कवि/कथाकार रमेश क्षितिज भन्छन्– कविता मन्त्र ह । तर, मन्त्रोच्चारण गर्नु–बुझ्नु उत्ति सहज छैन । त्यसैले क्षितिजका कथा पढ्नुअघि आफूलाई सक्षम–सचेत पाठक बनाउनु जरूरी छ ।
काठमाडौँ — बैजनी, डार्क, लाइट सेड, कालो र सेतो रङको मनमोहक संयोजन ! बैजनी रङको आकाश, मधुरो–सेतो बादलका टुक्राहरू ! गाढा बैजनी रङकै पल्ला भएको दरबारको झ्याल, जहाँबाट चियाउन सकिन्छ एक फरक संसार– तुवाँलोले छोपिएको मन्दिरको छाना, गजुर र भुइँमाथि सेतो प्वाँख अडिएको रहस्यमयी कलेवर ! कवि/कथाकार रमेश क्षितिजको नयाँ कथा–किताब ‘एउटा मायी नगरमा’ को आवरण चित्र हो यो । त्यो चित्रले मजस्तो पाठकलाई मन्त्रमुग्ध पारिरहन्छ ।
१७ रहस्यमयी, सानदार कथा आफूभित्र समेटेर उभिएको नगर हो– ‘एउटा मायी नगरमा’ । कथाहरू पढ्दा मायी नगर एउटा प्लान्ड सिटीझैं लाग्छ । प्रत्येक कथा, कथाको भाव प्रतिविम्बित गर्ने पृष्ठभरिको चित्रबाट सुरु भएका छन् । चित्र–पृष्ठको अर्कोपट्टि कथा–थिम झल्काउने दुई पंक्ति छापिएको छ । ती काव्यिक पंक्ति पाठकलाई कथाभित्र प्रवेश गराउने सुन्दर निमन्त्रणा पत्रझैं लाग्छन् । तिनले कथा–सार पनि सुनाउँछन् ।
संग्रहका प्रत्येक कथाले वर्तमान समय र नेपाली समाज प्रतिविम्बित गरेको छ । भनेथे विलियम सेक्सपियरले– साहित्य समाजको ऐना हो । सेक्सपियरले उहिल्यै भनेझैं यो संग्रहका अधिकांश कथा नेपाली समाजको विद्यमान राजनीतिक–सामाजिक विकृति–विसंगति देखाउने ऐनाजस्तै लाग्छ ।
त्यो ऐनामा प्रतिविम्बित हुन्छ– नेपाली समाजका खराब प्रवृत्ति र मानिसको कथा । संग्रहका ‘माछा बजार’, ‘उस्तै छु म’, ‘स्वच्छ छवि जिन्दावाद’, ‘मुखुन्डो अवतार’, ‘कुर्सी कारखाना’, ‘श्री कृष्ण गोविन्द हरे मुरारी’ र ‘अनुहार हराएको अनुहार’ कथाहरूमा देखिन्छ– समाजमा विद्यमान बेथिति, चरम भ्रष्टाचार, हाम्रो समाज–राष्ट्रलाई खोक्रो पार्न उद्यत मानिसको अनुहार, कर्मचारी, व्यापारी, तस्कर, राजनीतिज्ञ आदि–आदि।
माथि उल्लिखित मानिसलाई मुख्य पात्र बनाई प्रस्तुत गरिएका यी कथाले साधारण आर्थिक पृष्ठभूमिबाट आएको व्यक्ति कसरी लाभ, महत्त्वाकांक्षा र परिबन्दमा परी बिस्तारै भ्रष्ट व्यक्तिमा परिणत हुन्छ ? त्यसको सविस्तार व्याख्या गर्छ । कथान्तमा यी पात्रले कुनै न कुनै सजाय पाएको देखाइएको छ । जस्तो, कत्तिलाई कानुनले सजाय गर्छ, धेरैजसोले अन्तरात्माबाट सजाय पाएका छन् । तिनले आफ्नो जीवनबाट खुसी र अमन गुमाएका छन्, पिल्सिएको हृदय लिएर जीवनमार्गमा लाचार हिँडिरहेका छन् ।
यी कथाको अन्त्य हेर्दा मस्तिष्कमा एरिस्टोटल आउँछन्/जान्छन् । उनले भनेका थिए– खराब मानिसले सजाय पाउनैपर्छ । पाठकलाई यही बिन्दुले असाध्यै सन्तुष्टि प्रदान गर्छ । कथाका पात्रहरूको भोगाइ कारुणिक छ । तिनको मानसिक तनाव र अपराधबोध हेर्दा लाग्छ, तिनले अक्षरबाट उठेर चिच्याइ–चिच्याइ भनिरहेका छन्– सम्पत्ति सुखको स्रोत हुँदै होइन । र, कथाहरूले यस्तो पनि भन्छन्– गलत ढंगले कमाएको सफलता, ख्याति, सम्पत्ति, उपलब्धि केहीले पनि मानिसलाई दिगो खुसी दिन सक्दैन, बरु जीवनबाटै खुसी र आनन्द खोसेर लैजान्छ ।
मुलायम भाषामा लेखिएका नवीन शैलीका यी कथाले फराकिलो क्षितिज निर्माण गरेका छन्, जसमा सयर गर्दा पाठक आनन्दको उचाइमा पुलकित भइरहन्छ । कथाले निर्माण गरेको संसारमा विचरण गरिरहँदा लाग्छ, ऊ आफैं त्यो समय र जीवनको उतारचढावको भोक्ता हो । र, पात्रहरूको संघर्ष–कथा उसैको कथा हो । जस्तो पाठक सोचमग्न हुन्छ– ‘स्वप्नबगैंचामा एउटा छाया’ को शैवलिनी र आर्यकीर्ति ऊ स्वयम् हो, ‘इत्रामको कोठा’ को म पात्र ‘चरित्रबाट बाहिर निस्क न हरिबोल’ को हरिबोल, ‘उस्तै छु म’ को दुब्लो– मरन्च्याँसे ‘म’ पात्र उही हो ।
‘विसं २०८१ को मुनामदन’ पढिरहँदा लाग्छ, हामी मदन र मुनाको दुःख र संघर्षका प्रत्यक्षदर्शी हौं । ‘मैतीदेवीको मुस्कान’ पढ्दा वैंशालु ठिटोको मीठो भ्रमले अनायासै हाम्रो ओठमा मुस्कान छाडेर जान्छ । ‘नमस्ते लुम्बिनी’ माथि घोत्लिँदा मानवताले ओतप्रोत मानिस र मानवता रित्तिएका मान्छे– दुवै थरीसँग जम्काभेट हुन्छ । त्यो जम्काभेटले पाठक–हृदयमा भयंकर उथलपुथल ल्याउँछ । त्यस कथा पढिसक्दा नेपाल पात्रले बोलेका शब्दहरू ‘मानिस भएर जन्मेपछि संवेदना हुनुपर्छ, नपग्लिने मुटु र आफ्ना लागि मात्र जिउने मानिसको के काम ?’ निकैबेर गुन्जिरहन्छ मस्तिष्कमा ।
संग्रहका कथाको विषय र प्रस्तुतिमा विविधता छ । किताबका प्रायः सबै प्रेम–कथामा अधुरो प्रेमको वर्णन गरिएको छ । लाग्छ, यी कथामार्फत कथाकार पाठकका निम्ति प्रेमको एक अलग परिभाषा निर्माण गर्न चाहन्छन् । ‘आर्य, पर्ख आर्या’ मा अतीत पात्र प्रेममाथिको परिभाषा यसरी प्रस्तुत गर्छ, ऊ भन्छ, ‘कहिलेकाहीं म अलमलिन्छु कि प्रेम के हो ? मित्रता ? विवाह ? निकट सम्बन्ध ? वा कहिल्यै यस्तो प्रेम गर्न सम्भव छ कि छैन, जो समाजले स्थापित गरेको नामभन्दा फरक होस् वा समाजले स्थापित गरेको नामभन्दा फरक होस् वा समाजले परिभाषा गरेभन्दा फरक प्रेम कतै दुनियाँमा हुन्छ कि हुँदैन ?’
आजसम्म गरिएको प्रेमको सम्पूर्ण परिभाषाभन्दा विपरीत यो परिभाषाले पाठकको मथिंगल तरंगित पार्छ । कथा–पठनपछि महसुस हुन्छ– लेखक ‘प्लेटोनिक लभ’ अर्थात् आदर्श प्रेमको पक्षधर हुन् । कथामार्फत उनी आदर्श प्रेमको सुवास छाड्छन् । त्यो सुवास कस्तो भने आमाले बाटेर सल्काएको धूपको झैं मन्द–मन्द बास्नाजस्तो । त्यो बास्ना आर्यकीर्तिको जस्तो, अनुरागको जस्तो, सिल्भियाको जस्तो, प्रार्थना शाहको जस्तो– निश्चल, निःस्वार्थ र गहिरो प्रेम–अनुभूत ।
लेखक लरेन्स स्टर्नले सन् १८१९ मा ‘टिस्टर्म स्यान्डी’ उपन्यासमा विद्यामिश्रणको नवीन प्रयोग गरी आख्यान लेखनलाई नै एउटा बेग्लै–विशिष्ट उचाइमा पुर्याएका थिए । त्यस उपन्यासमा उनले निबन्ध र अन्य साहित्यिक विधा समाविष्ट मात्रै गराएनन्, पाठकसँग संवाद पनि गरे । नेपाली साहित्यमा पनि नितान्त नयाँ/नौलो/नवीन शैली प्रयोग भएका आख्यानले अत्यन्तै न्यानो स्वागत पाए । चाहे त्यो आख्यानकार ध्रुवचन्द्र गौतमको ‘अलिखित’ होस् वा उपेन्द्र सुब्बाको ‘लाटो पहाड’, ती आख्यानलाई नेपाली पाठकले बडो उत्साहपूर्वक ग्रहण गरे ।
उपन्यास/कथामा विभिन्न विधाको मिश्रण हुने सम्भावना भएकाले मिखाइल वाख्तिनले आख्यानलाई साहित्यकै उत्कृष्ट विधा मानेका छन् । उनका अनुसार, उपन्यास/कथामा अन्य साहित्यिक विधाको संरचना र शैली समेटिन्छ, त्यसैले नै यो बहुआयामिक हुन्छ र यसले उच्चस्तरको कथा सिर्जना गर्न सक्छ । यही गुण समाविष्ट गराउँदै क्षितिजले आफ्ना कथामा विविध आवाज र दृष्टिकोण प्रस्तुत गरेका छन् ।
कथाकारले नवीन शैली प्रयोग गरेमध्येका ‘विसं २०८१ को मुनामदन’ र ‘मलाई नबिर्से मञ्जरी’ कथाहरूमा विनिर्माण गरेका छन् । ‘विसं २०८१ को मुनामदन’ महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’ को नयाँ भर्सन हो । त्यस कथाले एक्काइसौं शताब्दीमा झन् भयावह रूप लिएको वैदेशिक रोजगारीको कथावाचन गर्छ । तर, २०८१ सालको ‘मुनामदन’ ले दुःखद अन्त्य बेहोर्नुपरेको छैन । यात्रा दुःखद र कष्टकर अवश्य छ, तर मुना र मदनको पुनर्मिलन भएको छ ।
‘मलाई नबिर्से मञ्जरी’ मा पात्रहरू जुलुसमा सामेल हुन्छ, ती जुलुस निकाल्छन् । यस कथामार्फत लेखकले नेपाली साहित्य जगत्मा दुःखको कथा र आँसु बिक्री गर्न पल्केकालाई झापड नहाने पनि व्यंग्य गरेर तिनको अनुहार नीलोकालो पारिदिएका छन । कथामा नेपाली साहित्यका विभिन्न ख्यातनाम लेखकका पुस्तकका पात्रहरूले आफूलाई दिएको भूमिकाप्रति असन्तुष्टि–भाव व्यक्त गरेका छन्, जुन अत्यन्तै रोचक र घतलाग्दो छ ।
हुन त यस्तो प्रयोग इन्द्रबहादुर राईले ‘कठपुतलीको मन’ र कृष्ण धरावासीले पनि आफ्ना आख्यानमा गरिसकेका छन् । अंग्रेजी लेखक टीएस इलियटका अनुसार, नयाँ लेखकले पुराना परम्परालाई निरन्तरता दिनु आवश्यक छ तर अन्धानुकरणचाहिँ गर्नु हुँदैन । आफ्नो निबन्ध ‘व्यक्ति र परम्परा’ मा इलियटले भनेका छन्, ‘कुनै पनि लेखकले आफूलाई साहित्यिक परम्पराबाट अलग राख्न सक्दैन । नयाँ लेखकले पुराना कृतिसँग गहिरो सम्बन्ध स्थापित गर्दै ती परम्परालाई नयाँ रचनात्मक तरिकाले पुनः व्याख्या गर्नुपर्छ ।’
‘एउटा मायी नगरमा’ कथा–किताबका कथा पढ्दा हामी पुराना सर्जकको झल्को अवश्य पाउँछौं । झन् हामी के अनुभूत गर्छौं भने पुराना सर्जकसँग सापट लिइएको झिल्कोलाई आफ्नो कलात्मकता र सिर्जनशीलताको प्रकाशमा परिणत गरी सम्पूर्ण मायी नगरमा उज्यालो फैलाएका छन् कथाकार रमेश क्षितिजले ।
कथाकारले ‘बटुवा रूख’ कथामा रूखलाई मुख्य पात्र बनाएर र मानवीकरण गरेर पर्यावरणको सचेतना मात्रै फैलाएका छैनन्, मानवताको अनुपम उदाहरणसमेत पेस गरेका छन् । आफ्नो हाँगो आफैं भाँचेर युवतीको ज्यान जोगाउन रूखले युवतीप्रति देखाएको करुणा–भावले बुबा–आमाको वात्सल्यको झल्को दिन्छ । एउटै कथामा विभिन्न कथावाचनको मानवकेन्द्रित विविध आयाम प्रस्तुत गर्नु यस संग्रहको विशेषता हो । ‘बटुवा रूख’ मा प्रयोग गरिएको दन्त्यकथा शैलीले पाठकलाई नोस्टाल्जिक बनाउँछ । कथा पढेपछि हामी हजुरआमा–आमाको काखको न्यानो महसुस गर्छौं ।
‘इत्रामको कोठा’, ‘माछाबजार’, ‘मलाई नबिर्से मञ्जरी’, ‘नमस्ते लुम्बिनी’ कथाहरूले पाठकलाई स्वैरकल्पनाको अद्भुत संसारमा प्रवेश गराउँछन । ‘स्वप्न बगैंचामा एउटा छाया’, ‘इत्रामको कोठा’ मा समावेश भएका कविताले मस्तिकमा तरंग ल्याउँछन् ।
‘आर्या, पर्ख आर्या’ मा अतीत र प्रार्थना शाहको सम्पूर्ण कथा इमेलमार्फत प्रस्तुत गरिएको छ । आर्या र अतीतको कथा पढ्दा कथा होइन, एक नाटक पढेको अनुभूति हुन्छ । यी दुई पात्रलाई केवल संवादमा प्रस्तुत गरिएको छ । कथामा कथाकार स्वयम् हावी भएर लामा–लामा व्याख्यान दिएका छैनन् । कथाहरूमा अत्यन्तै सरस ढंगले जीवन दर्शन प्रस्तुत गरिएको छ, कविताझैं लयदार र मुलायम शैलीमा । तर, कथाहरूमा भाषिक र सांस्कृतिक विविधताको अभावचाहिँ खड्किन्छ ।
अधिकांश कथाका प्रमुख पात्र करिब–करिब उस्तै उमेर समूहका र एउटै समुदायका हुन् जस्तो आभास हुन्छ । धेरैजसो कथाले सहरलाई काँधमा बोकेर हिँडेका छन् । कतिपय कथा पढ्दा न्यारेटिभ–एस्से पढेझैं लाग्छ, रिचार्ड स्टिली र जोसेफ एडिसनको निबन्ध पढेझैं । ‘मुखुन्डो अवतार’, ‘श्रीकृष्ण गोविन्द हरे मुरारी’, ‘अनुहार हराएको अनुहार’ कथाको स्टोरीलाइन एउटै–उस्तै लाग्छ, कथाहरूको पुनावृत्तिझैं अनुभूति हुन्छ ।
कवि/कथाकार क्षितिज भन्ने गर्छन्– कविता मन्त्र हो । मन्त्रोच्चारण गर्नु–बुझ्नु आम मानिसका लागि पक्कै सहज छैन । त्यसैले क्षितिजको कथा पढ्नुअघि पाठकले आफूलाई सक्षम–सचेत पाठक बनाउनु अपरिहार्य छ । नेपाली साहित्यसँग राम्ररी परिचित, देशको समसामयिक घटनासँग पनि परिचित पाठकले मात्रै यस संग्रहको सुस्वाद लिन सक्ला सायद । ‘एउटा मायी नगरमा’ को मायानगरी सफर मेरा निम्ति अद्भुत–आनन्दकारी रह्यो, जुन यात्राका प्रिय सम्झना सधैं मस्तिष्कमा सुरक्षित रहनेछन् । सी यू मायानगरी ।
