मधेशमाथि फिल्म बनाइरहेका दीपेन्द्र गौचनलाई शुभचिन्तकले भने– मधेश र पहाडेबीच फेरि दंगा सुरु होला नि ! तर, उनको नियत वैमनश्यता निम्त्याउने र पहाड–मधेश सम्बन्धमा खलल ल्याउने थिएन ।
नेपाली फिल्म हेर्यो पहाडेकै कथा, पात्र पनि पहाडे मात्रै ! आफू पनि पहाडकै । त्यसमा अर्को पहाडकै कथा किन थप्नु ? २२ वर्षपछि फिल्म बनाउँदा केही नयाँ कथा खोजौं भन्ने क्रममा जन्मियो– केटी हराएको सूचना,’ निर्देशक दीपेन्द्र गौचनले एक बिहान भने ।
‘केटी हराएको सूचना’ मा असलमै मधेश भेटिएको छ । र, यो फिल्म साँच्चै मधेश भेटिएको सूचना हो, जसले मधेशमाथि सुन्दर ढंगले कथा वाचन गरेको छ । फिल्ममा प्रमुख पात्र छ, रामवरण (र्याम्बो) अर्थात् मधेशी चरित्र राम । एउटा सरल प्रेमकथामा दुई फरक पात्र देखाउन चाहन्थे, निर्देशक दीपेन्द्र । पहाड र मधेश झट्ट हेर्दा भिन्न देखिने । पहाड र मधेशीको जोडी पनि कमै, आखिर यस्तो किन हुन्छ ? भिन्न दुई पात्रबीच पनि प्रेम हुन सक्छ है भन्ने देखाउन दीपेन्द्रले ‘केटी हराएको सूचना’ बनाए । प्रदर्शनरत यो फिल्म, अहिले यही दुई फरक भेगका पात्रहरूबीचको प्रेमकथामार्फत उठाएको मधेश मुद्दाले चर्चित छ ।
दीपेन्द्रलाई देखाउन त थकाली समुदायकै पात्र देखाउन सहज हुन्थ्यो । उनी आफैं थकाली समुदायका । तर, थकाली समुदायमा हेरे, त्यहाँ पनि आफ्नै समुदायभित्र बिहे गर्नुपर्छ भन्ने विचार व्याप्त छ । फरक समुदायबीच पनि प्रेम मौलाउन सक्छ, बिहे हुन सक्छ भन्ने आइडियाले पहाड र मधेशका चरित्र स्थापना गरे ।
मधेश आन्दोलन, पहाडे मधेशीबीचको चिसिएको सम्बन्ध– मधेशका यी मुद्दामाथि दीपेन्द्र लामो समय घोत्लिए । सामान्य प्रेमकथामा मधेश मुद्दा हाल्नु जरुरी छ ? दुई प्रेमिल जोडीलाई कुनै सुमधुर संगीतमा ‘ला ला ला’ गराउँदै मधेशका फाँटमा नचाएरै पनि प्रेमकथा देखाउन सकिन्थ्यो । तर, त्यसो गर्न दीपेन्द्रको बौद्धिक चेतले दिएन । अधिकांश नेपाली फिल्ममा चरित्रको गहिराइ देखाइँदैन । कुनै चरित्र कुन समुदायको हो ? उनको विगत, विचार, उद्देश्य नै प्रस्ट हुँदैन । दीपेन्द्रले फिल्ममा मधेशी राखिहाले, उक्त चरित्रको गहिराइ खोतल्दा मधेश आन्दोलन जोडिइहाल्यो । मधेश आन्दोलनकै कारण थातथलो छाडेर सबै परिवार काठमाडौं सरेको पात्र हो, राम । रामले काठमाडौंमा उच्च शिक्षा त हासिल गर्यो । आईटी इन्जिनियर बन्यो । तर, के काठमाडौं उसका लागि असलीमा आफ्नै थलोको अनुभव दिलाउने स्थान बन्यो त ? जब–जब फिल्ममा महिला पात्र सीता (जेसी) ले जलेका घरहरू देखाउँदै जिज्ञासा प्रकट गर्छिन्, तब–तब थातथलो छाडेर लखेटिनु पर्दाको रामका घाउहरू उप्किँदै जान्छन् । दुई पात्रबीचको प्रेमिल कुराकानीबीचमै राम काठमाडौंमा किन छ भन्ने सत्यता खुल्छ । दुईबीच अंकुराउँदै गएको प्रेमको यही दृश्यबाट निर्देशकले मधेश आन्दोलनले लखेटिएकाहरूको व्यथा इतिहास खोतल्दै जान्छ ।
धेरैले दीपेन्द्रलाई यो मुद्दामा हात नहाल्न सुझाए । दीपेन्द्रलाई डर पनि लाग्यो । उनी मधेशको यो पीडालाई दर्शकबीच पुर्याउन चाहन्थे । ‘फिल्मको तात्पर्य यही हो, मुद्दा यही हो भनेर उठाइएको पनि होइन । त्यसका लागि मेरो ज्ञान र अध्ययन पनि पुग्दैन । कतिले मधेशका विषयलाई सतही रूपमा मात्रै देखाइयो भनिएको छ,’ दीपेन्द्र भन्छन्, ‘हामीले त्यही मुद्दा उठाउन खोजेको भए त्यही हिसाबले काम गर्थ्यौं । हामीले बस् त्यो विषय छोएका हौं, ताकि त्यो मुद्दालाई दर्शकले सम्झिरहुन्् । हाम्रो नियत यो कुरा उठिसकेपछि सबैमा अनुभव होस्, त्यस मुद्दाप्रति सचेत होस् अनि मिलापतर्फ अगाडि बढुन् भन्ने उद्देश्य हो ।’
रामको मीत बा पहाडे, उनीहरूलाई आन्दोलनका क्रममा मधेशीहरूले लखेटे । पहाडेको पक्ष लिँदा रामकै पिताले पनि थातथलो छोड्नु पर्यो । दुई युवायुवतीको प्रेमको पृष्ठभूमिमा मधेशका यस्तै जटिल विषय मिसाउँदै निर्देशक गौचनले पहाडे र मधेशीबीच चिसिएको सम्बन्ध न्यायो बनाउने कोसिस गरेका छन् । दुईबीचको प्रेम र मिलन त्यसको सबैभन्दा ठूलो प्रतिबिम्ब पनि हो । ‘यो मुद्दा नछोएको भए पनि हुन्थ्यो । तर, यो विषयले नै प्रेमकथालाई गहन र सघन बनाइदियो,’ दीपेन्द्रले सुनाए ।
मधेश आन्दोलन संवेदनशील मुद्दा हो । नेपाली फिल्ममा यस किसिमको संवेदनशील विषय उठाउँदा खासै त्यसको मर्म र भावनामा ध्यान पुर्याइएको हुँदैन । तर, निर्देशक गौचनले यो मुद्दालाई संवेदनशील भएर पस्किन खोजे । मधेशकै प्रतिनिधित्व गर्ने व्यक्तिहरूलाई निर्माण टिममा सचेत भई सामेल गराए । पर्दामा देखिने मात्रै होइन पर्दापछाडि पनि उत्तिकै संवेदनशीलता अपनाइए । पर्दामा त प्रमुख चरित्रमा नाजिर हुसेन भइहाले, विलास चरित्रदेखि थुप्रै कलाकार मधेशकै छन् । सीताको बुबा र आमाबाहेक अधिकांश कलाकार मधेशी छन् । दीपेन्द्रका अनुसार, क्यामरापछाडि धेरैभन्दा धेरै मधेशकै जनशक्ति प्रयोग छ । यी जनशक्ति र निर्माण टिमको संवेदनशीलताले नै फिल्ममा धेरै हदसम्म मधेशको सुगन्ध समेटिएको छ ।
यो फिल्मको कार्यकारी निर्माता अमितेश शाह हुन् । फिल्ममा राजीव कर्णको कोरियोग्राफी, प्रवेश मलिकको संगीत संयोजन छ । गीत लेख्नेदेखि पार्श्व संगीतमा पनि मधेशकै प्रतिनिधित्व छन् । कलातर्फ पनि मधेशी जनशक्ति नै सहभागी छन् । ‘काठमाडौंबाट सबै पहाडे उठाएर जनकपुरमा फिल्म खिच्न सकिन्थ्यो, बनाउन सकिन्थ्यो । तर, हामीले कथालाई सही ढंगले देखाउन यस किसिमको सहकार्य गर्यौं । पर्दा पछाडि काम गर्नु त अर्को बौद्धिक कार्य हो । यसमा हामीले खोज्यौं, ती जनशक्तिसँग ठोक्कियौं,’ दीपेन्द्रले भने, ‘यो फिल्म नै यो मुद्दा उठाउने नियतले बनाइएको फिल्म होइन । यो फिल्म एक्टिभिजम पनि होइन । मधेश र पहाडेबीच मेलमिलाप गराउन हामीले प्रेमकथाको सहारा लियौं ।’
मधेशको विषयबारे थाहा पाउनासाथ कत्तिले दीपेन्द्रलाई भने, ‘मधेश र पहाडेबीच फेरि दंगा सुरु होला ।’ तर, उनको नियत वैमन्यश्यता, दुई सम्बन्धमा खलल ल्याउने थिएन, होइन । फिल्मकर्मीको हिसाबले उनले यो मुद्दालाई नजरअन्दाज गर्न सकेनन् । समाजको यो मुद्दामाथि आँखा चिम्लेर बस्न उनीभित्रको सिर्जनशील स्वभावले दिएन । कारण, उनलाई थाहा थियो– फिल्मले समाजका यस्तै मुद्दाहरूमाथि बहस सिर्जना गर्नुपर्छ । फिल्मकर्मीले न्याय दिलाउने होइन । तर, उक्त मुद्दामाथि दुई पक्षको अवस्था के थियो ? आन्दोलनले उनीहरूका सम्बन्ध कसरी चिसिए भन्ने देखाउन सकिन्छ । फिल्म हेरिसकेपछि कति पहाडेले दीपेन्द्रलाई आरोप लगाए– तैंले घुमाएर हामीलाई गलत देखाइस् । फिल्मले सिर्जना गरिदिएको यस्तै बहस, अन्तर्क्रिया र प्रतिक्रियामा दीपेन्द्र अहिले रमाइरहेका छन् ।
चर्चामा रहेको अर्को विषय हो, फिल्मले देखाएको मधेशको सौन्दर्य । कुनैबेला वृत्तचित्र खिच्न मधेश पुग्दा आफूले देखेको मधेशलाई यो पटक उनले फिल्ममार्फत देखाए । ‘पहाडबाट आएको मान्छेलाई मधेश मनपर्छ, आफूले देख्दै आएकोभन्दा नौलो कुरा देख्दा सबैलाई मनपर्छ । मैले त्यतिबेला देखेकै दृश्यहरूलाई फिल्ममा देखाइएको हो,’ गौचन विगत सम्झन्छन् । मधेश आन्दोलनअघि मधेश पुगेका उनलाई त्यहाँ मानिसहरूको सरलता, लस्करै भैंसीमाथि चढ्दै गरेको बालबालिका दृश्य, गोधूलि साँझ, अस्ताउँदै गरेको सूर्य अनि आँखाले नभ्याउञ्जेलसम्मको फाँटले लोभ्यायो । मानसपटलमा रहेको त्यही मधेश सौन्दर्य उनले फिल्ममा प्रस्तुत गरे । मधेशको त्यो रंगीचंगी रंगहरू, मधेश पुग्नेबित्तिक्कै सीताले पहिरिने पहिरन बिम्ब हो । अस्ताउँदै गरेको सूर्यका सुन्दर दृश्यलाई निर्माण टिमले चमकधमकसहित देखाउन सक्थ्यो । तर, आफूहरूले मधेशका निकै सुन्दर अनि ग्ल्यामराइज्ड दृश्यहरूलाई फिल्मबाट हटाएको दीपेन्द्र सुनाउँछन् । उनीहरूले साधारण देखिने दृश्य मात्रै फिल्ममा राखे । पोखरीमा जाल फालेको, शिरमा सामान बोकी महिलाहरू हिँडेको दृश्यहरूलाई फिल्ममा राखिएको छ, जहाँ पूरा मधेशको चित्र चित्रित छ । ‘मधेश जस्तो छ, त्यस्तै सुन्दर छ । त्यसलाई चमकधमकसहितको दृश्यले किन सुन्दर छ भनेर देखाइरहनु भन्ने भयो । कथालाई आवश्यक लाग्ने प्राकृतिक दृश्य नै राखिएको छ,’ दीपेन्द्रले सुनाए, ‘ग्ल्यामराइज दृश्यले फिल्मलाई धेरै फिल्मी बनाइदिन्थ्यो नि ।’
यो फिल्ममा मधेशकै चरित्रलाई पनि स्टेरियोटापभन्दा माथि उठेर सशक्त बनाइएको छ । नेपाली फिल्मले देखाउँदै आएको परम्परागत चरित्रलाई भत्काउने प्रयास गरिएको छ । राम चरित्रले यो फिल्ममा चिल्लो गाडी हुइँक्याउँछ । पढेलेखेको केटो हो ऊ, प्रस्ट नेपाली बोल्छ अनि आफ्नो भाषा पनि भुलेको छैन । एक्सन हिरो र्याम्बोभन्दा बिल्कुल फरक छ यो हिरो । चलाख छ, पढाकु पनि । मधेशी चरित्रलाई यसअघि नेपाली फिल्मले मजाक, कमेडीकै लागि मात्रै प्रयोग गर्यो । तर, राम चरित्रको यस किसिमको प्रयोगले स्टेरियोटापमाथि व्यंग्य गरेको छ ।
यो फिल्मको कथा गौचनको कक्षाबाट सुरु भएको हो । उनका विद्यार्थीहरू सबै, एक्सन हिरोका फिल्म हेर्दै हुर्केकाहरू । उनीहरूले फिल्मको स्क्रिप्ट उस्तै लेखिदिन्थे । गौचनले एउटा कोठामा दुई पात्रलाई आधा घण्टा राख्दै कथा लेख्ने अभ्यास दिए, एकदिन । विद्यार्थीहरूले कोसिस गरे सकेनन् । एउटै कोठामा दुई पात्रले लामो समय बिताउँदा त पट्यारलाग्दो फिल्म बन्छ भन्ने विद्यार्थीको भनाइ छ । तर, उनीहरूले त्यही अवस्था कल्पँदै जसोतसो कथाहरू लेखे । दीपेन्द्रले ‘केटी हराएको सूचना’ को परिकल्पना पनि त्यही कक्षाबाट गरेका हुन् ।
यस किसिमको कथामा फिल्म बनाउन सकिन्छ भन्दै निर्देशक गौचन युवा फिल्मकर्मीहरूलाई हौस्याउन चाहन्थे । ‘मसँग धेरै सुन्दर कथाहरू थिए । तर यसमा जोखिम लियौं । म पनि अर्को पालि दुई पात्रमा मिनिमलिस्ट फिल्म बनाउँदिनँ । तर, २२ वर्षपछि फिल्म क्षेत्रमा फर्कंदा यस्तो कथामा किन जोखिम नमोल्ने त भनेर बनायौं । बजारको तनावबिना आफूले भन्न खोजेको कथा युवा निर्देशकले बनाउन सकुन् भनेर पनि मैले यसमा काम गरें । जानी जानी यो गल्ती गरें,’ दीपेन्द्रले भने ।
