तपाईंले आफूलाई चिन्नु भएको छ ?

हामी जे काम गर्छौं, स्वतन्त्र रूपमा आफ्नै इच्छाले गरिएको हुन्छ कि त्यो परिस्थितिमा अर्को केही गर्न सम्भव नभएकाले ? जुन सोचाइ स्वतन्त्र रूपमा ‘आफैंले सोचेको’ भन्छौं, त्यो सोच्ने प्रक्रियालाई ‘रेगुलेट’ गर्ने हामीभित्र कुनै अर्को ‘सेल्फ’ हुन्छ कि यो स्वचालित हुन्छ ? 

माघ ५, २०८१

विष्णु सापकोटा

Do you know yourself?

काठमाडौँ — पोहोरको पुस महिनाको कुनै साँझ मैले क्षितिजतिर हेरेका बेला संयोगले घाम अस्ताउनै लागेको रहेछ । तत्कालै नगरेर बितिहाल्ने केही थिएन । म जुन स्थितिमा बसेको थिएँ, त्यसैमा बसेर मेरो तर्फबाट घामलाई पूरै डुब्न दिएँ । टाढा क्षितिजमा डुब्ने क्रमका सूर्य हेर्दाहेर्दै म पनि उससँग डुबेर डाँडामुनि पुगेछु । त्यहाँ पुग्दा अचानक मलाई वर्षौंवर्ष पुरानो एउटा रिट्ठो याद आयो । र, त्यो गोलोगोलो परेको रिट्ठोसँग झनक्क रिस उठ्यो । 

जिन्दगीको मोडमा यो रिट्ठो सम्झन पुगेको साँझसम्म आइपुग्दा मलाई के लाग्थ्यो भने यो संसारमा मानिसको इतिहास मोटामोटी यस्तै हो, जुन पढिएकै छ । यी देश–समाज र धर्म–संस्कृति पनि इतिहासका कस्ताकस्ता संयोगबाट बन्दै–भत्कँदै आएका हुन्, धेरथोर बुझिएकै छ ।

यो संसारमा मान्छे आफैंले सिर्जना गरेका भीषण असमानता र अन्यायका शृंखलाहरू त छन् नै । तर, मैले आफूले केही गरे पनि वा नगरे पनि, ती असमानतालाई कसरी सम्बोधन गर्ने भनेर कोही लोकतन्त्र र सामाजिक न्याय भन्दै, कोही मार्क्सवाद वा अरू केही भन्दै, वा कोही धर्म र समाजसेवा भन्दै लाखौं मानिस त्यसविरुद्ध जुध्न खटिइरहेकै छन् । 

हुँदैहुँदै, जिन्दगीको चाल त्यस साँझसम्म आइपुग्दा के लाग्थ्यो भने मैले संसारकै त के, आफ्नैबारे ‘चिन्ता गर्नुपर्ने’ पनि कुनै तार्किक कारण छैन । जीवनमा अब यसो भइदिए गजब हुन्थ्यो या उसो गर्न पाए भयंकर हुन्थ्यो भन्ने केही थिएन । तर, त्यस्तो मोडमा छु भनेको बेला एकाएक एउटा वर्षौंवर्ष अगाडिको रिट्ठोले मलाई बिथोल्न आएको थियो, जसले यस आलेखको विषयमा प्रवेश गराइरहेको छ । 

मानिसहरू के विषयमा के सोच्छन् भन्नेमा रुचि हुनु त सामान्य नै भयो । मलाई भने मानिसहरूले के सोच्छन् भन्दा पनि उनीहरूले जे सोच्छन् त्यो किन सोच्छन् भन्नेमा हुन्थ्यो । किनकि तिनले जे विषयमा जुन धारणा बनाउँछन् वा जसरी प्रतिक्रिया जनाउँछन्, त्यही विषयमा अर्को तरिकाले सोच्न पनि त सक्थे । अरूको सोचाइको मात्रै कति ‘क्रिटिक’ गर्नु, मेरो प्रमुख बौद्धिक सोख नै आफूले जे सोच्छु त्यो किन सोचें भनेर आफैंलाई ‘उडाउनु’ हुने गरेको थियो । र, समस्याको जरो त्यही थियो ।

त्यो के भने, जति आफ्ना सोचाइलाई आफैं विनिर्माण गर्छु भनेर आफैंसँग फुर्ती गरे पनि, मैले धेरैजसो केबारे कसरी सोच्छु भन्नेमा म आफैं साँच्चै स्वतन्त्र छु त ? आफू ‘बुझ्ने’ हुने बेलासम्म आइपुग्दा म यसरी बनिसकेको हुँदोरहेछु कि मैले के सोच्छु भन्ने कुनै हिसाबले पहिल्यै निर्धारित त छैन, जसप्रति मेरो पूर्ण नियन्त्रण सम्भव नै छैन ? 

अब माथि थालेको कथा पूरा गरौं । म ६–७ वर्षको थिएँ होला । मेरो घर भएको डाँडामा साँझ झमक्क परिसकेको थियो । बाहिर जूनको उज्यालो भएको सम्झना छैन । भित्र अँगेनाछेउ टुकी बलेको हुनुपर्छ । घरको सबैभन्दा सानो सदस्य भएकाले मलाई सुरुमा ‘खाना खान आइज बाबु’ भनेर आमाले बोलाइएको बेला थियो ।

म निहुँ खोजेर पिँढीमा अटेर गरिरहेको थिएँ । आमाले दुई–तीन पटक बोलाउँदा पनि डेग नचलेपछि नौ–दस वर्षकी दिदी म भएको ठाउँमा आएर ‘किन खान नगएको होस्’ भनेर फकाएकी थिइन् । दिदीले ‘के भयो भन् न’ भनेर खुसुक्क कर गरेपछि मैले रुन्चे स्वरमा ‘रिट्ठो’ भन्ने शब्द मुखबाट निकालेको थिएँ । रिट्ठो नपाउन्जेल भोक–हडताल गर्ने मैले जनाउ दिएँ ।

बुबाआमाका घरी फकाउने, घरी थर्काउने द्वैध रणनीतिले मेरो ढिपीको सामु काम गरेन । दिदीले खुसुक्क कानमा सम्झाए जस्तो लाग्छ, ‘के बुद्धि हुन् तेरा ? यस्तो राति खाना खाने बेलामा रिट्ठो भनेर दुःख दिने सबैलाई ? कहाँ खोज्न जाने यसबेला रिट्ठो ?’ बुबाले भनेजस्तो लाग्छ, ‘आँगनमा कतै छ कि एउटा रिट्ठो, हेर् त ।’ दिदीले भनेजस्तो लाग्छ, ‘छैन बुबा, मैले खोजिसकें । यसले अघि (छिमेकी) जामुने दाइको घरमा कसले खेलेको देखेको थियो होला । त्यही भएर यसलाई चाहिएको हो अहिले ।’ 

जति फकाए पनि मैले खाना नखाने अड्डी लिएपछि आमा र दिदी लाल्टिन बालेर पन्ध्र मिनट जति उकालो माथिको लमिनी ठूलीआमाकोमा रिट्ठो माग्न जाँदा म पनि सँगै गएको थिएँ । लमिनी ठूलीआमाको घरमाथि रिट्ठोको झ्याङ्ग थियो । रिट्ठो हात पर्दा एकैछिन गमक्क परेको घुर्मैलो याद छ । घर फर्कुन्जेल साँझ छिप्पिइसकेको थियो । दिनभरको थकानपछि खाना खाएर सुत्ने तर्खर गरेका सबैजनाको साँझको लय विलय भएको थियो । भयंकर गरें जस्तो गरेर त्यस रात मैले त्यही रिट्ठो च्यापेर सुतेको हुनुपर्छ । दिउँसो कसले खेलेको देखेर वा के कारणले, नपाए मरूँला झैं गर्ने गरी रिट्ठो किन चाहिएको थियो, न मलाई त्यतिबेला थाहा थियो, न त अहिलेसम्मै छ । 

स्ट्यानफोर्ड विश्वविद्यालयका प्रसिद्ध वैज्ञानिक रोबर्ट स्यापोल्स्कीको एक वर्ष पहिले प्रकाशित ‘डिटरमाइन्ड’ महिनौं पहिलेदेखि धेरैले प्रतीक्षा गरेको किताब थियो । म पनि त्यसरी पर्खनेमध्यको एक हुनुको प्रमुख कारण उनको पाँच वर्ष पहिले प्रकाशित ‘बिहेभ’ भन्ने ‘मास्टरपिस’ किताबको प्रभाव थियो । आफ्नोबारे आफैंले जति ‘बुझेको छु’ भन्ने लागे पनि आफ्नै कतिपय व्यवहार आफैंलाई अचम्म लाग्ने खालका हुने गर्थे, जसबारे ‘बिहेभ’ ले धेरै बुझाएको थियो । तैपनि फेरि नयाँ प्रश्नहरू सिर्जना भइसकेका थिए ।

Do you know yourself?

जसमध्ये एक त्यही रिट्ठाकै बारे थियो । यो विमर्शका लागि त्यो कथा किन महत्त्वपूर्ण भयो भने, दुई–चार महिनाको अन्तरालमा अहिलेसम्म पनि कुनै आकस्मिक साँझ वा दिनको अरू कुनै बेला मलाई कुनै ‘रिट्ठो’ प्रति ‘अब्सेसन’ सुरु हुन्छ । कहिले त्यो चीज कुनै नयाँ किताबै होला, जुन तत्काल आफूसँग छैन वा जान मन लागेको ठाउँ नै होला या कहिलेकाहीं अलिक जटिल प्रकृतिको चीज पनि होला । 

तार्किक रूपमा सोच्दा त्यो प्राप्त गर्न कति जटिलता छन्, थाहा नहुने पनि होइन र त्यो पाइयो नै भने पनि बिम्बमा भन्दा त्यो एउटा रिट्ठो नै हो भन्ने पनि थाहा हुन्छ । त्यसरी भएको ‘अब्सेसन’ को विसंगति बुझ्दाबुझ्दै, एउटा सचेत निर्णय गरेर त्यसलाई हाबी हुन दिन केले रोक्छ ? चिन्ता नगरे पनि हुने कतिपय विषयमा अकस्मात् किन चिन्ता गरिन्छ ? यत्रो सबै बुझेको छु भनिएको ज्ञान त्यस्तो बेला कहाँ जान्छ ? के साँच्चै मेरा यस्तो प्रकारका आचरण र सोचाइ कतै पहिल्यै निर्धारित वा ‘डिटरमाइन्ड’ त छैनन् ? 

न्युरोसाइन्स र दर्शनका धेरै विधा मिसिने यस्ता मसिना विषय मलाई कथा र संस्मरणमार्फत भन्दा बढी सजिलो र रमाइलो लाग्छ । मैले अघि भनेको रिट्ठाको कथा अब सम्झ्यौं भने थाहा भइहाल्छ, हामी ‘डिटरमाइन्ड’को केन्द्रीय ‘थेसिस’ मा प्रवेश गरिसकेका छौं । ‘मेटाफोर’ मा भन्दा, यस विन्दुमा तपाईंहरू सबैले आफ्ना–आफ्ना जीवनका रिट्ठाहरू एक पटक सम्झनु भए हुन्छ । र, यदि तपाईंले आफ्नो सोचाइलाई ‘आफ्नै’ भन्ने ठान्नुहुन्छ, आफूले जे सोच्छु, सधैं ‘आफैंले’ चाहे अनुसार नै सोच्ने गरेको छु भन्ने ठान्नुहुन्छ र तपाईं केमा कसरी खुसी हुनुहुन्छ, कस्तो परिस्थितिमा थाहै नपाई उद्वेलित हुनुहुन्छ, जीवनमा आफूले जे खोजिरहनुभएको छ, त्यो आफूले सोचविचार गरेर गरिरहेको छु भन्ने ठान्नुहुन्छ भने त तपाईंले आफ्ना रिट्ठाहरू के के हुन् भनेर झन् सम्झनैपर्ने हुन्छ ।

किनकि स्यापोल्स्कीको ‘डिटरमाइन्ड’ ले तपाईं हामीले ‘आफ्ना’ भनेका सोचाइहरू नै स्वतन्त्र छैनन् भन्ने जबर्जस्त दार्शनिक र न्युरोसाइन्सको तर्क पेस गर्छ । अर्थात्, ‘फ्री विल’ भन्नु एक भ्रम हो भनेर अहिलेसम्मका दर्शनशास्त्रमा गरिएका तर्कहरूलाई केलाएर आफ्नो निष्कर्ष पेस गर्छ । 

मान्छेले इतिहासका कुन युगमा के सोच्दै आएको थियो र आफूलाई के भनेर बुझ्दै–परिभाषित गर्दै आएको छ भन्ने सन्दर्भहरू रोचक त हुने नै भए । आफूलाई बुझ्दै जाने इतिहासको क्रममा मान्छेले आफैंले आफैंलाई बुझ्ने दर्शन पछिल्लो समयमा कहाँ पुगेको होला ? यसका पछिल्ला सैद्धान्तिक ‘ट्रेन्ड’ हरू के होलान् भनेर म उत्सुकतावश पछ्याउने गर्छु । त्यसक्रममा स्यापोल्स्की पछ्याउँदा कैयन् दार्शनिक मात्रै नभई आध्यात्मिक प्रकृतिका प्रश्नहरूलाई कसरी हेर्ने भन्नेमा समेत नयाँ दृष्टिकोण पाइन्छन् । 

अध्यात्मका नाममा उल्टापाल्टा गफ दिने र आफूले आफैंलाई ‘निर्वाण’ प्राप्त गरेको छु भनेर ठोकुवा गर्नेहरूसँग त तर्क गर्ने धेरै ठाउँ हुँदैन । तर, मलाई वेदान्त सोसाइटी अफ न्युयोर्कका प्रमुख, स्वामी सर्वप्रियानन्द साँच्चै नै ‘स्वामी’ जस्ता नलागेर एउटा अग्ला विद्वान् लाग्छन् । अद्वैत वेदान्त र बृहद् हिन्दु दर्शनका व्याख्याता भए पनि उनले चलनचल्तीका ‘भगवान्’ का अवधारणालाई खुलेरै ‘क्रिटिक’ पनि गर्न सक्छन् । एउटा प्रवचनका क्रममा उनले केहीअघि ‘डिटरमाइन्ड’ को सन्दर्भ ल्याएर भनेका थिए, ‘स्यापोल्स्कीको यो किताब त एकदम ‘अनसेट्लिङ्’ (अहिले सम्मका ज्ञान परम्पराका बुझाइलाई हल्लाउने) खालको छ ।’ र, उनले थपेका थिए, ‘यी मान्छे त देख्दा पनि हाम्रा पहिलेका कोही ऋषि जस्ता देखिन्छन् ।’ 

मानिससँग ‘फ्री विल’ हुन्छ कि हुँदैन भन्ने दार्शनिक विचारविमर्श त दुई–तीन हजार वर्षदेखि भई नै रहेको छ । हामी जे कार्य गर्छौं, त्यो स्वतन्त्र रूपमा आफैंले इच्छा गरेर गरिएको हुन्छ कि त्यस परिस्थितिमा त्योभन्दा अर्को केही गर्न सम्भव नभएकाले नै त्यो गरिएको हुन्छ ? हामी जुन सोचाइलाई स्वतन्त्र रूपमा आफैंले सोचेको भन्छौं, त्यो सोच्ने प्रक्रियालाई ‘रेगुलेट’ गर्ने हामीभित्र कुनै अर्को ‘सेल्फ’ हुन्छ कि यो स्वचालित हुन्छ ? एउटा सोचाइ वा इच्छा यसै ‘हावा’ बाट पलाउने हो कि त्यसको पछि थुप्रै पृष्ठभूमि हुन्छन्, जसलाई सम्बन्धित कर्ताले नै कहिल्यै बुझ्न सक्दैन ? 

‘फ्री विल’ छैन भन्ने पक्षका चिन्तकको मत के हुन्छ भने म जसरी आफू बनेको छु, व्यक्तिका रूपमा मेरो जुन ‘एजेन्सी’ छ जसलाई मैले आफैंले चलाउँछु भन्छु, त्यो नै भ्रम हो । न त मैले कस्तो ‘जीन’ लिएर जन्मने भन्ने रोज्न पाएको थिएँ, न त कस्तो परिवारमा भन्ने । त्यसलाई छाडेर वर्तमानकै सन्दर्भमा आउने हो भने पनि व्यक्तिलाई ब्रह्माण्डीय वा संसारिक जे भन्दा पनि ऊ यस्ता अन्तरसम्बन्धहरूको जालोबाट बनेको हुन्छ, उसका सबै तत्कालका सोचाइ कुनै ‘शून्य’ बाट पैदा हुने नै होइनन् ।

सतहमा व्यक्ति आफूले भर्खर सोचेको कुनै विषयलाई आफैंले सोचेको भन्न त पायो । तर, उसले त्यसरी सोच्ने कुरा एक हिसाबमा पहिल्यै निर्धारित भएको हुन सक्छ । त्यो पहिल्यै एक सेकेन्ड अगाडिको कुनै अर्को सोचाइ वा आफू वरिपरिको घटना पनि हुन सक्छ, एक मिनेट पहिलेको कुनै घटना, आफू गर्भमा छँदा आफ्नो आमाको आर्थिक हैसियत वा त्योभन्दा पनि हजारौं वर्ष पहिलेदेखि आएको ‘जीन’ को । हामीले जुन व्यक्तित्वलाई ‘म’ भनेर चिनेका हुन्छौं, त्यो एउटा कामचलाउ बाह्यकर्ता मात्रै हो । 

हामी को हौं अथवा म को हुँ भन्ने दार्शनिक प्रश्नमा प्रवेश गर्नेबित्तिकै हामी ‘फ्री विल’ भित्र छिरिहाल्छौं । त्यसैले शताब्दीयौंदेखि यस विषयमा विमर्श भइरहेको त छँदै थियो । निकटका वर्षहरूमा न्युरोसाइन्समा भएका प्रगतिका कारण दार्शनिकहरूको यो विषय वैज्ञानिकहरूको पनि त्यत्तिकै भएको छ । हुन त कुनै पनि ज्ञानको विधा एउटा तहमा पुगेपछि एकाकार हुन्छ । त्यहाँ पुगेपछि दार्शनिक, वैज्ञानिक वा आध्यात्मिक भनेर छुट्याउनै पर्दैन । प्राज्ञिक विज्ञताका आधारमा विज्ञान भए पनि स्यापोल्स्कीको ‘डिटरमाइन्ड’ लाई बृहद् विधागत प्रकारमा छुट्याउँदा दर्शनशास्त्रमा राख्न सकिन्छ । 

माथि भनेजस्तो, ‘फ्री विल’ सम्भव छ कि छैन भन्ने परम्परागत रूपमा दर्शनशास्त्र र अध्यात्मको प्रश्नलाई स्यापोल्स्की ‘बायोलोजी’ को आधारमा केही कदम अगाडि बढाउँदै भन्छन्– हामीभित्र कुनै दोस्रो ‘सेल्फ’ वा ‘स्व’ छैन, जसले हाम्रो शरीरलाई यसो गर भन्न सक्छ, जसले हाम्रो मनलाई यस्तो निर्णय गर भन्न सक्छ । जब हामीसँग त्यस्तो स्वतन्त्र ‘स्व’ नै छैन, ‘फ्री विल’ हुन वा हामीले चाहे अनुसार सोच्न र इच्छा गर्न सक्छौं भन्ने सम्भव नै छैन ।

यति धेरै तत्त्वको ऐतिहासिक संयोगहरूले हामी बनेका हुन्छौं कि हाम्रा सोचाइ र इच्छाका स्रोतहरू पहिल्याएर, अब यस्तो यस्तो कुरा मात्र ‘विल’ गर्छु, सोच्छु, चाहन्छु भन्न सम्भव छैन । हाम्रो वर्तमान आफ्नो विगतबाट पहिल्यै निर्धारित भइसकेको छ । मैले आफ्नो कुन सोचाइलाई पछ्याउने–नपछ्याउने भनेर, त्यसका कानुनी, नैतिक र व्यावहारिक पाटामा तार्किक विचार गरेर सकेसम्म सजिलो निर्णय लिन त म स्वतन्त्र छु । तर, यी पाटाका आधारमा निर्णय गर्नु भनेको नै ‘फ्री विल’ नहुनु हो । 

‘सिन्थेसिस’ मा भन्दा, स्यापोल्स्कीले यस पुस्तकमा हाम्रो चेतना (कन्ससनेस) भनेको के हो र यसले कसरी काम गर्छ भनेर पत्रपत्र केलाएका छन् । तार्किक रूपमा सोच्ने मानवीय क्षमता र उसले बनाएका भावनाले कसरी सूक्ष्म रूपमा निरन्तरको अन्तर्क्रिया गर्छन् र कुनै एक निश्चित क्षणमा निश्चित कुराप्रति हामीले कसरी प्रतिक्रिया गर्छौं, कसरी सोच्छौं भन्ने प्रक्रिया जति जटिल छ त्यति नै बौद्धिक रूपमा ‘फ्यासिनेटिङ्’ पनि छ ।

हाम्रा नैतिकताका स्रोतहरू के हुन् ? असल र खराब भन्ने अवधारणा हाम्रो मनमा कसरी बस्न थाल्छन् ? देखि मान्छेका आनीबानी व्यहोरा कसरी बनेका हुन्छन्, जसको आधारमा हाम्रा सोच्ने प्रक्रिया बनेका हुन्छन् भनेर उनले जसरी मान्छेलाई विनिर्माण गर्छन्, त्यो मलाई ज्याक डेरिडाले गरेको भाषा र सोमा टेकेर दर्शनशास्त्र र पाश्चात्य चिन्तनप्रणालीको विनिर्माण जस्तै हल्लाउने खालको लागेको छ ।

‘म भनेको को हुँ ?’ भन्ने प्रश्न आजको होइन । सायद यो त्यही बेलादेखिको हो जतिबेलादेखि मानिसले धेरथोर सोच्न सक्ने भयो । त्यसपछि उपनिषद्का प्रश्न भन्ने कि भागवत गीताका, अद्वैत वेदान्तका भन्ने कि पाश्चात्य दर्शनका, बुद्धले अर्थ्याएका आफूलाई चिन्ने उपाय भन्ने कि नागार्जुनले व्याख्या गरेको बुद्धको ‘शून्य’ का, ‘पहिले आफूलाई चिन’ भनेर त संसारभरका धार्मिक सम्प्रदायले सधैंभरि भनेकै चिज हो । 

स्यापोल्स्कीको दर्शनले के बताउन खोजेको छ भने यो ‘आफूलाई चिन्नु’ भन्ने अवधारणा नै एउटा भ्रम हो । किनकि कुनै पनि ‘आफू’ भित्र एउटा निश्चित, स्थिर, परिभाषा गर्न मिल्ने ‘म’ भन्ने नै हुँदैन । यो ‘म’ इतिहासका अनेक प्रक्रिया र संयोगबाट बनेको हुन्छ मात्र होइन, यो निरन्तर बनिरहेको नै हुन्छ । आफूलाई आज चिनें भन्यो, भोलि त्यो अर्कै भइसकेको हुन्छ ।

हामीले आफूलाई बुझ्ने वा अनुभूत गर्ने जुन यन्त्र छ– मन, मस्तिष्क, अन्तरआत्मा, चेतना जे भने पनि– त्यो त्यही स्वको अंश हो । अनि आफूभित्रको एउटा अंशले आफ्नै अरू अंशहरूको बारे जे बुझ्छ, त्यो स्वतन्त्र हुनै सक्दैन । किनकि त्यसो गर्दा जुन यन्त्रले आफूलाई हेरिरहेको हुन्छ, त्यो हेर्ने यन्त्र नै त्यो ‘आफू’ भन्दा बाहिर परेको हुन्छ । 

यसरी हेर्दा, अद्वैत दर्शनमा आफूभित्र हुने एउटा चौथो म, ‘तुर्य’ अर्थात् चेतनाको जुन अवधारणा छ, जसले हामी आफैंलाई अवलोकन गरिराखेको हुन्छ, त्यो हुन सम्भव छैन । अद्वैतको प्रसंग त स्यापोल्स्कीले ल्याएका छैनन्, तर हामी जे हौं त्यो जीवविज्ञानदेखि ‘क्वान्टम फिजिक्स’ हुँदै सामाजिक अन्तर्क्रिया आदिका संयोगहरू हौं, जो हामी आफूले निर्धारण गर्ने नै होइन । 

यति पढुन्जेल कतिपयको मनमा प्रश्न आएको हुन सक्छ, मान्छेहरू चलिराखेकै छन् त ! यत्रा देश दुनियाँ हाँकिइरहेकै छन्, वाद सिद्धान्तदेखि गीत–गजल सबै लेखिएकै छन् । मान्छेको सोचाइ स्वतन्त्र नहुँदो हो त कार्ल मार्क्सले कसरी ‘कम्युनिस्ट म्यानिफेस्टो’ लेख्दा हुन्, आइन्स्टाइनले कसरी सापेक्षताको सिद्धान्त प्रतिपादन गरेका हुँदा हुन् ? यस्ता ‘सामान्य’ प्रश्नहरूको हेक्का स्यापोल्स्कीलाई नहोला त ? ‘फ्री विल’ हुँदैन भन्नुको अर्थ मान्छेले ‘फंसनल’ रूपमा, दैनन्दिनका काम–कुरा गर्न आफूले स्वतन्त्र निर्णय लिन सक्दैन भन्ने होइन ।

उसँग एउटा ‘लोजिकल’ दिमाग त छ नै । ‘फ्री विल’को अवधारणा योभन्दा अलिक गहिरो हो । जस्तो, मैले यही लेख लेख्न पनि त आफैंले निर्णय गरेर लेखेको हुँ । यो ‘फ्री विल’ होइन त ? यो मेरो ‘विल’ त हो, तर प्रश्न यो ‘फ्री’ थियो कि थिएन भन्ने हो । खासमा के चाहिँ हो भने, जुन जुन सोचाइका प्रक्रियाबाट म गुज्रिएँ र यस्तो प्रकारका प्रस्तावना सहितको जुन लेख तयार भएको छ, त्यो सबै मैले निर्धारण गरेर भएको होइन । म एउटा ‘फंसनल एजेन्सी’ मात्र हुँ, जसरी मार्क्स थिए वा तपाईं हुनुहुन्छ । अझ बुझ्ने गरी भन्दा, आफ्नो ‘लोजिकल’ वा ‘फंसनल एजेन्सी’ को आधारमै केपी ओली एमाले अध्यक्ष र प्रधानमन्त्री हुन सके । तर, भित्रबाट सकेसम्म आफू बाँचुन्जेल आफु मात्र नेतृत्वमा रहन पाए भन्ने उनको जुन इच्छा छ, त्यो निर्धारित भइसकेको छ । 

यहाँनेर बल्ल नियम–कानुनको सन्दर्भ आउँछ । संविधान, नियम–कानुन, धर्म–अनुशासन चाहिने भनेकै त्यही भएर हो । कानुन र समाजले मानिसको ‘लोजिकल’ दिमागलाई सक्रिय बनाउँछ र मन लागी, नलागी हामी समस्यामा नपर्ने गरी ‘बिहेभ’ गर्न कोसिस गर्छौं । स्वभावैले मान्छे न नैतिक हुन्छ न अनैतिक । ऊ सबै हुन्छ । नैतिक हुँदा ‘फाइदा’ धेरै हुने भएकाले हामीहरू नैतिक हुन खोज्ने मात्र हो, नैतिकता हाम्रो अन्तरनिहित स्वभाव भएकाले होइन । 

एक लाख वा करोडलाई ‘भिजुअलाइज’ गर्न वा दृश्यमा सोच्न त कति कठिन हुन्छ । सोचौं त हाम्रो मस्तिष्कमा औसतमा पचासी अर्ब न्युरोन छन् । एउटा कुनै इच्छा वा सोचको न्युरोन सक्रिय हुन त्यसको अर्को एक न्युरोनसँग कुन सम्बन्ध थियो, अर्कोको अर्कोसँग र अर्कोको अर्कोसँग । अनि यी न्युरोनहरूको एक अर्कासँगको समबन्ध कति हामी गर्भमा छँदा आमाको आर्थिक–सामाजिक परिस्थितिले निर्धारण गरे, कति ‘जीन’ बाटै आएका थिए ।

बच्चा जन्मने बेलामै उसको बाँकी जीवनको आचरण र स्वास्थ्य यति धेरै निर्धारित भइसकेको हुँदोरहेछ कि मैले त स्यापोल्स्की पढेर घोत्लिँदा मनमा आएको थियो– छैटीका दिन भावीले लेख्छ भन्छन् नि, बिम्बमा बुझ्दा त, यो त ठीकै नै रहेछ । भावी त्यो दिन आएर लेख्ने त होइन होला, तर शिशु छ दिनको हुँदासम्म उसको जिन्दगी कस्तो हुन्छ भन्ने धेरै पक्ष निर्धारण भइसकेको हुन्छ । त्यसपछि हामी बच्चा अवस्थादेखि १५–१६ वर्षको हुँदासम्म ‘प्रिफ्रन्टल कोर्टेक्स’ (जसलाई पुर्पुरो भन्दा पनि भयो) कसरी विकसित हुन्छ, त्यसले हाम्रो भविष्यको ‘व्यक्तित्व’ कस्तो बन्नेछ भन्ने निर्धारित हुन्छ । 

यो सबै के–कसरी हुन्छ भन्नेमा अहिलेसम्म ‘न्युरोसाइन्स’ र दर्शनशास्त्रलाई जति थाहा छ त्यसको आधारमा ढुक्कसँग के भन्न सकिने रहेछ भने जसरी तपाईंले आज राति कस्तो सपना देख्छु भनेर ‘आफैंले’ निर्धारण गर्न सक्नुहुन्न (किनकि यो आफ्नै प्रक्रियाबाट यसरी निर्धारित हुन्छ, जसप्रति हाम्रो सचेत मनको ‘एक्सेस’ नै छैन), त्यसरी नै तपाईंले अहिले जे सोचिराख्नुभएको छ, त्यसपछि अर्को के सोच्न जाँदै हुनुहुन्छ भनेर सफलतापूर्वक निर्धारण गर्न सम्भव नै छैन । 

जसरी मैले यसपछि अर्को के सोच्दैछु भन्नेसमेत आफैंले निर्धारण गर्न सक्दिनँ भने मेरा इच्छा–आकांक्षा अर्थात् मेरा ‘विल’ हरू राख्न म स्वतन्त्र छु त भन्नै मिलेन । हो, आफ्नो मनमा उत्पन्न हुने सबै कुरा आफ्नै हुन् भन्न पाइयो । तर, यसको अर्थ यो भएन कि ती सबै आफैंले निर्णय गरेर भएको हो ।यो सबैको आधारमा एउटा रमाइलो निष्कर्ष के निकाल्न सकियो भने यो दुनियाँमा आएर आफूलाई चिन्नुपर्ने भन्ने नै केही छैन ।

ज–जसले ‘आफूलाई चिनौं’ भन्दै अरूलाई अर्ति दिइरहेका छन्, तिनले पनि आफूलाई चिनेकै छैनन् । किनकि आफू भनेर कसलाई भन्ने त्यो नै छैन । जसरी डेरिडाले विनिर्माणको ‘सिद्धान्त’ अर्थ्याउँदै भनेका छन् कि भाषा भन्ने चिज स्वयम् यस्तो छ, यसले आफैंले आफैंलाई भत्काइरहेको हुन्छ र त्यस्तो गर्ने गुण यसको नैसर्गिक चरित्रमै छ । के थाहा, जीवन भनेको पनि त्यस्तै नै केही हो कि जसले आफूले आफैंलाई सधैंभरि यो केही पनि होइन भन्दै आफू सबै चिज हुन सकिरहेको हुन्छ ? 

विष्णु

Link copied successfully