पुष्पा-२ : पैसा छाप्ने कारखाना

प्रदर्शनको १२ दिनमै ‘पुष्पा–२’ विश्वव्यापी रूपमा १४ सय करोड भारु कमाउँदै अत्यधिक कमाइ गर्ने भारतीय फिल्मको तेस्रो स्थानमा आइसकेको दाबी गरिएको छ 

पुस ६, २०८१

सुशील पौडेल

Pushpa-2 : Money printing factory

काठमाडौँ — एक कुल्ली, जो मालिकको गुलामी गर्नुभन्दा आफैं मालिक बन्ने हेतुले रक्तचन्दन तस्कर बन्छ, दिनदहाडै पुलिसकै सामुन्ने चेकिङ छल्दै ट्रकका ट्रक रक्तचन्दनको अवैध ओसारपसार गर्छ, अकुत पैसा कमाउँछ र तस्करहरूको बनीबनाउ सिन्डिकेट तोड्दै आफ्नै आधिपत्य जमाउँछ ।

महत्त्वाकांक्षी, निर्भीक, बलशाली र चतुर एउटै व्यक्ति जो सारा राज्य, प्रहरी प्रशासन हल्लाउने ल्याकत राख्छ । सोही चरित्रलाई केन्द्रमा राखेर तीन वर्षअघि प्रदर्शनमा आएको फिल्म थियो– पुष्पा ः द राइज । सामाजिक, आर्थिक, दृष्टिले पिछडिएको वर्गमा परे पनि उसको एउटा घमण्ड छ, पुष्पा झुकेगा नही । 

भुइँमान्छेलाई केन्द्रमा राखेर उसको कुल्लीदेखि रक्तचन्दन तस्कर नाइकेसम्मको अवैध यात्राको स्तुत्य गान रहेको ‘पुष्पा’ ले त्यसबेलै थिएटरमा तहल्का मच्चाएको थियो । फिल्मको केन्द्रीय भूमिकामा पुष्पा बनेर देखिएका अल्लु अर्जुनको अभिनयले त्यस वर्षको नेसनल अवार्ड नै जित्यो ।

सोही फिल्मको दोस्रो इन्स्टलमेन्ट ‘पुष्पा–२ : द रुल’ यतिबेला प्रदर्शनमा छ । अघिल्लो संस्करण पुष्पाको उदयमा केन्द्रित थियो भने यस पटक पुष्पाको तस्कर साम्राज्य विस्तारमा आधारित छ ।

फिल्ममा एउटा दृश्य छ, पुष्पाकी श्रीमती श्रीवल्ली (रश्मिका मन्दना) मन्दिरमा पूजा गर्न जाने क्रममा जात सोधिन्छ । आफ्नो पारिवारिक वा वंशको पहिचान नपाएकोमा पीडाबोध गर्ने पुष्पराजलाई श्रीमतीले नै पछि गएर अब पुष्पाको पहिचानका लागि बाबु वा उसको वंशको आवश्यकता नपर्ने बरु पुष्पा आफैंमा एउटा ‘ब्रान्ड’ बनिसकेको र यही पहिचान रहेको जिकिर गरिदिन्छे । हुन पनि यस पटक ऊ फूलैफूल भएको आफ्नै ‘ब्रान्ड’को कपडा लगाएर हिँड्छ ।

अघिल्लो पटकका ‘फ्लावर नही फायर’ वाला पुष्पा यस पटक भने ‘वाइल्ड फायर’ बनेर देखापरेका छन् । निर्देशक सुकुमारले पुष्पालाई उग्र देखाउन दृश्यमा जति मिहिनेत गरेका छन्, तुलनात्मक रूपमा उनै लेखक सुकुमार कथामा भने केही कमजोर लाग्छन् ।

केही कमेडी, केही चरित्रका स्वाङ, भारी भरकम संवाद, ठूलो क्यानभास र गीत, संगीतको तड्काको सहारामा दर्शकलाई रत्याउने प्रयास गरेको भने देखिन्छ । दक्षिण भारतीय फिल्मको शैली रुचाउने र अल्लुका फ्यानका लागि भने पुष्पा–२ रमाइलो लाग्नेछ ।

पुष्पामा एउटा गरिब पात्रले धन कमाउन गरेको मिहिनेतमा जति आरोहअवरोह देखिएको थियो, यस पटक सोही पात्रले अकुत सम्पत्ति कमाएपछि आफ्नो साम्राज्य विस्तारका लागि पैसा र घूसको खोलो बगाइदिएको छ । उसको संघर्ष केवल एसएसपी भंवर सिंह शेखावत (फहद फासिल) वरिपरि नै संकुचित भएको छ । जबकि पुष्पा एउटा फोटो खिच्न नमानेको भरमा मुख्यमन्त्री परिवर्तन गर्नेसम्मको क्षमतामा पुगिसकेको छ । पुष्पाको संघर्षभन्दा भंवरसिंहको इगो ठूलो लाग्छ ।

३ घण्टा २० मिनेट लामो फिल्मको पहिलो हाफको कथानक गति सन्तुलित रहे पनि त्यसपछिको हाफ भने लम्बेतान र सुस्त बनेको छ । केन्द्रीय द्वन्द्वबाट उछिट्टिएर फिल्म पारिवारिक द्वन्द्वतर्फ बहकिँदा दर्शकलाई पट्यार लाग्ने जोखिम पनि उत्तिकै छ ।

पुष्पालाई खलपात्रका अघि जति हिंस्रक देखाए पनि पारिवारिक पाटो र श्रीमतीका नजरमा सामाजिक र पतिव्रता देखाएर सन्तुलन मिलाउने प्रयास गरिएको छ । तर पनि फिल्ममा रश्मिकाको टाइम स्पेस कम र चरित्र कमजोर लाग्छ । एकाध ठाउँमा गलेको पतिलाई ऊर्जा थप्नुमा बाहेक उनको खास वजनदार चरित्र बनेको छैन ।

फिल्मको मुख्य कमजोरी यसको गति हो । मुख्य कथाबाट बेलाबेला हटेर अनावश्यक उपकथामा फिल्म बहकिएको छ । शेकावतसँगको मुसो र बिरालोको जस्तो खेल, सौतेनी भाइको परिवारसँगको कटु सम्बन्ध, रक्तचन्दन तस्करको सिन्डिकेटभित्रको राजनीति र मुख्यमन्त्रीको सत्ता परिवर्तन, भतिजीको अपहरण लगायतका उपकथाहरू छिरलिएका छन् । कतिपयलाई त पति, पत्नीबीचको कमेडी रोमान्सले पनि दिग्दारी थप्न सक्छ ।

पुष्पा चरित्रप्रधान फिल्म हो । निर्देशकले फिल्मको मुख्य पात्र पुष्पाको क्यारेक्टर आर्कका लागि, उसको स्वाग, संवाद र शारीरिक हाउभाउ तथा शैलीमा जति मिहिन काम गरेका छन्, कथा पटकथामा त्यो तहको मिहिनेत गरेको देखिँदैन । अल्लुले पनि पुष्पाको चरित्र चित्रणमा कुनै कसर छोडेका छैनन् ।

त्यसो त सोही चरित्रले नै उनलाई नेसनल अवार्डको हकदार बनाइसकेकाले पनि हुनसक्छ, पुष्पाको चरित्रमा अल्लुको लगाव जीवन्त बनेको छ । कतिपय समीक्षकले त उनले फेरि पनि नेसनल अवार्डको हकदार हुने गरी अभिनय गरेको टिप्पणीसम्म गरेका छन् र धेरै हदसम्म यो जायज पनि छ ।

हुन त, पुष्पाकै बेला अल्लुले उक्त अवार्ड पाउँदा आलोचना गर्ने पनि नभएका होइनन्, कतिपय आलोचक ‘पुष्पा’ जस्ता मसला फिल्म नेसनल अवार्डको हकदार हुन नहुने जिकिर गर्छन् । तर, पनि अल्लुले पुष्पा बन्नका लागि देखाएको शारीरिक लचकता, भेषभूषा, हाउभाउ, स्वाङदेखि एक इमानदार पतिको स्वरूपसम्ममा आफूलाई मज्जाले ढालिदिएका छन् । त्यसैगरी, जति देखिन पाएकी छन्, रश्मिकाले पनि कसर छोडेकी छैनन् । 

खलपात्रको भूमिकामा सशक्त बनेर आएका फहद फासिल भीमकाय र डरलाग्दो भन्दा पनि लिच्चड र अहंवादी छविमा आफूलाई शतप्रतिशत प्रस्तुत गरेका छन् । यो चरित्रले उनले यसअघिका फिल्म खेलेर कमाएका फ्यानका लागि भने दुखित बनाउन पनि सक्छ । यदि यसोभएमा फेरि कलाकारका रूपमा फहदको थप सफलता मान्न सकिन्छ । 

‘पुष्पा’ को पहिलो संस्करणको जस्तो यस पटक गीत, संगीतले आम सफलता पाएनन्, तर पनि कोरियोग्राफीलाई निकै मिहिनेतका साथ कलात्मक बनाइएको छ । अल्लुलाई कालीका रूपमा महिला भेषमा उतारिएको कोरियोग्राफी उम्दा छ । अल्लुको उक्त स्वरूप दर्शकका लागि सरप्राइज पनि बन्न सक्छ । 

दक्षिण भारतका बिग बजेट फिल्महरू पछिल्लो समयका पैसा छाप्ने मेसिनका रूपमा रूपान्तरण भइरहेका छन् । ‘बाहुबली’ होस् वा ‘केजीएफ’ वा ‘पुष्पा’ कै सिरिज, सबैले एकपछि अर्कोका व्यावसायिक कीर्तिमानी तोड्दै अघि बढिरहेका छन् ।

दर्शकले यी फिल्मका कथामा भन्दा स्टाइलमा बढी रुचि र चासो देखाइरहेका छन् । झन्डै ५ सय करोड भारुको लागतमा बनाइएको ‘पुष्पा–२’ ले अहिले नै बक्सअफिसमा त्यसको दोब्बरभन्दा बढीको व्यापार गरिसकेको छ । प्रदर्शनको १२ दिनमा नै ‘पुष्पा–२’ ले विश्वव्यापी रूपमा १४ सय करोड भारुको कमाइ गर्दै अत्यधिक कमाइ गर्ने भारतीय फिल्मको तेस्रो स्थानमा आइसकेको दाबी गरिएको छ । 

‘पुष्पा : द रुल’ लाई लिएर विभिन्न सञ्चारमाध्यममा मिश्रित प्रतिक्रिया आएका छन् । अधिकांशले फिल्मको रन टाइमलाई लिएर लामो भएको प्रतिक्रिया दिएका छन् । ‘न्युज १८’ ले भने यस फिल्मलाई शतप्रतिशत रेटिङ दिँदै दर्शकलाई कथामा बाँधेर राख्ने क्षमताको कथ्य, लार्जर द्यान लाइफ प्रस्तुति र मास 

अपिलिङ् मनोरन्जनात्मक फिल्म भएको भन्दै समीक्षा गरेको छ । बलिउड हँगामामा तरण आदर्शले पनि साढे चार स्टार दिँदै बलियो एक्सन, चोटिलो ड्रामा र गहिरो भाव बोकेको अल्लु अर्जुनको पृथक् शैलीको स्वाग बोकेको फिल्म भनी तारिफ गरेका छन् । तर, समीक्षक आनन्दु सुरेशले भने ‘पुष्पा : द रुल’ लाई एभरेज मात्र रहेको उल्लेख गर्दै फिल्म केवल पुष्पा र उनैमा मात्र सीमित रहेको टिप्पणी गरेका छन् ।

त्यसैगरी ‘इन्डिया टुडे’ ले पनि पहिलो संस्करणको तुलनामा ‘पुष्पा : द रुल’ फितलो बनेको भन्दै कथा निर्माण गर्दै जानुको सट्टा छिटपुट घटनाक्रममा अल्झिएकाले खल्लो बनेको उल्लेख गरेको छ । ‘द विक’ ले त अझ खरो हुँदै आम चेतनामाथिको भद्दा मजाक बताएको छ । 

सुशील पौडेल

Link copied successfully