के माइकल ज्याक्सन जिउँदै छन् ? 

‘किङ अफ् पप’ माइकल ज्याक्सन जति चर्चित–सफल थिए, जीवन उति नै उतारचढाव, विवाद र अफवाहले भरिएको थियो, त्यो दु:खले मृत्युपर्यन्त माइकललाई छाडेको छैन

मंसिर २९, २०८१

सजना बराल

Is Michael Jackson alive?

अमेरिका र हलिउडका ‘कन्स्पिरेसी’ (अफवाह) हरू नौला होइनन् । अभिनेत्री मर्लिन मुनरोको निधनमा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीलाई जोडेर होस् वा सन् १९६९ मा अमेरिकाले चन्द्रमामा मानव ओरालेको क्षणलाई निर्देशक स्टान्ले कब्रिकले बनाएको भिडियोको प्रसंग होस्, अमेरिकामा सबैजसो ऐतिहासिक घटनाबारे साना–ठूला कन्स्पिरेसी आइरहन्छन् । हलिउडका सेलेब्रिटीहरूबारे अझै धेरै कन्स्पिरेन्सी छन् ।

अन्तरिक्ष विज्ञानले यत्ति ठूलो फड्को मारिसक्दा पनि अमेरिकाका झन्डै २ प्रतिशत जनसंख्या अर्थात् दसौं लाख मानिसहरू पृथ्वी गोलो नभई चेप्टो छ भन्ने ‘कन्स्पिरेसी सिद्धान्त’ मा विश्वास गर्छन् । 

हलिउडका सेलेब्रिटीहरूको निधनमा यस्ता कन्स्पिरेसी झनै भरपूर सुनिन्छन् । मुनरोसँगै पल वाल्कर, कर्ट कबेन, एल्भिस प्रेस्ली, पल म्याकार्थी र जोन लेननजस्ता हलिउड सेलेब्रिटीको मृत्युपछि सिर्जना भएका अनेकथरी कन्स्पिरेसीबारे अझैसम्म चर्चा हुने गरेको छ । सामाजिक सञ्जाल, मिडिया अन्तर्वार्ता, पडकास्ट र डकुमेन्ट्रीको हिस्सा बन्ने गरेको यस्तै एउटा घटनामध्ये एक हो, ‘किङ अफ पप’ अर्थात् ‘पप संगीतका राजा’ माइकल ज्याक्सनको महाप्रस्थान । 

सन् २००९ को जुन २५ मा राति निदाउन आफ्नै व्यक्तिगत डाक्टरले दिएको औषधिको मात्रा अत्यधिक भएका कारण ५० वर्षको उमेरमा ज्याक्सनको निधन भएको घोषणा गरिएको थियो । लापरबाहीका लागि चिकित्सक कनराड मरेलाई ४ वर्षको जेल सजायसमेत सुनाइएको थियो । निधनपछि जुलाई ७ मा एक सार्वजनिक स्मृतिसभा र सेप्टेम्बर ३ मा माइकलको अन्त्येष्टि गरिएको थियो । उनका परिवार र विभिन्न सेलेब्रिटीको उपस्थितिमा उनको पार्थिव शरीरलाई सुनको जलप लगाइएको कफिनमा विसर्जन गरिएको थियो ।

अहिलेसम्मै हलिउड र विश्वकै सबैभन्दा धेरै अवार्ड जित्नदेखि सर्वाधिक एल्बम बिक्री हुने वा कम उमेरमै अमेरिकी–चार्टको उत्कृष्ट दसमा परेर ज्याक्सनले जीवनकालभरि प्रसंशकलाई सांगीतिक जादु वरिपरि राखिरहे । आफ्ना दाजुहरूसँगको सांगीतिक समूह हुँदै एकल गायनको क्षेत्रमा उनी छिरेका थिए । उनका एल्बम ३० करोड प्रतिभन्दा धेरै बिक्री भएका छन् । गीतहरूसँगै प्रस्तुति र नृत्यको माध्यमबाट उनले पप संगीतको राजाको उपाधि आर्जन गरेका थिए । 

निधनपछि पनि ज्याक्सनको परिवारले निरन्तर उल्लेख्य आम्दानी गरिरहेको छ । ‘फोर्ब्स’ म्यागेजिनले उनलाई निधनपछि सबैभन्दा धेरै कमाउनेहरूको सूचीमा अग्रस्थानमा राखेको छ । यो घटना संगीत बजार र हलिउडमा उनको नमेटिने ख्यातिका रूपमा बुझ्न सकिन्छ । सन् २०१६ मा मात्रै उनको परिवारले एकै वर्षमा झन्डै ८२५ मिलियन अमेरिकी डलर आर्जन गरेको थियो । यो रकम अहिलेकी चर्चित गायिका टेलर स्विफ्टले आफ्नो ‘एराज टुर’ बाट व्यक्तिगत रूपमा कमाएको आम्दानी आसपास हो । 

ज्याक्सन जति चर्चित र सफल थिए, जीवन उति नै उतार–चढाव, विवाद, कानुनी लडाइँ र कन्स्पिरेसीले भरिएको थियो । र, यो दु:खले उनलाई मृत्युपर्यन्त पनि छोडेको छैन । सन् १९८४ मा पेप्सीको एउटा विज्ञापन सुटिङ गर्ने क्रममा भएको दुर्घटनाले ज्याक्सनको जीवन सधैंका लागि परिवर्तन गरिदियो । त्यही बेला उनको अनुहारको केही भाग आगोले जल्यो । त्यसपछि बारम्बार प्लास्टिक सर्जरी र अन्य प्रतिबन्धित औषधिको सेवनले उनी सधैं चर्चा, विवाद र झमेलामा परिरहे । दजनौं पटक नाक, चिउँडो, अनुहार, छाला लगायतको प्लास्टिक सर्जरी र स्वरूप परिवर्तन गरिरहे । ६५ भन्दा बढी मुद्दा झेलेका उनलाई बालबालिकाहरूमाथि यौन दुर्व्यवहारको आरोप पनि लाग्यो । जीवन नै असहज हुने ऋणको भासमा उनी नराम्रोसँग भास्सिए । सोनीलगायत ठूला कम्पनी, कन्सर्ट आयोजक र आफ्ना कर्मचारीसँगको कानुनी लडाइँले जीवनको उत्तरार्धतिर उनी लगभग टाट पल्टिए । 

सन् १९९३ बाटै सुरु भएको बालयौन दुराचारको मुद्दामा उनले २५ मिलियन अमेरिकी डलर तिरेर मेलमिलाप गरेका थिए । सन् १९८४ मा अमेरिकाको रंगभेदविरुद्ध बोल्दा र ‘सोनी’ का तत्कालीन प्रमुखलाई रंगभेदी भएको आरोप लगाउँदा उनले मिडियाको खिचातानी सहनुपरेको थियो । अनेकौं मुद्दा–मामिला, अव्यवस्थित आर्थिक ब्यहोरा, सनक र मनमौजी शैलीका कारण निधनका समयमा झन्डै ५ सय मिलियन डलर आसपास ऋणमा थिए माइकल । त्यसबेला उनी सन् २००९ को जुलाईमा सुरु हुन लागेको ‘दिस इज इट’ नामक सांगीतिक यात्रामा ५० वटाभन्दा बढी स्टेज प्रस्तुति दिने तयारीमा थिए । निधनको अघिल्लो साँझसम्म निकै फुर्तिलो भएर रिहर्सलमा व्यस्त रहेका, तर अचानक बितेको समाचार आएसँगै माइकलको मृत्युबारे अनेकथरी हल्ला फैलन सुरु भएका थिए ।

Is Michael Jackson alive?

ज्याक्सनको मृत्युपछिका कन्स्पिरेसीहरूलाई सामाजिक सञ्जालको व्यापकताले झनै थपथाप गर्ने काम गरे । त्यसबेला सुरुवाती उछालमा रहेका सामाजिक सञ्जाल र फ्यान ग्रुपमा ज्याक्सनका प्रशंसकहरूले उनको मृत्यु नक्कली भएको र उनी जीवित रहेको हल्ला फैलाए । पछि त्यही विषयलाई टेलिभिजन, डकुमेन्ट्री र पुस्तकको विषय बनाइयो । अत्यन्तै ठूलो प्रशंसक समूह भएकाले ज्याक्सनको निधनसम्बन्धी कन्स्पिरेसीहरूमा स्वत: धेरैको चासो हुन्थ्यो ।

ल्यारी किङ, न्यान्सी ग्रेसजस्ता टीभी कार्यक्रम सञ्चालकहरूले पनि ज्याक्सन नजिकका व्यक्तिहरूको अन्तर्वार्ता लिने र कन्स्पिरेसीहरूलाई फैलाउने काम गरे । ल्यारीले त झन्डै–झन्डै माइकल ज्याक्सनजस्तै देखिने र उनीजस्तै हाउभाउ भएका डेभ नामक प्रशंसकको समेत अन्तर्वार्ता लिएका थिए । डेभलाई कतिपयले माइकल नै भएको ठोकुवा गरे । ‘डेली स्टार’ अनलाइनजस्ता सेलेब्रिटी गसिपमा आधारित मिडियाले मृत्यु–दर्ता लगायतका केही दस्तावेजमा माइकलको मिडिल नामहरू फरक रहेको र त्यो नै खतरनाक ‘प्रमाण’ हो भन्दै यस्ता हल्लालाई बल पुर्‍याउने काम गरेका थिए । 

डकुमेन्ट्री निर्माता पर्ल जुनियरले ‘ज्याक्सन जीवितै रहेको’ भनेका छन् । तीन भागको एउटा डकुमेन्ट्रीमा पर्लले ‘किङ अफ पप’ को मृत्युसँगै सम्बन्धित विविध विषयमा प्रश्न मात्रै उठाएका छैनन्, ज्याक्सनले नक्कली मृत्यु गराएको दाबी पनि प्रस्तुत गरेका छन् । त्यस डकुमेन्ट्रीको आशय छ– ज्याक्सन आफ्नै अन्तिम संस्कारमा उपस्थित थिए, केही सार्वजनिक स्थानमा देखा परेको थिए र यो घटनामा परिवारको समेत साथ छ । सन् २००९ मा बब जोन्स र स्टेसी ब्राउनले ज्याक्सनबारे लेखेको ‘माइकल ज्याक्सन : द म्यान बिहाइन्ड द मास्क’ लगायत पुस्तक र लेखहरूले पनि धेरैखाले कन्स्पिरेसी सिद्धान्त फैलाएको थियो । 

कन्स्पिरेसी फैलाउनेहरूले जोडतोडका साथ अघि सारेको एक प्रमुख विषय हो– मृत्युपर्यन्त पनि ज्याक्सन देखिएको दाबी । माइकलजस्तै देखिने व्यक्ति उनका भतिजाको विवाहमा उपस्थित रहेको दाबी कतिपय कन्स्पिरेसी निर्माताहरूको छ । ती भन्छन्– छोरी पेरिस ज्याक्सनको २०१६ को भिडियोमा समेत माइकल देखापरेका थिए । यी पप गायक आफ्नो नक्कली मृत्युपछि टेक्ससको ग्रामीण भेगमा गुमनाम बस्दै आएको समाचार सामाजिक सञ्जालमा फैलाउने गरिएको छ । 

ज्याक्सनको अन्तिम संस्कारमा उनका आफन्तहरू खासै शोकमा नडुबेको र कतिपय त मुस्कुराएको जस्तो देखिने भन्दै कन्स्पिरेन्सी रच्नेहरूले यसलाई अर्को प्रमुख आधार बताउँदै आएका छन् । झन्डै ५०० मिलियन डलर ऋण र असीमित कानुनी झमेलाबाट भाग्न ज्याक्सनले आफ्नै अन्त्येष्टि मञ्चन गरेको सोच्नेहरूको पनि कमी छैन । अघिल्लो दिन अत्यन्तै राम्रो रिहर्सल गरेका ज्याक्सनको कफिन खोल्दै नखोली अन्तिम संस्कार गरिएकोमा शंका गर्नेहरू छन् । र, उनकै मृत्युसँग सम्बन्धित आरोपमा जेल परेका चिकित्सकको भनाइका आधारमा धेरै विषय ठोकुवा गरिएकाले शंका गर्ने ठाउँ रहेको कन्स्पिरेसीवालाको तर्क छ । हलिउडकै चर्चित र ज्याक्सनसँग काम गरिसकेका हेअर स्टाइलिस्ट स्टिभ एर्हार्टले गायक जीवितै रहेको र चाँडै अगाडि आउने दाबी गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेपछि यो हल्ला अझै बलियो बन्न पुगेको छ । उनले यस्ता विषयको ठोस प्रमाण दिएका छैनन्, न त सो दाबी अहिलेसम्मै सत्य निस्केको छ । सन् २०२४ मा आइपुग्दा ‘आर्टिफिसियल इन्टेलिजेन्स’को प्रयोगबाट विभिन्न डिजिटल क्रियटरहरूले झन् बाक्लै रूपमा ज्याक्सनले गीत गाउँदै गरेको फोटो र भिडियोहरू मिथ्या सूचनाका रूपमा फैलाउन थालेका छन् ।

ज्याक्सनका परिवार र नजिकका आफन्तहरूले भने उनी जीवितै रहेको वा उनको मृत्यु नक्कली रहेको दाबीहरूलाई नकार्दै आएका छन् । सन् २०१७ मा रोलिङ स्टोनलाई दिएको एक अन्तर्वार्तामा उनकी छोरी पेरिस ज्याक्सनले प्रमुख कन्स्पिरेसीहरूलाई नकार्दै पिताको हत्या भएको बताएकी थिइन् । माइकलकी बहिनी लातोया ज्याक्सनले पनि उनको सांगीतिक सम्पत्तिका लागि आफ्ना दाजुको हत्या भएको दाबी गरेकी थिइन् । ‘द सन’ पत्रिकाले प्रकाशित गरेका माइकल ज्याक्सनद्वारा लेखिएको भनिएका केही हस्तलिखित नोटहरूमा लेखिएको छ, ‘उनीहरूले मलाई मार्न चाहेका छन्,’ ‘म मेरो जीवनदेखि डराएको छु’ । 

‘डेली स्टार’ अनलाइनलाई दिएको एक अन्तर्वार्तामा उनका तत्कालीन अंगरक्षक म्याट फिडेसले बजारका कन्स्पिरेसीहरूमा कुनै सत्यता नभएको र त्यसले ज्याक्सनको परिवार र आफन्तलाई नराम्रो असर पार्ने बताएका थिए । ज्याक्सनको निधनपछि उनकी आमा क्याथेरिन बजार हल्लामाथि टिप्पणी गर्दिनन्, बरु उनको पृष्ठभूमि, परिवार वा सांगीतिक विरासत सम्हाल्नमा समय खर्चिन्छिन् । ज्याक्सनका तत्कालीन चिकित्सक र उनका वकिलले बिग्रँदो आर्थिक अवस्था र तनावका कारण गायकले लागूऔषधको प्रयोगबाट आफैंलाई मारेको अभिव्यक्ति दिएका थिए ।

ज्याक्सनका अत्यन्तै नजिकका साथी तथा हलिउड सेलेब्रिटीहरू स्टिभी वन्डर, क्विन्सी जोन्सहरूले पनि उनको निधनसँग सम्बन्धित सबैखाले हल्लालाई नकार्दै आएका छन् । झन्डै १५ वर्षअघि ऋणमा चुर्लुम्मै डुबेर निधन भएका ज्याक्सनको परिवार अहिले अर्बपतिमा गनिन्छ र लगभग सबैजसो कानुनी विवाद सल्ट्याएर आफ्नै काममा व्यस्त छ । उनकी आमा अहिले पनि त्यो सम्पत्तिको प्रमुख हिस्सा व्यवस्थापन गर्छिन् । गायक ज्याक्सनका तीन सन्तानले पनि पिताको निधनपछिको जीवन सम्हाल्ने प्रयास गरेका छन् । जेठा छोरा प्रिन्स युट्युब च्यानल चलाउँछन् भने छोरी पेरिस संगीत र अभिनयमा व्यस्त छिन्, कान्छा छोरा बिगी खासै सक्रिय छैनन् र फिल्म निर्माणमा चासो राख्छन् । ज्याक्सनका बहिनीहरू जानेट र लातोया, दाइहरू टिटो, ज्याकी, मार्लोन संगीतकर्ममै विभिन्न रूपले संलग्न छन् । 

बाँचिरहेका भए माइकल ज्याक्सन अहिले ६५ वर्षका हुन्थे र सम्भवत: सबैभन्दा चल्तीका गायकमै गनिन्थे । उनको निधनसँग सम्बन्धित कुनै पनि दाबी र कन्स्पिरेसी थ्यौरीहरूको पुष्टि भएको छैन । बरु तिनले मिथ्या र असत्य सूचना फैलाएका छन् । जीवितै हुन्थे भने अहिलेको अटो–ट्युन र मसिनसँगै एआई र डीजेकेन्द्रित गीतको ट्रेन्डलाई उनी कसरी हेर्थे ? धेरैमा यो उत्सुकता जीवितै छ । 

एजेन्सीको सहयोगमा

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully