कन्सर्ट सिजन 

कोभिडले लोप हुन लागेको थियो– कन्सर्ट कल्चर । तर, अब सहरहरू कन्सर्टमय बन्दै छन् । लामो समयपछि दर्शक एकै ठाउँ रमाइरहेका छन् । सांगीतिक माहोलले सहर मनोरम छ । संगीतको यो बहार कसरी फर्कियो ?

मंसिर २९, २०८१

रीना मोक्तान

Concert season

कहालीलाग्दा बाढी–पहिरोले झरीसँग बिदाइ मागिसके । फागुनले उडाइल्याउने हुरी–बतास अलि परै छ । चिसो बादललाई घामले पन्छाउँदा आकाश खुल्न थालेको छ । दिनहरू छोटिँदै गएका छन्, किसानले खेतीबाट फुर्सद पाएका छन् । वसन्तको पर्खाइमा रहेको यो मौसम झट्ट हेर्दा मनोरम छ ।

मौसमले मनोरञ्जन निम्त्याइरहेको छ । सहरतिर नजर हुत्याउने हो भने यो समयलाई कन्सर्टको मौसम भन्न सकिएला । कार्यक्रम आयोजकहरू यो मौसमलाई भनिरहेका छन्– ‘कन्सर्ट सिजन’ । त्यसैले होला जता हेर्‍यो त्यतै कन्सर्ट भइरहेको छ, दर्शकको भीडले सहर उल्लासमा छ । 

गत शनिबार काठमाडौं कन्सर्टमय बन्यो । कीर्तिपुरमा ‘कुटुम्ब’ र ‘कर्मा’ ब्यान्डले ‘एकै स्वरमा कीर्तिपुर’ शीर्षकमा ११ हजार बढी दर्शक नचायो । त्यही दिन ‘दि एलिमेन्ट्स’ ले भृकुटीमण्डपमा युवा दर्शक नचाइरहँदा भक्तपुरको सल्लाघारी चउरमा ‘मन्त्र’ लगायत थुप्रै ब्यान्डको संगीतमा भक्तपुरवासी झुमिरहेका थिए । त्यही चउरमा हो, दुई साताअघि सज्जनराज वैद्यका गीत सुन्न १३ हजार दर्शक ओइरिएका थिए । सज्जनको कन्सर्टमा यति धेरै दर्शक ओइरिएलान् ? आयोजकले चिताएकै थिएन । सज्जन–कन्सर्टको त्यो भीड भारतीय कलाकार अरिजितपछिको सबैभन्दा ठूलो हो । सज्जनले यस वर्ष पाँच सहरका करिब ५० हजार दर्शकलाई कन्सर्टमा जम्मा गराएका थिए । नेपालमा हनी सिंहको लाइभ हुँदा पनि यति दर्शक देखिएका थिएनन् । सज्जन सुन्न चितवनको नारायणघाटमा ८, बुटवलमा ६, पोखराको लेकसाइडमा ८, इटहरीमा ९ र भक्तपुरमा १३ हजारभन्दा बढी दर्शकको घुइँचो थियो ।

Concert season 

यी दृश्य कन्सर्टमय बन्दै गएको समयका दस्तावेज हुनेछन् । यी दृश्य कन्सर्ट सिजनले देशभरि भित्र्याएको सांगीतिक माहोलका झल्को हुन् । संगीतमा यस किसिमको बहार के मौसमले मात्रै फर्काएको हो ? त्यो पक्कै होइन । हो, चिसो मौसमलाई कन्सर्टले तताउँछ नै । तर, यो गतिविधिले ‘कन्सर्ट कल्चर’ को फराकिलो हुँदै गएको बजारचाहिँ देखाउँछ । लामो समयपछि फेरि दर्शक एकसाथ भेला भएर झुम्न तयार छन्, रम्न तयार छन् । यसले ‘पोस्ट कोभिड’ मनोविज्ञान दर्शाउनुका साथै बढ्दै गएको ‘इभेन्ट इन्डस्ट्री’ को भविष्य पनि देखाउँछ । 

कोभिडअघि यस्तो दृश्य देख्न मुस्किल पर्थ्यो । उतिबेला सांगीतिक कार्यक्रम क्लबमै सीमित थिए । सन् २०१९ मा कर्मा ब्यान्डले ‘नेपाल टुर’ गरेको थियो । असलमा त्यो थियो– नाम मात्रैको टुर ! क्लबमा मात्रै गाउने/बजाउने गर्नुपर्दा ब्यान्डका प्रमुख गायक सुरेन्द्रमान सिंहले कन्सर्टहरू साँघुरिँदै गएको अनुभव गरेका थिए । ब्यान्डको कम–ब्याक यसरी होला भन्ने नसोचेका उनलाई क्लबमा गाउँदाको अनुभवले मन खिन्न बनाएको थियो, भित्र कतै चित्त पनि दुखेको थियो । 

तर, गत साताको कीर्तिपुर–कन्सर्टले सुरेन्द्रलाई यस किसिमका सांगीतिक माहोल ब्युँतिन थालेको अनुभव गराएको छ । ‘हाम्रो कन्सर्टको घोषणा भएलगत्तै यसबीच अरू ठुल्ठूला कन्सर्ट भए । ती ठुल्ठूला कन्सर्टले आत्मबल थप्यो । कन्सर्ट कल्चर मरेको रहेनछ, कार्यक्रम आयोजना गरिदिनेले मात्रै क्लबमा सीमित गराइदिएका रहेछन् भन्ने लाग्यो,’ सुरेन्द्रमानले नवीन अनुभव साटे, ‘क्लब र ओपन कन्सर्टको मज्जा बेग्लै हुन्छ भन्ने दर्शकले बुझेका छन् । कलाकारकै हिसाबले पनि क्लब र ओपन कन्सर्टको आनन्दानुभूति अर्कै हुन्छ । हामी त ओपन कन्सर्ट गर्दै हुर्केका हौं । त्यसैले कीर्तिपुरको कन्सर्टले हामीलाई फेरि हामी सही ठाउँमा फर्कियौं भन्ने अनुभूति दिलाएको छ ।’ कर्मा अब भक्तपुर, पूर्वको दमक र इटहरीमा कन्सर्टको तयारी गर्दै छ । 

‘कन्दरा’ ब्यान्डका लिड भोकलिस्ट विवेक श्रेष्ठले पनि कोभिडअघि ठूलो कन्सर्ट देखेनन् । यसबीच विदेशी कलाकारको कन्सर्ट नेपालमा हुन थालेसँगै कन्सर्टको माहोल फेरि फर्किएको आभास गरेका छन् । कोभिडपछि भारतका चर्चित गायकहरू अरिजित सिंह, आतिफ असलम, हनी सिंह, प्रतीक खुहदलगायतका कलाकारले नेपालमा कन्सर्ट गरे । आफूहरूले अरिजित सिंहलाई ल्याएसँगै नेपालमा खुला कन्सर्ट बढ्दै गएको दाबी गर्छन्, गराज इन्टरटेन्मेन्टका रसिक भट्टराई । एक वर्षअघि गराज र एमएन प्रोडक्सनको संयुक्त आयोजनामा अरिजितको लाइभ कन्सर्ट नेपालमा भयो । १५ हजार दर्शक हायत रिजेन्सीमा अरिजितलाई हेर्न आइपुगे । अब गराजले चाँडै सुशान्त केसीको कन्सर्ट गर्ने तयारी थालिसकेको छ । 

Concert season

पछिल्लो समय नेपालमा मात्रै होइन, विदेशमा भएका नेपाली दर्शकबीच पनि नेपाली कलाकारको प्रस्तुति बढ्दै गएको छ । स्वप्न सुमन, दि एलिमेन्ट्स, सुशान्त केसी, प्रवेशकुमार श्रेष्ठ, वेक्चा, समीर श्रेष्ठ, आकाश खड्का, सुशान्त घिमिरेलाई व्यवस्थापन गर्दै आएको गराज वर्षमा यी कलाकारले २०–४० शो गर्दै आएको सुनाउँछ । रसिकका अनुसार, गत एक वर्षभित्र ‘दि एलिमेन्ट्स’ ले ५० भन्दा बढी शो गरेको थियो । विभिन्न कार्यक्रमसँग सहकार्य बढाउँदै आएको खल्ती डिजिटल वालेटका इभेन्टहरू सम्हाल्दै आएकी पूजा धामीका अनुसार, अहिले खल्तीले आर्थिक वर्षमा करिब ५ सयभन्दा बढी कार्यक्रम गर्छ । त्यसमध्ये २ सयभन्दा बढी कार्यक्रम त सांगीतिक नै हुन्छन् । अरिजितपछि नेपालमा गरिएको ठूलो कन्सर्ट सज्जनकै रहेको धामीको दाबी छ । ‘अरिजितको ११ हजार टिकट बिक्यो, सज्जनको काठमाडौंमा मात्रै ११ हजार टिकट बिक्री भएको थियो,’ पूजाले भनिन् । पूजाका अनुसार, अहिले कन्सर्टहरूको संख्या ह्वात्तै बढेको छ । 

कन्सर्ट कल्चर बढेकै हो त ? 

कन्दराका विवेक अहिले नेपालमा कन्सर्ट कल्चर बढेको स्विकार्छन् । सहरी क्षेत्रका युवापुस्तामा पश्चिमा संगीतको प्रभाव देखिनुका साथै उनीहरूमा कन्सर्ट कल्चरको विकास भएको विवेक सुनाउँछन्, ‘कन्सर्टमा जानुपर्छ, गएर रमाइलो गर्नुपर्छ भन्ने उनीहरूमा देखिन्छ । प्रविधिको विकास पनि कन्सर्टमा छ । कन्सर्टको त्यही अनुभूति लिन पनि कार्यक्रममा जाउँ भन्ने दर्शक छन् ।’ 

कर्माका सुरेन्द्रमानको विचार छ, लाइभ कन्सर्टको अनुभव लिनै दर्शक कन्सर्टसम्म धाउँछन् । ‘संगीतले मानिसलाई आकर्षित गर्छ । कीर्तिपुरमै हामीले त्यो अनुभव गर्‍यौं । एउटै मात्रै गीत सुन्न पनि दर्शक कन्सर्ट आउँदा रहेछन्,’ सुरेन्द्र भन्छन्, ‘ओपन कन्सर्टको अनुभव लिन पनि दर्शक तयार छन् । आयोजकले ओपन कन्सर्ट गर्ने हिम्मत गरेसँगै यस किसिमको कार्यक्रम नेपालमा बढ्न थालेको हो ।’ त्यसैले अहिले कलाकार व्यवस्थापनदेखि, इभेन्ट आयोजक संस्था बढेको छ, प्रोडक्सन कम्पनी पनि मौलाउन थालेको छ । 

सन् २०१९ देखि गराजमार्फत कलाकार व्यवस्थापन गरिरहेका रसिक भन्छन्, ‘नेपालमा खाली समयमा गर्ने खास सेड्युल छैन । घुम्न कति जानु ? पढ्दै गरेका युवाको क्षमताले पनि कन्सर्ट–खर्च व्यहोर्न सक्छ । विदेश घुम्न जान गाह्रो छ । खाँदै, पिउँदै मनपर्ने गायक–गायिकाको गीतमा झुम्न कन्सर्ट सहज भइदियो ।’ युवापुस्ताले युवाकै भावना संगीतमा मिसाइदिने हुँदा युवाहरू कन्सर्टमा आकर्षित हुने उनको तर्क छ । व्यावसायिक बन्दै आएको संगीत क्षेत्रमा कन्सर्ट नै राम्रो कमाइको स्रोत बन्दै छ । विवेक श्रेष्ठहरूको समयमा कन्सर्ट गरेर चित्तबुझ्दो पारिश्रमिक पाइँदैनथ्यो । ‘प्यासनकै लागि कति कन्सर्ट गर्नु ? १/२ पटक रमाइलोका लागि संगीत त गर्थें, तर कन्सर्ट त्यतिबेला व्यावसायिक थिएन,’ विवेकले विगत सम्झे । 

Concert season

समयसँगै कन्सर्टलाई हेर्ने नजर फेरिएको छ । उतिबेला कन्सर्टबारे समाज सकारात्मक थिएन । छोराछोरीलाई कन्सर्टमा पठाउन परिवार मान्दैनथ्यो । कन्सर्ट जानु बिग्रिएको मानक थियो । तर, अब समाज खुल्न थालेको बताउँछन् ‘आदी’ ग्रुपका आशिष पराजुली । तीन वर्षदेखि कलाकार व्यवस्थापनमा सक्रिय उनी नेपालमा कन्सर्ट कल्चर कोभिडयता बढेको बताउँछन् । उनले सन् २०१५ मै कन्दरालाई व्यवस्थापन गरी कम–ब्याक गराए– ‘भेडीगोठैमा’ भन्ने एल्बममार्फत । पोखरामा कन्दराको कम–ब्याक कन्सर्ट ‘आदी’ ग्रुपले नै गरेको थियो । अहिले ‘कर्मा’ सँग जोडिएका आशिष नेपालकै कलाकारलाई प्राथमिकतामा राखेर कन्सर्ट आयोजनादेखि कलाकार व्यवस्थापनमा सक्रिय छन् । 

दृश्य : कोभिडअघि र पछि

कोभिडपछि विश्वस्तरमै कन्सर्टहरू बढ्न थालेको छ, टेलर स्विफ्ट ज्वलन्त उदाहरण भइहालिन् । भारतमै पनि दिलजित दोसाझको कन्सर्टले हजारौं दर्शकको भीड जम्मा गराएको छ । ब्रिटिस संगीत समूह कोल्ड प्लेले ‘भारत टुर’ गर्दै छ । एड सिरिन भुटानमा प्रस्तुति दिन जाँदै छन् । कोभिडअघिसम्म एकाध ठूला ब्यान्डबाहेक यो तहको कन्सर्ट सुनिँदैनथ्यो । अहिले दृश्य ठीक उल्टिएको छ । लाग्छ, पूरै विश्व सांगीतिक टुरमा झुमिरहेको छ । नेपाली कलाकार पनि महिनैपिच्छे फरक–फरक देशमा टुर गरिरहेका हुन्छन् । 

कोभिडअघि कन्सर्टको यतिसम्म क्रेज नभएको बताउँछन्, आरबिटरीका विपिन नकर्मी । आरबिटरीले नै कोभिडपछि हनी सिंहलाई नेपाल भित्र्याएको थियो । दुई सयभन्दा बढी सांगीतिक कार्यक्रम गरिसकेको आरबिटरीलाई कोभिडले नमज्जाले हिर्कायो । कोभिडअघिसम्म हप्तामा १० शो गरिरहेको थियो, आरबिटरी । तर, लकडाउनसँगै कन्सर्ट, सांगीतिक कार्यक्रम बन्द भए । यो आरबिटरीको मात्रै होइन, अधिकांश क्षेत्रको भोगाइ हो । संगीत क्षेत्रमै हेर्ने हो भने अधिकांश कलाकारका थुप्रै शो रद्द भएका थिए । वैदेशिक टुरका कार्यक्रम रोकिए । विश्वका संगीतसम्बन्धी १ सय ७० ठूला कार्यक्रममा धक्का पुगेको थियो । ठुल्ठूला लाइभ कार्यक्रम आयोजना गर्दै आइरहेको विश्वको चर्चित कम्पनी ‘लाइभ नेसन’ को ४० हजार कार्यक्रम थियो– २०१९ मा । तर, २०२२ मा आइपुग्दा ८ हजारमा झर्‍यो । तर, कोभिडलगत्तै १ सय टुरको १५ लाख टिकट बिक्री भएको थियो । त्यो सन् २०१९ को अधिकतम रहेको ग्रामी डटकमले उल्लेख गरेको छ । 

नेपालमै पनि कन्सर्टको संख्या कोभिडपछि बढ्दै आएको बताउँछिन्, खल्तीकी पूजा । ‘अरिजितपछाडि नेपालमा इभेन्ट इन्डस्ट्री विकास भएको देखिन्छ । अहिले ग्लोबल ट्रेन्ड पनि त्यस्तै बनेको छ, कन्सर्टको । सामाजिक सञ्जालले गर्दा पनि असर पारेको छ,’ पूजाले भनिन् । 

Concert season

लाइभ संगीतको बढ्दो मागसँगै क्यालिफोर्नियाको सोफी स्टेडियमले ७० हजारको सिट संख्यालाई बढाएर १ लाख बनाएको थियो । त्यही मञ्चमा सन् २०२३ मा टेलर, बियोन्से, मेटालिका, एड सिरिनलगायतका ठूला स्टारले कन्सर्ट घोषणा गरे । विश्वका यस्ता ठूला कन्सर्टमा दर्शकको संख्या कोभिडपछि बढेको देखाउँछ, बिक्री भएको टिकटले । कोभिडपछिका सन् २०२२ र २०२३ कै कन्सर्टहरूमा यस्तो दृश्य देखियो । कोचेलाजस्ता ठूला मञ्चमा दिनहुँजस्तो कार्यक्रम भयो । सन् २०२२ मा सान फ्रान्सिस्कोमा भएको कार्यक्रममा २ लाख २० हजार दर्शक सहभागी रहेको ग्रामीले उल्लेख गरेको छ । ५६ हजार दर्शक क्षमता भएका मञ्चका कार्यक्रमको टिकट ७० मिनेटमै ‘सोल्डआउट’ भइरहेको थियो । सन् २०२३ मा घोषणा भएका कन्सर्टका टिकट तुरुन्तै बिक्री हुनुले पनि कोभिडपछि दर्शक मनोरञ्जनका लागि आतुर छन् भन्ने देखाउँछ । 

सज्जनकै ‘एकादेशमा’ टुरमा यस्तो दृश्य देखिएको थियो । आरबिटरीका विपिनका अनुसार, टुर घोषणालगत्तै पहिलो चरणको टिकट पाँच दिनमै ‘सोल्डआउट’ भएको थियो । भक्तपुर–कन्सर्टमा क्षमताभन्दा धेरै दर्शक आएका थिए । दर्शकको बढ्दो मागले उनीहरूले कार्यक्रम स्थलमा ४० वटा महिला शौचालय बनाएका थिए, तर उपस्थित दर्शकका लागि ती पर्याप्त थिएनन् । कार्यक्रमको टिकट यति बिक्री भयो कि ब्यान्डका सदस्यदेखि आयोजकका परिवारले समेत टिकट किन्न पाएनन् । सज्जनका बुवाले समेत टिकट नपाएको गुनासो विपिनलाई सुनाइरहेका थिए । तुरुन्तै ५०–७० हजारको टिकट बिक्री भएको देख्दा सामाजिक सञ्जालमा एक जना संगीतप्रेमीले लेखे, ‘कोभिडबीच लामो समय घरभित्र बसेकाहरू अब आफूलाई अभिव्यक्त गर्न चाहन्छन्, एकअर्कासँग कुराकानी साट्न चाहन्छन् । सँगै रमाउन चाहन्छन् भन्ने संकेत हो यो ।’ 

गत शनिबारको कन्सर्टमा दर्शक सहभागिताले अब मानिस एकअर्कासँग रम्न तयार छन् भन्ने मनोविज्ञान देखाउँछ । सज्जनको भीड देखेका विपिन थप्छन्, ‘नेपालमा यस किसिमको कन्सर्ट देखिएकै थिएन । अहिले युवा दर्शकमा टिकट किन्ने चलन बढेको छ ।’ अहिले पूर्वदेखि पश्चिमसम्मै महोत्सवदेखि सांगीतिक कार्यक्रम बढेको खल्तीकी पूजा सुनाउँछिन् । ‘संगीत सुन्न मात्रै होइन सेलिब्रेट गर्न पनि दर्शक कन्सर्टमा धाइरहेका छन्,’ उनी भन्छिन्, ‘युवाहरूले फरक विधाका गीत सुनिरहेका छन् ।’ 

सुजन चापागाईंका गीतमा झुम्नेहरू सुशान्त केसीको गीतमा पनि नाचिरहेका भेटिन्छन् । ‘युवाहरूले अहिले खर्च गर्ने भनेकै मनोरञ्जनमै हो । उनीहरूको पकेट खर्चमै कन्सर्टको टिकट आउँछ । त्यसैले उनीहरू टिकट काटिरहेका हुन्छन् । अब इभेन्टको मार्केट बढ्नेछ,’ पूजाले भनिन् । 

ब्यान्डको पुनरागमनले ल्याएको लहर

एक समय नेपालमा कन्सर्ट ठप्पै थियो । माओवादी द्वन्द्वकाल चरम उत्कर्षमा हुँदा कन्सर्टको वातावरणै थिएन । संगीत व्यावसायिक बनिसकेको थिएन, संगीतमा करिअर थिएन । थुप्रै कलाकार विदेश पलायन भए । चर्चाको शिखरमा हुँदै ‘कन्दरा’ का विवेक बेलायत उडे, सुरेन्द्र अमेरिका । मोहन भुसाल, कर्णदास, निमा रुम्बाहरू पनि बिदेसिए र कन्सर्ट कल्चर सेलायो । 

सन् २००० मा ‘१९७४ एडी रकयात्रा’ को दशरथ रंगशाला कन्सर्टमा पैंतालीस हजार टिकट बिक्री भयो । नेपाली इतिहासमै ठूलो मानिएको उक्त कन्सर्टमा लाठीचार्ज नै भयो । 

त्यो कन्सर्टपछि त्यति ठूलो कन्सर्ट देखिनै छाड्यो । त्यसयता नेपथ्यबाहेक अरूले त्यस किसिमको कन्सर्ट आयोजना गरेनन्, क्लब र रेस्टुराँमै कार्यक्रम भए । र, माहोल प्राय: सुनसानजस्तै थियो । ‘नेपालमा बाहिर जमघट गर्ने वातावरण नै थिएन । अहिले कन्सर्टका लागि उर्बर समय हो,’ विवेक भन्छन् । 

Concert season

जनआन्दोलनताका छिन्नभिन्न भएका ब्यान्डहरू जुट्न दशक बढी समय लाग्यो । ‘कर्मा’ को कम–ब्याक गराएका आशिष कन्सर्टमा एक दशक बढीको खाल्डो यही कारणले निर्माण भएको देख्छन् । ‘२०/२५ वर्षअघि धेरै ठुल्ठूला कन्सर्ट भए । बिस्तारै कलाकार विदेश गए । कार्यक्रम आयोजना गर्ने मान्छे भएनन् । त्यसैले एक दशक सुनसान छायो,’ आशिष भन्छन्, ‘कोभिडपछि सँगै बसेर रमाउन सक्छौं भन्ने मनोविज्ञान सुरु भयो ।’ 

यसबीच युट्युबजस्ता प्लेटफर्मले नयाँ कलाकार जन्माइदियो । ‘२००७ देखि २०१४/१५ सम्म कन्सर्ट हराएकैजस्तै देखिन्थ्यो । युट्युबले फेरि गीतसंगीतका लागि प्लेटफर्म दिएपछि कलाकारले आफूलाई संगीतमा स्थापित गरे यही प्लेटफर्मबाट । त्यसपछि उनीहरूका फ्यान बढे,’ रसिक भन्छन्, ‘बिस्तारै कन्सर्ट कल्चर सुरु भयो । तर, अहिले त विदेशी कलाकारले झैं ब्यान्ड नै लिएर कन्सर्ट गर्ने, उस्तै किसिमको प्रोडक्सन र व्यवस्थापन गर्ने अभ्यास सुरु भएको छ ।’ युट्युब प्लेटफर्मले जन्माएका कलाकार हुन्– सज्जनराज वैद्य, स्वप्न सुमन, सुशान्त केसी, कुमा सागर, यावेश, समीर श्रेष्ठ, नितेशजंग, जोन राई, पूर्ण राईहरू । 

‘कोभिडबीच कलाकारहरूले घरमै बसेर संगीत गरे र त्यही समय ती चम्किए । तिनलाई सुन्न आउनेहरू कन्सर्टसम्म तानिए,’ रसिकले भने । द्वन्द्वकालपछि कन्सर्ट मात्रै होइन, नयाँ कलाकार जन्मिन पनि समय लाग्यो । कुनै बेला दरबारमार्गमा क्लब चलाउने भिक्ट्रीका विपिन त्यतिबेला कलाकारको खडेरी भएको सम्झन्छन् । तर, बिस्तारै युट्युबले कलाकारहरू जन्माइदियो । सन् २०१५/१६ तिर उनले च्यानल आरबिटरीमार्फत युट्युबबाट उदाएका कलाकारहरूलाई मूलधारमा जोड्ने प्रयास गरेका थिए । त्यहींबाट ‘नट्टु’, ‘दि एलिमेन्ट्स’, ‘त्रिशला’ हरू मूलधारमा उदाए । नयाँ प्लेटफर्मबाट उदाएका ती कलाकारको आकर्षण नै हो– भक्तपुरको सल्लाघारीमा देखिएको १३ हजारको भीड ।

ब्यान्डहरूको पुनरागमन हुने क्रम जारी छ । यसबीच ‘१९७४ एडी’, ‘कन्दरा’, ‘कर्मा’ देखि कुनै बेला फुटेका ब्यान्डहरू जुटेर आउन थाले । तिनको सक्रियताले पनि कन्सर्ट कल्चर बढेको छ । यसबीच कलाकारले सोलो प्रस्तुति दिने चलन निकै थियो । तर, अहिले ब्यान्ड कल्चर नै चम्कियो । ‘कन्दरा’ का विवेक भन्छन्, ‘अहिले त सोलो कलाकार पनि ब्यान्डसहित आउन थालेका छन् । कन्सर्ट बढ्न थालेसँगै ब्यान्डसँग बजाउनुपर्छ भनेरै ब्यान्ड कल्चर सुरु भएको छ ।’ जस्तो कुनै समय एक्लै गाउँदै आएका प्रमोद खरेलहरू ब्यान्डसहित गाउन/बजाउन थालेका छन् । विश्वस्तरमै पनि बिटिएस, ब्ल्याकपिंकले ब्यान्डमा गाउने/बजाउने संस्कृति बढाइदिएको छ । ‘८०/९० को दशकमा रक ब्यान्डहरूले गर्दै आएको कन्सर्ट फेरि सुरु भएजस्तो छ,’ रसिक सुनाउँछन् । 

बाँस काटेर बनाइएको स्टेजदेखि एलओडीसम्म आइपुग्दा प्रविधिका हिसाबले निकै परिवर्तन आएको बताउँछन् विवेक, भन्छन्, ‘प्राविधिक रूपले धेरै अगाडि आयौं । संसारको कुनै पनि ठाउँमा हुने कन्सर्टसरहकै प्रविधि नेपालका कार्यक्रममा प्रयोग हुँदै छ । अहिलेको पुस्ता कन्सर्टको त्यही गुणस्तरले नै लालायित बनेको हो ।’ सन् २०१२ मा ब्यान्डलाई ब्युँताउने तयारीसहित बेलायतबाट नेपाल आउँदा विवेक सोच्थे, विश्वस्तरकै साउन्ड, लाइटसहित उस्तै किसिमको स्टेज निर्माण गर्दै कन्सर्ट गर्ने । अहिले नेपालमा त्यही स्तरको प्रविधिको विकास उनले देखेका छन् । गराजका रिसक थप्छन्, ‘पहिले–पहिले त स्पिकर पनि राम्रो क्वाइलिटीको हुँदैनथ्यो । अहिले मायर, एडम्सन, आरसिएफ र ब्यासको स्पिकर हुन्छ । विश्वका ठुल्ठूला स्टेजमा हुने सामग्री पनि यहाँ प्रयोगमा आउन थालेको छ ।’ 

विवेक–रसिकले भनेझैं प्रविधिको विकाससँगै कन्सर्टकै गुणस्तर बढेको छ । कीर्तिपुर कन्सर्टमै पनि ‘कर्मा’ ले स्टेजमा सुन्दर प्रस्तुति दिएको थियो । एलईडीमा गीतका शब्दहरू प्रस्तुत गरिएका थिए, दर्शकले कलाकारसँगै गाएका थिए । प्रकाशकै प्रयोग पनि गज्जब थियो । नेपालमा विदेशी कलाकारले प्रस्तुति दिन थालेसँगै विश्वस्तरका प्रविधि नेपालमा भित्रिन थालेको विवेकको अनुभव छ । रसिकको दाबी मान्ने हो भने अरिजितको लाइभमा प्रयोग गरिएको प्रविधि त्यसअघिसम्म नेपालमा प्रयोगमै आएको थिएन । स्टेज, साउन्ड, लाइटले प्रोडक्सनको पक्षबाट यो कार्यक्रम निकै भव्य थियो ।

Concert season

त्यतिबेला कन्सर्टमा झगडा हुनु अति सामान्य विषय थियो । अहिले त्यो दृश्यमा बदलाव देख्छन्– सुरेन्द्रमान । ‘पहिले कहीं न कहीं झगडा हुन्थ्यो, ढुंगामुढा नै हुन्थ्यो । अहिले दर्शक कन्सर्टमा मनोरञ्जन मात्रै लिन आउँछन्,’ सुरेन्द्र भन्छन् ।

कन्सर्ट कल्चरको विकाससँगै यो क्षेत्रले थुप्रै चुनौती खेपिरहेको छ । ‘इभेन्ट इन्डस्ट्री’ लाई पर्यटनका हिसाबले पनि हेरिनुपर्ने रसिक बताउँछन् । उनी नेपालमा विश्वका कलाकारहरू ल्याएर पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राख्छन्, ‘टेलर स्विफ्टजस्ता कलाकार नै नेपाल ल्याउँदा त्यसले पर्यटन प्रवर्द्धनमा कस्तो प्रभाव पार्ला ? तर, नेपालमा ग्लोबल कलाकार ल्याउने वातावरण बनेको छैन ।’ नेपाल सरकारसँग यो क्षेत्रलाई लिएर नीति नभएको उनको गुनासो छ । ‘नेपाल ठूला कन्सर्टका लागि तयार छैन । यस किसिमको कन्सर्ट कार्यक्रम हेर्ने कुनै विभाग, मन्त्रालय छैन । इभेन्ट टुरिजम विश्वमै हुन्छ । टेलर स्विफ्टको कन्सर्टको सिंगापुरले राइट लियो, थाइल्यान्डले पाएन,’ रसिकले भने, ‘अब उनको कन्सर्ट हेर्न मानिसहरू सिंगापुरमै पुग्नुपर्‍यो ।’ 

रसिकको कुरामा सहमत छन् आरबिटरीका विपिन । भन्छन्, ‘कन्सर्ट गर्ने ठाउँ पनि छैन, हाम्रो नीति पनि छैन । सरकारले यो इभेन्ट इन्डस्ट्री बुझेकै छैन । कुनै कार्यक्रमका लागि अत्यावश्यक पर्दा शौचालय पनि हुँदैन । तीन वटा घुम्ती शौचालयले १५ हजार दर्शकलाई पुग्छ ?’ 

कन्सर्टमा दर्शकलाई दिइने सेवासुविधा बढाउँदै यो क्षेत्रको विकास गरिनुपर्ने धारणा राख्छन् विवेक । भन्छन्, ‘कन्सर्ट अहिले युवापुस्तामा मात्रै लक्षित छ । भुरादेखि बूढासम्मलाई कन्सर्टमा तान्नुपर्छ । दर्शकको सेवासुविधामा पनि ध्यान दिनुपर्छ ।’ 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully