सिमसारामा झरेका स्वप्नफूल

एक किशोरको अधबैंसे आँखाबाट हेरिएको कथा हो– सिमसारा । यो केवल ‘योङ एडल्ट लिटरेचर’ होइन । यसले पारिवारिक सम्बन्धका आयामहरू देखाएको छ 

पुस १३, २०८१

राजकुमार बानियाँ

Dreamy flowers that fell in the wetlands

काठमाडौँ — लोकल सन्देश’ नामक समाचार पोर्टलको ‘धाँजा फाटेको सिमसारा’ शीर्षकले नयाँ किताब नपढ्ने मेरो हठ भङ्ग गरिदियो । समाचारको प्रारम्भमा नै ‘सिमसारा’ उपन्यास र उपन्यासकार बसन्त बस्नेत चर्चित भइरहँदा औपन्यासिक भावभूमिको पीडा बेखबर रहेको लेखिएको रहेछ ।

पेटबोलीमा इलामको सीमान्त गाउँ फाकफोकथुम गाउँपालिका–६ (साविक चमैता ९) का असोजको भेल–पहिरोबाट विस्थापित परिवारको दुखेसो छ । 

अब छर्लङ्ग भयो, सिमसारा कुनै कल्पित गाउँ होइन । कथा पनि अरू कसैको होइन, लेखककै जीवनको छाया–प्रतिच्छाया हो । ‘सिमसारा’ लोकार्पण कार्यक्रममै उपन्यासकारले बाल्यकालमा देखेभोगेको आफ्नै कथालाई हृदय निचोरेर लेखेको सुनाएकै थिए । लेखकले असम्बद्धभन्दा सम्बद्ध सामग्री लेख्नु उचित हो । तर, सबै लेखकले आफ्नै कथा मात्र लेख्ने हो भने लेख्न नजान्ने भुइँमान्छेका कथा कसले लेखिदिने ?

फजुल भूमिका नबाँधीकन भन्ने हो भने मलाई त्यही बेनामे समाचारले ‘सिमसारा’ पुर्‍यायो । राजधानीको त्यही लेखकीय बोलीले ‘सिमसारा’ घुमायो । आइन्दा कुनै जडसूत्रवादी समीक्षा नलेख्ने भन्दाभन्दै समीक्षाजस्तो केही लेखायो । उपन्यास पढेर धेरथोर द्रवित पनि बनायो । चमैतामा त हालसालै बेमौसमी पहिरो गयो, लेखकको जीवनमा त मौसमी अनि बेमौसमी पहिरो उहिल्यै गएको रहेछ । 

सुरुवातमा मैले ‘सिमसारा’ को पात्रसूची बनाएँ । त्यसमा अतिरिक्त तीन पात्र थपें– पैयुँ, चिबे चरो र गोगन । अध्यायपिच्छे आइरहने रहस्यमयी पात्र हो, पैयुँ । त्यो हिउँदे रानी फूल घरछेउ आँगनको डिलमा एक्लै ठिङ्ग उभिएको छ । तर, उपन्यासमा भने हल्का गुलाबी–सेतो झुप्पामा फुल्नै भुलेको छ । सक्रक्क सुकेजस्तो देखिने पैयुँलाई कुनै आँधीहुरीले हल्लाउन सकेको छैन ।

त्यसमा उपन्यासकी सुर्ती खाने आमा पात्र मन्दाक्रान्ताको प्रतिच्छाया छ वा अझ भनौं, उपन्यासकारको आत्मा पनि त्यसमै छ । त्यो पात्रले केही नबोलीकन वा कतै नगईकन पनि जीवनका ऊहापोह झल्काइरहेको छ । फुलेर, झरेर, मुर्झाएर प्रकृतिको मुक भाषामा आफ्नो कथा बोलिरहेको छ । 

‘अग्लो बोटबाट पैयुँका दानाहरू धरतीमा टप्किनुअघि हावामा ससानो असर छाड्दै झर्छन् । त्यसको आवाज कसले सुन्छ ?’ वास्तवमा त्यो धिकिर–धिकिर सुन्ने सामर्थ्य लेखकहरूमा मात्रै हुन्छ । उनीहरूले संवेदनाको आवाज पक्रन सक्छन् । यस्तो लाग्छ, सञ्जीव उप्रेतीहरू भएको भए पैयुँध्वनि सुनेर पक्कै मर्मभेदी संवाद गराउँथे । तिनलाई थप भूमिका दिन्थे । यस प्रकरणमा बसन्त बस्नेत कट्टर सामाजिक यथार्थवादी ठहरिए । 

चिबे चरोलाई पनि मैले पात्रकै रूपमा पाएँ । कुखुराका चल्ला उडाउने सिकारी चिललाई टाढाटाढासम्म खेद्ने त्यो चरोको बिम्ब शक्तिशाली छ । उपन्यासकी पात्र इस्वी कार्कीले भनेअनुसार त्यो छिटो उड्ने पहाडी पन्छीले दुई ठाउँमा गुँड लगाउँछ ।

उपन्यासको भाषामा भन्ने हो भने खावामा एउटा गुँड, सिमसारामा अर्को । एउटा पैयुँको हाँगामा, अर्को उन्युँको झाङमा ? अझ त्यो चरोले त गुँड लाउनै पर्दैन रे, अरूले खुसी–खुसी बस्न दिन्छन् अरे । त्यो चिबे चरो बाबु पात्र धनरूपसँग मिल्दोजुल्दो छ । उसले मन्दाक्रान्तासँग बस्दाबस्दै ‘सिमसारा’ की छायादेवीसँग दोहोरो घरबार बसाएको छ । 

गोगनलाई पनि ‘सिमसारा’ को अतिरिक्त पात्र नै मानेको छु मैले । ठुल्ठूला पात हुने पतझर घाँस गोगनमा पनि धनरूपकै जीवनचिह्न छ । एउटै ऋतुमा तर अलगअलग हावापानीमा फुल्ने गोगन र पैयुँजस्तै छन्, घुसघुसे धनरूप र बोलाकी मन्दाक्रान्ता ।

उनीहरूबीच दबाब वा प्रभावमा विवाह भए पनि मिल्तीजुल्ती छैन । पात्रसूचीमा संख्या थप्ने हो भने भालालाई पनि पात्र माने हुन्छ । चिहानघारी छेउको एकलासको घरमा मन्दाक्रान्ताको सबैभन्दा भरपर्दो साथी वा रक्षक त्यही हतियार हो । मन्दाक्रान्ताको ओछ्याननजिकै उसको स्थान छ । 

उपन्यास मैझारो गरेपछि एक पटक आवरण नियालें । किताबको भन्दा किताबकारको फन्ट घन्टाउके भएको भनेर बदनाम आवरणमा यी कुनै पनि मानवेतर पात्रको छेकछन्नै छैन । उपन्यास राम्ररी नपढीकन आवरण टल्काएकामा आफैंसँग खेद मानें । पाठक बुबुरोले गर्न सक्ने यत्ति त हो । चर्किएको माटे भित्तो र बन्द झ्यालले एउटा उदासी संसार देखाएको छ । जब कि अन्तिम पानामा मन्दाक्रान्ताले झ्याल खोलेर बदलिँदो मौसमको स्वागत गरिसकेकी छे । 

आमा, बाबु र छोराको परिवार बिछोडिएको कथा छ यसमा । बहुविवाहको कम्पनले सम्बन्धको गाँठो फुस्केको छ । सानोतिनो आँधीहुरीमै ढल्ने सम्बन्ध, के सम्बन्ध ? ढलेर उठेको पो घर । ढलेपछि त खण्डहर । उपन्यासको कथावाचक एक स्वप्निल किशोर संवत् क्षेत्रीको जीवनमा भावनात्मक उथलपुथल छ ।

कहिले टिठलाग्दो, कहिले मायालाग्दो, कहिले झर्कोलाग्दो पनि । तर, उसले आमा र बाबुको छुटानाम प्रकरणमा एकखाले तटस्थभाव राखेको छ । सिमसारामा एक पटक मारमुंग्री गरौं कि क्या हो भन्नेबाहेक ऊ प्रायः संयमित छ । कान्छेमा च्याप्ने बाबुमा उसले खलनायकी देखेको छैन । न त कान्छेमासँगै असन्तुष्ट छ । आमासँग त गुनासो हुने कुरै भएन ।

उपन्यासमा संवत् बाबुआमाको अति मायाप्रीति पनि रुचाउँदैन, एकार्कासँग छुटेर बसेको पनि निको मान्दैन । आमा र बाबुबीचको दूरीबीचमा उसले इस्वीसँग काल्पनिक घरसंसार बसाएको छ । उसको घरचिन्तन छ, ‘मन मर्‍यो भने माया मर्छ । माया मरेको घर चिसो हुन्छ । चिसो त चिहानघारी पो हुन्छ । चिहान घरजस्तो हुँदैन, घर चिहानजस्तो हुँदैन । ...घर त्यो हो, जहाँ मानिसहरूले जिउ होइन, हृदय राखिदिन्छन् ।’

संवत् एसएलसी त सेकेन्ड डिभिजनमा पास भयो । तर आमा, बाबु र कान्छेमा सँगै बसे हुन्न भन्ने उसको मध्यमार्गी प्रस्ताव पूरै फेल भएको छ । सिमसाराको कमलको दलदलमै इस्वीलाई छाडेको छ । एउटै घरको धुरीमुनि बाबुआमालाई राखेर दुवैको छहारी पाउने सपना पूरा भएन, न त इस्वीसँगको प्रेमलाई नै टुंगोमा पुर्‍याउन पायो ।

नयाँ साइनोमा इस्वी सानिमा पर्छे भन्नेबित्तिकै उसले पिरतीको स्वप्नमहल एकातर्फी ढालिदिएको छ । त्यो प्रेम नभएर काँचो बासना वा क्षणिक आकर्षण पो थियो कि ? माया ढिलोचाँडो मर्छ, मरेकै हुन्छ भन्ने हैसियत सायद उपन्यासकारकै आशीर्वाद हो । कतिपय ठाउँमा संवत् उपन्यासकार मुखपात्र मात्रै बनेको भान हुन्छ । 

Dreamy flowers that fell in the wetlands

बाबु पात्र धनरूपले आफूलाई घरको मूलखाँबो सावित गर्न सकेको छैन । मूलखाँबोले त कोठाचोटा, छाना, अटाली, कौसी, दलिन, झ्याल, ढोका सबैलाई समेट्नुपर्ने हो । तर, हुलाकी धनरूप जागिर सरुवा भएको गाउँमा आफूभन्दा दोब्बर कान्छी उमेरकी युवतीको अँगालोमा अलमलिएको छ ।

उसमा आफूभन्दा जेठी स्वास्नी र किशोर छोराप्रति लगाव छैन । नवविवाहिता कान्छीसँग पनि उस्तो लगाव छैन । बाल्यकालमै मातृवात्सल्य खोसिएको ऊ कुनै पनि सम्बन्धप्रति निश्चिन्त छैन । 

त्यसो त मानिस मन कानुनको कठपुतली होइन । विवाह संस्थामा व्यक्तिको स्वतन्त्रता अकुण्ठित रहन सक्दैन । पटके सम्झौताले त्यसको करार थप्ने मात्र हो । तर, धनरूपले व्यक्तिगत खुसीका लागि स्वतन्त्रताको मनमौजी उपयोग गर्दा संवत्को हक अकण्टक हुन सकेको छैन ।

धनरूपको मनोवैज्ञानिक अवस्था ज्यादै नाजुक छ । दुई दिन पानी नहाले ओइलाउने गमलाको बिरुवा जस्तो । उसले आफ्नै नाममा चिठी पठाएको छ, ‘लेकमा बनाएको घरले मलाई जीवनमा सुख दिए जस्तो लाग्दैन । के पाइन्छ र घर बनाएर ? अझ यस्तो मुर्दा लेकमा ।’ सायद यो विवाह संस्था र घरको अवधारणाप्रति उसको असहमति हो ।

घरको मूलखाँबो वा हात्तीपाइले पिल्लर जस्तो त बरु मन्दाक्रान्ता नै देखिन्छे । ऊ कहिलेकाहीं बिथोलिएकी छे, फेरि सम्हालिएकी छे । वास्तु नमिलेको चिसो घरलाई बिजुवा, जोगी र ज्योतिषमार्फत न्यानो पारिरहने सूत्र खोजिरहेकी छ । अदालत र जनअदालतको न्यायसीमा बुझेर आफ्नो फैसला आफैं गरेकी छ । सायद त्यही हो पैयुँको परिपाठ ।

कथित जनसरकारको भाटे कारबाही हुनुभन्दा पहिले नै सौता बनेर आएकी दोजिया महिलालाई तीन हजार खर्च दिएर खतमाफी दिने बडेमा भावना उसले देखाएकी छ । त्यो ज्यादै भावुक क्षण पनि हो उपन्यासको । एकबारको जिन्दगीमा पटके विवाद, झैझगडामा रुमल्लिनुभन्दा स्थायी युद्धविराम अनि लोग्नेले फिर्ता गरेको पाते बुलाकी अस्वीकार गरेर उसले आफूलाई बोल्ड सावित गरेकी छ । त्यो निर्णय गाउँ, समाज अनि जनसरकार सबैका निम्ति अपत्यारिलो भएको छ । उसले पित्तृसत्ताको निर्ममताविरुद्ध प्रत्यक्ष लडेकी छैन, तर त्यसका कुरूपताहरू भने डल्लै देखाइदिएकी छ । 

जर्ज मुर के भन्छन् भने उपन्यास भनेको समकालीन इतिहास हो, सामाजिक परिवेशको पुनर्निर्माण हो । तर, यो उपन्यासले जे भएको हो, त्यसमा चित्त बुझाएको छ । लेखक अदालत/जनअदालतले नदिलाएको न्याय दिने न्यायाधीश बनेर आएका छैनन् । हरेक पाठकसँग न्यायिक मन हुन्छ । अब यस्तो हुँदैन, म त्यसो गर्दिन भने पनि पुगिहाल्छ ।

त्यसो त उपन्यासमा घरलाई केही नहोस्, परिवार मिलेर बसोस्, भन्ने आदर्श कतै न कतै छ । तर, नियतिसामु प्रायः पात्र पराजित छन् । जय–पराजय, स्वीकृति–अस्वीकृति, संयोग–वियोग नै जिन्दगी हो भन्ने मान्न विवश छन् । आँट, झ्वाँक र हिम्मतले मात्र जीवन चल्दैन, जीवनमा सन्तुलन निकै ठूलो कुरा भन्ने सन्देश पनि यसमा छ । पारिवारिक विखण्डन जतिसुकै कठोर होस्, त्यो तीतो सामाजिक यथार्थ हो ।

सिमसारा यस्तो दलदल हो, जहाँ बाबुछोरा दुवै फसेका छन् । संवत्ले नाटकीय रूपमा सानिमा भएर देखापरेकी इस्वीलाई छोडेर नियतिसँग सम्झौताको हात बढाएको छ । यो नै उपन्यासको उत्कर्ष हो, अर्थात् ‘सिमसारा सम्झौता’ ।

स्वास्नी, छोराछोरी भएको पुरुषसँग घरजम गरेर छायादेवी उर्फ कान्छेमा नक्कली, सरमछाडा, बाइफालेका रूपमा बदनाम भएकी छ । जसलाई माया गर्छे, उसलाई पाएकी छ । तर जसलाई माया गर्छे, ऊ उसको मात्र होइन । जोसँग विवाह गरे उसको घर भत्किन्थ्यो, बिहे नगरे आफ्नै जीवन । 

एक किशोरको अधबैंसे आँखाबाट हेरिएको कथा हो, ‘सिमसारा’ । यसमा किशोर मनोविज्ञान प्रशस्त छ । तर, यो ‘योङ एडल्ट लिटरेचर’ मात्रै होइन । यसले पारिवारिक सम्बन्धका आयामहरू देखाउन खोजेको छ । तर, कसको कारण सुन्दर घर खण्डहर भयो ? उपन्यासमा कसैमाथि किटानी जाहेरी दिइएको छैन । यसमा पाठकगण निश्चिन्त भए हुन्छ । कसै न कसैको गल्तीले नै त यो उपन्यास तयार भयो । 

कसको दोष, कति दोष ? एउटाको आँखाले हेर्दा कोही दोषी हुन्छ भने अर्को आँखाले हेर्दा अर्कै दोषी हुन्छ । पात्रलाई दोष दिने काम लेखकको हुँदै होइन । आफैंले सिर्जना गरेका पात्रमा पनि कसैको पक्ष लिने, कसैको विपक्षमा उभिने काम ज्यादै निकृष्ट हुन्छ । 

हिजोआज यस्तो दोष दिने काम राजनीतिको हो । विरोध वा समर्थन लेखकको होइन, कार्यकर्ता वा भक्तजनको काम हो । तर, प्रगतिवादी भनिने साहित्यमा त्यो रुढोक्ति दोष छ, सदैव रहिरहनेछ । मलाई बसन्त बस्नेतको यही उपन्यासकारिता प्रिय लाग्छ ।

पाना ५२ र ५३ मा बाबु–आमाको यौनजीवनसमेत लेखेर कुनै प्रगतिवादीले गर्न नसकेको दुस्साहस उनले गरेका छन् । टाँडको रात्रिकालीन होहल्ला हदै कामोद्दीपक छ । दृश्यबिना आवाज र कम्पनको मापन किशोरमार्फत गरिएको छ ।

उपन्यासकारले पात्रको नाममा निकै परिश्रम गरेको जस्तो लाग्छ । एक अनपढ महिलाको नाम मन्दाक्रान्ता राखेका छन् । मन्दाक्रान्ता सत्राक्षरी पाउ भएको छन्द हो । तर, उसको जीवनमा छन्दै छैन । उबडखाबड मात्र छ । हाँसीखुसी जिउनै पाएकी छैन । संवत्को भेट इस्वीसँग गराएका छन् । तर, प्रेम फक्रिन नपाउँदै इस्वी र संवत्लाई अलग गराएका छन् । उपन्यासकार विक्रम संवत् पक्षका पो हुन् कि ?

उम्दा उपन्यासकारले अनुभवी र अनजान दुवै ठाउँको बारेमा लेखेर पनि चमत्कार गर्न सक्छ । ‘महाभारा’ होस् कि ‘सिमसारा’, बसन्तले इलाम–पाँचथरलाई औपन्यासिक दशगजा बनाएका छन् । उनका पात्रहरू त्यो भूगोल छाडेर कतै जाँदैनन् । लोकल लोक लहजामै बोलिरहेका हुन्छन् । उनका पात्रहरू माओवादी ‘ह्याङओभर’ मुक्त पनि हुन सक्दैनन् । लिम्बुवान घटकहरूको राजनीतिक ‘रोमान्टिसिजम’ पनि उनका उपन्यासको स्थायी अंग नै भने भयो । कुनै दिन ‘अश्रुधारा’ मा बन्दुकसहित मोटे कामरेड अणु, पातले कमरेड परमाणु माओवादी छापामार, कमिसार उभिएनन् भने बरु विस्मय होला । 

पूर्वी पहाडको फक्ताङलुङ, मकालु टल्केको, माइबेनी बगेको चारखोलाको आञ्चलिक रङ मजाले पोतिएको छ उपन्यासमा । खोंगी, खोल्मा, मिल्के घडी, चौधकाँटे जुत्ता, धर्के सर्ट, पाते बुलाकी, फुप्पे आदि शब्दभण्डारमा बिछट्ट रमणीयता छ ।

संस्मरणात्मक शैलीमा लेखिएको यो उपन्यासको कथाविन्यास साधारण नै भए पनि असाधारण शिल्पले सम्मोहित बनाउँछ । अझ भनौं, २२ क्यारेटको विषयलाई २४ क्यारेटमा लैजान सक्नु सामान्य होइन । विमुग्धकारी र सूक्तिमय संवादहरू प्रशस्त छन् । त्यसले उपन्यासको सान, मान, सौन्दर्य र गुणवत्ता बढाएको छ ।

बसन्त बस्नेत हस्याङफस्याङको पेसा खबरकारिता गर्छन् । धपेडीको बीचमा फुर्सद निकालेर दुइटा चिल्लापाते उपन्यास दिएका छन्, त्यसमा पनि शैलीको मखमली मादकता दिएर । ‘सिमसारा’ मा तप्केको कविहृदय साँच्चै सलामयोग्य छ ।

पछिल्लो छिमलका उपन्यासकारमा बुद्धिसागरपछि बसन्तको वर्णनशैली महकिलो छ । शब्दहरूमार्फत च्याब्रुङ नृत्य अनि पालम गायन गर्न सक्ने दुलर्भ सामर्थ्य छ उनमा । यस्ता दुई–चार जना लेखक भए नेपाली उपन्यास तंग्रिने सम्भावना हुन्छ । उम्दा आख्यानशिल्पका निम्ति केही पेग चियर्स !

राजकुमार

Link copied successfully