यो किताब भावुकताले भरिएको यात्रा संस्मरण होइन, विश्वलाई सताइरहेका जलवायु परिवर्तनजस्ता समस्यामाथिको स्थलगत अध्ययन हो
रसुवाबाट केरुङ जाने बाटोमा नेपाल सरकारले अध्यागमन कार्यालय खोल्यो । त्यसको सेवा लिन आउने चिनियाँहरू त्यहाँको ट्वाइलेट गए । आफ्नो अफिसमा काम परेर आउने मानिस ट्वाइलेट जाँदा फोहोर भयो भनेर कर्मचारीलाई रिस उठ्यो । उनीहरूले ट्वाइलेटमा ताला लगाए ।
त्यसपछि त्यस कार्यालयमा कामका लागि आउने मानिसहरू घरवालाले चलाएको र त्यस अफिसको तल्लो तलामा रहेको होटलको ट्वाइलेटमा जान थाले । घरवालालाई रिस उठ्यो ।
पत्रकार रमेश भुसालको किताब ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’ को सुरुतिरै यो प्रसङ्ग उल्लेख छ ।
सेवा लिन आओ भनेर अफिस खोल्ने अनि सेवा लिन आउनेहरू ट्वाइलेट गए भनेर रिसाउने अफिसवाला ! मान्छे आइजाइ गर्ने अफिसलाई घर भाडामा लगाउने अनि उनीहरू ट्वाइलेट गए भनेर रिसाउने घरवाला !
दिसापिसाब गर्न पाउने अधिकार कति मौलिक हो भने यसको उल्लेख कतै गर्नुपर्छ भन्नेसमेत मान्छेले ठानेको छैन । मान्छेले थोरै मात्र अधिकार उपयोग गर्न पाउने अवस्था आइलाग्यो भने दिसापिसाब गर्न पाउने अधिकार एक नम्बरमै आउनुपर्छ किनभने यो अधिकार उपयोग गर्न नपाउँदा मान्छे जनावरका हैसियतमा पनि बाँच्न सक्दैन । मानवका हैसियतमा त कुरै छाडिदिउँ । खान नपाउँदा मान्छे केही दिन बाँच्ला तर दिसापिसाब गर्न नपाउँदा बाँच्दैन । सभ्य हुनका लागि मान्छेले दिसापिसाब जथाभावी गर्नु हुँदैन । तर, सभ्य तरिकाले दिसापिसाब गर्दा सरकार र घरवालालाई रिस उठ्छ । यसबाट हाम्रो समाज र सरकार अर्थात् हामी कति असभ्य छौं भन्ने देखिन्छ ।
‘छालबाटो ः कैलाशदेखि गङ्गासम्म’ मा काठमाडौं, रसुवा अनि कर्णाली नदी आसपासका ठाउँमा लेखकले पत्रकारका हैसियतमा गाडी र डुङ्गामा अनि पैदल हिँड्दा देखेभेटेका कुराको वर्णन गरिएको छ । हुन त यो किताब यात्रा संस्मरण हो, तर यसले हाम्रो समाज कति कुरुप छ भन्ने देखाइदिएको छ ।
एउटा अर्को प्रसङ्ग हेरौं । कर्णाली नदी किनारमा टहलिँदै गर्दा रमेशले केही ढुंगाले थिचेको बालुबाको थुप्रो देखे । त्यहाँ एउटी महिलाको लास झारा टार्ने किसिमले पुरिएको रहेछ । जिउँदो हुँदा उनलाई समाजले बोक्सी भएको आरोप लगाएको रहेछ । मरेपछि अरू मानिसको लास जसरी जलाउन हुँदैन भनेर गाडेजस्तो मात्र गरेको रहेछ ।
मान्छेलाई यो दर्जाको अमानवीय व्यवहार गर्न सक्ने बनाउने कुसंस्कार भएको हाम्रो समाज देख्दा लेखकको मथिङ्गल हल्लियो । समाजलाई अघि बढ्न नदिने यस्ता संस्कार आजको युगमा पनि कायमै भएका घटना पढ्दा हाम्रो मथिङ्गल हल्लिन्छ ।
अर्को एउटा प्रसङ्गमा लेखकले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे उल्लेख गरेका छन् । उनका अनुसार, सन् ६० को दशकमै अर्थात् आजभन्दा ६० वर्ष जति अघि यो आयोजनाको चर्चा चलेको थियो । त्यसपछि २०४५ सालतिर यो आयोजना फेरि बौरियो । विश्व बैंकको लगानीमा भएको अध्ययनले त्यहाँबाट २४० देखि ४१८० मेगावाटसम्म बिजुली निकाल्न सकिने ठान्यो । त्यस नदीमा बन्न सक्ने ६ वटा सबैभन्दा उपयुक्त योजना छनोट गरियो । कर्णाली जलविद्युत् आयोजनालाई ‘श्रीपेचमा जडित हीरा’ भएको ठहर्याइयो ।
कर्णाली नदीमा विद्युत् आयोजना बनाएर देशलाई लाभमाथि लाभ दिलाउने लोभ देखाएर एनरोन लगायतका कम्पनी नेपाल आए । नेपालका नेताहरूले नियम मिचमाच पारेर भए पनि विदेशी कम्पनीहरूलाई त्यहाँबाट बिजुली निकाल्ने अनुमति दिए । तर, त्यहाँ जलविद्युत् आयोजना अहिलेसम्म बनेका छैनन् । चाँडै बन्ने छाँट पनि छैन ।
यसको परिणाम के भयो ?
यी आयोजना बन्ने ठाउँको छिमेकमा बसेको उन्नतितिर लम्किइरहेको सहर नेपालगन्जमा मंसिर २० र २१ गते आयोजित ‘नेपालगन्ज कन्क्लेभ’ मा छलफलका लागि एउटा सत्र राखिएको थियो । त्यसको शीर्षक थियो— देशले गर्छ विद्युत् निर्यात, नेपालगन्जले भोग्छ ऊर्जा संकट ।
त्यसमा केएल दुगड समूहका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगन्जका उद्योगहरूले भोग्नु परेको बिजुलीको समस्या सुनाए– गर्मी लाग्दै गएपछि भोल्टेज घट्छ र बिजुली काटिन्छ, जाडो बढ्दै गएपछि पनि भोल्टेज घट्छ र बिजुली काटिन्छ । यसले गर्दा उद्योग राम्ररी चल्न पाउँदैन । त्यहाँका एक जना उद्योगीले चिनियाँ मेसिन झिकाउन चाहे । कम्पनीका मानिस नेपालगन्ज आए । बिजुली गएको गएकै गरेको देखेर उनीहरूले यस्तो बिजुली भएका ठाउँमा आफ्नो मेसिन चल्दैन भने । प्रदीपको प्रश्नको जवाफ दिने क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘बुटवल र अत्तरियाका बीचमा बिजुलीको लाइनमा बिजुली थप्ने आयोजना नभएकाले यस्तो भएको हो । अर्थात् कर्णालीमा बिजुली निस्केको भए नेपालगन्ज छेउछाउ यस्तो समस्या भोग्नु पर्दैनथ्यो ।’
नदीबारेमा अनौठा मान्यता छन् । ब्रह्मपुत्र नदी नामैले पुरुष भइहाल्यो, गङ्गा, जमुना, नारायणी, काली लगायतका नदी महिला । अनि कोशी नदी चाहिँ अविवाहित । बग्ने जति सबै पानी पवित्र हुन्छन्, गङ्गा हुन् भन्ने चलन पनि छ । कर्णालीभन्दा पूर्वका नदीहरूका किनारमा धेरैवटा धार्मिक स्थल छन् । कर्णालीभन्दा पश्चिममा पनि नदी किनारमा यस्ता ठाउँ छन्, तर कर्णाली नदी किनारमा धेरै मठमन्दिर र धार्मिक स्थल छैनन् भनिन्छ । कर्णाली नदी राक्षस तालबाट निस्केकाले यसलाई अरू नदी जस्तो पवित्र नमानिएको हो भन्ने पनि गरिन्छ ।
यस किताबका लेखकलाई कर्णाली नदी साँच्चै राक्षस तालबाट निस्केको हो त भन्ने लाग्यो । उनी राक्षस ताल पुगे । कर्णाली त्यहाँबाट ननिस्केको पाए । कर्णालीको मुहान कुन खोला हो भन्ने उनले पत्ता लगाइछाडे । लेखकले वातावरण विज्ञान पढेकाले उनको कुरा पत्याउनैपर्छ । त्यसमाथि उनको टोलीमा नदीविज्ञ पनि थिए । यसले गर्दा उनले लेखेको यो कुरा अझ आधिकारिक छ ।
रसुवाबाट तिब्बत पसेका लेखक र उनका साथीहरू धेरै दिन तिब्बत घुमे । त्यस क्रममा उनीहरूले कडा चिनियाँ शासन भोग्नुपर्यो । सानासाना कुरामा पनि तर्साउने गाइडले दिएका दुःख झेल्नुपर्यो । त्यसपछि हुम्लाबाट नेपाल छिर्दा उनलाई उमङ्ग लाग्यो । उनले लेखेका छन्, ‘अब त मेरा मान्छेहरूसँग बोल्ने हो, आफ्ना चराहरूको चिरीबिरी सुन्ने हो...म खुसीले गद्गद थिएँ । एकछिन आकाश हेरुँ, मानिसहरूसँग बोलुँ, कर्नालीमा एक डुबुल्की मारूँ, एक कप चिया पिउँ र एक निद्रा मस्त सुतूँ जस्तो भइरहेको थियो ...आकाश आफ्नै, नदी आफ्नै, जमिन आफ्नै, मान्छे आफ्नै ।’
रमेश जहाँबाट नेपाल पसे त्यहाँको सिमाना वारि र पारिको आकाश, नदी, जमिन र मान्छेमा खासै भिन्नता छैन । तर पनि उनले आकाश–जमिनको अन्तर पाए । देशको सिमाना कृत्रिम कुरा हो । तर, त्यसले मानिसको दिमागमा कस्तो छाप पारेको छ भन्ने कुरा यस किताबमा राम्रोसँग देख्न पाइन्छ ।
कतै पैदल र कतै डुङ्गा चढेर कर्णालीसँगै ओरालो झर्दा लेखकले हुम्लाको विकटता देखे । त्यहाँको कष्टपूर्ण जनजीवन देखे । बाटो हिँड्दा पाइने सास्ती पनि देखे । अन्नको अभाव पनि देखे । अनि कुपोषणले गर्दा थला परेका बच्चा पनि भेटे । यी सबै विषयको वर्णन उनले रोचक ढंगले गरेका छन् ।
यस यात्रामा लेखकले भेटेका मानिसले केही वर्षयता हिउँ कम पर्न थालेको बताए । हिउँ नपर्नु भनेको हिउँदे बालीका लागि खडेरी पर्नु हो । बर्खे बालीका लागि पानी दिने मूल सुक्नु हो । उनीहरूको यो अनुभव सही छ भन्ने कुरा हिउँसम्बन्धी तथ्यांकले पनि देखाएका छन् । इसिमोडले निकालेको तथ्यांकका अनुसार, गङ्गा नदीको जलाधारमा हिउँ १७ प्रतिशतसम्म कम पर्ने गरेको छ । २०७५ सालको हिउँदमा बितेका २०/२१ वर्षका तुलनामा सबैभन्दा कम हिउँ पर्यो । त्यसपछिको सबैभन्दा कम हिउँ पोहोरसाल हिउँदमा पर्यो ।
पैंतालीस दिन लगाएर हिमालपारि, हिमालवारि र गङ्गाको मैदानका २ हजार किलोमिटर यात्रा गर्दा जिज्ञासु पत्रकारले जेजस्ता विविध र उपयोगी विषयवस्तु भेट्न सक्छ ती विषय यस किताबमा समेटिएका छन् । पाठकलाई जानकारी दिनका लागि उनले चिनियाँ भाषामा लेखिएका विभिन्न जानकारीको फाटो खिचेर पछि अनुवाद गराउनेसम्मको मिहिनेत गरेका छन् । उनले यो यात्रा खासमा भिडियो डकुमेन्ट्री बनाउने उद्देश्यले गरेका
थिए । त्यसैले यो यात्राको रेकर्ड भिडियोमा पनि थियो । यसको एउटा फाइदा के हुन्छ भने लेखकले किताब लेख्न लागेका बेला आफ्नो सम्झनामा मात्र भर पर्नु पर्दैन । अलमलिएका बेला दृश्य हेर्न पाइन्छ ।
यो किताब भावुकताले भरिएको यात्रा संस्मरण होइन, जलवायु परिवर्तनजस्ता विश्वलाई सताइरहेका समस्यासम्बन्धी स्थलगत अध्ययन हो । यस्ता विषयलाई लेखकले अन्य रोचक जानकारीका बीचबीचमा राखेर किताबको महत्त्व बढाइदिएका छन् ।
पानीलाई मानव हितमा उपयोग नगरी सरासर समुद्र जान दियो भने विकास हुँदैन भनिन्छ । यसै मान्यताले कतै सिँचाइ गरेर पानी मासिने गरी उपयोग गरिन्छ, कतै बिजुली निकाल्ने/घट्ट चलाउने जस्ता काममा नमासिने गरी उपयोग गरिन्छ । यसरी पानीलाई उपयोग गर्ने मानिसको लालसाले नदीलाई कतिसम्म बिगार्छ भन्ने विषय भारतमा कर्णाली नदीको उदाहरणमार्फत लेखकले प्रस्तुत गरेका छन् ।
त्यहाँ यस नदीलाई थुनेर त्यसको पानी नहरमार्फत पूर्व र पश्चिमतिर पठाइएको छ । थोरै पानीलाई मात्र नदीमा बग्न दिइएको छ । यसले गर्दा सुक्खा याममा किसानका खेतमा पानी त पुगेको छ, तर यसले अर्को समस्या खडा गरेको छ । नदीको सतह उठेर गाउँबस्ती अग्लो भएको छ । बर्खामा पानी आउँदा बाढीले मान्छेलाई पहिलेभन्दा बढी दुःख दिन थालेको छ ।
‘छालबाटो’ ले हामीलाई नेपालले भोग्नु परिरहेका समस्याका बारेमा मात्रै होइन, हामीलाई तीनतिरबाट घेरेर बसेको काशी सभ्यता र उत्तरतिरबाट घेरेको ल्हासा सभ्यताबारे पनि बताउँछ । उत्तरतिरको चिनियाँहरूको कडा शासन र दक्षिणतिर नदी उपयोग गर्ने नाममा भएका बेथिति र तिनले मानिसलाई पारेका असरबारे पनि बताउँछ ।
नदीले आफ्नो पानी समुद्रसम्म लैजान खोज्छ । तर, मान्छेले बीचमै खाइदिएपछि उसले बदला लिन्छ भन्ने उदाहरण किताबमा भेटिन्छ । यस किसिमले हेर्दा यो किताब विकास कसरी गर्ने र कसरी नगर्ने भन्ने कुराको मार्गदर्शक पनि हो । यसले सन्देश दिएको छ— चीनको जस्तो सास फेर्न नदिने शासन पनि मान्छेका लागि उपयुक्त होइन अनि प्राकृतिक सम्पदालाई हद नाघेर शोषण गर्ने दक्षिणको तरिका ठीक छैन । यस्ता स्रोतसाधन उपयोग गर्ने कुरा मात्रै गर्ने नेपालको चलन पनि उपयोगी छैन ।
यो यात्रामा रमेश एक्ला थिएनन् । थरीथरी विषयका विज्ञ पनि उनका साथमा थिए । त्यसैले उनले थरीथरीका विषयमा आधिकारिक कुरा लेख्न सकेका छन् । घरी उनी पानीको तापक्रम बताउँछन्, घरी त्यस पानीमा रहेको अक्सिजनको मात्रा । यी लक्षण र त्यहाँ पाइएका जलचरका आधारमा उनी भन्छन्– कर्णाली नदीलाई सञ्चै छ, त्यसको स्वास्थ्य राम्रो छ किनभने त्यसमा मान्छेको सेप लागेको छैन ।
निकै धेरै ठाउँमा उनी छालबाटो अर्थात् डुङ्गा चढेर पानीको छालमाथि हिँडे । यो नेपालमा धेरै ठूलो सम्भावना भएको साहसी पर्यटन थियो । यस्तो पर्यटनमार्फत पानीलाई नबिटुल्याइकन, नबिगारिकन पर्यटकहरूलाई नदीका छालसँग खेलाउँदै, जुधाउँदै, तिनबाट जोगाउँदै रोमाञ्चक यात्रा गराउँदै नदीबाट आर्थिक फाइदा लिन सकिन्छ भन्ने कुरा देखाउँदै आएका मेघ आले उनका साथमा थिए । तर, नेपालका धेरै नदीहरूमा यस्तो पर्यटन गराउन नसकिने भएको छ । त्यसैले कर्णालीजस्ता केही नदीलाई यस कामका लागि छुट्याउनुपर्छ भन्ने आवाज पनि यस किताबमा छ ।
यात्रा संस्मरण भएकाले गम्भीर विषयवस्तुको प्रस्तुति पनि रोचक ढंगले गरिएको छ । गम्भीर कुरा पढ्दै छु भन्ने बोझ नलिइकन पाठकले गम्भीर जानकारी लिन पाउँछन् । रमेशका लामा, तर रोचक लेख हामी पाठकले पत्रपत्रिकामा पढ्न पाएकै थियौं । यस किताबबाट चाहिँ उनी पत्रकारिताका सिलसिलामा भेला गरेका, तर पत्रकारिताका विधामा समेट्न नसकिएका जानकारीलाई किताबमा समेट्ने कित्ताका लेखक पनि बनेका छन् । उनको पहिलो किताब ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’ हेर्दा लाग्छ यस काममा पनि उनको भविष्य उज्ज्वल छ ।
