पारस खड्का मैदानका मात्रै कुशल खेलाडी होइनन्, व्यक्तिगत रणनीतिमा पनि कुशल छन् । विपक्षीको शक्तिअनुसार रणनीति बनाउन खप्पिस छन् ।
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को सफल आयोजनाका लागि पारस खड्का जति बधाईका पात्र बनेका छन्, नेपालको राष्ट्रिय क्रिकेट टोलीको १० वर्षे कप्तानी गर्दा पनि उत्तिकै बधाईकै पात्र थिए । संसारभर कर्पोरेटहरूमा ‘क्वाइट क्विटिङ्’ चलिरहेकै बेला पारसले उस्तै शैलीमा खेल जीवनबाट संन्यास लिएका थिए ।
०७६ असोज २८ मा राष्ट्रिय टिमको कप्तानी छोडेका पारसले त्यसको करिब दुई वर्षपछि ०७८ साउन १९ गते बिहान अनायासै सामाजिक सञ्जालमा संन्यासको घोषणा गरे ।
सफल खेल जीवन बिताएका खेलाडीले सामान्यतः संन्यासको घोषणा पनि मैदानबाटै गर्ने परम्पराविपरीत पारसले चुपचाप संन्यासको तयारी गरे र क्यानलाई संन्यासको पत्रसमेत फेसबुकमा लेखिसकेपछि मात्रै पठाए । यो ३ वर्षअघिको कुरा हो ।
संन्यास घोषणा गरेको केही समयमा ‘फायरसाइड’ मा अन्तर्वार्ताका लागि बोलाउँदा पारसले सुनाएका थिए– संन्यासको निर्णयबारे । त्यो निर्णय गर्न उनले केही समय मनमनै आफैंलाई तयार पारेको बताएका थिए । आफूले निश्चय गरिसकेपछि अति निकटका केही साथीसँग सल्लाह गरे ।
साथीभाइसँगको छलफल सल्लाह लिने होइन, निर्णय सुनाउने ध्येयले मात्रै भयो । परिवारमा पनि उनले कसैसँग सल्लाह गरेनन्, केवल निर्णय सुनाए । प्रतिक्रियाबारे पनि उनले खासै चासो दिएनन् । पारसको क्रिकेट जीवनलाई सबैभन्दा नजिकबाट हेरेका र उनलाई व्यक्तिगत रूपमा नजिकबाटै बुझेका उनका आफ्नै हजुरबुबासँग पनि उनले सल्लाह लिएनन्, संन्यासको निर्णय सुनाए मात्रै ।
पारस कप्तान रहँदा उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल भन्छन्, ‘कप्तानी छोड्दा होस् वा संन्यास लिँदा, उनले हामीसँग कुराकानी त गरे, तर आफ्नो निर्णयमा प्रस्ट भइसकेका थिए ।’
पारसले संन्यास घोषणा गरेको दिन त्यही थियो, जुन दिन ठीक तीन वर्षअघि नेपालले एकदिवसीय क्रिकेटमा पहिलो खेल जितेको थियो । नेदरल्यान्डविरुद्धको खेलमा पारसले निर्णायक मोडमा निकै चतुर किसिमको प्रदर्शन गरे अनि एक रनको रोमाञ्चक जित दिलाएका थिए ।
संन्यासपछिको समय पारस उति खुसी चाहिँ थिएनन् । २० वर्ष मैदानमा क्रिकेट खेलेर बिताएका उनलाई ‘संन्यासकै लागि मैदानमा हुने खेल पर्खिएर बिदा हुनुपर्छ’ भन्ने लागेन । ‘मैले मैदानमा जति समय बिताएँ, समर्थकको साथ पाएकै थिएँ । विदेशबाट फर्किंदा स्वागत र जाँदा बिदाइ पाएकै थिएँ । फेरि संन्यास लिनका लागि मैले मैदानमै घुमेर बिदा माग्नुपर्छ भन्ने लागेन,’ उनले मसँग भनेका थिए ।
इमानदार अभिव्यक्ति थियो उनको, ‘मलाई अब मैदानमा ज्यान दिएर खेल्न सक्छु जस्तो लाग्न छोडेको थियो । त्यसकारण खेल्नकै लागि खेल्दा मैले मेरो टिमलाई धोका दिएको जस्तो हुन्थ्यो ।’ उनी निर्णयहरूमा स्पष्ट थिए, निर्णयका लागि लिएका आधारमा पनि स्पष्ट । पूर्वकप्तान ज्ञानेन्द्र भन्छन्, ‘उनी इन्स्टिङ्टिभ छन्, छिटो कुरा बुझ्छन् र सोचविचार गरेर निर्णय गर्न सक्छन् ।’
नेतृत्वमा हुने तमाम गुणमध्ये महत्त्वपूर्ण हुन्– सुझबुझपूर्ण निर्णय क्षमता र निर्णयलाई सही प्रमाणित गर्न सक्ने खुबी । भनिन्छ, व्यक्तिले लिने सामयिक निर्णयलाई पुष्टि गर्न सक्दा नै उसको नेतृत्व क्षमता प्रमाणित हुन्छ । उनले कालान्तरमा त्यो पुष्टि पनि गरे, क्यान पदाधिकारीमा निर्वाचित भएर र त्यसपछि उनले अघि बढाएका क्रियाकलापबाट । राष्ट्रिय टिमको नेतृत्वमा रहेर उनले जति गर्न सक्थे, त्यति गरे । समग्र क्रिकेटकै भाग्य र भविष्य सुधार्न क्याप्टेनको टोपी लगाएर मात्रै सम्भव थिएन ।
संन्यासपछि खेल व्यवस्थापनमा जानुपर्छ अनि मात्रै क्रिकेटको उत्थान हुन सक्छ भन्नेमा पनि उनी प्रस्ट थिए । क्यानको बेथितिबारे कप्तान भएकै समयमा जानकार रहेका उनी फड्के किनाराको साक्षीमात्र भएर बसेनन्, क्यानसँग पौंठेजोरी नै खेलेका थिए । पारसलाई मन नपराउनेहरूले त्यसलाई गुटबन्दी भने, उनीमाथि विश्वास राख्नेहरूले त्यसलाई विद्रोह ।
अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बनदेखि क्यानभित्र बेथिति देखेका पारसलाई क्यान नसुधारी क्रिकेटमा सुधार हुन सक्दैन भन्न भित्रैबाट लागेको थियो । त्यसकारण सक्रिय खेलजीवनबाट बाहिरिएपछि क्यान नै अबको बाटो हो भन्नेमा विश्वस्त थिए ।
क्यान प्रवेश गर्न सफल भएको अवस्थामा के गर्ने ? उनीसँग त्यसको भिजन थियो । ‘त्यसबारे हामीले काफी कुराकानी गरेका थियौं,’ ज्ञानेन्द्र भन्छन्, ‘खेलाडी रहँदै हामीले आफ्ना लागि भन्दा बढी क्रिकेटकै लागि सोच्यौं । क्रिकेटलाई माथि उठाउन के गर्न सकिन्छ भन्नेबारे पारस कुरा गरिरहन्थे, सेल्फ लेस भएर ।’
तर, त्यस्तो भिजन कहाँ सुनाउने ? कसलाई सुनाउने ? किन सुनाउने ? उनी आफू सबै कुरा सुनाउँदैनन्, उपयुक्त समय पर्खिन्छन् र बल्ल आवश्यकता अनुसार मात्रा मिलाएर सुनाउँछन् । क्यान प्रवेशको बाटोबारे निश्चय भए पनि उनले उतिबेला सुनाएनन् । कारण, त्यो उति सहज पनि थिएन । सायद, करिअरको त्यो विन्दुमा उनको सदाबहार आत्मविश्वास केही गिरेको थियो ।
क्यानको सचिवमा उम्मेदवारी दिएपछि चुनावी हिसाबकिताब र खेलोफड्को देखेर सुरुमा पारस केही हच्किए पनि । ज्ञानेन्द्र भन्छन्, ‘पछिल्लो कालमा पारसलाई केही लो देखेको समय त्यही थियो । मैदानको खेलाडीलाई चुनावको खेलले केही हतोत्साही बनायो ।’ तर, त्यसलाई पारसले पार लगाए । ‘त्यो बेलाको कथा त अर्कै छ । ओहो, कुनै दिन सुनाउँला,’ पारसले पुष्टि पनि गरे । त्यो कथा आज सुनाउँदा क्यानभित्र उनले चाहेको सफाइको काममा असहजता हुन सक्छ, उनलाई थाहा छ ।
खेल जीवनको उत्तरार्द्धमा पोखरा प्रिमियर लिग आयोजनामा प्रत्यक्ष सहभागी भएर लिएको अनुभव भने उनीसँग थियो । क्षेत्रीय लिगहरूलाई पनि नजिकबाट हेरेको अनुभव थियो । क्रिकेट एकेडेमी नै सुरु गरेर गतिविधि अघि बढाएको अनुभव थियो ।
कप्तानका रूपमा सँगै रहेका खेलाडी र आफूभन्दा सिनियर खेलाडीको साथ पनि थियो । सँगसँगै कप्तानका रूपमा क्रिकेटसँग सरोकार राख्ने विभिन्न तह–तप्काका मानिस र समूहसँगको सम्पर्क थियो नै । तर, त्यतिले मात्रै क्यानमा स्थान बनाउन सहज थिएन ।
पारस सुनाउँछन्, ‘हाम्रो पार्टीको साथ तपाईंलाई हुन्छ भनेर भेट्ने र फोन गर्ने थुप्रै थिए ।’ अर्थात् पार्टीको झन्डा ओढेपछि क्यानमा प्रवेश सहज हुन्छ । हरेकजसो पार्टीका नेताहरूसँग उनको भेट भयो । तर, जुन विषयको उनले विरोध गरेका थिए, त्यही बाटो भएर क्यान प्रवेश गर्न चाहेनन् । जिल्ला तहमा क्यानका प्रतिनिधिसँग बाक्लै भेटघाट र बैठक गरेपछि उनले काठमाडौं जिल्लाबाट क्यान प्रवेश गरे र अन्ततः क्यानको सचिवमा उम्मेदवारी दिए । झन्डै २ दशकसम्म मैदानको अनुभव र लगातारको अभ्यासले उनलाई क्यानको सचिव पदमा जितायो ।
के थियो पारससँग, जसले उनलाई क्यानसम्म पुर्यायो ? पारस मैदानमा मात्रै कुशल खेलाडी होइनन्, व्यक्तिगत रणनीतिमा पनि कुशल छन् । विपक्षीको शक्तिअनुसार, रणनीति बनाउन जानेका छन्, वाककलामा अब्बल छन् । आफ्ना समस्या र कमजोरीबारे उनी विरलै कुरा गर्छन् । २०१४ मा टी–ट्वान्टी विश्वकपमा सहभागी भएर फर्किएपछि एक कार्यक्रममा मञ्चमा आँसु खसालेका पारसको शक्ति भनेकै त्यही हो, उनी आँसु लुकाउन सक्छन् ।
त्यही एउटा घटनाबाहेक उनी इमोसनल देखिएका कमै क्षण छन् । भन्छन्, ‘मेरा समस्याहरू अरूलाई सुनाउन म सक्दिनँ । म त्यसो गर्दिनँ ।’ बरु उनी ममता कहाँ कसरी उपयोग गर्न सकिन्छ भन्नेमा केन्द्रित हुन्छन् । कुन व्यक्ति र समूहबाट के प्राप्त गर्न सकिन्छ र कसरी प्राप्त गर्न सकिन्छ भन्नेमा उनको ध्यान हुन्छ । न मैदानमा, न त मैदानबाहिर उनले जितमा ठूलो उत्साह कहिल्यै देखाएनन् र हारमा पीडा पोखेनन् ।
आफ्ना भावना नियन्त्रण गर्न सक्ने उनको खुबी आरिसलाग्दो छ । ‘कान्तिपुर टेलिभिजन’ मा लामो समय खेल पत्रकारिता गर्दै आएकी सबिना कार्की भन्छिन्, ‘शतक प्रहार गरेपछिको खुसीमा समेत पारसले ब्याट उठाएर सेलिब्रेट गरेको मैले देखेको छैन ।’
नेपालका लागि ओडीआईमा शतक प्रहार गर्ने पहिलो खेलाडी उनै पारस हुन् । ‘त्यस्तो सफलतामा पनि पारसले ब्याट उठाएनन् जबकि क्रिकेटरहरूले सेलिब्रेट गर्ने त्यो स्वाभाविक तर गज्जबको अवसर हो ।’ सबिना भन्छिन्, ‘पारसको आत्मविश्वास सधैं उस्तै छ ।’
पारसको व्यक्तित्वको सबल पक्ष नै उनको आत्मविश्वास भएको सबिना मान्छिन् । ‘उनको औरा नै बेग्लै छ,’ पारसको व्यक्तित्वबारे सबिनाको बुझाइ छ, ‘त्यही कुराले उनलाई क्याप्टेन बनायो र त्यसैले उनलाई क्यानमा पुर्यायो ।’
मान्छेले आफ्ना रिस, आवेग र उद्वेगजस्ता भावनामाथि नियन्त्रण गर्न सक्नु ठूलो क्षमता हो । पारसले त्यो क्षमतालाई सधैं कायम राखे । एनपीएलको सफलतापश्चात् ‘फायरसाइड’ का लागि गरेको अन्तर्वार्तामा मैले सोधें, ‘फाइनल खेल सम्पन्न भएको साँझ वा अर्को बिहान तपाईंको दिमागमा के चलिरहेको थियो ?’ पारसको जवाफ थियो, ‘एलिट कप सुरु हुन गइरहेको छ, पीएम कप आयोजना गर्नुपर्ने छ, जिल्ला–प्रदेशका प्रतियोगिता, महिला अन्डर–१९ टिम विश्वकप क्वालिफाइ भएको छ, मेन्स अन्डर–१९ क्वालिफायर अर्को वर्ष नेपालमै हुँदै छ, अर्को वर्षको एनपीएलका लागि पूर्वाधारहरूको तयारी गर्नु छ आदि इत्यादि ।’
अर्थात् उनी एनपीएलको सफलताबाट उत्साहित मात्रै भएर वा फुर्किएर बसेका थिएनन्, भविष्यमुखी भएर योजना बुन्दै नै थिए । अन रेकर्ड औपचारिक रूपमा यी सब बताएका उनी रेकर्डिङअघि र पछिका अनौपचारिक कुराकानीमा पनि त्यही भनिरहेका थिए । उनमा गौरवभाव हुँदै नभएको होइन, त्योभन्दा बढी भोलिका लागि काफी गम्भीरता थियो ।
३८ वर्षका पारस यसबीच एक–डेढ महिनाको छुट्टी लिएर विदेश सयरमा जान सक्थे, मोबाइल अफ गरेर व्यक्तिगत समय बिताउन सक्थे । तर होइन, उनी एनपीएलजस्तो भव्य क्रिकेट उत्सव सम्पन्न गरेको अर्को बिहानदेखि आगामी वर्ष हुने खेल गतिविधिको काममा हिँडिसके । व्यक्तिको प्रस्तुतिले उसलाई नेतृत्वमा पुर्याउन र नेतृत्वमा टिकाइराख्न धेरै ठूलो महत्त्व राख्छ ।
पारसको प्रस्तुतिमा ठहराव छ, पर्याप्त कुटिलता छ र आवश्यकता अनुसारको स्पष्टता । जस्तो कि एनपीएलपछिको उनको अभिव्यक्ति थियो– क्यान कुनै दलको भ्रातृ संगठन होइन । उनी राजनीतिक दलहरूलाई स्पष्ट सन्देश दिन सफल छन् ।
खेल जीवनमा पनि उनको तरिका उस्तै थियो । खेल जितेको खुसीमा सेलिब्रेट गरेर नसक्दै अर्को खेलको तयारीमा लागिहाल्ने स्वभावले उनको टिमकै साथीहरू पनि कायल थिए । हारपछि दुःख मनाउ गरेर बस्नुभन्दा समीक्षामा उनको ध्यान हुन्थ्यो र लगत्तै आगामी खेलको तयारी । यही स्वभाव र शैलीले हो, उनलाई अरूभन्दा भिन्न स्थानमा उभ्याएको ।
सक्रिय खेल जीवनबाट संन्यास लिएको केही समयमा एमबीए सकेका पारस एनपीएलको गभर्निङ काउन्सिलका संयोजक थिए । पहिलो सिजनमै करोडौंको प्रायोजकलाई लिगसँग जोडे । विश्वभरका दर्शकसम्म नेपाली क्रिकेट पुर्याउन एक्सन स्पोर्ट्समा लिगको प्रत्यक्ष प्रसारण व्यवस्थापनमा पनि उनकै भूमिका रह्यो । विश्व क्रिकेटका लेजेन्ड ब्रायन लारालाई एनपीएलको कमेन्ट्री बक्ससम्म पुर्याउने पनि उनै हुन् ।
अनि पारस उनै हुन्, जो कीर्तिपुर क्रिकेट मैदानमा टिकट नलिई खेल हेर्न आएका दर्शकलाई सम्झाउन गेटमा आफैं उत्रिए । कर्पोरेट नेगोसिएसनदेखि मैदानमा दर्शक व्यवस्थापनसम्म, राजनीतिक नेतृत्वलाई लिगको स्वामित्व लिने गरी मैदानमा उतार्नेदेखि क्लबहरूको स्तर पक्का गर्नेसम्मका कार्यमा क्यानको नेतृत्व गर्ने उनै पारस खड्का हुन् ।
एनपीएलको सफलताको जस धेरैले उनैलाई दिए । सामाजिक सञ्जालमा ‘राइट म्यान, राइट प्लेस’ भन्दै पारसको गुनगान गरियो । कतिले उनैलाई ‘प्लेयर अफ दि सिरिज’ भने । तर, यो सफलताका लागि बधाई दिँदा उनको जवाफ भिन्न छ, ‘बधाई तपाईंलाई पनि । बधाई सबैलाई, बधाई नेपाली क्रिकेटलाई ।’
उनी सिङ्गै क्यान, लिगमा सहभागी सबै टिम र खेलाडीदेखि हरेक दिन खेल हेर्न आएका दर्शक, विभिन्न माध्यमबाट खेल हेरेका र चर्चा गर्नेकै कारण लिग सफल भएकाले त्यसको जस सबैमा भाग लगाउँछन् । ‘त्यही हुन् पारस, त्यस्तै हुन् पारस,’ उनलाई नजिकबाट चिन्नेहरू सुनाउँछन् ।
पारसको विश्वास छ, सफलता भनेको इन्स्टाग्रामको स्टोरीजस्तै हो, जुन २४ घण्टाभन्दा बढी टिक्दैन र हरेक २४ घण्टामा अर्को कदम नचाल्ने हो भने सफलताको अर्थ हुँदैन । अर्थात्, निरन्तरताबाहेक सफलताको अर्को कुनै विकल्पै छैन । पारसको त्यही निरन्तर लागिरहने गुणले उनलाई लिडर बनाएको छ, नेपाली क्रिकेटमा अविराम कप्तान बनाएको छ ।
