आमा जाँड छान्थिन् । थपीथपी पिलाउँथिन । कुनै न कुनै चीज दिएकै हुन्थिन् । कहिलेचाहिँ भन्थिन्– ‘यत्रो कोसेली किन ल्याको, खै के दिऊँ ? रित्तै हात जा ! रुडाली हल्लिँदै बाटो लाग्थे ।
काठमाडौँ — गाउँको पुछारमा रुडावा भन्ने ठाउँ छ । त्यहाँ हाम्रो अलिकति खेत, अलिकति बारी, अलिकति अलैंची बगान, अलिकति जङ्गल थियो । सिरानमा ढुङ्गेधारा । धाराको भित्ता, भुइँ, सिँढी र पचास मिटरजति लामो कुलेसो ढुङ्गाकै थिए । भित्तामा भारी बिसाउनी, बीचमा खुइलिएको शिलालेख । धाराको पानी कुलेसो कटेपछि खोल्सीमा मिसिन्थ्यो ।
मंसिर सुरुतिर जम्मै चौपाया खेतबारी मलाउन झारिन्थ्यो । दुई दर्जनजति गाईगोरु अनि एक दर्जन भेडा हुन्थे । एकसरो ओढ्ने–ओछ्याउने र भाँडाकुँडा पनि झर्थे । केही माना चामल, पिठो र नुन, मसला हुनैपर्यो । भर्खरै बियाएका पशु रुङ्न एक जना बास बस्नुपर्थ्यो, अरू बेला राम्ररी थुनछेक गरेर साँझ घरतिर उकालो ।
दाजुहरू बाँस काट्थे । चोया–भाटा बनाउँथे । चित्रा, डोको, नाम्लो, डालो बुन्थे । ढुङ्ग्रो बनाउँथे । हलो ताछ्थे । वर्षातमा भत्केर, बगेर खोँडेखाँडे बनेका कान्लामा पर्खाल मिलाउँथे । यसमा जेठा दाजुको बढी ध्यान थियो । गाउँघरमा चाहिने काठ बाँसका सबै सामान बनाउन जान्दथे उनी । साइँला दाजुको लगाव अलैंचीमा थियो । कुलो, कुलेसो, रोपान, गोड्नमा जोडै खट्थे ।
एक दिन । बिहानै साइँला दाजु र म रुडावा झर्यौं । हतार गर्दा पन्ध्र मिनेटमा पुगिने । फर्किंदा उकालो, थाप्लोमा भारी, घण्टाभन्दा बढी लाग्ने ।
घामको कलिलो डल्लो बर्छेडाँडाबाट उकालो लाग्यो, प्रकाश ओरालो । हामी पहेंलो प्रकाशसँगै ओरालो लाग्यौं । दाजु अघिअघि म पछिपछि । हामी गोठ पुग्यौं, घाम झुल्कियो ।
चौपायाको लहरमा छुट्टै विशेष गोठ थियो । त्यसमा अगेना, लुगा, खानेकुरा, भाँडाकुँडा, ठेका दुधेरो राखिन्थ्यो । त्यसको ढोका चित्राको थियो । हामी पुग्दा चित्रेढोका आधा उघ्रेको थियो । दाजुले सोधे, ‘हिजो कसले थुनेको ?’
मैले भनेँ, ‘दिदीले ।’
दाजु मलाई र ढोकालाई पालैपालो हेर्दै बोले, ‘राम्ररी थुनेनछ । कुकुर पसेछ । थुक्का !’
दाजुले पूरै ढोका खोले । भित्र नपसी अगेना वरिपरि नियाले, ‘कुकुर पसेजस्तो त छैन त !’
भित्तापट्टि परालमाथि एक जोडी ठेका राखिन्थ्यो । तातो दूध सानोमा हालिन्थ्यो अनि बिहान हालेको बेलुका, बेलुका हालेको बिहान ठूलोमा खन्याइन्थ्यो । ठूलो भरिन लागेपछि मदानीले फिटेर घ्यू र मही छुट्याइन्थ्यो । दुवै ठेकालाई थोत्रो कम्बलले ढाकिन्थ्यो ।
ठेका ढाक्ने कम्मल भुइँमा फ्यात्त थियो । कम्बलमाथि ठूलो ठेकाको बिर्को थियो । ठेका, कम्बल र भुइँमा दहीका छिटा लागेका थिए ।
दाजु लामै बोले, ‘कुकुर हैन मान्छे पसेछ । चोर पसेछ । दही खाएर गएछ । फोहोर पारेछ । कुन चैं आयो ? पत्ता लाउन पाए त !’ दाजु सबैतिर नियाल्दै विभिन्न अनुमान गर्दै फतफताउँदै थिए । एकाएक अलि चर्को बोले, ‘ए ! तँ पो होस् ? एता आइज !’ उनले एउटा केटालाई पाखुरामा समातेर बाहिर निकाले ।
उसले बाहुला च्यातिएर हराएको दौरा, फिलामुनि खन्डिएको सुरुवाल र थाप्लोमा भ्वाङ परेको सुती टोपी लगाएको थियो । लुगा मैलाले कक्रक्क परेका थिए । ती लुगा फुकालेर राख्ने हो भने ठिङ्ग उभिन्थे होलान् । लुगाले नछोपेका भागभरि मैलाका काला फुस्रा र मुख वरिपरि र हातमा दहीका सेता चिल्ला टाटा देखिन्थे । हातखुट्टा घेराघेरा परेर फुटेका थिए ।
नाकको दुलोदेखि ओठसम्म दुइटा सेता दाग थिए । नाकबाट दुइटा सेता साना लुम्सा दागैदाग ओठसम्म लुतुतुतु झर्थे र पिलिक्क उँभो सर्थे । जिब्रो निस्केर नाकको दुलोतिर तन्किन्थ्यो । उसले एउटा हात नाकको दुलोलाई थिच्दै दाहिनतिर स्वाट्ट सार्यो । नाकदेखि गालासम्म सेतो लतपतियो । जाडो मौसम, एकाबिहानै चिसो दहीको खान्की, करिब–करिब नाङ्गो शरीर, त्यसमाथि भयङ्कर ड । लुगलुग कामिरहेको थियो । म छक्क परें– कुमार !
कुमारलाई दाजुले अगेना छेउमा उभ्याए, ‘कतिखेर आ’को ?’
ऊ दाँत खट्खटाउँदै भास्सिएको स्वरमा बोल्यो, ‘भर्खरै ।’
दाजु कड्किए, ‘चोर्छस् ?’ उसले दाजुको मुखमा हेरिरह्यो ।
बाल्नलाई चिरिएको बाँसको कप्टेरा टिपेर दाजुले हातमा एक स्वाँठ हाने, ‘तेरो बाउ घरमा छैन ?’
कुमार दुवै हात दौरामा दल्दै थर्थराएको आवाजमा बोल्यो, ‘हिले गा’को छ ।’ वर्ष दिनलाई पुग्ने नुन लिन वर्षको कम्तीमा एकचोटि हिले जानुपर्थ्यो । एक भारी नुन ल्याइपुर्याउन एक हप्ता लाग्थ्यो ।
‘तेरो बाउ नआउन्जेल तँलार्ई यही घोचामा बाँधेर राख्छु,’ दाजुले काफलको घोचा समाए । ऊ झन् धेरै काम्न थाल्यो, बोल्न सकेन ।
दाजुले सलाई कोरेर आगो पारे । झिक्रा सल्काए । दाउरा ठोसे । आगो दन्कियो, ‘आगो ताप् !’ दुवै ठेका हेरे, ‘दुवैमा हात लाइस् कि एउटामा मात्रै ?’
कुमारले जवाफ दियो, ‘ठूलो मात्रै ।’
‘कति खाइस् ?’
थर्थराएको स्वरमा कुमारले भन्यो, ‘दुई मुठी ।’
दाजु चुपचाप हातखुट्टा पसारेर आगो ताप्न लागे । म घरी कुमारलाई, घरी दाजुलाई र घरी ठेकालाई हेर्दै दाजुकै लहरमा बसें ।
दाजु बोले, ‘सबै खाइसक्छस् ?’ कुमार केही बोलेन । एक छिनपछि उठेर हलुङ्गेको एकमाने बटुका झिके, ठूलो ठेकाबाट दही खन्याए, कुमारतिर लम्काए, ‘लु खा !’ कुमारले आश्चर्य गरी दाजुको अनुहारमा, बटुको, ठेका र मलाई हेर्यो । केही बोलेन । दाजुले थपे, ‘खा ! खा !’ संकोचैसंकोच, डरैडरमा कुमारले बटुको समात्यो, दाजुको मुखमा हेर्दै दही खान थाल्यो– सुरुप् सुरुप् ।
त्यसपछि सम्झाए, ‘यत्ति नै । धेरै नखा । मात्छ । अब घर जा । धारामा राम्ररी हातमुख धोएर जा ।’ कुमारको अनुहार अलिकति उज्यालियो । उठेर दुवै हात छातीमा गुडुलो पार्यो । बिस्तारै बाहिर निस्क्यो ।
एकछिनपछि दाजुले मलाई अह्राए, ‘त्यसलाई हेर्, घर जान्छ जाँदै ।’ म बिस्तारै निस्कें । छम्बिरे चिहानबाट हेरें । कुमारले धारामाथि झाडीमा दुइटा ढुङ्ग्रो लुकाएको रै’छ । झिक्यो । पालैपालो धररर भर्यो । ढुङ्ग्रोको उझिन्डो समातेर उचाल्दा उसका मुट्ठी काँधभन्दा माथि पुगेका थिए । हातमुख नधोई पछाडि नफर्की घरतिर सोझियो ।
...
हाम्रो जमिन र कुमारको घरबारीलाई खोल्सीले छुट्याएको थियो । रुडावामा घर भएकाले मान्छेहरू उसका बाउलाई रुडाली भन्थे । एकान्तमा घर । सबैभन्दा नजिकको छिमेकी दस–पन्ध्र मिनेटको उकालोमा ।
हाम्रो घर टाढा, सधैं धाउन गाह्रो । पुगेका बेला छेउकुना हेर्न नभ्याइने, नसकिने । हेरेको बेला कुनै न कुनै गडबडी भेटिन्थ्यो । कहिले घाँस हराएको । कहिले बाँस चोरिएको । कहिले बिरुवा काटिएको । कहिले रूखै गायब । तामा हुर्किनै मुस्किल ।
पिखुवापारि खेम्चोङबाट सुनिने गरी बाझ्थे । धुर लाग्ने र सम्झाउने झन्झट कोही गर्दैनथे बरु रमाइलो मान्थे । बाझ्दाबाझ्दै दुवै थाक्थे । बिनानिष्कर्ष आआफ्नो काममा लाग्थे । एक–दुई दिनपछि रुडाली ‘देमा !’ भन्दै आइपुग्थे । आमा पनि ‘कान्छौ !’ भन्दै झारफुक गरिमाग्न रुडाली खोज्थिन् ।
कहिलेकाहीँ रुडाली घरै पनि आइपुग्थे । देख्नासाथ आमाको सुरु हुन्थ्यो, ‘तुलफूल सबै काटेर चोरेर सकिसकिस् होला । के मुख देखाउनु आउँछस् है असत्ती ?’
‘देमाले मलाई कहिल्यै राम्रो देखेन । खोइ देमा खुट्टा लेऊ,’ रुडाली आमाको पाउमा घोप्टिन्थे, कहिलेकाहीं कोसेली पनि ल्याउँथे, हातमा दिन्थे । केही चाहिएको छ भने माग्थे । हैन भने ‘घुम्दै आ’को’ भन्थे । आमा जाँड छान्थिन्, थपीथपी पिलाउँथिन्् । कहिले कुनै चीज दिन्थिन् । कहिलेचाहिँ भन्थिन्, ‘यत्रो कोसेली किन ल्याको, खै के दिऊँ ? रित्तै हात जा !’ रुडाली हल्लिँदै बाटो लाग्थे ।
मैले जान्दा रुडालीको घर निकै पर थिय । माथिल्लो तला पहेंलो र तल्लो तला फुस्रो, खरले छाएको । त्यो घरले फापेन भनेर अर्को घर बनाए आँगनमा । पहिलाको भत्काए । अर्को साल त्यो पनि भत्काएर खोल्सीको डिलैमा अलि सानो घर बनाए । बलेसीमुनि पाँच मान्छेजति अग्लो भीर थियो । बलेसीबाटै मान्छे लडेर मर्ने, घाइते हुने जोखिम थियो ।
२०४५ सालको भुइँचालोले घरमाथिको खेत चुँडेर पुरानो र नयाँ घरको बीचमा खसाइदियो । जताततै चर्चरी धाँजा फाट्यो । त्यो क्षेत्रै मान्छे बस्न डरमर्दो भयो । रुडाली खेम्चोङ बसाइँ सरे । आफ्नो तेत्रो पाखारेखा छाडेर अर्काकोमा छाप्रो हालेर बस्दा उनको मनले सहज मानेन होला । अर्को साल फर्किए आफ्नै थलो । सबैभन्दा पहिलाको भन्दा पर छाप्रो बनाए । अर्को साल ससुराली गाउँ भाँगे सरे । अर्को साल फर्केर माङटाङमा अडिए । त्यसपछि मधेश झरे । मधेशमा गर्मी पचेन भन्दै पहाडै उक्लिए । केही वर्षपछि फेरि मधेशै हान्निए ।
रुडालीको घर सार्ने गुण उसको बाजेबाट सरेको भन्थे पुराना मान्छेहरू । तिलकसिंको काइँला छोरा कृपालाल अति रौसे थिए । छमछमी नाच्ने हुनाले सामाजिक नाम– छम्बिरे । छम्बिरेको सुरुको घर मानेटोल हालको झ्याउरीमा खायलमा थियो । त्यहाँबाट सिप्पाडाँडा झरे । त्यहाँबाट पुठेडाँडा । त्यहाँबाट भदौरे । भदौरेबाट रुडावा । रुडावामा मात्रै तीन ठाउँमा घर सारे । उनले घर बनाएको ठाउँलाई आफ्नो नामले विस्थापित गर्दै गए– छम्बिरेडाँडा, छम्बिरेटार, छम्बिरेपाखा, छम्बिरेबारी, छम्बिरेघडेरी ।
...
रुडालीको पहिलो सन्तान थियो– कुमार । आमाको भनाइअनुसार कुमार मभन्दा एक वर्षजति जेठो । तर ज्यान मभन्दा सानो । तिखो स्वरमा पटट बोल्थ्यो, म कम बोल्ने खालको ।
मौका मिल्नासाथ खेल्न आइहाल्थ्यो ऊ । हाम्रा खेल थिए– खोल्सामा घट्ट चलाउनु । कुलोमा पातका डुङ्गा हेलाउनु । ढुङ्गाले बाँस हान्न । डम्फा ठटाउनु । पोथ्रामा सोइसोइला खेल्नु । फट्याङ्ग्रा फmत्रेर गाईभैंसी बनाउनु । अम्लिसोको पिपिरी बजाउनु, खरका फूल उडाउनु, काँचै सुठुनी खानु, बादलका टुक्रा गन्नु ।
रुडालीले छोराछोरी स्कुल पठाएनन् । हेडमास्टरले धाएर घरैमा भेटेर सम्झाएको पनि सुनियो । अरूले सम्झाएका कति हो कति । पठाउँदिनँ भन्दैनथे तर पठाउँदैनथे । पठाउँदै नपठाएका चाहिँ हैन । एक दिन उनी कुमारलाई लिएर स्कुल आए । हेडसर खुसी देखिए । छोरालाई स्कुल छोडेर उनी माथ्लो टोल लागे । कुमारलाई शिक्षकहरूले कक्षामा राख्न कोसिस गरे, फकाए । ऊ हरेक कक्षाको झ्याल र ढोकाबाट पालैपालो भित्र हेर्दै एक घण्टा जति अलमलियो अनि बेतोडले ओरालो भाग्यो ।
