आख्यान र जीवनीको दोछाया

शैलेन्द्र अधिकारीको शैलीमा निजत्व मात्रै छैन, विशिष्ट शिल्प पनि छ जो समकालीन नेपाली साहित्यमा अरूभन्दा भिन्न र आफ्नै भंगिमाले मोहक छ

पुस ६, २०८१

घनश्याम खड्का

Both narrative and biography

काठमाडौँ — बुद्ध को हुन् ? उनको सबैभन्दा महत्त्वपूर्ण देशना के हो ? यसबारे खोजबिन गर्नुपरे सानो र छरितो वाक्यले उत्तर दिन सक्दैन । र पनि, दिनैपरे भन्नुपर्ने हुन्छ– बुद्ध सिद्धार्थ गौतम होइनन्, विश्वासले नमान, स्वयंको अनुभवले जान भन्ने उनको देशना छ । 

अरूले भने– भगवान्माथि भरोसा गर । बुद्धले भने– तिमी आफैं उज्यालो बन । ‘गुरु हुँ’ भन्नेहरूले सदा शिष्यलाई आफूप्रति समर्पित हुन सिकाए । श्रद्धा नै प्रथम सर्त थियो तिनको । बुद्धले आफैंमाथि विश्वास गर्न भने । आफ्नो अनुभवमा नउत्रिकन कसैमाथिको विश्वास मात्रले प्रज्ञोदय हुँदैन भन्ने बुद्धवाणी त्यति नै सरल र स्पष्ट छ जति आगोले पोल्छ भन्नुमा छ । 

कृष्ण भन्छन्–

सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रज 

अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा शुचः

माने, सबै धर्महरूलाई त्याग गरेर मेरो शरणमा आऊ, म तिमीलाई सबै पापकर्मबाट उद्धार गर्छु, चिन्ता नलेऊ । 

बुद्ध भन्छन्–

अत्तदीपा विहरथ, अत्तसरणा अनञ्ञसरणा,

धम्मदीपा विहरथ, धम्मसरणा अनञ्ञसरणा

अर्थात्, आफ्नो द्वीप आफैं बन, आफ्नो शरणमा आफैं जाऊ, अर्को कुनै शरण छैन । सत्यलाई तिम्रो द्वीप बनाऊ, सत्यकै शरणमा जाऊ, अर्को कुनै शरण छैन । 

यसरी, सारा संसारको धर्म, पन्थ र ज्ञान एकातिर अनि बुद्धको वचन अर्कोतिर भएजस्तो हामी पाउँछौं । किनभने, उनले कुनै गुरु र शास्त्रको अर्तिले होइन अतितमा भएको तर प्रचलनमा नरहेको स्वयं मुक्तिको मार्गलाई आफ्नै तपोबलले पहिल्याए ।

र, हृदयाकाशमा बनेको त्यसको मानचित्रलाई अरू असंख्य नरनारीको जीवनमा पनि थपक्कसँग सारिदिए । तब यहाँ प्रश्न उठ्न सक्छ– यसो गर्न सक्ने आधार उनलाई केले दियो ? उत्तर सरल छ– उनको बुद्धत्वले दियो । प्रश्न त फेरि पनि छ– त्यो बुद्धत्व कहाँ थियो त पहिले ? त्यो उनीसँग जन्मजन्मान्तर थियो जसरी सबै प्राणीसँग त्यो छ । 

हरेक तोरीको गेडामा तेल भएजस्तो र प्रत्येक रात्रिको गर्भमा सूर्यको चम्किलो किरण रहेजस्तो, प्रत्येक सत्वसँगै बुद्धत्व अहरणीय ढंगले रहेको छ । सिद्धार्थ गौतमले त्यो खोजे र कहाँ रहेको रहेछ भनेर बुझे । त्यही बुझेको हुनाले नै उनी बुद्ध भए । त्यसैले बुद्ध कुनै मानिसको नाम होइन । यो एक अवस्था हो हुनुको, जहाँ हामी सबको गन्तव्य निश्चित छ । मात्रै प्रश्न समयको हो ।

कोही खोजको तीव्रता र चित्तको निर्मलताको कारण यसै क्षण बुद्ध हुन सक्ला, भइरहेको होला । कोही चाहिँ जमिनमुनिको जलराशीलाई पत्रैपत्रले ढाकेजस्तो क्लेस र चैतसिकको हजारौं लेपनले हृदयको त्यो नैसर्गिक उज्यालोलाई ढाकेकाले बुद्ध हुनबाट सयौं जन्म पर होलान् । तर, सबै नदीले समुद्र भेटेजस्तो सबै जीवले एक दिन आफ्नो स्वाभाविक अवस्थाको अनुबोध गर्नेछन् ।

त्यो अवस्था नै बुद्धत्व हो । त्यसैले, प्रत्येक सत्व भविष्यको बुद्ध हो । ऊ बुद्धत्वको सदा अधिकारी छ । त्यसैले बुद्धले भने– अप्प दीपो भव । 

यसरी, आफैं उज्यालो नबनेसम्म सत्य आलोकित नहुने सत्य एकातिर विद्यमान छ भने अर्कातिर मानिस कुनै गुरु, शास्त्र वा पन्थको विचार समातेर त्यसैले दुःखमुक्त गर्ला भन्ने विश्वासमा पर्दा ठगिन पुगेको तथ्य अर्कोतिर छ । यसरी मानिस यताउता नभड्कीकनै सिधासिधा सत्यको साक्षात्कार गर्न सकून् भनेरै बुद्धले आखिरी क्षणमा भने– तिमी आफ्नो आफैं सहारा होऊ, कोही तिम्रो सहारा छैन । सत्य नै तिम्रो शरण हो, अरू कुनै शरण छैन । 

पछिल्ला वर्षहरूमा मूलधारको साहित्यमा बौद्ध दर्शनका छिटपुट पुस्तक प्रकाशन हुने उपक्रम सुरु भएको छ । र, त्यस प्रक्रियामा निकै प्रबलताका साथ सामेल हुन आइपुगेका छन्– लेखक शैलेन्द्र अधिकारी । उनको हालै प्रकाशित पुस्तक ‘अर्हत्’ यही तथ्यको प्रमाण हो । पूर्वीय ज्ञान–मीमांसामा चासो राख्ने जो कसैलाई थाहा भएको विषय हो, ‘अर्हत्’ सँग मिल्दोजुल्तो अर्को एक पदावली पनि प्रचलित छ, ‘अरिहन्ता’ ।

Both narrative and biography

यहाँ अरि भनेको शत्रु हो र हन्ता भनेको वधिक । जसले शत्रुलाई मार्‍यो ऊ नै अरिहन्ता कहलाउँछ । खास अरिहन्ता को हो ? गहिरो रूपले भन्नुपर्ने हुन्छ, अर्हत् नै अरिहन्ता हो । किनभने, मनुष्यको मूल शत्रु अर्को मनुष्य होइन, अपितु ऊ स्वयंभित्रको क्लेश र चैतसिकहरू हुन्, जसले संसारमा आवागमन र अजस्र दुःख निस्पादको हेतु प्रत्यय जुटाउने काम अहोरात्र गरिरहेको हुन्छ । क्लेशादी आवरणले गर्दा नै आफूभित्रको बोधिचित्तलाई र बुद्धत्वलाई चिन्न सक्दैन मनुष्य ।

अनि अनवरत दुःखमा परिनै रहन्छ । सिद्धार्थ गौतमले तपोवलले यो देखे । र, सधैं दुःख दिइरहने शत्रु अर्थात् ‘अरि’ लाई ज्ञानको अग्निले ‘हन्त’ गरे अर्थात् मारिदिए, भष्म पारे । र, उनी दुःखबाट मुक्त भए अर्थात् निर्वाणमा उपलब्ध भए । चित्तको यो अवस्थामा पुगेकालाई नै ‘अर्हत्’ भनिएको हो । त, पुस्तक ‘अर्हत्’ ‘अरिहन्ता’ बुद्धको जीवनीबारे मूल रूपले केन्द्रित हुनु स्वाभाविक नै हुने भयो । 

‘अर्हत्’ का पानाहरू पल्टाउँदै जाँदा पाठकलाई स्वाभाविक रूपले के बोध हुँदै जान्छ भने बुद्धको ८० वर्षको जीवनलाई लेखक अधिकारीले प्रशस्त अध्ययन, खोजबिन र जाँचबुझका साथ आख्यानमा उतारेका छन्, जो पढ्नमा रसयुक्त र गुन्नमा गुणयुक्त छ । अप्रचलित संस्कृत शब्दहरूको सघन प्रयोग भए पनि अभिव्यक्तिमा देखिएको निखार र वाक्य गठनमा आएको छरितोपनले पुस्तक कतै पनि बोझिलो लाग्दैन । एक लेखकका रूपमा अधिकारीको शैलीमा निजत्व मात्रै छैन, विशिष्ट शिल्प पनि छ जो समकालीन नेपाली साहित्यमा अरूभन्दा भिन्न र आफ्नै भंगिमाले मोहक छ । 

पुस्तकको अन्त्यमा ९ पृष्ठ लामो ‘अर्हत्’ मा प्रयुक्त नयाँ जस्ता लाग्ने शब्दहरूको अर्थसहितको सूचीले पाठकलाई क्लिष्ठताबाट छुटकारा दिलाउन मद्दत दिलाउँछ । पुस्तक मूलतः बुद्धको जीवनी हो, जो अधिकारीले आफ्नै ढंगले आख्यानीकृत गरेका छन् ।

होलोग्रामको मूर्ति एकछेउबाट हेर्दा गणेशको जस्तो र अर्को छेउबाट हेर्दा कुमारको जस्तो देखिएकै शैलीमा अर्थसूची बाहेकको कुल २९९ पृष्ठको यो पुस्तक जीवनी मानेर पढ्दा आख्यानजस्तो र आख्यान मानेर पढ्दा जीवनीजस्तो देखिन पुग्छ । पुस्तक बुद्धको मृत्यु संस्कारबाट सुरु हुन्छ, जसको पहिलो वाक्य यस्तो छ– कुशिनगरमा प्रकाशितात्मा गौतम बुद्धको महापरिनिर्माण भयो । 

बुद्धले शरीर छाडेपछि उनको मृत्युमा पुर्‍याउनुपर्ने विधि, शास्त्रोचित रीत र श्रद्धानत भिक्षु, भिक्षुणी, श्रमण, उपासक तथा उपासिकाहरूको ठूलो समूहले अचानकसँग अनुभव गरेको एक रिक्तता र त्यसलाई सम्बोधन गर्न २५ वर्षसम्म बुद्धको छायाझैं उनिसँगै बिताएका मुख्य सेवक आनन्दले गरेको बुद्ध स्मरणको गाथा उपन्यासको मूल संरचना हो ।

आनन्दले बुद्धसँग गरेका संवाद, आफ्नो जीवनकालमा हजारौं हजारलाई बुद्धले दिएको देशना र त्यसलाई आनन्दले सम्झन खोज्दा भएको धर्म संगायन र अन्य ध्यान लाभ गरेका तथा अर्हत्वको अवस्थामा पुगेका भिक्षुहरूको सामूहिक स्मरणलाई संकलन गर्दा तीन टोकरी जति ग्रन्थ तयार भयो, जसलाई तीन अलगअलग नाम दिइएको छ– विनय पिटक, सुत्त पिटक र अभिधम्म पिटक ।

दुःख मुक्तिका लागि बुद्धले सिकाएको आर्य अष्टाङ्गिक मार्ग– सम्यक स्मृति, सम्यक्  संकल्प, सम्यक् वाणी, सम्यक् कर्म, सम्यक् आजीव, सम्यक् अभ्यास, सम्यक् स्मृति र सम्यक् समाधिलाई मुख्य तीन वर्गमा बाँड्न सकिन्छ– शील, समाधि र प्रज्ञा ।

शीलले आउन सक्ने दुःखलाई रोक्छ, समाधिले भइरहेको दुःखलाई रोक्छ र प्रज्ञाले दुःखको जडसमेत उखेलेर त्यसलाई सधैंका लागि अन्त गर्छ । यसरी, शील, समाधि र प्रज्ञाको यथोचित सन्तुलनले जसको जीवनमा पनि बुद्धत्वको आविर्भाव गराउन सक्छ भन्ने बौद्ध दर्शन छ । यो दर्शनलाई त्रिपिटकमध्येको विनय पिकटले शील र सुत्त तथा अभिधम्म पिटकले समाधि र प्रज्ञाको उद्बोधन गर्ने बुद्ध वचनहरू संग्रहित गरेको छ । 

शैलेन्द्र अधिकारीको आख्यानमा आनन्दको वाणीमा बुद्ध आफैंले आएर आफ्नो जीवनको इतिवृत्तान्त कहेका छन् र त्यस कथनीमा विनय तथा सुत्त पिटकका प्रसङ्ग अधिकतर छन् । साना साना अध्यायहरूमा बुद्धको जन्मदेखि मृत्युसम्मको अवधिमा भएका मूलमूल घटनाको संस्कृतनिष्ठ प्राञ्जल शैलीमा आख्यानीकरण गरेर शैलेन्द्रले तथागतको जीवनलाई एक दृष्टिकोणबाट बुझ्न सहयोग पुर्‍याउने सामग्री नेपाली साहित्यलाई दिएका छन्, जो महाखडेरी भएको बौद्ध बाङ्मयमा एक सार्थक योगदान अवश्य नै हो । यसका लागि उनको कर्म स्तुत्य छ । 

बुद्धको परिनिर्वाणपछि उनको उपदेशलाई सुन्नेहरूको बुझाइका आधारमा विभिन्न मतालम्बीहरूको विकास भयो । त्यसमध्ये माध्यमिक, योगाचार, सौत्रान्त्रिक सर्वास्तिवाद मुख्य हुन् । माध्यमिक र योगाचार महायानभित्रका सूत्र यान र तन्त्र यान जोडिएको छ । सौतान्त्रिक र सर्वास्तिवाद हिनयान अर्थात् थेरवादसँग सम्बन्धित छ । बुद्धको देशना र जीवनीलाई हेर्ने यी शाखा र सम्प्रदायबीच केही अलग दृष्टिकोण छ । जस्तो कि महायानीहरूले बुद्धलाई ‘अर्हत्’ मात्रै भन्नु अपमान ठान्छन् ।

योगाचार र माध्यमिक मत अनुसार अर्हत् भनेको त पूर्ण बुद्धत्व हुनुभन्दा अघि एक ढंगले मात्रै दुःखको क्षय भएको अवस्था हो । सिद्धार्थ गौतम जन्मौंजन्मको पुण्य कर्म र सम्यक् संकल्प तथा प्रणिधानको बलले अर्हत् होइन ‘सम्यक् सम्बुद्ध’ भएका थिए भन्ने महायानी मत छ । सम्यक् सम्बुद्धत्व त्यो अवस्था हो, जसमा आफू मुक्त भइसकेपछि पनि मोक्षको द्वारमा नपसी सबै प्राणीलाई मुक्तिको बाटोमा डोर्‍याउने महासंकल्प हुन्छ, जो एक अर्हत्मा हुँदैन । 

लेखक अधिकारीको पुस्तकको शीर्षक नै ‘अर्हत्’ भएबाट उनको ज्यादा अध्ययन वा झुकाव थेरवाद सम्प्रदायसँग भएको त्यसै प्रस्ट हुन्छ । त्यसअनुसारै उनले बुद्धको जीवनीलाई आफ्नै शैलीले देखाउने प्रयास पुस्तकमा गरेका छन् । हामी हिजो खाएको तरकारी के थियो त बिर्सिसक्छौं भने लेख्य परम्पराको सुरुवातै नभएको पच्चीस सय वर्ष अगाडिको समयमा धर्मचक्र चलाउने शाक्यमुनी बुद्धको जीवनीको ऐतिहासिकता ठीक ढंगले मिल्यो कि मिलेन भन्ने प्रश्न मात्रै बौद्धिक बहसका लागि ठीक हुन पुग्छ ।

किनभने, यसमा प्रमाणिकता वस्तुष्ठि भेटिन्न । आस्था, तर्क र अनुभवजन्य बुझाइले व्यक्तिपिच्छे फरकफरक पर्न जान्छ उनको जीवन र घटनाक्रमको इतिहास । तर पनि, विवाद नहुने गरी सुललित ढंगमा लेखक शैलेन्द्र अधिकारीले ‘अर्हत्’ मा बुद्धलाई चित्रण गरेका छन् । यो निकै प्रशंसापूर्ण कृत्य हो । 

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully