मान्छेको मंगल यात्रा, के सम्भव छ?

अन्तरिक्षमा रुचि राख्नेहरूका लागि मंगल–यात्रा कौतूहल र रहस्यको विषय बनिरहेको छ । ‘मार्स’ पुस्तक र ‘अ ट्रिप टु मार्स’ फिल्मले मंगलग्रहमा जीवनको सम्भाव्यतामाथि पहिलो पटक बहस गरेका थिए । 

माघ २६, २०८१

सजना बराल

Human travel to Mars, is it possible?

काठमाडौँ — बेलायती भौतिकशास्त्री एवं संगीतकार प्राध्यापक ब्रायन कक्सले जो रोगनसँगको पडकास्टमा ब्रह्माण्डसम्बन्धी केही घतलाग्दा कुरा भनेका छन् । उनले झन्डै ९४ अर्ब प्रकाश वर्ष लामो आकारको मानिने ब्रह्माण्डका दुइटा कुरा तर्साउने खालका भएको बताएका छन् । ‘एउटा यत्रो ठूलो ब्रह्माण्डमा पृथ्वीमा मात्रै जीवन सम्भव छ भन्ने कुरा र अर्को यत्रो ठूलो ब्रह्माण्डमा पृथ्वीबाहेक अन्त पनि जीवन सम्भव छ भन्ने कुरा,’ कक्सले भनेका छन् ।

उनको संकेत अहिले पृथ्वीको सीमाभन्दा बाहिर, चन्द्रमा र विशेषगरी मंगलग्रहमा जीवन र सभ्यता सम्भव हुने विषयमा चुलिएको बहसतर्फ लक्षित थियो । 

सन् १८९५ मा पर्सिभल लवेलले ‘मार्स’ नामक पुस्तक लेखेर र सन् १९१० मै बनेको ‘अ ट्रिप टु मार्स’ फिल्मबाट मंगलग्रहमा जीवनको सम्भाव्यतासम्बन्धी चर्चा सुरु भएको थियो । त्यसयता निरन्तर अन्तरिक्षमा रुचि राख्नेहरूका लागि यो कौतूहलको विषय बन्दै आएको छ । सन् १९२० मा लन्डन डेली मेलका एक पत्रकारले वैज्ञानिक अल्बर्ट आइन्स्टाइनलाई सोधेको प्रश्नमा उनले मंगललगायत अन्य ग्रहमा पनि कुनै हिसाबको जीवन हुन सक्ने र दुनियाँमा एकभन्दा बढी ब्रह्माण्ड हुन सक्ने जवाफ दिएको बताइन्छ । उनले भनेका थिए, ‘दुनियाँभरमा पृथ्वीमा मात्रै जीवन हुनु वा रहनुपर्ने कुनै विशेष कारण छैन । अन्य तारापुञ्ज वा ब्रह्माण्डका पनि पृथ्वीजस्तै आफ्नै ग्रह हुन सक्छन् ।’ 

सन् १९७५ मा भाइकिङ ल्यान्डर– १ ले रातो ग्रह भनिने मंगलमा अवतरण गरेयता त्यहाँ जीवनको अवशेष वा अन्य कुनै संकेत भेट्टाउन मानिसहरू लागिपरेका छन् । मंगलग्रहसम्म पुग्ने मानव आकांक्षामा पछिल्लो पटक तेल थप्ने काम भने नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सहकर्मी तथा विश्वकै धनाढ्य अर्बपति इलन मस्कले गरेका छन् । जनवरी २० मा राष्ट्रपतिको शपथग्रहण सम्बोधनमा ट्रम्पले मंगलमा अमेरिकी झन्डा गाड्ने योजना सुनाएका थिए । हालै एक पत्रकार सम्मेलनमा पनि उनले आगामी दशकभित्रै मंगलमा मानव जीवन सम्भव तुल्याउने घोषणा गरे । ‘अमेरिकाले अन्तरिक्ष यात्रामा विश्वकै नेतृत्व गर्नेछ र मेरो कार्यकाल सकिनुअघि नै हामी मंगलग्रहमा पुगेका हुनेछौं,’ उनको भनाइ छ ।

ट्रम्पसँगै रहेका टेक खर्बपति तथा स्पेस एक्सका प्रमुख इलन मस्कले पनि राष्ट्रपतिको भनाइमा होमा हो मिलाउने गरेका छन् । उनले त पृथ्वीभन्दा औसतमा करिब २२ करोड ५० लाख किलोमिटर पर रहेको मंगलमा मान्छे पुर्‍याउने मात्रै नभई उपनिवेश नै स्थापना गर्ने लक्ष्य लिएका छन् । ‘हामी सरकारको प्रभावकारिता बढाउनेसम्बन्धी अमेरिकी सरकारको मैले नेतृत्व गरेको विभागलाई मंगलमा पुर्‍याउनेछौं,’ इलनको भनाइ छ, ‘हामी सिधै मंगलमा जाँदै छौं, चन्द्रमा अवरोध मात्रै हो ।’ अन्तरिक्ष अभियानमा चन्द्रमातिर लाग्नु ध्यान भड्काउने काम (डिस्ट्र्याक्सन) भएको मस्कको विचार छ । 

Human travel to Mars, is it possible?

मस्कले अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई पनि चन्द्रमा अभियान छोडेर मंगलग्रहतिर लाग्न आग्रह गर्दै आएका छन् । नासाले भने मंगलग्रहमा मानिस पठाउने काम चन्द्रमामा पठाउनेभन्दा साह्रै कठिन भएको जनाएको छ । मंगल अभियानमा जाँदा अन्तरिक्ष विकिरण, पृथ्वीबाट दूरी, माइक्रोग्य्राभिटीको असर र जटिलता एवं महिनौंसम्म यानभित्रको बन्द वातावरणमा रहनु अन्तरिक्ष यात्रीका लागि असहज हुने अध्ययनहरूले देखाएका छन् । नासाका अनुसार, पृथ्वीबाट मंगलमा पुग्न ६ देखि ९ महिना लाग्छ । सबैभन्दा सहज र ऊर्जा–मितव्ययी मार्ग मानिने ‘होम्यान ट्रान्सफर अर्बिट’ प्रयोग गर्दा पनि मंगलमा पुगेर पृथ्वीमा फर्किन करिब २ वर्ष लाग्ने अनुमान गरिएको छ ।

अमेरिकी नेतृत्वले मंगलमा पुग्ने योजना सार्वजनिक रूपमै सुनाए पनि त्यहाँ पुग्न र जीवन नै सम्भव बनाउन प्राविधिक र व्यावहारिक रूपमा अत्यन्तै कठिन रहेको स्पेस एजेन्सी एवं वैज्ञानिकहरूले बताउँदै आएका छन् । यसका लागि आर्थिक र अन्य कठिनाइको सूची पनि लामै रहेको उनीहरूको भनाइ छ । गत नोभेम्बरमा बिल माहेरको टेलिभिजन शोमा पुगेका चर्चित अमेरिकी खगोलविद् नील डेग्रास टाइसनले मंगलग्रहमा मानव जीवनको सम्भावना अत्यन्तै क्षीण रहेको र त्यसमा नैतिक, प्राविधिक, प्रक्रियागत थुप्रै प्रश्न रहेको बताएका थिए । 

दूरी, समय, ऊर्जा र लागत

पृथ्वीबाट मंगलसम्मको यात्रामा सबैभन्दा प्रमुख पक्षमध्ये एक दूरी हो । पृथ्वीबाट नजिकै देखिए पनि मंगलग्रह शुक्रभन्दा झन्डै साढे ५ गुणा पर रहन‍े र औसतमा झन्डै २२ करोड ५० लाख किलोमिटर परबाट सूर्यको परिक्रमा गर्छ । पृथ्वीबाट मंगलका लागि यात्रा गर्दा मंगल पृथ्वी नजिक आएको मौका छोप्नुपर्छ । अहिलेसम्म मानवसहितका यान पृथ्वीबाट सबैभन्दा पर पुगेको भनेको अपोलो– १३ का अन्तरिक्ष यात्रीहरू चन्द्रमाको ‘फार साइड’ भनिने अर्कोपट्टिको भागछेउ पुगेका हुन् । यो झन्डै चार लाख किमि मात्रै टाढा छ । यस हिसाबले मंगलग्रहको यात्रा गर्दा झन्डै १६ गुणा परसम्म पुग्नुपर्ने हुन्छ, जसका लागि नयाँ, अत्यन्तै उन्नत, खर्चिलो र सुधारिएको तयारी आवश्यक रहने वैज्ञानिकहरूको ठहर छ । 

मंगलमा अहिले केही अन्तरिक्ष यान, अर्बिटर, रोभरलगायत स्पेसक्राफ्ट पठाइएका छन्, तर मानवसहितको यात्रा यी यान पठाएजस्तो सहज छैन । यो अत्यन्तै लामो र खर्चिलो हुने भएकाले यसमा शंका व्यक्त गर्नेहरू पनि छन् । अहिलेको प्रविधिअनुसार मंगलग्रहमा पुग्ने, त्यहाँ बस्ने र फर्किने समयसमेत जोड्दा एक पटकको यात्रा कम्तीमा दुई वर्षको हुने देखिन्छ । तीन दिनमै पुगिने चन्द्रमाको तुलनामा यतिका पर पुग्न आवश्यक पर्ने इन्धन, मेडिकल सामग्री, खाद्यान्न, कपडासँगै कैयौं आधारभूत पक्षलाई महिनौंसम्म नबिग्रिने गरी मिलाउनु चुनौतीपूर्ण हुने ठानिएको छ । केही समस्या आइपर्दा पुनः आपूर्ति वा उद्धारको कुनै सम्भावना नहुने र मंगलको कक्ष आसपासबाट पृथ्वीमा सन्देश आइपुग्नै २० मिनेट लाग्ने नासाको वेबसाइटमा उल्लेख छ । 

Human travel to Mars, is it possible?

नासाको मानव शोध कार्यक्रमले अहिले ६ महिनाभन्दा बढी अन्तरिक्षमा रहँदा कस्ता जटिलताहरू आउन सक्छन् र त्यसका लागि कसरी तयारी गर्ने भन्नेबारे समाधान निकाल्ने प्रयत्न गरिरहेको छ । गत वर्ष जुनमा ४ जना स्वयंसेवकहरू ‘मार्स ड्युन अल्फा’ भनिने मंगलग्रहसँग मिल्दोजुल्दो अवस्थासहितको एक स्थान (सिमुलेसन) बनाएर १ वर्षसम्म त्यहाँ बसेका थिए । मंगलमा जाँदा मानिसको स्वास्थ्य र खानामा कस्तो प्रभाव पर्न सक्छ भन्नेबारे यो प्रयोग सन् २०२५ र २०२६ पनि पुनः गरिँदै छ । 

मंगल यात्राका क्रममा महिनौंसम्म अन्तरिक्षको कडा विकिरणबाट मानव शरीरलाई कसरी जोगाउने र त्यसका लागि सुरक्षाका के–कस्ता उपाय अपनाउने भन्ने चुनौती एकातिर छ भने झन्डै २ वर्षको निरन्तर यात्रामा आउने मानसिक दबाब पनि सहभागीहरूले झेल्नुपर्ने हुन सक्छ । यस्तै, मंगलग्रह बराबरको दूरीसम्म मान्छेले कहिल्यै यात्रा नगरेको हुँदा माइक्रोग्राभिटीसँगै अन्तरिक्षका धूलो र आश्चर्यजनक पक्षहरूले व्यवधान ल्याउन सक्ने अनुमान गरिएको छ । त्यस्तै, मंगलग्रहमा मानिसका लागि नभई नहुने अक्सिजनको मात्रा जम्मा १.३ प्रतिशत छ । यस्तोमा मानिस कसरी रहने ?

मंगलग्रहमा अक्सिजन अभावको समस्या समाधान गर्न वैज्ञानिकहरू लागिपरेका छन् । यही प्रयोजनका लागि सन् २०२२ मा ‘मार्स अक्सिजन इन–सिटु रिर्सोस युटिलाइजेसन एक्स्पेरिमेन्ट (मोक्सी रोबट)’ मंगलमा पठाइएको थियो । त्यसयता मोक्सी रोबटले निरन्तर अक्सिजन उत्पादन गरिरहेको र गत वर्षसम्म १२२ ग्राम अक्सिजन तयार गरेको नासाले जनाएको छ । पृथ्वीमा रुखबिरुवाले हावाबाट कार्बन डाइअक्साइड लिएर अक्सिजन फ्यालेझैं मंगलग्रहमा फुच्चे रोबटले मंगलको वायु मण्डलमा ९६ प्रतिशत रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन निकालिरहेको हो । अहिले यो नमुनाका रूपमा रहेको र विस्तारै पूर्ण क्षमताको यस्तै रोबट पठाएर घण्टैपिच्छे सयौं ग्राम र पाउन्ड अक्सिजन निकाल्नेबारे वैज्ञानिकहरूले योजना बनाएका छन् ।

मान्छेलाई मंगलग्रहसम्म पुर्‍याउने प्रयासमा अर्को एकदमै प्रमुख चुनौती भनेको प्रविधिको हुने औंल्याइएको छ । यति परसम्म अन्तरिक्ष यान पुर्‍याउन कुन र कस्तो किसिमको ऊर्जा स्रोत प्रयोग गर्ने र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा निचोड निस्किएको छैन । साथै, मंगलग्रहको कक्षमा प्रवेश, विस्तारै तल झर्ने र अवतरण (इन्ट्री, डिसेन्ट र ल्यान्डिङ) को प्रक्रिया जटिल रहने वैज्ञानिकहरूको बुझाइ छ । मंगलमा अवतरणका क्रममा यानलाई रोक्न र सुरक्षित अवतरणमा सघाउने गरी पृथ्वीको जस्तो घना वायुमण्डल छैन । त्यसैले हिटसिल्ड, ठूला प्यारासुट, फिँजारिएर खुल्ने ल्यान्डर लगायतको सहायताले त्यसलाई व्यवस्थापन गर्ने तयारी नासा र स्पेस एक्सको छ । सूर्य र अन्तरिक्षको विकिरणमा लामो समय एक्स्पोज हुनुपर्ने भएकाले अहिले उपलब्धभन्दा उन्नत स्पेससुटहरूको डिजाइनमा पनि उनीहरू लागिपरेको यी संस्थाका वेबसाइटमा पढ्न सकिन्छ ।

स्पेस एक्सको अग्रसरता

मंगलग्रहसम्म पुग्न आवश्यक प्रविधिको निर्माणमा स्पेस एक्सका निकै महत्त्वाकांक्षी योजनाहरू छन् । यसका लागि उनीहरूले स्टारसिप र सुपर हेभी रकेटमा काम गरेका छन् । अहिले परीक्षणको चरणमा रहेका यी दुई प्रमुख साधनले मानवको मंगलग्रहसम्मको यात्रालाई सहज बनाउने आशा गरिएको छ । सुपर हेभी रकेट अहिलेसम्मकै ठूला रकेटमध्ये एक हो । यो ७० मिटर अग्लो र पूर्णरूपमा फेरि प्रयोग गर्न मिल्ने गरी बनाइएको छ । अहिले उपलब्ध नासाको स्पेस लन्च सिस्टमभन्दा यो दोब्बर ठूलो छ । 

Human travel to Mars, is it possible?

पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर निस्किन उपयोगी हुने मानिएको उक्त रकेट आफ्नो यानलाई लक्षित स्थानमा पुर्‍याएर पृथ्वीमा फर्किने र आफैं अवतरणसमेत गर्न सक्ने गरी बनाइएको छ । यस्तै, परीक्षणकै क्रममा रहेको स्टारसिप यान लगभग ५० मिटर लामो र फराकिलो छ । यसले एक पटकमा झन्डै १०० जना यात्रु वा १०० टन सामग्री बोक्न सक्छ । अरूबेला देखिने साना र साँघुरा यानको विपरीत यो यान फराकिलो, सहज र ठूला झ्यालसहितको छ । सुपर हेभी रकेटलाई पृथ्वीबाट माथि उठाउन प्रयोग हुने ३३ वटा र्‍याप्टर इन्जिनलाई पनि स्पेस एक्सले पुनः प्रयोग गर्न मिल्ने र फाल्कन– ९ रकेटमा जोडिएको भन्दा दोब्बर क्षमताको बनाएको छ । 

मंगलतर्फको २/३ वर्षे लामो यात्रामा इन्धनको व्यवस्था कसरी हुन सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण मानिएको छ । यसका लागि स्पेस एक्सले पृथ्वीकै लोअर अर्थ अर्बिट अर्थात् वायुमण्डलमा पुगेर स्टारसिपमा इन्धन भर्ने व्यवस्था गर्ने प्रयास पनि गरिरहेको छ । त्यो सम्भव भएमा स्टारसिप प्रक्षेपणका क्रममा लिएर जानुपर्ने अत्यधिक इन्धनको जोखिम कम हुन सक्छ । स्पेस एक्सले सम्भव भएसम्म मंगलग्रहमा उपलब्ध तत्त्वहरूलाई पनि इन्धनका रूपमा विकासको प्रयास गर्ने जनाएको छ । 

Human travel to Mars, is it possible?

मंगलग्रहमा उपलब्ध पानी र ९६ प्रतिशत कार्बन डाइअक्साइडलाई अक्सिजन र मिथेनका रूपमा विकास गर्न खोजिएको छ । यसो गर्न सके त्यहाँ रहँदा र पृथ्वीतर्फ फर्कंदा ती उपयोगी हुने मात्र नभई पृथ्वीबाट लिएर जानुपर्ने भारी घट्ने वैज्ञानिकहरूको विश्वास छ । नासाका पूर्वप्रमुख जिम ब्रिडेन्स्टेनले एक अन्तर्वार्तामा आणविक ऊर्जाको प्रयोगमार्फत रकेटहरूलाई चलाउनेबारे सोच्नुपर्ने बताएका छन् । उनका अनुसार, त्यसले मंगलतर्फको यात्रामा रासायनिक इन्धनमा आधारित अहिलेका रकेटको तुलनामा गतिलाई चामत्कारिक रूपमा बढाउनेछ । स्पेस एक्सका प्रमुख मस्कले त विस्तारै मंगलग्रहमै इन्धनको प्लान्टबारे सोच्नुपर्ने र त्यसो नभए त्यहाँ बस्ती बसाउने योजनाले काम नगर्ने विचार राख्दै आएका छन् । 

अत्यन्तै जटिल र कठिन मानिएको यो योजनामा स्पेस एक्सले नै ‘मार्सलिंक’ भनिने स्याटेलाइटमा आधारित सञ्चार प्रणाली निर्माण गरेर सञ्चार दूरीलाई पनि छोट्याउने प्रयास गरिरहेको छ । कम्पनीले मंगलको वरिपरि भूउपग्रह नेटवर्क स्थापना गरेर पृथ्वी र मंगलबीच लेजर कम्युनिकेसन प्रविधिमार्फत उच्च गतिको डेटा रिले प्रणाली स्थापना गर्न सकिने बताएको छ । यस विषयमा स्पेस एक्सले सन् २०२४ मा भएको नासाको ‘मंगलग्रह अन्वेषण कार्यक्रम विश्लेषण समूह’ को भेलामा अवधारणा प्रस्तुत गरेको थियो । नासाले पनि मंगलग्रहमा बस्नलायक स्थान निर्माणका लागि थ्रीडी प्रिन्टरलगायत अत्याधुनिक मेसिन निर्माणको विकल्प खोजी गरिरहेको छ । 

आर्थिक व्यवस्थापनको चुनौती

मंगलतर्फको सपनामा अर्को अत्यन्तै प्रमुख प्रश्न आर्थिक व्यवस्थापनको हुन आउने देखिन्छ । अहिलेको अवस्थामा पहिलो पटक मान्छेसहितको यान मंगलको सतहमा ओराल्न लगभग ५ खर्ब अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । यो रकम अहिले विश्वमा रहेका १९५ देशमध्ये १६७ देशको कुल गार्हस्थ्य उत्पादनभन्दा ठूलो हो । 

मंगलग्रहमा सहर वा बस्ती नै निर्माण गर्ने घोषणा गरेको मस्कको कम्पनीले सो कार्यका लागि प्रारम्भिक रूपमा १० खर्ब अमेरिकी डलर आसपासको लगानी आवश्यक पर्ने अनुमान गरेको छ । यो रकम विश्वका कैयौं प्रमुख अर्थतन्त्रभन्दा बढी त हो नै, नासाले सन् १९५८ मा स्थापना भएयता खर्च गरेको लगभग ६ खर्ब ५० अर्ब अमेरिकी डलर र त्यसको वर्तमान समयमा हुन आउने वास्तविक मूल्यभन्दा बढी हो । 

नासाले सन् २०२० फेब्रुअरीमा पर्सिभरेन्स रोभर नामक यान मंगलग्रहमा पठाएको थियो । त्यसले उक्त रातो ग्रहमा पुरातन जीवनका संकेत खोज्नुका साथै भविष्यका मिसनहरूमार्फत पृथ्वीमा फर्काएर ल्याउन त्यहाँको चट्टान र माटोका नमुना संकलन गरिरहेको छ । सन् २०२० कै जुलाईमा चीनले पनि मंगलग्रहका लागि तियान्वेन–१ मिसन लन्च गरेको थियो । यसअन्तर्गत चीनले पठाएको झुरोङ रोभरले मंगलग्रहको सतहमा १ हजार ६४ मिटर यात्रा गरेकोबारे सन् २०२१ मा चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन (सीएनएसए) ले जानकारी दिएको थियो । 

यीसँग मंगलमा अहिले ‘क्युरोसिटी’ नामक तेस्रो रोभर पनि गुडिरहेको छ । मंगलको आकाशमा फन्को मार्ने अर्बिटरहरू पनि छन् । यसमा नासाको एमआरओ र मार्स ओडिसीसँगै युरोपियन स्पेस एजेन्सीको मार्स एक्स्प्रेसले मंगलको परिक्रम लगाइरहेका छन् । मंगलको छेउमा पुग्ने पहिलो स्पेसक्राफ्ट चाहिँ मरिनर–४ हो, जुन सन् १९६४ को नोभेम्बरमा प्रक्षेपण भएको थियो । यसले सन् १९६५ मा मंगल हुँदै उड्दा त्यहाँको सतहको तस्बिर पठाएपछि मानिसले रातो ग्रह हेर्न पाएका थिए । 

Human travel to Mars, is it possible?

मंगलमा मानव पठाउने होड

अपोलो– १७ सँगै बन्द भएको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रभन्दा पर मानव पठाउने होड सन् २०२० को दशकमा आएर एकाएक आक्रामक भएको छ । यस्तो हुनुमा प्रतिस्पर्धा र भूराजनीतिक पक्षहरू पनि छन् । बिल माहेर शोकै कुराकानीमा खगोलविद् नील डेग्रास टाइसनले यतिको ठूलो लगानी र जोखिमको अन्तर्यमाथि प्रश्न उठाउँदै भनेका थिए, ‘हामी अत्यन्तै ठूला र भव्य कामहरू आफ्ना प्रतिस्पर्धीले भेट्टाउन लागेको वा भूराजनीतिक पक्षहरू जाग्रित भएको अवस्थामा गर्छौं ।’ 

चीनले सन् २०२८ भित्र आफूले मंगलग्रहमा जम्मा गरेको नमुना फर्काउने र सन् २०३३ सम्ममा मंगलग्रहमा मानव सहितको यान पठाउने घोषणा गरिसकेको छ । यसमा अमेरिका पनि आक्रामक भएर लागेको देखिन्छ । दुई वटा ठूला देशले कुनै छुट्टै ग्रहमा दीर्घकालीन रूपमा बस्ती बसाल्ने वा त्यहाँ आफ्नो प्रभुत्व जमाउनेजस्ता विषय ‘आउटर स्पेस ट्रिटी’ को विरुद्ध हुने कतिपयको मत छ । यो सन्धि सन् १९६७ मा १११ देशले अनुमोदन गरेका थिए । यसले चन्द्रमालगायत अन्य ग्रह तथा उपग्रहहरूमा कुनै अमुक देशले प्रभुत्व जमाउने वा कब्जा गर्न नपाइने र त्यहाँ हुने गतिविधि पूर्णरूपमा शान्तिपूर्ण प्रयोजनका लागि हुनुपर्ने सुनिश्चित गरेको छ । 

अमेरिकी नेतृत्वको पछिल्लो घोषणाले सन् १९६० को दशकमा अमेरिका र रुसबीच चलेको अन्तरिक्ष होडको झल्को दिन सुरु गरेको छ । अहिले यो होडमा चीन नयाँ खेलाडीका रूपमा देखिएको छ भने युरोप, रुस र संयुक्त अरब इमिरेट्सले पनि चासो दिएका छन् । अमेरिका सबैलाई उछिन्ने ध्याउन्नमा छ । चीनले चन्द्रमामा मानवसहितको यान पठाउने मात्रै नभई सन् २०३५ सम्ममा त्यहाँ एउटा बेस नै स्थापना गर्ने घोषणा गरेको छ । सन् २०३३ बाट सुरु गरेर सन् २०३५, २०३७ र २०४१ मा मानवसहितका यान मंगलग्रहमा उतार्ने दाबी चीनको छ । सन् २०२० मा वार्षिक ८ अर्ब डलर रहेको चीनको अन्तरिक्ष बजेट निरन्तर बढ्दो छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना सार्वजनिक भाषणहरूमा चीनका अन्तरिक्ष उपलब्धिहरूको खुलेर प्रशंसा गर्ने गरेका छन् । 

Human travel to Mars, is it possible?

‘हामी स्वतन्त्र रूपमा नवीनतम प्रविधिको खोज गर्ने मार्गतर्फ बढ्नुपर्छ,’ अन्तरिक्षको खोजमा अन्तर्राष्ट्रिय सहकार्य हुनुपर्ने भन्दै सीले भनेका थिए, ‘अन्तरिक्ष प्रविधिको खोज र भविष्यका लागि आवश्यक प्राविधिक उन्नतिमा गर्ने प्रगति हाम्रा लागि असाध्यै महत्त्वपूर्ण छ ।’

आफ्ना प्रविधिमा चीनको गति र योजना हेर्दा यही दशकको अन्त्यसम्ममा चीनले अमेरिका र अन्य देशलाई अन्तरिक्ष केन्द्र, स्याटेलाइट इन्टरनेट प्रविधिसँगै चन्द्रमा र मंगलग्रहसम्मको यात्रामा बलियो चुनौती पेस गर्न सक्ने देखिन्छ । नासाले पनि यो दशकको अन्त्यसम्ममा मानव सहितको यान मंगलग्रहको परिक्रमा गराउने लक्ष्य राखेको छ । सन् २०३० को बीचतिर मात्रै मंगलग्रहमा दीर्घकालीन उपस्थिति जनाउने सोचमा रहेको नासालाई अहिलेको ट्रम्प र मस्कको हतारोले कत्तिको धकेल्छ, हेर्न बाँकी नै छ । 

मंगलमा ९६ प्रतिशत कार्बन डाइअक्साइड र ०.१३ प्रतिशत अक्सिजन रहेको बताइन्छ । पृथ्वीमा २१ प्रतिशत अक्सिजन छ । त्यहाँको औसत तापक्रम माइनस ६३ डिग्री सेल्सियस छ । दिनमा २० डिग्रीदेखि माइनस १२५ डिग्री सेल्सियससम्म हुने पत्तो लागेको छ । पृथ्वीमा जस्तो म्याग्नेटिक फिल्ड र वायुमण्डल नभएकाले सौर्य ताप र अन्य खगोलीय विकिरणका कारण त्यहाँ लामो समय बस्दा स्वास्थ्य जटिलता उत्पन्न हुने ठानिएको छ ।

मंगलका केही ठाउँमा बरफ र वायु भेटिएकाले खाना, पानी र सास फेर्ने हावा त्यहीं उत्पादन गर्न सकिने अपेक्षा गरिएको छ । तथापि, मंगलमा हप्तौं र महिनौंसम्म धूलोको भयानक आँधी आउने भएकाले त्यसले पृथ्वीबाट पुगेका उपकरण र भविष्यमा हुने मानव अन्वेषणलाई ठूलो चुनौती खडा गर्ने ठानिएको छ ।

मंगल–यात्राका फाइदा के ?

मंगलग्रहमा जाने प्रतिस्पर्धा भएमा त्यसमा हुने खर्च र त्यसले बढाउने आर्थिक गतिविधि र सिर्जना गर्ने झन्डै ७० हजार आसपासको प्राविधिक रोजगारी एउटा सकारात्मक पाटो हुने विश्लेषण गरिएका छन् । अर्को फाइदा, नवीनतम प्रविधिको विकासको क्षेत्रमा हुन सक्ने ठानिएको छ । अहिले विद्यमान इन्धनबाट मंगलसम्मको यात्रा जोखिमपूर्ण हुन सक्ने र वर्षौंसम्म जोगिने गरी खानेकुरा, औषधि, पोषणलगायत जोगाउनुपर्ने सन्दर्भमा अनुसन्धानबाट नवीन प्रविधि निस्कँदा मानव जगत्लाई त्यसले फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ । 

Human travel to Mars, is it possible?

मंगलग्रह वा चन्द्रमासम्मको यात्रा नियमित हुँदा अन्तरिक्ष पर्यटन र खोजको क्षेत्रमा बढ्ने चहलपहलको पाटो पनि महत्त्वपूर्ण हुने ठानिएको छ । यो तहको अभियान कुनै सरकार वा निजी क्षेत्रले एक्लै गर्न नसक्ने हुँदा त्यसबाट स्थापित हुन सक्ने अन्तर्राष्ट्रिय सहकार्य र समन्वयसँगै कुनै बेला जीवन रहेको मानिने रातो ग्रहबारे खोज गर्दा पृथ्वीकै भविष्यबारे पनि धेरै कुरा विस्तृतमा जान्न सजिलो हुने विश्लेषण भएका छन् ।

मंगलग्रहमा मानवको स्थायी उपस्थिति भएको खण्डमा मान्छे ‘मल्टीप्लानेटरी’ प्राणी अर्थात् एकभन्दा बढी ग्रहमा हाम्रो उपस्थिति हुने इलन मस्कको भनाइ छ । यो नै सबैभन्दा ठूलो उपलब्धि हुने उनको धारणा छ । चर्चित वैज्ञानिक कार्ल सेगनले आफ्नो पुस्तक ‘पेल ब्लु डट’ मा लेखेका छन्, ‘पृथ्वीको सतहमा उम्रिएको एक बुटा घाँस यहाँ एकदमै सामान्य हो, त्यही चिज मंगलग्रहको सतहमा चमत्कार हुन सक्छ । मलाई लाग्छ, मंगलग्रहमा कुनै दिन बसोबास गर्न हाम्रा आगामी पुस्ताले जीवनको त्यो मूल्यबोध गर्नेछन् ।’ 

अपोलो–१५ मिसनमार्फत चन्द्रमामा पुगेर पहिलो पटक पृथ्वीबाट लगेको गाडी कुदाउनुका साथै आफ्नो यानभन्दा ३० किमि परसम्म पुगेका अन्तरिक्ष यात्री डेभिड स्कटको भनाइ पनि यहाँ सान्दर्भिक छ । ‘मंगलग्रह त्यो ग्रह हो, जसले मान्छेको कल्पनालाई सधैं आफू वरिपरि राख्न सकेको छ,’ उनले भनेका छन्, ‘यसले अथाह तथ्य र सम्भावना मात्र नभएर नयाँ सुरुवातको प्रारम्भसमेत दिन सक्छ ।’

सन् १९०३ को डिसेम्बर १७ मा पहिलो पटक राइट दाजुभाइले मान्छे बसेर उड्ने साधन पनि बनाउन सकिन्छ भनेको ६६ वर्ष नपुग्दै नील आर्मस्ट्रङको टोली चन्द्रमामा ओर्लिएर टीभीमा लाइभ देखिइसकेको थियो । मान्छेले नवीन सोच राखेर मिहिनेत गरेमा एकभन्दा बढी ग्रहमा जीवन सम्भव बनाउने प्रयास असम्भव नहोला । सन् २०१३ मा आयोजित साउथ बाई साउथवेस्ट कन्फेरेन्समा इलन मस्कले भनेका थिए, ‘सम्भव भयो भने म मंगलग्रहमा पुगेर मर्न चाहन्छु ।’ अहिलेको होडले उनको त्यो इच्छा पूरा हुने संकेत देखिएको छ ।

एजेन्सीको सहयोगमा

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully