थरी-थरीको नेपाल

२८० वर्षमा अहिले ‘नेपाल’ भनेर चिनिने भू–भागका सिमाना धेरै पटक फेरिए । आज पूर्वमा मेचीदेखि पश्चिममा महाकाली अनि उत्तरमा भित्री हिमालदेखि दक्षिणमा जंगे पिलरका बीचमा बस्ने हाम्रा पुर्खा २८० वर्षपहिले ५३ वटा देशमा बस्थे ।

पुस २७, २०८१

मोहन मैनाली

Layered Nepal

काठमाडौँ — भारतसँग सिमाना जोडिएको दसगजाभन्दा यता र उता, महाकाली वारि र पारि, मेची वारि र पारि अनि हिमाल वारि र पारि हामी उस्तै–उस्तै मान्छे बस्छौं । दुवैतिर बस्ने मानिसको भाषा मिल्छ, धर्म मिल्छ । संस्कृति पनि मिल्छ ।

पूर्वी सिमानाको तल्लो भाग अनि पश्चिम र उत्तरमा नदी र हिमालले गर्दा मानिसको ओहोरदोहोर अलि कम हुन्छ । दक्षिणतिर त कुन नेपाल र कुन भारत छुट्याउन कठिन छ । 

तर, हामी वारिकालाई आफन्त र पारिकालाई पराइ ठान्छौं । पारिकालाई यता भोट हाल्न दिँदैनौं । किनभने हामी सिमानाले बाँधिएका छौं । सिमानाले निर्देशित छौं । एउटा कृत्रिम रेखाले हामीबीच ठूलो विभाजन खडा गरेको छ । 

बितेका २८० वर्षमा अहिले नेपाल भनेर चिनिने भूभागका देशका सिमाना धेरै पटक फेरिए । आज पूर्वमा मेचीदेखि पश्चिममा महाकाली अनि उत्तरमा भित्री हिमालदेखि दक्षिणमा जंगे पिलरका बीचमा बस्ने हाम्रा पुर्खा २८० वर्षपहिले ५३ वटा जति देशमा बस्थे । बाउन्न वटा देशमा छरिएका हाम्रा पुर्खाले सगरमाथा मेरो देशमा छ भन्न पाउँदैनथे । हुन त, सगरमाथा सर्वोच्च शिखर हो भन्ने ज्ञान त्यतिबेला हाम्रा पुर्खासँग थिएन । संसारका कुनै पनि ठाउँका मानिसका पुर्खासँग थिएन । 

Layered Nepalअहिलेको नेपाल ।

बाउन्न वटा देशमा छरिएका हाम्रा पुर्खाहरूले बुद्ध मेरो देशमा जन्मिएका हुन् भनेर पनि गर्व गर्न पाउँदैनथे । एउटा देशकाले मात्रै त्यस्तो गर्व गर्न पाउँथे । हुन त बुद्ध आफ्नो देशमा जन्मिएका थिए भन्ने कुरै उनीहरूलाई थाहा थिएन कि ? अथवा त्यतिबेला थाहा थियो र पछि आएर बिर्सेका पो हुन् कि ?

अहिलेको नेपालले ढाकेका ठाउँमा २८० वर्षपहिलेका जति नै अथवा ५३ वटा देश भएका भए यहाँका विभिन्न भाषा, धर्म र भेषभूषाको अवस्था अहिलेकै जस्तो हुन्थ्यो होला ?

शासन व्यवस्था कस्तो हुन्थ्यो होला ? 

पृथ्वीनारायण शाहले १८०१ सालमा आफ्नो देश गोरखाबाट निस्केर महामण्डल अर्थात् नुवाकोट जिते । त्यसपछिका एकहत्तर वर्षमा अहिलेको नेपाल र त्यसभन्दा पश्चिमको सिमानाको नक्सा फेरियो । त्यहाँका पहिलेका धेरैवटा देश एउटा देशमा गाभिए ।

Layered Nepalवि.सं. १८०० मा नेपालका तत्कालीन राज्यहरु ।

पूर्वमा टिस्टा नदीदेखि पश्चिममा सतलजसम्मका ती देशका ६० जनाजति राजा, तिनका परिवार, भारदार, मुखिया र सुब्बाको अवस्था के भयो होला ? 

अनि रैतीको अवस्था ?

अर्थतन्त्र के भयो होला ? 

यी विषयमा अनुमान मात्र गर्न सकिन्छ । त्यही सिमाना कायम भएको भए अहिले एउटा कुरा चाहिँ निश्चित भन्न सकिन्थ्यो । त्यो हो– दार्जिलिङ जानुपर्दा हामीले अर्काको देश पुग्नु पर्दैनथ्यो । 

हुन त दार्जिलिङ अहिलेजस्तो धेरै मानिस घुम्नलायक ठाउँ होइन, त्यसभन्दा पश्चिम इलामको लेकको कुनै एउटा डाँडा जस्तै मात्र पो हुन्थ्यो कि ? दार्जिलिङको फुच्चे रेल पक्कै हुँदैनथ्यो । त्यो ठाउँ शिक्षाको केन्द्र पनि हुँदैनथ्यो । 

पश्चिममा हरिद्वार, केदारनाथ, बद्रीनाथ जस्ता धाम जान हामीले अर्काको देश टेक्नु पर्दैनथ्यो । कामका लागि काला पहाड जाँदा हामी आफ्नै देशमा हुनेथियौं । अहिले जस्तो चुच्चे नक्साको विवादै आउँदैनथ्यो । किनभने चुच्चे नक्सा फैलिएभन्दा धेरै पश्चिमसम्म नेपालै हुन्थ्यो । 

कञ्चनजंघा अहिले नेपाल र भारतको सिमानामा छ । त्यतिबेला नेपालका भागमा मात्र थियो । भारतमा ८ हजार मिटरभन्दा अग्लो एउटा पनि हिमाल थिएन अर्थात् त्यही सिमाना कायम भइरहेको भए भारतले आफ्नो देशमा ८,००० मिटरभन्दा अग्लो चुचुरो छ भनेर गर्व गर्न पाउँदैनथ्यो ।

तर, फैलिएको नेपालको सिमाना केही समय मात्र कायम रह्यो । चाँडै हिन्दुस्तानमा फैलँदै गरेको इस्ट इन्डिया कम्पनीसँग सीमा विवाद भयो । अंग्रेजले बर्दियाको पदनाह गढी र वरपरका पाँचवटा तालुक नेपालले मिच्यो भन्यो । मल्हवारा र पदनाह त हालसालै कब्जा गरेको भन्यो अंग्रेजले । यी दुईवटा तालुक अंग्रेजलाई सुम्पिएका खण्डमा अलि पहिले नै ‘मिचेका’ अरू तीनवटा तालुक नेपाललाई नै छाडिदिउँला भन्यो । 

Layered Nepalवि.सं. १८७१ मा अंग्रेजसँग लडाइँ सुरू हुनुअघिसम्मको नेपाल ।

बाराको कचोर्वा र सिम्रौनगढमा पनि सिमानाबारे विवाद भयो । रौतहटका २२ वटा मौजा नेपालीले मिचे भनी अंग्रेजले भन्यो । सिमाना वारिपारिका खेतका बाली लुटपाट गरियो । 

पूर्वमा कोशी नदी अहिलेभन्दा निकै पूर्वबाट बगेको थियो । त्यतिबेला कोशीभन्दा पश्चिममा रहेको वीरपुरमा सीमा विवाद भयो । र, कोशीभन्दा पूर्व मोरङमा पनि जग्गाको विवाद भयो । 

बुटवलमा १० वर्षसम्म झगडा चल्यो । १८७१ साल वैशाखमा हिन्दुस्तानले आफ्नो चौकी बुटवलमा राख्यो । जेठमा नेपालीले त्यस चौकीमा हमला गरे, १८ जना हिन्दुस्तानी सिपाहीको ज्यान गयो । त्यसपछि नेपाल र अंग्रेज दुवै लडाइँको तयारी गर्न थाले । 

यी दुईका बीचमा बल असमान थियो । तिनले लडाइँको तयारी पनि असमान ढंगले गरे । दुवैका एक/एकवटा उदाहरण हेरौं ।  जुन दुईवटा ठाउँको जग्गा विवाद लडाइँको निहुँ बन्यो, त्यसमध्येको एउटा स्युराज अंग्रेजको तारो बन्ने नै भयो । त्यसैले लडाइँ चल्दै गरेका बेलामा त्यसका लागि राम्रो तयारी गर्नु भनेर राजाले सल्यानमा खटिएका रुद्रवीर शाहीलाई अह्राए । रुद्रवीरले काँचा बाँसका धनु बनाउँदा बिग्रेलान भनेर बाँस ताछतुछ गराए, सेकाए, सुकाए र धनुकाँड बनाए । धनुकाँड र विषले सुसज्जित कम्पनी खडा गरे ।

Layered Nepalवि.सं. १८७१ सम्म अंग्रेजसँग सीमाविवाद भएका ठाउँ ।

त्यसको नाम राखे– गाण्डिबध्वज । त्यस फौजलाई १० वटा बन्दुक, ४०० धनु अनि विष दिए र स्युराज पठाए । पूर्वमा व्यापार गर्न स्थापित बेलायती कम्पनी इस्ट इन्डिया कम्पनीको तयारी हेरौं । पर्सा हुँदै कान्तिपुर हमला गर्न उसले ८,००० जनाको फौज खटायो । उसलाई १२ वटा तोप र १० वटा हाउइट्जर अर्थात् डाँडापारि गोला खसाउन सक्ने तोप र धेरै बन्दुक दियो ।

नेपालीसँग पनि तोप र बन्दुक नभएका त होइनन्, तर यो लडाइँ मूलतः धनुकाँड बोक्ने र तोपवालाबीचको लडाइँ थियो । 

लडाइँ भयो । छवटा जति ठाउँमा नेपालले हार्नु परेन । सात/आठ ठाउँमा नेपाल हार्‍यो । नालापानीमा लडाइँ सुरु भएको एक महिना र ७ दिनपछि त्यो किल्ला अंग्रेजको भयो । 

नालापानीभन्दा पश्चिम मलाउँमा भीषण लडाइँ हुँदा १८७२ साल वैशाख ६ गते भक्ति थापा ढले । नेपाली फौज नराम्रोसँग हार्‍यो । १८७२ साल वैशाख १७ गते कुमाउमा पनि नेपाल हार्‍यो । नेपालीले २५ वर्ष राज गरेको ठाउँ खोसियो । 

Layered Nepal

वि.सं. १८७१ मा लडाइँको तयारी।

मलाउँभन्दा अलि पूर्व र दक्षिणको किल्ला झाम्टा/जैथकको किल्लामा धेरै पटक लडाइँ भए । नेपालीको अवस्था अत्यन्तै कमजोर थियो, तर पनि अंग्रेजले यो किल्ला कब्जा गर्न सकेन । तर हतास, खान नपाएका र हतियार बिनाका सिपाहीका कमान्डर अमरसिंह थापा १८७२ साल जेठ १४ गते महाकाली–पश्चिमका सबै भू–भाग छाडेर महाकालीपूर्व आउन राजी भएपछि यो अविजित किल्ला पनि नेपालीले छाड्नुपर्‍यो । 

नेपाली फौजको अवस्था कस्तो थियो भन्ने कुरा बुझ्न आजभोलि बर्दिया जिल्लामा पर्ने पदनाहगढीको लडाइँलाई हेरौं । १८७२ साल जेठमा हिन्दुस्तानी फौज पदनाहगढी नजिकैको भर्तापुर आइपुग्यो । उसको फौज ठूलो थियो । उसका साथमा ७ वटा तोप थिए । 

पदनाहका सुवेदार भक्तवत्सल मल्लले पाल्पा र अर्को एक ठाउँमा गुहार मागे । पाल्पाले ‘बैरी अझ नजिक आयो भने खबर गर्नु, थप बल पठाउँला’ भन्यो । भक्तवत्सलले खबर नपठाएपछि रिसाएर पाल्पाले ‘चिठी किन नलेखेको’ भनेर दुईवटा चिठी लेख्यो । पदनाहगढीमा यसअघि नै बैरीले हमला गरिसकेको थियो । भक्तवत्सल, जमदार, मेजरसमेत १४ जना नेपाली मरिसकेका थिए । कमान्डरबिनाका बाँकी सिपाही हडबडाएर भागिसकेका थिए । 

Layered Nepal

नेपाल नहारेका ठाउँ (हरियो) र हारेका ठाउँ (रातो) ।

पदनाहभन्दा पूर्वतिर स्युराजमा हमला भएन । बुटवलमा दुई पटक हमला भए, दुवै पटक अंग्रेज हार्‍यो । पहिलो पटक नराम्रोसँग हारेदेखि नै अंग्रेज कमान्डर डरले आत्तिइसकेका थिए । पाल्पाको यो हारले गर्दा तानसेन र गोरखा हुँदै कान्तिपुर जाने उसको मनसुवा पूरा भएन । 

१८७१ पुसमा (सन् १८१५ को नयाँ वर्षको पहिलो बिहान) पर्सा र समनपुरका दुईवटा किल्लामा अंग्रेजको सातो जाने गरी नेपालीले हमला गरे । यो मार खाएको फौजले फेरि नेपालतिर हेर्ने हिम्मत गरेन । 

निकै लामो मोलमोलाइपछि भारतको सुगौलीमा सन्धि भयो, तर त्यस सन्धिमा राजाले लालमोहर नलगाएपछि अंग्रेजले फेरि हमला गर्ने भयो । पश्चिमको किल्लामा अमरसिंहलाई हराउने अक्टरलोनी ठूलो फौज लिएर पर्सातिर आए । त्यतिबेला पर्सामा नेपाली फौज थिएन । अहिलेको अमलेखगञ्जभन्दा माथिको नेपाली गढी कब्जा गरिसकेर उनी मकवानपुर आए । मकवानपुर हमला गरे ।

Layered Nepalवि.सं. १८७२ मा भएको सुगौली सन्धिपछिको नेपाल ।

नेपालीको धेरै ठूलो क्षति भयो । पृथ्वीनारायणले १८१९ साल भदौमा अर्थात् ५३ वर्षपहिले आफ्ना ससुरालीबाट खोसेको मकवानपुर १८७२ साल फागुनमा अक्टरलोनीले खोस्न आँटे । फागुन २१ गते हरिहरपुर गढीमा अंग्रेजले नेपालीलाई हरायो । पश्चिमको किल्ला जैथकमा अंग्रेजले हराउन नसकेका काजी रणजोर थापासमेत भएको फौज यो किल्ला छाडेर लुसुक्क हिँड्नुपर्‍यो । त्यसले गर्दा तीन महिनाअघि गरेको सुगौली सन्धिमा राजाले लालमोहर लगाए र अंग्रेजलाई बुझाए । लडाइँ थामियो । 

नेपालको नक्सा एक पटक फेरि फेरियो । महाकाली पश्चिम, मेची पूर्व, कोशीदेखि नारायणी, नारायणीदेखि राप्ती, राप्तीदेखि महाकालीसम्मको मैदान गुम्यो । टिस्टादेखि सतलजसम्म फैलिएको नक्सा मेचीदेखि महाकालीमा खुम्चियो । पूर्व, पश्चिम र दक्षिण तीनैतिर फैलने नेपालको बाटो बाँझियो । बत्तिएर फैलिइरहेको नेपालको महत्त्वाकांक्षामा ठेस लाग्यो । मधेश गुमेपछि भारदारहरूको आम्दानी घट्यो । मधेश गुमेका खण्डमा सेना पाल्न सकिँदैन भनेर नेपाली भारदारहरू पहिल्यै डराएका थिए । भयो पनि त्यसै । 

यही सिमाना कायम भइरहेको भए अरू के के हुन्थ्यो अनुमान मात्र गर्न सकिन्छ । एउटा कुरा भने निश्चित थियो– बुद्ध नेपालमा जन्मेका थिए भन्न पाइँदैनथ्यो । नेपाल अन्न, वन्यजन्तु र वनजस्ता कुरामा उर्बर मैदानबिनाको मूलतः पहाडे देशका रूपमा रहन्थ्यो । अहिले नेपालको मैदानमा जेजस्ता जनसांख्यिक, भाषिक र सांस्कृतिक विशेषता छन् ती यस रूपमा रहने थिएनन् । 

लडाइँ थामिएको एक वर्षपछि र मधेशका दुईवटा खण्ड पाएपछि नेपालको मैदान पूर्व मेचीबाट फैलिएर पश्चिम राप्तीसम्म पुग्यो । राप्ती नदीभन्दा पश्चिमको मैदान भने अझै अंग्रेजकै कब्जामा थियो । यही सिमाना कायम रहेको भए राप्ती नदीभन्दा पश्चिमको मैदानमा अहिलेजस्तो बाघ र गैंडा नहुन सक्थे । यहाँ अहिलेजस्तो भाषिक र जनसांख्यिक तथा साहित्यिक अवस्था छ, त्यस्तो नहुन सक्थ्यो । त्यो अवस्था सीमापारको अवस्थासँग मिल्दोजुल्दो हुने थियो । 

सुदूरपश्चिमी भेगको मैदानको जमिन फिर्ता नपाएकाले त होइन होला, अरू नै कुनै कारणले हुनुपर्छ नेपालले उत्तरतिरको सिमाना फेर्ने सपना देख्यो । त्यो हो– मुस्ताङ छाडिदिने र कैलाश मानसरोवर लिने । 

Layered Nepalवि.सं. १८७३ पछिको नेपाल ।

१८९९ सालमा नेपालका राजाले चिनियाँ प्रतिनिधिका रूपमा तिब्बतको राजकाज हेर्ने चिनियाँ अम्वाहरूलाई चिठी लेखेर ‘मुस्ताङ लैजाऊ, कैलाश मानसरोवर भएको ठाउँ देऊ’ भने । यसका लागि उनले इतिहासलाई समातेर तर्क गरेका थिए । उनले भनेका थिए– ‘ताक्लाखर (अर्थात् कैलाश–मानसरोवरछेउको बस्ती, जसलाई आजभोलि ताक्लाकोट भनिन्छ) भन्याका जग्गा अघि जुमली राजाका पालामा जुमलाको अम्वल हो । पछि भोटतरफबाट मुस्ताङ सट्टा दि ताक्लाखर भोटतरफ गयाको रहेछ ।’ 

यसो भएको भए के हुन्थ्यो होला ? 

२०८१ साल असोज र कात्तिकमा एक लाख ४४ हजार नेपाली मुस्ताङ पुगे रे । आजभन्दा १८२ वर्षअघिको नेपालका राजाको सपना पूरा भएको भए यति धेरै नेपाली मुस्ताङ पुग्ने थिएनन् । उनीहरूले हिमालपारिको अनौठो र रोमाञ्चक भूदृश्य अनुभव गर्न पाउने थिएनन् । त्यहाँका अनुपम सांस्कृतिक धरोहर हाम्रा हुने थिएनन् । तर, अर्को फाइदा चाहिँ हुनेथियो– नेपालीले मानसरोवर जान अनुमति लिन अहिलेजस्तो कठोर मिहिनेत गर्नुपर्ने थिएन । 

केही वर्षपहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालले मुक्तिनाथ घुमाएको थियो । राजाको त्यो सपना पूरा भएको भए नेपालले यसो गर्न पाउने थिएन । उनलाई मुक्तिनाथका सट्टा कैलाश मानसरोवर डुलाउन भने पाइन्थ्यो ! त्यसो भएको भए उनी अझ बढी खुसी हुने थिए होलान् किनभने कैलाशलाई मुक्तिनाथभन्दा ठूलो धाम मानिन्छ । यो सपना साकार भएको भए नेपालगञ्जलाई भने खुदो पल्टिने थियो । कैलाश मानसरोवर जाने भारतीय तीर्थालुलाई बिनाझन्झट त्यहाँ पुर्‍याउने ढोकाका रूपमा नेपालगञ्जले अहिलेभन्दा बढी फाइदा लिन सक्थ्यो । 

तर, त्यो मीठो सपना फगत सपना भयो । 

यसको १८ वर्षपछि १९१७ सालको कात्तिकको अन्त्य वा मंसिरको सुरुतिर नेपालले नयाँ मुलुक फिर्ता पायो । नयाँ मुलुकका चारवटा जिल्ला– बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ।

Layered Nepalवि.सं. १८९९ मा नेपालले चाहेको नेपाल ।

ए ए हैन हैन । बाँके, बर्दिया, कैलाली र कञ्चनपुर होइन । बाँके, भगवानपुर, कैलाली र नरहरिपुर । त्यतिबेला तिनको नाम यस्तो थियो । ती जिल्लाका १७ वटा टप्पा नेपालले पायो, जहाँ झन्डै २ लाख २९ हजार बिघा जग्गा आवाद थियो । त्यतिबेला वर्षको झन्डै ९० हजार भारु आम्दानी हुन्थ्यो । खर्च कटाएर ७४ हजारभन्दा बढी भारु महाराजको खल्तीमा पुग्थ्यो । सबैभन्दा बढी जग्गा आवादी बाँकेमा थियो । आम्दानी पनि यहींबाट धेरै हुन्थ्यो । 

नेपाल–अंग्रेज युद्धमा नयाँ मुलुकभरमा एक ठाउँ पदनाहगढीमा मात्र लडाइँ भएजस्तो देखिन्छ । त्यहाँ हार भए पनि लखनऊमा विद्रोहीलाई नेपालले जितेकाले गर्दा नेपालले यो ठाउँ फिर्ता पायो । 

Layered Nepalजंगबहादुरको पालामा फिर्ता भएको नयाँ नेपाल ।

त्यसपछि २०१८ सालमा नेपालको उत्तरतिरको नक्सा थोरै बदलियो । नेपालको १८३६ वर्ग किलोमिटर भूभाग चीनतिर गयो । चीनको २१३९ वर्ग किलोमिटर भूभाग नेपालतिर आयो । यसपछि पश्चिममा एउटा चुच्चो नेपालले थप्यो, जहाँ भारतको राज छ । यसरी नेपालको नक्सा झन्डै–झन्डै अहिलेको स्वरूपमा आयो । 

(नोट : यहाँ उपयोग भएका केही नक्सामा सिमाना अलिअलि यताउति भएको हुन सक्छ । त्यसैले यिनलाई संकेतका रूपमा मात्र बुझ्नुहुन अनुरोध छ ।)

मोहन मैनाली

Link copied successfully