दुःखको पाइडल घुमाइरहेकी माया 

७५ औं बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ‘प्रस्पेक्टिभ्स’ विधातर्फ विश्व प्रिमियर भएको फिल्म ‘बक्सो बोन्दी’ को चरित्र मायामार्फत हाम्रै समाजका आमा, दिदी, काकी, माइजूहरूको जीवन प्रस्तुत गरेकी छन्– तिलोत्तमा शोमले

फाल्गुन १०, २०८१

रीना मोक्तान

Love spinning the pedal of sorrow

काठमाडौँ — माया बिहान सबेरै अर्काको घर–घर स्त्री गरिएका कपडाहरू पुर्‍याउँछिन् । घरधन्दा सकेर झिसमिसेमै साइकल कुदाउँदै कपडा पुर्‍याउन अर्काको आँगन टेक्नु दैनिकी बनिसक्यो । त्यसपछि दिनमा अर्काको घरमा सहयोग गर्न पुग्नैपर्छ, अनि कुखुरा फार्मतिर पनि काम गर्छिन् । रातमा घर फर्केर फेरि उही भान्सा अनि कपडा आइरन ! 

उनका पति सुन्दर (पूर्वसेना) पीटीएसडी (पोस्ट ट्रमाटिक स्ट्रेस डिसअडर) बाट पीडित छन्, चर्को आवाज सुन्नेबित्तिकै तर्सिहाल्छन्, एकोहोरो छन् । जीवन गुजाराका लागि बिहान, बेलुकी यसरी घोटिनुको अर्को विकल्प मायासँग छैन । न उनी माइतीको सहयोग लिन तयार छिन्, न पसल चलाउँदै आएका भाइप्रति निर्भर हुन उनको स्वाभिमानले दिन्छ ।

उनलाई त यही संघर्षबीच पतिका लागि काम खोजिदिनु छ, छोरालाई राम्रोसँग हुर्काउनु छ । उनीसँग न थकान मेट्ने ठाउँ छ, न दुःखमा चर्को स्वरले रुने काँध नै । उनको ठूला सपना छैन, उनलाई आफ्नो परिवारसँग सुखको जीवन बिताउनु छ । त्यसैले रातोदिन नङ्ग्रा खियाउँछिन्, साइकलको पाइडलझैं दुःखसँग जीवन चलाइरहेकी छन् । 

७५ औं बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ‘प्रस्पेक्टिभ्स’ विधातर्फ विश्व प्रिमियर भएको फिल्म ‘बक्सो बोन्दी’ को चरित्र हो, माया । मायाको भूमिकामा अभिनेत्री तिलोत्तमा शोमले अभिनय गरेकी छन् । मायाले बाँचिरहेको जीवन, सहेका पीडा र उनीभित्रको साहसलाई तिलोत्तमाले पर्दामा दुरुस्तै पस्केकी छन् ।

‘इज लभ इनफ सर’ बाट अत्यधिक दर्शकबीच आफ्नो अभिनयको प्रशंसा बटुल्न सफल अभिनेत्री शोमले यो चरित्रमार्फत हाम्रै समाजको आमा, दिदी, काकी, माइजूहरूको जीवन प्रस्तुत गरेकी छन् । हाम्रा समाजका महिलाहरूले दुःखसँग कसरी मित्रता गाँसे, संघर्षलाई कसरी आत्मसात् गरे अनि भविष्यप्रतिको आशाले उनीहरूले कसरी साहसिलो पाइडलिङ गरिरहेका छन् भन्ने विषय तिलोत्तमाको चरित्रले फिल्ममा बाँचिदिएको छ । यही नै ‘बक्सो बोन्दी’को बलियो पक्ष हो । 

९१ मिनेटको यो फिल्ममा महिलाको महिमा गरिएको छैन । महिला ‍रिसाउँदैनन्, उनीहरू रुँदैनन् भन्ने पक्षलाई तिनको तागतसँग जोडिएको छैन । महिला पनि मानव हुन्, उनीहरूलाई पनि दुख्छ भन्ने पक्ष यो चरित्रमार्फत देखाइएको छ । चरित्र चित्रणको यही पक्षले नै तिलोत्तमालाई माया बन्न लगाएको हो ।  

Love spinning the pedal of sorrow

‘आमाहरू रुँदैनन्, उनीहरूले गल्ती नै गर्दैनन् भन्ने भाष्य निर्माण गर्नु गलत हो । हो, आमा अथाह प्रेम गर्न सक्छिन्, तर उनीहरूलाई पनि पीडा हुन्छ,’ बर्लिनमा भेटिएकी तिलोत्तमाले कान्तिपुरसँग भनिन्, ‘मायाले पति र परिवार छान्दाका अप्ठ्यारा परिस्थिति जानेरै केही निर्णय लिन्छन् । कहिलेकाहीं कसैलाई माया गर्नु पनि कठिन काम हो ।’ 

माया बलिउडमा देखाइने त्यस्ता चरित्र होइन, जो हिरोकै वरपर नाच्न मात्र फिल्ममा राखिएको हुन्छ । माया समाजका त्यस्ता मिहिन चरित्र हो, जसको जीवन बिहान–बेलुकीको छाक टार्ने संघर्षमै घुमिरहेछ, जसको दैनिकी घरभित्रकै यस्तै मिहिन कामहरूमा अल्झिएका हुन्छन् । समुदायका फरक–फरक महिलाहरू, जसले यो समाजमा आफ्नो अस्तित्त्व खोजिरहेका छन्, पिँधमा रहेका ती महिला, जसलाई अझै पनि बलिउडले देखेको छैन । त्यस्ता चरित्रलाई तिलोत्तमाले स्वतन्त्र (इन्डिपेन्डेन्ट) फिल्ममार्फत २० वर्षदेखि प्रस्तुत गर्दै आइरहेकी छन् । यही नै तिलोत्तमाको पहिचान हो । 

तिलोत्तमा आफैंलाई पनि यस्ता चरित्रले तान्छ, जो सामान्य छ, जसका संघर्ष, दुःख र सहन क्षमतालाई समाजले सधैं नजरअन्दाज गरेको हुन्छ । ‘ती महिला जसको कामलाई महत्त्व नै दिइँदैन, त्यस्ता महिला जसलाई नजरअन्दाज गरिन्छ । यस्तै नदेखिएका महिलाहरूलाई चरित्रमार्फत देखाउने पक्षले यस्ता चरित्र निर्माण गर्न हौस्याउँछ,’ उनले भनिन्, ’बिहानदेखि रातिसम्मै महिलाहरूले गरेको काम दखिन्नन् । त्यस्ता महिलाका कथा भन्नु कति उत्तम कुरा हो ।’

यो फिल्ममा मानसिक रोगका बिरामीलाई समाज, परिवारले हेर्ने दृष्टिकोणसमेत देखाइएको छ । समाजले कसरी सक्षम, सबललाई मात्रै स्विकार्छ भन्ने विषयलाई सुन्दरको चरित्रले देखाउँछ । कठोर बन्दै गरेको समाज/विश्वलाई फिल्मले व्यंग्य गर्छ । ‘हामी मानव कुनै न कुनै समय लड्छौं, त्यतिबेला एकअर्कालाई सम्हाल्दै उठ्नुपर्छ । लड्ने व्यक्ति म आफैं हुन सक्छु, तपाईं आफैं हुन सक्नुहुन्छ । यो फिल्मले त्यस्तो परिस्थितिका मानिसलाई समेटेको छ,’ तिलोत्तमाले भनिन् । 

‘बक्सो बोन्दी’ को माया बन्न तिलोत्तमलाई करिब ७ वर्ष लाग्यो । हुन त अधिकांश फिल्ममा तिलोत्तमाले करिब ४ वर्ष त खर्चिरहेकी हुन्छिन्, स्वतन्त्र फिल्महरूलाई बक्स अफिसको दबाब हुन्न । उनीहरू समय खर्चेरै फिल्म बनाइरहेका हुन्छन् । करिब ७ वर्षअघि एक जना साथीले उनलाई फिल्मको स्क्रिप्ट दिँदै भन्यो– पढेर प्रतिक्रिया दिनु । उनले साथीको अनुरोध मानिन् । 

एक दिन त्यही साथीले स्क्रिप्टमाथिको प्रतिक्रिया निर्देशकसामु राख्न लगाए । उनलाई अप्ठ्यारो लाग्यो, कतै आफूले दिएको प्रतिक्रिया उनीहरूलाई मन पो नपर्ने हो कि ? तर, निर्माण टिमले उनको प्रतिक्रिया आफूहरूका लागि आवश्यक रहेको जनाउँदै माया चरित्र तिलोत्तमाले नै गर्नुपर्ने सुनाए । यसरी फिल्मको लेखनदेखि नै तिलोत्तमा फिल्ममा आबद्ध भइन्, सुरुवातदेखि चरित्र निर्माण थालिन् । उनका अनुसार, निर्माण टिमले त्यतिबेलैदेखि नै माया चरित्रको तस्बिर जुटाइदिए, घडी, हिसाब राख्ने कापी, चरित्रले लगाउने सारी दिए ।

‘जब तपाईं त्यस्तो पहिरन पहिरिनुहुन्छ, जुन पहिरनलाई कैयौं महिलाले पहिल्यै पहिरिइसके । त्यसले तपाईंलाई त्यो पात्रको नजिक पुर्‍याउन मद्दत गर्छ,’ उनी सुनाउँछिन्, ‘यो फिल्मको निर्देशकले मलाई यो चरित्र खोज्न स्वतन्त्र बनाइदिएको थियो । कुनै चरित्रका लागि तपाईं लामो समय लगानी गर्नुहुन्छ भने बिस्तारै त्यो चरित्र तपाईंभित्र हुर्कन्छ ।‘ चरित्र निर्माणमा तिलोत्तमाले समात्दै आएको शैली पनि यही हो, उनी हरेक चरित्रलाई आफूभित्र हुर्कन समय दिन्छिन् । स्क्रिप्ट पाएको केही दिनमै सुटिङमा जानुपर्छ भन्ने हतारो उनलाई कहाँ ? 

जसरी जमिनमा छरेको कुनै बिउ बिस्तारै हुर्कन्छ । उनी स्क्रिप्टभित्रै बसेर बिस्तारै आफूभित्र त्यो चरित्रलाई हुर्काउँछिन् । ‘चरित्रको बिउ पनि तपाईंभित्र बिस्तारै उम्रँदै जाने हो,’ उनी भन्छिन् । उबेलाका महिलाहरूकै कारण अहिलेका महिला कथा भन्न सक्ने स्थानसम्म पुगेको तर्क राख्छिन्, तिलोत्तमा ।

Love spinning the pedal of sorrow

‘हाम्रा आमा, काकीहरूले अपमानलाई यसरी पिए, उनीहरूले त्यसलाई बाहिर निकाल्ने मौका पाएनन् । त्यसैले त आज हामी यो स्थानसम्म आइपुग्यौं कि अब हामी उनीहरूका कथा भन्न सक्छौं,’ उनले भनिन्, ‘उनीहरू अपमानमाथि विजयी बने, फरक समुदायका पुरुषसँग बिहे गर्दाका अप्ठ्यारालाई उनीहरूले बाँचिदिए । समाजसँग लडे, परिवारसँग लडे । उनीहरूकै कारणले आज हामी रिसाउन सक्छौं, परिवर्तन खोज्न सक्छौं । फिल्ममार्फत हाम्रो स्वीकार्यताका लागि बोल्न सक्छौं ।’ 

चरित्र निर्माणमा लामो समय लिएर काम गरिरहेकी यही अभिनेत्रीलाई भारतभित्रै अधिकांश दर्शकले ‘इज लभ इनफ सर’ बाट मात्रै चिनेका हुन् । सन् २००१ मा मीरा नायरको ‘वेडिङ मनसुन’ बाट अभिनयमा डेब्यु गरेकी तिलोत्तमाले अनुप सिंहको किस्सामार्फत अभिनयमा आफ्नो छुट्टै स्थान बनाइन् ।

तर पनि करिब दुई दशकदेखि स्वतन्त्र फिल्महरू खेलिरहेकी उनलाई आफ्नै देशभित्र धेरैले चिन्दैनथे । कोभिडपछि भने अत्यधिक दर्शकले उनलाई चिन्न थाले । मीराको फिल्ममार्फत फिल्म कसरी बन्छ भन्ने जानेकी उनका लागि ‘किस्सा’ अभिनय सिक्ने विद्यालय बन्यो । खासमा कोभिडका कारण स्वतन्त्र शैलीको ‘इज लभ इनफ सर’ हलमा प्रदर्शन हुन पाएन । पछि नेट्फ्लिक्समा आएपछि तिलोत्तमाको खोजी बलिउडभित्रै बढ्यो । 

‘मेरा अधिकांश फिल्महरू आफ्नै देशभित्र हेरिएको छैन । केवल मेरा परिवार र फिल्म फेस्टिभलमा आउनेहरूले मैले गरेका फिल्म हेरेका छन्,’ उनी सुनाउँछिन्, ‘आफ्नै देशमा आफूले गरेको फिल्म हेरिनुको महसुस त बेग्लै हुँदो रहेछ । फिल्म गरेको २० वर्षपछि ठूलो दर्शकबीच मेरो फिल्म पुग्यो ।’ 

वास्तवमै भन्नुपर्दा तिलोत्तमाजस्ता अभिनेत्रीहरूलाई फिल्म क्षेत्रले होइन, फिल्मसम्बन्धी फेस्टिभलहरूले बचाउँदै आएको हो । ‘बर्लिनजस्तो महोत्सवले हामीलाई जीवित बनाइरहेको छ । तर, आफ्नै देशमा आफ्नो काम स्विकारिन समय लाग्यो,’ उनले भनिन् । 

तिलोत्तमाले यहीबीच नेट्फ्लिक्सका चर्चित सिरिजहरू ‘लस्ट स्टोरिज–२’, ‘दिल्ली क्राइम–२’, ‘पातल लोक–२’ हरूमा काम गरिन् । झट्ट हेर्दा यस्ता डिजिटल प्लेटफर्मले उनीजस्ता कलाकारका लागि फरक चरित्र प्रदान गरेको देखिन्छ । तर, पुरुष कलाकारको दाँजोमा अझै पनि ‘ओटीटी’ प्लेटफर्ममै पनि महिला कलाकारका लागि पर्याप्त चरित्र नलेखिएको सत्य उनी स्विकार्छिन् । ‘हो, हामीले राम्रो भूमिका त पाइरहेका छौं । तर, पुरुषले पाइरहेको जत्तिकै पाउने बराबरीको स्तरमा पुग्न धेरै नै कसरत गर्नुपर्छ,’ उनी भन्छिन्, ‘जे होस् महिलालाई सतही देखाउनुका अलावा उनीहरूका फरक आयाम केलाउँदै फिल्म बन्न थालेको छ, त्यो सकारात्मक हो ।’ 

हुन त उनी ‘मेथड एक्टिङ’मा विश्वास गर्दिनन्, यद्यपि अधिकांशले उनलाई ‘मेथड एक्टर’को रूपमा चिन्छन् । उनी स्क्रिप्टलाई बारम्बर पढ्छिन् । अनि स्क्रिप्ट र आफ्नो जीवनबीचबाट चरित्र बनाउँछिन् । कुनै महिलाले कुनै कुरा गर्नुपछाडि उक्त चरित्रलाई के कुराले निर्देश गरिरहेको छ भन्ने खोतल्नु चरित्र निर्माणमा उनको प्रारम्भिक खोज हुन्छ । 

अहिले बल्ल तिलोत्तमाले उमेर सुहाउँदो चरित्र पाइरहेकी छन् । तर, २० अनि ३० को हुँदा फिल्म क्षेत्रको सौन्दर्य मापदण्डले उनलाई कम उमेरमै पनि उमेर ढल्किसकेको चरित्रको अभिनय गर्न लगायो । ‘सायद म भारतको प्रचलित सौन्दर्य दृष्टिकोणमा परिनँ, अनि त्यसैले उमेर ढल्किसकेको महिलाको चरित्र गर्नुपर्ने भयो । अहिले ४० उमेर हुँदा बल्ल मैले मेरो उमेरको चरित्र पाइरहेको छु,’ उनले सुनाइन् ।

छिमेकी राष्ट्र भारतको यही अभ्यासलाई नेपाली फिल्म क्षेत्रले पनि वर्षौंदेखि समाउँदै आइरहेको छ । चट्ट छिनेको कम्मर, चिट्टिक्कको अनुहार र निश्चित मापदण्डमा पर्ने महिला मात्रै ‘हिरोइन’ हुने भाष्य अझै पनि यो क्षेत्रले बोकिरहेको छ । स्वतन्त्र फिल्ममार्फत यो भाष्य तोड्दै आएकी तिलोत्तमा नेपाली फिल्मकर्मीलाई सौन्दर्य मापदण्ड नभई नौला विषय उधिन्न सुझाव दिन्छिन् । 

‘सौन्दर्य मापदण्ड भत्काएँ भन्न त भन्दिनँ । तर, यस्तो भाष्यबीच पनि मैले आफ्नो ठाउँ बनाएँ भनौं । फरक अनि नौला कथाहरू भन्नुको सौन्दर्य बेग्लै छ । तपाईंले जति नौलो, आफूसँग नजिकका कथाहरू भन्न थाल्नुहुन्छ, तब थुप्रै सुन्दर चरित्रहरू निर्माण हुन्छन्,’ उनले भनिन्, ‘हामी यस्तो संसारमा छौं, जहाँ फरक हुन हामी डराइरहेका हुन्छौं । तर, जब तपाईं तपाईंले नभनी नहुने कथा भन्नुहुन्छ तब तपाईंका चरित्रले विभिन्न सीमा नाघेर संसारको अर्को कुनाका दर्शकसँग संवाद गरिरहेको हुन्छ ।’

तिलोत्तमाको विचारमा बर्लिन अहिले त्यस्तै भइरहेको छ, महिलाका फरक आयामका कथाहरूले फरक–फरक महिलाहरूसँग फरक तरिकाले सञ्चार गरिरहेको छ । भन्छिन्, ‘लाग्छ, पूरा बर्लिन यो वर्ष महिलाहरूलाई जोड्न खोजिरहेको छ ।’

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully