कवितामा स्कुलिङ जरुरी छैन, यो बेकारको कुरा हो । कुनै कविले कसैको स्कुल मान्नु जरुरी छैन । यहाँ कसैको स्कुलिङ छैन ।
काठमाडौँ — बुधबार दिउँसो नयाँ बानेश्वरको ठूलो खरीबोटस्थित निवासमा पुग्दा कवि शैलेन्द्र साकार ‘नाइफ : मेडिटेसन्स आफ्टर एन एटेम्प्टेड मर्डर’ पुस्तक पढिरहेका थिए ।
सलमान रुस्दीले आफूमाथि भएको आक्रमणबारे रोचक वर्णन गरेको भन्दै साकारले पुस्तकका केही लाइन सुनाए, ‘कविताले गोली रोक्न सक्दैन, उपन्यासले बम डिस्पोज गर्न सक्दैन’ भन्ने कुरा उनले गरेका छन्, मलाई मजा लागिरहेको छ । गोली हान्ने मान्छेलाई कविताले प्रभाव पार्यो भने उसले गोली नचलाउन पनि त सक्छ नि ।’
बीसको दशकदेखि कविता लेखनमा सक्रिय साकारको परिचयका अनेक आयाम छन् । उनी कथा–उपन्यास लेख्छन्, निबन्ध, संस्मरणमा आफूलाई छरपस्ट पार्छन् । नेपाली साहित्यले जन्माएका अनेक आन्दोलनका उनी साक्षी मात्र होइनन्, आफैं त्यस्ता आन्दोलनका नेतृत्वकर्ता पनि हुन् । ‘कथामा नारी हस्ताक्षर’को सम्पादन, ‘आकाश विभाजित छ’ र ‘अवतार विघटन’ उपन्यासको सहलेखन गरेका उनका ‘शैलेन्द्र साकारका कविता’, ‘सर्पहरू गीत सुन्दैनन्’, ‘नाङ्गो तार’, ‘कवितामा अमेरिका’, ‘अरू सात समुद्र’ कवितासंग्रह, ‘कोलाज’, ‘कालपात्र र अरू कथाहरू’, ‘रामायण र अरू कथा’ कथासंग्रह प्रकाशित छन् ।
हालै उनको संस्मरण ‘मनको कुनै कुना’ र उदय अधिकारीसँगको संवाद ‘साकार समय’ सार्वजनिक भएको छ । कविता आन्दोलन, त्यसको प्रभाव र कविताका सायमिक विषयमा कवि शैलेन्द्र साकार सँग फणीन्द्र संगमले गरेको कुराकानी :
तपाईं आफैं अस्वीकृत जमात, बुटपालिस आन्दोलन हुँदै सडक कविता क्रान्तिसम्म जोडिनुभयो । २०२६ सालतिरै सुरु भएको अस्वीकृत जमातचाहिँ योजनाबद्ध थियो कि लहड ?
कलकत्तामा कविहरूले १९६० को दशकमा ‘हंग्री जेनेरेसन’ अर्थात् ‘भुखी पिँढी’ सुरु गरेका थिए । त्यसमा मलयराय चौधरी, सुविमल बसाक, अनिल करन्जई, करुणानिधन मुखोपाध्यायलगायत थिए । नेपाल आएका बेला उनीहरूले वाशु शशीलाई भेटेछन्, उनैले आफ्नो निवास देवपाटन बोलाएपछि म, कविताराम श्रेष्ठ, प्रकाश प्रेमी, रमेश श्रेष्ठ पुग्यौं । विरोधका स्वर उठाउने, क्रान्तिकारी विचारका उनीहरूमा हिप्पी र
बिट्निकको प्रभाव रहेछ । उनीहरूको कुराले हामी पनि जोसियौं । पछि, त्यही जोसमा ‘अस्वीकृत जमात’ साहित्यिक आन्दोलनको थालनी गरेका हौं ।
जे पनि लेख्ने भए किन साहित्य लेख्ने, व्यापार–व्यवसाय गरे पनि भयो । साहित्य त सत्यको अन्वेषण गर्ने हो भन्ने सोचको विकास भयो । कविताराम र मबीच यस विषयमा धेरै कुरा हुन्थ्यो । हाम्रो आन्दोलनले मुख्यतः तीन अवधारणा अघि सार्यो । अहिलेसम्म जति साहित्य लेखिए, राजामहाराज, देवदेवी, सम्पन्न व्यक्तिको मात्र लेखियो । गरिब, दुःखी, दलितहरू हेपिए, अब त्यस्ता अस्वीकृत जमातलाई मात्र लेख्ने । अर्को, उदार यौनको पक्षमा लेख्ने । यौन प्रकृतिप्रदत्त भएकाले यौनकर्मी महिलाको पनि इज्जत गर्नुपर्छ भन्ने हाम्रो मान्यता थियो । र, जीवनको सत्यलाई जस्ताको तस्तै लेख्ने । पछि हामीले ‘सञ्जीवनी’ पत्रिकामा अस्वीकृत जमातबारे घोषणापत्र नै सार्वजनिक गर्यौं । पछि त कनकदीप, साकेतविहारी ठाकुर, जगत रञ्जन लगायतले हामीलाई साथ दिए ।
त्यो बेला तपाईंहरूको समूहले कविता लेख्नु बेकार हो, बित्थामा आफूलाई अग्निकुण्डमा होमिनु हो भन्ने खालका धारणा बाहिर ल्याउनुभयो नि, कविताप्रति यत्तिको घृणाबोध किन ?
त्यो समयसम्म लेखिएका कवितामा खालि पहाड, पर्वत, खोलानदी, लहरापहरा अनि देशको महिमामण्डन गर्ने खालका मात्र पायौं । कविताका नाममा सत्य छोपियो, असत्य लेखियो भन्ने भयो । धरैजसो कविताले छोएको थिएन, परम्परागत कविताप्रति नै हाम्रो असहमति थियो । एउटै फ्रेममा लेखिन्थ्यो, त्यसैलाई प्रोत्साहित गरिन्थ्यो र तिनैको चर्चा हुन्थ्यो । त्यो अवस्थामा हामीले नयाँपन दिन खोजेका हौं ।
त्यसको पाँच वर्षपछि नै ‘बुटपालिस’ गर्नुपर्ने अवस्था किन आयो ?
पञ्चायतकालीन अवस्थामा पत्रपत्रिका निकाल्न बन्देज थियो । अञ्चलाधीश कार्यालयले स्वीकृति दिएपछि मात्रै निकाल्न पाइन्थ्यो, तर स्वीकृति नै दिँदैनथ्यो । हामी डिल्लीबजार बस्थ्यौं, बुटपालिसको अवधारणा त्यहीं बनेको हो । पत्रिका निकाल्ने हुटहुटी थियो, पैसा थिएन । किशोर नेपालले अनौठो प्रस्ताव ल्याए– ‘के तिमीहरू न्युरोडमा बसेर बुटपालिस गर्न सक्छौ ?’ जबकि हामी त्यसबेला सरकारी अफिसर भइसकेका थियौं । जोसैजोसमा पुस्तक प्रकाशन गर्न आर्थिक सहयोग जुट्छ भने किन नगर्ने भन्ने भयो ।
त्यस दिन बिहानै म, कविताराम श्रेष्ठ, ध्रुव सापकोटा र मोहन घिमिरे न्युरोड पुग्यौं र काल्चे सार्कीलाई आफ्ना कुरा राख्यौं । उनैले पालिस गर्न सिकाए । ‘युवा लेखकको पुस्तक प्रकाशनार्थ अर्थ संकलन अभियान’ ब्यानर टाँगेर बस्यौं । १२ बजेपछि त मान्छेको भीड लाग्न थाल्यो । नारायण ढकाल, काशीनाथ तमोट, भाउपन्थी, सन्तोष भट्टराई, विश्वनाथ न्यौपानेहरू थपिँदै गए, पछि झन्डै ३० जना कवि भेला भए । अचानक बालकृष्ण सम पनि आइपुगे । उनले ‘लु मेरो पनि पालिस गर’ भनेर जुत्ता दिए । मलाई सम्झना छ– एक–एकका ५ वटा नयाँ नोट दिएर उनी फर्किए ।
त्यहाँ नआए पनि नृपेन्द्र पुरुष यादि, भवानी घिमिरे, मनु ब्राजाकी, कुमुद देवकोटा लगायतले साहित्यको योगदानका लागि कविहरूले बुटपालिस गरिरहेका छन् भनेर प्रचार गरिदिए । बेलुकातिर सादा पोसाकमा प्रशासनका केही मान्छे आए र हामीलाई धरपकड गरे ।
२०३६ सालमा राजा वीरेन्द्रको जनमत संग्रह घोषणापछि कविहरूले सडक कविता क्रान्ति गरे । बहुदलको पक्षमा कवि–लेखकसँगै तपाईं पनि होमिनुभयो । कसरी अघि बढ्यो त्यो आन्दोलन ?
न्युरोडमा साहित्यकार भेला हुने चिया पसल थियो । अलि सम्पन्न भूपि शेरचन, उपेन्द्र, द्वारिका, कृष्णभक्त श्रेष्ठचाहिँ इन्दिरा रेस्टुरेन्ट जान्थे भर्याङ चढेर । उनीहरूका साथमा कहिलेकाहीं मोहन कोइराला पनि हुन्थे । एक दिन भवानी दाइले भन्नुभयो– ‘बहुदलको पक्षमा सडकमै बसेर एउटा आन्दोलन गरौं ।’ दिनेश अधिकारी, सौरभ, सन्तोष भट्टराई, विष्णुविभु घिमिरे, अशेष मल्लहरू पनि थिए । आन्दोलनबारे जानकारी दिन मोहन कोइरालालाई भेट्न गयौं । उनले त सडक कविता क्रान्ति नभनौं, सडकमा कविता मात्रै भनौं भने । वासु शशी त आउँदै आएनन् ।
सडकमा हरिभक्त कटुवाल चर्कोचर्को स्वरमा कविता भन्न थाले । उनलाई एकेडेमीमा सदस्यता दिन्छु भनेर केदारमान व्यथितले भनेका रहेछन्, तर प्रेसको काममा राखेपछि उनको असन्तुष्टि रहेछ । यसरी पिपलबोटबाट सुरु भएको कविता क्रान्ति पाटन, भक्तपुर हुँदै उपत्यकाबाहिर विराटनगर, पोखरा लगायतका ठाउँमा चल्यो ।
क्रान्ति शब्दप्रति मोहन कोइरालाको असहमति चाहिँ किन रहेछ ?
क्रान्तिभन्दा प्रशासनको बढी तारोमा परिने भन्ने भयो होला । कि त प्रशासनले बढी दमन गर्छ कि जेल लान्छ भनेर पनि हुन सक्छ । नाम चलेको कवि र कोइराला परिवारको पनि भएकाले उनमा भित्री त्रास थियो कि ! पछि आन्दोलनबारे जानकारी गराउन बीपी कोइरालालाई भेट्न गयौं । किशोर नेपाल, होमनाथ दाहाल, पुरुषोत्तम बस्नेत पनि साथमा थिए । कविता क्रान्तिबारे सुनाउँदा बीपीले भने– ‘कविहरू अराजक हुन्छन्, तर प्रत्येक गरिब र देशको चिन्ता नेताले लिने हो, कविले होइन । तपाईंहरूले गर्नुभयो ठीक छ, तर यसमा कविहरूलाई मुछ्नुहुन्न ।’
तपाईं त त्यसबेला कृषि विकास बैंकको जागिरे हुनुहुन्थ्यो । सरकारकै तलब खाएर सरकारविरुद्ध बहुदलको पक्षमा लाग्दा जागिर खतरामा परेन ?
मैले डबल एमएए गरिसकेको थिएँ । ठूलै नेता आएर मलाई भने– ‘हामीले पो पढेका छैनौं, तिमी पढेलेखेको, सातौं तहको अधिकृत, किन क्रान्तिमा लागेको ? तिम्लाई त जागिरबाट निकाल्ने कुरा छ, ख्याल गर्नु गाह्रो पर्ला ।’ पछि त सरुवा हुँदै छ भन्ने सुनें । इनरुवाबाट पश्चिम हरिनगराको म्यानेजर बनाएर पठाइदिए । ‘देश–समाज बनाउँछु भनेर कराइकराइ हिँडेको होइन, अब गाउँमा गएर देश बनाऊ’ भनेर अपमानको शैलीमा भने । पछि हरिनगराबाट विराटनगर सरुवा भयो । त्यहाँ पुगेपछि कृष्णभूषण बल, इन्दिरा प्रसाई, महेश प्रसाई, प्रमोद प्रधानहरूसँग सम्पर्क भयो, साहित्यिक गतिविधिमा सक्रिय हुन थालें ।
तपाईंहरूले अस्वीकृत जमात सुरु गर्नुअघि नै २०२३/२४ मा राल्फा आन्दोलन सुरु भइसकेको थियो । रामेश, रायन, मञ्जुलहरूसँग त तपाईंको राम्रै घुलमिल थियो होला । राल्फालीसँग कत्तिको वैचारिक बहस हुन्थ्यो ?
म त्यो बेला अरूको गफ अलि बढी सुन्थें । शंकर लामिछाने, मदन रेग्मी, कहिलेकाहीं भूपी शेरचन आउँथे । अलिपछि पारिजात राजनीतितिर लागिन् । उनलाई बढी प्रभाव निर्मल लामाको थियो । उनीहरूले वैचारिक रूपले मलाई फरक सोचेका हुन सक्छन्, त्यो बेला म त्यस्तो थिइनँ । तर, राजनीतिक व्यक्तिभन्दा साहित्यकारसँग घुलमिल गर्न रुचाउँथें ।
पारिजातसँगको सम्बन्धचाहिँ कस्तो रह्यो ?
म पहिलो पटक मञ्जुलमार्फत उनीकहाँ गएँ । उनी जाँड पिउँदै चुरोट तानिरहेकी थिइन् । ‘जाँड खाने ?’ भनेर सोधिन्, मैले पनि खाएपछि उनीहरूले रमाइलो माने । त्यसपछि हाम्रो सम्बन्ध राम्रै हुँदै गयो । मेरै सम्पादनमा निस्कियो ‘कथामा नारी हस्ताक्षर’ । त्यसमा उनको कथा ‘मैले नजन्माएको छोरो’ समावेश गरेको थिएँ ।
तपाईंले त ‘कथ्य कायाकल्प’ को नयाँ शैली पनि सुरु गर्नुभयो है !
काफ्काको ‘मेटामर्फोसिस’ पढिरहेको थिएँ । ग्रेगर साम्सा किरामा रूपान्तरण भएको पढेपछि ममा नयाँ सोच आयो । त्यसो त कुनै पनि कन्टेन्ट नयाँ हुन्न, पुनःस्थापना मात्रै हो । मैले एक ठाउँ प्रयोग गरिहेरें– ‘मृतकहरू अलि बढी सेक्सी र भावुक हुन्छन् ।’ जस्तोः मरिसकेकी मोनालिसालाई पनि मान्छेले आ–आफ्नै दृष्टिकोणले हेर्छन् नि । खासमा सोचको लार्भा स्टेजबाट विचारको प्यूपा बनेर रंगीबिरंगी पुतलीमा रूपान्तरण हुनु ‘कन्टेन्ट मर्फोसिस’ हो । लेखनमा नयाँपन आवश्यक छ भनेर मैले यो प्रयोग गरिहेरेको हुँ ।
तपाईं कविता लेख्नुलाई ‘नाङ्गो तार समात्नु जस्तै हो’ भन्नुहुन्छ नि ?
नाङ्गो तार समात्नु भनेको मृत्युसम्मै पुर्याउनु भन्ने होइन तर झड्का दिओस्, जागृत गराओस् भन्ने हो । झ्वाट्ट समातिने, छोइने लेखिएन भने के लेख्नु भन्ने लाग्छ । समयको आफ्नो अनुहार हुन्छ, जसले त्यसलाई चिन्छ, बुझ्छ र लेख्छ, उसले नै नाङ्गो तार समात्छ । पहिले मोतीरामका पालामा अरू पनि सयौं कवि थिए, उनीमात्रै अहिलेसम्म बाँचिरहेका छन् । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, पारिजात, मोहन कोइरालाहरू अझै पढिराखिएको छ ।
समयले केही कविलाई स्थापित गर्छ, केहीलाई छाडेर अघि बढ्छ । कविलाई बचाइराख्ने केले रहेछ ?
अमेरिका बसेका बेला सबभन्दा ठूलो कवि को हो भनेर एक जनालाई सोध्दा उनले भने– वाल्ट ह्विटम्यान, त्यसपछि रोबर्ट फ्रर्स्ट । उनीहरू बितेको कति वर्ष भइसक्यो, तर कवितामा बाँचिरहेका छन् । यहाँ पनि धेरैजसोले देवकोटा नै भन्लान्, त्यो त समाजमा उसका कविताले पारेको प्रभावले नै हो । कविको मूल्यांकन समालोचकले गर्छ भन्छन्, तर पाठकले पनि मूल्यांकन गर्छन् । कविले जीवनप्रति लिएको दृष्टिकोण र बिम्बलाई गरिने प्रयोग कवितामा महत्त्वपूर्ण छ । जस्तोः भूपीले घुम्ने मेच, क्यारेमबोर्डको गोटी जस्ता बिम्ब प्रयोग गरे ।
तपाईंले पनि ‘सर्पहरू गीत सुन्दैनन्’ भनेर प्रयोग गर्नुभयो नि ?
हो । त्यसैले पनि होला अरू संग्रहभन्दा यो धेरैले रुचाउनुभयो । शासकले जनताको आवाज सुन्दैनन् भन्ने हिसाबले पाठकले बुझ्नुभयो ।
पञ्चायती शासकले सुनेनन् भनेर त्यो बेला लेख्नुभयो, गणतन्त्रकालका ‘सर्पहरू’ले आवाज सुन्न थाले त ?
सर्पले त कहिल्यै पनि सुन्दैन नि । सर्प जो शासकका रूपमा छन्, तिनले कहिल्यै सुन्दैनन् ।
कवितामा स्कुलिङको कुरा गर्नेहरू पनि छन् नि, जस्तोः भूपी स्कुलिङ, मोहन कोइराला स्कुलिङ, वैरागी काइँला स्कुलिङ । यसमा केही भन्नुहुन्छ ?
कवितामा स्कुलिङ जरुरी छैन, यो बेकारको कुरा हो । कुनै कविले कसैको स्कुल मान्नु जरुरी छैन । यहाँ कसैको स्कुलिङ छैन । स्कुलिङ होइन प्रभाव भने पर्न सक्छ । मलाई पनि मोहन कोइराला र भूपीको प्रभाव परेको थियो । ती दुईको मझधारमा रहेर म कविता लेख्छु कि जस्तो लाग्छ ।
