्छन् । हामीलाई सामान्यतया योमरी, चतांमरी, ग्वारामरी आदि जस्ता केही नाम थाहा छ । लेखक ज्यापु पञ्चले नेवा:ले प्रयोग गर्ने ४१ प्रकारका मरीहरूको नाम संकलन गरेका छन् । त्यसमध्ये अहिले प्रयोगमा नआइसकेका केही मरीहरू यस्ता छन् : कसारमरी (पञ्चदानमा दिइने राटी), सतफली मरी (जंकोमा प्रयोग गरिने), भसंमरी (बारा जस्तो मरी), पञ्चपक्वानमरी (यज्ञमा प्रयोग गरिने), अफुङमरी (सत्यनारायण व्रतमा प्रयोग गरिने) आदि । 

यसरी हेर्दा के देखिन्छ भने भोजमा नेवा: समुदाय अत्यन्तै धनी छ । तर, केहीको धारणा छ– भोजमा नेवा: समुदाय धनी छ, तर भोजले नै नेवा: समुदायलाई गरिब बनाएको छ । नेवा:को भोज हेरिसकेपछि ‘नेवार बिग्रियो भोजले’ भन्ने उखानलाई पनि सम्झिहाल्ने गर्छन् । 

तर, नेवा: समुदायले खाने भोज केवल परिकारसँग सम्बन्धित छैन । यी भोजमा धार्मिक–सांस्कृतिक महत्त्व पनि रहेको हुन्छ भने यो नेवा: सभ्यताको पहिचान पनि हो । भोजमा खुवाइने परिकारहरूलाई विभिन्न देवीदेवताको प्रतीक मान्ने चलनसमेत छ । जस्तो : च्युरालाई पृथ्वी, जिरा भएको चतांमरीलाई चन्द्रमा, अदुवालाई महाकाली, रक्तिलाई श्वेतकाली, अमिलोलाई कौमारी, लैंसू (मुलाको चाना) लाई गणेश, खुर्सानीलाई प्रचण्ड भैरव, छोयलालाई (कंकाल) आदि मान्ने गरिन्छ (डा. राजनलाल जोशी, नेवा: भोज) ।

त्यतिमात्रै होइन भोजसँगै लप्ते (सालको पात) पनि यदि आठ वटा राखेर गाँसिएको छ भने अष्टमातृका, १६ वटा राखेर गाँसिएको छ भने सोह्र भैरवको प्रतीक मान्ने चलन छ । भोज आयोजना गर्दा परिकारहरू पकाउने छुट्टै थरको समेत व्यवस्था गरिएको छ, जसलाई सुवा: (सुवाल) भनिन्छ । भोज पकाउन आरम्भ गर्दा सुवालको हातलाई विधिपूर्वक पूजा गरेर मात्रै काम थालनी गर्ने चलन पनि छ । सुवालको हातलाई गरिने पूजालाई ‘हापूजा’ भनिन्छ । 

नेवा: समुदायले खाने भोजको इतिहास हेर्ने हो भने नेवा: समाजमा धेरै त्यस्ता किंवदन्ती एवं लोककथाहरू पाइन्छ, जहाँ भोजको चर्चा गरिएको हुन्छ । जस्तो: मसानमा देवीदेवताहरूले मरेको मान्छेको मासुको भोज खाएको कथा, अष्टमातृकाहरूलाई बच्छलामाईले भोजमा बोलाएको कथा, अजिमाहरू दिदीबहिनीहरूकहाँ भोज गएको कथा आदि ।

यसबाहेक लिखित इतिहास नै हेर्ने हो भने लिच्छवि राजा नरेन्द्रदेवको ललितपुर गैह्रीधारा (संवत् ८३) को अभिलेख र अनन्तलिंगेश्वरको अभिलेखमा भोजको चर्चा गरिएको छ (धनवज्र वज्राचार्य) । त्यस्तै लिच्छवि राजाहरू ध्रुवदेव र जिष्णुगुप्तका अभिलेखहरूमा पनि भोजसम्बन्धी प्रसंगहरू परेको देखिन्छ । मल्लकालमा भोजको प्रचलन अझै विकसित भएको पाइन्छ । तत्कालीन मल्ल राजाहरू जयस्थिति मल्ल, भूपतीन्द्र मल्ल, जयप्रकाश मल्लहरूले विभिन्न अवसरमा प्रजालाई भोज खुवाएको अभिलेख पाइएको छ । 

बरु इतिहासमा त्यतिबेला खाने भोज र अहिले खाने भोजका परिकारहरू भने धेरै बदलिइसकेको देखिन्छ । जस्तो : मल्लकालमा खुवाइने राँगाको पंला, बोकाको पंला, भँगेराको पंला, करन पंला, सोहनी ङा पंला आदि नाम गरेका परिकार अहिले खाने त परै जाओस् सुन्न पनि पाइँदैन । ५० वर्षअघिसम्म नेवा: भोजमा गोर्मा (सुकुटी मिसाएर बनाइने एक खाले झोल), खिचाभ्यात: (एक प्रकारको घाँस), भुयूम्व:क्वा: (तिल राखेर बनाइने झोल), हिम्व:क्वा: (रक्ती राखेर बनाइने झोल) जस्ता परिकार राख्ने चलन थियो । अहिले यी परिकार बनाउन जान्ने मान्छेसमेत भेटिँदैन ।

नेवा: भोजमा खाइने मासुकै कतिपय परिकारहरू अहिले लोप भइसकेको छ । जस्तो : किमला, तुपाला, तालातुला, मार्स्याला, हुल्ला, कालाखुना ला, खुनाला, दुलापिला, ख्वपूला, सँसला, सपू पंला, च:गुलिला, कचुला, चिल्ला, घालापाला (ज्यापु पञ्च, भाबो, ने.सं. ११२१) जस्ता परिकारबारे अहिले थाहा हुने व्यक्तिसमेत पाइँदैन । नेवा: भोजमा प्रयोग हुने मासु राँगाकै हुने गर्छ । एउटा राँगाको सम्पूर्ण शरीरभरिका ७० वटा अंगको नाम नेपालभाषामा लेखिएको पाइन्छ । कुनै बेला ती सबै अंगको परिकार बनाउने गरिन्थ्यो । अहिले चिकित्सा विज्ञानले राँगाको मासुलाई ‘रेड मिट’ करार गरेपछि नेवारहरू राँगादेखि नै डराउन थालेका छन् ।

पहिले–पहिले भोज खाने पनि आफ्नै नियम हुन्थ्यो । नेवा: भोज विशेषत: सुकुलमै पलेंटी कसेर खाने गरिन्छ । सुकुलको सबैभन्दा माथि ज्येष्ठ नागरिकलाई राखिन्छ । भोज सालको पात (लप्ते) मै खाइन्छ । लप्तेमा भोजको प्रारम्भिक परिकारहरू राखिसकेपछि सबैभन्दा पहिले ज्येष्ठ नागरिकले खान सुरु गर्छन् । त्यसपछि मात्रै अरूले खान सुरु गर्नुपर्छ । यो भोजमा कतै तीन चरण र कतै चार चरणसम्म दोहोरिँदै परिकार राख्न ल्याइन्छ । परिकार राख्दा पहिलो चरणमा के–के राख्ने, दोस्रो, तेस्रो र चौथोमा के–के राख्ने भन्ने पनि नियमबद्ध विधान छ ।

अन्त्यमा फलफूल र दही राखिन्छ । भोज सकेपछि दाँत कोट्याउने सिन्का (खौका) समेत दिइन्छ । खौका लिएपछि भोज सकिन्छ । तर, ‘सकियो’ भनेर झ्वाट्ट उठ्न पाइँदैन । पहिलो लाइनका ज्येष्ठ नागरिकहरू उठेपछि मात्रै अरू उठ्ने हो । अहिले यो चलन हराइसकेको छ । जंको (बूढो पास्नी) को भोजमा पहिले–पहिले चतांमरी, तालातुला, त:खाला र केही परिकार पा:मक: (एक खाले माटोको भाँडो) मा राखेर पाहुनालाई घरमै दिएर पठाउने पनि चलन थियो । पछि दायेका ला (मासुको कवाफ) राख्ने चलन आए पछि यो चलन हटेर गयो (ज्यापु पञ्च, भा:ब्व, ने.सं. ११२१) । 

नेवा: भोजको आयोजना गर्दा पकाउने, परिकारहरू राखिदिने (क्याटरिङ सेवा), सरसफाइ गर्ने सबै काम गुठीका गुठियारहरूले गरिदिन्छन् । यसमा पैसा खर्च गर्नुपर्दैन । लेखक प्रेमहिरा तुलाधरका अनुसार, तुलाधर समुदायको भोज हुँदा भोजमा आएकै पाहुनाहरूले परिकारहरू राखेर ‘सर्भ’ गर्ने चलन थियो । पाहुना आएकै पुरुषहरूले भोज राखेर महिलाहरूलाई खुवाउने र महिलाहरूले खाइसकेपछि मात्रै पुरुषले खाने चलन थियो । अहिले यो पनि कथा जस्तै भइसक्यो । 

आखिर किन खान्छन् नेवारहरू यति धेरै भोज ? यसको पनि लामै मानवशास्त्रीय इतिहास छ । इतिहासले पुष्टि गरिसकेको विषय हो, काठमाडौं उपत्यका कुनै बेला पानीले भरिएको ठूलो ताल थियो । विज्ञानले भन्छ, विभिन्न कालखण्डमा आएको ठूला भूकम्पहरूले गर्दा पहाड चर्किएर यहाँको पानी बाहिर जान थाल्यो र ताल सुक्दै गयो । लाखौं वर्षसम्म पानीमा डुबेका कारण यहाँको माटो अत्यन्तै मलिलो थियो र त्यसैले यहाँको उर्बर शक्ति बेजोड थियो । अत्यन्तै धेरै उत्पादन हुने भएकाले ती खाद्यान्नहरू खाएर सकिने अवस्थामा थिएन ।

त्यसैले यहाँका स्थानीय नेवा: बासिन्दाहरूले ती अन्नहरूलाई सुकाएर वर्षैभरि खान सकिने गरी भण्डारण गर्न थाले । जस्तो: चामल कुटेर च्युरा बनाए । अझ बचेको चामलले जाँड र रक्सी जस्ता पेयपदार्थ बनाए । गेडागुडी सबै सुकाएर स्टोर गर्न सकिने बनाए । वास्तवमा भोजमा खाने भनेको यही स्टोर गरी राखिएका खाद्यान्नहरू नै हुन् । भोजको आयोजना भनेको यी खाद्यान्नहरूको सदुपयोग गर्नु हो । नेवा: समुदाय तत्कालीन समयमा खाद्यान्नमा समृद्ध थिए । त्यसैले अनेक प्रकारका परिकार बनाउन जाने । अनि, ठूला भोजहरू आयोजना गर्न सके । अत: नेवा: समुदायले मनाउने भोजलाई तत्कालीन नेवा: समृद्धिको द्योतक पनि मान्न सकिन्छ । 

भोज र नातागोता

नेवा: समाजमा भोज खानु र खुवाउनुको अर्थ त छँदै छ, भोज नखानु र नखुवाउनुको पनि अर्थ लाग्ने गर्छ । कुनै आफन्तसँग सम्बन्ध जोडिराख्ने वा तोडिदिने भन्ने कुरा पनि भोजले निर्धारण गर्छ । भोजमा बोलाउनैपर्ने परिवारका कुनै सदस्यलाई आफूले आयोजना गर्ने कुनै भोजमा निम्त्याइएन भने त्यसपछि ऊसँग सम्बन्ध टुट्छ ।

कुनै आफन्तसँग मनमुटाव भइरहेको छ भने ऊसँग आधिकारिक रूपमै सम्बन्ध तोड्ने ‘सजिलो’ उपाय उसलाई भोजमा निम्ता नदिनु हो । पारिवारिक सम्बन्ध जतिसुकै टाढा भए पनि भोजमा बोलाइरहुन्जेल त्यो कायमै रहन्छ । भोज बोलाउन बन्द भएपछि त्यो सम्बन्ध तोडिएको मानिन्छ । कसैले बोलाएको भोज यदि खान गएन भने पनि ऊसँग सम्बन्ध तोडिएको मानिन्छ । भोजको निम्ता पाएर पनि खान नजानुको अर्थ ऊसँगको सम्बन्ध स्थगन गर्नु हो । कसैसँग आधिकारिक रूपमै सम्बन्ध तोड्नु छ भने त्यसको ‘सजिलो’ उपाय उसले बोलाएको भोजमा सहभागी नहुनु हो । 

भोजले नै सम्बन्ध जोडिने र भोजले नै सम्बन्ध तोडिने भएकाले यसलाई नेवा:हरू आफ्नो भाषामा ‘भोजं ब्या: भोजं स्वा: (भोजले तोड्छ भोजले जोड्छ)’ भन्छन् । यो भोजसँग जोडिएको सामाजिक सम्बन्ध हो ।

के भोजले नेवा: बिग्रिएको हो ?

माथि भनिएजस्तै भोजको कुरा गर्दा ‘नेवार बिग्रियो भोजले’ भन्ने उखान पनि सँगसँगै आइहाल्छ । किनभने नेपाल मात्रै होइन यो दुनियाँमै नेवार जति भोजको आयोजना गर्ने कुनै जाति सायदै भेटिएला । त्यसैले नेवारहरू भोज मात्रै खाएर बिग्रिएका हुन् भन्ने यो उखान बन्न गएको हुनुपर्छ । तर प्रश्न यो छ, के साँच्चै नेवार समुदाय भोजकै कारण बिग्रिएको हो त ? यसको चुरो ठम्याउन भने भोज होइन नेपालको राजनीतिक–आर्थिक इतिहास केलाउनुपर्ने हुन्छ । 

‘नेवार बिग्रियो भोजले’ भन्ने उखानको एक अंश मात्रै हो । यसको पूर्ण उखान हो– ‘राणा बिग्रियो मोजले, नेवार बिग्रियो भोजले’ । कसैकसैले ‘बाहुन बिग्रियो मोजले’ पनि भन्छन् । यसमा ‘बाहुन’ शब्द जोड्नु उपयुक्त हुँदैन । किनभने नेपालमा न बाहुन जाति बिग्रेको छ, न बाहुनले कुनै मोज गर्न पाएको छ । बाहुनले हालसालै आएर सत्ताको केही मोज गर्न पाए पनि सामाजिक मोज भने अहिलेसम्म गर्न पाएजस्तो लाग्दैन । मोज गरेको सत्तासीन राणाहरूले नै हो । त्यसैले यो उखान बनेकै नेपालमा राणा शासन सुरु भएर पतन भइसकेपछि वा पतनको संघारमा पुगिसकेपछि हो भन्ने स्पष्ट छ ।

अब इतिहासको क्रम हेर्दा थाहा हुन्छ, राणा शासन पतनको अवस्थासम्म पुग्दा नेवारहरू बिग्रिसकेकै अवश्य हो । तर, त्यसको कारण भोज होइन । कारण हो, शाह–राणा शासकहरूले उपत्यकाका रैथाने नेवा: समुदायको भूमिमाथि गरेको अनधिकृत कब्जा । पृथ्वीनारायण शाहको उदयपछि उनले उपत्यकाका नेवा: जातिको भूमि कब्जा गरी आफ्ना सैनिकहरूलाई जागिर दिएका थिए । उनले गोरखाबाट काठमाडौं बसाइँ सरेका सबै गोर्खाली सैनिक अधिकारीहरूलाई काठमाडौंमा बिघाका बिघा जमिन दिए । त्यो जग्गा नेवा:हरूकै थियो ।

राणा शासनको उदय भएपछि उनीहरूले पनि नेवा: समुदायको भूमि कब्जा गर्दै त्यहाँ आफ्ना लागि आलिसान दरबार र दरबारसँग सम्बन्धित अन्य थुप्रै संरचनाहरू बनाए । त्यसले गर्दा नेवा:हरू क्रमश: भूमिहीन बन्दै गए । भूमि नभएपछि उत्पादन भएन । उत्पादन नभएपछि भोज चलाउन कठिन हुँदै गयो । भोज आयोजना गर्नुपर्ने गुठी र संस्कारहरू कायमै छन्, तर भोजका लागि चाहिँ भूमि भने कम हुँदै जान थाल्यो । 

माथि पनि भनियो, नेवा:को भोज केवल खानुसँग सम्बन्धित छैन । यो धार्मिक, सांस्कृतिक र सामाजिक मर्यादासँग पनि जोडिएको छ । हुन सक्छ, केहीले त्यो मर्यादा कायम गर्न आफूसँग बाँकी रहेको भूमिको सानो टुक्रा पनि बेचे होलान् । कोही त्यस्तो मर्यादा कायम गर्न नसकेर उपत्यका छोडेर पलायन पनि भए होलान् । मध्यकालसम्म मजाले भोज चलाउन सक्ने नेवारहरू शाह–राणाकालमा आएर भोजै चलाउन नसकेर भाग्नुपर्ने अवस्था किन आयो ? पञ्चायतकाल आएपछि गुठी संस्थान स्थापना गरी गुठीसँग सम्बन्धित जग्गा पनि सरकारी नियन्त्रणमा गयो । त्यसपछि गुठीसँग आबद्ध भोजहरू पनि क्रमश: लोप हुँदै जान थाल्यो । नेवा: समुदायको भोज र राजनीतिसँग सम्बन्धित लेख्नै बाँकी सहकथा हो यो ।

भोज नेवा: समुदायको रगतमै छ । यद्यपि भोज चलाउन सक्ने हैसियत, वातावरण र परिस्थिति भने गुम्दै गइरहेको छ । यस्तो अवस्थामा नेवा: समुदायले जुन खाले भोज चलाए, त्यसले भने भोजलाई बिगार्न थालेको छ । अचेल नेवा: समुदायले चलाउने भोजमा ‘भोज’ मात्रै छ, ‘नेवा:’ छैन । न त्यहाँ कुनै नेवा: परिकार पाइन्छ, न नेवा: भोजको नियम । अहिले नेवा:ले ख्वाउने भोजमा पुलाउ, चाउमिन, खसी, माछा, बंगुर, कुखुरा, पनिर जस्ता परिकार राख्ने गरिन्छ । खानामा भन्दा पार्टी प्यालेसको भव्यतामा बढी खर्च हुन्छ । तामझाम, क्याटरिङ, विदेशी पेय पदार्थ आदिले गर्दा भोजको खर्च अत्यधिक बढ्न पुगेको छ । यो भनेकै नेवा: भोज बिग्रँदै जानुको संकेत हो ।

अहिले नेवा:हरूले आयोजना गर्ने भोज पहिलेको जस्तो छैन । त्यो पूरै आधुनिक कलेवरमा गइसकेको छ । तैपनि गएको केही वर्षदेखि विवाह, व्रतबन्ध जस्ता प्रमुख भोजहरू नेवा: शैलीमा नेवा: परिकारै राखेर खुवाउने चलन सुरु भएको बताउँछन्, काठमाडौंस्थित नेपा: पार्टी प्यालेसका सञ्चालक मचाकाजी महर्जन । उनको पार्टी प्यालेसमा अहिले नेवा: भोजको अर्डर आउने क्रम बढ्दै गएको उनी बताउँछन् । तर, नेवा: भोज भनिए पनि यसको स्वरूप र यसमा राखिने परिकारहरू भने अहिले परिवर्तन हुँदै आएको छ ।

पहिले भोजको आयोजना सम्बन्धित गुठीले गरिदिन्थ्यो, अहिले पार्टी प्यालेसले गर्न थालको छ । पहिले सुकुलमै राखेर खुवाइन्थ्यो, अहिले मेच–टेबुलको व्यवस्था हुन थालेको छ । किनभने अहिले मान्छेहरू पलेंटी कसेर खानै सक्दैनन् । पात (लप्ते) को ठाउँमा खण्डे थाल आएको छ । किनभने लप्ते एउटैको दस रुपैयाँ पर्छ, खण्डे थाल त्योभन्दा सस्तोमा भाडामा लिन पाइन्छ । मचाकाजी यसलाई समय अनुसार आएको परिवर्तन भन्छन्, ‘यदि यति पनि परिवर्तन गर्न सकिएन भने नेवा: भोज आयोजना गर्न सकिँदैन । फेरि नेवा: भोज सस्तो पनि छ ।’

उनका अनुसार, आधुनिक टाइपको बफे भोजभन्दा नेवा: भोज आयोजना गर्दा ४० प्रतिशत जति खर्च कम लाग्ने गर्छ । उनी आफूले खुवाउने नेवा: भोजमा सकभर पुरानै परिकारहरू पनि बिस्तारै थप्न चाहन्छन्, तर पकाउन जान्ने सुवा:हरू अहिले भेटिँदैनन् । 

भोजमा नेवा: परिकारहरू त आए, तर त्यसको स्वाद ‘ओरिजिनल’ कै जस्तो ‘अथेन्टिक’ छ कि छैन, त्यो भन्न सक्ने मान्छे पनि अहिले भेटिन गाह्रो छ । तैपनि अहिले जे नेवा: भोज हाम्रो थालीमा पस्किएको छ, त्यही खाएर जिब्रो पड्काउनु नै सबैभन्दा ‘स्वादिष्ट’ विकल्प हो । अब नेवा: खाना–थालीको यति बयान गरिसकेपछि भन्नैपर्छ, गुलि सा: नेवा: महाभोज अर्थात् कत्ति मिठो नेवारी भोज !

सुरेश

Link copied successfully