साइलेन्ट जेनेरेसनदेखि जेनजीसम्म

जेनजी र हाम्रो बालापन फरक रह्यो, भाषा पनि फरक हुँदै छ । जेनजीलाई स्वस्थानी कथाको बालै छैन । पुष्पाञ्जली हातमा लिएर माघका सााझहरूमा कथा सुन्ने दिन अब पुराना भए । अहिले बा–आमा एक्लै स्वस्थानी पढ्छन्, आफैं सुन्छन् । के जेनजीले स्वस्थानी सुन्नु जरुरी छ ?

माघ १९, २०८१

शिक्षा रिसाल

From the Silent Generation to Genji

अस्ट्रेलिया बस्ने मेरो मिल्ने साथीसँग महिनौंदेखि गफ हुन पाएको थिएन । विदेशमा ऊ आफ्नै जीवनमा व्यस्त, स्वदेशमा म आफ्नै तानाबानामा । तर, केही दिनअघि फोनमा कुरा हुँदा उसले सरसर्ती आफ्नो दिनचर्या सुनाई ।

छोरीहरूलाई स्कुल पुर्‍यायो, अफिस गयो, छोरीहरूलाई स्कुलबाट ल्यायो, खाना बनायो । अनि आजकल ? आजकल त स्वस्थानी पनि पढेर सुनाउनुपर्छ । मैले बीचमै कुरा काटेर सोधें– अनि छोरीहरू स्वस्थानीको कथा बुझ्छन् त ? 

अस्ट्रेलियामा जन्मेहुर्केका १२ र १० वर्षका नानीहरूले स्पष्ट रूपमा स्वस्थानीका कथा बुझ्ने कुरै हुँदैन । उसले भनी, ‘शब्दहरू जटिल छन् नि ! तर, ध्यान दिएर सुन्छन् । अझै उत्सुक हुँदै के–के सोध्छन् पनि ।’ 

कान्छी छोरी स्नेहाले सोधेकी थिई रे, ‘शिवजीकी श्रीमती माता सतीदेवी पनि भगवान् होइन ? भगवान् पनि मर्छन् र ?’ स्वस्थानी–कथा अनुसार, जब सतीदेवीका पिता दक्ष प्रजापतिले महायज्ञ आयोजना गर्छन्, उनी आफ्नै ज्वाइँ शिवजीलाई आमन्त्रण गर्दैनन्, शिवजीको अपमान गर्छन् । पतिको अपमान सहन नसकी सतीदेवी यज्ञकुण्डमा हाम फाल्छिन् र आत्मदाह गर्छिन् । सतीदेवीलाई गुमाउनुले शिवजीमा असह्य पीडा हुन्छ र उनी सतीदेवीको मृत शरीर बोकेर ब्रह्माण्डभरि भौंतारिन्छन् । पृथ्वीमा भौंतारिँदा सतीदेवीका अंग पतन भएका ठाउँहरू नेपाल र भारतमा छन् । ती ठाउँ शक्तिपीठका रूपमा परिचित छन् । ज्योतिषी पण्डितहरू भन्छन्– ती ठाउँको ऊर्जा एकदम पवित्र हुन्छ, शक्तिशाली हुन्छ । 

सतीदेवीको अर्को जन्म भएर हजारौं वर्षको कठोर तपस्यापछि माता पार्वती र शिवजीको विवाह हुन्छ । शिवजी र पार्वतीको सम्बन्ध ‘ट्वीन फ्लेम’ हो, जो एकअर्का बिना अधुरा हुन्छन् र साथ भएपछि सर्वशक्तिमान । उनीहरू युगौंयुग समयको हरेक कालखण्डमा कुनै न कुनै रूपमा साथ हुन्छन् ।

स्नेहाको प्रश्नमाथि कसरी सम्बोधन गर्ने ? उसकी आमा अर्थात् मेरी साथीलाई पहिले अन्योल भएछ, तर बालबालिकाको उत्सुकता र प्रश्नको जवाफ त दिनै पर्‍यो । उसले सबिस्तार लगाइ, ‘मान्छेका रूपमा जन्मिएपछि चाहे भगवान् नै किन नहोस् ? उनीहरूले पनि विभिन्न कष्ट, दुःख, पीडा भोग्नैपर्छ । हामी पृथ्वीमा जन्मिसकेपछि जस्तोसुकै परिस्थितिका लागि तयार हुनैपर्छ । दुःख, कष्ट, संघर्ष, पीडा, अनन्त हुन्छ । आफन्तको मृत्युले शोकाकुल बनाउँछ । विभिन्न परिस्थिति आउँछन् ।’ यस्तो कुरा सुनेर दुवै छोरी मौन भएछन्, सायद उनीहरू पनि मजस्तै अनेक प्रश्नमा घोत्लिए । 

श्रीस्वस्थानी व्रतकथा भगवान् शिव र देवी पार्वतीका जेठा छोरा कुमारले वाचन गरेका छन् । कुमारले अगस्त्य मुनि नामका ऋषिलाई समयका विभिन्न कालखण्डमा भएका घटनाबारे बताएका छन् । यो मिथक विशेषगरी भगवान् शिव महिमा, उनका विभिन्न कालखण्ड, उनले रचेका पात्र, उनीहरूको दुःख, शोक, धर्म र पाप वरिपरि घुमेको छ । 

साथीसँगको संवादपछि स्वस्थानीका एक–एक कथा सरसर्ती मेरो मस्तिष्क–कोषभरि घुम्न थाले । बालापनका कमला दिन फ्ल्यासब्याकमा नाच्न थाले । बाल्यकालमा अँधेरी रातमा, माघको सिरोटोमा मन्डी ओढेर (वा नओढी) कहिले रुँदै–रुँदै त कहिले डराइ–डराइ स्वस्थानीका कथा वाचन गरे पनि समयसँगै मलाई स्वस्थानीमा उल्लेख भएका कथा समस्यै समस्याको चाङ लाग्न थाले । ती समस्या स्पष्ट रूपमा लेखिएका छन्, जसले कलिलो दिमागमा डरसँगै धेरै रिस, पीडा, कौतूहल र कैयौं प्रश्न उब्जाएका छन्् । ती कथा जस्ताको तस्तै पढिन्छन्– बिना कुनै व्याख्या, बिना कुनै उदाहरण । ती कथामा घोर लैंगिक असमानता छ– महिलामाथिका दुर्व्यवहार, अत्याचार र अन्यायलाई जस्टिफाइ गरिएको छ । ती कथामा महिलालाई परिभाषा गर्दा प्रयोग गरिएको भाषा छ– पापिनी । जस्तै ः श्रीमान्लाई आँखा तरेर हेरे महिला डेढी हुन्छे, श्रीमान्सँग मुखमुखै लागे वा झगडा गरे लाटी हुन्छे, श्रीमान्ले भन्दा पहिले खाना खाए ऊ कुकुर्नी हुन्छे, यस्तै यस्तै ।

 अर्को मिथक उल्लेख गरिएको छ कि मृत्युपछि स्वर्ग वा वैकुण्ठ लोकमा पुग्न वैतरणी नदी पार गर्नुपर्छ । तर, वैतरणी पार गर्न यसै सम्भव छैन । त्यसका लागि छोराले पितृदान आदि कार्य गर्नुपर्छ । स्वर्ग पुग्न छोरा जन्माउनैपर्ने र छोराले मात्रै विभिन्न दानपुण्य गरेपछि स्वर्ग पुगिने लेखिएको छ । अझै रोचक त के छ भने यदि कुनै दम्पतीले अघिल्लो जन्ममा पाप गरेका छन् भने उनीहरूले यो जन्ममा छोरा प्राप्त गर्न सक्दैनन् । 

स्वस्थानी कथा दिमागमा रिलजसरी फनफनी घुमेपछि मैले साथीलाई फेरि फोन गरेर सोधें, ‘अनि ती सबै कथा जस्ताको त्यस्तै नानीहरूलाई सुनाउने कि अलि मिलाएर ?’ ऊ हाँसी, ‘मिलाएर बुझाउँछु नि । असमानता, अत्याचार र पापिनीवाला कुरामा मैले जोड दिएको छैन, पीर नगर ।’ उसलाई थाहा छ– मलाई महिला अत्याचारको कथामा जोड दिएका प्रसंग कत्ति पनि चित्त बुझ्दैनन् । 

म सायद ८ वर्षकी थिएँ । स्वस्थानीका तीनवटा कथा पढ्दा म भक्कानिएर रोएको छु । ती कथालाई चरित्रार्थ गर्दै पटक–पटक चित्त दुखाएको छु । जब भगवान् शिव सतीदेवीको मृत शरीर काँधमा बोकेर पुरै ब्रह्माण्ड भौंतारिन्छन््, मलाई शिवजीको असाध्यै माया लागेको थियो । म सोच्थें– भगवान् शिवजीले त उनलाई जीवित बनाउन सक्नुपर्ने नि, किन नबनाएको होला ? तर, उही शिवजीसँग मलाई घोर रिस उठेको थियो, जब गोमा नामकी पात्रलाई उनले ७ वर्षको उमेरमा ७० वर्षको वृद्धसँग विवाह होस् भन्ने श्राप दिए । सबैभन्दा डरलाग्ने र सुनेपछि/पढेपछि घुँक्क–घुँक्क रुन मनलाग्ने कथा हो– चन्द्रावतीको । यी तीन कथा मलाई अझै मुखाग्र छ । धेरै कालसम्म पनि ‘स्वस्थानीको प्रसाद नखाए कुष्ठ रोग लाग्छ कि’ सोचेर डराउँथे । घरमा भिक्षा माग्न आएकालाई कुराए ‘गोमाको जस्तै बूढो मान्छेसँग विवाह हुन्छ अनि घोर दुःख पाइन्छ’ सोचेर डर लागिरहन्थ्यो । १२ वर्ष हुँदासम्म पनि मलाई भिक्षा माग्न आउने जोगी साधुहरूसँग डर लागिरह्यो । साधुहरू घरको आँगनमा झुल्कनेबित्तिकै मुटु ढुकढुक–ढुकढुक हुन्थ्यो । अनि घरमा जहाँ जति चामल, अक्षता, के–के छ ! आफूले बोक्न सकेको सबै ल्याएर ती जोगीबाबालाई दिन्थें । उता उनीहरू धेरै खुसी हुन्थे, यता म ढुक्क हुन्थें ।

घरमा साइलेन्ट जेनेरेसनदेखि नयाँ पुस्ता जेनजीसम्म छन् । हामीले भोगेको बाल्यकाल र जेनजीका बाल्यकाल फरक रहे । आजकल त भाषा पनि फरक हुन थालिसकेको छ । मेरा भाइ–बहिनीलाई स्वस्थानीको कथा थाहै छैन । उनीहरूले कहिल्यै रुचि पनि राखेनन् । पुष्पाञ्जली हातमा लिएर माघका साँझहरूमा स्वस्थानी–कथा वाचन गर्दा परिवारका सबै सदस्य बसेर कथा सुन्ने र प्रसाद खाने परम्परा पनि हराउँदै गयो । अहिले मेरी आमा एक्लै बसेर स्वस्थानी पढ्नुहुन्छ, आफैं सुन्नुहुन्छ । 

वृन्दाको कथा छ– स्वस्थानीमा । वृन्दा दैत्य राक्षस जालन्धरकी पत्नी हुन् । उनी पतिव्रता थिइन् । अर्थात् पतिप्रतिको उनको समर्पण–भाव यतिसम्म बलियो थियो कि उनी श्रीमान्को सुरक्षा कवच थिइन् । जालन्धरले पृथ्वी र स्वर्गलोकमा भयानक उत्पात मच्चाइरहेको हुन्छ– देवता, ऋषिमुनिलाई दुःख दिइरहेको हुन्छ । कुनै उपाय नलागेपछि भगवान् विष्णुले जालन्धरको रूप धारण गरी वृन्दाको पतिव्रता धर्म नष्ट गरेको कथा छ स्वस्थानीमा । यता विष्णुले वृन्दालाई जालन्धर बनेर उनको धर्म नाश गर्छन् । उता शिवजीले जलान्धरको काम तमाम गर्छन् । आफूमाथि छल भएको थाहा पाएपछि वृन्दाले रुँदै–कराउँदै विष्णुलाई श्राप दिन्छिन्, ‘विष्णु ! तिमी युगौंयुगसम्म घाँस, ढुंगा, रूख, झार भएर पृथ्वीमा बस्नुपरोस् ।’ 

स्वस्थानीमा अर्को कथा छ– गोमा र उनका आमा–बुबाको । गोमाका आमा–बुबाको कुनै सन्तान छैनन् । उनीहरूले सन्तान प्राप्तिका लागि गणेशजीको पूजा गर्छन् । गणेशजी प्रकट भई वरदान दिन्छन्, ‘प्रातःकालमा सूर्योदयअघि एउटा गाईसमक्ष जानु, गाईको गोबर ल्याई घरको खोपीमा राख्नु । सोही गोबरबाट एउटी सुन्दर कन्याले जन्म लिनेछिन् ।’

गोबरबाट जन्मिएकी भएर उनको नाम गोमा रहन गएको हो । गोमाको वर्णन बडो रोचक ढंगले गरिएको छ– मृगका जस्ता नयन भएकी, बाघको जस्तो कम्मर भएकी, लामा–लामा हात पाखुरा, सूर्यजस्तो तेज भएकी कन्या ! गोमा ७ वर्षकी भएपछि शिवजी ७० वर्षको एक वृद्धको रूप धारण गरेर आउँछन् र गोमाका आमा–बुबासँग गोमासँग विवाह गर्ने प्रस्ताव राख्छन् । गोमाको विवाह, त्यसपछिका दुःख, उनको स्वस्थानी व्रत–कथा, छोरा नवराज लावण्य देशको राजा बन्नुको कथा अब नौलो रहेन । 

सबैभन्दा पीडादयी कथा छ– चन्द्रावती राजकुमारीको । उनी गोमाकी बुहारी हुन् र नवराज राजाकी पत्नी । स्वस्थानी कथामा उनलाई धेरैजसो ‘पापिनी’ सम्बोधन गरिएको छ । किनकि नवराज केही काम गर्न, धन–सम्पत्ति कमाउन र आफ्नो बुबा शिव शर्मा ब्राह्मणबारे खोजखबर लिन घरबाट टाढा गएका बेला चन्द्रावती माइत गएर बस्छिन् । र, राजा भएपछि नवराजले चन्द्रावतीलाई लिन डोलेहरू पठाउँछन् । त्यो श्रीस्वस्थानीको व्रत बस्ने समय चलिरहेको हुन्छ । कथामा भनिएको छ– सालीनदीको किनारमा अप्सराहरू आएर स्वस्थानी माताको व्रत पूजा गरेका छन् । 

लावण्य देश फर्कने क्रममा डोलेहरू सालीनदीको किनारमा एकैछिन विश्राम लिन्छन् । त्यतिबेला अप्सराहरू आई स्वस्थानी माताको पूजा गरिरहेको देख्छन् । उनीहरू अप्सराछेउ जान्छन् र स्वस्थानीको कथा सुन्न बस्छन् । केही समयपछि प्रसाद लिएर चन्द्रावती भएठाउँ फर्कन्छन् । त्यतिबेला चन्द्रावतीको क्रोधलाई वर्णन गरिएको छ– प्रसाद दिँदा लात्तीले हानेर थुक्छिन्, रातो रातो आँखा पारी सोध्छिन्, ‘को हो स्वस्थानी माता ?’ डोलेहरू निराश हुन्छन् र आँखाबाट आँसु खसाल्छन् । फर्कने क्रममा सालीनदीमा एक्कासि ठूलो बाढी आउँछ । बाढीले डोली बगाउँछ र डोलेहरूको पनि सालीनदीमा डुबेर मृत्यु हुन्छ । स्वस्थानीको प्रसाद खाएको र कथा सुनेको भएर उनीहरूले मुक्ति पाउँछन्, तर चन्द्रावती बाँच्छिन् । उनको अवस्थालाई एक काठको मुढोजस्ती भनेर व्याख्या गरिएको छ । उनी छिनमा बेहोस हुने र छिनमा होस आउने, कमजोर शरीर तटमा लडिरहन्छिन् । उनलाई सबैले ‘पापिनी–पापिनी’ भनेर बोलाउँछन् । त्यसपछि चन्द्रावती महिनौंसम्म सालीनदी किनारमा असहाय, निरीह, रोगी, हातखुट्टा झेरेका, कुष्ठ रोगी, मुर्छित भएर लडिरहन्छिन् । लामो समयको पीडापछि उनी स्वस्थानीको व्रत बस्छिन्, पापबाट मुक्त हुन्छिन् र अन्ततः श्रीमान् राजा नवराजसँग उनको भेट हुन्छ । यो कथा पनि नौलो रहेन । 

समाज तीव्र गतिमा विकास भइरहेको छ । अहिले मोबाइल, इन्टरनेट, सोसल मिडिया, एआईमा अभ्यस्त नयाँ पुस्तालाई आफ्नो धर्म, संस्कृति, परम्परा चिनाउनु सुन्दर पक्ष हो । उनीहरूलाई आफ्नो सनातन भाषा, संस्कृति, धर्म सबैसँग परिचित गराउनु पनि पर्छ । तर, तिनले प्रश्न उठाउँदा र मनमा उठेका अनेक कौतूहलताको उत्तर पनि पाउनुपर्छ । यहाँ त सबैको आ–आफ्नै मुड अनुसार व्याख्या र कथाहरू हुन्छन् । यस्तो किन भयो ? किन हुन्छ ? सायद यो ज्ञान कसैलाई पनि छैन । सबै आफ्नो अनुकूलता अनुसार बयान गर्छन् । यसले न नयाँ पुस्ताको कलिलो दिमागको प्रश्नलाई सम्बोधन गर्छ, न धर्म–संस्कृति जोगाउन महत्त्वपूर्ण भूमिका नै खेल्छ । 

स्वस्थानीका कथाहरूमा उल्लेख गरिएका महिला पात्रको जीवन सरसर्ती नियाल्ने हो भने त्यहाँ महिलाले श्रीमान्लाई गर्नुपर्ने सम्मान, समर्पण, त्यागको मात्रै व्याख्या गरिएको छ । मुख्य महिला पात्रलाई प्रायः पुरुष पात्रसँगको सम्बन्ध र कर्तव्यप्रतिको निष्ठाको माध्यमबाट मात्रै चित्रण गरिएको छ । 

एक महिना लामो स्वस्थानी व्रतमा मुख्यतया महिलाले आफ्नो पति र परिवारको भलाइका लागि व्रत बस्नुपर्ने लेखिएको छ । नारीवादीहरूले यस्तो कथालाई परिवारको कल्याणको भार सबै महिलामा थोपरेर लैंगिक असमानता बढाएको भन्ने तर्क गर्दै आएका छन् । तथापि केही विद्वान्ले यसका वैकल्पिक व्याख्या पनि गरेका छन्– जस्तै ः मुख्य देवी स्वस्थानी आफैं एक महिला हुन्, जो दैवी नारी शक्तिको प्रतिनिधित्व गर्छिन् । केहीले यसलाई नारी शक्ति र क्षमताको सशक्तीकरणका रूपमा व्याख्या गरेका छन् । समाजशास्त्रीहरू भन्छन्– स्वस्थानी कथाले महिलाहरूलाई भेला हुने र अनुभव साटासाट गर्ने स्थान दिएको छ । तर, कथाहरूले मुख्यतया महिलाहरूलाई परम्पराको अधीनमा रहनुपर्ने, नत्र पाप लाग्ने, दुःख पाइने भन्ने आशयमा चित्रण गरेको छ । महिलाको त्याग, बिनासर्त आफ्नो परिवारका लागि बलिदान दिनु नै उसको दायित्व हो, प्रमुख धर्म हो भन्ने आशय लाद्न खोजिएको छ । 

जेनजीले स्वस्थानी कथालाई कसरी लिन्छन् त ? विद्वान्हरू भन्छन्– आधुनिक शिक्षा र सांस्कृतिक संरक्षणको यस युगमा बालबालिकाका लागि स्वस्थानी व्रत–कथा सुनाउनु अत्यन्त महत्त्वपूर्ण भइसकेको छ । तर, के यसको व्याख्या र अभ्यास लैंगिक समानताका समकालीन मूल्यमान्यताअन्तर्गत विकसित भएको छ ? 

यी कथाहरूले जेनजी र बालबालिकाको संज्ञानात्मक विकास, भाषा सीप र नैतिक बुझाइलाई बढावा दिन्छ भन्ने तर्क पनि आउँछन्, तर के उनीहरूको मनमा पैदा हुने डर, भावनात्मक संवेगलाई सम्बोधन गर्न कथाहरू परिमार्जन भएको छ ? प्रश्न उठ्छ– मिथकलाई परिमार्जन कसरी गर्ने ? मिथक त मिथक हो । दन्त्य कथा हो । स्वस्थानी व्रत कथाहरू गहन छन्, बालबालिकाले बुझ्न त अझै चुनौतीपूर्ण छ । तर, के बालबालिकाको मनमा उठेका प्रश्नको चित्त बुझ्दो जवाफ उनीहरूले पाउनु पर्दैन र ? मलाई लाग्छ, हरेक बालबालिकादेखि जेनजीसम्मको कौतूहलतालाई स्पष्ट पार्नुपर्छ, सम्बोधन हुनुपर्छ । समाज तीव्र रूपमा विकास भइरहेको छ । यद्यपि नेपालको सन्दर्भमा अझै परम्परागत धार्मिक ग्रन्थलाई आधुनिक दृष्टिकोणबाट हेरिएकै छैन । नयाँ पुस्ताले स्वस्थानीका कथाहरू सतही रूपमा मात्रै बुझे र सोही रूपमा अनुसरण गरे भने समाज झन्झन् ढुंगेयुगतिर फर्कने निश्चित छ । 

भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा भएको घटनाबारे समाचार पढें । बुधबार मात्रै मौनी अमावास्यको दिन अमृत स्नान गर्न भागदौड मच्चिएपछि ३० जनाले ज्यान गुमाएछन्, सयौं घाइते भए । ‘महाकुम्भमा पुगेर मृत्यु हुनु त मुक्ति पाउनु हो, कति धर्म गरेका रहेछन् !’ केहीले यसै भने । केहीले भने, ‘यस्तो भीडमा किन जानु परेको मान्छेहरूलाई ?’

भन्छन्– यो महाकुम्भ मेला १४४ वर्ष पछि आएको हो । प्रत्येक १२ वर्षमा हुने १२ वटा पूर्ण कुम्भ सकिएपछि मात्रै बल्ल महाकुम्भ आउँछ । मेलामा स्नान गर्न आएका नागा बाबा, साधु, अघोरीहरूको भिडियो सामाजिक सञ्जालमा देखिन्छ । भिडियोहरू देख्दा दिमागमा अनेकौं प्रश्न उब्जिरहेको छ । यिनीहरू अहिलेसम्म कहाँ थिए, अरू बेला कता बस्छन् ? यति धेरै बाबा कसरी यहाँ आइपुगे ? भारतको १ सय ४४ करोड जनसंख्यामा यी बाबाहरू पर्छन् कि पर्दैनन् ? 

अर्को महाकुम्भ मेलामा त यो पृथ्वीमा म हुने छैन, तर प्रश्नहरू भने अबको नयाँ पुस्ताले अझै गरिरहनेछ– त्यतिबेला पनि स्वस्थानीका कथाहरू यसैगरी सुनाइन्छ होला ? 

शिक्षा रिसाल पत्रकार हुन् ।

Link copied successfully