चुङ्बाको अन्तिम तस्बिर

चुङ्बा शेर्पालाई हिउँ–चितुवाको फोटो खिच्न दुई साता कुर्नुपर्‍यो, तर उच्च हिमाली भेगको प्रतिकूल मौसममा पनि उनी आत्तिएनन्

माघ ५, २०८१

मनोज पौडेल

Chungba's last photo

काठमाडौँ — हाम्रा लागि एक सट फोटो, उनका लागि अमूल्य सम्पत्ति । जस्तोसुकै कठिन परिस्थिति, भौगोलिक विकटता र पहाड वा उच्च हिमाली भाग किन नहोस्, ती सबै छिचोल्दै छिचोल्दै वन्यजन्तु र चराका राम्रा राम्रा तस्बिर खिच्न पुग्थे उनी । खर्चपर्चका लागि कसैको भर पर्थेनन् । जे छ त्यही खर्च गर्थे, तर आफ्नै पौरखमा भर पर्थे । हेलिकोप्टर चार्टर्ड गर्नुपर्छ कि भरिया लैजानुपर्छ ? सबै बन्दोबस्ती गरेर हिँड्थे ।

संरक्षण क्षेत्रका उत्कृष्ट फोटो खिच्दै आएका चुङ्बा शेर्पाका औंलाले अब क्यामराका ट्रिगर थिच्ने छैनन् । हातले क्यामराका लेन्स ‘जुम इन–आउट’ गर्दै तस्बिर पनि खिच्ने छैनन् । 

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ चौंरीखर्कका ६४ वर्षे वरिष्ठ वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पा अब न त कहिल्यै हतारोमा भेटिने छन् । न त वाइल्डलाइफ फोटोग्राफीमा उनले सँगालेका अनुभवका अनेकन किस्साहरू नै सुन्न पाइने छ । कन्जर्भेसन थ्रो लेन्सका अगुवा शेर्पा हामीबाट सदाका लागि भौतिक रूपमा बिदा भएका छन् । उनको निधनपछि वाइल्डलाइफ फोटोग्राफरहरूले एक कुशल अभिभावक गुमाएका छन् भने संरक्षणको क्षेत्रमा काम गर्नेहरूले एउटा अमूल्य निधि । वाइल्डलाइफ फोटोग्राफीमा छोटो समयमा उचाइ चुमेका चुङ्बाको निधनले धेरैलाई स्तब्ध बनाएको छ । 

उता फोटोका लागि खर्चेका ती १५ दिन हिउँ चितुवाको फोटो खिच्न पनि दुई साता कुर्नुपर्‍यो । विकट भौगोलिक अवस्था । निर्जन पहाड । छिनछिनमा परिवर्तन हुने मौसम । हाइअल्टिच्युडको प्रतिकूल मौसममा उनी कत्ति पनि हतासिएनन् । हाइडिङ टेन्ट टाँगेर दैनिक १२/१३ घण्टा उच्च हिमाली भेगको कठिन मौसममा फोटोका लागि टेन्टमै खाए, बसे अनि सुते । दुई सातासम्मै बस्दा पनि उनले आफूले चाहेको काम पूरा गर्न नसक्दा निराश भने भएनन् ।

उनको उद्देश्य एउटा फोटो खिच्नु मात्र हो । हिउँ–चितुवाको फोटो खिच्न दोस्रो पटक अन्नपूर्ण संरक्षण क्षेत्रको मनाङ आसपास ४ हजार ६ सय मिटरमाथि उक्ले । १५ औं दिनसम्म आफ्नो लक्ष्य भेटिएन, हिउँ–चितुवा देखिएन । तैपनि तनाव र चिन्ता लिएनन् । १६ औं दिन ३ अक्टोबर २०१९ को एक साँझ ५ बजेर २० मिनेटको समय हुँदो हो, टेन्टदेखि पूर्वउत्तर एकाएक हिउँ–चितुवा देखियो, उनमा निकै खुसीको बहार छायो । ‘औंलाले क्यामराको ट्रिगर चलाइरहेकै थिए,’ उनले पंक्तिकारलाई भनेका थिए, ‘लजालु हिउँ–चितुवा बासस्थनबाट क्याटवाक गर्दै तल झर्दै आइरहेको थियो ।’

Chungba's last photo

देख्नासाथ फोटो खिचे । चितुवाले छनकै पाएन । क्यामो फ्ल्याक (वन र वन्यजन्तुमा घुलमिल हुने) ड्रेस र टेन्टमा थिए । ७ मिनेट खिच्ने मौका दियो । तस्बिर खिच्न पाउँदा दुई साता बढीको दुःख–पीडा एकाएक हरायो । विभिन्न एंगलका ४२ स्न्याप लिए । १८ वटा उत्कृष्ट आयो । त्यही फोटो नै अहिले देशमा हिउँ–चितुवाको उत्कृष्ट तस्बिर बनेको छ । 

हिउँ–चितुवाको नेचुरल ह्याबिट्याटको फोटोले सबैको वाहवाही पाएको छ । अहिलेसम्म खिचेकामध्ये उनलाई चित्त बुझेको फोटोमध्ये हिउँ–चितुवाको फोटो एक हो । २०७९ मंसिरमा सामाजिक सञ्जालमा चर्चा कमाएको अमेरिकी फोटोग्राफर कितिया पावलोब्स्कीले नेपालमा खिचेको भनिएको हिउँ–चितुवाको तस्बिर ‘फेक’ भएको तथ्य बाहिरिएपछि शेर्पाले खिचेका हिउँ– चितुवाका तस्बिरले चर्चा पायो ।

उनका रोमाञ्चक तस्बिर एकाएक भाइरल भए । नेपालीले पनि हिउँ चितुवाको राम्रो फोटो खिच्न सक्छ भनेर विश्वसामु आफ्नो कला देखाए । हिउँ चितुवाको फोटो खिच्न उनी पहिलो पटक २०१९ को अप्रिलमा ८ दिन अन्नपूर्ण संरक्षण क्षेत्र गएका थिए । तर, हिउँ–चितुवा नदेखेर निराशामै फर्केका थिए ।

सानैदेखि उनमा फोटोग्राफीको औधि रुचि थियो । तर, घरव्यवहार चलाउनुपर्ने, छोराछोरी पढाउनुपर्ने हुँदा उनी पर्यटन व्यवसायमा लागे । पछिल्लो समय छोरीछोरी आफ्नो खुट्टामा उभिएपछि उनी वन्यजन्तु फोटोग्राफीमा क्रियाशील थिए । ६ वर्षयता वाइल्डलाइफ फोटोग्राफीका आधारभूत कुरा पढे, सिके । त्यसपछि भारत, अमेरिका र मलेसियाका विभिन्न संस्थाबाट अनलाइन कक्षा लिए ।

‘सिक्नमात्रै ४/५ लाख खर्च गरें,’ उनले यस पंक्तिकारसँग भनेका थिए, ‘यसले सीप र क्षमता निखारियो । वाइल्डलाइफ फोटोग्राफरले एनी सिचुवेसन, एनी लाइट राम्रो फोटो खिच्न सक्नुपर्छ । त्यो मात्रै वाइल्डलाइफ फोटोग्राफरमा हुनुपर्ने खुबी हो ।’ उनले समुद्र सतहदेखि ९० मिटरमा रहेको कपिलवस्तुको जगदीशपुर तालमा जलअप्सरादेखि ४ हजार ८ सय मिटरमा रहेको हुम्लाको लिमी भ्यालीमा जंगली याकसम्मको तस्बिर कैद गरेका छन् । 

वाइल्ड याकले दिएको खुसी

२०७९ असोजमा चीनसँग सीमा सटेको हुम्लाको लिमी भ्यालीमा पुगेर दुर्लभ जंगली याकको तस्बिर खिच्दा जीवनकै अविस्मरणीय क्षण बनेको खुसी साटेका थिए । उनले नेपालमै दोस्रो पटक जंगली याकको तस्बिर खचेका थिए । यसअघि उक्त याकको तस्बिर २०१४ मा अनुसन्धानकर्ता नरेश कुशीले खिचेका थिए ।

त्यसलाई सरकारले पाँच रुपैयाँको नोटमा अंकित गरेको थियो । ‘भाग्य बलियो रैछ भन्नुपर्छ,’ उनले भनेका थिए, ‘छोटो समयमा मैले जंगली याकलाई क्यामरामा कैद गर्ने मौका पाएँ ।’ सिमकोटबाट हेलिकोप्टरमा चढेर थाक्ची पुगे । चीन सीमाको लाप्चा नजिक शाक्य खोलामा ५ हजार एक सय मिटरमाथि टेन्ट टाँगेर तीन रात बसे ।

Chungba's last photo

त्यहीं ४ हजार ८ सय मिटर उचाइमा उनले १५ देखि २० मिटरको दूरीबाट वाइल्ड याकको फोटो गजबले आफ्नो क्यामेरमा कैद गरे । सामान्यजनका लागि त्यो फोटो खिच्नु कल्पनाबाहिरको कुरा हो । त्यो फोटो खिच्न मात्रै उनको ४/५ लाख बढी खर्च भयो । यसले जंगली याकको अध्ययन अनुसन्धान गर्न आउनेलाई नेपालमा अवसर छ भन्ने सूचना दिएको छ । 

तीन सय चरा र ३५ वन्यजन्तु

चरा–वन्यजन्तुको तस्बिर खिच्न निक्कै धैर्यता र सीप चाहिन्छ । ‘सेकेन्ड सेकेन्डको मुभमेन्ट महत्त्वपूर्ण हुन्छ,’ उनले भनेका थिए, ‘गोठालो लागेर बसिरहनुपर्छ ।’ उत्कृष्ट मुभमेन्ट क्याच गर्न सक्नुपर्छ । अरूले खिचेकोभन्दा फरक एंगल र रौनकको तस्बिर उत्तिकै चित्ताकर्षक हुन्छ । अहिलेसम्म तराईका फाँटदेखि उच्च हिमाली भेकका ३ सय बढी प्रजातिका चराको तस्बिर कैद गरेको बताएका थिए । तराईको जंगली बिरालोदेखि हिमालको याकसम्मलाई क्यामरामा एक्सपोज दिइसकेका छन् । र, ३५ प्रजाति बढी वन्यजन्तुका उत्कृष्ट तस्बिर खिचेका छन् । 

६५ बाघ देखे, ४६ को खिचे

उनी बाघको तस्बिर खिच्न हुरुक्क हुन्थे । त्यसका लागि उत्तिकै जोखिम र चुनौती उठाउँथे । ‘६ वर्षमा चितवन, बर्दिया र शुक्लाफाँटामा ६५ बाघ देखे,’ उनी भन्थे, ‘४६ वटा तस्बिर खिच्न भ्याएको थिएँ ।’ ड्रोनबाट पनि ७ वटा बाघका तस्बिर खिचे । तर, फरकफरक बाघ थिए । एउटा बाघलाई १५ मिनेटसम्म क्यामराको फ्रेमिङमा पारेका थिए ।

चितवनमा एकै पटक ४ वटा बाघको तस्बिर खिच्न पाउँदाको रोमाञ्चकता कहिल्यै भुल्दिन भन्थे । अनुभव साटेका थिए, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १५ पटक, बर्दियाको निकुञ्जमा १६ पटक र चितवन निकञ्जमा ३५ पटक बाघको तस्बिर खिच्न गएका थिए । बाघ सामान्य अवस्थामा कमै भेटिन्थ्यो । त्यहीं उनी आफैं उत्कृष्ट सिचुवेसन क्रिएट गरेर फ्रेमिङ गर्नुपर्छ भन्दै खिच्थे । उनी आफूलाई धेरै बाघका राम्रो फोटो खिच्नेमा पर्छु भन्थे । ‘आफ्नो तस्बिर आफूलाई भन्दा अरूलाई राम्रो लाग्नुपर्छ’ भन्थे । 

Chungba's last photo

एक पटक बर्दियामा बघेनी नदी क्रस गर्दै थियो । त्यसको फोटो खिचे । त्यो भर्खर डमरुलाई दूध ख्वाएर हन्टिङमा जाँदै गरेको दुर्लभ अवस्थाको तस्बिर भएको विज्ञले भनेपछि आफू छाँगाबाट खसेजस्तै भएको उनले सेयर गरेका थिए । त्यस्तै अर्को बाघको नदीमा गजबले उफ्रेको तस्बिर उस्तै चित्ताकर्षक थियो । यिनै तस्बिरको होडिङ बोर्डले काठमाडौंस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग परिसरलाई केही समय सुन्दर बनाएको थियो । बाघको राम्रो फोटो चाहिँदा सबैले उनलाई खोज्थे । उनले खिचेका बाघका विभिन्न एंगलको तस्बिरले सानादेखि ठूला सबैले मन पराउँथे । 

हजारौं तस्बिर खिचेका उनको अन्तिम कुन होला ? उनले सबैभन्दा पछिल्लो पटक खिचेको अन्तिम तस्बिर चराकै थियो । पुस ११ गते काठमाडौंको नागदहमा हरियो टाउके हाँसको तस्बिर खिचेका थिए । उनले आफूले खिचेको तस्बिर कस्तो रहेछ भनेर थाहा पाउन अर्का वन्यजन्तु फोटोग्राफर पेम्बा शेर्पालाई पठाएका थिए । 

संरक्षणका असल अभिभावक

वन्यजन्तु फोटोग्राफर चुङ्बाले खिचेका तस्बिर नहेर्ने संरक्षण क्षेत्रमा लागेका विरलै नेपाली हुन्थे । उनले खिच्‍ने हरेक तस्बिरहरूले उस्तै चर्चा पाउने गर्थ्यो । त्यसैले त उनी छोटो समयमै संरक्षणका पायोनियर फोटोग्राफर भएको वरिष्ठ वन्यजन्तु विशेषज्ञ डा. हेमसागर बरालले बताए । संरक्षणका लागि चाहियो भनेपछि लाखौं खर्चेर खिचेका वन्यजन्तुका तस्बिर उनले निःशुल्क दिन्थे । बुढ्यौली उमेरमा पनि फोटोग्राफी भनेपछि हुरुक्क हुने उनी एकदम डेडिकेटेड वन्यजन्तु फोटोग्राफर भएको डब्लूडब्लूएफका नेपाल प्रतिनिधि डा. घन गुरुङले बताए । 

पटक–पटकको त्यो आक्रमण

तस्बिर खिच्ने क्रममा उनले पटकपटक जोखिम र आक्रमण सामान गर्नुपर्‍यो, तर हरेस खाएनन् । बर्दियामा बाघ क्रसिङ गर्ने ठाउँमा तस्बिर खिच्न तयारी गरेर बसेका थिए । चिलले नजिकै मौरीको चाकामा आक्रमण गर्‍यो । ‘मौरी रिसाएर हामीलाई आक्रमण गर्न आयो । २०/२२ वटा मौरीले जीउभरि टोकेर घाइते बनायो ।

Chungba's last photo

एक किमि दौडेर गाडीमा गएर लुकें । त्यस्तै शुक्लाफाटामै बाघसँग ४० मिटरमै एक्कासि जम्काभेट भयो ।’ कता भागेर सुरक्षित भयौं थाहै भएन,’ उनले भनेका थिए, ‘तर, सहीसलामत नै रह्यौं ।’ हुम्लामा पनि वाइल्ड याकले आक्रमणको प्रयास गर्दा पछाडि भागेर बाँचेको बताएका थिए । गत चैतमा शुक्लाफाँटामै जंगली हात्तीले फोटो खिच्न लुकेर बस्ने हाइडिङ टेन्ट र दुई वटा महँगा ट्राइपोट धुजाधुजा बनायो । आफू भने भागेर रूख चढेर बाँचेको सुनाएका थिए ।

उनी सेलेब्रिटीभन्दा कम थिएनन् । जहाँ पुग्थे त्यहाँको ल्यान्डस्केप, मनमोहकता र सुन्दरता सामाजिक सञ्जालमा पोस्ट गर्थे । वन्यजन्तुको दिनचर्या, चरिचरण, खानपान र बासस्थानका तस्बिर पनि पोस्ट गर्थे । उनका हरेक गतिविधिमा युवादेखि पाकासम्मको नजर पर्थ्यो । शेर्पाबाट आफूले फोटो खिच्न धेरै सिकेको अर्का वाइल्डलाइफ फोटो पत्रकार पेम्बा शेर्पाले बताए । भने, ‘मेरो गुरु नै उहाँ हो ।’ ६/७ पटकको सगरमाथा आरोही पेम्बाले चुङ्बाकै सहयोग र प्रेरणाले नेपालमा पाइने थुप्रै चराका तस्बिर खिचिसकेका छन् । पेम्बा मुलुकका उत्कृष्ट वाइल्डलाइफ फोटो पत्रकार हुन् । 

घरमै संग्रहित छ नेपाल

उनको घरका भित्तामा याक मुस्कुराइरहेको भेटिन्छ । हिमाल हाँसिरहेको देखिन्छ । प्राकृतिक छँटा र वैभवका मनमोहक दृश्यले उत्तिकै मादकता थपेको महसुस हुन्छ । वन्यजन्तु र चरालाई नजिकबाट नियाल्न सकिन्छ । तस्बिरले घर सजाएका छन्, जहाँबाट हिमालदेखि तराई हेर्ने ‘तिर्खा’ सजिलै मेटिन्छ । एउटै घरमा पूरा नेपालको सुन्दरता र मोहकता अड्याएका छन् ।

Chungba's last photo

काठमाडौंको धुम्बाराहीस्थित चप्पल कारखाना नजिकरहेको उनको घरका भित्तामा झुन्ड्याएका तस्बिरले नेपाल भ्रमण गराएर आनन्दित बनाउँछ । प्रकृतिसँग उनको अथाह प्रेम र स्नेह थियो । ‘वाल्डलाइफ फोटोग्राफर बन्ने सपना त पूरा भयो,’ उनले भनेका थिए, ‘भोक पूरै मेटिएको छैन । पूरै नेपालका विविधतालाई समग्र तस्बिरमा उतार्नुछ ।’ 

मनोज पौडेल

Link copied successfully