बोल्छन् मगर, गाउँछन् खस नेपाली

तिनले गीत गाएका थिए– खस नेपालीमा, बाँकी व्याख्या र कुराकानी खाम/पाङ भाषामा ! सार्केनीहरूले गाउने गीत कहिले खस नेपाली भयो ? 

पुस ६, २०८१

नवीन विभास

They speak Magar, they sing Khas Nepali

काठमाडौँ — खारा काटी खुम्चेरिय जिबाङ काटी लाइत मालै जून छन्जी जुनेली रात, आमा छन्जी माइत मालै 

(प्रेमकुमारी पुनको २०८१ कात्तिक २७ को फेसबुक पोस्ट भिडियोमा रोल्पा, ढाङढुङ सराबाङकी सार्केनी बुढामगर (६३) ले गाएको रोल्पाको रैथाने गीत साइँला/साइँली बरैको गीतांश) 

आकाशमा जून रहँदासम्म ‘जुनेली रात’ जसरी आमा छँदासम्म मात्रै ‘माइत’ भन्ने भाववाला रोल्पा/रुकुमको रैथाने गीत झरेपछि सन्नाटा छायो । मेट्रेक्समा पलेटी कसेर ‘साइँला/साइँली बरै’ सुनिरहेका र कतिले गला घाँसिरहेका (गला गाँस्ने भन्दाभन्दै गला घाँस्ने) अधबैंसे र बूढी आँखा साउने मूल भए ।

गीतको बदला सिंगान सर्को तानेको साँक्कसुक्कले सन्नाटा तोड्यो । रोल्पा, ढाङढुङ सराबाङस्थित ढुंगेछाने घरको पहिलो तलामा आयोडिनयुक्त भनिने नुनको प्लास्टिक पोका, जो गीत सुनिरहेजसरी बसेको थियो । चुलोमुन्तिर सिल्पट थाल घोप्टो परी निदाएको थियो भने पहेंलो जर्किन टोलाइरहेको ।

छिर्केमिर्के लुंगीमा नीलो धरा कसेकी सार्केनी बुढामगर (६३) उही नुनछेउमा बसी गाइरहेकी थिइन् । उनले पारेको गादाभित्र मखमल चोलोमा तिलहरी तेर्सो ढल्केको थियो । सार्केमार्के कपाले टाउकोमा गुथेकी सार्केनीले गाउँदा नाकमा फुली र कानमा मारुली पिङ खेल्थे । 

गीत सुनिरहेका प्रायः सार्केनीभन्दा पाका थिए, जसका माइत जाने बाटा भत्केका थिए । गीत सुन्ने र गाउनेले आफ्नै मातृभाषा मगर खाम/पाङमा व्याख्या गरे । गीतले बोकेको भावमा ‘हो’ मा ‘हो’ मिलाए । हुन पनि आमा बितेपछि तिनका माइत हेर्दाहेर्दै नौ डाँडा पारि पुगेका थिए । 

फेसबुकमा गीत भिडियो पोस्ट गर्ने सार्केनीकी सहोदर कान्छी बहिनी (पूर्वशिक्षक) प्रेमकुमारी पुन (६१) ले लेखेकी थिइन्, ‘जमानाका गायिका माइली नाना र आमाजूहरूले गाएको साइँला बरै गीत (पुरानो भाका) हजुरलाई कस्तो लाग्छ ? सुनेर सेयर र कमेन्ट गर्नुहोला ।’ भिडियोमा ‘साइँला/साइँली बरै’ र ‘उत्रा’ गरी दुई रैथाने गीत थिए । 

स्मरणीय त के भने, गीत गाएका थिए, खस नेपालीमा, बाँकी व्याख्या र कुराकानी खाम/पाङ भाषामा ! सार्केनीहरूले गाउने गीत कहिले खस नेपाली भयो ? दुई–चार आखर खस नेपाली बोल्नसमेत कन्नेले कसरी खस नेपालीमा गाए ? 

‘हाम्रो खाममा गीत गाउने चलन नै थिएन,’ फोनमा आफूले सानैदेखि खस नेपालीमै गाएको सार्केनीले सुनाइन् । सहोदर जेठी दिदी चट्टौली (धनकुमारी) सँगै गाउन सुरु गरेकी थिइन् । घाँस/दाउरा/सोत्तर सोहर्न मेलापात जाँदा होस् कि जात्रा जाँदा होस्, जमघटमा होस् कि नुन हाट कोइलाबास (पछि घोराही) जाँदा होस्, गाउँदागाउँदै सार्केनी गाउन माहिर भएकी थिइन् ।

गाउँदागाउँदै उनी ढाङढुङ वारिपारिबाट गाउन ‘रागी’ निक्लिइन् । रोल्पा रुकुमतिर रागी भनेको ‘असाधारण’ हो । गीत गाउन माहिरमात्र रागी होइन, जुनसुकै क्षेत्रकालाई पनि रागी भन्छन् । सार्केनीले खाम/पाङभाषीसँग मात्र होइन, खस नेपाली भाषीसँग पनि गाइन् ।

‘माइली नाना त बाख्रा भान्ने बेला (घाम नडुब्दै) देखि गाउन थालेर रातभर र अर्काना दिन घाम झुल्कँदासम्म पनि गाइकन नथाक्किने,’ पुनले आफ्नी माइली दिदी सार्केनीको गायकी गान गाइन् ।

सार्केनीको गाउँ ढाङढुङ सराबाङ (उत्तरबाट दक्षिणतिर हेर्ने हो भने) खाम/पाङभाषी गाउँहरूको लहरमा अन्तिम गाउँ थियो । ढाङढुङबाट दक्षिण/पश्चिम राङ्कोट, दक्षिण/पूर्व राङ्सी र पश्चिम चुनबाङमा खसकरण भइसकेको थियो । दक्षिणपूर्व लाग्दैजाँदा भाबाङ पुगेमात्र खामभाषी गाउँ भेटिन्थे ।

जसको लहर ह्वामा, जङ्कोट, कोर्चाबाङ, कोटगाउँ हुँदै रोल्पा सदरमुकाम लिबाङनजिकका रेउघा, मूलपानी पुगेको थियो । ढाङढुङ उत्तरका मिरुल, थबाङ हुँदै रुकुम (पूर्व)का महत, सीमा, कोल, लुगुम, काँक्री, तकसेरा, हुकाम, मैकोट र ढाङढुङ उत्तरपूर्व जेलबाङ, उवा, सेरम, गाम, घुसबाङ अनि बाग्लुङका निसी भुजीमा खाम/पाङ भाषाले सास फेरिरहेको थियो ।

चालीसको उत्तरार्द्धको कुनै एक दिन, सार्केनीको सराबाङ पाल्लोपट्टि उपाबाङ स्कुलको भव्य मेलामा पुगें । पहिलो पालि सुनेँ, खाम/पाङ बोल्ने तर खस नेपालीमा गाइरहेका । पचासको थालनीतिर रुकुम महत स्कुलको प्रांगनमा पनि उपाबाङकै जस्तो देखेँ । सत्तरीको थालनीतिर मगर मूलस्थान मानिने मैकोट पुगेँ । खस नेपालीमै गीत गाए । तकसेरा, लुगुम, जेलबाङ, थबाङ, महत, जङ्कोट, ह्वामा, कोर्चाबाङ, भाबाङ, कोटगाउँ, ढाङ्सी, धबाङ, सेरम खामभाषी गाउँमा खस नेपालीमा गाउने । खाम/पाङ भाषामा गाइने गीत कसरी खसकरण भए, जब बोलचाल गर्ने भाषा जिउँदै थियो । 

‘खसकुरा (खस नेपाली भाषा) गर्न जान्दैनम् । खस कुरा तर गीत गाउने बेला त खस कुरामै हो,’ सार्केनीले सुनाइन् । 

रोल्पा राङ्कोट जैपाका मेरा जेई र बाबैले ७१ वर्षको उमेरमा (२०६२) रोल्पाका रैथाने गीत अलबमै गाएका थिए । अलबम, बरै । जसमा सात गीत थिए– साइँला/साइँली बरै, उत्रा, स्यानीमाय, फाँक आदि । मेरो गाउँ जैपाबाट गीतले मात्र होइन, खाम/पाङभाषाले नै डाँडा काटिसकेको थियो । मातृभाषा बचेको भेगका सार्केनीहरूले गाउने गीत र मेरा जेईबाबैले गाएका गीतका अनुहार काटीकुटी उस्तै थिए । 

‘सिँजा हाट दुल्लु विराट’ भन्ने खस राज्य र बाइसे–चौबीसे पालामा पनि खसभाषा दबादबा दोब्रियो । पृथ्वीनारायण शाहको ‘गोर्खा बिस्तार’ले थालेको ‘एक भाषा एक संस्कृति एक धर्म’ नीति त राणा र राजा महेन्द्रसम्म आइपुग्दा के के भयो ? व्याख्या जरुरी छैन । 

रिदी गण्डकी पश्चिम (रोल्पा, रुकुम र बाग्लुङ) का खाम/पाङभाषी मगर समुदाय छरिएका थिए भने रिदी गण्डकी पूर्वमगर ढुटभाषी । एक भाषा, एक संस्कृति र एक धर्म नीति लागू गर्दा राज्यले पश्चिम भेगमा खसभाषा लाद्न बढ्ता बल गर्‍यो, पूर्वमा हिन्दुकरण गर्न । यसकै कारण थियो, खाम/पाङभाषी सार्केनीका सराबाङहरू थोरै बचेका थिए भने ढुटभाषी मगरका जन्म, बिहे र मृत्युमा बाहुनको उपस्थिति । 

मगर आदिवासी जनजातिमा (२०७८ को जनगणनाअनुसार) नेपालको सबभन्दा ठूलो जनसंख्या भएको समुदाय हो भने समग्रमा क्षेत्री (१६.४ प्रतिशत) र बाहुन (१२.३ प्रतिशत) पछि तेस्रो (६.९ प्रतिशत) । मगर समुदायमा सबभन्दा चल्तीका गीत थिए, साइँला/साइँली बरै, साइँला/साइँली जी, नानी/नि ल, लस्के, यानीमाय/स्यानीमाय, उत्रा आदि । जो खसकरण भएका थिए । 

गीत त सार्वजनिक थलोमा गाउने चलन थियो/छ । सबैलाई सुनाउने । गाउँका जानभानले पनि खस नेपालीमै गाउन जोड दिए । सदरमुकाम वा अड्डाबाट जाने सरकारी मानिस त खस नेपालीमात्र बुझ्ने भइहाले । 

‘सबैले बुझ्ने र बोल्ने भाषामा गाऊ भन्ने कुरा हाबी भयो,’ मगर संस्कृतिविद् बमकुमारी बुढामगरले मगर भाषामा गीत लोप हुनुको कारण खोज्दै भनिन्, ‘खसकुराको प्रभाव पर्‍यो । खसकुरामा गाउँदा स्याब्बास भने । सुइँय सुस्केरा हाले ।

यस्तो माहोल बन्दै गयो । बाइसे–चौबीसे कालदेखि नै हाम्रो भाषा संस्कृति मास्नेतिर गए नि । हाम्रो भाषामा हस्तक्षेप भयो । यहाँसम्म कि, खसकुरा सकारात्मक र खामकुरा नकारात्मक भन्ने भाष्य नै बनाइयो । अहिले जति बचेको छ, ढुकढुकीले मात्र टिकेको हो ।’ राज्य संरक्षित खस नेपाली भाषा प्रभावशाली थियो/छ । प्रभावशाली भाषाले प्रभाव जमाएपछि खाम/पाङभाषा निरीह बने । पहिलो मारमा गीत परे । 

‘अरूलाई बुझाइदिने गरी गाउँछ भने त्यो त शक्तिको कुरा आयो । खाम भाषा प्रभावशाली हुँदो हो त, तिनले आफ्नै भाषामा गाउँथे । अरूले बुझ्दैनन् भनेर खस नेपालीमा गाउनु भनेको हार स्विकार्नु हो । हामी शक्तिहीन भयौं, त्यसैले अरूको भाषामा गाइदिनुपर्ने भयो,’ भाषाविज्ञान केन्द्रीय विभाग, कीर्तिपुरमा प्राध्यापनरत डा.तारामणि राईले भने । 

खाम/पाङभाषी क्षेत्रमा पनि खस नेपालीकै प्रभाव थियो । रेडियो नेपाल खस नेपालीमै गाउँथ्यो । पछि टेलिभिजनले पनि रेडियोलाई नै पछ्यायो । रेडियो होस् कि टेलिभिजन, तिनले मगर भाषामा गाएनन् । सरकारले मगर भाषामा गीत गाएन । त्यतिमात्र होइन कि, मगरबस्तीलाई आधार इलाका बनाएको माओवादीले पनि जनयुद्धताका क्रान्तिकारी गीत पनि खस नेपालीमै गायो । 

‘गीतमा बाहिरी प्रभाव पर्छ । जो खाम/पाङभाषाका लोकगीतमा पनि खस नेपाली भाषाको प्रभाव पर्‍यो,’ मानवशास्त्र केन्द्रीय विभाग, कीर्तिपुरमा प्राध्यापनरत डा.जनक राई तर्क थियो । कुनै पनि भाषा कति समृद्ध छ, कति जीवन्त छ भनेर नाडी छाम्ने विभिन्न सूचक थिए । जस्तोः ख्यालठट्टा आफ्नै भाषामा गर्छन् कि अर्कै भाषामा ? आफ्नै मातृभाषामा गाली गर्छन् कि अर्कै भाषामा ? आफ्नै मातृभाषामा गाउँछन् कि अर्को भाषामा ? मेलापात जाँदा मातृभाषामै बोल्छन् कि अर्को भाषामा ? 

‘माथि उल्लेख गरेका कुरा आफ्नो मातृभाषामा गर्दैनन् भने बुझ्नुपर्छ, त्यो भाषाको पकड गुम्दै छ,’ तारामणि तर्क थियो, ‘आफ्नो भाषा खाम/पाङभाषामा लोकगीत गाउँदैनन् र खस नेपालीमा गाउँछन् भने खाम/पाङभाषाको पकड गुम्दै गएको र खस नेपाली भाषाको प्रभाव बढ्दै गएको अर्थ लाग्छ ।’ 

खसकरणबाट बचे कसरी ?

नेपालमा ‘कोठे लोकगीत’ चलनसँगै खाम/पाङमा पनि कोठे लोकगीत रेकर्ड भए । यो लेखमा उल्लेख गरेको लोकगीत भनेको लोकमनले गाउँदै आएका र पुस्तान्तरण सर्दै आएका गीत थिए । 

‘झोरा र सिङारुमा मिसमास छ । पहिले त आफ्नै भाषामा गाउने रहेछन् । मैले त ‘जो मा रे’का गीत पनि मातृभाषा भर्सनमा लेखेको छु,’ बमकुमारी बुढामगरले सुनाइन् । घापा, सर्‍वा, बाछे, जङ्कोट, कोटगाउँ जस्ता थौ गाउँमा बचेका ‘जो मा रे’ जनयुद्धसँगै लोप भइसकेको थियो । 

अध्येता तिलकले रोल्पा र रुकुममा गरिरहेको खोज र दस्तावेजीकरण प्रसंग सुनाउँदै खसकरणबाट बचेका केही गीत सम्झिए– एक, नचारुको सक्क जैने चालामा गाइने गीत । दुई, असारमा मनाइने भुमेपर्वको तोर झाने (एकापसमा शब्दले हानाहान गर्ने, सवालजवाफ गर्ने) ।

तीन, चा सराल्ने (धर्तीमा भएका फूल सम्झने हो । लेक र बगरका फूल सराबर गर्ने । चा सराल्ने भनेको चिया घोल्ने भनेको हो) । चार, बिरना कतैने (मानिस मरेको दिनदेखि नचोखिँदासम्म गाउने गीत ।) पाँच, झाँक्रीको खिट (झाँक्रीले आफूसँग भएका ज्ञानगुनका कुरा सुनाउनुलाई खिट धाने भन्छन् । त्यही खिटलाई हुकाम मैकोटतिर धुर भन्छन् ।)

यी गीत खसकरण हुनबाट कसरी बँचे ?

‘मर्दापर्दा गाइने गीत त गीतमात्र होइन, त्यो त मन्त्रजस्तो हो । आफ्नो भाषामा गीत नगाएसम्म संस्कार नै नहुने भयो । मृत्यु संस्कारको त्यो गीत बाध्यकारी भयो । नगाएसम्म संस्कार नै नहुने । त्यसैले गाउनै पार्‍यो, सिक्नै पर्‍यो,’ मानवशास्त्री डा.जनकको भनाइ थियो । झाँक्री खिट झाँक्री बस्दाखेरि र भुमेको गीत भुमे पर्वमा मात्र गाइने गीत थिए । अन्य गीतजसरी जमघट हुनेबित्तिकै गाइने लोकगीत थिएनन् । 

000

शक्तिशाली र मूलधारे भाषाको प्रभुत्व र प्रभाव झेल्न नसकी शक्तिहीन किनाराकृत समुदायका भाषा दिन प्रतिदिन बिलाइरहेको बेला, तपाईंलाई लाग्ला, आफ्नो भाषामा गीत गाउँदैनन् भन्ने तपसिलको कुरा भयो । सबैले बुझ्ने भाषामा ‘गाउने’ भन्दाभन्दै गीत बिलाएजसरी सबैले बुझ्ने भाषामा ‘बोल्ने’ भने बमकुमारीले भनेजस्तो ढुकढुकीले बाँचेका आदिवासीका भाषा कति दिन बाँच्लान् ?

नवीन

Link copied successfully