इलन मस्कको नजर नेपालतिर

मस्क–ओली संवाद हालखबर सोध्ने औपचारिकता वा ठट्टामा मात्रै सीमित थिएन । मस्कले विश्वकै सर्वोच्च शिखर सगरमाथामा स्टारलिंकको ‘हाई–स्पिड’ इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा रहेको बताएका थिए । विश्वका ११३ देश पुगिसकेको स्टारलिंक किन नेपाल आउन चाहन्छ ? उसलाई यहाँबाट हुने फाइदा के हो ?

मंसिर १५, २०८१

सजना बराल

Elon Musk's eyes on Nepal

काठमाडौँ — विश्व प्रसिद्ध क्रेडिट रेटिङ संस्था ‘फिच रेटिङ्स’ ले नेपाललाई ‘डबल–बी माइनस’ अर्थात् भारतभन्दा अलिकति मात्रै तल सार्वभौम रेटिङ दिएको चर्चाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो शुक्रबार एक रोचक तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे ।

पोस्ट भएको केही समयमा उत्सुकता, हँसीमजाक र चासोको विषय बनेको उक्त तस्बिरमा ओली विश्वकै धनाढ्य अर्बपति इलन मस्कसँग भिडियो कन्फेरेन्समा कुराकानी गरिरहेका देखिन्छन् । 

‘अहिले एलन मस्कसँग कुरा गरिरहेको छु’ भन्दै ओलीले गरेको पोस्टमा फेसबुकमा मात्रै ७ हजारभन्दा बढी प्रतिक्रिया छन् । त्यसयता मस्कको नेपालमा के–कस्ता ‘इन्टरेस्ट’ हुन सक्छन्, उनले नेपाललाई दिएको महत्त्वको अर्थ के हुन सक्छ, यसबाट नेपाललाई लाभ–हानि के होला भन्ने विषयमा अनेक विश्लेषण र जिज्ञासा फैलिएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग मस्कको पछिल्लो घनिष्टताका कारण उनको व्यवसायलाई समेत भूराजनीतिक कोणबाट मनग्गे अर्थ्याइएको छ ।

स्याटलाइटमार्फत इन्टरनेट सुविधा दिँदै आएको अमेरिकी कम्पनी ‘स्टारलिंक’ले नेपालमा सेवा विस्तारका लागि सक्रिय पहल गरिरहेका बेला सो कम्पनीका संस्थापक मस्क र प्रधानमन्त्री ओलीबीच झन्डै १४ मिनेट भर्चुअल कुराकानी भएको हो । माइक्रोसफ्ट टिममार्फत भएको संवादमा टेक अर्बपति मस्कले विश्वकै सर्वोच्च शिखर सगरमाथामा स्टारलिंकको ‘हाई–स्पिड’ इन्टरनेट चलेको हेर्ने आफ्नो ठूलो इच्छा भएको बताएका थिए । 

स्टारलिंकका लागि नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गरेको ओलीका सूचना प्रविधि विज्ञ असगर अलीले जानकारी दिए । ओली–मस्क संवादका लागि अलीले नै स्टारलिंकको ग्लोबल लाइसेन्सिङ प्रमुख रेबेका स्लिक हन्टरमार्फत तारतम्य मिलाएका थिए ।

केही समयअघि काठमाडौं आएकी रेबेकाले यहाँस्थित अमेरिकी दूतावासको सहयोगमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रधानमन्त्री ओलीलाई भेटेर स्टारलिंकले कसरी काम गर्छ भन्ने ‘डेमो’ प्रस्तुत गरेकी थिइन् । यसअघि उनले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेलाई पनि यस्तै ‘ब्रिफ’ गरेकी थिइन् । दक्षिण एसियाली देशमध्ये भुटान र नेपालमा मात्रै स्टारलिंक आउने/नआउने तय हुन बाँकी छ । 

मस्कले स्टारलिंक सेवा विस्तारबारे कुरा राख्दा प्रधानमन्त्री ओलीले त्यसलाई रातो कार्पेटले स्वागत गरिने तर पहिलो चरणमा आन्तरिक अध्ययनपछि निर्णय लिइने प्रतिक्रिया दिएको सो संवादका बेला उपस्थित अलीले जानकारी दिए ।

‘नयाँ प्रविधि भित्र्याउने विषयमा नेपाल सरकार सकारात्मक रहेको र मस्कजस्ता प्रविधि क्षेत्रका अग्रणी व्यक्तिलाई रातो कार्पेट बिछ्याएरै स्वागत गर्न चाहन्छौं भनेर हाम्रा प्रधानमन्त्रीले बताउनुभएको थियो,’ अलीले भने, ‘यस विषयमा अध्ययन गरेर अघि बढ्ने उहाँले मस्कलाई स्पष्ट पार्नुभयो । मस्कले चाहिँ माउन्ट एभरेस्टमा स्टारलिंक चलेको हेर्ने इच्छा छ भनेका थिए ।’ 

सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने स्टारलिंकले नेपालमा सेवा विस्तार गर्न नेपालको कानुन मान्नुपर्ने बताएका छन् । उनले कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रमको पछिल्लो अंकमा जुनसुकै लगानीकर्ता ऐन/कानुनअनुसार आउनुपर्ने र त्यसरी आए पनि स्वीकृति दिने/नदिने विषय सरकारले निर्णय गर्ने बताएका थिए ।

दूरसञ्चार तथा इन्टरनेट सेवामा अधिकतम विदेशी लगानी ८० प्रतिशत र बाँकी २० प्रतिशतका लागि स्थानीय साझेदार हुनुपर्ने कानुनी व्यवस्था छ । शतप्रतिशत विदेशी लगानीका साथ स्टारलिंक नेपाल आउन सम्भावना नरहेको मन्त्री गुरुङको भनाइ छ । तथापि, यस विषयमा सरकारले अध्ययन समिति बनाएर अघि बढ्ने तय गरेको छ । 

ठूला डेटा सेन्टरमा लगानी गर्न आग्रह

ओलीसँगको संवाद क्रममा मस्कले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रविधिको ‘इन्टरभेन्सन’ मार्फत आफूले केही गर्न चाहेको पनि बताएका थिए । ओलीले भने नेपाल प्राकृतिक रूपमा सन्तुलित मौसम र तुलनात्मक हिसाबले कम गर्मी हुने ‘न्याचुरल एसी’ जस्तो ठाउँ भएकाले यहाँ ठूला क्षमताका ‘डेटा सेन्टर’ जस्ता संरचना निर्माण गर्न उपयुक्त हुने सुझाव दिएका थिए । नेपालमा विद्युतीय ऊर्जाको राम्रो उपलब्धता भएका कारण यस्ता संरचना सञ्चालन गर्न सहज हुने प्रधानमन्त्री ओलीको भनाइको प्रतिउत्तरमा मस्कले उत्सुकतापूर्वक प्रश्न गरेको अलीले बताए । 

संवादका क्रममा ओलीले ठट्यौलो शैलीमा नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई जिताउन मस्कले गरेको प्रयास सफल भएकोमा बधाई दिएका थिए । प्रतिउत्तरमा मस्कले लामो हाँसो हाँसे पनि कुनै जवाफ दिएनन् । नेपाल भ्रमणको निम्तोमा भने उनले त्यस विषयमा आफूले सोच्ने प्रतिक्रिया दिए ।

विश्वभर व्यापारिक साम्राज्य फैलाउन लागिपरेका मस्कको ओलीसँगको यो संवाद हालखबर सोध्ने औपचारिकता वा ठट्टामा मात्रै सीमित थिएन । उनको विशेष जोड स्टारलिंकको सेवा नेपालमा सुरु गर्ने र यसलाई आवश्यक एन्टेना, राउटर, केबलसहितको हार्डवेयर किट बिक्रीका लागि नेपाल आउन चाहेको विषयमा रहेको बुझिन्छ । तर, विश्वका ११३ वटा देशमा पुगिसकेको स्टारलिंक किन नेपाल आउन चाहन्छ ? उसलाई यहाँबाट हुने फाइदा के हो ?

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका अर्थशास्त्री विश्व पौडेलको बुझाइमा बजार आकारको हिसाबले मस्कका लागि नेपाल ठूलो आर्थिक फाइदा लिने ठाउँ नभए पनि यो पहल ब्रान्डको अन्तर्राष्ट्रिय उपस्थिति देखाउने रणनीति हुन सक्छ ।

‘स्टारलिंकजस्ता कम्पनीले ‘हामी विश्वका यति देशमा उपस्थित छौं’ भनेर देखाउन चाहन्छन्,’ उनले भने, ‘नयाँ बिजनेस आइडियामा काम गरिरहेका बेला उद्यमीहरूलाई देश गन्ने जोस पनि हुन्छ । मस्कको पनि यस्तै जोस हुनुपर्छ ।’ पौडेलका अनुसार स्टारलिंकजस्तो परियोजनाले नेपाललाई घाटा नगरे पनि विशेष फाइदा भने हुँदैन । तर, इलनकै विद्युतीय सवारी निर्माण गर्ने कम्पनी टेस्ला नेपाल आएमा त्यसले हामीलाई ठूलो लाभ दिन्छ । 

‘दुई सय देशमा कोकाकोला छ, हामी पनि त्यहीमध्ये एउटा हौं भन्दा खासै ठूलो भ्याल्यु भएन तर टेस्लाजस्ता विशेष परियोजनामा विदेशी लगानी भित्र्याउन सके त्यसले विश्वव्यापी रूपमै नेपालको बजारबारे सकारात्मक सन्देश प्रवाह गर्छ,’ अर्थशास्त्री पौडेलले भने, ‘वारेन बफेट, मोर्गन 

स्ट्यान्लीदेखि अडानी, अम्बानी वा चिनियाँ बिजनेसम्यानजस्ता लगानीकर्ता वा जसले विशेष क्षेत्रलाई लक्षित गरेर व्यवसाय विस्तार गर्छन्, रोजगारी सिर्जना गर्ने कम्पनी निर्माण गर्छन्, उनीहरूलाई नेपालमा ल्याउन सके यसको प्रभाव दीर्घकालीन हुन्छ । स्टारलिंकजस्ता सबै देशमा जाने परियोजनाको सिग्नल भ्याल्यु तुलनात्मक रूपमा कम हुन्छ । तथापि, यो आउँदा हामीलाई घाटा हुँदैन ।’

नेपालमा स्टारलिंकको सेवा विस्तार गर्ने मस्कको निर्णयले सीमित प्रभाव पारे पनि यसलाई नेपालमा थप ठूला लगानीकर्ता आकर्षित गर्ने अवसरको थालनीका रूपमा लिन सकिने पौडेलले औंल्याए । राम्रो विदेशी मुद्रा सञ्चितिजस्ता अनुकूलताका कारण विदेशी लगानीकर्ता आकर्षिक गर्न अहिले उचित समय भएको उनको भनाइ छ ।

‘नेपालमा ४० र ५० को दशकमा बेलायती बहुराष्ट्रिय बैंक स्ट्यान्डर्ड चार्टर्डदेखि अमेरिकाको इस्टम्यान कोडाक कम्पनी, भारतका डाबर, युनिलिभरजस्ता ठूला कम्पनी भित्र्याउन सकेका थियौं,’ उनले भने, ‘अहिले हाम्रा अदालत, मन्त्रालय, अख्तियारजस्ता निकाय, सरकार र प्रतिपक्षले एउटै गतिमा पाइला चलाउन सकेनन् । एउटाले अर्कोलाई रोक्ने कुरामा प्रतिस्पर्धा गर्दा जनता उचाल्ने प्रवृत्ति हाबी भयो । मूलतः एक–अर्कासँग झगडा गर्ने छविबाट हामी नउत्रिएकाले अपेक्षित विदेशी लगानी आउन सकेको छैन ।’ 

सरकारले पूर्वाधार विकासमा ध्यान दिएर अघि बढ्ने र मस्कजस्ता ठूला जोकोही लगानीकर्ताले इच्छा देखाउनासाथ एकदम सजिलोसँग र उदारताका साथ आउन र मुनाफा लैजान दिने वातावरण निर्माण गर्नुपर्ने पौडेलको सुझाव छ । विदेशी लगानी आउनुअघि नै बखेडा झिक्ने, लगानीकर्ताले आफ्नो देशमा झेलिरहेको समस्या खोतलेर दानवीकरण गर्ने प्रवृत्तिका कारण छिमेकी देशकै उद्यमीसमेत नेपाल आउन नसकिरहेको समेत उनले टिप्पणी गरे । 

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा कहलिएका उद्यमी सञ्जय गोल्छा पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने विषयमा खुबै चर्चा हुने गरे पनि विदेशी लगानीकर्तालाई सताउने प्रवृत्ति रहेको बताउँछन् । गोल्छाले स्टारलिंक विशेषमा भने ‘डिस्रप्टिभ टेक्नोलोजी’ आउनु राम्रो भए पनि सही तरिकाले र प्रतिस्पर्धालाई ध्यानमा राखेर भित्र्याउनुपर्ने औंल्याए । ‘हामीकहाँ अहिले नै खर्बौं लगानी गरेका र हजारौंलाई 

रोजगारी दिइरहेका दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक कम्पनी छन्, नयाँ प्रविधि भित्र्याउँदा यसलाई पनि मध्यनजर गर्नुपर्छ,’ उनले भने, ‘तर, भौगोलिक र आर्थिक जटिलताका कारण फाइबर नेटवर्क र माइक्रोवेभ पुर्‍याउन कठिन हाम्रा ग्रामीण भेगमा स्याटलाइट इन्टरनेट राम्रो विकल्प हुन सक्छ । यी दुवै विषयलाई मनन गरेर सरकारले सही निर्णय लिनुपर्छ ।’ मस्कलाई स्टारलिंकमा सीमित नभई नेपालको सूचना 

प्रविधि क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्न सके नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङमा समेत मद्दत मिल्ने उनले औंल्याए । 

देशको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवाल भने मस्कको स्टारलिंक नेपाल भित्र्याउन आफूले लबिइङ नै गर्दै आएको बताउँछन् । बिहीबार फिनल्यान्डको कम्पनी फिनफन्डबाट १ करोड युरो विदेशी लगाउनी भित्र्याउन सम्झौता गरेको सन्दर्भमा आयोजित कार्यक्रममा अग्रवालले नेपालका फोक्सुन्डो जस्ता जटिल भौगोलिक क्षेत्रमा स्टारलिंकको सेवा अपरिहार्य रहेको धारणा राखेका थिए ।

‘जहाँ हामी टावर हाल्न सक्दैनौं, त्यो ठाउँमा स्टारलिंकले राम्रो र भरपर्दो सेवा दिन सक्छ,’ उनले भने, ‘हामी स्टारलिंकसँग डराउँदैनौं, बरु स्वागत गर्न चाहन्छौं । नयाँ प्रविधिलाई छेक्न मिल्दैन ।’ अहिलेलाई स्टारलिंक इन्टरनेटको शुल्क मासिक करिब १५ हजार रुपैयाँ भए पनि ‘ब्रोडब्यान्ड’ बाँडेर प्रयोग गर्दा उपयुक्त हुने विकल्प रहेको उनी बताउँछन् । 

व्यवसाय विस्तारको महत्त्वाकांक्षा

मस्कका व्यवसायहरू अमेरिकाकेन्द्रित देखिए पनि उनको व्यावसायिक उपस्थिति र महत्त्वाकांक्षा भने विश्वव्यापी तहको छ । मुख्यतया टेस्लाजस्ता कम्पनीमार्फत विद्युतीय सवारी, स्पेसएक्समार्फत स्याटलाइट र अन्तरिक्षसम्बन्धी व्यापार, स्टारलिंकमार्फत इन्टरनेट र अहिले नवीकरणीय अनि सौर्य ऊर्जामा समेत उनले व्यवसाय बढाउँदै लगेका छन् ।

मस्कका कम्पनीमा झन्डै १ लाख २० हजार व्यक्ति काम गर्छन्, जसको ठूलो हिस्सा अमेरिका बाहिरको छ । झन्डै ५० भन्दा बढी देशमा प्रत्यक्ष र औपचारिक व्यावसायिक उपस्थिति भएका उनका कम्पनीले चीन र जर्मनीजस्ता देशमा ‘गिगाफ्याक्ट्री’ भनिने टेस्ला उत्पादन केन्द्रहरू राखेका छन् । अस्ट्रेलिया, बेलायत, नर्वेलगायत देशमा टेस्लासँगै नवीकरणीय र सौर्य ऊर्जाका क्षेत्रमा पनि मस्कका कम्पनी व्यवसाय विस्तारको क्रममा छन् । 

नेपालका उत्तरी र दक्षिणी दुइटै छिमेकी देशसँग मस्कको बलियो व्यावसायिक सम्बन्ध छ । आफ्नो कम्पनीको आम्दानीको झन्डै २२ प्रतिशत हिस्सा उनले चीनबाट कमाउँछन् । उनले चीनको सांघाईमा टेस्लाको गिगाफ्याक्ट्री राखेका छन्, जहाँ वार्षिक १० लाख गाडी उत्पादन हुने 

क्षमता छ । चीनसँगको व्यापार बढाउन उनी बारम्बार चीन जाने–आउने गर्छन् । उनले चीनसँगको व्यापारिक सम्बन्धलाई विशेष महत्त्व दिएको प्रस्टै देखिन्छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि मस्कले भेटघाट बाक्लो बनाएका छन् । मोदी अमेरिका पुग्दा पनि भेटघाटमा प्रायः मस्क छुट्दैनन् । गुजरातमा बन्ने टेस्लाको उत्पादन केन्द्रको काम पनि मस्कले अघि बढाएका छन् । यसका लागि गुजरात सरकारले १ हजार हेक्टर जमिन उपलब्ध गराउने प्रस्ताव अघि सारेको ‘द इन्डियन एक्सप्रेस’ ले जनाएको छ ।

चीन र भारत दुइटै देशसँग स्पेसएक्सका विभिन्न प्रविधिमा सहकार्य र व्यावसायिक सम्बन्ध विस्तार गरेका मस्क अब स्टारलिंकलाई पनि यो क्षेत्रमा ल्याउन विशेष लालायित देखिन्छन् । 

पछिल्ला दिन राजनीतिक रूपमा समेत प्रभावशाली बन्दै गएका मस्क विकासशील देशमा पनि उपस्थिति बढाउन इच्छुक देखिएका हुन् । ‘इलन मस्क फाउन्डेसन’ र ‘गिभिङ प्लेज’ मार्फत उनले ऊर्जा र प्राविधिक सहयोगको क्षेत्रमा काम गर्ने घोषणा गरेका छन् । केन्याका ५ स्टार्टअपलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र इन्टरनेट प्रविधिमा काम गर्न झन्डै ३० मिलियन अमेरिकी डलर दिने विषयमा उनले प्रतिबद्धता नै जनाइसकेका छन । इन्डोनेसिया र दक्षिण अफ्रिकासँगै जर्मनीका विभिन्न प्रविधिसम्बन्धी स्टार्टअपमा लगानी गर्ने तयारी सुरु गरेका छन् । 

अत्यन्तै आत्मकेन्द्रित र मुडी स्वभावका मानिने मस्कले आफ्ना व्यवसायलाई साना तथा अल्पविकसित देशसम्म विस्तार गर्ने प्रयास थालेका छन्, जसलाई बजारको सम्भावना, आपूर्ति संयन्त्रमा प्रभाव बढाउने प्रयास र विश्वव्यापी बोलवाला बढाउने कदमका रूपमा बुझ्न सकिन्छ । विश्वकै धनाढ्य भएर पनि अत्यन्तै विकसित र सहरी क्षेत्रमा सीमित उनको बजार शिक्षा र स्वास्थ्य प्रविधिमार्फत विश्वव्यापी बन्ने प्रयत्नमा छ ।

स्वास्थ्य प्रविधिसम्बन्धी उनको कम्पनी ‘न्युरालिंक’ ले मानव मस्तिष्कमा चिपको प्रयोगमार्फत गम्भीर स्वास्थ्य समस्याको समाधान गर्ने दाबी गर्दै आएको छ । मस्ककै पहलमा स्टारलिंकले इन्डोनेसियाका कतिपय स्थानमा स्वास्थ्य केन्द्र बनाएको छ । गएको मे १९ मा इन्डोनेसियाका स्वास्थ्यमन्त्री बुडी गुनादी सादिकिन र मस्कले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा र शिक्षा प्रवर्द्धन गर्ने भन्दै डेनपसार सहरमा स्टारलिंक सेवा शुभारम्भको घोषणा गरेका थिए । त्यस्तै, उनले आफ्नो ‘ग्लोबल लर्निङ एक्सप्राइज’ मार्फत तान्जानियाका १५० गाउँमा प्रविधि शिक्षाको पहल गरेका छन् । 

प्रधानमन्त्री ओलीसँगको कुराकानीमा उनले नेपालको स्वास्थ्य र शिक्षा प्रविधिमा काम गर्न चाहेको बताएको दाबी गरिएको छ, जुन पछिल्ला दिन उनको कम्पनीका यी पहलसँग मिल्दाजुल्दा हुन सक्छन् । स्रोतसाधनकै कमी भएको गरिब देशमा विद्यालय, अस्पताल बनाउनु नराम्रो नभए पनि यसले हामीलाई लगानीका लागि प्रतिस्पर्धी बजारका रूपमा ‘प्रमोट’ नगर्ने अर्थशास्त्री पौडेल बताउँछन् । ‘हामीलाई चाहिएको दान होइन, लगानी हो,’ उनले भने । 

अमेरिकामा झन्डै १३ लाख प्रयोगकर्ता रहेका र क्यानडा, अस्ट्रेलिया, जर्मनी, ब्राजिलजस्ता देशमा पनि बढ्दो प्रयोग रहेको स्टारलिंकको प्रयोग एसियामा भने जापान, फिलिपिन्स, इन्डोनेसिया क्षेत्रमा बढी छ । विश्वको जनसंख्याको ठूलो हिस्सा बस्ने र कतिपय क्षेत्र इन्टरनेटसँग नजोडिएको दक्षिण एसियामा भने स्टारलिंक अझै पनि गतिलो प्रयोग बढाउने प्रयासमै 

छ । भारतमा नियमनका क्रममा रहेको स्टारलिंक बंगलादेशमा आफ्नो सेवा सुरु गर्ने तयारीमा छ भने श्रीलंका र पाकिस्तानमा सेवा सञ्चालनको अनुमति पाइसकेको छ । मस्क र अमेरिकी सरकारको पछिल्लो प्रयास नेपाल र भुटानलाई पनि यही मेसोमा मिसाउने भन्ने हुन सक्ने विज्ञहरूको अनुमान छ । 

नेपालको आफ्नै भूउपग्रह स्थापनाको रहर पनि मस्कका लागि चासोको अर्को पाटो हुन सक्छ । स्पेसएक्सले नेपालजस्तै साना र आफ्नै अन्तरिक्ष एजेन्सी नभएका देशमा काम गरेर सन् २०२३ मा लगभग ४ अर्ब अमेरिकी डलर कमाएको थियो । मस्क मात्रै नभएर नेपालले आफ्नै भूउपग्रह राख्ने भन्ने प्रक्रिया सुरु गर्नेबित्तिकै नेपालस्थित अमेरिकी दूतावासले समेत अमेरिकी कम्पनीलाई सो काम गराउन निरन्तर लबिइङ गर्दै आएको छ । स्पेसएक्सका फाल्कन रकेटमा अन्तरिक्षमा सामान पठाउँदा प्रतिकिलो झन्डै ३ हजार डलरभन्दा बढी शुल्क लाग्छ भने स्याटलाइटका पार्टपुर्जा, प्रविधि र आफ्नो प्रभावका लागि पनि मस्कको अर्को चासो नेपाल हुन सक्छ । उनी चन्द्रमा हुँदै मंगल ग्रहसम्म मानवबस्ती बसाउने घोषणा बारम्बार गरिरहन्छन् । अत्यन्तै महत्त्वाकांक्षी र खर्चिला अन्तरिक्ष अभियानलाई जारी राख्न पनि आफ्नो स्पेसएक्स साम्राज्यलाई अमेरिकासहितका ठूला देश र नेपालजस्ता साना र विकासशील देशसँगको सहकार्यले बलियोसँग सघाउन सक्ने उनको अपेक्षा हुनसक्छ । 

अहिले आएर नेपाल सरकारसँग संवादमा रहेका मस्कको शैली हामीलाई अनौठो लागे पनि सन् २००८ यता उनले निरन्तर सरकारी ठेक्का, अनुदान र सहकार्यमा काम गर्दै आएका छन् । गत वर्ष मात्रै उनका कम्पनीहरूले १७ वटा अमेरिकी संघीय निकायका १ सयभन्दा धेरै ठेक्का हात पारेको ‘द न्युयोर्क टाइम्स’को विश्लेषणात्मक समाचार ‘यूएस एजेन्सिज फन्ड, एन्ड फाइट विद, इनल मस्क’ मा उल्लेख छ । दुई दशकयता अन्तरिक्ष एजेन्सी नासाको मात्रै लगभग १५ अर्ब डलरको ठेक्का उनको कम्पनी स्पेसएक्सले पाइसकेको छ । 

जर्मनी, बेलायत, इटाली, तुर्कमेनिस्तानजस्ता कैयौं देशसँग स्पेसएक्समार्फत सहकार्य गरेका मस्कले भारत सरकारसँग पनि टेस्लाको उत्पादन केन्द्र खोल्न काम अगाडि बढाएका छन् । उनले ब्राजिल, नाइजेरिया, केन्याजस्ता देशका सरकारसँग पनि व्यावसायिक सहकार्य थालेका छन् ।

मस्कको कम्पनीले नेपालसँग लामो समयदेखि प्रयास जारी राखेर पनि अल्झिएको विषय अहिले आएर एकाएक सहजीकरणतर्फ जानुमा उनको पछिल्लो राजनीतिक सफलताले पनि काम गरेको विषयलाई नकार्न सकिँदैन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिताउन अत्यन्तै भिडेर लागेका मस्कको आगामी सरकारमा प्रभावशाली उपस्थिति रहने पक्का भएसँगै अमेरिकी सरकारका निकाय र अन्य देशका सरकारले उनको चासोलाई थप महत्त्व दिन थालेका छन् । 

मस्कको कम्पनीको समर्थन गर्दै लेख लेख्ने अधिवक्ता ब्रेन्डेन कारलाई अमेरिकाको टेलिकम आयोगमा प्रमुख बनाइनु र उनी स्टारलिंकको अत्यन्तै बलियो प्रवर्द्धक रहनुले पनि मस्कका लागि स्टारलिंक विस्तार अझै सहज हुने अनुमान गर्न सकिन्छ । टेस्ला र स्पेसएक्सका प्रमुख कार्यक्रममा प्रायः नछुट्ने ट्रम्पको बलियो साथले मस्कलाई आफ्नो व्यवसाय साँच्चै विश्वव्यापी बनाउन सहयोग त हुने नै भयो ।

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully