नेवारका कति जात छन् ? तिनको बस्ती कहाँ–कहाँ छ ? ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ का ५ पुस्तकमा उपत्यकाका टोल–टोलका जानकारी मात्रै छैनन्, देवता, मन्दिर, मुद्रादेखि नेपाल संवत्सम्मका कथा छन् ।
काठमाडौँ — अय्लाः ! ओहो, यसको नाम मात्रैले धेरैलाई रोमाञ्चक तुल्याउन सक्छ । यसले उत्पन्न गर्ने सनसनी थाहा पाउन कम्तीमा एकपल्ट त स्वाद लिनैपर्छ । ‘मुखै रसाउँछ’ भन्नेहरू धेरै छन् । फेरि अय्लाःको आफ्नै इतिहास छ । बनाउने प्रविधि पनि आफ्नै ।
अय्लाः त्यसै आफैं बन्दैन, यसका लागि अरू धेरैथोक चाहिन्छ । जस्तो मना । अय्लाः बनाउन चामल र चिउरा मात्र होइन, मना पनि अत्यावश्यक हुन्छ । अब प्रश्न हुन सक्छ, यो मना भनेको के हो र कसरी बन्छ ?
अय्ला बनाउनका लागि विशिष्ट भाँडाकुँडाको पनि आवश्यकता हुन्छ । जस्तो, प्वतासि । फेरि चाकुकै कुरा । कम्तीमा वर्षमा एकपल्ट यसको पनि उत्तिकै चर्चा हुन्छ, माघे संक्रान्तिका बेला । चाकु बनाउने प्रविधि पनि आफ्नै छ, अनि यसका लागि चाहिने सामान पनि उत्तिकै छन् ।
अझ इँटाको कुरा । यो कसरी बन्छ ? यो कति प्रकारको छ ? चिउरा पनि कसरी बन्छ त ? यो साँच्चै कति प्रकारको हुन्छ, यसबारे पनि आफ्नै रमाइला कुरा होलान् ।
धेरैलाई लाग्दो हो, यी सबैको उत्तर मज्जाले कहींकतै पाइन्छ भने त्यो त काइदाको हुनेछ । अथवा भनौं, कहींकतै यसबारे मज्जाले त लेखिएकै हुनुपर्छ । अहिले यो काम भएको छ । हामीसामु छन्, ठूलठूला भन्न मिल्ने, पाँच पुस्तक ।
सबैको नाम ‘नेवाः सांस्कृतिक ज्ञानकोश ।’ तर, फरक पाँच विधामा लेखिएको छ । यो आफैं असाध्यै बृहत् छ, खुबै मिहिनेत गरेर लेखिएको । त्यसैले यो अभूतपूर्व पनि छ । पाँचै पुस्तकका पानालाई एक ठाउँमा जोड्दा हुन्छ, २ हजार ४ सय १५ ।
माथि हामीले चर्चा गरेको अय्ला, चाकु र इँटाबारेको एउटा पुस्तक हो, ‘शिल्प, प्रविधि व ज्ञान’ । यसमा माटो र धातुबाट बन्ने ती सबै वस्तुको चर्चा छ । त्यसै पनि नेवार जाति भन्नु नै कृषक हो । यो त आफैंमा अथाह विषय भयो । विशेषतः काठमाडौं उपत्यकामा गरिने कृषिको काम अन्यत्रभन्दा फरक हुँदो हो, यसमा प्रयोग हुने साधन झन् फरक हुँदो हो । यो सबैको उत्तर पनि यही पुस्तकमा छ ।
यति मात्र होइन, सबैभन्दा महत्त्वपूर्ण जानकारीका रूपमा यसमा मूर्तिकला र हिति प्रणालीबारे पनि ठोस जानकारी छ । यति पृष्ठभूमि तयार पार्दा सिधासिधा सबै कुरा ठोक्किने भनेको नेवार जातै भयो, नेपाल भाषामा भन्दा ‘नेवाः’ । नेवार नेपालको आफ्नै मौलिक मानवीय समुदाय भयो । त्यसैले ठीकै भनिएको छ, सांस्कृतिक नृविज्ञानको आधारमा यो त एकदमै विस्तृत एउटा सभ्यता पनि त भयो । हाम्रो आफ्नो देशलाई अन्तर्राष्ट्रियस्तरमा परिचय गराउने हो भने नेवाः सभ्यता एउटा ठूलै आधार भयो ।
फेरि यो नेवार सभ्यताभित्र गहनता मात्र छैन, विविधता पनि छ । राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै यसबारे अध्ययन अनुसन्धान भइरहेको छ । त्यसैले नेवार सभ्यता, इतिहास, जाति, संस्कृति, भाषा, साहित्य आदिको सम्बन्धमा अनेकन ज्ञानकारी हामीसँग छ । अब प्रश्न हो, के यो एकै ठाउँमा आधिकारिक रूपमा छ त ? छैन । छैन भने अब छ र यो हो यही ‘नेवाः सांस्कृतिक ज्ञानकोश’ । नेपाल भाषामा लेखिएको यो संग्रहको दोस्रो पुस्तक हो, ‘नेवाः म्हसीका’ ।
यसमा नेवार जातिको ऐतिहासिक विकासक्रमबारे लेखिएको छ । नेवारभित्रै जात कति प्रकारका छन्, तिनीहरूको बस्ती कहाँ कहाँ छ, यसबारे नेवाः म्हसीकामा चर्चा छ । काठमाडौं उपत्यकाका टोलटोलको नाम र त्यसबारे जानकारी मात्र यस पुस्तकमा छैन, देवता, मन्दिर, मुद्रादेखि नेपाल संवत्सम्म पनि यसमा पर्याप्त जानकारी उपलब्ध छ । सँगै यसमा नेपाल भाषाको आन्दोलनको पनि उल्लेख गरिएको छ, जुन आफैंमा अध्ययनका लागि सर्वथा उपयुक्त छ ।
यसपछि आउँछ तेस्रो पुस्तकका रूपमा ‘संस्कृति व सम्पदा’ । सम्भवतः सर्वाधिक महत्त्वको पुस्तक हुन सक्छ यो । किनभने यसमा गुथि, जात्रा, चाडपर्व, गहना, लुगा, सौन्दर्य, संस्कार, देवता, उपचार र औषधि र परम्परागत बाजाबारे विस्तृतमा उल्लेख गरिएको छ । गुथि त अहिलेसम्म पनि खासै के हो कस्तो हो भनेर धेरैले नबुझेको विषय हुन सक्छ ।
यस्तोमा गुथि के मात्र होइन, गुथियार को हुन्छन्, गुथिको आधारभूत नीति के हो, गुथि कति प्रकारका हुन्छन् यसबारे बाक्लो जानकारी छ । गुथिका आफ्नै नियम पनि हुने रहेछन्, यसका सैद्धान्तिक र दार्शनिक पक्ष पनि हुन्छ । अझ रमाइलो त के भने गुथिको विकासक्रम लिच्छविकाल, मल्लकाल र शाहकालमा फरक–फरक ढंगले भएको पाइन्छ । त्यसैले गुथिबारे कसैलाई धेरैभन्दा धेरै जानकारी लिनु छ भने यो पुस्तक उत्तम स्रोत हुन सक्छ । त्यति मात्र होइन, पुरानो समयमा काठमाडौं उपत्यकामा औषधिको के कस्तो प्रयोग हुन्थ्यो, यसमा थप अध्ययन गर्ने विषय पनि तयार हुन सक्छ ।
‘संस्कृति व सम्पदा’ मा उल्लेख गरिएको अर्को महत्त्वपूर्ण विषय हो, काठमाडौं उपत्यकामा रहेका विश्व सांस्कृतिक सम्पदाबारे जानकारी । यो भयो, हाम्रो पुर्खाले सिर्जना गरेका धरोहरहरू । भक्तपुर, थिमि, ललितपुर र काठमाडौंका विहारबारे यसमा धेरै जानकारी उल्लेख छ । नेवार भनेपछि सँगै जोडिएर आउने भोज पनि भयो । भोज पनि एकै प्रकारको हुन्न, फरक भोज अनुसार त्यसमा खुवाइने परिकार पनि भिन्नै हुन्छ । खुसीको भोज, दुःखमा गरिने भोज, तीर्थबाट फर्केर आएपछि हुने भोज सबैमा फरक–फरक हुँदोरहेछ ।
चौथो पुस्तक हो, ‘म्ये, बाजं व प्याखं’ । त्यो भनेको हो– गीत, बाजा र सिनेमा । यो विधामा रुचि भएकाका लागि त यो असाध्यै उपयोगी पुस्तक हुनेछ । यसमा जनकारी उपलब्ध गराइएका विषय हुन्– बाजा, गीत, नाटक, सिनेमादेखि यो क्षेत्रमा उल्लेखनीय योगदान दिएका व्यक्तित्वसम्मको चर्चा । यति कुरा गर्दा यहाँनिर नासः द्यःबारे अलिकति उल्लेख गर्नु आवश्यक नै हुनेछ, किनभने यो पनि आफैंमा फरक र रमाइलो विषय छ ।
कुरा के हो भन्दा अभिनय, नृत्य र संगीतकै एउटा देवता हुने रहेछ र तिनै हुन्, नासद्यः । यसलाई अझ भन्दा ती विधाका गुरु भन्दा हुन्छ । कलाकार र साधकले मान्नैपर्ने देवता हुन्, उनी । लगभग नेवार बस्तीमा जताततै बाजा र नृत्यको परम्परा हुन्छ । त्यसैले लगभग हरेक बस्तीमा नासद्यः स्थापना गरिएको हुन्छ । काठमाडौंभित्रको पुरानो बस्तीमै मात्र पनि ४८ स्थानमा नासद्यः स्थापना गरिएको पाइन्छ । प्रत्येक सिनेमा, गीत र बाजाको कुनै कार्यक्रम सुरु गर्न अगाडि नासद्यः पूजा गरिन्छ ।
मूल नासद्यः चाहिँ नुवाकोट जिल्लाका कविलास रहेछन् । प्रत्येक पल्ट त्यहाँसम्म पुग्न गाह्रो हुने भएपछि तिनलाई विधि अनुसार तानेर आ–आफ्नो सुविधा अनुसार आफ्नै टोल छिमेकीमा स्थापना गरिएको रहेछ । विश्वास के हो भने काठमाडौं उपत्यकाका जति पनि बाजा र नृत्य छन्, त्यसका सृष्टि गर्ने काम तिनै नासद्यःले गरेका रहेछन् । तिनलाई पूजा गरेपछि सिद्धि प्राप्त हुने विश्वास रहेछ । त्यसैले नासद्यः पूजा गर्ने परम्परालाई ठूलै महत्त्व दिइन्छ ।
र, पाँचौं तथा अन्तिम पुस्तक रहेको छ, ‘भाषा, लिपि व साहित्य’ बारे । बाँकी चार पुस्तकभन्दा यो सबैभन्दा बाक्लो छ । नेपाल भाषाका ती तीन विषय, भाषा, लिपि र साहित्यबारे बुझ्ने चाहेनका लागि यो सबैभन्दा उपयुक्त गन्तव्य हुनेछ । नेपालका भाषाहरूमध्ये लिपि र साहित्य दुवैमा नेपाल भाषा केही बढी समृद्ध मानिन्छ । अझ लिपिकै कुरा गर्दा यसको गणना मात्रै एक दर्जनको हाराहारीमा पुग्छ । धेरैले नेपाल प्रचलित लिपि र रञ्जना लिपिबारे मात्र सुनेको हुनुपर्छ ।
यससँगै अन्य लिपि पनि छन् । जस्तो, भुजिंमोल, गोलमोल, लितुमोल, क्वँय्मोल, कुंमोल, हिंमोल र पाचुमोल सम्म पनि । के हुन् त यी लिपि ? कसरी लेखिन्छन् त यी लिपि ? यी प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छन् नै । नेपाल भाषा साहित्यको प्राचीनकाल, मध्यकाल र आधुनिक काल कस्तो रह्यो, त्यसबारे पनि यसमा विस्तारले उल्लेख छ । सबै विधाका नयाँ पुराना सबै लेखकसँगै स्वदेशी विदेशी विद्वान्बारे पनि यसमा जानकारी छ । र, अन्त्यमा नेपाल भाषाको पत्रकारिताबारे पनि अलिकति लेखिएको छ ।
अब थप प्रश्न हुन सक्छ, यी पुस्तकका लेखक को हुन् ? यसमा एक खास लेखक नै छैनन् । यति धेरै विषयमा एक्लै लेख्न सक्ने को नै हुन सक्छन् र ? त्यसैले यो सयभन्दा बढी लेखकहरूको लामो समयको अध्ययन, अनुभव र सोधको एकमुष्ट कृति हो । ती लेखकले आफू अभ्यस्त भएको विधामा लेखेको संग्रह नै यो पुस्तक हो । यसका परिकल्पनाकार र संयोजक भने मल्ल के. सुन्दर हुन् । यसको प्रकाशक नेपाल भाषा एकेडेमी र काठमाडौं महानगरपालिका हो ।
काठमाडौं महानगरपालिकाले आर्थिक स्रोत जुटाएको हो । यो यस्तो पाँच पुस्तकको संग्रह हो, जसलाई धेरै विषयको स्रोत मान्न सकिन्छ । आफूलाई रुचि लागेका विषयमा टेकेर अब थप अध्ययन गर्न सकिन्छ । जस्तो, मन्दिर र पारम्परिक घर कसरी निर्माण हुन्छ, त्यसमा इन्जिनियरको रुचि हुन सक्छ । पारम्परिक औषधि विज्ञान कस्तो थियो, त्यसमा चिकित्सकको रुचि हुन सक्छ । गीत–संगीत के कस्तो थियो, यसका साधकलाई रुचि हुन सक्छ ।
समाजशास्त्री, मानवशास्त्री र इतिहासकारदेखि सामान्य जिज्ञासुलाई पनि यी पुस्तक संग्रह उत्तिकै उपयोगी छ । यो लेखमा सुरुदेखि प्रश्नै प्रश्न छन् । यस्तोमा अन्तिम प्रश्न हो, यत्तिको उपयोगी पुस्तक संग्रह नेपाल भाषामा त भयो नै, नेपाली भाषामा पनि चाहिन्छ, किन चाहिन्न ? उत्तर हो, चाहिन्छ नै । जसरी भए पनि चाहिन्छ । सुन्नमा के आएको थियो भने यसलाई नेपाली भाषामा अनुवाद गर्ने काम पनि सुरु भएको थियो, तर अगाडि भने बढ्नै सकेन । अब भने यो काम हुनुपर्छ ।
