जाकिरको भौतिक शरीर नरहे पनि उनका जादुयी औंलाका दिव्य ताल सधैं गुञ्जिरहनेछन्
गत आइतबार साँझपख केही आत्मीय मित्रहरूसँग भलाकुसारीमा थिएँ । गफैगफमा राजनीति र खेलकुदका प्रसंग उठे । त्यत्तिकैमा नेपालमा हुने गरेका साहित्य महोत्सव र वक्ताहरूका बारेमा एकछिन भुलियो । जयपुर साहित्य महोत्सवको कुरा पनि निस्कियो ।
अन्तर्राष्ट्रिय साहित्य महोत्सवहरूमा लेखक–कलाकारहरू पाठक, स्रोता वा दर्शकप्रति निकै विनम्र हुने प्रसंग सुनाएँ मैले । जयपुर साहित्य महोत्सवको तीन संस्करणको अनुभव ताजै छ मसँग । २०१८ को संस्करणमा त्यस्तै विनम्र देखिए मसहुर तबलावादक उस्ताद जाकिर हुसेन ।
जयपुर साहित्य महोत्सवमा एकैपटक ७/८ ठाउँमा विभिन्न सत्र सञ्चालन हुन्छन् । जाकिरको सत्र छ भनेपछि अरू सत्र मलाई वास्तै भएन । बेलुका घर आएर मोबाइल स्क्रोल गर्दा उनै जाकिरको निधनको खबर देखें । सन् १९५१ मा बम्बैमा जन्मिएका जाकिरको निधन अमेरिकाको सान फ्रान्सिस्कोमा भयो । उनको पुस्तक खोजें र जयपुर साहित्य महोत्सवमा उनको प्रस्तुति सम्झिने प्रयास गरें ।
जयपुरमा जाकिरको सत्र थियो, ‘अ लाइफ इन म्युजिक’ अर्थात् संगीतमा एउटा जिन्दगी । सत्र–सञ्चालक थिए महोत्सव निर्देशक सञ्जय के रोय, वक्ता उनै जाकिर र नसरिन मुन्नी कबिर । नसरिन मुन्नी कबिरले लामो समय लगाएर जाकिरसँग कुराकानी गरेर पुस्तकाकार दिएकी छन् । पुस्तक हो ‘जाकिर हुसेन : अ लाइफ इन म्युजिक’ । साहित्य महोत्सवमा जाकिरले कैयौं दिग्गज संगीतकारहरूसँगको संगत र सहकार्यको अनुभव मात्रै सुनाएनन्, वाद्ययन्त्रप्रतिको समर्पण र प्रेम पनि सुनाए । उनले भनेका थिए, ‘जसै तपाईं कुनै वाद्ययन्त्र छुनुहुन्छ, उसको आत्मा तपाईंसँग रहन्छ ।’
झन्डै १ घण्टाको कुराकानीपछि जाकिर र नसरिन एउटा स्टलमा आए । मैले पुस्तक किनिसकेको थिएँ । त्यसैले अटोग्राफ लिने लाइनमा अग्रपंक्तिमा उभिन पाएँ । जाकिर र नसरिन दुवैको हस्ताक्षरको साक्षी भएँ । त्यत्तिकैमा जाकिर आफैंले सोधिभ्याए, ‘कहाँ से हो भाइ ?’ मैले नेपाल भनेपछि त्यत्रो टाढाबाट जयपुर साहित्य महोत्सवमा आएको भनेर चकित भए । त्यसै वर्षको अन्त्यतिर भारतीय दूतावासले जाकिरलाई काठमाडौं ल्याएको थियो । भारतीय दूतावास परिसरमा जाकिरले संगीत अनुरागीहरूलाई झङ्कृत बनाएका थिए ।
जाकिर हुसेनको जन्म सांगीतिक परिवारमै भएको थियो । उनका बुवा थिए चर्चित तबलावादक उस्ताद अल्ला रक्खा, पञ्जाब घराना । संगीतमा पहिलो गुरु उनले बुवालाई मान्छन् । बुवाको अमिट प्रभाव जाकिरमा परेको थियो । नसरिनसँगको कुराकानीमा जाकिरप्रति अल्ला रक्खा कति संवेदनशील थिए भन्ने झल्किन्छ । जिन्दगीभर एकपल्ट मात्र बुवाको कुटाइ खाएका छन् जाकिरले । त्यो पनि क्रिकेट खेल्दा माझीऔंला भाँचिएका बेला । तबला बजाउने औंला भाँचिस् भनेर बुवाले थप्पडै हानेका थिए । तर जाकिरको गहभरि आँसु देखेर अल्ला रक्खाको मन पग्लियो । झ्याप्पै छोरालाई अँगालो हाले । नजिकैको चाट पसलमा लगे र दहीपुरी खुवाए ।
जाकिरलाई बुवाले जहिले पनि ‘उस्ताद बन्ने प्रयास नगर्, राम्रो संगीतकार बन्ने प्रयास गर्’ भन्थे । ‘मेरा तो हो गया उस्ताद अल्ला रक्खा, अभी दूसरा उस्ताद अल्ला रक्खा तो क्या होगा । फायदा क्या है ?’ उनी सधैं छोरा आफूभन्दा राम्रो, नयाँ र अलग केही गरोस् भन्ने चाहन्थे । त्यसो त जाकिर पनि बुवाको कार्बन–कपी बन्ने कहिल्यै सोचेनन् र बनेनन् पनि । दुवैलाई थाहा थियो : कार्बन कपी बन्नु भनेको ‘रद्दीको टोकरीमा फालिनु’ हो ।
परिवारमा धेरै पढेलेखेको कोही नभएकाले बेलाबेला आमाकै जोडबलमा इंग्लिस–मिडियम स्कुलमा जाकिर पढेका थिए । तर बुवा भने भन्ने गर्थे, ‘अरे तू उसको क्यों स्कूल भेज रही है ? वह तो तबला बजाएगा, रियाज करने दो । स्कूल में जाकर क्या करेगा ?’
स्कुल पढ्दादेखि नै उनले बजाउन थालेका थिए । किशोरवयमा त उनी चर्चित भइसकेका थिए । यतिसम्म कि पढाइ बिग्रिन्छ भनेर उनी रेलयात्राका क्रममा रिडिङ लाइट बोकेर हिँड्थे । स्कुले जीवनमै उनले पटना, हैदराबाद, औंरगाबाद र अहमदाबादलगायतका सहरका कन्सर्ट तताइसकेका थिए ।
जाकिर निकै पढाकु पनि हुन् । आइज्याक एसिमोभ, डिलन टमस, किट्स र वर्ड्सवर्थ उनलाई मन पर्ने लेखक हुन् । त्यस्तै धेरैको रोजाइमा रहेको ओर्सन वेल्सनिर्देशित ‘सिटिजन केन’ उनको मनपसन्द फिल्म थियो ।
लामो समयसम्म तबलावादकहरू छायामा पारिए । जाकिर पुराना दिन सम्झँदै भन्छन्, ‘पहिले तबलावादकहरूलाई बम्बैबाहिरका कार्यक्रममा रेलबाट आउन भनिन्थ्यो जबकि मुख्य कलाकारहरू जहाजमा जान्थे ।’
जाकिरका बुवा उस्ताद अल्ला रक्खाकै पालामा तबलावादकहरूलाई समान व्यवहार गर्न थालियो । सबै कलाकारहरू जहाजमा जान थाले । तबला र तबलावादको मानसम्मान बढ्नुमा उस्ताद अल्ला रक्खा, पण्डित समता प्रसाद र पण्डित किशन महाराजको योगदान उल्लेख्य छ । उस्ताद अल्ला रक्खा प्रेस कन्फरेन्समा तबलावादनका बारेमै कमै बोल्न रुचाउँथे बरु उनी भन्ने गर्थे, ‘मलाई खासै बोल्न आउँदैन जे बोल्छन् मेरै हात बोल्छन् ।’
सुरुमा पैसा समस्या नै थियो । तबला बजाएर अल्ला रक्खाले खासै पैसा कमाउँथेनन् । तबलावादकलाई अरू कलाकारलाई जति पारिश्रमिक दिइन्थेन । प्रसिद्धि भए पनि पैसा थिएन । जाकिर बाल्यकालको सम्झना सुनाउँछन्, ‘ठूलठूला घर र कार देख्ने भनेको त फिल्ममा मात्र हो ।’ हुन पनि १९६० को दशकमा अल्ला रक्खाले ५ सय वा १ हजार रुपैयाँ पारिश्रमिक पाउँदा मुख्य कलाकारले १५ हजार पाउँथे ।
बिहेमा नबजाउने जाकिर
हालै अनन्त अम्बानी र राधिका मर्चेन्टको बिहेमा विश्वका चर्चित कलाकार सहभागी भए । ब्याकस्ट्रिट ब्वायजदेखि रिहाना, केटी पेरीदेखि जस्टिन बिबरसम्मका कलाकारले बिहेमा प्रस्तुति दिए । तर जाकिरले भने झन्डै ३० वर्षयता यस्ता विवाह र निजी समारोहरूमा बजाउन छाडेका थिए ।
नजिकका आफन्त र साथीभाइको सानो जमघट वा कलाकारहरूको वार्षिक तिथिमा हुने प्रस्तुति भने अपवादका रूपमा रहेका थिए । उनी भन्थे, ‘निजी समारोह, व्यावसायिक कार्यक्रम र विवाहमा म बजाउँदिनँ । यस्ता कार्यक्रममा मान्छेहरू घुलमिल, कुराकानी र खानपिउनकै लागि आउने गर्छन् । संगीत सुन्ने तरिका यस्तो हो जस्तो मलाई लाग्दैन ।’
एकैदिन दिदी र बुवालाई गुमाउँदा
सन् २००० फेब्रुअरी २ का दिन जाकिरको परिवारले भयंकर नियति भोग्यो । जाकिर र उनका भाइ फजल क्यालिकटमा कन्सर्टका लागि हिँडेका थिए । बम्बै एयरपोर्टमा पुग्दा दिदी रजियाले भनिन्, ‘मेरो मोतियाविन्दुको अपरेसन हुँदैछ ।’
जाकिरले भने, ‘दिदी म एक–दुई दिनमा फर्किहाल्छु त्यसपछि अपरेसन गरौंला नि ।’ तर रजियाले सामान्य अपरेसन हो चिन्ता लिनुपर्दैन भनिन् । एनेस्थेसिया दिने भएकाले रजियाले केही खाएकी थिइनन् । तर अपरेसनको प्रक्रिया सुरु गर्ने बेला रजियाले असहज महसुस गरिन् । अपरेसन तत्काल नगर्ने भनियो ।
त्यसपछि उनले केही खाइन् । फेरि अपरेसन गर्ने भनेपछि उनलाई एनेस्थेसिया दिइयो । दुर्भाग्यवश ! खाना उनको श्वासनलीमा पुग्यो । क्लिनिकका चिकित्सकहरूलाई थाहा त थियो के भयो भन्ने तर उनीहरूले बचाउन सकेनन् ।
बम्बैस्थित घरमै रहेका भाइ तौफिकले जाकिरलाई सम्पर्क गरे । उनीहरूको कन्सर्ट सकिइसकेको थियो । तौफिकले भने, ‘रजिया दिदी हामीमाझ रहनु भएन अब ।’ जाकिरले भने, ‘हामी आइहाल्छौं, राम्रोसँग सबैको ख्याल राख्नू ।’
उनीहरू त्यसै दिन फर्कन चाहन्थे तर एयरपोर्ट बन्द भइसकेकाले सम्भव भएन । अर्को दिन क्यालिकटदेखि कोचीसम्म उनीहरू गाडीमा आइपुगे । कोची एयरपोर्ट पुगेर उनीहरूले घर फोन गरे । उताबाट अर्को दुःखद् खबर सुनाइयो, ‘अब्बा पनि बित्नुभयो ।’
अल्ला रक्खा रजियासँग अत्यन्त नजिक थिए । जब रजियाको निधनको खबर सुने, उनी निशब्द भए । उनी कोहीसँगै बोलेनन् । एक पटक जाकिरको कोठामा छिरे । देखेनन्, अनि बाथरुम छिरे, निस्कने बेलामा हृदयाघात भयो । डाक्टर आउँदा निकै ढिला भइसकेको थियो । फजल र जाकिर घर आइपुग्दा घरमा बुवा र दिदीको शव थियो । ‘कुनै घरमा यस्तो कसरी हुन सक्छ ? यस्तो हुनै सक्दैन,’ जाकिरले भनेका छन् । (अ लाइफ इन म्युजिक, पृ.५४–५५)
संगीत : एक संवाद
उस्ताद जाकिर हुसेन संगीतलाई संवादका रूपमा लिन्छन् । जुगलबन्दी होस् वा दर्शक स्रोता हुन्, संगीतकार संवादमै हुन्छन् । ‘संगीत एउटा त्यस्तो अनुसन्धान हो किनकि यसमा संवाद हुन्छ,’ उनी भन्ने गर्थे । जाज ब्यान्ड होस् अन्य भारतीय कलाकारसँगको प्रस्तुति, उनले घण्टौं उनीहरूको संगीत सुन्नमा बिताउँथे ।
जुगलबन्दीमा कलाकारहरूको भावभंगिमाले दर्शकस्रोतालाई मोहित तुल्याउँछ । साथै ताल र सुरबाटै उनीहरू संवाद गर्छन् । उस्ताद विलायत खान र विस्मिल्लाह खानहरू सानो मेहफिलमै रमाउँथे । उनीहरू एकअर्कालाई सोध्ने गर्थे, ‘अरे मियाँ, यह दादा उस्ताद की चीज है । यह मैं सुना रहा हूँ, सुनो । इसमें देखो, यह सुर कैसे लग रहा है ?’
बुवा उस्ताद अल्ला रक्खासँग मात्र होइन, जाकिर हुसेनले बडे गुलाम अली, आमिर खाँ, ओमकारनाथ ठाकुरसँग पनि तबला बजाएका थिए । १६–१७ वर्षको उमेरमै पण्डित रविशंकर र अली अकबर खाँको सांगीतिक संगत गरेका उनले हरिप्रसाद चौरसिया, शिव कुमारका साथै नयाँ पुस्ताका शाहिद परवेज, राहुल शर्मा, राकेश चौरसियालगायतका संगीतकारसँग पनि प्रस्तुति दिएका छन् । त्यस्तै उनले अन्तर्राष्ट्रिय रूपमा पनि जोन म्याक्लोगुलिन, फराओ स्यान्डर्स, डेभ होल्यान्ड, मिकी हार्ट, एड्गर मेयर, प्याट मार्टिनो क्रिस पोटर र बेला
फ्लेकजस्ता कलाकारहरूसँग पनि सहकार्य गरेका छन् । पण्डित रवि शंकरले भारतीय संगीतलाई एक मनोरञ्जनात्मक कलाका रूपमा विकास गर्न निकै मिहिनेत गरे । त्यसपछि जाकिर हुसेन, एआर रहमानलगायतका कलाकारले विश्वमञ्चमा भारतीय संगीतलाई विख्यात बनाए ।
सानफ्रान्सिस्को जाज सेन्टरले जाकिरलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ दियो । उनीहरूको वेबसाइटमा जाकिरबारे लेखिएको छ, ‘जाकिरसँग बजाउन नचाहने कोही छैन । उनी अद्भुत छन् । संस्कृति र सीमा पार गर्न सक्ने क्षमता उनमा छ ।’
वाद्यवादक र बाजासँग ‘हार्ट टु हार्ट कनेक्सन’ हुनुपर्नेमा जोड दिन्छन् धेरै कलाकार । एक पटक पण्डित किशन महाराजलाई प्रस्तुतिअघि कसैले शुभकामना दिए । पण्डितको जवाफ थियो, ‘देखेंगे भैया, आज तबला क्या कहता है ?’
कुर्ता–पाइजामामा चिटिक्क सजिएर जाकिरले कर्ली–कपाल झट्काउँदै दर्शकहरूतिर हेरेर मुसुक्क मुस्काउँदा हलमा तालीको गडगडाहट सुनिन्थ्यो । लयबद्ध प्रस्तुतिका साथ साभिनय तबलावादन हेर्न सुन्न पाउनु रोमाञ्चक क्षण नै हुन्थ्यो । ३७ वर्षको उमेरमै पद्मश्री पाएका जाकिर पद्म भूषण र पद्म विभूषणबाट समेत सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय सांगीतिक क्षेत्रको सबैभन्दा प्रतिष्ठित मानिने ग्रामी अवार्डबाट समेत उनी सम्मानित भएका छन् । उनले यसै वर्ष ३ र २००९ मा १ गरी ४ वटा ग्रामी जितेका छन् ।
जाकिरको तबलाको थापले ताजमहल चियालाई समेत ‘वाह ताज’ का नामले चर्चित बनायो । ताज महलअगाडि छायांकन गरिएको उक्त विज्ञापनले ताजमहल चियालाई मात्र होइन, जाकिरलाई समेत घरघरमा पुर्यायो । ५ दशकभन्दा बढी सांगीतिक दुनियाँमा जीवन बिताएका जाकिरको तबलाको थापमा थपक र धमकको यस्तो सन्तुलन हुन्छ कि दर्शकस्रोतालाई मन्त्रमुग्ध पार्न सक्ने क्षमता छ ।
जाकिरको भौतिक शरीर नरहे पनि उनका जादुयी औंलाका दिव्य ताल भने सधैं गुञ्जिरहने छ । जाकिर हुसेनले हामीलाई सधैं याद दिलाइरहनेछन् कि तबलाको ताल वास्तवमा आत्माको धड्कन हो ।
