पलाँसको फूल थिएँ, झरें

सानी छँदा म बिछट्टै राम्री थिएँ ! आमा भन्थिन्– बम्बईमा जन्मेकी भए हिरोनी बन्थिस् ! तर, के गर्नु ? अछुतको कोखमा जन्म लिइस्, कत्ति हरेउ सर्पहरूले डसेर मार्ने हुन् ।

माघ १२, २०८१

रवीन्द्र केसी

I was a rose flower, I fell

काठमाडौँ — जीवनको सुदूर उत्तरार्द्धमा छु । उमेरका धमिराले खोक्रो बनाइसकेको छ । हातगोडा राम्रोसँग चल्दैनन् । केवल दिमाग चल्छ । बेलगाम चल्छ । कुरा बुझ्ने भएदेखि नै छोरोले एउटा कठिन प्रश्न गर्दै आएको छ । त्यही सम्झेर मन ढक्क फुल्छ । ऊ सोध्ने गर्छ, ‘मेरो बाबु को हो, आमा ?’ म नाजबाफ हुन्छु । ऊ हेय भावले हेर्छ ।

आफ्नै सन्तानको नजरमा गिरेको अनुभूतिले असह्य पीडा दिन्छ । म आफैंलाई प्रश्न गर्छु, ‘वास्तवमा उसको यो घृणा कोसँग हो ? छोराको सुखद भविष्यका लागि आफ्नै नियतिसँग विद्रोह गरेकी वृद्ध आमासँग हो कि पाइलैपिच्छे बाबुको नाम सोधेर अपमानित गर्ने यो संवेदनाहीन समाजसँग ? बुझ्न सक्दिनँ, आफैंसँग निरुत्तरित हुन्छु । 

अचेल जीवन एउटा नसुल्झिने सवाल जस्तै भएको छ । जति गहिरिएर सोच्दै जान्छु, उति आफैं काँडा जस्तै तिखारिन्छु । आफ्नै छातीमा रोपिन्छु । तर, जे जस्तो भए पनि बाँच्नैपर्ने रहेछ, जिन्दगीलाई घिसारिरहेकी छु । घरमा एक्लै हुन्छु । आफ्नै पदचापहरूलाई स्पर्श गर्दै बस्छु । पाइतालाबाट छरछरी रगत चुहाउँदै कसरी यहाँसम्म आइपुगें ? आफैंलाई विश्वासै लाग्दैन । तर, छोरो डाक्टर भएको छ ।

जीवनको ठूलो सपना पूरा भएको छ । लाग्थ्यो, सपना पूरा भएपछि खुसीहरू आफैं आउनेछन् । तर, होइन रहेछ, त्यो त महसुस गर्न सक्नुपर्ने रहेछ । आजभोलि सपना र खुसीका भ्रमहरूबाट मुक्त भएकी छु । तैपनि संघर्ष जारी नै छ । हिजो छोराको सुखद भविष्यका लागि लडेकी थिएँ । आज आफ्नै सहज अवसानको लडाइँमा छु । फरक यत्ति हो– हिजो जोसिलो उमेर र ‘जुनून’ थियो, तर आज लाचार बुढेसकाल र आँसु मात्र बाँकी छ । 

बाहिर निष्पट्ट अँध्यारो छ । केहीबेर त्यही निस्तब्धतामा हराउँछु । भावनाका लहरहरू उर्लिंदै जान्छन् । जुरुक्क उठेर कोठाभित्र आउँछु । भित्तामा छोराको ठूलो तस्बिर टाँगेकी छु । डाक्टरको पोसाकमा ऊ कुनै देवदूत जस्तै देखिएको छ । आफ्नो अभिशप्त विरासतका बाबजुद पनि कसरी उसलाई यहाँसम्म पुर्‍याएँ होला ? सोचेर निकै भावुक हुन्छु ।

खुसी र गौरवको अनुभूतिले केहीबेर पुलकित हुन्छु । फेरि सम्झनाले कोल्टे फेर्छ अनि बाध्यात्मक देह–व्यापारका आफ्ना यातनामय दिनहरू सम्झिन्छु । आङमा काँडा उम्रिँदै जान्छ । अझ छोराको प्रश्न सम्झेर त झन् मर्माहत हुन्छु । सोच्छु, शैक्षिक उपाधिले मात्रै पनि मानिसको चेतना कहाँ फराकिलो हुँदो रहेछ र ? भोगाइले गराएको त्यो सत्यानुभूतिले विस्मित हुन्छु । 

कहिलेकाहीं अभियन्ताहरू भेट्न आउँछन् । सहरबाट नदेखिने, दूरदराजमा अझै पनि पाइला–पाइलामा भेटिने हाम्रा सीमान्तकृत समुदायका अन्तहीन दुःख–वेदनाका कथा सुनाउँछन् । युगीन विभेदप्रति कडा आक्रोश पोख्छन् । उनीहरू भन्छन्– हाम्रो देशमा कथित सामाजिक वर्णव्यवस्थाले मानिसहरूका बीचमा नमेटिने गरी विभाजनको रेखा कोरिदियो ।

अन्तरघुलनको बाटो असहज बनाइदियो । हामीलाई तहगत संरचनाको पिँधमा राखिदियो । सामाजिक, आर्थिक र राजनीतिक अवसरहरू दिइएन । साधन, स्रोत र जमिनको हकबाट समेत वञ्चित गरियो । हामी निरीह भयौं । निमुखा भयौं । हाम्रा समुदायका महिलाहरूमाथि प्रथाकै रूपमा यौन शोषण सुरु भयो । र, हाम्रो सिंगो समुदायलाई नै कलंकित बनाइयो । 

अभियन्ताहरू आक्रोश पोख्छन्, ‘यो वर्ण व्यवस्था हो कि बर्बरता हो ? जन्मिँदै कोही किन दास र मालिक हुने ? कोही किन आजीवन प्रताडित हुने र कोही किन जन्मजात सम्मानित हुने ? हामी अंकुराएको कोख कसरी अपवित्र र कथित उपल्लो जातको कसरी पवित्र भयो ?’

अक्सर उनीहरू यस्तै नबुझिने कुरा गरेर जान्छन् । म रनभुल्ल पर्छु । खिन्नताले गाँज्दै लान्छ । र, आफ्नै जीवनलाई फर्केर हेर्छु– आमाको बाध्यात्मक यौनकर्मको आर्जनामा हुर्केको बालापन सम्झेर मन अमिलो हुन्छ । कलिलैमा आफू पनि त्यसैमा घिसारिनुको पीडाले सहिनसक्नु हुन्छ । मनमा कुराहरू अझै खेल्दै जान्छन् । लोग्नेकै अगाडि अस्मिता लुटिएका दिदीबहिनीहरूका वेदना सम्झेर दुःख लाग्छ । सीमान्तकृत महिलाहरूलाई भोगविलासको वस्तु मात्रै देख्ने सामाजिक कुदृष्टिप्रति घृणा लाग्छ । 

अक्सर म सम्झने गर्छु– म सानी छँदा बिछट्टै राम्री थिएँ 

रे ! आमा भन्थिन्, ‘बम्बईमा जन्मेकी भए हिरोनी बन्थिस् ! तर, के गर्नु ? अछुतको कोखमा जन्म लिइस्, कति हरेउ सर्पहरूले डसेर मार्ने हुन् ।’ त्यतिबेला आमाका कुराहरू बुझ्दैनथें । हाँसेर उडाइदिन्थें । बिस्तारै उमेर बढ्दै गयो । पढ्ने रहर पलाउन थाल्यो । तर, आधा शताब्दी अगाडिको समाज ! हाम्रा जातिका महिलाले पढ्ने रहर गर्नु अक्षम्य पाप गरेजस्तै हुन्थ्यो ! पुर्खाहरू देह व्यापारको जुन दलदलमा भासिएका थिए, म पनि त्यहीं पुगें ।

पहिलो पटक १४ वर्षकी जति हुँदी हुँ, ४०/४५ वर्षको ‘जल्लाद’ ले निर्मम बलात्कार गर्‍यो । यसपछि आमाले भनेझैं अनगन्ती काला नागहरू आइरहे, डसिरहे । म त पलाँसको फूल भइसकेकी थिएँ, झरें । दुःखको कुरा, अरू पनि कैयौं कोपिला पलाएका थिए । मैजस्तै गरी निमोठिँदै गए । 

हिजोआज जीवनका ती नमीठा यादहरू झन् बढी आउँछन् । अनगन्ती घृणित चेहराहरू आँखामा सलबलाउँछन् । सम्झना ताजै छ– एउटा व्यभिचारी लुकेर आउँथ्यो, बाहुन हुँ भन्थ्यो, धर्म र नैतिकताका कुरा गर्थ्यो । तर, निर्लज्जतासाथ स्खलित भएर जान्थ्यो । अर्को क्षेत्री हुँ भन्थ्यो, मातेर आउँथ्यो, श्रीमतीबाट नपाएका सुख हामीसँग खोज्थ्यो ।

सबै जात, वर्ग, पेसा र समुदायका आउँथे, हवसको आगो ननिभुन्जेल सबैले देवीजस्तै मान्थे । त्यसपछि थुकेर जान्थे । मन सारै कुँडिन्थ्यो । भावुक हुन्थें । र, कामना गर्दथें– कोही त आवोस्, हृदयदेखि माया गरोस् । तर, त्यो कञ्चन भावना लिएर जीवनमा कोही पनि आएन । जति आए, सबै बासनाको आगो मात्रै लिएर आए । 

समय बित्दै गयो । एउटा भद्र मानिस आउन थाल्यो । माया–प्रेमका नौरंगी सपनाहरू देखायो । एक दिन आफू गर्भवती भएको थाहा पाएँ । मातृत्वका सुखद कल्पनाले पुलकित भएँ । जब उसलाई त्यो खुसीको कुरा सुनाएँ, ऊ नीलो–कालो भयो । मलाई छुँदै नछोई बाहिर निस्क्यो । निकै दिनसम्म बाटो हेरें । तर, ऊ फेरि फर्केर आएन । बल्लबल्ल मनमा खुसी पलाएको थियो । त्यो पनि निमोठेर गयो । म नराम्रोसँग टुटें । तैपनि मातृधर्म छोडिनँ । छोरालाई जन्म दिएँ । तर, उसको बाबु– त्यो छद्मी पापिस्ट वास्तवमा को थियो ? आजसम्म मैले भेउ पाउन सकेकी छैन । 

अक्सर घरमा एक्लै हुन्छु । स्मृतिहरूमै डुबेर दिन बिताउँछु । सम्झिँदै जान्छु– मेरो कोखमा तीन वटा जीवन अंकुराएका थिए । दुई वटा नजन्मिँदै झरे । अन्तिमको छोरो थियो । त्यसले चाहिँ जन्म लिन पायो । विस्तारै हुर्किंदै गयो । त्यतिबेला म कष्टको पहाडले थिचिएकी थिएँ । तैपनि उसलाई होस्टेलमा राखरे पढाउने तारतम्य मिलाएँ ।

१२ कक्षासम्म आफैंले खर्च गरें । त्यसपछि छात्रवृत्ति पायो । ऊ डाक्टर भयो । योग्यता बढ्यो । हैसियत बढ्यो । तर, उसमा पनि जातीय उत्पीडनविरुद्ध उभिने साहस पलाएन । आज पनि ऊ नजानिँदो गरी आफ्नो बाबुकै नाम सोध्छ । सन्तानकै नजरबाट गिरेर बाँच्नुको अनुभूतिले मरेतुल्य बनाउँछ । यस्ता घाउहरू मसँग मात्र होइन, अरू आमाहरूसँग पनि छन् । हेर्दा त सबै सग्ला नै देखिन्छन् । तर, भित्रभित्रै खरानी भएका छन् । 

हाम्रा महिलाहरूका कथा यस्तै विद्रूप छन् । कारुणिक छन् । तर, तिनको मर्म आजसम्म कसैले बुझेको छैन । हाम्रा भोक, रोग र दरिद्रताको कसैले चिन्ता गरेको छैन । उत्पीडनका कारण केटाकेटीहरू स्कुल जान नसकेको कसैलाई वास्ता छैन । नानाथरीका संघसंस्थाहरू आउँछन् । हाम्रै आँसुका बिकाउ कथा बनाउँछन् । तर, कसैले जीविकोपार्जनको दिगो उपाय दिँदैनन् । हाम्रा चेतनाले अझै पनि कानुन जान्दैनन् । अदालत चिन्दैनन् । प्रहरीसँग डराउँछ । तर, हाम्रो पिर बिसाउने कुनै गाउँ भएन । दुःख पोख्ने कुनै ठाउँ भएन । वर्षौंदेखि हामी आफ्नै वेदनाको भारीले किचिँदै आयौं । अपमानित र लाचार जीवन बाँचिरह्यौं । 

छोरो जन्मिएपछि मैले देहव्यापार छोडें । जीवनको नयाँ गोरेटो समातें । पश्चिम तराईको एउटा सुकुम्बासी बस्तीमा कोठा लिएर बस्न थालें । अगाडिको बाटो कदापि सहज थिएन । तर, मनमा दृढ निश्चय थियो । यसै सन्दर्भमा अभियन्ताहरूले पनि केही सहयोग गरे । मैले त्यतै सानोतिनो व्यवसाय गर्न थालें । कैयौं दिन आधा पेट खाएँ, कैयौं दिन भोकै सुतें तर छोराको पढाइमा कुनै कमी हुन दिइनँ । आज ऊ नामी डाक्टर भएको छ । काठमाडौंतिरै बस्छ । टेलिभिजनमा पनि बोल्छ । उसको सफलता देखर मेरो खुसीको सिमाना हुँदैन । आखिर आमाको सपना फुल्ने सन्तानको सुखमा नै त रहेछ नि ! 

आज त्यही छोरालाई आमाप्रति श्रद्धा छैन । असन्तुष्टि छ । गुनासो छ । तर पनि मलाई दुःख लाग्दैन । सोच्छु– त्यो उसको मात्रै होइन हाम्रो राजनीतिक, सांस्कृतिक, सामाजिक र आर्थिक सत्ताको दोष हो, जसले कहिले पनि हामीलाई मानवीय दृष्टिकोणले नै हेरेन र ‘हामी सबै महिलाहरू यौनकर्मी हुन्’ भन्ने गलत भाष्य निर्माण गर्‍यो ।

हाम्रो समुदायको कला, संगीत र सीपका वैभवशाली इतिहास लेखिँदै लेखिएन । यस्तो प्रतिकूलतामा पनि हाम्रा आमाहरूले आफ्नो एकल जिम्मेवारीमा पनि सन्तानहरूलाई जीवन दिन छोडेनन् । हजारौं बुबाले मादलका बर्ता, बल्छी र जालका भरमा अस्तित्व र पहिचानको लडाइँ लडिरहे । नवीन पुस्ताले पनि त्यसलाई अझ सशक्त बनाउँदै लगे । अहिले आएर हाम्रो संघर्षको प्रतिफल कालो बादलमा चाँदीको घेरा जस्तै गरी देखिन थालेको छ ।

आज आमाको नामबाट नागरिकता पाउने केही सहज स्थिति बनेको छ । तर, नागरिकताले मात्रै पनि हुँदो रहेनछ । मूल कुरा त भावनात्मक स्वीकार्यता रहेछ, जुन हामीले अझै पनि पाएका छैनौं । आज पनि मोबाइलको सिमकार्डदेखि बैंक खाता खोल्नसम्म बाबु–बाजेको नाम खुलाउनैपर्छ । हामी त हाम्रा संगीन चोटहरू भुलेर बाँच्न चाहन्थ्यौं । तर, ती परम्परागत प्रबन्धहरूले मुटुका घाउमा नुनचुक दलिरहन्छन् ।

सायद त्यसैले होला मेरो छोरा पनि मलाई बाउ चिनाइदे भन्छ । आफूलाई लुट्ने ती पतितहरू यही समाजमा छन् । कति आमाहरूले तिनलाई चिनेका पनि छन् । दुःखको कुरा, वर्षौंदेखि दमित ती अबलाहरू न मेरो लोग्ने यही हो भनेर दाबी गर्न सक्छन्, न त छोराछोरीलाई उनीहरूको बाबु चिनाउन सक्छन् । बरु चुपचाप उत्पीडन सहन्छन् । आजीवन अपमानित भएर बाँच्छन् । 

आज फेरि केही अभियन्ताहरू घरमा आएर बैठक बसे । र, छलफलका क्रममा भने– अहिले परिस्थति सापेक्षित रूपमा केही सकारात्मक भएको छ, तर पनि मुद्दाहरू भने अझै पनि बाँकी नै छन् । अब आदर्शवादी बहसले होइन ठोस योजना र परिणाममुखी कार्यान्वयनबाट मात्र तिनको सम्बोधन हुन सक्छ । त्यसका लागि राज्य अझै प्रतिबद्ध हुनुपर्छ । समतामूलक समाज निर्माणमा थप पहलकदमी लिनुपर्छ ।

विद्यमान उजुरी प्रक्रियालाई अझ सरल र पहुँचयोग्य बनाउनुपर्छ । पीडितहरूका लागि निःशुल्क कानुनी सेवाको व्यवस्था गर्नुपर्छ । कानुन कार्यान्वयन, पुनःस्थापना, क्षतिपूर्ति, आरक्षण, रोजगारीको अझै प्रभावकारी व्यवस्था गर्नुपर्छ । यति गरेर मात्रै पनि पुग्दैन । मुख्य कुरा त फेरि पनि मानवीय दृष्टिकोण नै हो । समानुभूति हो । सामाजिक स्वीकार्यता हो । किनभने केवल अब गतिशील, बृहत् र समृद्ध चेतनाले मात्रै जातीय उत्पीडिनमा परेकाहरूलाई राहत दिन सक्छ । 

अभियन्ताहरूका यस्ता कुराहरू वर्षौंदेखि सुन्दै आएकी छु । आज पनि ध्यान दिएर सुनें । कति बुझें । कति बुझिनँ । र, निकैबेर गमें । र, मलाई पनि लाग्यो, ‘मेरो छोराजस्तै बाबु पहिचान नखुलेका सबै छोराछोरीहरूका फलामे काँडा जस्ता प्रश्नहरूका जवाफ अब केबल एउटा सम्मुन्नत दृष्टिकोण र वैज्ञानिक व्यवस्थापनले मात्रै दिन सक्छ । र, त्यसरी नै सीमान्तकृतका सीमाहीन संवेदनाले पनि निकास पाउन सक्छ ।

रवीन्द्र केसी

Link copied successfully