‘प्रशंसा खोज्नेहरूले समालोचना भेटेनन् भने त्यो समालोचकको दोष होइन’ 

माघ ५, २०८१

दीपक सापकोटा

”If those who seek praise do not find criticism, it is not the critic's fault.”

काठमाडौँ — निरन्तर अनुसन्धान र साहित्यिक समालोचनामा तल्लीन दुर्गाबहादुर घर्ती लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत छन् । समालोचनाको मनोविश्लेषणात्मक धाराका स्थापित समालोचक घर्तीले आधा दर्जन समालोचनात्मक पुस्तकबाट आफ्नो अध्ययन–विश्लेषण सारपूर्ण ढंगले पस्किसकेका छन् ।

उनको पछिल्लो पुस्तक ‘सांस्कृतिक अध्ययन’ र समालोचनाका विविध पक्षमा केन्द्रित भई साहित्यिक समालोचक दुर्गाबहादुर घर्तीसँग दीपक सापकोटाको वार्ता :

लामो समयदेखि मनोविश्लेषणात्मक धाराको समालोचना लेखिरहनुभएको छ । सांस्कृतिक अध्ययनतिर ढल्किनुको अतिरिक्त कारण छ कि ?

मानवजीवनको अभिन्न अंग भएकै कारण संस्कृति मानवजीवनका समग्र पक्षसँग जोडिएको हुन्छ । लोकविश्वास, प्रथा र लोकव्यवहारका यावत् कुरा घोलिएर बनेको संस्कृति मानिसहरूले समाजमा साझा रूपमा अपनाउने कुराहरू हुन् । भाषा, चाडपर्व, जात्रा, अनुष्ठान, संस्कार, भेषभूषा, खानपान, शिक्षा, मनोरञ्जन, जीवनशैली आदि नै संस्कृति भएकाले हामी त्योभन्दा बाहिर रहन सक्तैनौं । मनोविश्लेषण पनि संस्कृतिसँग जोडिन्छ । समाजले सामूहिक हित र एकताका लागि निश्चित नियम बनाएको हुन्छ र त्यो प्रथाका रूपमा समाजमा लागू भएको हुन्छ ।

व्यक्तिले सधैं स्वतन्त्रता चाहने भए पनि समाजले उसलाई विधिनिषेधमा बाँधिरहन चाहन्छ । त्यस्तो अवस्थामा व्यक्तिका मानसिकतामा नकारात्मक असर पनि पर्न सक्छ । त्यसलाई हामी मानसिक रोगको संज्ञा दिन्छौं । त्यही मानसिक रोगसम्बन्धी अध्ययनबाट मनोविश्लेषणको जन्म भएको हो । संस्कृति समाज मनोविज्ञानसँग पनि सम्बन्धित छ । जहाँसम्म सांस्कृतिक अध्ययनतर्फ मेरो आकर्षणको कुरा छ, त्यो मेरो रुचि पनि हो र आवश्यकता पनि ।

मिश्रित लोकसंस्कृतिमा हुर्केको ममा आर्यसंस्कृति र मगरसंस्कृति समानान्तर रूपमा जन्मदेखि नै प्रवाहित छ । अहिले धर्म, पर्व, संस्कार, फेसन आदिका नाममा नेपाली समाजमा भित्रिरहेका विभिन्न संस्कृतिले समाजमा पारेको असरप्रति चासो हुने नै भयो । त्यसैको प्रभाव अहिले साहित्यसिर्जना र समालोचना पनि सांस्कृतिक अध्ययनतर्फ केन्द्रित हुँदो छ । विश्वविद्यालयहरूले पनि माथिल्लो तहको शिक्षामा सांस्कृतिक अध्ययनलाई समावेश गरेका छन् । तिनै कारणहरूले मलाई सांस्कृतिक अध्ययनतर्फ आकर्षित गरेका हुन् । 

पछिल्लो समय अध्ययन–अनुसन्धानको क्षेत्रमा ‘वर्ग’ भन्दा ‘सभ्यता’ र ‘संस्कृति’ ले बढी प्राथमिकता पाउँदै गएको देखिन्छ । यो आकर्षणको कारण के जस्तो लाग्छ ?

संस्कृति परम्परागत कुरा हो भने सांस्कृतिक अध्ययन संस्कृतिसम्बन्धी आधुनिक एवं उत्तरआधुनिक चिन्तनपद्धति हो । त्यसमा मार्क्सवादको प्रभाव छ । तर, सांस्कृतिक अध्ययनको थालनी मार्क्स र एङ्गेल्सका क्लासिकल सिद्धान्तभन्दा एन्टोनियो ग्राम्सी, लुई अल्थुसर, फ्य्राङ्कफर्ट स्कुलको आलोचनात्मक सिद्धान्त आदिका प्रभावमा भएको हो, जसलाई नवमार्क्सवाद भनियो । मार्क्स–एङ्गेल्सले वर्ग र वर्ग–संघर्षलाई जोड दिए भने नवमार्क्सवादीहरूले समूहमा जोड दिए । नवमार्क्सवादीहरूले आर्थिक निर्धारणवादलाई स्वीकार गर्दैनन् । रेमन्ड विलियम्स समाजको परिवर्तन आर्थिक कारणले नभएर सांस्कृतिक कारणले हुन्छ भन्छन् ।

बेलायती सांस्कृतिक अध्ययनले नै वर्गभन्दा समूह भन्न थालेको हो, अमेरिकाली सांस्कृतिक अध्ययनले संस्कृति र सभ्यता शब्दमा जोड दियो र त्यो एङ्लो–अमेरिकी भूमण्डलीकरण र डिजिटल मिडियाका माध्यमद्वारा जताततै फैलियो । आर्थिक कुराभन्दा संस्कृतिलाई निर्धारक मान्ने, संस्कृतिलाई नै जीवनको समग्र मान्ने र वर्गीयताभन्दा स्थानीयता, समूह, जनजाति, अल्पसंख्यकहरूको मुद्दा विशिष्ट हुने भएकाले अध्येताहरूको आकर्षण पछिल्लो समय सभ्यता र संस्कृतितिर बढेको देखिन्छ ।

”If those who seek praise do not find criticism, it is not the critic's fault.”

सांस्कृतिक अध्ययनलाई कसरी हेर्ने ? वैचारिक कोणबाट यो अध्ययन पद्धति कुन कित्ताको नजिक उभिएको देख्नुहुन्छ ?

सांस्कृतिक अध्ययन सांस्कृतिक अभ्यास कसरी शक्तिको पद्धतिसँग सम्बन्धित छ र त्यसले समाजलाई कसरी स्वरूप प्रदान गर्छ भनेर अध्ययन गर्ने प्राज्ञिक कार्य हो । यसले समाजमा विद्यमान शक्तिसम्बन्धको अध्ययन गर्छ । समाज वा राज्यमा वर्चस्वशाली वर्ग र अधीनस्थ वर्गका बीच शक्तिसम्बन्ध हुन्छ । वर्चस्वशाली वर्गले विचारधाराका आधारमा सत्ता टिकाइराख्ने प्रयत्न गर्छ, अधीनस्थ वर्गले त्यसलाई स्वीकार गर्न पनि सक्छ, त्यसको प्रतिरोध पनि गर्न सक्छ ।

सांस्कृतिक अध्ययनले उच्च संस्कृतिको विरोध गर्छ, अझ उत्तरआधुनिकवादी सांस्कृतिक अध्ययनले त उच्च र निम्न संस्कृति भन्ने भेद नै स्विकार्दैन । सांस्कृतिक अध्ययनले खेल, कला, साहित्य, संगीत, नाटक, नृत्य, सञ्चारमाध्यम, राजनीति, विचारधारा, लिङ्ग, समूह, जनजाति, प्रजाति, राष्ट्रियता आदिको आलोचनात्मक अध्ययन गर्छ । संक्षेपमा भन्नुपर्दा सांस्कृतिक अध्ययन मार्क्सवाद र उत्तरआधुनिकतावादको नजिक–नजिक छ भन्न सकिन्छ । 

नेपालजस्तो बहुसांस्कृतिक मुलुकमा सांस्कृतिक अध्ययनका शक्ति र सीमा के हुन् ?

यहाँ प्रत्येक जातजातिका आ–आफ्नो संस्कृति पनि छ र सांस्कृतिक मिश्रणको अवस्था पनि छ । नयाँनयाँ संस्कृतिको संक्रमण पनि बढ्दो छ । सञ्चारमाध्यम र आधुनिक प्रविधिले गर्दा एउटा संस्कृति अर्को संस्कृतिमा सजिलै प्रवेश गर्न सक्ने भएको छ । भूमण्डलीकरणको नीतिले पनि पश्चिमी संस्कृति नेपाली समाजमा फैलिरहेको छ । त्यसप्रकारको सांस्कृतिक मिश्रणले पहिचानको समस्या बढ्दै गएको छ । त्यसप्रकारको प्रभाव, सांस्कृतिक क्रियाकलाप र परिणामको अध्ययन सांस्कृतिक अध्ययनले गर्छ । त्यो त्यसको शक्ति हो ।

एउटै संस्कृतिभित्र पनि तत्त्वहरूबीच जटिल सम्बन्ध हुन्छ । भिन्नभिन्न संस्कृतिबीचको सम्बन्ध झन् जटिल हुन्छ । त्यस्तो अवस्थामा कुनचाहिँ उत्तम संस्कृति हो भनेर निरूपण गर्न कठिन हुन्छ । त्यसकारण यथार्थ छुट्न सक्छ, घटित भइरहेका कुराको मात्र अध्ययन हुने भएकाले त्यसमा पर्याप्त अध्ययनको अभाव हुन सक्छ । पद्धति एवं विषयवस्तुको विविधता, परम्परागत संस्कृतिको भञ्जन, सीमांकनको अभाव जस्ता सांस्कृतिक अध्ययनको सीमा हुन् । 

सांस्कृतिक अध्ययनसँग राजनीतिशास्त्र, अर्थशास्त्र र सौन्दर्यशास्त्रको के कस्तो सम्बन्ध छ ?

सांस्कृतिक अध्ययन मूलतः राजनीतिको अध्ययन हो । राजनीति शक्तिसम्बन्धसँग सम्बन्धित हुन्छ । शक्ति सत्तामा रहनेसँग मात्र नभएर ज्ञान भएकासँग पनि हुन्छ । फुको ज्ञानलाई नै शक्ति मान्छन् । शक्ति भएकाले शासन गर्छ । प्रतिनिधित्व, पहिचान र प्रतिरोध सांस्कृतिक अध्ययनका मुख्य विषय हुन् । यो अधीनस्थ, श्रमजीवी वर्गको पक्षधर अध्ययन भएकाले यसले श्रमजीवी वर्गको प्रतिरोधमा र इतिहास तलबाट माथितिर लेखिनुपर्छ भन्ने कुरामा जोड दिन्छ । शक्तिसम्बन्ध दुई पक्षका बीच हुन्छ र त्यसको आधार आर्थिक कुरा नै हो । भलै सांस्कृतिक अध्ययनले आर्थिक निर्धारणवादलाई स्वीकार गर्दैन ।

वर्चस्वशाली वर्ग र अधीनस्थ वर्गबीच सम्बन्धमा आर्थिक कारण पनि हुन्छ । सौन्दर्य भन्ने कुरा मार्क्सवादीहरू द्वितीयक र स्वच्छन्दतावादीहरू प्राथमिक मान्छन् । मार्क्स आर्थिक कुरालाई आधार अर्थात् प्राथमिक र अन्य कुरा आर्थिक आधारमा निर्माण भएका अधिरचना अर्थात् द्वितीयक मान्छन् । उनीहरूका अनुसार विचारधारा जस्तै सौन्दर्य पनि आर्थिक कारणले निर्धारित हुन्छ । स्वच्छन्दतावादीहरूका लागि सौन्दर्य भन्ने कुरा इन्द्रियानुभवद्वारा प्राप्त हुने आनन्दानुभूति हो र त्यो कलाका लागि अनिवार्य तत्त्व हो । त्यो वर्गीय नभएर वैयक्तिक हुन्छ भन्ने विषय मनोविज्ञानले पनि भन्छ । समाज मनोविज्ञानका आधारमा सौन्दर्यका बारेमा चर्चा गर्न सकिए पनि सांस्कृतिक अध्ययनले त्यसतर्फ खासै ध्यान दिएको पाइँदैन । 

हिजो नेपाली समालोचनामा वासुदेव त्रिपाठी, इन्द्रबहादुर राई, कृष्णचन्द्रसिंह प्रधान, मोहनराज शर्मा, ईश्वर बराल, गोविन्द भट्ट, दयाराम श्रेष्ठ, कृष्ण गौतम जस्ता समालोचकहरूले सानदार प्राज्ञिक काम गरेका थिए । आजका समालोचना हेर्दा यी नामहरू एकादेशको कथाजस्तो लाग्दैन ? तपाईंकै पुस्ताबाट हिजोको गौरवमय इतिहास दोहोरिने आशा गर्नुहुन्छ ?

सांस्कृतिक अध्ययनमा इतिहासको पुनरावृत्तिभन्दा इतिहासको नवलेखनलाई महत्त्व दिइन्छ । यहाँ उल्लेख भएका विद्वान्हरू आफ्नो युगका महासारथी हुन्, नयाँ पुस्ताले नयाँ युग हाँक्न सक्नुपर्छ । नयाँ पुस्ताका लागि नौलो परिस्थिति, नौलो समस्या र नौलो आवश्यकता छन् । तिनीहरूका अनुभूति, इच्छा र विचार पृथक् छन् । समालोचनालाई सिर्जनाले डोर्‍याउँछ, महान् साहित्यको महान् समालोचना हुन सक्छ । त्यही भएर साहित्यको समाजशास्त्रमा समालोचनाका लागि महान् कृतिको छनोट गर्नुपर्छ भन्ने मान्यता पनि छ ।

दरिलो सिर्जना नभई दरिलो समालोचना खोजेर मात्र हुँदैन । अहिले पृथक् विषय, पृथक् समस्या र पृथक् शैलीका साहित्यिक रचनाहरू लेखिइरहेका छन्, तिनका समालोचना पनि त्यही किसिमले हुँदै गएका छन् । नयाँ छिमलका समालोचकहरूलाई माथि भनिएका महान् समालोचकहरूसँग दाँज्ने बेला भइसकेको छैन, समयले गराउँदै जान्छ । 

तपाईंको अध्ययनमा समीक्षाको वर्तमान अवस्था कस्तो पाउनुहुन्छ ?

नेपाली समीक्षा अत्यन्त गतिशील ढंगमा अघि बढिरहेको छ । त्यसमा नौलानौला सम्भावनाका खोजी पनि भइरहेका छन् । निश्चय नै हिजोको जस्तै प्रभाववादी समालोचना कम हुँदै र वस्तुपरक समालोचनाको बढोत्तरी हुँदै गएको छ । वस्तुपरक समालोचना भनेको समालोचनाका लागि चयन गरिएको ज्ञानमीमांसा र विश्लेष्य सामग्रीबाट प्राप्त हुने तथ्यका आधारमा गरिने विमर्श हो । न त्यहाँ अतिशय प्रशंसाको न त अतिशय निन्दाको स्थान रहन्छ । हामी प्रभाववादी अझ गुणग्राही समालोचनामा अभ्यस्त रहेका छौं ।

पौरस्त्य दर्शनमा चार्वाकले जे भने पनि अरूले रुचाएनन् । म्याथ्यु आर्नोल्ड पाठको अर्थ बुझाउनुलाई मात्र समालोचना मान्दैनन् । पाठको स्वतन्त्र ढंगमा व्याख्या हुन सके मात्र समालोचना सिर्जनासरह हुन सक्छ भन्ने उनको मान्यता छ । डब्ल्यूएच हडसन समालोचनामा निर्णय अनिवार्य नभएको बताउँछन् । अहिलेको समालोचना पाठको नापतौलभन्दा व्याख्याविश्लेषणतर्फ लागेका पाइन्छ । पाठको प्रशंसा खोज्नेहरूले त्यहाँ समालोचना भेट्दैनन् भने त्यो समालोचकको दोष होइन । 

विश्वविद्यालयीय समालोचना र अखबारी समीक्षाबीच ‘शीतयुद्ध’ चलेजस्तो देखिन्छ । विपरीत ध्रुवमा फर्किएर बसेजस्तो लाग्छ । किन होला ?

विश्वविद्यालयीय समालोचना वा प्राध्यापकीय समालोचना र अखबारी समालोचना भन्ने कुरा कुनै शास्त्रमा छैन । त्यो मानकभन्दा प्रयोगलाई भनिएको होला । बरु समालोचनात्मक लेख जर्नलका लागि र स्वतन्त्र किसिमको हुन्छ । प्रत्येक जर्नलले सबै लेख एकरूपताका लागि र निश्चित निष्कर्षसम्म पुग्न सजिलाका लागि केही नियम बनाएको हुन्छ । विश्वविद्यालयमा पनि शोधार्थीलाई सजिलाका लागि त्यस्तै नियमको व्यवस्था गरेको हुन्छ । त्यसको मतलब लेखका अंग, चिह्नप्रयोग, सैद्धान्तिक आधार जस्ता कुरा नमिलेसम्म समालोचना हुनै सक्तैन भन्ने होइन । प्रारम्भमा समालोचना लेख्ने कुनै नियम वा विधि थिएन, सत्यतथ्य पहिल्याउनु मात्र तिनको उद्देश्य हुन्थ्यो ।

तिनीहरूले आफ्नो ढंगले सामग्रीको व्याख्या गर्थे र निष्कर्षमा पुग्थे । अहिले ज्ञानमीमांसा, तत्त्वमीमांसा र मूल्यमीमांसाका विभिन्न आधारहरू निर्माण भएका छन् । त्यसका लागि कम्प्युटरका विभिन्न सफ्टवेयरहरू छन् । समालोचना जर्नलमा छापियो कि अखबारमा छापियो भन्ने भन्दा पनि पुस्तक परिचय, पाठको अर्थनिर्धारण, पाठको व्याख्या, पाठको मूल्यांकन के–कसरी भएको छ भन्ने विषय मुख्य हो । विश्वविद्यालयीय समालोचना र अखबारी समीक्षा भनेर भेद गर्नु उपयुक्त हुँदैन भन्ने मेरो विचार छ । अखबारमा पनि गतिलो समीक्षा प्रकाशित हुन सक्छ र जर्नलका लेख पनि तथ्यको गहिराइमा पुग्न नसकेको हुन सक्छ । समालोचनाको गुणस्तर त त्यसको विषयप्रतिपादनमा भरपर्ने कुरा हो । 

साहित्यको श्रीवृद्धिमा भूमिका खेल्नुपर्ने समीक्षक र समालोचक त भागे–भागेजस्तो लाग्छ । के साहित्य सर्जकहरूले चाहिँ इमानदार साधना गरिरहेकै छन् त ?

समालोचनाले सिर्जनामाथि धाई आमाको काम गर्नुपर्छ भन्ने भनाइ छ । निश्चय नै आफ्नो कलाको सिर्जना वा जन्माएको सन्तान सबैलाई प्यारो र राम्रो लाग्छ । तर, समाजमा आफ्नै प्रकारको मूल्य, मान्यता, सौन्दर्यसम्बन्धी मानसिकता हुन्छ । त्यसका आधारमा कला वा व्यक्तिको आकलन, टिप्पणी र मूल्यांकन गरिन्छ । समीक्षक वा समालोचक भनेको साहित्यको पाठक नै हो ।

साहित्यले के–कस्तो रसानुभूति गराउन सक्यो, नैतिक चेतनाका दृष्टिले त्यो रचना के–कस्तो र≈यो वा त्यो वैचारिक दृष्टिले कुन रूपमा देखापरेको छ भन्ने विषय समालोचनाले भन्न सक्नुपर्छ । समालोचकको प्रशंसाले मात्र साहित्यिक कृतिको मूल्य माथि उठ्न सक्तैन, त्यो आफैं उठेको हुनुपर्छ । समालोचनाले सम्भावनाको क्षितिज भने उघार्न सक्छ । इमानदारी त सर्जक र समालोचक दुवैमा उत्तिकै चाहिने कुरा हो नि । 

”If those who seek praise do not find criticism, it is not the critic's fault.”

पछिल्ला वैचारिक बहसलाई साहित्य समालोचनामा अझै सार्थक रूपमा भित्र्याउन के गर्नु पर्ला ?

पाठमा भएका कुरालाई निश्चित ज्ञानमीमांसाका आधारमा वस्तुपरक दृष्टिले हेर्ने व्यक्ति भएकाले म त्यस्तो कुनै सुझाव दिन सक्तिनँ । तर, प्रश्न नै अगाडि आएपछि केही त भन्नैपर्छ होला । साहित्यको सर्जक समाजकै एउटा सदस्य भएकाले ऊ समाजको राजनीतिक मात्र नभएर आर्थिक, सांस्कृतिक, मनोवैज्ञानिक, ऐतिहासिक आदि यावत् कुराको भोक्ता पनि हो ।

उसले भोगेको, देखेको र अनुभूत गरेका विषय र कतिपय त आफूले चाहेको कुरा पनि साहित्यमा अभिव्यक्त गर्छ । समाज र राजनीतिमा चलेका बहसलाई त सांस्कृतिक अध्ययनले नै सम्बोधन गर्न सक्छ । साहित्य समालोचनाले राज्य संयन्त्र, राज्यको विचारधारा, सत्ता र जनताबीचको शक्तिसम्बन्ध, लैङ्गिक, जातीय, वर्गीय, समूहगत शक्तिसम्बन्ध, प्रतिनिधित्व, पहिचान र प्रतिरोधको अवस्थाको जटिल सम्बन्धलाई फुकाएर नयाँ वैचारिक दृष्टि प्रदान गर्न सक्छ । कुनै पक्षपोषण हुने गरी लेखिएको समालोचनाबाट त्यो सम्भव हुन नसक्ला, तटस्थ र प्रबुद्ध समालोचकीय कर्म अपेक्षित हुन्छ नै । 

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully