छालबाटोले देखाएको हाम्रो अनुहार

यो किताब भावुकताले भरिएको यात्रा संस्मरण होइन, विश्वलाई सताइरहेका जलवायु परिवर्तनजस्ता समस्यामाथिको स्थलगत अध्ययन हो 

माघ १९, २०८१

मोहन मैनाली

Our face shown by the waves

रसुवाबाट केरुङ जाने बाटोमा नेपाल सरकारले अध्यागमन कार्यालय खोल्यो । त्यसको सेवा लिन आउने चिनियाँहरू त्यहाँको ट्वाइलेट गए । आफ्नो अफिसमा काम परेर आउने मानिस ट्वाइलेट जाँदा फोहोर भयो भनेर कर्मचारीलाई रिस उठ्यो । उनीहरूले ट्वाइलेटमा ताला लगाए । 

त्यसपछि त्यस कार्यालयमा कामका लागि आउने मानिसहरू घरवालाले चलाएको र त्यस अफिसको तल्लो तलामा रहेको होटलको ट्वाइलेटमा जान थाले । घरवालालाई रिस उठ्यो । 

पत्रकार रमेश भुसालको किताब ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’ को सुरुतिरै यो प्रसङ्ग उल्लेख छ । 

सेवा लिन आओ भनेर अफिस खोल्ने अनि सेवा लिन आउनेहरू ट्वाइलेट गए भनेर रिसाउने अफिसवाला ! मान्छे आइजाइ गर्ने अफिसलाई घर भाडामा लगाउने अनि उनीहरू ट्वाइलेट गए भनेर रिसाउने घरवाला !

दिसापिसाब गर्न पाउने अधिकार कति मौलिक हो भने यसको उल्लेख कतै गर्नुपर्छ भन्नेसमेत मान्छेले ठानेको छैन । मान्छेले थोरै मात्र अधिकार उपयोग गर्न पाउने अवस्था आइलाग्यो भने दिसापिसाब गर्न पाउने अधिकार एक नम्बरमै आउनुपर्छ किनभने यो अधिकार उपयोग गर्न नपाउँदा मान्छे जनावरका हैसियतमा पनि बाँच्न सक्दैन । मानवका हैसियतमा त कुरै छाडिदिउँ । खान नपाउँदा मान्छे केही दिन बाँच्ला तर दिसापिसाब गर्न नपाउँदा बाँच्दैन । सभ्य हुनका लागि मान्छेले दिसापिसाब जथाभावी गर्नु हुँदैन । तर, सभ्य तरिकाले दिसापिसाब गर्दा सरकार र घरवालालाई रिस उठ्छ । यसबाट हाम्रो समाज र सरकार अर्थात् हामी कति असभ्य छौं भन्ने देखिन्छ । 

‘छालबाटो ः कैलाशदेखि गङ्गासम्म’ मा काठमाडौं, रसुवा अनि कर्णाली नदी आसपासका ठाउँमा लेखकले पत्रकारका हैसियतमा गाडी र डुङ्गामा अनि पैदल हिँड्दा देखेभेटेका कुराको वर्णन गरिएको छ । हुन त यो किताब यात्रा संस्मरण हो, तर यसले हाम्रो समाज कति कुरुप छ भन्ने देखाइदिएको छ ।

एउटा अर्को प्रसङ्ग हेरौं । कर्णाली नदी किनारमा टहलिँदै गर्दा रमेशले केही ढुंगाले थिचेको बालुबाको थुप्रो देखे । त्यहाँ एउटी महिलाको लास झारा टार्ने किसिमले पुरिएको रहेछ । जिउँदो हुँदा उनलाई समाजले बोक्सी भएको आरोप लगाएको रहेछ । मरेपछि अरू मानिसको लास जसरी जलाउन हुँदैन भनेर गाडेजस्तो मात्र गरेको रहेछ । 

मान्छेलाई यो दर्जाको अमानवीय व्यवहार गर्न सक्ने बनाउने कुसंस्कार भएको हाम्रो समाज देख्दा लेखकको मथिङ्गल हल्लियो । समाजलाई अघि बढ्न नदिने यस्ता संस्कार आजको युगमा पनि कायमै भएका घटना पढ्दा हाम्रो मथिङ्गल हल्लिन्छ । 

अर्को एउटा प्रसङ्गमा लेखकले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे उल्लेख गरेका छन् । उनका अनुसार, सन् ६० को दशकमै अर्थात् आजभन्दा ६० वर्ष जति अघि यो आयोजनाको चर्चा चलेको थियो । त्यसपछि २०४५ सालतिर यो आयोजना फेरि बौरियो । विश्व बैंकको लगानीमा भएको अध्ययनले त्यहाँबाट २४० देखि ४१८० मेगावाटसम्म बिजुली निकाल्न सकिने ठान्यो । त्यस नदीमा बन्न सक्ने ६ वटा सबैभन्दा उपयुक्त योजना छनोट गरियो । कर्णाली जलविद्युत् आयोजनालाई ‘श्रीपेचमा जडित हीरा’ भएको ठहर्‍याइयो । 

कर्णाली नदीमा विद्युत् आयोजना बनाएर देशलाई लाभमाथि लाभ दिलाउने लोभ देखाएर एनरोन लगायतका कम्पनी नेपाल आए । नेपालका नेताहरूले नियम मिचमाच पारेर भए पनि विदेशी कम्पनीहरूलाई त्यहाँबाट बिजुली निकाल्ने अनुमति दिए । तर, त्यहाँ जलविद्युत् आयोजना अहिलेसम्म बनेका छैनन् । चाँडै बन्ने छाँट पनि छैन । 

यसको परिणाम के भयो ? 

यी आयोजना बन्ने ठाउँको छिमेकमा बसेको उन्नतितिर लम्किइरहेको सहर नेपालगन्जमा मंसिर २० र २१ गते आयोजित ‘नेपालगन्ज कन्क्लेभ’ मा छलफलका लागि एउटा सत्र राखिएको थियो । त्यसको शीर्षक थियो— देशले गर्छ विद्युत् निर्यात, नेपालगन्जले भोग्छ ऊर्जा संकट । 

त्यसमा केएल दुगड समूहका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगन्जका उद्योगहरूले भोग्नु परेको बिजुलीको समस्या सुनाए– गर्मी लाग्दै गएपछि भोल्टेज घट्छ र बिजुली काटिन्छ, जाडो बढ्दै गएपछि पनि भोल्टेज घट्छ र बिजुली काटिन्छ । यसले गर्दा उद्योग राम्ररी चल्न पाउँदैन । त्यहाँका एक जना उद्योगीले चिनियाँ मेसिन झिकाउन चाहे । कम्पनीका मानिस नेपालगन्ज आए । बिजुली गएको गएकै गरेको देखेर उनीहरूले यस्तो बिजुली भएका ठाउँमा आफ्नो मेसिन चल्दैन भने । प्रदीपको प्रश्नको जवाफ दिने क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘बुटवल र अत्तरियाका बीचमा बिजुलीको लाइनमा बिजुली थप्ने आयोजना नभएकाले यस्तो भएको हो । अर्थात् कर्णालीमा बिजुली निस्केको भए नेपालगन्ज छेउछाउ यस्तो समस्या भोग्नु पर्दैनथ्यो ।’ 

नदीबारेमा अनौठा मान्यता छन् । ब्रह्मपुत्र नदी नामैले पुरुष भइहाल्यो, गङ्गा, जमुना, नारायणी, काली लगायतका नदी महिला । अनि कोशी नदी चाहिँ अविवाहित । बग्ने जति सबै पानी पवित्र हुन्छन्, गङ्गा हुन् भन्ने चलन पनि छ । कर्णालीभन्दा पूर्वका नदीहरूका किनारमा धेरैवटा धार्मिक स्थल छन् । कर्णालीभन्दा पश्चिममा पनि नदी किनारमा यस्ता ठाउँ छन्, तर कर्णाली नदी किनारमा धेरै मठमन्दिर र धार्मिक स्थल छैनन् भनिन्छ । कर्णाली नदी राक्षस तालबाट निस्केकाले यसलाई अरू नदी जस्तो पवित्र नमानिएको हो भन्ने पनि गरिन्छ । 

यस किताबका लेखकलाई कर्णाली नदी साँच्चै राक्षस तालबाट निस्केको हो त भन्ने लाग्यो । उनी राक्षस ताल पुगे । कर्णाली त्यहाँबाट ननिस्केको पाए । कर्णालीको मुहान कुन खोला हो भन्ने उनले पत्ता लगाइछाडे । लेखकले वातावरण विज्ञान पढेकाले उनको कुरा पत्याउनैपर्छ । त्यसमाथि उनको टोलीमा नदीविज्ञ पनि थिए । यसले गर्दा उनले लेखेको यो कुरा अझ आधिकारिक छ । 

रसुवाबाट तिब्बत पसेका लेखक र उनका साथीहरू धेरै दिन तिब्बत घुमे । त्यस क्रममा उनीहरूले कडा चिनियाँ शासन भोग्नुपर्‍यो । सानासाना कुरामा पनि तर्साउने गाइडले दिएका दुःख झेल्नुपर्‍यो । त्यसपछि हुम्लाबाट नेपाल छिर्दा उनलाई उमङ्ग लाग्यो । उनले लेखेका छन्, ‘अब त मेरा मान्छेहरूसँग बोल्ने हो, आफ्ना चराहरूको चिरीबिरी सुन्ने हो...म खुसीले गद्गद थिएँ । एकछिन आकाश हेरुँ, मानिसहरूसँग बोलुँ, कर्नालीमा एक डुबुल्की मारूँ, एक कप चिया पिउँ र एक निद्रा मस्त सुतूँ जस्तो भइरहेको थियो ...आकाश आफ्नै, नदी आफ्नै, जमिन आफ्नै, मान्छे आफ्नै ।’ 

रमेश जहाँबाट नेपाल पसे त्यहाँको सिमाना वारि र पारिको आकाश, नदी, जमिन र मान्छेमा खासै भिन्नता छैन । तर पनि उनले आकाश–जमिनको अन्तर पाए । देशको सिमाना कृत्रिम कुरा हो । तर, त्यसले मानिसको दिमागमा कस्तो छाप पारेको छ भन्ने कुरा यस किताबमा राम्रोसँग देख्न पाइन्छ । 

कतै पैदल र कतै डुङ्गा चढेर कर्णालीसँगै ओरालो झर्दा लेखकले हुम्लाको विकटता देखे । त्यहाँको कष्टपूर्ण जनजीवन देखे । बाटो हिँड्दा पाइने सास्ती पनि देखे । अन्नको अभाव पनि देखे । अनि कुपोषणले गर्दा थला परेका बच्चा पनि भेटे । यी सबै विषयको वर्णन उनले रोचक ढंगले गरेका छन् । 

यस यात्रामा लेखकले भेटेका मानिसले केही वर्षयता हिउँ कम पर्न थालेको बताए । हिउँ नपर्नु भनेको हिउँदे बालीका लागि खडेरी पर्नु हो । बर्खे बालीका लागि पानी दिने मूल सुक्नु हो । उनीहरूको यो अनुभव सही छ भन्ने कुरा हिउँसम्बन्धी तथ्यांकले पनि देखाएका छन् । इसिमोडले निकालेको तथ्यांकका अनुसार, गङ्गा नदीको जलाधारमा हिउँ १७ प्रतिशतसम्म कम पर्ने गरेको छ । २०७५ सालको हिउँदमा बितेका २०/२१ वर्षका तुलनामा सबैभन्दा कम हिउँ पर्‍यो । त्यसपछिको सबैभन्दा कम हिउँ पोहोरसाल हिउँदमा पर्‍यो । 

पैंतालीस दिन लगाएर हिमालपारि, हिमालवारि र गङ्गाको मैदानका २ हजार किलोमिटर यात्रा गर्दा जिज्ञासु पत्रकारले जेजस्ता विविध र उपयोगी विषयवस्तु भेट्न सक्छ ती विषय यस किताबमा समेटिएका छन् । पाठकलाई जानकारी दिनका लागि उनले चिनियाँ भाषामा लेखिएका विभिन्न जानकारीको फाटो खिचेर पछि अनुवाद गराउनेसम्मको मिहिनेत गरेका छन् । उनले यो यात्रा खासमा भिडियो डकुमेन्ट्री बनाउने उद्देश्यले गरेका 

थिए । त्यसैले यो यात्राको रेकर्ड भिडियोमा पनि थियो । यसको एउटा फाइदा के हुन्छ भने लेखकले किताब लेख्न लागेका बेला आफ्नो सम्झनामा मात्र भर पर्नु पर्दैन । अलमलिएका बेला दृश्य हेर्न पाइन्छ । 

यो किताब भावुकताले भरिएको यात्रा संस्मरण होइन, जलवायु परिवर्तनजस्ता विश्वलाई सताइरहेका समस्यासम्बन्धी स्थलगत अध्ययन हो । यस्ता विषयलाई लेखकले अन्य रोचक जानकारीका बीचबीचमा राखेर किताबको महत्त्व बढाइदिएका छन् । 

पानीलाई मानव हितमा उपयोग नगरी सरासर समुद्र जान दियो भने विकास हुँदैन भनिन्छ । यसै मान्यताले कतै सिँचाइ गरेर पानी मासिने गरी उपयोग गरिन्छ, कतै बिजुली निकाल्ने/घट्ट चलाउने जस्ता काममा नमासिने गरी उपयोग गरिन्छ । यसरी पानीलाई उपयोग गर्ने मानिसको लालसाले नदीलाई कतिसम्म बिगार्छ भन्ने विषय भारतमा कर्णाली नदीको उदाहरणमार्फत लेखकले प्रस्तुत गरेका छन् । 

त्यहाँ यस नदीलाई थुनेर त्यसको पानी नहरमार्फत पूर्व र पश्चिमतिर पठाइएको छ । थोरै पानीलाई मात्र नदीमा बग्न दिइएको छ । यसले गर्दा सुक्खा याममा किसानका खेतमा पानी त पुगेको छ, तर यसले अर्को समस्या खडा गरेको छ । नदीको सतह उठेर गाउँबस्ती अग्लो भएको छ । बर्खामा पानी आउँदा बाढीले मान्छेलाई पहिलेभन्दा बढी दुःख दिन थालेको छ । 

‘छालबाटो’ ले हामीलाई नेपालले भोग्नु परिरहेका समस्याका बारेमा मात्रै होइन, हामीलाई तीनतिरबाट घेरेर बसेको काशी सभ्यता र उत्तरतिरबाट घेरेको ल्हासा सभ्यताबारे पनि बताउँछ । उत्तरतिरको चिनियाँहरूको कडा शासन र दक्षिणतिर नदी उपयोग गर्ने नाममा भएका बेथिति र तिनले मानिसलाई पारेका असरबारे पनि बताउँछ ।

नदीले आफ्नो पानी समुद्रसम्म लैजान खोज्छ । तर, मान्छेले बीचमै खाइदिएपछि उसले बदला लिन्छ भन्ने उदाहरण किताबमा भेटिन्छ । यस किसिमले हेर्दा यो किताब विकास कसरी गर्ने र कसरी नगर्ने भन्ने कुराको मार्गदर्शक पनि हो । यसले सन्देश दिएको छ— चीनको जस्तो सास फेर्न नदिने शासन पनि मान्छेका लागि उपयुक्त होइन अनि प्राकृतिक सम्पदालाई हद नाघेर शोषण गर्ने दक्षिणको तरिका ठीक छैन । यस्ता स्रोतसाधन उपयोग गर्ने कुरा मात्रै गर्ने नेपालको चलन पनि उपयोगी छैन । 

यो यात्रामा रमेश एक्ला थिएनन् । थरीथरी विषयका विज्ञ पनि उनका साथमा थिए । त्यसैले उनले थरीथरीका विषयमा आधिकारिक कुरा लेख्न सकेका छन् । घरी उनी पानीको तापक्रम बताउँछन्, घरी त्यस पानीमा रहेको अक्सिजनको मात्रा । यी लक्षण र त्यहाँ पाइएका जलचरका आधारमा उनी भन्छन्– कर्णाली नदीलाई सञ्चै छ, त्यसको स्वास्थ्य राम्रो छ किनभने त्यसमा मान्छेको सेप लागेको छैन । 

निकै धेरै ठाउँमा उनी छालबाटो अर्थात् डुङ्गा चढेर पानीको छालमाथि हिँडे । यो नेपालमा धेरै ठूलो सम्भावना भएको साहसी पर्यटन थियो । यस्तो पर्यटनमार्फत पानीलाई नबिटुल्याइकन, नबिगारिकन पर्यटकहरूलाई नदीका छालसँग खेलाउँदै, जुधाउँदै, तिनबाट जोगाउँदै रोमाञ्चक यात्रा गराउँदै नदीबाट आर्थिक फाइदा लिन सकिन्छ भन्ने कुरा देखाउँदै आएका मेघ आले उनका साथमा थिए । तर, नेपालका धेरै नदीहरूमा यस्तो पर्यटन गराउन नसकिने भएको छ । त्यसैले कर्णालीजस्ता केही नदीलाई यस कामका लागि छुट्याउनुपर्छ भन्ने आवाज पनि यस किताबमा छ । 

यात्रा संस्मरण भएकाले गम्भीर विषयवस्तुको प्रस्तुति पनि रोचक ढंगले गरिएको छ । गम्भीर कुरा पढ्दै छु भन्ने बोझ नलिइकन पाठकले गम्भीर जानकारी लिन पाउँछन् । रमेशका लामा, तर रोचक लेख हामी पाठकले पत्रपत्रिकामा पढ्न पाएकै थियौं । यस किताबबाट चाहिँ उनी पत्रकारिताका सिलसिलामा भेला गरेका, तर पत्रकारिताका विधामा समेट्न नसकिएका जानकारीलाई किताबमा समेट्ने कित्ताका लेखक पनि बनेका छन् । उनको पहिलो किताब ‘छालबाटो  : कैलाशदेखि गङ्गासम्म’ हेर्दा लाग्छ यस काममा पनि उनको भविष्य उज्ज्वल छ । 

मोहन

Link copied successfully