पुस्तकमा लेखकले चीनसँगका हाम्रा अपेक्षा र भ्रम दुवैलाई राम्ररी पहिल्याएर अघि बढ्दै ‘दुई ढुंगाबीचको तरुल’ को संकुचित रणनीति त्यागेर ‘दुई ढुंगाबीचको साँघु’ बन्ने बलियो कूटनीतितर्फ बढ्नुपर्ने सुझाउ अघि सारेका छन् ।
काठमाडौँ — आजभन्दा करिब साढे सात दशकअघि तिब्बतीहरूले चीनसामु आत्मसमर्पण गरेपछि ल्हासाजस्तो सानो र शान्त बजारमा चिनियाँहरू मात्रै बढेनन्, आर्थिक दृष्टिले पनि व्यापार फस्टाउन थाल्यो ।
बाटो गतिलो नभएका कारण ल्हासाबाट बजारका लागि चीनभन्दा काठमाडौं र कालेबुङ सहज हुने त्यो बेला चिनियाँ सेनाका लागि ट्रकको टायर खाँचो पर्यो । र, टायर ढुवानीको जिम्मा पाए– नेवाः व्यापारी पञ्चवीरसिंह तुलाधरले । उनले चिनियाँ पक्षसँग औपचारिक करारपत्र नै गरेर भारतीय कम्पनीको ‘डनलप’ टायरको व्यापार गरे ।
‘चिनियाँ सेनाका लागि भारतमा बनेको टायर काठमाडौंका नेवाः व्यापारीले मारवाडीमार्फत कलकताबाट मगाएर तामाङ भरियाहरूलाई सयौं किलोमिटर बोकाएर तिब्बत पुर्याई बेचेको त्यो कारोबार हिमाल सीमापार व्यापारको आफैंमा दुर्लभ दृष्टान्त थियो ।’ यस्तै रोचक प्रसंगदेखि ऐतिहासिक परिघटनाहरूको सुन्दर वर्णन पढ्न पाइन्छ, सुधीर शर्माकृत किताब ‘भिक्षु, व्यापार र विद्रोह’ मा ।
विश्व–महाशक्तिराष्ट्र बन्ने होडको अग्रलहरमा कुदिरहेका दुई ठूला मुलुकबीच भौगोलिक आकारमा सानो हाम्रो देशका सीमा र सम्भावना के कस्ता छन् भन्ने जिज्ञासालाई ऐतिहासिक साक्ष्यहरूको आधारमा बुझ्न पनि सुधीर शर्माका दुई नयाँ पुस्तकले बलियोसँग सघाउँछन् ।
शर्माका अघिल्ला पुस्तक ‘प्रयोगशाला’ र ‘द नेपाल नेक्सस’ मा नेपालको राजनीतिक ऊहापोहसँग मुख्यगरी भारतको सम्बन्धबारे विस्तृत चर्चा भइसकेको छ नै । पछिल्ला पुस्तकमा भारत–चर्चा बीचबीचमा आउजाउ गरे पनि मुख्यगरी भोट–चीनसँगको नेपाल सम्बन्धलाई मिहिन ढंगले ऐतिहासिक अध्ययन गरिएको छ ।
यसअघि इतिहासकार बाबुराम आचार्य र ज्ञानमणि नेपालदेखि कूटनीतिज्ञ निरञ्जन भट्टराई हुँदै अनुसन्धाता अमिसराज मुल्मीसम्मका कलमले नेपाल–भोट–चीन सम्बन्धका विविध आयामबारे केही सामग्री पस्किसकेको पृष्ठभूमिमा शर्माका यी किताबले इतिहासलाई हेर्ने सन्दर्भमा नयाँ आयाम थपेका छन् ।
रोचक शैली तथा सरल भाषामा विषय उठान, आधिकारिक सामग्रीका आधारमा विश्लेषण, पूर्वकार्य–सामग्रीको सत्यापनका निम्ति स्रोतव्यक्तिसँग अन्तर्वार्ता र पुनः परीक्षणपश्चात् अधिकतम तटस्थ निचोड प्रस्तुत गर्ने शर्माको यो लेखन–काइदा लोभलाग्दो छ । उनको अध्ययन–गहिराइको खास परिचायक बनेर खडा भएको छ– ‘भिक्षु, व्यापार र विद्रोह’ ।
जब एकाङ्गीपनको जंगलमा दिशाहीन भएर इतिहास रुमल्लिन्छ, तब इतिहास भनेको बितेका कालमा घटेका घटनाहरूको एकसरो फेहरिस्त मात्रै हो कि त्यसको यथार्थपरक व्याख्या पनि हो भन्ने प्रश्नको कठघरामा इतिहास स्वयम् उभिन्छ ।
नेपालको इतिहास–लेखन–परम्परा शासकको पटाङ्गिनीबाट जनतामाझ पुग्न नसकेको आलोचनालाई त प्रायः स्वीकारिन्छ । त्यसभन्दा गम्भीर प्रश्न हो, इतिहासलाई हेर्ने उपयुक्त कोणको सर्वथा अभाव किन रहिरह्यो ? मुलुकलाई बुझ्ने क्रममा ‘कोण–प्रतिकोण–समकोण’ को आवश्यक प्राज्ञिक प्रक्रियासहितको सघन ऐतिहासिक अध्ययनको समृद्ध परम्परा नहुनु नै हाम्रो
बौद्धिक–यात्राको दुखान्त भइदियो । स्वदेशी तथा विदेशी इतिहासकारहरूले नेपालको इतिहासमाथि प्रशस्तै लेखेका भए पनि इतिहासप्रति हाम्रो अध्ययन–परम्परा समग्रमा टिठलाग्दो नै मान्नुपर्छ । अझ भनौं, सीमित व्यक्तिहरूको बसिबियाँलो, कोठे–बहस र व्यक्तिगत विवादमा खुम्चिएको इतिहास–विमर्शले फराकिलो क्षितिज पाउन नसक्नु सायद अनौठो कुरा थिएन । इतिहास–अध्ययनमा जागरुकता नबढ्नुमा हाम्रा इतिहासकारको लेखन शैली, विश्वविद्यालयीय अनुसन्धानको ‘कर्मकाण्डीय’ ढाँचा–ढर्रा र राज्यको उदासीनता पनि उत्तिकै जिम्मेवार हुनुपर्छ ।
पछिल्लो समय पुरानो पुस्तादेखि नयाँ पुस्तासम्मले इतिहासप्रति चासो राख्न थालेको महसुस हुने सूचकहरू पाउनुलाई भने सुखद मान्न सकिन्छ । कारण– वर्तमानलाई वस्तुपरक ढंगले बुझ्न र भविष्यका सम्भावित बाटाबारे आकलन गर्न इतिहासको साङ्गोपाङ्ग र तीक्ष्ण अध्ययन हुनु जरुरी छ ।
यही परिवेशमा लेखक सुधीर शर्माका ‘भिक्षु, व्यापार र विद्रोह’ र ‘हिमालपारिको हुरी’ नामक दुई पुस्तकले विशेषतः नयाँ पुस्तालाई इतिहास–समीक्षा गर्न उत्प्रेरित गर्नेछन् भन्ने दाबी गर्न सकिन्छ । यद्यपि, शास्त्रीय आँखाले हेर्दा यी दुई पुस्तक ‘शुद्ध’ इतिहास नठहरिएला ।
विद्यालय जीवनमा ‘चीन सचित्र’ को रंगीन गाताभित्र सुरक्षित किताब पढेर भारतीय भूमिछेउमै हुर्किएका लेखक शर्मालाई पनि धेरै नेपालीका लागि जस्तै चीन रहस्यमय भूमि थियो । राजधानीमा बसेर पत्रकारिता पेसा अपनाएपछि मात्रै उनले किंवदन्ती छिचोलेर वास्तविक चीन चिन्ने अवसर पाए ।
गहिरो ज्ञानभन्दा सूचनामा बढी पहुँच हुने र सधैं हतारमा हुने पेसामा आबद्ध भएकाले धेरैले पत्रकारलाई छिपछिपे अध्येताका रूपमा मात्रै हेर्ने गर्छन् । तर, शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ ले भने पत्रकारलाई हेर्ने चल्तीको भाष्यलाई भत्काइदिएको छ र नयाँ नजरिया निर्माण गरिदिएको छ । यत्ति मात्रै होइन, इतिहास अध्ययन गर्दा केवल आफ्नै भूमिको निश्चित घरानाभित्रका घटनावलीमा केन्द्रित हुने पुरातनपन्थी निरसतालाई भत्काउँदै यस किताबले बाहिरी मुलुकका घटना र त्यसको प्रभावसँग पनि तुलनात्मक अध्ययन प्रस्तुत गरेर इतिहासजस्तो रुखो मानिने विषयलाई सरस र तार्किक बनाइदिएको छ ।
इतिहासका लम्बेतान विवरणलाई सन्दर्भसूची र इन्डनोटतिर संकेत गर्दै मुख्यसारलाई सटीक र बोधगम्य ढंगले पस्कनु सक्नु नै यस पुस्तकको शक्ति हो, जसले पाठकलाई समेत इतिहास–अध्ययनप्रति रुचि र त्यसको महताबोध जगाइदिन्छ ।
पठनीय पुस्तकको असली विशेषता हो– पहिलो पृष्ठदेखि नै पाठकलाई आफ्नो विषय र भाषाशैलीको प्रेमले पक्रेर अन्तिम पृष्ठसम्म सँगसँगै डोर्याउनु । त्यस्तो तागत ‘भिक्षु, व्यापार र विद्रोह’ ले यसरी प्रस्तुत गर्छ, मानौं– पाठक कुनै सम्मोहनकारी उपन्यास पढिरहेछ । लेखकले पुस्तकमा पाठकलाई आद्योपान्त सँगसँगै यात्रा मात्रै गराउँदैनन्, अनुसन्धानले समृद्ध सामग्रीको अभिलेखीकरणमा पनि सचेत साक्षी बसाउँछन् ।
आख्यानात्मक स्वाद लिँदै जब पाठक लेखकसँगै तिब्बतको राजधानी ल्हासाको मुटु भाकोर चहार्न थाल्छ, तब नेपाल–भोट सम्बन्धका पुराना पत्रहरू पल्टिँदै जान्छन् । कुनै समय नेपाल आफैं पनि धेरै विदेशीका लागि निषिद्ध देशका रूपमा परिचित थियो भने नेपालीहरूका लागि पनि बाहिरी दुनियाँ अनौठै थियो । आजको समयबिन्दुबाट हिसाब गर्ने हो काठमाडौं र ल्हासाको दूरीलाई छोटो मान्न सकिने भए पनि उहिल्यै त व्यावहारिक दृष्टिबाट आपस्तमा ‘दूर’ का छिमेकी थिए, यी ।
इतिहासको बोलीमा लोली मिलाउने हो भने चीन, भारत र नेपालमा समेत अशान्त वातावरण व्याप्त भइरहेको परिवेशबीच इस्वीको छैटौं शताब्दीको मध्यतिर तिब्बती पठारमा लगभग बर्बर अवस्थामा रहेका मंगोल मूलका स्थानीय निवासीहरूमा रातारात सामाजिक जागरण पैदा भएर मौलिक प्रकृतिको तिब्बती सभ्यता तथा संस्कृतिको उत्थान हुन आयो । र, ससाना अनेकौं राज्यहरूमा विभक्त तिब्बती क्षेत्रहरूलाई सामाजिक तथा राजनीतिक एकताको सूत्रमा आबद्ध गर्दै एउटा स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गर्ने काम एक तिब्बती सरदारले गरे ।
तिनै सरदारका पुत्र स्रोङचङ गम्पोले सम्पूर्ण तिब्बत क्षेत्रलाई सुसंगठित राज्यका रूपमा परिणत गराई ल्हासालाई राजधानी बनाए । र, तिनै राजाको शासनकालमा तिब्बतले आफूलाई प्रगतिपथतिर अघि बढाउनुका साथै नेपाल राज्यसँग पनि सम्बन्ध विस्तार गर्यो ।
ल्हासा नेवाः व्यापारीको पुरानो साइनो रहेको जोखाङ मन्दिरको प्रसंगमा शर्मा लेख्छन्– ‘आयताकार जोखाङ मन्दिरभित्र पस्दा लाग्यो, म पाटनको कुनै बौद्ध विहारमा छिर्दै छु । दलिन र खम्बामा कुँदिएका रंगीन बुट्टा, भित्ताका चित्र, धर्मचक्र राखिएको सुनौलो छत अनि काठ, माटो र ढुंगा प्रयोग गरेर बनाइएको संरचनाले नेपाली शैलीको झल्को दिन्छ ।
यसको इतिहास खोतल्दा सातौं शताब्दीको लिच्छविकालमा पुगिन्छ, जुन बेला नेपाल उपत्यकाकी राजकुमारी भृकुटी र तिब्बती राजा स्रोङचङ गम्पोबीच बिहे भएको थियो । त्यसलाई नेपाली इतिहासमा निकै महिमामण्डन गरिएको पाइन्छ, मानौं दुई देशबीच राजीखुसीबाटै त्यो सम्बन्ध जोडिएको थियो । यथार्थमा भृकुटीले करकापमा परेर बिहे गरेकी रहिछन् ।’
तिब्बती कलाबारे चर्चा हुँदा स्वाभाविक रूपमा नेपाली कलासँगको साइनो केलाउने गरिन्छ । हुन त, दक्षिण एसियाली कला–संस्कृतिका अग्रणी इतिहासविद् गौतमवज्र वज्राचार्यले भनेकै छन्, नेपाली कलाको इतिहास हिन्दु धर्म र बौद्ध धर्मको इतिहासभन्दा धेरै पुरानो भएकाले यी दुई धर्मले नेपाली कला तथा संस्कृतिलाई पूर्ण र समृद्ध ढंगले अभिव्यक्त गर्न सक्दैनन् ।
त्यसका लागि काठमाडौं उपत्यकाका आदिवासी नेवार समुदायका कला र संस्कृतिको प्राचीनताका साथै प्राक्बौद्धकाल तथा प्राक्हिन्दुकालसम्मै पुग्नुपर्ने हुन्छ । भृकुटीबारे चल्ने चर्चाहरूमा घोलिएर आउने भ्रमलाई चिर्न लेखक शर्माले आधिकारिक सामग्रीको सहयोग लिएका छन् र इतिहासका तथ्यहरू निचोरेर सटीक विश्लेषण गरेका छन् । साथै, नेवार समुदाय र ल्हासाबीचको ऐतिहासिक सम्बन्धलाई पनि रोचक ढंगले वर्णन गरेका छन् । यसरी पाठकलाई ज्ञात–अज्ञात अतीतमोहको पासोमा पार्दै लैजाने लेखकीय कौशल आकर्षक छ ।
‘भिक्षु, व्यापार र विद्रोह’ मा भोट–व्यापारमाथि नेपाल उपत्यकाको एकछत्र नियन्त्रणलाई गोर्खाका राजा राम शाहले दिएको चुनौतीदेखि पृथ्वीनारायण शाहको लालची स्वभाव र संकीर्ण नीतिका कारण ओरालो लागेको अर्थतन्त्रसम्मका ऐतिहासिक चित्रण छ भने तिब्बतसँगको युद्धमा बहादुर शाहले गरेको गल्तीदेखि जंगबहादुरले आफ्नो पालामा चालेका आक्रामक कदमबारे सटीक वर्णन छ ।
साथै, महाचीन, मञ्जुश्रीको आगमन र नेवाः सभ्यता उदयको चर्चाले पुस्तकको गहनतालाई अझै बढाएको छ । पुस्तकमा इसापूर्व छैटौं शताब्दीयता पाँच–सात सय वर्षभरि चीन–भारत दुवैतिर घटेका युगान्तकारी घटनाक्रमको संक्षिप्त चर्चा गर्दै अफिमयुद्ध, त्यसका पृष्ठभूमि र असरका साथै नेपाल–चीन सम्बन्धलाई दुई हजार वर्षयता बौद्ध धर्मले जोडेको वृत्तान्तलाई सरस शैलीमा प्रस्तुत गरिएको छ ।
‘भिक्षु, व्यापार र विद्रोह’ का पाना पल्टिँदै जाँदा पुरानो पातोमध्येको ‘पतिया’ प्रसंगमा पाठक एक पटक रोकेर इतिहासलाई फेरि सम्झन पुग्छन् । हिजोको नेपाली शासनमा हिन्दु चिन्तन हाबी हुँदै गएपछि राज्यका सबै अवयवलाई हिन्दुकरण गर्दै लगिएको थियो । जब राज्यसत्ताद्वारा राजालाई दैवी प्राणी मान्दै राज्य र धर्मलाई जोडेर हिन्दु कानुन लागू गरियो, तब प्राकृतिक न्यायप्रणाली छाडेर जातअनुसारकै जातीय र क्षेत्रीय दण्डविधान लागू गरियो । हिन्दुकरणको त्यस प्रक्रियामध्ये एक थियो– ‘पतिया’ ।
पतिया खासगरी ‘अपवित्रता/अशुद्धता’ सँग जोडिएको मान्यता थियो भने अवैध सम्भोग गर्दा र ‘अछुत’ मानिएकाको हातबाट पाकेको खाना खाँदा हुने अवधारणा थियो, ‘अशुद्धता’ । त्यही ‘अपवित्रता’ लाई ‘पवित्र’ बनाउने हिन्दुविधान नै पतिया रहेको कुरा विदितै छ । देशबाहिर गएका तीर्थयात्रीबाहेक विशेषगरी व्यापारी र सैनिकलाई धर्माधिकारीको तजबिज र विधानअनुरूप पतिया गरिन्थ्यो ।
नेपाललाई ‘कलियुगको एक मात्र हिन्दु साम्राज्य’ को रूपमा परिचित गराउने उद्देश्य बोकेका जंगबहादुर राणाले वि.सं. १९१० मा मुलुकी ऐन जारी गरेपछि मात्रै पतिया लागू भएको भन्ने धेरैलाई लाग्न सक्छ । तर, जंगबहादुरभन्दा अघि पनि पतिया–प्रक्रिया अभ्यासमा रहेको पढ्न पाइन्छ । उदेकलाग्दो कुरा– गैरहिन्दु तथा राज्यले आफ्नै काममा बाहिर खटाएका व्यक्तिलाई समेत राज्य प्रवेश गरेपछि पतियाबाट ‘चोख्याउने’ गरिन्थ्यो । शर्माकृत पुस्तकमा पनि एक प्रसंग छ– ‘तत्कालीन नेपाली समाजमा विदेश जाँदा र विदेशीको सम्पर्कमा रहँदा आफ्नो जातबाट ‘बिटुलो’ भएको मानिन्थ्यो । त्यसैले चीन जाने नेपाली टोलीका सदस्यले फर्कने क्रममा प्रायः बेत्रावती नदीको किनारमा ‘प्रायश्चित पूजा’ गर्थे अनि मात्र उनीहरू ‘पुरानै जात’ मा फर्केको ठानिन्थ्यो ।’
हिन्दु शासकहरूको नजरमा ‘भोटे’ हरूसँग ‘छोइछिटो’ गरेर आएका व्यक्ति ‘अशुद्ध’ हुने भएकाले पतिया गरेपछि उनीहरू फेरि ‘शुद्ध’ भएर पुरानै ‘जात’ मा फर्किन्थे । र, रोचक कुरा– ‘शुद्ध’ भएपछि बेत्रावतीबाट त्यो टोली चिनियाँ बादशाहको खलितापत्र र उपहार लिएर काठमाडौं आउँदा ठूलै उत्सव मनाइन्थ्यो ।
शर्माकृत यी दुई पुस्तकले हाम्रो समाजको आम बुझाइमा रहेका कतिपय भ्रमहरूलाई चिर्दै यथार्थको परतलाई अनावृत्त गराइदिन्छ । जस्तो– नेपाली समाजको सतही बुझाइमा, माओत्से तुङलाई ‘तानेर’ नामकरण गरी ‘जनयुद्ध’ लडेको माओवादी पार्टी र चिनियाँ संस्थापनबीच भित्री रूपमा बलियो सम्बन्ध होला भन्ने थियो । तर, नेपालको विद्रोही पार्टीले आफ्नो महान् नेताको छवि ‘बिगारेको’ ठान्ने चिनियाँ पक्षले नेपालको माओवादीलाई युद्धकालमा साथ–समर्थन गरेको देखिँदैन ।
उसै पनि चीनको पुरानो मित्रशक्ति राजतन्त्रसँग लडिरहेको माओवादीलाई भारतीय साथ–सहयोग रहेको बुझाइ चीनले लिएर बसेको थियो भने नेपाली भूमिमा मच्चिएको द्वन्द्वको प्रभाव तिब्बती सुरक्षामाथि समेत चुनौतीका रूपमा खडा हुने देखेर माओवादीलाई चीनले कुनै सहयोग नगरेको देखिन्छ ।
राजतन्त्रको बिदाइपछि मात्रै चीनले नेपाली सत्ताका नयाँ शक्तिहरूसँग सहकार्य गर्ने क्रममा माओवादीसँग सम्बन्ध बढाएको र त्यही सम्बन्धमा देखिएको उतारचढावबारे शर्माका पुस्तकले विश्वसनीय चिरफार गरेका छन् । यसैगरी, विश्वको सर्वोच्च शिखर सगरमाथालाई नेपालको एकलौटी शिरका रूपमा गर्व गर्ने नेपाली समाजले यसको इतिहासदेखि स्वामित्वबारेमा भने खासै चासो दिएको देखिँदैन ।
चिनियाँ पक्षले सगरमाथा मात्रै होइन, सगरमाथाभन्दा पाँच माइल दक्षिणसम्मको भूभाग दाबी गरेको ऐतिहासिक परिघटनामा बीपी कोइरालाले अस्वीकार गरेका थिए । यति मात्रै होइन, माओले हिमालको चुचुरो पनि आधा–आधा गर्न राखेको प्रस्तावलाई बीपीले स्वीकार गरेका थिएनन् । तर, पछि राजा महेन्द्रले सगरमाथाको चुचुरोलाई बराबरी बाँड्ने माओको प्रस्तावलाई स्विकारेर सम्झौता गरेका थिए । राजा महेन्द्र एकातिर पञ्चायती व्यवस्था लाद्ने निरंकुश अधिनायकवादी शासक थिए भने अर्कातिर भारतीय ‘पञ्जा’ बाट मुलुकलाई बाहिर ल्याएर चीनतिर पनि सम्बन्ध बढाउने कूटनीतिक शासक थिए भन्ने विश्लेषणलाई तार्किक निचोडसहित सविस्तार लेखेका छन्, शर्माले ।
यस पुस्तकले राजा महेन्द्रदेखि राजा वीरेन्द्रसम्मले चीनसँग के–कसरी सम्बन्ध बढाएका थिए भन्ने विषयलाई निकै खोजपूर्ण अध्ययनसहित विवेचन अघि सारेको छ । राजा वीरेन्द्रलाई खाँटी चीनवादी देख्ने भारतीय आँखाबारे शर्माद्वारा गरिएको विश्लेषणले पाठकलाई नेपालमा अढाई दशकयता घटित घटनाक्रममाथि पुनर्भ्रमण गर्न अभिप्रेरणा दिन्छ ।
‘भिक्षु, व्यापार र विद्रोह’ ले सांस्कृतिक, आर्थिक र राजनीतिक पाटालाई प्राथमिकताका साथ उठान गरेको संकेत पुस्तकको नामबाटै प्रतीकात्मक रूपमा अभिव्यक्त भएको छ । र, ‘हिमालपारिको हुरी’ ले कूटनीतिक सम्बन्धमा देखा परेका पछिल्ला उथलपुथललाई सम्बोधन गरेको छ ।
‘हिमालपारिको हुरी’ मा ‘कटवाल–काण्ड’ देखि ‘रेल राजनीति’ सम्मका पछिल्ला दशकमा भएका राजनीतिक घटना र भूराजनीतिक उतारचढावलाई एकसरो वर्णन गरिएको छ । ०७२ को भूकम्प, नयाँ संविधान र भारतले जारी गरेको नाकाबन्दीजस्ता घटनाक्रमपछि नेपालमा भारतविरोधी भावना भट्किनुका साथै तिनै पृष्ठभूमिमा चीनसँग नेपालको सहकार्यको ढोका खुलेको यथार्थलाई पनि पुस्तकमा वस्तुपरक विश्लेषण गरिएको छ ।
पुस्तकमा शान्त कूटनीतिमा सीमित चीनले सी चिनफिङको आक्रामक उदयसँगै डेढ दशकयता सक्रिय विदेशनीति अवलम्बन गरेपछि नेपालले भारत–चीन–अमेरिकाजस्ता देशहरूसँग कसरी व्यवहार गर्दै आएको छ भन्ने प्रश्नको केन्द्रीयतामा कूटनीतिक–यात्रालाई मूल्यांकन पनि गरिएको छ ।
संविधान निर्माणको प्रक्रियामा संघीयतादेखि पहिचानका मुद्दामा चीन र भारतको चाहनाका साथै नेपालका राजनीतिक दल तथा मुख्य नेतृत्वसँग छिमेकी मुलुकको सम्बन्धमा आएको आरोह–अवरोहलाई समेत यस पुस्तकमा खुलस्त राखिएको छ ।
साथै, पुस्तकमा लेखक शर्माले चीनसँगका हाम्रा अपेक्षा र भ्रम दुवैलाई राम्ररी पहिल्याएर अघि बढ्दै ‘दुई ढुंगाबीचको तरुल’ को संकुचित रणनीति त्यागेर ‘दुई ढुंगाबीचको साँघु’ बन्ने बलियो कूटनीतितर्फ बढ्नुपर्ने सुझाउ पनि अघि सारेका छन् ।
आफैंमा स्वतन्त्र र सार्थक हुँदाहुँदै पनि ‘भिक्षु, व्यापार र विद्रोह’ टुंगिएकै समयबिन्दुबाट ‘हिमालपारिको हुरी’ सुरु भएकाले यी दुई पुस्तक अध्ययन–शृंखलामा परस्परका परिपूरक पनि हुन् । यी दुई पुस्तकलाई ऐतिहासिक महत्ताको तुलोमा तौलिहेर्दा लामो समय बाँच्ने भएकाले ‘भिक्षु, व्यापार र विद्रोह’ को पल्ला नै भारी देखिन्छ ।
एउटै पुस्तकमा ‘इन्डनोट’, सन्दर्भसामग्री र अनुक्रमणिकाका लागि सय पृष्ठ खर्च हुनुले शर्माको अध्ययन–फैलावटलाई मात्रै बोक्दैन, पत्रकारभन्दा ज्यादा गम्भीर अध्येताको ‘अवतार’ मा कायाकल्प गर्न लेखकले विषयगत गहिराइमा आफूलाई कति डुबाएका छन् भन्ने पनि सँगसँगै संकेत गर्छ ।
लाग्छ– यस पुस्तकका अधिकांश पृष्ठमा पाठक टिपोट सहित ‘हाइलाइटर’ प्रयोग गर्दै अघि बढ्न हौसिन्छन् । नेपाली पुस्तक–बजार सेलाएको निष्कर्ष निकाल्न हतारिइरहेको माहोलबीच शर्माका नयाँ दुई गैरआख्यानको प्रशंसासहित व्यापक चर्चा हुनुले नेपाली पठनवृत्तमा असल पुस्तकको स्वागत गर्न पाठकले कञ्जुस्याइँ गर्दैनन् भन्ने इंगित गरेको छ ।
अमुक राजनीतिक दल, नेता विशेष या शक्तिराष्ट्र रिसाउँदा वैयक्तिक लाभ–हानिमा पर्न सक्ने तलबितलको पिरलोलाई पर राखेर शर्माले आफ्नो अध्ययनका आधारमा निर्धक्क व्याख्या–विश्लेषण गरेका छन् । यही आँटले नै उनको लेखकीय क्षमता र विश्लेषकीय विवेकको असली चिनारीलाई दरोसँग उभ्याएको छ ।
