मार्खेजको उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ दृश्यभाषामा आउँदा झन् रहस्यमय बनेको छ । पहिलो भागको समापन त्यहाँ भएको छ, जहाँ उर्सुला आफ्नी आमाले कल्पना गरेको अनिष्ट–कथा सही सावित भएको सोच्छिन् र भावविह्वल हुन्छिन् ।
काठमाडौँ — अनौठो संयोग छ– मार्खेजको जीवन र उनको उपन्यास ‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ बीच । उपन्यासको अग्रज पात्र वयस्क उमेरमा स्मरणशक्ति गुमाउन पुग्छ । मार्खेज पनि डिमेन्सिया अर्थात् स्मृति घट्दै जाने रोगबाट ग्रसित थिए जीवनका अन्तिम वर्षमा । यो उपन्यासभित्र थुप्रै संयोग र पूर्वाभासका सन्दर्भ दोहोरिरहन्छन् ।
साहित्यिक हस्ती मार्खेजको कृतिमाथि सिनेमा बनाउन चाहनेको कमी थिएन । तर, सिनेकर्मीका प्रस्तावलाई मार्खेजले जीवनभर महत्त्व दिएनन् । उपन्यासलाई पूरै न्याय गर्ने, कोलम्बियामै छायांकन गर्ने अनि कलाकारसमेत कोलम्बियाका हुने र स्पेनी भाषाकै संवाद रहने पक्कापक्की गरेपछि उनका छोराहरू यो उपन्यासको दृश्यांकनका लागि सहमत भए ।
‘वन हन्ड्रेड इयर्स अफ् सोलिच्युड’ सन् १९६७ मा प्रकाशित भयो । साढे पाँच दशकपछि श्रव्यदृश्यमा आएको छ । यस शृंखलामा आठ भाग समावेश छन्– एक एक घण्टाका । शृंखलाबारे निर्देशक लाउरा
मोरा भन्छिन्, ‘सिनेकर्मी, अझ कोलम्बियाली हुनुका नाताले यो उपन्यासलाई दृश्यांकन गर्ने काम गौरव र चुनौती दुवै हो । साहित्यिक र श्रव्यदृश्य दुई माध्यमका पृथक्ता पहिल्याउन, अनि सारा संसारलाई लठ्याएको यो कृतिको सौन्दर्य, काव्यिक–भाव र गहिराइ कायम राखेर बिम्ब बुन्न पूरै प्रयत्न गर्यौं ।’
सृजनात्मक स्वतन्त्रता त थोरबहुत प्रयोग भयो होला दृश्य माध्यममा आउँदा, तर उपन्यासलाई अक्षरशः प्रयोग गर्ने इमानदार प्रयत्न भएको छ । किताबका कुनै संवाद छुटेका छैनन् । कथानकलाई दर्शकमाझ सहज बनाउन कसिलो पटकथा तयार पारिएको छ, उसरी नै उपयुक्त संवादसहित ।
उर्सुला र होजे आर्काइयो उएन्दोको जोडी पारिवारिक र सामाजिक अनुमोदनबिनै बिहे गर्छ । उनीहरू नजिकका नातेदार हुन्छन् । अनिष्ट हुने डरले उर्सुलाकी आमाले बिहेको अनुमति नदिएपछि यो दम्पती आफ्नो थातथलो छोड्छ, साथीभाइ र दलबलसहित । कैयौं वर्षको कठिन यात्रा र खोजीपछि निर्जर बस्तीमा पुग्छन् उनीहरू । थाक्छन्, गल्छन्, धेरैजसो साथीसंगी बिमारी पर्छन् ।
एकदिन होजे आर्काइयोले सपनामा समाधान भेट्छ । निर्णय लिन्छ– अब अरू नभौंतारिने, त्यही बस्तीमा आवादी गरी बस्ने । बस्तीको नामकरण गर्छ– म्याकोन्दो । त्यहीं पसिना बगाउँछन्, परिश्रम गर्छन् । छोराछोरी त्यहीं जन्मिन्छन् । म्याकोन्दो मार्खेजको एउटा काल्पनिक सहर हो । उनी जन्मेको र बाल्यकाल बिताएको आराकाटाका सहर नै म्योकोन्दो सहरको काल्पनिक निर्माणको आधार बनेको थियो ।
प्रत्येक साल आउने जिप्सीहरूका चामत्कारिक उपकरण र अनुसन्धानले होजे आर्काइयो मुग्ध हुन्छ । विभिन्न प्रयोग गरिबस्छ, खोज अनुसन्धानमै डुबिरहन्छ । घरव्यवहार सबै उर्सुलाले सम्हाल्छिन् । चुम्बक, कम्पास, टेलिस्कोप, फोटो खिच्ने मसिन, पाइप जस्ता उपकरण जिप्सीहरूले भित्र्याएका हुन्छन् । वैज्ञानिक उपकरण प्रयोगबाट सुन निकाल्ने र धनी हुने कल्पना गर्दै मेल्क्वेयेलाई ग्रु थापेर प्रयोगशालामा हराउन थाल्छ होजे आर्काइयो ।
उपन्यास र दृश्यका सिलसिला भने हुबहु मेल खाँदैनन् । दृश्यमा जिप्सीमध्येको अगुवा पात्र, मेल्क्वेयेको आगमन भएको छ धेरै पछि– म्याकेन्दो बस्ती बसेपछि । जबकि उपन्यासमा यसको वर्णन प्रारम्भमै गरिएको छ । घटनाको वर्णन कान्छो छोरा औरिल्यानोले गर्छ फ्ल्यासब्याकमार्फत–उपन्यास र दृश्यमाध्यम दुवैमा । भविष्यमा हुने घटनाबारे पहिल्यै थाहा हुन्छ उसलाई । दोस्रो पुस्तामा आइपुग्दा यो परिवारमा प्रेम, धोका, बदला, ईष्याले सम्बन्धमा भयानक सकस थपिदिन्छ । काटमार तथा युद्घका घनिभूत आयाम मडारिन थाल्छन् म्याकोन्दोको आकाशमा ।
सपना सशक्त माध्यम छ कथानक रहस्यमय बनाउन । बाबु होजे आर्काइयो उएन्दो, कान्छो छोरो औरिल्यानो र छोरी रेबेका तीनै जना बारम्बार सपनामार्फत झस्केका छन्, उत्साहित पनि बनेका छन् । हल्लिने कुर्सी, आलो रगत, आगोका लप्का, हावाहुरीको सरसराहट, निस्सिम अन्धकार यस्ता बिम्ब हुन्, जुन नाचिबस्छन् दर्शकका आँखामा ।
पहिलो शृंखलाको अन्त्यतिर उर्सुलाको जेठो छोरो मर्छ । उसको शरीरबाट बगिआएको रगतको मसिनो धारा सर्पझैं नागबेली यात्रा गर्दै उर्सुलाको खुट्टामा पुगेर थामिन्छ । यो बिम्बात्मक दृश्य भयानक त छ नै, उत्तिकै कलात्मक पनि ।
कान्छो छोरो, दुई छोरीहरू अनि आमा पात्रको उपस्थितिमा मौनताले धेरै ठाउँ पाएको छ । लाग्छ, शृंखलाको एक पात्र नै हो मौनता । उनीहरू नबोलीकनै आँखा, अनुहारको हाउभाउ र चालढालबाट धेरै अव्यक्त विषय प्रकट गरिरहेका हुन्छन् । साह्रै रहस्यमयी बन्न पुग्छ परिवेश । दृश्य यति बलियो गरी प्रस्तुत भएको छ कि संवादको कम प्रयोग गर्दा पनि कथा बुझिन्छ । तर्साउने दृश्यहरू सतहमा छाउँछन् नियमित अन्तरालमा । मौनताले त्यसलाई अझ बढाउँछ । अन्धकारले अरू रहस्य थप्छ । यस्तैमा अत्यासलाग्ने संगीत बज्छ ।
हरर सिनेमा भन्दा बढी सन्नाटा छाउँछ, गहिरो त्रासको तलाउमा पुर्याउँछ । यस शृंखलाका पछिल्ला दुई भाग पूरै लडाइँमा केन्द्रित छन् । स्वतन्त्र म्याकोन्दो सहरमा धर्म पस्छ पहिले, अनि चर्च ठडिन्छ । सरकार, कानुन, बैंक, सुरक्षाकर्मी, जेल आदि नियन्त्रण संयन्त्र स्थापित हुन्छन् । म्याकोन्दोको स्वतन्त्रता संकुचित हुन्छ । उपनिवेशवादको गाढा छाया छ यहाँ ।
स्वतन्त्र म्याकोन्दो राज्य, प्रशासन, कानुन, जेल, चर्चको अधीनस्थ रहनु त्यही आन्तरिक उपनिवेशवादसँग जोड्न सकिन्छ । होजे आर्काइयो असहज बन्छ, बिस्तारै उद्दण्ड पनि । त्यसपछि ऊ विस्मृतिमा पुग्छ । कटुसको रुखमा बाँधिएको होजेको विस्मृति र निरर्थकता आफैंमा बलियो प्रतिरोध हो यथास्थितिवाद विरुद्घको । स्वतन्त्र सहर म्याकोन्दो बनाउने अगुवाकै पछिल्ला दिनहरू एकान्तमा अनि बन्धनमा समेटियो ।
बस्ती त व्यवस्थित बन्यो, तर बिस्तारै छिन्नभिन्न हुँदै गयो । उर्सुलाको धैर्य र सुझबुझले नयाँ, आकर्षक र फराकिलो आवास त बन्यो, तर घर द्वन्द्वको थलो हुँदै गयो । शान्ति र सौहार्दको सानो अंश पनि बाँकी बसेन । दिदीबहिनीबीचको बेमेल र ईर्ष्या, जथाभावी यौनसम्बन्ध र बिहेबारीले हल्लिएको घर छ एकातिर । अर्कोतर्फ छ– कट्टरपन्थी सरकारी संयन्त्रको बढ्दो बर्बरता । एक–एक गर्दै घरका सदस्य बाहिरिन्छन्, कोही मारिन्छन् । यसरी एकान्त धेरै पात्रको नियति बन्न थाल्छ । यहाँनिर किताबको शीर्षकसँग दृश्यात्मक तादात्म्य थपिन पुग्छ ।
पार्श्व स्वर अर्थात् भ्वाइस–ओभरको नियमित प्रयोग छ यो दृश्य–शृंखलामा । दृश्यमा देखाउन नसकिने घटनालाई यही कथानकबाट दर्शकसामु राखिएको छ । यथार्थ र स्वैरकल्पनाबीच घुमिरहन्छ कथावस्तु । घटनाहरूको यो संयोजन मोहक छ । मिथक, दन्त्यकथा सँगै निकट इतिहास र समकालीन राजनीतिसमेत जोडिन्छ ।
जादुमय यथार्थवादका जनक हुन् मार्खेज । उनकै उपन्यास दृश्यभाषामा आइपुग्दा रहस्यले भरिभराउ नहुने कुरै भएन । पहिलो भागको समापन त्यहाँ भएको छ, जहाँ उर्सुला उनकी आमाले सोचेको अनिष्ट अवस्था सही सावित भएको ठान्छिन् र भावविह्वल बनेकी छन् । कान्छो छोरो उनकै सहर म्याकोन्दोमाथि हमला गर्न हतियारधारी दस्तासँगै छिरेको छ ।
मार्खेजको किताबलाई हुबहु दृश्यचित्रमा उतार्दा डिजिटल पर्दामा सेक्सका दृश्यलाई पनि उत्तिकै प्रधानता दिइएको छ । उर्सुला र होजे आर्काइयो उएन्दाका यौन क्रीडारत गतिविधिले सुरुको खण्डमा स्थान पाएका छन् । पछि छोराछोरी पुस्ताका यौन क्रियाकलापले मनग्ये स्क्रिन स्पेस पाएको छ । प्रेम, यौन र वैवाहिक सम्बन्ध सहज र सरल रेखामा छैन । जेठो छोरा आफ्नै बैनी रेबेकासँग घरजम गर्छ । दाजुभाइ नै स्थानीय भविष्यबेत्ता महिला, पिलार टेर्नेलासँग सम्भोगरत भेटिन्छन् ।
यसरी जन्मेका बच्चाहरू उएन्दा परिवारमा उर्सुलाको देखभालमा हुर्किन्छन् । कान्छो छोराले नगरप्रमुखकी उमेर नै नपुगेकी छोरीलाई बिहे गर्छ । प्रेम र शारीरिक सम्बन्ध कुनै सीमा/बन्देजमा बाँधिँदैनन् । श्लील/अश्लील, नैतिक/अनैतिक पाटाका सबै पर्खाल भत्किएका छन् । कथित सामाजिक मर्यादाको नजरले हेर्ने हो भने त किताबको जग कमजोर अनि कामुक भन्न सकिएला ।
यसको सार प्रस्तावना नै खारेज होला । तर, समाजमा सबै आदर्श र स्वीकार्य घटना त हुँदैनन् । फेरि कला–साहित्यले बन्देज मान्दैन, सबै निषिद्घतालाई नाघ्छ । नेपथ्यमा घटित ती सबै अँध्यारा/उज्याला पाटालाई उधिन्छ । भ्लादिमिर नोवोकोभ, गुस्ताभो फ्लुभर्ट, डी.एच. लरेन्स, सआदत हसन मन्टो, इसमत चुक्ताई आदि लेखकका सृजना पनि उनीहरूको समयमा निषिद्ध मानिए, प्रतिबन्धमा समेत परे । मार्खेजको यो सृजनालाई पनि यौनका घनिभूत सन्दर्भका कारण सुरुमा खारेज गरियो ।
दृश्य र ध्वनिका प्रभाव मनमा गढिरहन्छ । रंगको उपस्थिति गोचर छ । सरकारी दस्ताले म्याकोन्दाका जनतालाई आफ्नो घरमा अनिवार्य रूपमा नीलो रंग पोत्न आदेश दिन्छ । अर्कोतर्फ विद्रोही समूहको अगुवाले उसको पार्टीको रंगले घर सजाउन उर्दी गर्छ । यही रंगको रस्साकसीमा म्योकोन्दावासी पिल्सिएका छन् । दिनदहाडै उनीहरू मारिन्छन, महिलाहरू बलात्कृत हुन्छन् ।
यसै अनिश्चिततामा अर्को क्रान्तिकारी समूहको उदय हुन्छ । कान्छो छोरा औरिल्यानोले यसको नेतृत्व गर्छ । अब ऊ कर्नेल औरिल्यानो उयन्दो कहलिन्छ र निरन्तरको लडाइँ, आक्रमण र तहसनहसबाट दिक्क छन् म्याकोन्दोवासी । कुनै पक्षबाट केही आशा बाँकी रहँदैन । राजनीति नै एउटा महाव्याधि बनिसक्यो– उर्सुलाको यो अभिव्यक्तिमा, त्यही निराशाको गाढा रंग पोतिएको छ ।
विभिन्न समूहबीचका लडाइँ, काटमार अनि सत्ताको नजिक हुन गरिने वार्ता र सम्झौताले लामो समयदेखि द्वन्मा फसेको कोलम्बियाको चित्र हाम्रो सामुन्ने आउँछ । कोलम्बियाको युद्घरत सरकारी पक्ष, फार्क विद्रोही र अन्य ससाना समूह स्मृतिमा छाउँछन् ।
यो शृंखलाको अन्त्यतिर आइपुग्दा होजे आर्काइयो उएन्दाको मृत्यु हुन्छ । नयाँबस्ती म्याकोन्दोको परिकल्पनाकार, विस्तारकको अन्त्येष्टिका दिन म्याकोन्दोका सडक, छत, गल्ली सबैतिर पहेंलो रंगको वर्षा हुन्छ । पहेंलो रंगको परम्परागत संकेत हो रोग र मृत्यु । अभिभावक गुमाएको सहर शोकमा डुबेको र अरू अनिष्टको पूर्वसंकेत सहजै दर्शकको कल्पनामा छाउँछ । केही रहस्य भने कायमै रहन्छ दर्शक मनमा । संस्कृतमा लेखिएका पन्नाहरू पल्टिरहेको भेटिन्छ प्रारम्भमा । अन्त्यमा पनि त्यही देवनागरी लेखाइका संस्कृत वाक्य दृश्यमा छाउँछन् ।
यो दृश्यांकनले तीन पुस्ताको कथा भन्छ । चार पुस्ता बाँकी नै छ समेटिन । उपन्यासको आधा अंश पनि छिचोलेको छैन पहिलो दृश्य–शृंखलाले । दोस्रो भागको काम पनि अगाडि बढिरहेको खबर छ, चाँडै हेर्न पाइनेछ । उएन्दा परिवारको बर्बादी, अरू अनिष्ट, अरू सामाजिक राजनीतिक तिकडम र रहस्यको पेटारो खोलिनै बाँकी छ । यही उपयुक्त समय हुनेछ– उपन्यासको अथेन्टिक अध्ययन गर्ने र मार्खेजको म्याजिकल रियालिजम अनुभूत गर्ने ।
